सत्यता कसरी पछ्याउने (१३) भाग चार
आ. दोस्रो विशेषता: पथभ्रष्टता
दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको दोस्रो विशेषता “पथभ्रष्टता” हो। यो एउटा विशेषता भएकाले, यो अस्थायी प्रकटीकरण नभई तिनीहरूको प्रकृतिबाट अक्सर प्रकट हुने कुरा हो, र यसले तिनीहरूका विचार र दृष्टिकोण, अनि तिनीहरूका स्वभाव र सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्छ। त्यसोभए, जो दियाबलसहरू हुन्, तिनीहरूको “पथभ्रष्टता” भन्ने विशेषताका खास प्रकटीकरणहरू के-के हुन्? पथभ्रष्टता के हो? पथभ्रष्टता शब्द प्रायः कुन शब्दसँग जोडिन्छ? (दुष्टता।) अरू केसँग? (पथभ्रष्ट प्रकृति।) पथभ्रष्ट प्रकृति, दुष्ट वासना। अरू कुन-कुन प्रकटीकरणहरू पथभ्रष्ट हुन्छन्? कुटिल र असामान्य हुनु, होइन र? (हो।) कुटिल र असामान्य हुनुबाहेक, अरू के छ? (साथै अत्यन्तै चलाख र कुटिल हुनु, अनुभवी षड्यन्त्रकारी हुनु, केही हदसम्म बुझ्न नसकिने व्यक्ति भएको अनुभूति दिनु पनि हो।) यी सबै मूलतः समावेश हुन्छन्। कुटिल, कपटी, धूर्त, चलाख र चतुर, र अनुभवी षड्यन्त्रकारी हुनु—यी सबै पथभ्रष्टताका निश्चित प्रकटीकरण र विशेषताहरू हुन्। त्यसोभए, दियाबलसहरूले कुन-कुन कुरामा यी विशेषताहरू प्रकट गर्छन्? सारमा, मानिसहरूले सोच्ने कुराहरू—स्वभावसँग सम्बन्धित वा आफूलाई आचरणमा ढाल्ने र मामलाहरूलाई सम्हाल्ने विधिहरूमा प्रकट हुने कुटिलता, कपट, धूर्तता, इत्यादि बाहेक—अर्को प्रकारको पथभ्रष्टता के हो? त्यो मानिसहरूको दुष्ट वासना हो; यस प्रकारको पथभ्रष्टतालाई कामुकता भनिनुपर्छ। “पथभ्रष्टता” शब्द प्रयोग गरिएको हुनाले, हामी देहका सामान्य शारीरिक आवश्यकता वा प्रतिक्रियाहरूका बारेमा नभई कामुकताका बारेमा कुरा गरिरहेका छौँ—यसलाई पथभ्रष्टता पनि भनिन्छ। भर्खरै उल्लेख गरिएका कुटिलता, कपट, इत्यादि कुरा स्वभावसँग सम्बन्धित छन्; कामुकता देहसँग सम्बन्धित पथभ्रष्टता हो। के “कामुकता” भन्ने शब्द निकै उपयुक्त छैन र? (छ।) अर्को शब्द पनि छ, जुन अझ बढी उपयुक्त छ—यौन उत्तेजकता। गैरविश्वासीहरूले प्रायजसो कुनै व्यक्ति गोप्य रूपमा कामुक, वेश्या हो भनी भन्ने गर्छन्; यी सबै शब्दहरूले दुष्ट वासनाको पक्षलाई जनाउँछन्। कामुकता र यौन उत्तेजकताबाहेक, अरू पनि छन्? (के नीचता तीमध्ये एक हो?) नीचता होइन; नीचता कामुकताभन्दा फरक हुन्छ। नीचता व्यक्तिको इज्जत र निष्ठासँग सम्बन्धित हुन्छ, जबकि कामुकता र यौन उत्तेजकता मुख्यतया उसको अन्तरवैयक्तिक आचरणका समस्याहरूसँग सम्बन्धित हुन्छन्। हामीले भर्खरै कुरा गरेका कुराहरू पथभ्रष्टताका दुई पक्षहरू हुन्: एउटा स्वभावसँग सम्बन्धित, अर्को दैहिक वासनासँग सम्बन्धित। अर्को एउटा पक्ष पनि छ, जुन के हो भने, यस प्रकारको व्यक्तिले अक्सर श्रवण र अन्य संवेदनसम्बन्धी मतिभ्रमहरू अनुभव गर्छ—उसमा सधैँ केही असामान्य प्रकटीकरणहरू हुन्छन्। उदाहरणका लागि, तिनीहरूले अक्सर यसो भन्ने गर्छन्, “परमेश्वरले मलाई आज बिहान छ बजे पूर्व जानैपर्छ भनेर प्रकाश गर्नुभयो; त्यहाँ एक जना सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले मलाई भेट्न चाहन्छ।” “हिजो राती मैले एउटा सपना देखेँ; सायद दुई जना दाजुभाइ वा दिदीबहिनीहरू आज मेरो घरमा आउनेछन्।” तिनीहरूलाई बारम्बार श्रवण र अन्य संवेदनसम्बन्धी मतिभ्रमहरू हुन्छन्, तिनीहरूले सधैँ असामान्य सपना, दर्शन, वा वचनहरूको आकस्मिक झलक जस्ता कुराहरूका आधारमा आफ्नो जीवन जिउँछन्, र जब कुनै असामान्य कुरा हुन्छ, तब तिनीहरूले असामान्य तरिकाले व्यवहार गर्छन्—तिनीहरू निकै चरम हुन्छन्। कहिलेकाहीँ तिनीहरू प्रार्थना गर्न र परमेश्वरका वचनहरू पढ्न बिहान तीन वा चार बजे उठ्छन्; कहिलेकाहीँ राती अरू सबैजना आराम गरिरहेको बेला तिनीहरू परमेश्वरका वचनहरू पढ्न वा भजनहरू सिक्न जिद्दी गर्दै आधा रातसम्म जागा बस्छन्। अरू मानिसहरू खाने वा काम गर्ने बेलामा तिनीहरू सुत्छन्, र अरू आराम गर्ने बेलामा तिनीहरू ऊर्जावान् हुन्छन्; तिनीहरू सधैँ असामान्य, सधैँ सामान्य मानिसहरूभन्दा फरक हुन्छन्। के यसलाई पनि पथभ्रष्टताको प्रकटीकरण मान्न सकिन्छ? (सकिन्छ।) के यो असामान्यताको वर्णन गर्नलाई कुनै उपयुक्त शब्द छ? मानौँ कुनै व्यक्ति बाहिरी रूपमा सामान्य देखिन्छ, तर उसले सधैँ निकै विकृत र चरम तरिकाले काम गर्छ र कुराहरू बुझ्छ; तैँले ऊसँग जतिसुकै सङ्गति गरे पनि, उसले बुझ्न सक्दैन। कहिलेकाहीँ उसले श्रवण र अन्य संवेदनसम्बन्धी मतिभ्रमहरू अनुभव गर्छ; अरू बेला, कुनै स्पष्ट आवाज वा अभिव्यक्ति नभए पनि, ऊभित्र उसलाई यो वा त्यो गर्नू भनी भन्ने अनौठा विचारहरू हुन्छन्। तर उसले जे गरे पनि, सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन, र त्यो प्रावधानहरू पालना गर्ने स्तरसम्म पनि पुग्दैन। तिमीहरूले यस प्रकारको व्यक्तिलाई वर्णन गर्न कुनै उपयुक्त शब्द सोच्न सक्दैनौ, होइन र? (अँ, सक्दैनौँ।) के तिमीहरूलाई “विचित्र” शब्द उपयुक्त छ जस्तो लाग्छ? उसको बाहिरी व्यवहार निकै अनौठो र असामान्य देखिन्छ, र ऊ सधैँ अस्थिर र छट्पटिँदो हुन्छ। तर यदि तैँले उसलाई निन्दा गरिस् भने, तैँले उसमा भएका कुनै पनि ठूला समस्याहरू औँल्याउन सक्दैनस्, र यदि तैँले उसलाई असल व्यक्तिका रूपमा हेरिस् भने, ऊ अझै पनि केही हदसम्म सनकी देखिन्छ—तँ उसलाई केही हदसम्म छर्लङ्गै देख्न असमर्थ हुन्छस्। जब तैँले कहिलेकाहीँ उसले बोलेको सुन्छस्, तब ऊ ठीकै देखिन्छ, तर यदि तैँले उसलाई गोप्य रूपमा अवलोकन गरिस् भने, तैँले उसका कार्यहरू धेरै सनकी, धेरै असङ्गत छन् भनी पत्ता लगाउनेछस्। यो राम्रो सङ्केत होइन; उसले के गर्न सक्छ भन्ने कुराको कुनै ठेगान हुँदैन। पछि, उसले प्रार्थनाको दौरान नबुझिने भाषाहरू बोल्न सक्छ भन्ने कुरा पत्ता लाग्छ; सामान्यतया, उसले निरन्तर आफैसँग पनि कुरा गर्छ, मानौँ ऊ कसैसँग कुरा गरिरहेको छ, यसो गर्दा ऊ हाँस्ने पनि गर्छ, जुन हेर्दा जीउ नै सिरिङ्ङ हुन्छ। यो पनि पथभ्रष्टताको एउटा प्रकटीकरण हो। अहिलेका लागि यो पक्षको वर्णन गर्न “विचित्र” शब्द प्रयोग गरौँ। छोटकरीमा, हामीले जो दियाबलसहरू हुन्, तिनीहरूका पथभ्रष्टताका प्रकटीकरणहरूलाई सारांशमा प्रस्तुत गरेका छौँ। जम्मा तीन वटा पक्षहरू छन्: एउटा शरीरको दुष्ट वासना हो; एउटा सधैँ केही असामान्य प्रकटीकरणहरू हुनु, विशेष गरी विचित्रको हुनु हो; र अर्को पक्ष स्वभावसँग सम्बन्धित छ—धेरै कुटिल हुनु। कुटिलताको अर्थ यस प्रकारको व्यक्ति निश्चित हदसम्म विश्वासघाती र धूर्त हुन्छ, र साधारण मानिसहरूका लागि बुझ्न नसकिने किसिमको हुन्छ। जब मानिसहरू यस प्रकारको व्यक्तिसँग सङ्गत गर्छन्, तब तिनीहरूले अक्सर चिन्तित, व्यग्र, र भयभीत महसुस गर्छन्; तिनीहरूलाई अक्सर उसले तिनीहरूलाई घात गर्दा पनि उल्टै उसैलाई मद्दत गर्न पुग्छु कि भन्ने डर हुन्छ—तिनीहरूलाई उसको पासोमा पर्छु कि भन्ने डर हुन्छ। यस प्रकारको व्यक्ति निकै कपटी र धूर्त हुन्छ। उसले तेरो अगाडि अत्यन्तै विनम्र र परिष्कृत तरिकाले बोल्न सक्छ, तर तेरो पिठ्युँ पछाडि, उसले तँलाई थाहै नदिई लामो समयदेखि तेरो विरुद्धमा षड्यन्त्र रचिरहेको, तेरो विरुद्धमा लडिरहेको हुन्छ। जब तैँले यो कुरा पत्ता लगाउँछस्, तब तेरो शरीरभरि चिसो पसिना आउनेछ, र तैँले यस्तो सोच्नेछस्, “भाग्यवश, परमेश्वरले मलाई सुरक्षा दिनुभयो! यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, मलाई उसले हानि पुर्याउनेथियो; मेरो ज्यान समेत जान सक्थ्यो!” यस प्रकारको दियाबलसको दुष्टता यही हो। म किन यस्ता मानिसहरू पथभ्रष्ट हुन्छन् भनी भन्छु? तिनीहरू बाहिरी रूपमा कस्ता देखिन्छन् भनी हेरेर यो कुरा भन्न साँच्चै सजिलो हुँदैन; तैँले तिनीहरूले गर्नका लागि योजना बनाएका कुराहरू र तिनीहरूले हरेक दिन प्रकट गर्ने शब्दहरूबाट यो काम सुरु गर्नुपर्छ—यस प्रकारको व्यक्तिको पथभ्रष्ट सार र प्रकृतिलाई स्पष्ट रूपमा हेर्नका लागि यति नै पर्याप्त हुन्छ।
क. कुटिलता
दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूले हरेक दिन केबारे सोच्छन्? उदाहरणका लागि, मानौँ एक जना सिस्टरलाई अगुवाका रूपमा बढुवा गरियो। त्यसपछि तिनीहरूले मनन गर्छन्, “त्यो केटीलाई यति सानो उमेरमै अगुवामा बढुवा गरियो। ऊ कसरी मभन्दा असल छे? म उसलाई हेयको नजरले हेर्थेँ, मैले उसको कहिल्यै चापलुसी गरिनँ, वा ऊसँग राम्रो सम्बन्ध स्थापित गरिनँ। अहिले ऊ अगुवा छे, मभन्दा माथि रहेकी उच्च पदस्थ व्यक्ति, त्यसैले मैले उसको चापलुसी गर्नैपर्छ। मैले उसको दैनिक जीवनमा, वा भौतिक वा आत्मिक रूपमा उसलाई मद्दत चाहिन्छ कि भनेर हेर्नुपर्छ। यदि उसले त्यसो गर्दा मानिन भने, यदि मैले उसलाई आफ्नो पक्षमा पार्न सकिनँ भने, म अरू नरम तरिकाहरू अपनाउनेछु—म उसको अगाडि केही नरम शब्दहरू, केही विनीत शब्दहरू, केही चापलुसीका शब्दहरू बोल्नेछु। मैले पहिले उसमा कुन तरिकाले काम गर्छ भनेर हेर्नुपर्छ। ऊ चापलुसीमा पर्छे कि दुष्ट मानिसहरूको कपटपूर्ण युक्तिमा पर्छे? उसलाई खानेकुरा मन पर्छ कि रमाइलो गर्न? उसलाई लुगा मन पर्छ कि गहना? उसलाई के मन पर्छ? मैले उसलाई बुझ्नैपर्छ, म उसको नजिक जानैपर्छ, मैले उसको चापलुसी गर्नैपर्छ, ऊसँग राम्रो सम्बन्ध स्थापित गर्नैपर्छ, र उसको मनको कुरा पत्ता लगाउने प्रयास गर्नैपर्छ।” जो अगुवा बने पनि, तिनीहरूले त्यो अगुवाको नजिक कसरी जाने र ऊसँग राम्रो सम्बन्ध कसरी स्थापित गर्ने भनेर मनन गर्छन्। पहिले, जब यो बहिनी अगुवा थिइनन्, तब उनले जे भने पनि तिनीहरूले अटेरी गर्थे। उदाहरणका लागि, यदि उसले “अबदेखि हप्तामा एक पटक भेला होऔँ” भनेर भनिन् भने, त्यो सुनेपछि, तिनीहरूले यस्तो मनन गर्थे, “अरू मण्डलीहरू हप्तामा दुई पटक भेला हुन्छन्, तर हामी एक पटक भेला हुन गइरहेका छौँ। हामीले तिमीले भनेअनुसार किन गर्नुपर्यो? तिमीले आफूलाई को ठान्छौ?” अहिले यी सिस्टर अगुवा भएकीले, जब उनी बोल्छिन् तब तिनीहरूको प्रतिक्रिया फरक हुन्छ; तिनीहरूले पहिलेको जस्तो खण्डनका शब्दहरू बोल्दैनन्, बरु तिनीहरूले यसो भन्छन्, “यी बहिनीले जे भन्छिन् त्यो सत्यता हो!” बाहिरी रूपमा तिनीहरूले निकै अधीनस्थ भएर व्यवहार गर्छन्, मानौँ तिनीहरू आज्ञापालन गर्न सक्ने व्यक्ति हुन्, तर भित्रभित्रै तिनीहरूले भन्छन्, “तिमीलाई के थाहा छ र? तिमी अगुवा बनेको केही दिन मात्रै भयो! पहिले यो काम म गर्थेँ, तर अहिले तिमी अगुवा भएकी छ्यौ। ठीक छ, अगुवाले नै अन्तिम निर्णय गर्छ। म पहिले तिमीसँग सहमत हुनेछु, तर तिम्रो पिठ्युँ पछाडि कसरी काम गर्ने भन्ने कुराको निर्णय म नै गर्छु। म तिमीलाई खेलाउनेछु!” कतिपय मानिसहरू अगुवा चुनिन्छन्, र जब “के तिमीहरूको मण्डलीमा अगुवाहरूको चुनाव सिद्धान्तअनुसार गरिएको थियो?” भनेर सोधिन्छ, तब तिनीहरूले मनमनै सोच्छन्, “यदि यो सिद्धान्तअनुसार गरिएको भए, के म अझै पनि अगुवा बन्न सक्थेँ र? तर म तिमीलाई सत्य कुरा भन्न सक्दिनँ।” त्यसैले तिनीहरूले भन्छन्, “यो सिद्धान्तअनुसार नै गरिएको थियो। मैले दुई कार्यकालसम्म मण्डली अगुवाका रूपमा सेवा गरिसकेको छु। मैले सुरुमा फेरि यो गर्न चाहेको थिइनँ; यदि मैले फेरि यो काम गरेँ भने दाजुभाइ-दिदीबहिनीहरूले आपत्ति जनाउलान् भन्ने डर लागेको थियो, त्यसैले मैले मेरो उम्मेदवारी फिर्ता लिएँ। तर अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि मलाई नै चुने, त्यसैले मैले मन नलागीनलागी यो काम गरिरहेको छु। जब अगुवाका लागि नयाँ उम्मेदवार हुन्छ, तब म पद छोडिदिनेछु।” यो सुन्दा राम्रो लाग्छ, तर के तिनीहरूले वास्तवमा त्यसो गर्ने अभिप्राय राख्छन्? तिनीहरूको त्यसो गर्ने कुनै अभिप्राय नै हुँदैन। तिनीहरूले तँसँग झूट बोलिरहेका र तँलाई खेलाइरहेका मात्रै हुन्छन्, राम्रो सुनिने, तँलाई सन्तुष्ट पार्ने, तँलाई धोका दिन र भ्रममा पार्न सक्ने कुराहरू मात्रै भनिरहेका हुन्छन्। माथिल्लो तहका अगुवाहरूको हकमा, तिनीहरूले उनीहरूको चापलुसी कसरी गर्ने र उनीहरूलाई कसरी खुसी पार्ने, र उनीहरूलाई कसरी भ्रममा पार्ने भनेर सोचविचार गर्छन्, ताकि यी अगुवाहरूले तिनीहरूलाई महत्त्व दिऊन् र बढुवा गरून्। यदि तिनीहरूले बढुवा पाउन सकेनन् भने, तिनीहरूले पहिले काम गर्दा उत्पन्न गराएका त्रुटि, विचलन, र गल्तीहरू, साथै पर्दा पछाडि गरेका अपराध र छली व्यवहारहरूलाई अगुवाहरूबाट कसरी लुकाउन सकिन्छ ताकि उनीहरूले पत्ता नपाऊन्, कुनै पनि जिम्मेवारी नलिईकन कसरी छलछाम गरेर उम्कन सकिन्छ भनेर सोचविचार गर्छन्। के यी सामान्य मानवतामा हुनुपर्ने प्रकटीकरणहरू हुन्? ती सकारात्मक हुन्छन् कि नकारात्मक हुन्छन्? (नकारात्मक।) ती कुन हदसम्म नकारात्मक हुन्छन्? यस हदसम्म कि कसैले तिनीहरूको कामको अनुगमन वा निरीक्षण गर्नुभन्दा पहिले नै, तिनीहरूले आफ्नो मनमा यी कुराहरू पूर्वनियोजित गरिसकेका हुन्छन्, तिनीहरू लामो समयदेखि मानसिक रूपमा तयार भइसकेका हुन्छन्—तिनीहरूको मन लामो समयदेखि यी कुराहरूले भरिएको हुन्छ। मलाई भन्, के यो कुटिल हुनु होइन र? (हो।) यस प्रकारको व्यक्ति आफ्ना श्रोतालाई सुहाउने गरी धूर्ततासाथ बोल्छ, र फरक-फरक अगुवाहरूलाई फरक-फरक कुरा भन्छ। यदि अगुवा महिला हुन् भने, उसले उनलाई देवी भनेर प्रशंसा गर्छ; यदि अगुवा पुरुष हुन् भने, उसले उनलाई सुन्दर केटा, आकर्षक व्यक्ति भनेर प्रशंसा गर्छ। के यो कुटिल हुनु होइन र? (हो।) यो पथभ्रष्टताको एउटा प्रमुख विशेषता हो। अगुवाहरूप्रति तिनीहरूको मनोवृत्ति र प्रकटीकरणहरू यस्तै हुन्छन्—धेरै कुटिल र अत्यन्तै कपटी। तिनीहरूको भित्री संसार अत्यन्तै जटिल हुन्छ; त्यहाँ धेरै विचारहरू खाँदिएर बसेका हुन्छन्, तर तीमध्ये कुनै पनि सकारात्मक हुँदैनन्। तिनीहरूले मानवता, सत्यता, वा सही मार्गका बारेमा मनन गर्दैनन्; तिनीहरूले केवल अगुवाहरूको चापलुसी कसरी गर्ने र उनीहरूलाई कसरी खुसी पार्ने, आफ्नो हैसियत कसरी जोगाउने, कामकुराहरूका लागि आफू जिम्मेवार हुनबाट कसरी बच्ने, कसरी अल्छी गरेर दिन बिताइरहने, अरूले पत्तो नपाई, कुनै जिम्मेवारी वहन नगरी, खाँदै र पिउँदै कसरी मण्डलीको भरमा बाँचिरहने भनेर मात्रै मनन गर्छन्। तिनीहरूको दिमागमा, तिनीहरूले यी मुद्दाहरूका बारेमा मात्रै योजना बनाउँछन्, षड्यन्त्र रच्छन्, र सोच्छन्; तिनीहरूले अनेक जालझेल रच्छन्, र तिनीहरूको विवेकले कहिल्यै कुनै हप्की वा दोषारोपण महसुस गर्दैन। जब तिनीहरू मानिसहरूको कुनै समूहमा पुग्छन्, तब तिनीहरूले उनीहरूलाई आँखाले जाँच्छन्: “ती केही गृहिणीहरूमा अन्तर्ज्ञानको कमी छ; तिनीहरूले मलाई खुट्ट्याउन सक्ने सम्भावना नै छैन। मैले खेल्ने चालहरूको तिनीहरूले छेउटुप्पो पत्ता लगाउन सक्दैनन्। यदि तिनीहरूले सके पनि, तिनीहरूले मलाई तल झार्न सक्दैनन्। साना माछाले ठूलो छाल ल्याउन सक्दैन; तिनीहरूबाट कुनै समस्या आउँदैन। तिनीहरूलाई वास्ता गर्न आवश्यक छैन। बाँकी रहेका केहीमध्ये, एक जना मण्डली अगुवा हो, अर्की एक जना धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्ने पाको दिदी हुन्, र अर्की एक जना जवान बहिनी हुन् जसले विश्वविद्यालयमा मनोविज्ञान पढेकी थिई अरे। यी केहीले मेरा लागि अलिकति खतरा उत्पन्न गर्छन्। मैले पहिले कसलाई सम्हाल्नुपर्छ? मैले पहिले कोसँग सङ्गत गर्नुपर्छ र कसलाई आफ्नो पक्षमा पार्नुपर्छ? म कसरी तिनीहरूमध्येको एक बन्न सक्छु? म कसरी प्रतिष्ठा स्थापित गर्न सक्छु? मेरो सहयोगी को हुनेछ, र मेरो विरोधी को हुनेछ? मैले कोसँग मित्रता गर्नुपर्छ, म कोबाट टाढा बस्नुपर्छ, र म कोबाट सावधान रहनुपर्छ? यी मामिलाहरूका लागि दीर्घकालीन योजना चाहिन्छ; मैले यी कुराहरूबारे सोच्नुपर्छ।” केही दिन अवलोकन गरेपछि, तिनीहरूले कोसँग सङ्गत गर्नुपर्छ र मिलेमतो गर्नुपर्छ, कसलाई आफूतिर तान्न र फाइदा उठाउन सकिन्छ, को उनीहरूको विरोधी शक्ति हो, र कसले सत्यता बुझ्छ र सिद्धान्तहरू पालन गर्छ र कोबाट सावधान रहनुपर्छ भनी पत्ता लगाउँछन्—तिनीहरूले यी सबै कुराहरू पत्ता लगाउँछन्। तिनीहरूले आफ्नो हृदयमा यस्तो मनन गर्छन्, “मलाई खुट्ट्याउने व्यक्तिहरूबाट सावधान रहनुपर्छ। मैले तिनीहरूलाई चिढ्याउनु हुँदैन, न त म तिनीहरूको नजिक नै हुनुपर्छ। म तिनीहरूबाट बिलकुलै टाढा बस्नुपर्छ, नत्र मेरो पोल खुल्नेछ र तिनीहरूले मलाई छर्लङ्गै देख्नेछन्। तिनीहरूको उपस्थितिमा, मैले लापरवाहीपूर्वक बिलकुलै बोल्नु हुँदैन, नत्र तिनीहरूले मेरो विरुद्धमा प्रयोग गर्न सक्ने केही कुरा भेट्टाएर मण्डलीमा मलाई खुलासा गर्नेछन् र मेरो चिरफार गर्नेछन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले खुट्ट्याउन सके भने, तिनीहरूले मलाई मण्डलीबाट सफा गरेर खेदाउनेछन्। त्यसरी हुँदैन!” हरेक दिन, तिनीहरूले यी कुराहरूका बारेमा मात्रै सोच्छन्। ख्याति कमाउन र आफूलाई राम्रो देखाउन कोसँग प्रतिस्पर्धा गर्ने र कसरी प्रतिस्पर्धा गर्ने, हानि नभोगीकन फाइदा पाउन कोसँग सङ्गत गर्ने, निश्चित मामिलाहरूमा भोगेका हानिहरूलाई कसरी पूर्ति गर्ने—तिनीहरू दिनभरि यी कुराहरूका बारेमा मात्रै मनन गर्छन्। तिनीहरू आफूप्रतिको कसैको हेराइका बारेमा समेत आधा दिनसम्म मनन गर्न सक्छन्: “हिजो, फलानोले मलाई निकै घोरिएर हेर्यो। त्यसको अर्थ के थियो? के उसले मलाई खुट्ट्यायो? यो राम्रो सङ्केत होइन। उसले मेरो कुन समस्या देखेको छ? म अबका केही दिन होसियार हुनुपर्छ, र कुनै कुरा पनि खुस्काउनु हुँदैन। साथै, मैले अरूको आँखाको नजरबाट कुराहरू पढ्न सिक्नुपर्छ, र म लापरवाह हुनु हुँदैन। मेरो आँखा यी बितेका दुई दिनदेखि फरफराइरहेको छ; यस्तो लाग्छ कि केही नराम्रो हुन लागेको छ। म होसियार हुनुपर्छ, म साँच्चै आशा गर्छु कि केही पनि गडबड नहोस्; यदि म होसियार भइनँ भने मलाई पखालेर फ्याँकिन सक्छ।” मानिसहरूसँग अन्तरक्रिया गर्ने तिनीहरूको तरिकामा बाहिरबाट कुनै समस्या देखिँदैन। तिनीहरूको खान्की, सुताइ, र काम सबै सामान्य देखिन्छ। तर तिनीहरूको हृदय र दिमागमा भएको कुरा सामान्य हुँदैन। यो असामान्यताका प्रकटीकरणहरू के-के हुन्? त्यो के हो भने, तिनीहरूले सोच्ने कुराहरू सबै अत्यन्तै कुटिल, अरूका लागि बुझ्न नसकिने किसिमका हुन्छन्।
दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरू निकै संदिग्ध तरिकाले जिउँछन्। तिनीहरूका विचारमा भएका सबै कुरालाई अँध्यारा कुनाहरूमा मात्रै मनन गर्न, हिसाबकिताब गर्न, योजना बनाउन, र पूर्वनियोजित गर्न सकिन्छ। तिनीहरूको हृदय ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्नु, षड्यन्त्र रच्नु, तुलना गर्नु, ईर्ष्या गर्नु, विवाद गर्नु, प्रतिकार गर्नु, इत्यादि जस्ता कुराहरूले नै पूर्ण रूपमा भरिएको हुन्छ। तिनीहरूले अलिकति पनि सत्यता कहिल्यै खोज्दैनन्। तिनीहरूले जुनसुकै मामला सम्हालिरहेका भए पनि, तिनीहरूले खुला र स्पष्ट तरिकाले त्यसमाथि सङ्गति गर्न र त्यसबारे निर्णय गर्नका लागि त्यसलाई अघि सार्दैनन्; बरु, तिनीहरूले गोप्य रूपमा केही मानिसहरूलाई खोज्छन् र उनीहरूसँगै निर्णय गर्छन्। हरेक मण्डलीमा यस्ता केही मानिसहरू हुन्छन्। तिनीहरू कम बोल्ने स्वभावका हुन्छन् र तिनीहरूले कुनै संवेग देखाउँदैनन्; तिनीहरूले जेसुकै सामना गरे पनि, तिनीहरू चुपचाप बस्न रोज्छन् र आफ्नो अडान सजिलैसँग कहिल्यै व्यक्त गर्दैनन्। बाहिरी रूपमा, तिनीहरू मानिसहरूसँग विनम्रतापूर्वक बोल्छन्, तर तिनीहरूले कहिल्यै सत्य बोल्दैनन् वा आफ्नो हृदयको वास्तविक कुरा खोल्दैनन्; तिनीहरूसँग कसैका लागि पनि इमानदार शब्दहरू हुँदैनन्। उदाहरणका लागि, कतिपय मानिसहरूले जोसँग सङ्गत गरे पनि आफ्ना भित्री विचारहरू कहिल्यै खोल्दैनन्; तिनीहरूका सबैभन्दा नजिकका पारिवारिक सदस्यहरूलाई पनि तिनीहरूले हरेक दिन के सोच्छन् भन्ने थाहा हुँदैन। तिनीहरूको परिवारले समेत तिनीहरूलाई बुझ्दैन, बाहिरी मानिसहरूको त कुरै छोडौँ। यदि तँ उसको सबैभन्दा मिल्ने साथी, बाल्यकालको साथी, धेरै वर्षदेखिको पुरानो साथी, वा कामको एक असल सहकर्मी भए पनि, तँलाई अझै पनि उसले के हिसाबकिताब गरिरहेको छ भन्ने थाहा हुँदैन; कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। तिनीहरूले जसरी बोले पनि वा व्यवहार गरे पनि, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैन। तर कहिलेकाहीँ, तिनीहरूले केही शब्दहरू खुस्काउन सक्छन्: “फलानो मभन्दा असल छ, त्यसो भए के भो त! एक दिन म उसलाई उछिन्नेछु, हेर्दै जाऊ!” “हेर्दै जाऊ” भन्ने यी शब्दहरूको पछाडि गहिरो अर्थ छ; यसको अर्थ तिनीहरूले हरेक दिन आफ्नो हृदय र मनमा मनन र विचार गरिरहेका हुन्छन्। बाहिरी रूपमा, तिनीहरू शान्त र सौम्य देखिन्छन्, तर तिनीहरूको हृदयभित्र आँधी चलिरहेको हुन्छ र अशान्ति हुन्छ। तिनीहरूले सोच्ने कुराहरू के-के हुन्? यदि ती खुला र स्पष्ट मामलाहरू, जीवनको सही मार्ग, सत्यताको अभ्यास, विवेकअनुसार कार्य गर्ने, आफूलाई कसरी आचरणमा ढाल्ने, परमेश्वरलाई कसरी प्रेम गर्ने, र आफ्नो कर्तव्य कसरी निष्ठासाथ निर्वाह गर्ने जस्ता सकारात्मक कुराहरू हुन्थे—यदि तिनीहरूले बारम्बार आफ्नो हृदयमा यी कुराहरूका बारेमा सोच्ने, खोज्ने, मनन गर्ने, जाँच्ने, र बुझ्ने प्रयास गर्थे भने, तिनीहरूको भित्री हृदय धेरै शान्त हुनेथियो र त्यो शान्ति र हर्षले भरिएको हुनेथियो, र तिनीहरू कुटिल रूपमा नभई झन्-झन् सामान्य रूपमा जिउनेथिए। समय-समयमा, आफ्नो वरपरका मानिसहरू र आफूसँग तुलनात्मक रूपमा नजिक भएका मानिसहरूसँग यी सकारात्मक स्थितिहरूमा जिउने मानिसहरूको आत्मिक प्रतिध्वनि र सञ्चार हुनेछ। तर दियाबलसहरूले आफ्नो हृदयमा मनन गर्ने र सोच्ने कुराहरू सबै कुटिल कुराहरू हुन्। कुटिलताले सामान्य मानिसहरूले देख्न नसक्ने अमूर्त कुराहरू, निकै असामान्य कुराहरू, मानिसहरूलाई पत्ता लगाउन र महसुस गर्न गाह्रो हुने अँध्यारा कुनाहरूमा लुकेका कुराहरूलाई, अर्थात् सामान्य मानिसहरूलाई नचाहिने कुराहरूलाई जनाउँछ। यी अँध्यारा कुनाहरू दियाबलसहरूका भित्री संसार हुन्। तिनीहरूका हृदयहरू यी कुटिल कुराहरूले भरिएका हुन्छन्। हरेक दिन, तिनीहरूले अरूसँग तुलना गर्छन्, अरूसँग विवाद गर्छन्, अरूसँग जालझेल र चालबाजी गर्छन्, हैसियत, इज्जत, र अन्तिम निर्णयका लागि प्रतिस्पर्धा गर्छन्; तिनीहरूले यी मामिलाहरूका बारेमा मात्रै सोच्छन्। यदि तैँले तिनीहरूलाई अहिले तिनीहरूसँग इमानदार व्यक्ति बन्ने मार्ग छ कि छैन भनेर सोधिस् भने, तिनीहरूले तँलाई जवाफ दिनेछैनन्, तँलाई वास्ता गर्नेछैनन्, र यसलाई उल्लेख गर्न चाहनेछैनन्। किनभने तिनीहरूको हृदय यी नकारात्मक, कुटिल मामिलाहरूले भरिएको हुन्छ; तिनीहरूले यी कुराहरूका बारेमा मात्रै सोच्छन्। जब तिनीहरूले कहिलेकाहीँ प्राविधिक वा पेसागत पक्षहरूसँग सम्बन्धित मुद्दाहरूका बारेमा अलिकति सोच्नुपर्छ, तब तिनीहरूले आफ्नो काम वा जीवनको आवश्यकताका कारण अस्थायी रूपमा मात्रै त्यसो गर्छन्। यस पक्षमा तिनीहरूको काम सकिएपछि, तिनीहरूले तुरुन्तै ती कुटिल मामिलाहरूका बारेमा फेरि सोच्न थाल्छन्, र यस्तो मनन गर्छन्, “कसको वरदान मेरोभन्दा ठूलो छ? कुन पक्षमा म तिनीहरूभन्दा बलियो छु, कुन पक्षमा तिनीहरू मभन्दा कमजोर छन्? फलानोले पछिल्लो पटक मसँग बोल्दा जानाजानी मलाई होच्याए जस्तो देखिएको थिएन र? ती दुई व्यक्तिले लामो समयदेखि सामान्य रूपमा कुराकानी गरेका छैनन् जस्तो देखिन्छ—तिनीहरूको बीचमा के भयो? यदि तिनीहरूको बीचमा कुनै द्वन्द्व वा समस्या उत्पन्न भएको छ भने, के मैले त्यसबाट केही लाभ उठाउन सक्छु? तिनीहरूमध्ये एक जना मेरा लागि लाभदायक छ र उसले मलाई मद्दत गर्न सक्छ, र म साँच्चै त्यो व्यक्तिसँग सङ्गत गर्न चाहन्छु, तर उसले मलाई कहिल्यै वास्ता गर्दैन। यदि ती दुईको बीचमा द्वन्द्व छ भने, के मैले यो छिद्रको फाइदा उठाएर अनि यो राम्रो अवसर प्रयोग गरेर त्यो व्यक्तिसँग सम्बन्ध स्थापित गर्न सक्छु?” तिनीहरूले आफ्नो हृदयमा मनन गर्ने र सोच्ने सबै कुराको सकारात्मक कुराहरूसँग कुनै सम्बन्ध हुँदैन, र परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने कार्यसँग कुनै सम्बन्ध हुँदैन। के यस प्रकारको व्यक्ति डरलाग्दो हुँदैन र? (हुन्छ।) यदि तैँले तिनीहरूसँग सङ्गत गरिस् भने, यो दियाबलससँग सङ्गत गर्नु बराबर हुन्छ। तैँले तिनीहरूका विरुद्धमा षड्यन्त्र रच्दैनस्, तर तिनीहरूले हरेक दिन तेरो विरुद्धमा षड्यन्त्र रचिरहेका हुन्छन् र तँलाई अवलोकन गरिरहेका हुन्छन्, तेरो पिठ्युँ पछाडि तेरो बारेमा मनन गरिरहेका हुन्छन् र तँलाई अध्ययन गरिरहेका हुन्छन्: “उसले त्यसो भन्नुको अर्थ के थियो? के यो मप्रति लक्षित छ? म कसरी जवाफ दिन सक्छु ताकि उसले मलाई छर्लङ्ग देख्न नसकोस्? म कसरी मेरा लागि लाभदायक हुने तरिकाले जवाफ दिन सक्छु? यदि मैले जवाफ दिइनँ भने, के उसले मलाई मूर्ख, हेप्न सजिलो व्यक्ति, वा साँच्चै परमेश्वरमा विश्वास नगर्ने व्यक्ति सोच्नेछ? के उसले त्यस्तो सोच्न सक्छ? मैले उसको दिमागमा साँच्चै के चलिरहेको छ भनी पत्ता लगाउनुपर्छ।” जब तँ निरन्तर तिनीहरूको षड्यन्त्रका बीचमा जिउँछस्, तब के तँलाई हृदयमा सहज महसुस हुन्छ? (हुँदैन।) यो तेरो छेउमा एक अदृश्य पिशाच हुनुजस्तै हो; तैँले शान्ति वा आनन्द महसुस गर्न सक्दैनस्। जब तैँले तिनीहरूसँग सङ्गत गर्छस्, तँमा एउटा मात्रै भावना हुन्छ: निरन्तर अशान्ति बोध। यो अशान्ति अत्यन्तै सामान्य कुरा हो, किनभने सामान्य मानिसहरूको अन्तर्ज्ञान वा छैठौँ इन्द्रियले तिनीहरूलाई दियाबलसहरूप्रति, तिनीहरूको वरपर रहेका असामान्य प्राणीहरूप्रति असहज महसुस गराउँछ। यदि तैँले तिनीहरूलाई साँच्चै राम्ररी चिन्दैनस्, र ठ्याक्कै के गलत छ भनी बताउन सक्दैनस् भने पनि, तँलाई तिनीहरूसँग हुँदा सधैँ असहज महसुस हुन्छ, मानौँ केही नराम्रो हुन लागेको छ। तिनीहरूले खराब अभिप्राय राख्छन्, तेरो विरुद्धमा षड्यन्त्र रचिरहेका छन्, र तेरो विरुद्धमा योजनाहरू बनाएका छन् भनेर प्रमाणित गर्न यति नै पर्याप्त हुन्छ। तँ तिनीहरूको जासुसी आँखाहरूमुनि रहेर जिउँछस्, र तिनीहरूले तँलाई हरेक दिन अध्ययन गर्छन्—यसले तँलाई तेरो छेउमा बाघ वा सिंह भएको भन्दा बढी असहज महसुस गराउँछ। यदि बाघ वा सिंहलाई तैँले पालेको भए, त्यो एक डरलाग्दो जनावर भए तापनि, तैँले कहिल्यै असहज महसुस गर्नेथिइनस्। तर यदि तेरो छेउमा दियाबलस छ भने, उसमा पथभ्रष्ट प्रकृति सार हुने हुनाले, तँलाई असहज महसुस हुन्छ। यो अशान्ति आत्मामा हुने एउटा अनुभूति हो; यो दियाबलसले काम गरिरहेको कारणले हुन्छ। सायद दियाबलसले तँलाई आत्मगत रूपमा कुनै हदसम्म गम्भीर रूपमा हानि पुर्याउने मनसाय राख्दैन, तर उसले निरन्तर तेरो विरुद्धमा षड्यन्त्र रच्नु र तँमाथि जासुसी गर्नुले मात्रै पनि तेरो आत्मालाई असहज बनाउनेछ। तेरो छेउमा दियाबलस हुँदा, तँ शान्ति र हर्षसाथ बिलकुलै जिउनेछैनस्, तर त्यो दियाबलस होइन, वा तँसँग पर्याप्त कद र परमेश्वरमाथि पर्याप्त आस्था छ, वा तँसँग तेरो जीवनका रूपमा सत्यता छ—यी सर्तहरूमध्ये एउटा पूरा भएको अवस्थामा मात्र त्यसले तेरा लागि कुनै खतरा उत्पन्न गर्नेछैन वा तँलाई कुनै असर गर्नेछैन, र तँलाई असहज महसुस हुनेछैन। यदि यी सर्तहरूमध्ये कुनै पनि पूरा भएनन् भने, जब दियाबलसले निरन्तर तँमाथि जासुसी गर्छ, तब तँलाई असहज महसुस हुनेछ। यो बिस्तारै कुन हदसम्म विकसित हुनेछ? तँलाई तिनीहरूप्रति घृणा महसुस हुनेछ र तँ तिनीहरूबाट सावधान रहनेछस्, तँ भित्री रूपमा विचलित हुनेछस्, र तँ धेरै मामिलाहरूमा समस्यामा पर्नेछस्, नियन्त्रित हुनेछस्, र बन्धनमा पर्नेछस्। यदि तिनीहरू छेउछाउमै छन् भने, जब तैँले काम गर्छस् वा बोल्छस्, तब तैँले सधैँ तिनीहरूको आँखाको नजर, तिनीहरूको व्यवहार, वा तिनीहरूका विचारहरूलाई ध्यानमा राख्नुपर्ने हुन्छ। तैँले निरन्तर यो पत्ता लगाउने प्रयास समेत गर्न सक्छस्, “उसले मेरो बारेमा के सोच्नेछ? म किन उसलाई छर्लङ्ग देख्न सक्दिनँ? मलाई किन ऊ चलाख र घुसघुसे छ जस्तो लाग्छ? त्यो मुस्कान किन स्वीकृतिको मुस्कान होइन जस्तो लाग्छ? म किन यति डराएको? म किन ऊबाट यति प्रभावित भएको छु?” यदि तैँले सत्यता बुझ्दैनस्, र तँसँग खुट्ट्याउने क्षमता छैन भने, यस प्रकारको व्यक्तिसँग केही समय सङ्गत गरेपछि, तँ स्वाभाविक रूपमा ऊबाट प्रभावित हुनेछस् र यस्तो अवस्थामा पुग्नेछस्, जुन धेरै डरलाग्दो कुरा हो।
दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूले आफ्नो दैनिक जीवनमा स्वाभाविक रूपमा प्रकट गर्ने कुराहरू र आफ्नो हृदयमा सोच्ने कुराहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूलाई पथभ्रष्ट सार भएको भनेर ठहर गर्न सकिन्छ। यदि तैँले तिनीहरूसँग गहन, र थप सम्पर्क राखेको छैनस् भने, तैँले सायद तिनीहरूको भित्री संसार बुझ्दैनस्, तर यस प्रकारको व्यक्तिलाई खुट्ट्याउने सबैभन्दा प्रत्यक्ष र सोझो तरिका भनेको तिनीहरूको बाहिरी स्वरूपमा रहेको एउटा विशेषता हो: तिनीहरूले अक्सर आफ्नो आँखामा दुष्ट हेराइ र धूर्त मुस्कान प्रकट गर्छन्। तिनीहरूको आँखामा भएको त्यो दुष्ट हेराइको अर्थ एक कुटिल नजर हो, जुन त्यति सफा र निर्मल, वा त्यति इमानदार र निष्कपट हुँदैन, बरु त्यो बुझ्न नसकिने देखिन्छ। तँलाई यो नजरमा एक लुकेको अर्थ छ जस्तो लाग्छ, तर तिनीहरूले तँलाई त्यो के हो भनी बताउँदै बताउँदैनन्। यसबाहेक, तिनीहरू बोल्दा सूक्ष्म रूपमा कुराहरू सङ्केत गरेर, तिनीहरूले तँलाई अनुमान गर्न लगाउँछन्, कुराहरू सङ्केत गर्न शब्दहरू प्रयोग गर्छन् र तिनीहरूले एक निश्चित तरिकाले सोच्छन् भनेर तँलाई गल्तीले विश्वास गराउँछन्, तर वास्तवमा, यो त एउटा छक्याउने चाल हो। तैँले बुझ्ने कुरा तिनको साँचो अर्थ हुँदै होइन; तिनीहरूले तँसँग चालबाजी गर्न र तेरो उपहास गर्न चाहन्छन्। तैँले तिनीहरूको आँखाको नजरमा कुनै निष्कपटता पाउन सक्दैनस्; यो नजर कुटिल र यताउता घुमिरहने हुन्छ, यसमा एक अस्पष्ट, बुझ्न नसकिने भावना हुन्छ। तैँले तिनीहरूको आँखाको नजर देख्नेबित्तिकै, तेरो हृदयमा अचानक आशङ्का उत्पन्न हुन्छ, र तैँले आफूले भनेको वा गरेको कुरा गलत थियो कि भनी शङ्का गर्छस्। यदि तैँले तिनीहरूको आँखाको नजर देख्दैनस् भने, तँलाई आफ्नो विचार सही छ, तेरो आफ्नै बुझाइ शुद्ध छ, यी कुराहरू सत्यता सिद्धान्तहरूअनुसारका छन्, र तैँले एक निश्चित तरिकाले कार्य गर्नुपर्छ भन्ने लाग्छ, र तँसँग त्यसो गर्ने दृढ विश्वास हुन्छ। तर तैँले तिनीहरूसँग आँखा जुधाउनेबित्तिकै वा तिनीहरूले तँलाई त्यो दुष्ट हेराइले हेर्नेबित्तिकै, तँलाई अनजानमै आफ्नो ढाडमा चिसो पसेको महसुस हुन्छ। कुनै स्पष्ट शब्दहरू नबोलिए पनि, तिनीहरूको आँखामा भएको त्यो दुष्ट हेराइले तँलाई एक मानसिक सङ्केत दिन्छ, यसले तँलाई भ्रमित पार्छ, र तँलाई तुरुन्तै आफैमाथि शङ्का गर्न लगाउँछ: “के मैले केही गलत भनेँ? केही गलत गरेँ? मैले कहाँ गलत गरेँ?” प्रश्नमा रहेको मामला र सिद्धान्त स्पष्ट रूपमा धेरै सफा र स्पष्ट हुन्छन्, र तँ यो त्यसरी नै गरिनुपर्छ र यो सही थियो भन्ने कुरामा निश्चित भएको हुन्छस्, तर तिनीहरूसँग आँखा जुधाएपछि, तँ शङ्कालु पो बन्छस्। यस प्रकारको नजर दियाबलसको नजर हो। यो एउटा पक्ष हो: तिनीहरूको आँखाको दुष्ट हेराइले तँलाई शङ्का गर्न लगाउँछ। अर्को पक्ष के हो भने, कहिलेकाहीँ, तिनीहरूको आँखाको त्यो दुष्ट हेराइभित्र एक निश्चित अर्थ हुन्छ—अवहेलना। तँ जवान छस्, तेरो अनुभव सतही छ, तँसँग जीवन अनुभवको कमी छ, र तँमा मानवताका केही त्रुटिहरू समेत हुन सक्छन्, त्यसैले जब तिनीहरूको आँखा तेरो आँखासँग जुध्छ, तब तैँले तुरुन्तै आत्मविश्वास गुमाउँछस्, तँ भताभुङ्ग हुन्छस्, र तुरुन्तै आफैमाथि शङ्का गर्छस्, आफूप्रति अत्यन्तै तुच्छ महसुस गर्छस्, तिनीहरूभन्दा आफू निम्न भएको महसुस गर्छस्, र तिनीहरूको अगाडि हीन बन्छस्। यो दियाबलसको नजर हो। यो दुष्ट नजरले कहिलेकाहीँ मानिसहरूको विचारलाई अलमल्लमा पार्छ, कहिलेकाहीँ मानिसहरूको आत्मविश्वासमा बाधा पुर्याउँछ, र कहिलेकाहीँ मानिसहरूलाई नकारात्मक र खिन्न पनि महसुस गराउँछ।
दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूलाई खुट्ट्याउने कुरामा, यदि तँमा अझै पनि तिनीहरूको आँखाको हेराइलाई अवलोकन गरेर तिनीहरूलाई खुट्ट्याउने अनुभवको कमी छ भने, तिनीहरूले हरेक दिन के सोच्छन् भनी हेर्, तिनीहरूले हरेक दिन मानिसहरूसँग कुन विषयमा कुराकानी गर्छन् भनी हेर्, र तिनीहरूले सामान्य रूपमा कुराकानी गर्छन् कि गर्दैनन् भनी हेर्। यदि तिनीहरूले सामान्य रूपमा कुराकानी गर्दैनन् भने, र अधिकांश मानिसहरूले तिनीहरूलाई बुझ्दैनन् भने, र धेरैजसो मानिसहरूसँग सङ्गत गर्ने तिनीहरूको सिद्धान्त भनेको मुख नखोली बस्नु हो भने, र तिनीहरूका सबैभन्दा नजिकका मानिसहरूलाई समेत तिनीहरूले हरेक दिन के सोच्छन् भन्ने थाहा हुँदैन भने, र तिनीहरूका सटीक विचार र दृष्टिकोणहरूलाई सजिलै बुझ्न वा तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनी थाहा पाउन सक्दैनन् भने, यस्ता मानिसहरू साँच्चै हिसाबी र बुझ्न नसकिने हुन्छन् भन्ने स्पष्ट हुन्छ। तिनीहरूको मौनताको अर्थ तिनीहरूसँग कुनै विचार र दृष्टिकोण छैन भन्ने होइन; वास्तवमा, तिनीहरूका वास्तविक विचारहरू तिनीहरूको मनमा लुकेका हुन्छन्, तिनीहरूले ती व्यक्त मात्रै गर्दैनन्। यदि तिनीहरूले ती व्यक्त गर्दैनन् भने, तैँले तिनीहरू धूर्त छन् भनी कसरी पत्ता लगाउन सक्छस्? तिनीहरूसँग एक प्रकारको कुटिल मुस्कान हुन्छ; तिनीहरूले अक्सर देखावटी मुस्कान देखाउँछन्। जब तिनीहरू तेरो सामु हुन्छन्, तब तिनीहरूले देखावटी मुस्कान देखाउँछन्, तर जब तिनीहरू अर्कोतिर फर्किन्छन्, तब तिनीहरूको अनुहार भावहीन हुन्छ, र त्यसमा कुनै मुस्कान हुँदैन। यस प्रकारको व्यक्ति डरलाग्दो, भयङ्कर हुन्छ; ऊ दियाबलस हो। बुझिस्? (बुझेँ।) उदाहरणका लागि, मानौँ तैँले तिनीहरूसँग कुनै कुराबारे छलफल गर्छस्। तैँले आफ्नो दृष्टिकोण बताएपछि, तिनीहरूले आफ्नो अडान व्यक्त गर्दैनन्, तर कुटिल मुस्कान देखाउँछन्। के तँलाई कुटिल मुस्कानको अर्थ के हो भन्ने थाहा छ? यसको अर्थ के हो भने, तँलाई यो मुस्कान स्वीकृतिको हो कि अस्वीकृतिको हो भन्ने कुरा थाहा हुँदैन, र तैँले भनेको कुरा तिनीहरूले वास्तवमा बुझे कि बुझेनन् भन्ने कुरा तँलाई थाहा हुँदैन। तिनीहरू केवल “हि हि” गर्दै हाँस्छन्। तैँले भनेको कुराका बारेमा, तिनीहरूले त्यो सही छ कि गलत छ भनेर भन्दैनन्, तिनीहरूले त्यो बुझे कि बुझेनन् भनेर भन्दैनन्, त्यसैले तैँले यो हाँसोको वास्तविक अर्थ के हो भनेर बुझ्न सक्दैनस्। तिनीहरूले तँलाई प्रतिक्रिया दिएका हुन्छन्, तर यो प्रतिक्रिया त प्रतिक्रिया नदिनु जस्तै हुन्छ। यदि तिनीहरूले प्रतिक्रिया नदिएका भए, तैँले तिनीहरूले सायद बुझेनन् होला भनी अनुमान गर्नेथिइस्; तिनीहरूले यसरी प्रतिक्रिया दिँदा त तँ अलमलमा पो पर्छस्। तँलाई यो हाँसोले उपहास, घृणा, खिल्लीलाई जनाउँछ कि सहमति र स्वीकृतिलाई जनाउँछ भन्ने थाहा हुँदैन। यदि तैँले तिनीहरूलाई तिनीहरूको दृष्टिकोण सोधिस् भने, तिनीहरू फेरि “हि हि” गर्दै हाँस्छन्, “ठीक छ, ठीक छ” भन्छन्, र बोलिसकेपछि, तिनीहरूको अनुहार अचानक अँध्यारो हुन्छ। यसले अदृश्य रूपमा तँमाथि ठूलो दबाब पारिदिन्छ। यदि तेरो कद सानो छ, र तँसँग वास्तविक अडान, वा सही विचार र दृष्टिकोण छैन भने, तँ तिनीहरूबाट दबिन सक्छस्। त्यसैले तिनीहरूको यो मुस्कानलाई धूर्त मुस्कान भनिन्छ—कुटिल र छली हुनुलाई नै धूर्त हुनु भनिन्छ। तिनीहरूले सजिलै आफ्नो दृष्टिकोण प्रकट गर्दैनन्। तिनीहरूले एउटा शब्द भन्नु थोरै हो, दुइटा शब्द भन्नु धेरै हो, र एक पटक कुनै दृष्टिकोण स्पष्ट रूपमा भनियो वा त्यसले कुनै निश्चित कुरालाई सङ्केत गर्यो भने, त्यो असफलता हो, गल्ती हो भन्ने विश्वास गर्छन्। त्यसैले तिनीहरूका लागि सबैभन्दा राम्रो विधि भनेको मुस्कुराउनु र तँलाई अनुमान गर्न दिनु नै हो—तैँले जुनसुकै अर्थ अनुमान गर्न सक्छस्, तैँले जसरी पनि अनुमान गर्न सक्छस्, तर कम्तीमा पनि तैँले तिनीहरू तँप्रति शत्रुवत् छैनन् भन्ने महसुस गर्छस्, र यसरी तिनीहरूको लक्ष्य पूरा हुन्छ। ती षड्यन्त्रकारी र अत्यन्तै धूर्त बूढा स्यालहरू, र कपटी र चलाख हुने, अनि निर्दयी युक्तिहरू प्रयोग गर्ने ती मानिसहरूलाई अवलोकन गर्: तिनीहरू धेरै बोल्दैनन्, न त तिनीहरूको अनुहार धेरै भावपूर्ण नै हुन्छ, तर तिनीहरूको आँखाको हेराइ र तिनीहरूको मुस्कान पथभ्रष्ट हुन्छ। सामान्य भ्रष्ट मानिसहरू र पशुहरूबाट पुनर्जन्म लिएकाहरू सबै जना दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूबाट भाग्छन्; तिनीहरू त्यस्ता मानिसहरूसँग सङ्गत गर्न इच्छुक हुँदैनन्, र त्यस्ता मानिसहरूसँग हुँदा तिनीहरूलाई डर लाग्छ, तिनीहरूको जीउ सिरिङ्ङ हुन्छ। तिनीहरूको जीउ किन सिरिङ्ङ हुन्छ? किनभने त्यस्ता मानिसहरू मानव होइनन्, तिनीहरू दियाबलसहरू हुन्, र दियाबलसहरूले जे पनि गर्न सक्छन्। जब सामान्य मानिसहरूले कसैसँग अन्तरक्रिया गर्छन्, तब त्यस व्यक्तिको जीउ सिरिङ्ङ हुँदैन। सामान्य मानिसहरूसँग विवेक र समझ हुन्छ, तिनीहरूले संयमता र नियन्त्रणका साथ काम गर्छन्, र तिनीहरूसँग न्यूनतम मानकहरू हुन्छन्। बढीमा, जब तिनीहरू रिसाउँछन्, तब तिनीहरूले तँलाई अलिकति सराप्न सक्छन्, र केही अप्रिय कुराहरू भन्न सक्छन् जसले तेरो आत्म-सम्मानमा केही चोट पुर्याउँछ। तर दियाबलसहरू फरक हुन्छन्; तिनीहरूले तँलाई सराप्दैनन् वा तेरो आत्म-सम्मानलाई चोट पुर्याउँदैनन्, तर तिनीहरूले तँलाई हानि गर्छन्। तिनीहरूले तँलाई कसरी बहकाउने भनेर तेरो पिठ्युँ पछाडि सोच्छन्; तिनीहरूले खाडल खन्छन् र तँलाई त्यसमा आफै हाम फाल्न लगाउँछन्। तँ हाम फालेपछि, तिनीहरूले माथिबाट तँलाई हेर्छन्, तेरो दुर्भाग्यमा रमाउँछन्, र साथै असल व्यक्ति भएको नाटक गर्दै यसो भन्छन्, “म तिमीलाई बचाउँछु! तिमी कसरी खस्यौ? मैले त धेरैजसो मानिसहरूलाई यहाँ खाडल छ भन्ने थाहा छ भन्ठानेको थिएँ।” तिनीहरूले असल मानिसको भूमिका समेत खेल्न चाहन्छन्, र तँलाई तिनीहरूको नाटक विश्वास गर्ने तुल्याउँछन्। के यस प्रकारको व्यक्ति डरलाग्दो हुँदैन र? त्यो खाडल तिनीहरूले खनेका थिए, र तिनीहरूले त्यो तेरा लागि नै बनाएका थिए; यदि तँ त्यसमा हाम फाल्दैनस् भने, को हाम फाल्छ र? तँ खाडलमा हाम फालेपछि, तिनीहरूले तँलाई बचाउन हात बढाउँछन्, र तिनीहरूले तँलाई बचाउँदै गर्दा, तिनीहरूले भन्छन्, “तिमी किन हाम फाल्यौ?” तेरो दुर्भाग्यमा रमाउँदै गर्दा, तिनीहरूले तँलाई त्यो खाडल तिनीहरूले खनेका हुन् भनेर महसुस समेत हुन दिँदैनन्। तँलाई हानि गर्ने स्पष्ट रूपमा तिनीहरू नै थिए, तैपनि तिनीहरूले तँलाई तिनीहरूप्रति गहिरो कृतज्ञता महसुस गराउँछन्। के यो पथभ्रष्टता होइन र? (हो।) यो त सरासर पथभ्रष्टता हो!
दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले अक्सर गर्ने एउटा कुरा छ, जुन सबैले देखेका छन्: दियाबलसहरू मानिसहरूको खुसामद गर्नका लागि मीठा कुराहरू बोल्नमा सबैभन्दा सिपालु हुन्छन्। उदाहरणका लागि, जब त्यस्तो व्यक्तिले तँ काम गरिरहेको देख्छ, तब उसले भित्र लुकेर अवलोकन गर्छ। जब तैँले काम सिध्याउँछस्, तब उसले बाहिर आएर भन्छ, “ओहो, तिमी काम गरिरहेका रहेछौ! मलाई किन थाहा दिएनौ? मैले तिमीलाई मद्दत गर्न र बोझ बाँड्न सक्थेँ। यदि यो थकाइलाग्दो छ भने, हामी यसलाई सँगै सामना गर्न सक्छौँ। अर्को पटक काम गर्दा, मलाई थाहा मात्रै दिनु—यो सानो कुरा मात्रै हो। मसँग मद्दत माग्न लाज नमान्नू!” जब तैँले यो सुन्छस्, तब तेरो हृदय न्यानो हुन्छ, र तैँले उसले मद्दत नगरे पनि, उसको त्यसो गर्ने मनसाय थियो, र उसका शब्दहरू नै पर्याप्त छन् भन्ने सोच्छस्। उसले तँलाई आफ्ना मीठा कुराहरूले झुक्क्याउँछ। हेर् त, उसले वास्तवमा यस्ता कुराहरू भन्न सक्छ, र उसलाई ती कुरा भन्न लाज लाग्दैन। त्यसोभए तैँले उसका शब्दहरू झूटा हुन् भनी कसरी थाहा पाउन सक्छस्? अर्को पटक तैँले आफ्ना कामहरू सिध्याउँदा, ऊ आउँछ र उसले फेरि मीठा कुराहरू भन्छ: “तिमीले काम गरिरहेको छौ भन्ने कुरा मलाई किन थाहा दिएनौ? हरेक पटक, तिमीले मसँग मद्दत नै माग्दैनौ; तिमीले साँच्चै मलाई बाहिरी मान्छे जस्तो व्यवहार गरिरहेका छौ। तिमी मसँग किन यति औपचारिक भइरहेका छौ?” यो कुरा दुई-तीन पटक भएपछि, तैँले उसले वास्तवमा तँलाई काममा मद्दत गर्न चाहँदैन, र उसले तँलाई झुक्क्याउन र तेरो खुसामद गर्नका लागि केही मीठा कुराहरू मात्रै भनिरहेको छ भन्ने कुरा थाहा पाउँछस्। जब साँच्चै उसको मद्दत चाहिने केही कुरा हुन्छ, तब ऊ कहीँकतै भेटिँदैन। यो कस्तो प्रकारको व्यक्ति हो? यो दियाबलस हो, जो अवश्य नै मानव होइन। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले आफूले भेट्ने जोकोहीलाई पनि भ्रमित पार्न र आफ्ना उद्देश्यहरू हासिल गर्न मीठा कुराहरू भन्नेछन्। तिनीहरू धूर्त युक्तिहरूले भरिएका हुन्छन्; तिनीहरू मानव नभई दियाबलसहरू हुन्। के यस्ता मानिसहरूसँग सङ्गत गर्नुको कुनै मूल्य हुन्छ? तैँले तिनीहरूलाई ध्यान समेत दिनु हुँदैन। के तेरो दैनिक जीवनमा यस्ता मानिसहरू छन्? (छन्।) यस मामिलामा यस्तो व्यक्तिले यसरी नै व्यवहार गर्छ, र अन्य मामिलाहरूमा पनि, उसले त्यसरी नै व्यवहार गर्छ—उसले सधैँ मानिसहरूलाई छल गर्छ। ऊ यति पथभ्रष्ट हुन्छ; ऊ मानिसहरूप्रति इमानदार हुँदैन।