सत्यता कसरी पछ्याउने (१३) भाग एक
आफ्नो उत्पत्तिका आधारमा मानिसहरूका तीन वर्ग
जनावरबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरू
पछिल्लो पटक हामीले सङ्गति गरेको विषय मानिसहरूलाई कसरी खुट्ट्याउने र हेर्ने भन्ने कुरासँग सम्बन्धित थियो। यस प्रकारको विषय मानिसहरूको रुचिको विषय हो भनेर भन्न सकिन्छ, तर यो विषय केही विशेष भएको र मानिसहरूका भविष्य र नियतिहरूको महत्त्वपूर्ण मामिलासँग सम्बन्धित भएको हुनाले, यसले श्रोताहरूमा सत्यताका अन्य पक्षहरूले उत्पन्न गर्ने भन्दा फरक किसिमका केही भावनाहरू उत्पन्न गराउँछ। कतिपयका लागि, यी भावनाहरू खासै सुखद हुँदैनन्। यो विषय सुनेपछि, कतिपय मानिसहरूले भित्री रूपमा ठूलो उथलपुथलको अनुभव गर्न सक्छन्, र जो भावशून्य छन्, तिनीहरूले पनि अलिकति भित्री उथलपुथल अनुभव गर्न सक्छन्। होइन र? (हो।) मानिसहरूको प्रतिक्रिया जस्तोसुकै भए पनि, जे होस्, यी विषयहरूमा सङ्गति गरिसकेपछि, परमेश्वरका चुनिएका मानिसहरूले मानिसहरूलाई खुट्ट्याउन र विभिन्न मामिलाहरू छर्लङ्गै देख्नका लागि केही सहायता पाउँछन्, र तिनीहरू केही अन्तर्दृष्टि र केही खुट्ट्याउने क्षमता प्राप्त गर्न सक्षम हुन्छन्। होइन र? (हो।) पछिल्लो पटक, हामीले पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका केही प्रकटीकरण र विशेषताहरूका बारेमा सङ्गति गर्यौँ। त्यसोभए, यस प्रकारका मानिसहरूका मुख्य विशेषताहरू के-के हुन्? (पछिल्लो पटक, हामीले पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका चार वटा विशेषताहरू हुन्छन् भनेर सङ्गति गर्यौँ: पहिलो, तिनीहरूको बोध विकृत हुन्छ; दोस्रो, तिनीहरू निकै भावशून्य हुन्छन्; तेस्रो, तिनीहरू निकै अन्यौलग्रस्त हुन्छन्; र चौथो, तिनीहरू निकै मूर्ख हुन्छन्।) यी चार वटा विशेषताहरू पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका सारभूत विशेषताहरू हुन्। त्यसोभए, के तिमीहरू सबैले यस प्रकारका मानिसहरूका सारभूत प्रकटीकरणहरू ठ्याक्कै के हुन् भनेर पत्ता लगाएका छौ? अर्को शब्दमा भन्दा, तिनीहरूको बाहिरी रूप—तिनीहरूको बोलीवचन र आचरण, र तिनीहरूको मानवताका विभिन्न प्रकटीकरणहरूका आधारमा हेर्दा—तिनीहरूमा यी चार वटा विशेषताहरूसँग सम्बन्धित के-कस्ता प्रकटीकरणहरू हुन्छन्? उदाहरणका लागि, तिनीहरूले सत्यतालाई लिने तरिका, र तिनीहरूको मानवताको विवेक र समझका विशेषताहरू के-के हुन्? अवश्य पनि, यी विशेषताहरू आधारभूत रूपमा विकृत बुझाइ, भावशून्यता, अन्योलता, र मूर्खताका चार विशेषताहरूभित्रै समेटिन्छन्, होइन र? (हो।) अब, तिमीहरूले वास्तविक जीवनमा देख्न र सामना गर्न सक्ने केही प्रकटीकरणहरूका आधारमा, यी चार विशेषताहरूलाई अझ विस्तृत रूपमा व्याख्या गर। तिमीहरूलाई अरू के-कस्ता प्रकटीकरणहरूबारे थाहा छ? उदाहरणका लागि, पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरू धेरै भावशून्य हुन्छन्। यदि तैँले एउटा साङ्केतिक उदाहरण मात्रै दिएर उसको समस्या औँल्याइस् भने, तैँले उसलाई यो समस्याबारे धेरै पटक भने पनि उसले अझै बुझ्दैन। त्यसैले, तैँले स्पष्ट रूपमा “म तिम्रै बारेमा कुरा गर्दैछु” भनेर भन्नुपर्छ, तब मात्र उसले यो आफ्नै बारेमा रहेछ भनी बुझ्छ। नत्र, उसले यो अरू कसैको समस्या हो, यो आफूसँग सम्बन्धित छैन भनेर मानिलिन्छ, र आफूले ठीकै गरिरहेको छु भन्ने सोच्छ। के यो भावशून्यता होइन र? (हो।) तैँले यो कुरा उसको नाककै अगाडि राखिदिएपछि मात्र उसले अलिकति प्रतिक्रिया जनाउँछ। त्यसोभए, के उसले सत्यता बोध गर्न सक्छ? (सक्दैन।) उसले सत्यता किन बोध गर्न सक्दैन? (किनभने ऊ प्रतिक्रिया दिन सुस्त हुन्छ र उसले परमेश्वरका वचनहरूको अर्थ बुझ्न सक्दैन। जब अरूले उसका समस्याहरू औँल्याउँछन्, तब उसले एउटा धर्मसिद्धान्त वा एउटा प्रावधान मात्रै बुझ्छ; उसले यसलाई सकारात्मक दृष्टिकोणबाट बोध गर्न सक्दैन, र यसरी उसले सकारात्मक प्रवेश पाउन असम्भव हुन्छ।) यो बोध गर्ने क्षमताविहीन हुनु हो। भावशून्यताको हिसाबमा भन्दा, जब कसैले एक प्रकारको स्थितिलाई औँल्याउँछ, तब उसले यो आफूसँग कसरी सम्बन्धित छ, आफूमा साँच्चै यस प्रकारको स्थिति छ कि छैन, र आफूमा साँच्चै त्यस प्रकारको समस्या छ कि छैन भनेर बुझ्नै सक्दैन—उसले यी कुराहरू बुझ्न सक्दैन न त अर्को व्यक्तिले के भनिरहेको छ भनेर बुझ्न नै सक्छ। तैँले उसले कुन दिन कुन काम गर्यो, कुन शब्दहरू बोल्यो, वा कुन प्रकटीकरण देखायो भनेर तोकेर बताए पनि, र उसलाई तँ उसकै बारेमा कुरा गर्दैछस् भन्ने थाहा भए पनि, उसले बुझ्ने भनेको एउटा मामिला, एउटा अभिव्यक्ति, वा एउटा वाक्य मात्रै हो, र उसले त्यसलाई अस्पष्ट, र सतही तरिकाले कण्ठस्थ गर्छ। त्यसलाई कण्ठस्थ गरेपछि, ऊ एउटा प्रावधानमा मात्रै टाँसिन्छ: ती शब्दहरू नभन्नू, र ती कामहरू नगर्नू; यी कामहरू गर्नू, र त्यसरी काम गर्नू। ऊ जीवनभर यही प्रावधानमा टाँसिन सक्छ, उसले कसैको सङ्गति स्वीकार गर्न मान्दैन, र दश वटा साँढेले ताने पनि उसलाई छुटाउन सकिँदैन। समय, भौगोलिक वातावरण, मानिस, घटना, र कामकुराहरू, इत्यादिमा परिवर्तनहरूका कारण परिस्थिति विकसित हुँदै जाँदा, तैँले उसलाई अब पहिले जसरी चलेर हुँदैन र उसले आफ्नो शैली वा रणनीति समायोजन गर्नुपर्छ—यद्यपि सिद्धान्त वास्तवमा परिवर्तन भएको छैन—भनेर भन्छस्, तर उसले त्यो कुरा बोध गर्न सक्दैन। उसले भन्छ, “मैले यति धेरै वर्षदेखि यसरी नै अभ्यास गर्दै आएको छु, र मलाई यो ठीकै लाग्छ। मैले धेरै वर्षअघि अगुवा र कामदारहरूले सङ्गति गरेको कुराकै आधारमा अभ्यास गर्दै आएको छु। मैले आफ्नो अभ्यास गर्ने तरिका किन परिवर्तन गर्नुपर्यो?” ऊसँग आधार समेत हुन्छ, तर वास्तवमा, ऊ वर्षौँदेखि एउटा प्रावधानमा मात्रै टाँसिरहेको हुन्छ र ऊ आफैले यो कुरा थाहा पाएको वा महसुस गरेको हुँदैन।
विकृत बुझाइ हुनुको विशेषताको हिसाबमा भन्दा, पशुहरूबाट पुनर्जन्म लिएका अधिकांश मानिसहरूले विकृत बुझाइका प्रकटीकरणहरू देखाउँछन्। तिनीहरूको सोच्ने तरिका सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। तिनीहरूका विचारहरू धेरै विलक्षण, अनौठा, र कहिलेकाहीँ आश्चर्यजनक रूपमा अप्रत्याशित हुन्छन्—तैँले तिनीहरूले किन त्यसरी सोच्छन् भनेर कल्पना गर्नै सक्दैनस्, र तैँले यस संसारमा कसैले यस्तो अनौठो तरिकाले मामिलाहरूबारे विचार गर्छ भनी कहिल्यै कल्पना गरेको हुँदैनस्। तिनीहरूका विचारहरूले तँलाई अवाक् बनाउन सक्छन्। किनभने सामान्य सोचाइ भएका मानिसहरूले सामान्यतया सामान्य सोच्ने तरिकाअनुसार मामिलाहरूबारे विचार गर्छन्, जबकि पशुहरूबाट पुनर्जन्म लिएकाहरूको सोच्ने तरिका अत्यन्तै विचित्र किसिमको हुन्छ। तिनीहरूले बारम्बार केही अनौठा र विलक्षण अभिव्यक्तिहरू व्यक्त गर्छन्, र जब सामान्य सोचाइ भएको कसैले ती सुन्छ, तब त्यो व्यक्ति चकित हुन्छ। यदि तैँले कुनै मामिलालाई विचार गर्न तिनीहरूको सोच्ने तरिका अपनाउने प्रयास गरिस् भने, तैँले यो धेरै अनौठो छ र यो गतिरोधमा पुग्छ भन्ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूमा यो सोच्ने तरिका हुने भएकाले, वास्तविक जीवनमा—चाहे तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेका होऊन्, अरूसँग अन्तरक्रिया गरिरहेका होऊन्, वा निश्चित परिस्थिति, मानिस, घटना, र कामकुराहरूको सामना गरिरहेका होऊन्—तिनीहरूका विचारहरू सधैँ अत्यन्तै अनौठा हुन्छन्, र तिनीहरू धेरैजसो मानिसहरूसँग मिल्न सक्दैनन्। तिनीहरू मानव संसारमा बस्ने प्राणीहरू जस्ता देखिँदैनन्, बरु तिनीहरू अर्को संसारमा बाँचिरहेका जस्ता देखिन्छन्। तैँले तिनीहरूले किन त्यसरी सोच्छन् वा तिनीहरूमा किन त्यस्ता विचारहरू पलाउँछन् भनेर कहिल्यै बुझ्न सक्दैनस्। तिनीहरूले मामिलाहरूबारे विचार गर्ने तरिकाले अक्सर सामान्य मानवताको सोचाइको दायरा नाघ्छ र त्यो सामान्य सोचाइको सही मार्गबाट बाहिर जान्छ। अन्तिम परिणाम के हुन्छ भने, मामिलाहरूबारे विचार गर्ने तिनीहरूको तरिका, अडान, र सिद्धान्तहरू सबैलाई धेरै अनौठो लाग्छ। यदि सबैले कुनै मामिलामा विचार गरिरहेको वा सङ्गति गरिरहेको बेला यस्तो व्यक्ति उपस्थित छ, र त्यहाँका धेरैजसो मानिसहरूमा खुट्ट्याउने क्षमताको कमी छ, आफ्नै रायहरूको कमी छ, वा तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन् भने, प्रायजसो त्यस व्यक्तिको कुनै एउटा विकृत विचार र दृष्टिकोणहरूका कारण तिनीहरूको सोचाइको प्रवाह ठप्प हुन्छ वा सामान्य छलफलमा बाधा पुग्छ र रोकावट हुन्छ। अनि अन्तिम परिणाम के हुन्छ? पटक-पटकको छलफलपछि, मानिसहरूले त्यस व्यक्तिले अघि सारेको दृष्टिकोण सही मार्गबाट भड्किएको छ, त्यो न त वस्तुगत छ न त व्यावहारिक नै, र यसबाहेक, त्यो अत्यधिक विलक्षण छ, र मामिलाहरूलाई विचार गर्ने उसको तरिका समेत अत्यन्तै अनौठो छ भन्ने पत्ता लगाउँछन्। जब सामान्य मानिसहरू गफगाफ र कुराकानी गर्छन्, तब कुराकानी जीवन्त हुँदै जान्छ, सबै जना प्रश्नमा रहेका मामिलाहरूमा अझ स्पष्ट हुँदै जान्छन्, र तिनीहरूले जति धेरै कुरा गर्छन् विषय त्यति नै अगाडि बढ्छ। तर यदि यो व्यक्तिले बीचमा बोल्यो भने, कुराकानी विषयबाट बाहिर जान्छ। अरू मानिसहरू निःशब्द हुन्छन्, तिनीहरू सबैलाई यो व्यक्तिका कुराहरू निकै अनौठो लाग्छ, र तिनीहरूले जवाफ दिन सक्दैनन्। छलफलको विषय यसरी अवरुद्ध हुन्छ। यस प्रकारको व्यक्तिसँग “अद्वितीय” विचार र दृष्टिकोणहरू हुने भए पनि, ती सामान्य सोचाइ भएकाहरूले अघि सार्ने दृष्टिकोणहरूभन्दा निरन्तर फरक हुन्छन्। तिनीहरूका विचार र दृष्टिकोणहरू सामान्य मानवतामा हुनुपर्ने खालका हुँदैनन्, र ती सामान्य मानवताको सोचाइको दायराभित्र पर्दैनन्, त्यसैले तिनीहरूले भन्ने कुराहरू अरू मानिसहरूलाई अनौठा वा अकल्पनीय समेत लाग्छ, र तिनीहरूका समाधान र मार्गहरूले मानिसहरूलाई अलिकति पनि मद्दत गर्दैनन्, र यसबाहेक तिनमा अवरोध गर्ने, बाधा दिने, कमजोर पार्ने, र अन्तर्ध्वंस गर्ने प्रकृति हुन्छ। तिनीहरू चुप लागे भने ठीकै हुन्छ, र सबैको सोचाइको प्रवाह केही हदसम्म स्पष्ट रहन्छ, तर जब तिनीहरूले बीचमा बोलेर आफ्नो राय व्यक्त गर्छन् वा सुझाव दिन्छन्, तब सबैले त्यो सुन्दा बाधा र अवरोध महसुस गर्छन्, छलफल भइरहेको विषयमा विचलनहरू उत्पन्न हुन्छन्, र राम्रा परिणामहरू हासिल गर्न गाह्रो हुन्छ। तर, साँच्चै राम्रो क्षमता भएको व्यक्तिले मामिलाको जड तोकेरै पत्ता लगाउन सक्छ, र उसले त्यसको महत्त्वपूर्ण बुँदा बुझ्न र समस्या समाधान गर्न सही मार्ग बाँड्न सक्छ। कम्तीमा पनि, उसले अरू मानिसहरूको सोचाइको प्रवाहमा आधारित भएर केही अर्थपूर्ण र मूल्यवान् सुझावहरू प्रदान गर्न सक्छ। यदि उसले कुनै सुझाव अघि सार्यो, र सबैलाई त्यो उपयुक्त लाग्यो र तिनीहरू त्यसलाई स्वीकार गर्न इच्छुक भए भने, यसको अर्थ राम्रो क्षमता भएको यो व्यक्तिले अघि सारेको सुझावले महत्त्वपूर्ण बिन्दु भेट्टाएको छ भन्ने हुन्छ, किनभने यो व्यक्तिले कुराहरू छर्लङ्गै देख्न सक्छ। यदि उसले बोलेन भने, सबैले तीन दिनसम्म छलफल गरे पनि तिनीहरू निष्कर्षमा पुग्न सक्दैनन्। हेर् त, यी दुवै प्रकारका मानिसहरूसँग अद्वितीय दृष्टिकोणहरू हुन्छन्, जुन अरू मानिसहरूका भन्दा फरक हुन्छन्, तर राम्रो क्षमता भएको व्यक्तिले अघि सार्ने दृष्टिकोणहरूले अरूलाई मामिलाको सार छर्लङ्गै देख्न मद्दत गर्न सक्छन्, र मानिसहरू हराएको बेला सही दिशा र अभ्यासको मार्ग भेट्टाउन सहयोग गर्न सक्छन्। विकृत बुझाइ भएको व्यक्ति फरक हुन्छ। मानिसहरूले मामिलाहरूबारे छलफल गरिरहेका वा सामान्य कुराकानी गरिरहेका बेला उसको दृष्टिकोण र उसको विकृत सोच्ने तरिकाले प्रायजसो भत्काउने र बाधा दिने असर गर्छ। त्यसैले, यदि पशुबाट पुनर्जन्म लिएको विकृत बुझाइ भएको कुनै व्यक्ति कुनै मण्डली वा कामको कुनै पक्षमा संलग्न छ भने, उसले बाधा र अवरोधहरू ल्याउने सम्भावना हुन्छ, र सबैले ऊदेखि अत्यन्तै दिक्क भएको महसुस गर्नेछन्, र मनमनै यस्तो सोच्नेछन्, “यसलाई छिटो पठाइदेऊ—यो मान्छे साह्रै झर्कोलाग्दो छ! यो मान्छेले हरेक दिन अप्रासङ्गिक बकवास गर्छ र अझै पनि आफूलाई धेरै गहन ठान्छ, जबकि वास्तवमा, यसले भन्ने कुराहरू सबै तर्कहीन सिद्धान्तहरू हुन्।” सुरुमा, कतिपय मानिसहरूले उसलाई आदर्श मान्न सक्छन्, तर समय बित्दै जाँदा, तिनीहरूले उसलाई छर्लङ्गै देख्नेछन् र भन्नेछन्, “यो व्यक्तिसँग कुनै गहन अन्तर्दृष्टि छैन। ऊ दिनभरि बनावटी तरिकाले एक बुद्धिमान् व्यक्ति भएको नाटक मात्रै गरिरहेको हुन्छ। वास्तवमा, उसले अघि सार्ने दृष्टिकोण र विचारहरू पूर्ण रूपमा बेतुके हुन्छन् र तिनले सम्हाल्नुपर्ने मामिलाहरूसँग कुनै सरोकार नै राख्दैनन्।” तिनीहरूलाई ऊ झर्कोलाग्दो लाग्न थाल्नेछ र ऊप्रति घृणा महसुस हुनेछ। त्यसैले, यदि यस प्रकारको व्यक्ति आफ्नो कर्तव्य पूरा गर्दा केही अत्यधिक प्राविधिक वा पेसागत कामका लागि जिम्मेवार हुन्छ वा केही महत्त्वपूर्ण काम आफ्नो हातमा लिन्छ भने, उसले चाँडै अरूमा रिस उत्पन्न गराउँछ किनभने उसले अघि सार्ने दृष्टिकोण र मागहरूले सधैँ मानिसहरूलाई छक्क पार्छन् र कार्य गर्ने उचित तरिकाबारे अनिश्चित बनाउँछन्। यदि ऊ केवल एक साधारण अनुयायी हो, उसले निर्देशन र आज्ञाहरू मात्रै पालन गर्छ भने, उसले गर्ने कामहरूमा बारम्बार केही विचलनहरू देखा पर्नेछन्। अगुवा, कामदार, र तिनीहरू वरपरकाहरूले उसको निरन्तर अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने हुन्छ। उनीहरूले ऊबाट आँखा हटाउनेबित्तिकै, उसले गल्ती गर्नेछ, र अरूले सधैँ उसलाई उसका त्रुटिहरू सच्याउन र समाधान गर्न, र उसले गरेको गडबडी मिलाउन मद्दत गर्नुपर्ने हुन्छ। अन्त्यमा, जब सबैले यस प्रकारको व्यक्तिलाई मद्दत गर्न सकिँदैन भन्ने देख्छन्, तब तिनीहरूले भन्नेछन्, “उसले यहाँ सधैँ बाधा उत्पन्न गरिरहेको हुन्छ, र कसैले पनि शान्ति पाउन सकेको छैन। के उसलाई अन्तै पठाउन सकिँदैन? ऊ जहाँ जान चाहन्छ त्यहीँ जाओस्!” सबैको प्रतिक्रिया यस्तै हुनेछ। सुरुमा, तिनीहरूले ऊप्रति धैर्य गर्नेछन्, र यस्तो सोच्नेछन्, “हामी सबै दाजुभाइ-दिदीबहिनी हौँ, हामीमध्ये कसैको पनि कद ठूलो छैन, र सत्यतासम्बन्धी हाम्रो बुझाइ सतही छ—हामी एक-अर्कालाई समर्थन र मद्दत गरौँ।” तर ऊसँग लामो समयसम्म सम्पर्कमा रहेपछि, तिनीहरूले उसलाई छर्लङ्गै देख्नेछन्। उसको समस्या सानो कद हुनु होइन रहेछ—उसको क्षमता र बोधमा समस्या रहेछ भन्ने कुरा पत्ता लाग्छ। उसको बुझाइ सतही वा उसको सोचाइ केटाकेटीको जस्तो हुन्छ भन्ने होइन; बरु, उसको बोध विकृत हुन्छ। कामकुराहरूलाई हेर्ने उसको तरिका र उसका विचार र दृष्टिकोणहरू सामान्य सोचाइको दायराभन्दा बाहिर पर्छन्, र उसका विचारहरू प्रायजसो अरू सबैको भन्दा फरक हुन्छन्। अरूले भनेको कुरा सही हुँदा पनि उसले स्वीकार गर्न मान्दैन, र उसले कुनै पनि प्रकारको स्पष्टीकरण सुन्दैन। ऊ आफ्नै विचारमा दृढ भएपछि, दश वटा साँढेले ताने पनि उसलाई त्यसबाट टसमस गराउन सक्दैनन्। अर्थात्, उसले असल र खराब छुट्याउन सक्दैन। उसले आफ्ना विचार र दृष्टिकोणमा असल ठानेका कुराहरू, सामान्य मानवताको सोचाइ भएका मानिसहरूका लागि विकृत कुराहरू—खुला रूपमा प्रस्तुत गर्न नसकिने कुराहरू बाहेक केही हुँदैनन्। उसका दृष्टिकोणहरू केवल केटाकेटीको जस्तो वा नीच र मूल्यहीन मात्रै हुँदैनन्; ती सामान्य मानवताको सोचाइले उत्पादन गर्ने विचार वा दृष्टिकोणहरू हुँदै हुँदैनन्। त्यसैले, यस प्रकारको व्यक्ति धेरैजसो मानिसहरूसँग मिल्न सक्दैन। यो भ्रष्ट स्वभावका कारण, वा जीवनका बानीबेहोरा वा भाषिक अड्चनहरूका कारण भएको हुँदैन, र यो उसले केही दुष्ट कार्यहरू गर्ने वा अनौठो व्यवहारमा संलग्न हुने कारणले त पक्कै पनि भएको हुँदैन। यो मुख्यतया उसको मानवताले प्रदर्शन गर्ने यी विशेषताहरू—विकृत बुझाइ, भावशून्यता, अन्योलता, र मूर्खताका कारण भएको हुन्छ, जसले गर्दा उसलाई धेरैजसो मानिसहरूसँग मिल्न असम्भव हुन्छ। अवश्य पनि, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू पनि धेरैजसो मानिसहरूसँग मिल्न सक्दैनन्, तर तिनीहरूमा यो एउटै लक्षण भए पनि, तिनीहरू अरूसँग मिल्न नसक्नुको सार वा घटना पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूको भन्दा फरक हुन्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू अरूसँग मिल्न सक्दैनन् किनभने तिनीहरू सारमा दियाबलसहरू हुन्, जबकि पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूमा सामान्य मानवताको सोचाइ र बुद्धिमत्ताका साथै सामान्य मानवताको विवेक र समझको पूर्ण रूपमा कमी हुन्छ, त्यसैले सामान्य मानिसहरूलाई तिनीहरूसँग कुराकानी गर्न निकै गाह्रो हुन्छ—तिनीहरूले सिद्धान्तहरू समावेश नहुने सानातिना, घरेलु मामिलाहरूका बारेमा मात्रै कुरा गर्न सक्छन्, जसले गर्दा कुराकानीको दायरा धेरै सीमित हुन्छ। आखिरमा, पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरू दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू होइनन्, तिनीहरू त्यस प्रकारका मानिसहरूभन्दा फरक हुन्छन्, र तिनीहरू पनि जीवित प्राणीहरूको एउटा वर्गमा पर्छन्। त्यसैले, जबसम्म प्रमुख सिद्धान्तहरू संलग्न हुँदैनन्, तबसम्म तिनीहरूले अझै पनि आफ्नो दैनिक जीवनमा वा आफ्ना कर्तव्यहरू पूरा गर्दा अरूसँग मुस्किलले घुलमिल हुन, बोलचाल गर्न, र अन्तरक्रिया गर्न सक्छन्। तर, जब प्रमुख सत्यता सिद्धान्तहरू वा कुन मार्ग लिने भन्नेबारेका छनौटहरू संलग्न हुन्छन्, तब यस प्रकारको व्यक्ति धेरैजसो मानिसहरूसँग पूर्ण रूपमा अमिल्दो हुन्छ र तिनीहरूसँग त्यसउप्रान्त मिल्न सक्दैन। उदाहरणका लागि, तैँले यस प्रकारको व्यक्तिसँग दैनिक जीवनका विषयहरू—तँलाई कुन-कुन खानेकुरा र परिकारहरू मन पर्छ, तिनलाई राम्ररी पकाउने तरिका, तेरो गृहनगरबारेका कुराहरू, इत्यादिबारे कुराकानी गर्छस्। तैँले जति धेरै कुरा गर्छस्, तँसँग भन्नुपर्ने कुरा त्यति नै धेरै हुन्छ र कुराकानी त्यति नै सहज हुन्छ। के यसको अर्थ तिमीहरू दुई जना मिल्ने खालका छौ भन्ने हो? के यसको अर्थ तिमीहरू एउटै वर्गमा पर्छौ भन्ने हो? (होइन।) तैँले यस प्रकारको कुराकानीका आधारमा मात्रै ती कुराहरू भन्न सक्दैनस्। तर जब तँ आफूले परमेश्वरमा विश्वास गर्ने कारण र परमेश्वरमाथिको विश्वासबारे तेरा दृष्टिकोणहरू, साथै विचार र दृष्टिकोणहरू, सत्यता सिद्धान्तहरू, जीवनप्रतिका दृष्टिकोणहरू, मूल्यमान्यताहरू, मानिसहरूले हिँड्ने मार्गहरू, मानिसहरूका पछ्याइहरू, इत्यादि संलग्न विषयहरूका बारेमा कुरा गर्छस्, तब तिमीहरूका विचार र दृष्टिकोणहरू र तिमीहरूको सोच्ने तरिकाहरू झन्-झन् फरक हुँदै जान्छन्, र ती उप्रान्त एकैनासका हुँदैनन्, र कुराकानीमा गतिरोध उत्पन्न हुन्छ। अनि किन त्यसो हुन्छ? किनभने उसको बोध विकृत छ। जब तैँले उसलाई पहिलो पटक बोल्दै गरेको सुन्छस्, तब तँलाई ऊ निकै चतुर छ भन्ने लाग्छ, तर समय बित्दै जाँदा तैँले उसले शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्छ र ऊ निकै अहङ्कारी छ भन्ने पत्ता लगाउँछस्। ऊप्रतिको तेरो भावना बदलिन्छ, त्यो उप्रान्त त्यति सहज रहँदैन, तगारोहरू उत्पन्न हुन्छन्, र तिमीहरू प्रत्येक जुन-जुन वर्गमा पर्छौ ती वर्गहरू छुट्टिन्छन्। हेर् त, जब तिमीहरूले पारिवारिक जीवन वा आफ्नो व्यक्तिगत विगतबारे छलफल गर्छौ, वा खानपिन, मनोरञ्जन, रुचि, र सोखहरू जस्ता दैनिक जीवनको दायराभित्रका विषयहरूमा कुराकानी गर्छौ, तब तिमीहरू अझै पनि कुराकानी गर्न सक्छौ। तर जब कुराकानीले विचार र दृष्टिकोण, सत्यता सिद्धान्तहरू, जीवनप्रतिको दृष्टिकोण, मूल्यमान्यताहरू, जीवन मार्गहरू, वा परमेश्वर र कर्तव्यप्रतिको मनोवृत्तिलाई छुन्छ, तब त्यो रोकिन्छ। ऊप्रतिको तेरो दृष्टिकोण बदलिन्छ, र तँप्रतिको उसको दृष्टिकोण पनि बदलिन्छ। तँलाई आफ्नो हृदयमा ऊप्रति केही मात्रामा झर्को महसुस हुन थाल्छ, र उसको हृदयमा तँप्रति तगारोहरू उत्पन्न हुन्छन्। उसले तँलाई मन पराउँदैन, र तैँले उसलाई मन पराउँदैनस्। बिस्तारै, तिमीहरू टाढा हुन्छौ र उप्रान्त तिमीहरूको बोल्ने भाषा एउटै हुँदैन। मानिसहरूका विभिन्न वर्गहरू यसरी छुट्टिन्छन्। त्यसकारण, कुन व्यक्ति कुन वर्गमा पर्छ भनी छुट्ट्याउनका लागि, उसको बोध सामर्थ्य कस्तो छ, ऊसँग सामान्य व्यक्तिको विवेक र समझ छ कि छैन, र ऊसँग सामान्य सोचाइ र बुद्धिमत्ता छ कि छैन भनेर हेर्नुपर्छ। पशुबाट पुनर्जन्म लिएको यस प्रकारको व्यक्तिको हकमा भन्दा, हामी अब उसमाथि विशेष रूपमा सङ्गति गर्नेछैनौँ। यसपछि, हामी अन्य दुई प्रकारका मानिसहरूका बारेमा सङ्गति गरेर अगाडि बढ्नेछौँ। त्यो सकिसकेपछि, हामी फर्केर आउनेछौँ र यी तीन प्रकारहरूको तुलना गर्नेछौँ। यस तुलनामार्फत, यी तीन प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्ने कुरा झन्-झन् स्पष्ट र छर्लङ्ग हुँदै जानेछ।