सत्यता कसरी पछ्याउने (११) भाग पाँच

स्टारहरूको अन्धभक्ति गर्न मन पराउनु

हामीले कला मन पराउने विषयको छलफल टुङ्ग्याइसकेका छौँ। अब, सेलिब्रेटीहरूका निजी मामिलाहरूमा चासो राख्न मन पराउने विषयमा कुरा गरौँ। कतिपय मानिस विशेष गरी सेलिब्रेटीहरू, स्टारहरूका निजी मामिलाहरूमा चासो राख्न मन पराउँछन्—जस्तै, सेलिब्रेटीहरू के खान्छन्, के लगाउँछन्, रमाइलो गर्न कहाँ जान्छन्, तिनीहरूले कस्मेटिक सर्जरी गरेका छन् कि छैनन्, तिनीहरू कोसँग प्रेम सम्बन्धमा छन्, तिनीहरूका विपरीत लिङ्गी साथीहरू को-को छन्, तिनीहरूका यौन साथीहरू को-को छन्, यहाँसम्म कि तिनीहरूका कति जना अवैध सन्तानहरू छन् र तिनीहरू कुन-कुन उच्च-पदस्थ अधिकारीहरू र धनी मानिसहरूसँग घनिष्ठ रूपमा संलग्न भएका छन्। त्यस्ता मानिसहरू सेलिब्रेटीहरूका यी निजी मामिलाहरूमा विशेष रूपमा चासो राख्छन्। तिनीहरू सेलिब्रेटीहरूका निजी मामिलाहरूमा चासो मात्रै राख्दैनन्, विशेष गरी सेलिब्रेटीहरूका दैनिक जीवनशैलीका छनौटहरू, तिनीहरूका बोली र व्यवहार, र जीवनप्रतिको तिनीहरूको मनोवृत्तिको नक्कल गर्न पनि मन पराउँछन्। साथसाथै, तिनीहरू विशेष गरी तिनीहरूको अत्तोपत्तो र तिनीहरूका विभिन्न विचार र दृष्टिकोण पछ्याउन पनि मन पराउँछन्। उदाहरणका लागि, यदि कुनै सेलिब्रेटीलाई निश्चित प्रकारको घरपालुवा कुकुर पाल्न मन पर्छ भने, तिनीहरू पनि त्यस्तै कुकुर पाल्छन्। यदि कुनै सेलिब्रेटीले बजारमा विशेष रूपमा लोकप्रिय रहेको निश्चित ब्रान्डको लुगा लगाउँछ भने, तिनीहरू पनि त्यही लुगा किन्छन्। यदि तिनीहरूसँग त्यो किन्न सक्ने आर्थिक क्षमता छैन भने, तिनीहरू त्यसको सट्टा नक्कली लुगा किन्छन्। यदि कुनै सेलिब्रेटीले कुनै निश्चित कस्मेटिक प्रसाधन प्रयोग गर्छ भने, तिनीहरू कङ्गाल नै भए पनि र तिनीहरूले त्यो किन्नका लागि मिर्गौला वा रगत नै बेच्नुपरे पनि, तिनीहरू आफूलाई सुन्दर बनाउन त्यो किन्छन्। तिनीहरू सेलिब्रेटीहरूलाई उनीहरूले प्रस्तुति दिने, पत्रकार सम्मेलन गर्ने, वा चलचित्र र टेलिभिजन रिलिज कार्यक्रमहरूमा उपस्थित हुने जुनसुकै ठाउँमा पनि पछ्याउँछन्। तिनीहरू आफूले पछ्याउने सेलिब्रेटीको हरेक शब्द र कार्य, हरेक गतिविधि, र सबै अत्तोपत्तोमा ध्यान दिन्छन् र तिनलाई पछ्याउँछन्, र आसक्तिको यस्तो हदसम्म पुग्छन् जहाँ तिनीहरूको आफ्नै जीवन, वा आफ्नै सही विचार, दृष्टिकोण, र जीवनशैली हुँदैन, जहाँ तिनीहरू सेलिब्रेटीका विचार, दृष्टिकोण, र जीवनशैलीद्वारा पूर्ण रूपमा भ्रमित र नियन्त्रित हुन्छन्। यो कस्तो समस्या हो? के यो जन्मजात अवस्था हो? (होइन।) के मानिसहरू आज जिउने सामाजिक वातावरणसँग यसको कुनै सम्बन्ध छ? (छ।) यसको अलिकति सम्बन्ध छ। त्यसोभए, सबै मानिस एउटै हालको वातावरणमा जिउने तथ्यको बाबजुद, किन सधैँ सबै जना नभई मानिसहरूको एउटा निश्चित समूहले मात्रै स्टारहरूको अन्धभक्ति गर्छन् त? यो के कुरासँग सम्बन्धित छ? के तँ स्टारहरूको अन्धभक्ति गर्ने यी मानिसहरू कलालाई प्रेम गर्छन् भनेर भन्छस्? जरुरी छैन। के तिनीहरू कलामा सिपालु छन्? त्यो पनि जरुरी छैन। तर तिनीहरूले गर्ने कुराहरू कला क्षेत्रका मानिसहरूसँग र कलात्मक प्रचलनहरूसँग सम्बन्धित हुन्छन्। यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावहरूको समस्या हो? यो ठ्याक्कै भ्रष्ट स्वभावहरूको प्रकटीकरण नै हो। त्यस्ता मानिसहरू दुष्टतालाई श्रद्धा गर्छन् र दुष्ट प्रचलनहरू पछ्याउँछन्। त्यसोभए, के त्यस्ता मानिसहरूको मानवतामा कुनै समस्या छ? (छ।) जीवनमा चुन्नका लागि यति धेरै मार्ग हुँदाहुँदै, तिनीहरू किन यस्तो मार्ग छनौट गर्छन्? के यसमा चरित्रको समस्या समावेश हुन्छ? (हुन्छ।) कतिपय मानिस भन्छन्: “यो मानवताको खराबी हो। यो जन्मजात रूपमै सिधा र मूर्ख हुनु, र अरूद्वारा सजिलै भ्रमित पारिनु हो।” के कारण यही हो त? (होइन।) अरू मानिसहरू भन्छन्: “के स्टारहरूको अन्धभक्ति गर्ने धेरैजसो मानिस जवान, अपरिपक्व, र सतही हुने हुनाले, र यी सामाजिक प्रचलनहरूको प्रलोभन सहन नसक्ने हुनाले यस्तो भएको हो?” के तिनीहरू जवान भएकाले यस्तो भएको हो? (होइन।) स्टारहरूको अन्धभक्ति गर्ने कतिपय मानिस अधबैँसे वा वृद्ध हुन्छन्—यस समूहमा सबै उमेरका मानिसहरू समावेश हुन्छन्। यसलाई मध्यनजर गर्दा, स्टारहरूको अन्धभक्ति गर्ने यी मानिसहरू जवान, अपरिपक्व भएकाले, र तिनीहरूले जीवनका मामिलाहरू बुझिनसकेकाले यी सामाजिक प्रचलनहरूद्वारा भ्रमित पारिएका होइनन्। त्यसकारण, “स्टारहरूको अन्धभक्ति गर्ने मानिसहरू सबै जवान र अपरिपक्व हुन्छन्” भन्‍ने दाबी सत्य ठहरिँदैन। यो जवान र अपरिपक्व भएको कारणले नभएको हुनाले, यो मानवताको समस्या हो। त्यसोभए, यो मानवताको कस्तो समस्या हो? के यो उचित कार्यहरूमा संलग्न नहुनु हो? (हो।) एक हिसाबमा, यो उचित कार्यहरूमा संलग्न नहुनु हो; अर्को हिसाबमा, यो केही हदसम्म चञ्चल हुनु र उचित सीमाभित्र नबस्नु हो। अरू के हो? (सही मार्गमा नहिँड्नु।) त्यो सही हो—यो सही मार्गमा नहिँड्नु हो। यसमा व्यक्तिले लिने मार्गको समस्या समावेश हुन्छ। वयस्क भएपछि, व्यक्ति कुन पेसामा संलग्न हुन्छ, र उसले यस समाजमा र मानिसहरूको बीचमा कस्तो प्रकारको मार्ग पछ्याउने छनौट गर्छ भन्‍ने कुरा हरेक व्यक्तिको अगाडि रहेको एउटा अनिवार्य पाठ हो। ऊ आफ्नो मर्यादामा बस्छ र उचित तरिकाले आफ्ना दिनहरू बिताउँछ कि बिताउँदैन, ऊ उचित पेसामा संलग्न हुन्छ कि हुँदैन, र ऊ उचित कामहरूमा संलग्न हुन्छ र सही मार्गमा हिँड्छ कि हिँड्दैन—यी सबै कुरा ऊ आफ्नो मानवताभित्र के मन पराउँछ र के पछ्याउँछ भन्‍ने कुरामा निर्भर हुन्छन्। जीवनका सबै क्षेत्रका मानिसहरूलाई हेर्—कतिपयले मार्सल आर्ट अभ्यास गर्छन्, कतिपयले स्वस्थ जीवनशैलीबारे सिक्छन्, कतिपय प्रविधि उद्योगमा संलग्न हुन्छन्, कतिपय फेसन उद्योगमा संलग्न हुन्छन्, कतिपय चलचित्र र टेलिभिजन उद्योगमा संलग्न हुन्छन्, कतिपयले व्यापार गर्छन्, र कतिपय राजनीतिमा प्रवेश गर्छन्, जबकि कतिपयले बौद्ध धर्ममा विश्वास गर्छन्, कतिपय दाओ आस्थामा सामेल हुन्छन्, र कतिपयले परमेश्‍वरमा विश्वास गर्ने छनौट गर्छन्। कतिपय मानिसको कुनै उचित पेसा हुँदैन, न त तिनीहरू जीवनमा आफ्नै लक्ष्यहरू नै खोज्छन्—हरेक दिन, तिनीहरू स्टारहरूको अन्धभक्ति गर्नमा मात्रै ध्यान केन्द्रित गर्छन्। तिनीहरू यो कुन हदसम्म गर्छन्? तिनीहरूको भोक-प्यास नै हराउने हदसम्म। यदि तिनीहरूले अन्धभक्ति गर्ने स्टार तिनीहरूको सपनाको प्रेमी हो भने, तिनीहरू कुनै पनि समयमा आफ्नै जीवनसाथीलाई समेत त्याग्न सक्छन्। यदि यी मानिसहरू आसक्तिको हदसम्म, यसले तिनीहरूको जीवन र तिनीहरूको मार्गको छनौटलाई निर्देशित गर्न सक्ने हदसम्म स्टारहरूको अन्धभक्ति गर्छन्, र यो तिनीहरूको जीवनको एक अपरिहार्य भाग बन्छ भने, तिनीहरूको जीवन हाल कस्तो स्थितिमा छ त? तिनीहरूले आफ्ना दिनहरू बिताउँदा आफ्नो मर्यादामा बसिरहेका हुँदैनन्। यदि स्टारहरूको अन्धभक्ति गर्ने व्यक्ति महिला हो भने, के उनी आफ्नो श्रीमान्‌लाई साथ दिने र आफ्ना छोराछोरी हुर्काउने एउटी कर्तव्यपरायण गृहिणी, एउटी सद्गुणी पत्नी र मायालु आमा बन्न सक्छिन्? (सक्दिनन्।) आसक्तिको हदसम्म स्टारहरूको अन्धभक्ति गर्ने व्यक्ति बिलकुलै पागल हुन्छ। उसलाई आफ्नो सपनाको प्रेमीले जहाँ कन्सर्ट वा पत्रकार सम्मेलन गरे पनि अटोग्राफ लिन आफू जानैपर्छ भन्‍ने लाग्छ। ऊ उसलाई पछ्याउनकै लागि हवाइजहाजबाट लामो दूरीको यात्रा गर्छ र सिमानाहरूसमेत पार गर्छ, र उसको परिवारले उसलाई रोक्न सक्दैन। ऊ निरन्तर अनलाइनमा सेलिब्रेटीको यात्रा-तालिकाको निगरानी गर्छ र सेलिब्रेटी देखा पर्ने ठाउँहरूमा कुरेर बस्छ। यदि उसले त्यस सेलिब्रेटीलाई छुटायो भने, ऊ केही दिन र रात नखाई र नसुती बस्छ, र निरन्तर रोइरहन्छ। सामान्यतया, इन्टरनेट र टिभीमा उसले चासो राख्ने सबै कुरा सेलिब्रेटीहरूकै बारेमा हुन्छ। अवश्य नै, कतिपय मानिस एउटा मात्र सेलिब्रेटीमा नभई धेरैमा ध्यान केन्द्रित गर्छन्—पुरुष र महिला सेलिब्रेटीहरू, जवान, अधबैँसे, र वृद्ध सेलिब्रेटीहरू। तिनीहरू यी सेलिब्रेटीहरूको रूप, तिनीहरूको वैवाहिक स्थिति, तिनीहरूको प्रेम सम्बन्धको अवस्था, र तिनीहरूको निजी जीवनमा चासो राख्छन्, र तिनीहरूबारे जानकारी खोज्न धेरै मानसिक ऊर्जा खर्च गर्छन्। तिनीहरू स्टारहरूको अन्धभक्ति गर्ने कुरालाई जीवनमा आनन्द र रुचिको स्रोत मान्छन्, र यो कुनै गम्भीर मामला भए झैँ गरी यसमा संलग्न हुन्छन्। यस प्रकारको व्यक्तिको जीवन कस्तो स्थितिमा हुन्छ? ऊ जिउँदो लास जस्तै हुन्छ—उसका विचार, उसको जीवनको स्थितिका साथै उसको दैनिक व्यवहार र उसको मनस्थिति राम्रो वा खराब हुनु पूर्ण रूपमा ऊ पछि लाग्ने र उसले नक्कल गर्ने सेलिब्रेटीबाट प्रभावित हुन्छ। यदि ऊ पछि लाग्ने सेलिब्रेटी प्रेम सम्बन्धमा पर्‍यो भने, उसलाई यति धेरै दुःख लाग्छ कि केही दिन र रातसम्म उसको भोक-प्यास नै हराउँछ। यदि सेलिब्रेटीको आफ्नो पार्टनरसँगको सम्बन्ध टुट्यो भने, उसको खुसीको सीमा नै हुँदैन, ऊ भोज खान्छ, श्याम्पेन फोड्छ, र उत्सव मनाउन वेइबोमा पोस्ट गर्छ। हरेक रात, ऊ आफू पछि लागेको सेलिब्रेटीको साथमा भएको सपना देख्छ, र मीठा सपनाहरू मात्र देख्छ! ऊ पछि लाग्ने सेलिब्रेटी उसको सपनाको प्रेमी हो, र उसलाई यो व्यक्तिजति राम्रो अरू कोही पनि लाग्दैन। के उसको जीवनको स्थिति असामान्य छैन र? (छ।) ऊ आसक्तिको यस हदसम्म पुगेको छ—के उसलाई दुष्ट आत्माले नियन्त्रण गरेको छ? (छ।) त्यसोभए, के यस प्रकारका मानिसहरूको मानवतामा कुनै खराबी छ, कुनै त्रुटि छ, कि कुनै समस्या छ? (कुनै समस्या छ।) तिनीहरूको मानसिक स्थिति अलिक असामान्य हुन्छ। सामान्य मानिसहरूले कहिलेकाहीँ कला क्षेत्रका मानिसहरूका बारेमा केही समाचार सुन्छन्, र फुर्सदमा गफगाफ गर्दा, तिनीहरूले यसबारे यत्तिकै दुई-चार शब्द बोल्न पनि सक्छन्, तर तिनीहरू वास्तविक जीवनमा फर्केपछि सामान्य रूपमै आफ्नो जीवन जिइरहन्छन्। यदि तिनीहरू आमा हुन् भने, तिनीहरू आमाका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्; यदि तिनीहरू बुबा हुन् भने, तिनीहरू बुबाका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्। तिनीहरू संलग्न हुने काम अलिकति पनि प्रभावित वा अवरुद्ध हुँदैन। यदि तिनीहरूलाई मन पर्ने स्टारले कतै कन्सर्ट गर्छ भने, तिनीहरूलाई आफूसँग यसको कुनै सम्बन्ध नरहेको महसुस हुन्छ र तिनीहरू प्रभावित नभई सामान्य रूपमै आफ्नो जीवन जिइरहन्छन्। तिनीहरूमा त्यस स्टारप्रति केही प्रशंसा र ईर्ष्या, र अलिकति लगाव भए पनि, तिनीहरू वास्तविक जीवनमा फर्कँदा, तिनीहरूसँग स्वतन्त्र विचारहरू हुन्छन्, र तिनीहरूको आफ्नै जीवन र करियर, तिनीहरूको आफ्नै आस्था, र तिनीहरूले पछ्याउनुपर्ने कुराहरू र तिनीहरू हिँड्नुपर्ने मार्गमा पटक्कै असर पर्दैन। यो मानवताको सामान्य सोचाइ र सामान्य मानसिक स्थिति हुनु हो। तर, स्टारहरूको अन्धभक्ति गर्न मन पराउने मानिसहरूले यस क्रममा आफूलाई र आफूलाई नियन्त्रण गर्ने सामर्थ्य गुमाइसकेका हुन्छन्; तिनीहरू यी तथाकथित स्टारहरूद्वारा पूर्ण रूपमा निर्देशित हुन्छन्—तिनीहरूकै इसारामा चल्छन्। तिनीहरूका विचार र तिनीहरूको जीवनको स्थिति पूर्ण रूपमा स्टारहरूका शब्द, कार्य, र संवेगहरूद्वारा नियन्त्रित र निर्देशित हुन्छन्। यो अब मानवताको समस्या मात्रै होइन—तिनीहरूको मानसिक स्थिति केही हदसम्म समस्याग्रस्त हुन्छ। तिनीहरूका संवेगहरू असामान्य बनेका हुन्छन्, तिनीहरूको दैनिक जीवनको स्थिति अस्तव्यस्त बनेको हुन्छ, र तिनीहरूले पूर्ण रूपमा आफ्नो दिशा गुमाएका हुन्छन्। तिनीहरूको सम्पूर्ण जीवन स्टारहरूको अन्धभक्ति गर्नुमा मात्रै सीमित हुन्छ; स्टारहरूको अन्धभक्ति गर्नु नै तिनीहरूको अस्तित्वको मार्गको एक मात्र अपरिहार्य कुरा हुन्छ। तिनीहरू जिउन्जेल र सास फेरून्जेल, स्टारहरूको अन्धभक्ति गर्नमा रमाउँछन्, र तिनीहरू हरेक दिन समय बिताउन यसैमा भर पर्छन्। यदि तिनीहरूले स्टारहरूको अन्धभक्ति गरेनन् भने, तिनीहरूलाई जीवन रित्तो र अर्थहीन रहेको, र आफू कुनै लक्ष्य वा दिशाविना जिइरहेको भन्ने लाग्छ, र हृदयमा हराएको महसुस हुन्छ। त्यसैले, समय-समयमा, तिनीहरूलाई आफूलाई मन पर्ने सेलिब्रेटीबारे नयाँ जानकारी खोज्न अनलाइन जानुपर्छ भन्‍ने लाग्छ—तिनीहरू के खाँदै र पिउँदै छन्, तिनीहरूको जीवन हाल कस्तो स्थितिमा छ, उसले कहिले कन्सर्ट गर्नेछ, उसको पछिल्लो चलचित्रको प्रस्तुति कस्तो थियो, उसको वैवाहिक स्थिति कस्तो छ, उसको पारिवारिक अवस्था कस्तो छ—तिनीहरू समय बिताउन र आफ्नो खाली, दिशाहीन, र अन्योलपूर्ण जीवन भर्न बेलाबेलामा यस्ता जानकारीहरू खोज्छन्। के तिनीहरू यी सेलिब्रेटीहरूद्वारा पूर्ण रूपमा नियन्त्रित भएका छैनन् र? के तिनीहरू स्टारहरूको अन्धभक्ति गर्ने यो मानसिकता वा प्रचलनद्वारा नियन्त्रित भएका छैनन् र? (छन्।) त्यसोभए, के यस प्रकारका मानिसहरूमा अझै पनि विवेक र समझ हुन्छ त? तिनीहरूको दिमाग खुस्किएको हुन्छ, तिनीहरूको मानसिक स्थिति असामान्य बनेको हुन्छ। यस प्रकारको बाह्य प्रचलन वा घटनाद्वारा भ्रमित र विचलित पारिएपछि, तिनीहरूले आफ्नो दिशा गुमाएका हुन्छन् र तिनीहरूलाई उप्रान्त आफूले गरिरहेको कुरा सही छ कि गलत छ भन्‍ने थाहा हुँदैन—तिनीहरूलाई आफ्ना लागि के राम्रो वा नराम्रो हो भन्‍ने थाहा हुँदैन। यदि मानिसहरूले तिनीहरूलाई रोक्ने प्रयास गरे भने, तिनीहरू त्यो कुरा ग्रहण गर्न वा बुझ्न पटक्कै सक्दैनन्। आफूले पुज्ने स्टारको कन्सर्टमा उपस्थित हुनका लागि, तिनीहरू तीनदेखि पाँच महिनासम्मको तलब खर्च गर्न इच्छुक हुन्छन्, र तिनीहरू केही मूल्यवान् वस्तु धितो राख्ने, वा पैसा सापट लिने समेत गर्छन्, र फर्केपछि, तिनीहरूले आफ्नो ऋण तिर्नुपर्छ। स्टारहरूको अन्धभक्ति गर्ने आफ्नो लक्ष्य हासिल गर्नकै लागि तिनीहरू यस्तो मूल्य चुकाउँछन्। के यस प्रकारका मानिसहरू सामान्य हुन्? (होइनन्।) तिनीहरू पुगेको आसक्तिको स्तर र आत्म-नियन्त्रणको कमीलाई हेर्दा, त्यस्ता मानिसहरूले सबै विवेक र समझ गुमाइसकेका हुन्छन्, र उप्रान्त आफूलाई नियन्त्रण गर्न सक्दैनन्; तिनीहरू स्टारहरूको अन्धभक्ति गर्नकै लागि आफूले खर्च गर्ने पैसाको मात्रा र आफूले गर्ने यात्राको दूरीको पटक्कै वास्ता गर्दैनन्। तसर्थ, यी प्रकटीकरणहरूलाई हेर्दा, तिनीहरूलाई सामान्य मानिसहरूका रूपमा वर्गीकरण गर्न निकै गाह्रो हुन्छ। तिनीहरूको मानवतामा समस्या छ भनेर भन्‍नैपर्छ—तिनीहरूले आफ्नो चेतना गुमाएका छन्। त्यसोभए, तिनीहरूको विवेकले अझै काम गर्छ त? के तिनीहरूसँग अझै पनि विवेक छ? (अहँ, छैन।) त्यसोभए तिनीहरू कस्ता मानिस हुन्? तिनीहरूसँग न त विवेक हुन्छ न समझ नै; तिनीहरूको मानवता एउटा रित्तो खोलमै सीमित भएको हुन्छ। सामान्य मानवताको वास्तविक जीवन तिनीहरूबाट झन्-झन् टाढा भएको हुन्छ। तिनीहरूलाई वास्तविक जीवनमा घुलमिल हुन निकै गाह्रो हुन्छ र तिनीहरूलाई आफ्नो मन शान्त पार्न र वास्तविक जीवनका सामान्य मामिलाहरूमा संलग्न हुन निकै गाह्रो हुन्छ। तिनीहरूको जीवनमा, स्टारहरूको अन्धभक्ति गर्ने एउटा मात्र मामिला हुन्छ। त्यसोभए के तिनीहरूको आत्मिक संसार स्टारहरूको अन्धभक्ति गर्ने मामिलाद्वारा नियन्त्रित भएको छैन र? (छ।) त्यस्तो व्यक्ति बाहिरबाट हेर्दा मानिस जस्तो देखिन्छ, तर सारमा, के ऊ फगत रित्तो खोल बनिसकेको छैन र? (छ।) रित्तो खोलका रूपमा बाँकी रहेकाहरू कस्ता मानिसहरू हुन्? (जिउँदा लासहरू।) ठीक भन्यौ—जिउँदा लासहरू। के तिनीहरूसँग आस्था हुन्छ? (हुँदैन।) के तिनीहरूका कुनै सकारात्मक पछ्याइहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरू सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन्, न्यायवान् कुरा के हो र दुष्ट कुरा के हो भन्‍ने कुरा बुझ्छन्? (बुझ्दैनन्।) तिनीहरू बुझ्दैनन् भन्‍ने कुरा कसरी देख्न सकिन्छ? हाल, मञ्चमा प्रख्यात गायकहरू झन्-झन् खुल्ला र उत्तेजक लुगाहरू लगाइरहेका छन्, र झन्-झन् दुष्ट चालहरू प्रदर्शन गरिरहेका छन्। यी स्टारहरूको अन्धभक्ति गर्ने दर्शकहरूलाई यो हेर्दै गर्दा झन्-झन् बढी उत्साहित, सन्तुष्ट, र मग्न भएको महसुस हुन्छ। विशेष गरी, जब कुनै पप स्टार अलिकति उत्तेजित हुन्छ र आफ्ना लुगा फुकालेर दर्शकहरूतर्फ फ्याँक्छ, तब भीडमा भएका मानिसहरू पूर्ण रूपमा पागल हुन्छन्। कतिपय त यति धेरै उत्साहित हुन्छन् कि तिनीहरूलाई हृदयघात हुन्छ र त्यसपछि तिनीहरू बेहोस हुन्छन्। स्टारहरूको अन्धभक्ति गर्ने दृश्यहरू वास्तवमा यति चरम हुन्छन्! कहिलेकाहीँ त भागदौड समेत मच्चिन्छ, र कतिपय मानिस घाइते हुन्छन् र उद्धारका प्रयासहरू असफल हुँदा तिनीहरूले आफ्नो ज्यान गुमाउँछन्। यी सबै स्टारहरूको अन्धभक्ति गर्नाले निम्तिने त्रासदीहरू हुन्। स्टारको अन्धभक्ति गरेको परिणामस्वरूप घाइते हुनु र आफ्नो ज्यान गुमाउनु—मलाई भन्, के यस्तो जीवन व्यर्थको छैन र? के यसको कुनै मूल्य छ? तिनीहरूका संवेगहरू, तिनीहरूले मन पराउने कुराहरू, र तिनीहरूलाई चिच्याउने हदसम्म उत्साहित बनाउने दृश्यहरूलाई हेर्दा, के यी मानिसहरूलाई लाज भनेको के हो भन्ने थाहा हुन्छ? के तिनीहरूलाई सकारात्मक र न्यायवान् कुराहरू के हुन्, र दुष्ट कुराहरू के हुन् भन्‍ने कुरा थाहा हुन्छ? (हुँदैन।) तिनीहरूलाई थाहा हुँदैन। सामान्य मानिसहरूले यी दृश्यहरू देख्छन् र विकर्षित महसुस गर्छन्: “संसार कसरी यति दुष्ट बन्यो? यो अत्यन्तै दुष्ट छ!” तर स्टारहरूको अन्धभक्ति गर्ने यी मानिसहरूले यी दृश्यहरू देख्छन् र खुसी, गर्व, सन्तुष्ट, र तृप्त महसुस गर्छन्, अब यस जीवनमा कुनै पछुतो छैन भन्‍ने विश्वास गर्छन् र तिनीहरू यी दृश्यहरूका लागि चिच्याउँछन् र कराउँछन्। यसले तिनीहरूलाई आफ्नो प्राणको गहिराइमा दुष्ट कुराहरू के हुन्, न्यायवान् कुराहरू के हुन्, सकारात्मक कुराहरू के हुन्, वा नकारात्मक कुराहरू के हुन् भन्‍ने कुरा थाहा हुँदैन भन्‍ने देखाउँछ। गायक वा अभिनेताहरूका कतिपय महिला प्रशंसक आफूलाई मन पर्ने पुरुष स्टारलाई उसको निवाससम्मै पछ्याउने समेत गर्छन्, र आफूलाई उसलाई सुम्पन तयार हुन्छन्। जब स्टारले अस्वीकार गर्छ, तब तिनीहरू रिसाउने समेत गर्छन् र स्टारलाई काँतर भन्छन्। के त्यस्ता मानिसहरूमा अलिकति पनि लाज हुन्छ र? के तिनीहरू “लाजको बोध” भन्‍ने शब्दहरूको अर्थ बुझ्छन्? के तिनीहरू सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्‍ने कुरा बुझ्छन्? (बुझ्दैनन्।) तिनीहरू “लाजको बोध” भन्‍ने शब्दहरू समेत बुझ्दैनन्। जब स्टारले अस्वीकार गर्छ, तब तिनीहरू उसको अपमान समेत गर्छन्। के तिनीहरू मानव त हुन्? तिनीहरूको मानवतामा कुनै कुराको कमी भएको होइन—तिनीहरू मानसिक रूपमा विक्षिप्त छन्; तिनीहरू अशुद्ध आत्मा र दुष्ट आत्मा हुन्!

विभिन्न समूहका मानिसहरूमध्ये, स्टारहरूको अन्धभक्ति गर्नमा आसक्त हुने मानिसहरूको एउटा हिस्सा सधैँ हुन्छ। त्यस्ता मानिसहरू, ठ्याक्कै भन्नुपर्दा, जिउँदा लास हुन्, र तोकेरै भन्दा, तिनीहरू गैर-मानव हुन्। तिनीहरू मञ्चमा र पर्दाहरूमा देखा परिरहने स्टारहरूलाई पछि लाग्नुपर्ने कुराका रूपमा लिन्छन्, र त्यसो गर्नुलाई एउटा वैध पेसा समेत मान्छन्। तिनीहरू यसरी नै आफ्नो जीवन खेर फाल्छन्। के भन्नैपर्छ भने, सम्पूर्ण समाजमा, यस प्रकारका मानिसहरू एउटा विशेष समूह हुन्, लगभग समाजको पिँधमा रहेका र उचित कामहरूमा संलग्न नहुने मानिसहरू जस्तै हुन्—तिनीहरू सबै नीच र मूल्यहीन हुन्! तिनीहरूसँग कुनै आस्था हुँदैन, कुनै सकारात्मक पछ्याइहरू हुँदैनन्, र तिनीहरूको मानवतामा कुनै सकारात्मक आवश्यकता, सकारात्मक आकाङ्क्षा, वा सकारात्मक कुराहरू हुँदैनन्। कलाको संसार जतिसुकै दुष्ट वा जतिसुकै अन्धकारमय भए पनि, तिनीहरू वास्ता गर्दैनन् वा यसलाई घिनलाग्दो मान्दैनन्, र तिनीहरू यसलाई स्वीकार र अनुमोदन गर्छन्, र अझ त्यसमाथि, जोसका साथ यसलाई पछ्याउँछन्। यी व्यक्तिहरू कस्ता मानिस हुन्? तिनीहरू नीच हुन् भनेर भन्न सकिन्छ। आत्मिक क्षेत्रको दृष्टिकोणबाट हेर्दा, यस प्रकारका मानिसहरू अशुद्ध आत्मा र दुष्ट आत्मा हुन्। जब अशुद्ध आत्मा र दुष्ट आत्माहरूले मानवका रूपमा पुनर्जन्म लिन्छन्, तब तिनीहरूले पनि सामान्य मानिसहरूले जस्तै खानुपर्छ र व्यवहार गर्नुपर्छ, तर तिनीहरू उचित कार्यहरूमा संलग्न हुँदैनन्, वा सत्यता अलिकति पनि स्वीकार गर्दैनन्, र केवल रमाइलो खोज्न आफ्नै प्रकारका मानिसहरूलाई खोज्न मन पराउँछन्, र मृत्यु पर्खँदै यत्तिकै भौँतारिन्छन्। यदि तिनीहरू कला उद्योगमा संलग्न हुन सक्दैनन् भने, तिनीहरू यसमा भएका मानिसहरूलाई पछ्याउँछन्, र आफ्ना आवश्यकताहरू पूरा गर्न यसभित्रका सबै प्रकारका दुष्ट प्रचलनहरूलाई पछ्याउँछन्। त्यसकारण, यी मानिसहरू जे कुरामा सिपालु भए पनि, तिनीहरूका यस्ता पछ्याइहरू हुन्छन् र तिनीहरू समाजमा यस्तो मार्ग र यस्तो जीवनशैली छनौट गर्छन् भन्‍ने तथ्यले नै तिनीहरू असल मानिस होइनन् वा मुक्ति प्राप्त गर्न सक्ने मानिस होइनन् भन्‍ने देखाउँछ। मैले त्यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर ठ्याक्कै भन्नुको कारण के हो भने, तिनीहरूको मानवताभित्र “शून्यता” हुन्छ। यो “शून्यता” लाई उद्धरण चिह्नभित्र राख्नुपर्छ। किन? किनभने तिनीहरूको मानवतामा सकारात्मक कुराहरू हुँदैनन् बरु यसको सट्टा अशुद्ध आत्मा र दुष्ट आत्माहरूसँग हुने सबै कुरा हुन्छन्: दुष्टतालाई पछ्याउने, दुष्टतालाई श्रद्धा गर्ने, अन्धकारलाई पछ्याउने, र अन्धकारलाई श्रद्धा गर्ने। तिनीहरू यस सम्पूर्ण दुष्ट समाजमा दुष्ट प्रचलनहरूको अग्रपङ्क्तिमा रहेका अनुयायी हुन्, साथै यी प्रचलनहरूका प्रसारक हुन्। कलाको संसारका विभिन्न दुष्ट भ्रम र विभिन्न विकृत विचार र दृष्टिकोण कम्प्युटर, टिभी, पत्रपत्रिका, समाचारपत्र, चलचित्र र टेलिभिजनका कृतिहरू, र अन्य रूपहरूमार्फत जनतामाझ प्रसारित भएपछि, ती बिस्तारै मानिसहरूको बीचमा फैलिन्छन्, र त्यसपछि व्यापक रूपमा फैलिन्छन्। यी मानिसहरूमध्ये, विभिन्न चलचित्र र टेलिभिजनका कृतिहरू र कलात्मक कृतिहरूमा पाइने दुष्ट विचारहरू वा दुष्ट प्रचलनहरू र काम गर्ने तरिकाहरू फैलाउने अग्रदस्ता ठ्याक्कै यिनै स्टारहरूको अन्धभक्ति गर्नेहरू नै हुन्। तिनीहरू विभिन्न दुष्ट विचार र विभिन्न विकृत विचार र दृष्टिकोण प्रसारण गर्ने पहिलो पङ्क्तिका प्रसारकहरू हुन्। तिनीहरूको मुखामुखको प्रचारमार्फत, तिनीहरूका ठोस कार्य र प्रकटीकरणहरूमार्फत, जनमानसले बिस्तारै विभिन्न दुष्ट विचार र दुष्ट प्रचलनहरूलाई अनुमोदन गर्छन् र स्वीकार गर्छन्। त्यसपछि, तिनीहरू अलि-अलि गर्दै ती कुराहरूको सिकाइको प्रभावमा पर्छन् र ती कुराहरूद्वारा भिजिन्छन्। अन्त्यमा, यसले गर्दा दुष्ट प्रचलनहरू, दुष्ट विचारहरू, र विकृत विचार र दृष्टिकोणहरूले विभिन्न सामाजिक व्यवस्थाअन्तर्गत र मानिसहरूका विभिन्न समूहमाझ बिस्तारै जरा गाड्छन् र आकार लिन्छन्। विवाहको सन्दर्भमा विगतलाई फर्केर हेर्दा, जब मानिसहरू विवाहयोग्य उमेरमा पुग्थे, तब लमीद्वारा तिनीहरूको चिनजान गराइन्थ्यो र कुरा मिलाइन्थ्यो। विवाहका लागि दुवै पक्षका आमाबुबाको सहमति पनि आवश्यक पर्थ्यो, त्यसपछि मिति तय गरिन्थ्यो, र जोडी वैवाहिक बन्धनमा बाँधिन्थे। विगतको सामाजिक परिवेशमा, पुरुष र महिलाबीचको विवाहको कुरा आउँदा धेरैजसो मानिस आदर र सावधानी देखाउँथे। तिनीहरू विवाहलाई एउटा ठूलो घटना मान्थे र यसलाई गम्भीरता र इमानदारीका साथ लिन सक्थे। तिनीहरू विशेष गरी आफ्ना छोराछोरीहरू छाडा नहोऊन्, हाडनाता करणी नगरून्, र अवैध यौन सम्बन्धमा संलग्न नहोऊन् भन्‍ने माग गर्थे—यी मागहरू पालना गर्नैपर्थ्यो। कम्तीमा पनि, धेरैजसो मानिसको हृदयमा यो अवधारणा हुन्थ्यो। यसरी, आफ्नो मानवताको विवेकको बन्धनमा रहेर, धेरै मानिस अवैध यौन सम्बन्ध र व्यभिचारमा संलग्न हुने दुष्ट कार्यहरूबाट जोगिन्थे, जसले निश्चित हदसम्म पुरुष र महिला दुवैलाई सुरक्षा दिन्थ्यो। अवश्य नै, यसले सामाजिक वातावरणमा पनि निश्चित सकारात्मक असर र प्रभाव पारेको थियो। तर, समयको विकास र विभिन्न कलात्मक कृतिको उदयसँगै, यौन स्वतन्त्रता, विवाहको स्वतन्त्रता, इत्यादिको वकालत गर्ने सबै प्रकारका विचार र दृष्टिकोण निरन्तर देखा परेका छन्। एकातिर, केही निश्चित व्यक्तिले तिनको वकालत गर्छन्; यस अतिरिक्त, समाजले विभिन्न कलात्मक रूपमा प्रस्तुति र प्रदर्शनहरूमार्फत तिनलाई प्रवर्धन गर्छ अनि एक कदम अगाडि बढाउँछ र व्यापक रूपमा फैलाउँछ। यी विचारहरूलाई सुरुमा स्टारहरूको अन्धभक्ति गर्ने मानिसहरूको एउटा हिस्साले स्वीकार र अनुमोदन गर्छन्—अर्थात्, तिनका लागि पहिलो दर्शक यिनै स्टारहरूको अन्धभक्ति गर्नेहरू हुन्। यी मानिसहरूले स्टारहरूको अन्धभक्ति गर्ने हुनाले, तिनीहरूले मञ्चमा, पर्दामा, वा निश्चित कलात्मक रूपहरूमा स्टारहरूले वकालत गरेका यी विचारहरूलाई चाँडै स्वीकार र अनुमोदन गर्छन्। तिनलाई दृढतापूर्वक अनुमोदन गरेपछि, तिनीहरू त्यसपछि दैनिक जीवनमा आफ्ना छोराछोरीका साथै आफ्नो वरिपरिका मानिसहरूलाई प्रभाव पार्छन्। यसरी, एक जना व्यक्तिले यी विचारहरू दश जनालाई दिन्छ, दश जनाले सय जनालाई दिन्छन्, सय जनाले हजार जनालाई दिन्छन्, हजार जनाले दश हजार जनालाई दिन्छन्—यी विचारहरूलाई साँघुरो दायराबाट धेरै फराकिलो दायरामा फैलाउँछन्। आगामी एक वा दुई वर्षसम्म, मानिसहरू यी विचारहरू व्यक्त गर्छन्, र पाँच वा दश वर्षपछि पनि, तिनीहरू अझै ती विचारहरू व्यक्त गर्छन्। बीस वा तीस वर्षपछि, त्यस्ता दुष्ट विचारहरूले मानिसहरूका बीचमा झन्-झन् आकार लिँदै जान्छन्, ती समाजको हरेक कुनामा झन्-झन् व्यापक रूपमा फैलिन्छन्, र हरेक व्यक्तिको हृदयमा झन्-झन् गहिरो रूपमा रोपिन्छन्। त्यसपछि यी दुष्ट विचारहरू र दुष्ट प्रचलनहरूलाई मानिसहरूले बिस्तारै अनुमोदन गर्छन् र जनमानसले बिस्तारै स्वीकार गर्छन्, र मानिसहरू विवाह अनि पुरुष र महिलाबीचका मामिलाहरूमा झन्-झन् आत्म-लिप्त, व्यभिचारी, र अनियन्त्रित बन्छन्। मानिसहरू यो खुला मनको हुनु र फराकिलो दृष्टिकोण राख्नु हो, र यो परिपक्व मानवताको सङ्केत हो भन्‍ने विश्वास गर्छन्, र नकारात्मक कुराहरू सकारात्मक र वैध भएझैँ गरी तीबारे बोल्छन्। यस बिन्दुसम्म आइपुग्दा, सम्पूर्ण समाजका दुष्ट प्रचलनहरूमा उछाल आएको हुन्छ, ती हावी भएका हुन्छन्, र मूलधार बनेका हुन्छन्। त्यस उप्रान्त धेरैजसो मानिससँग पुरुष र महिलाबीचको विवाह र पुरुष-महिला सम्बन्धबारे सही विचार र दृष्टिकोणहरू हुँदैनन्; तिनीहरूलाई यी कुराहरू ठूलो कुरा होइनन् भन्‍ने लाग्छ। विशेष गरी, समलैङ्गिकता झन्-झन् आम बन्दै गएको छ; यसबाहेक, विवाहोत्तर सम्बन्धहरू झन्-झन् आम बन्दै गएका छन्, र यसरी सम्बन्धविच्छेदको दर झन्-झन् बढ्दै गएको छ। बढ्दो सङ्ख्याका बालबालिकाले बुबा र आमाको माया पनि गुमाएका छन्, अनि तिनीहरू कि त एकल अभिभावक भएको परिवारमा कि त सौतेनी बुबा वा सौतेनी आमा भएको परिवारमा जिइरहेका छन्। धेरै मानिसको विवाहअघि नै विपरीत लिङ्गी सङ्गी हुन्छ र तिनीहरू यसलाई लाजमर्दो कुराका रूपमा हेर्दैनन्, र यो सामान्य हो, समाज यस्तै छ, र यो कुनै ठूलो कुरा होइन भन्‍ने समेत सोच्छन्। हर समय, दुष्टता सधैँ दुष्टता नै हुन्छ, र सकारात्मक कुराहरू सधैँ सकारात्मक नै हुन्छन्। तँलाई यो ठूलो कुरा होइन भन्‍ने लागे पनि, त्यो त यो दुष्ट प्रचलन र यस समाजको पतनले गर्दा हो—यो मानवहरू शैतानद्वारा भ्रष्ट पारिएको र तिनीहरूमा दुष्ट विचार र दुष्ट प्रचलनहरू रोपिएको र भरिएको कारणले भएको हो। सकारात्मक कुराहरूलाई नकारात्मक भन्न सकिन्छ, वा नकारात्मक कुराहरूलाई आजकाल सकारात्मक कुराहरूमा परिणत गर्न सकिन्छ भन्‍ने होइन। यदि तँ यसरी सोच्छस् भने, यसको कारण तैँले सत्यता वा सकारात्मक कुराहरू के हुन् भन्‍ने नबुझ्नु हो। तँ यी परिस्थितिहरूमा दुष्ट प्रचलन र दुष्ट विचारहरूलाई आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र जगका रूपमा स्वीकार गर्न बाध्य भएकाले यस्तो भएको हो। यो समाज र यो मानवजाति यसरी नै, अलि-अलि गर्दै गहिरो रूपमा भ्रष्ट पारिएका छन्। त्यसकारण, दुष्ट प्रचलनहरू व्यापक रूपमा फैलिने र मानिसहरूको हृदयमा गहिरो रूपमा रोपिने मामिलामा, यी स्टारहरूको अन्धभक्ति गर्नेहरूले दुष्ट प्रचलनहरू र दुष्ट विचार र दृष्टिकोणहरू फैलाउनमा अग्रदस्ताको भूमिका खेल्छन्। तिनीहरू यी कुराहरूका अग्रपङ्क्तिका प्रसारकहरू हुन्। यदि हामीले यो शैतानले मानिसहरूलाई भ्रष्ट पार्नु हो भनेर भन्यौँ भने, यो अलिक अस्पष्ट वा अमूर्त हुन्छ। तर यदि हामीले यी स्टारहरूको अन्धभक्ति गर्नेहरू नै शैतानका विचार र शैतानका दुष्ट प्रचलनहरू फैलाउने वास्तविक वकालतकर्ताहरू हुन् भनेर भन्यौँ भने, यो सबैभन्दा सटीक हुन्छ। किनभने तिनीहरू कलाको संसार वा विभिन्न दुष्ट विचार र दुष्ट प्रचलनको सबैभन्दा नजिक रहेको मानिसहरूको समूह हुन्, र तिनीहरू यी चलचित्रका स्टारहरू र प्रख्यात गायकहरूसँग निकट सम्पर्कमा आउने मानिसहरूको हिस्सा हुन्। यी मानिसहरू तिनीहरूको पछि नलाग्ने हो भने, तिनीहरूको आसक्तिपूर्ण समर्थन नहुने हो भने, यी तथाकथित प्रख्यात गायक र चलचित्रका स्टारहरूसँग यति धेरै आकर्षण, यति धेरै ख्याति, यति धेरै प्रभाव, र भ्रमित पार्ने यति धेरै शक्ति हुनेछैन। यी स्टारहरूको अन्धभक्ति गर्नेहरूको अन्धप्रशंसा र तीव्र नक्कलको कारणले नै विभिन्न दुष्ट प्रचलन र दुष्ट विचार मानिसहरूका बीचमा असाधारण गतिमा फैलिएका छन्। आफ्ना ठोस कार्यहरूमार्फत, तिनीहरूले जनमानसलाई कलाको संसारमा देखा पर्ने विभिन्न दुष्ट कुरा र विभिन्न विकृत, दुष्ट विचार र दृष्टिकोण मानिसहरूले स्वीकार गर्नुपर्ने कुराहरू हुन्, यी कुराहरू अत्यन्तै सामान्य र वैध हुन् भनेर बताउँछन्। अन्त्यमा, धेरैजसो मानिस बिस्तारै कामकुराहरू गर्ने यी दुष्ट तरिकाहरू र दुष्ट विचार र दृष्टिकोणहरू स्वीकार गर्छन्। नतिजास्वरूप, यी तथाकथित प्रख्यात व्यक्तित्वहरू, प्रख्यात गायकहरू, र चलचित्रका स्टारहरूका विवाहोत्तर सम्बन्धहरू, व्यभिचारिता, वा कुनै पनि दुष्ट विचार, दृष्टिकोण, र कामकुरा गर्ने तरिकाहरूलाई हल्का रूपमा लिइन्छ, र कसैले पनि यी कुराहरूका बारेमा सही राय वा मूल्याङ्कन व्यक्त गर्दैन। यसर्थ, यी प्रख्यात व्यक्ति, प्रख्यात गायक, र चलचित्रका स्टारहरू जतिसुकै व्यभिचारी भए पनि, तिनीहरूलाई हटाइँदैन वा दोषी ठहराइँदैन बरु तिनीहरू मञ्चमा तडकभडक देखाइरहन्छन्। यो समाजमा प्रचलित एउटा भनाइसँग पूर्ण रूपमा मेल खान्छ: “वेश्याहरूको होइन, गरिबको गिल्ला गर।” यो मानवजातिको नैतिक पतनको साँचो चित्रण हो, र यसको प्रमाण पनि हो। हेर् त, जब तँ परमेश्‍वरमा विश्वास गर्छस् र तँ गिरफ्तार हुन्छस् र जेलमा पर्छस्, तब मानिसहरूले तँलाई गिल्ला गर्छन् र तुच्छ ठान्छन्। वास्तवमा, तिनीहरूलाई तैँले कुनै गल्ती गरेको छैनस् भन्‍ने कुरा पनि थाहा हुन्छ—परमेश्‍वरमा विश्वास गर्नु भनेको आस्था राख्नु हो, असल व्यक्ति बन्न चाहनु हो, र स्वर्ग जान चाहनु हो; महिला विश्वासीहरू आफ्नो शरीर बेच्दैनन् र वेश्याका रूपमा काम गर्दैनन्, अनि पुरुष विश्वासीहरू डकैती गर्दैनन् बरु नियम-पालन गर्ने तरिकाले आफूलाई आचरणमा ढाल्छन्। तैपनि मानिसहरू तँलाई मन पराउँदैनन्। यदि कुनै महिला आकर्षक सुन्दरी छे, र उसको उच्च-पदस्थ अधिकारीहरू र धनी मानिसहरूसँग अनुचित सम्बन्ध छ, र ऊ हरेक दिन विलासी गाडीहरूमा घुम्न निस्कन्छे भने, अरूले उसको ईर्ष्या र प्रशंसा गर्छन्, र यसो भन्छन्: “तिमीमा साँच्चै नै केही छ, तिम्रो अन्दाज नै बेग्लै छ। तिमीले आफ्ना आमाबुबाका लागि पैसा कमाउन सकेकी छौ ताकि उहाँहरूले मीठो खाना खान र राम्रा लुगा लगाउन सक्नुहोस्। तिम्रो रूप साँच्चै नै मूल्यवान् छ!” तर यदि तेरो रूप राम्रो छ र तैँले परमेश्‍वरमा विश्वास गर्ने व्यक्तिसँग विवाह गरिस् भने, तिनीहरूले तँलाई गिल्ला गर्नेछन्। तिनीहरूले तँलाई गिल्ला गर्ने मात्र होइन, तँलाई सताइएको देख्दा तँलाई हेप्ने पनि छन्। कुरा त्यस्तै होइन र? (हो।)

यस समूहले, यी स्टारहरूको अन्धभक्ति गर्नेहरूले गर्ने कुनै पनि कुराको कुनै अर्थ हुँदैन। यस विपरीत, यी कार्यहरूले शैतानले दुष्ट विचार र दुष्ट प्रचलनहरू फैलाउने कामलाई बढावा दिएका छन्। वर्तमान समयका स्टारहरूको अन्धभक्ति गर्नेहरूलाई हेर्—कतिपय महिला मञ्चमा जान्छन् र सजिलैसँग गाउँछन् र नाच्छन्, र कुनै प्रख्यात गायकलाई देख्दा, तिनीहरू उसलाई अचाक्ली पुज्छन्। यो ४० र ५० को दशकका महिलाहरूभन्दा निकै फरक कुरा हो। गैरविश्‍वासीहरूको शब्दमा भन्दा, तिनीहरू खुला भएका छन्—विचारमा खुला, र यौनिकतामा खुला, तिनीहरू यी दुवै क्षेत्रमा स्वतन्त्र भएका छन्। कतिपय मानिस भन्छन्: “यो कुन युग हो? कसले आफ्नो सम्पूर्ण जीवन एउटै श्रीमान्‌सँग बिताउँछ र? कसले सधैँ आफ्नो जीवन आफ्ना छोराछोरीको वरिपरि मात्रै केन्द्रित गर्छ र? मौका पाउँदा नयाँ व्यक्ति खोज्नुपर्छ, र अवसर पाउँदा रमाइलो गर्नुपर्छ!” यी मानिसहरूका विचारहरू कस्ता छन्, हेर् त—ती कति डरलाग्दा छन्! यदि परमेश्‍वरमा विश्वास गर्ने व्यक्ति पनि यसरी नै सोच्छ भने, के त्यो राम्रो सङ्केत हो? यदि कुनै विश्वासीमा यी विचार र दृष्टिकोणहरू छन्, ऊ त्यस्ता मानिसहरूको ईर्ष्या र पूजा गर्छ, र त्यस्तै व्यक्ति बन्न चाहन्छ भने, के त्यो उसका लागि अत्यन्तै डरलाग्दो र अत्यन्तै खतरनाक कुरा होइन र? (हो।) यो कति डरलाग्दो वा खतरनाक छ भन्‍ने बारेमा अहिले कुरा नगरौँ। यी मानिसहरूको सारको हिसाबमा मात्रै कुरा गर्दा, तिनीहरू आफ्नो प्राणको गहिराइमा, विशेष गरी यी स्टारहरूको ईर्ष्या, प्रशंसा गर्छन्, र यिनलाई प्रेम गर्छन्। तिनीहरू स्टारहरूका सबै प्रकारका व्यवहार र सबै प्रकारका विचार र दृष्टिकोण स्वीकार गर्न सक्छन्। विचारहरू जतिसुकै दुष्ट भए पनि, तिनीहरू ती स्वीकार गर्न सक्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “मानिसहरूले आफूलाई यसरी नै आचरणमा ढाल्नुपर्छ—यो मात्रै स्वतन्त्र हुनु हो। सबै विचार र दृष्टिकोणलाई अस्तित्वमा रहन दिनुपर्छ। आखिरकार, संसार बन्न सबै प्रकारका मानिसहरू चाहिन्छन्।” तिनीहरूका विचारहरूमा सकारात्मक र नकारात्मकबीच कुनै भिन्नता हुँदैन, सही र गलतबीच कुनै भिन्नता हुँदैन। के यो मानसिक रूपमा असामान्य हुनु होइन र? यदि कम क्षमताका कारण कसैसँग सही र गलत खुट्ट्याउने सामर्थ्य छैन, तर ऊसँग अझै पनि लाजको बोध छ, र यदि उसलाई कुनै कुरा सही छ भन्ने थाहा भएमा ऊ त्यसमा अडिग रहन सक्छ, र यदि उसलाई कुनै कुरा गलत छ भन्ने थाहा भएमा ऊ त्यो कुरा पटक्कै गर्दैन, र यदि उसलाई कुनै कुरा दुष्ट छ भन्ने थाहा भएमा ऊ आफ्नो हृदयमा त्यसलाई घृणा गर्न सक्छ भने, यो अझै पनि सामान्य व्यक्ति नै हो। तर यदि उसलाई कुनै कुरा गलत छ, त्यो दुष्ट छ भन्ने स्पष्ट रूपमा थाहा छ, तैपनि ऊ त्यसको प्रतिरोध नगर्ने मात्र होइन, बरु त्यसलाई बिनाहिचकिचाहट स्वीकार पनि गर्न सक्छ, र त्यसको ईर्ष्या र अनुसरण समेत गर्ने गर्छ, र झन्-झन् गहिराइमा फस्दै जान्छ भने, ऊ मानिस नभई जिउँदो लास हो। ऊ बर्बाद भएको छ र मुक्ति प्राप्त गर्न सक्दैन। त्यसकारण, यस प्रकारका मानिसहरूमा खराब मानवता, कम निष्ठा, दुष्ट चरित्र, वा विवेक र समझको अभाव छ भनेर भन्न सकिँदैन—समस्या त्यो होइन। सबैभन्दा ठूलो समस्या त के हो भने, तिनीहरूमा मानवता नै हुँदैन। त्यसोभए यी मानिसहरू के हुन् त? अशुद्ध आत्माहरू, दुष्ट आत्माहरू, र जिउँदा लासहरू। तिनीहरू विभिन्न दुष्ट प्रचलन र विभिन्न दुष्ट, विकृत विचार र दृष्टिकोणका वकालतकर्ता, हस्तान्तरणकर्ता, र विस्तारकहरू हुन्। यो ठ्याक्कै महामारी जस्तै हो—भाइरस बोकेको एक व्यक्तिले आफू जाने हरेक ठाउँमा यो फैलाउँछ, र ऊ जति धेरै ठाउँमा जान्छ, भाइरस त्यति नै व्यापक रूपमा फैलिन्छ। यी स्टारहरूको अन्धभक्ति गर्नेहरू भाइरस बोक्ने र फैलाउनेहरू सरह हुन्, त्यसैले तिनीहरू मानवजातिको हिस्सा हुँदै होइनन्—तिनीहरू गैर-मानव हुन्। तथाकथित गैर-मानवको परिभाषा के हो? त्यो के हो भने, यी मानिसहरू दुष्ट प्रचलनहरू र दुष्ट विचार र दृष्टिकोणहरूका वकालतकर्ता र प्रसारक हुन्। अब बुझ्यौ त? यदि तँ अझै पनि आफ्नो हृदयमा यी स्टारहरूको ईर्ष्या गर्छस् वा कुनै समय यस प्रकारको व्यक्ति बन्न चाहन्थिस् भने, म तँलाई भन्दै छु, यो फर्किन नमिल्ने बाटो हो। यस प्रकारको व्यक्ति बन्ने प्रयास कहिल्यै नगर्! यदि तैँले कहिल्यै कुनै चलचित्र वा टेलिभिजनको काममा कुनै भूमिका खेलेको छस्, यदि तँ कहिल्यै फिल्म स्टार वा प्रख्यात व्यक्ति बन्न चाहेको छस् र यो मार्ग लिने योजना बनाएको छस् भने, म तँलाई भन्दै छु—तुरुन्तै ब्रेक लगा र रोकिइहाल्। यो दण्डित हुने वा इनाम पाउने मामिला होइन। यो त अनन्त श्रापतिर लैजाने मार्ग हो—यसमा कहिल्यै नहिँड्! यदि तँ अस्थायी रूपमा भ्रमित वा कमजोर भएको कारणले, वा केही अस्थायी ईर्ष्या र तृष्णाको कारणले यस प्रकारको व्यक्तिलाई पछ्याउन चाहन्छस् भने, मेरो चेतावनी सुन्, मेरो अर्ती सुन्—तुरुन्तै ब्रेक लगा। त्यो उद्योगमा कहिल्यै कदम नराख्, ती पङ्क्तिहरूमा कहिल्यै कदम नराख्; तिनीहरूमध्येको एक कहिल्यै नबन्। यदि तँ सही मार्गमा हिँड्न वा अर्थपूर्ण कुराहरू गर्नमा लागिरहन सक्दैनस् भने, तँ अझै पनि दुष्ट प्रचलन र दुष्ट विचार र दृष्टिकोणहरू फैलाउने व्यक्ति बन्नु हुँदैन—त्यो परमेश्‍वरद्वारा श्रापित मार्ग हो। त्यसैले, तैँले कुनै समय चलचित्र वा टेलिभिजनको कृतिमा जस्तोसुकै भूमिका खेलेको भए पनि, तैँले आफूलाई महत्त्वपूर्ण व्यक्ति, प्रख्यात व्यक्ति, वा कुनै उच्च-स्तरीय व्यक्ति मानेको भए पनि—तैँले आफूलाई जसरी खडा गरेको भए पनि—ती सबै विगत बनिसकेका छन्, ती सबै गलत थिए। यदि तैँले अहिले ब्रेक लगाइसकेको छस् भने, त्यतिबेला तेरो कद अपरिपक्व थियो र तैँले सत्यता बुझेको थिइनस् भनेर मात्र भन्न सकिन्छ। भविष्यमा त्यसरी कहिल्यै नसोच्, र त्यस मार्गमा पनि कहिल्यै नहिँड्। यदि तँ महत्त्वपूर्ण व्यक्तित्व वा प्रख्यात व्यक्तित्व बन्न चाहन्छस्, यदि तँ अरूद्वारा पुजिन र पछ्याइन चाहन्छस् भने, मैले आज बोलेका वचनहरूबारे तुरुन्तै सोच्। कुनै पनि व्यक्तिका लागि, अनन्त श्रापको समाचार प्राप्त गर्नु दुर्भाग्यपूर्ण कुरा हो—यो सम्भव भएअनुसार सबैभन्दा खराब समाचार हो। त्यो परमेश्‍वरद्वारा श्रापित मार्ग हो। यस मार्गमा कहिल्यै नहिँड्, यस फोहोरबाट कहिल्यै कलङ्कित नबन्। यस मार्गमा कदम राख्नु भनेको अनन्त श्राप हो! तैँले नियम-पालन गर्ने तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ किनभने तँ एउटा सृजित प्राणी होस्, सृजित मानवजातिको एक सदस्य होस्। तैँले परमेश्‍वरको घरमा जस्तोसुकै भूमिका निर्वाह गरेको भए पनि, जस्तोसुकै काम गरेको भए पनि, वा जस्तोसुकै योगदान दिएको भए पनि, अन्त्यमा, तैँले आफ्नो उचित स्थान निर्धारण गर्नैपर्छ। कुन स्थान? तँ एक सृजित प्राणी होस्, सृजित मानवजातिको एक सदस्य होस्। तैँले एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तेरो कर्तव्य निर्वाह मानकअनुरूपको हुनैपर्छ, यो परमेश्‍वर सन्तुष्ट हुनेगरी गर्नैपर्छ। तैँले परमेश्‍वरका लागि गवाही दिनैपर्छ, परमेश्‍वरका वचनहरू प्रसार गर्नैपर्छ, परमेश्‍वरका लागि गवाही बन्नैपर्छ, र मुक्ति प्राप्त गर्नैपर्छ। यो तँ पूरा गर्न कर्तव्यबद्ध भएको जीवनभरको जिम्मेवारी र दायित्व हो, साथै तैँले छनौट गर्नुपर्ने मार्ग पनि हो। तैँले शैतानका दुष्ट प्रचलनहरू पछ्याउनु हुँदैन र तँ दुष्ट विचार र दृष्टिकोणहरू फैलाउने, र हस्तान्तरण गर्ने व्यक्ति बन्नु हुँदैन। ती मानिसहरू मानवजातिका पतितहरू हुन्, तिनीहरू दुष्ट आत्मा र अशुद्ध आत्मा हुन्। तिनीहरू श्रापित छन् र अनन्त श्रापमा पारिएका छन्! यदि कुनै व्यक्ति त्यस बाटोमा हिँड्छ र दश वटा जङ्गली घोडाले समेत उसलाई पछाडि तान्न सक्दैनन् भने, उसले आफ्नो उचित सजाय पाउनेछ—उसको राम्रो अन्त्य हुनेछैन। त्यसकारण, तैँले हर समय आफू एक सृजित मानव भएको कुरा जान्नैपर्छ, तैँले आफ्नो स्थान के हो, आफूले के गर्नुपर्छ, र आफूले कस्तो प्रकारको मार्ग लिनुपर्छ भन्ने कुरा जान्नैपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के यी कुराहरूबारे सङ्गति गर्नु आवश्यक छ? (छ।) मानिसहरूको जीवनको मार्गसँग सम्बन्धित विषयहरू अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। समय-समयमा, तिमीहरूले ती सुन्नुपर्छ र तीबारे मनन गर्नुपर्छ। त्यसो गर्नु तिमीहरूको जीवन प्रवेशका लागि र जीवनमा सही मार्गमा हिँड्नका लागि लाभदायक र उपयोगी हुन्छ—यसले यी कुराहरूमाथि राम्रो, सकारात्मक, र रचनात्मक प्रभाव पार्छ। यी वचनहरू नबिर्स।

आजको सङ्गतिका लागि यति नै। फेरि भेटौँला!

डिसेम्बर ३०, २०२३