सत्यता कसरी पछ्याउने (१०) भाग चार
उच्च सुनिने कुराकानीमा संलग्न हुनु
अर्को प्रकटीकरण भनेको उच्च सुनिने कुराकानीमा संलग्न हुनु र कुनै वास्तविक कुरा नगर्नु हो। सुरुमा हामी यो कस्तो प्रकारको समस्या हो भनेर छलफल गरौँ। त्यस्ता मानिसहरू उच्च धर्मसिद्धान्तहरू बोल्नमा र उच्च सुनिने कुराकानीमा संलग्न हुनमा रमाइलो मान्छन्। भेलाहरूमा, तिनीहरूले प्रायजसो आफ्ना आकाङ्क्षा र सङ्कल्प, आफ्नै बुझाइ, र कामका लागि आफ्ना योजनाहरूका बारेमा छलफल गर्छन्। तर जब कुनै वास्तविक काम गर्ने समय आउँछ, तब तिनीहरूले कुनै ऊर्जा जुटाउन सक्दैनन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकारको समस्या हुन्छ? के यो जन्मजात अवस्था, मानवता, वा भ्रष्ट स्वभावहरूको समस्या हो? (मलाई लाग्छ यो भ्रष्ट स्वभावहरूअन्तर्गत पर्छ।) के यो भ्रष्ट स्वभावहरूअन्तर्गत पर्छ? यहाँ दुई वटा समस्याहरू समावेश छन्, होइन र? एउटा मानवताको खराबी हो—तिनीहरू कुनै पनि वास्तविक काम गर्न अनिच्छुक हुन्छन्, किनभने तिनीहरूलाई यसका लागि तिनीहरूले चिन्ता गर्नुपर्छ, कठिनाइ सहनुपर्छ, मूल्य चुकाउनुपर्छ, र ऊर्जा खर्च गर्नुपर्छ भन्ने लाग्छ। के यहाँ अल्छीपनको सङ्केत छैन र? के अल्छीपन मानवताको खराबी हो? (हो।) यति अल्छी मानिसहरूले कुनै पनि वास्तविक कुरा गर्दैनन् र अझै पनि तिनीहरू उच्च सुनिने कुराहरूमा संलग्न हुन्छन्। तिनीहरूलाई अझै पनि आफूलाई उच्च स्थानमा राख्न र अरू मानिसहरूलाई उच्च धर्मसिद्धान्तहरू प्रचार गर्न मन पर्छ। के यसले खराब स्वभाव जनाउँछ? के यसमा भ्रष्ट स्वभावका तत्त्वहरू पनि समावेश हुन्छन्? (हुन्छन्।) यो कस्तो प्रकारको भ्रष्ट स्वभाव हो? (अहङ्कार।) यो अहङ्कारी भ्रष्ट स्वभाव हो। त्यसमाथि, तिनीहरू अल्छी हुन्छन्, तिनीहरूले सहजता मन पराउँछन् जबकि कामलाई घृणा गर्छन्, तिनीहरू व्यावहारिक रूपमा काम गर्दैनन्, र तिनीहरू वास्तविक कार्यमा संलग्न हुन अनिच्छुक हुन्छन्, तैपनि तिनीहरू अझै पनि ठूला पल्टिन चाहन्छन्, आफ्नो हैसियत दाबी गर्न, र अरूलाई प्रचार गर्न चाहन्छन्—तिनीहरू मुख चलाउन मात्रै इच्छुक हुन्छन् तर औँलो उठाउँदैनन्। तिनीहरूको मानवताका कमीकमजोरीहरू निकै ठूला हुन्छन्, र तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै स्पष्ट हुन्छ। के यी कुराहरू दुई वटा अत्यन्तै स्पष्ट समस्याहरू होइनन् र? (हुन्।) के त्यस्ता मानिसहरू धेरै छैनन् र? (छन्।) कामबारे छलफल गर्दा, तिनीहरू उच्च सुनिने कुरामा संलग्न हुन्छन् र तिनीहरू अटुट रूपमा बोलिरहन्छन्, तर कुनै वास्तविक काम गर्ने समय आउँदा, तिनीहरू एक कदम पनि चाल्न सक्दैनन्। हामी तिनीहरूको क्षमता कस्तो हुन्छ भन्ने बारेमा कुरा नगरौँ—तिनीहरू मुख मात्र चलाउने र वास्तविक काम केही नगर्ने मानिसहरू हुन् भन्ने तथ्यका आधारमा मात्रै, तिनीहरूलाई निकम्मा मानिसहरू भनेर चित्रण गर्न सकिन्छ। तिनीहरू कुनै वास्तविक कुरा गर्दैनन् तर पनि तिनीहरू ठूला पल्टिन र हैसियतका फाइदाहरूको आनन्द उठाउन चाहन्छन्—के तिनीहरू समझको अभाव हुने गरी अहङ्कारी हुँदैनन्? तिनीहरू मुख मात्रै चलाउँछन्, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरू अल्छी र अहङ्कारी दुवै हुन्छन्—तिनीहरू निकम्मा मानिसहरू हुन्, होइन त? यदि तिनीहरूलाई कार्य गर्न र कुनै वास्तविक काम गर्न, कामको आयोजना गर्न, योजना बनाउन, र कार्यान्वयन गर्न आग्रह गरियो भने, तिनीहरू त्यसो गर्न अनिच्छुक हुन्छन्; तिनीहरूलाई यसबारे हृदयको गहिराइमा प्रतिरोध महसुस हुन्छ। त्यस्ता मानिसहरू कति अल्छी हुन्छन् होला त! तिनीहरू आफ्नो उचित काममा ध्यान नदिने कामचोरहरू हुन्। तिनीहरूले हावा गफ चुट्नमा मात्र आनन्द उठाउँछन्, तिनीहरू केही गर्न चाहँदैनन्, तिनीहरू जीवनभरि झारा टार्न, मीठो खान, राम्रो लुगा लगाउन मात्रै चाहन्छन्, र तैपनि तिनीहरूले अरूद्वारा उच्च मानिन, र उच्च स्तरको व्यवहारको र हैसियत भएकाहरूलाई दिइने जस्तो व्यवहारको आनन्द लिन पनि चाहन्छन्। तिनीहरूको मानवता कस्तो हुन्छ? (खराब।) के तिमीहरूलाई त्यस्ता मानिसहरू घिनलाग्दा लाग्छन्? (लाग्छन्।) जब कतिपय मानिसहरूले बोल्न सिपालु तर वास्तविक केही काम नगर्ने मानिसहरूलाई देख्छन्, तब तिनीहरूलाई उनीहरूप्रति डाहा लाग्छ। तिनीहरू सोच्छन्, “उनीहरू अनवरत रूपमा कुरा गर्न सक्छन्, र उनीहरूले भन्ने सबै कुरा सुसङ्गठित र व्यवस्थित हुन्छ—यसले उनीहरूसँग सत्यता वास्तविकता छ भन्ने देखाउँछ।” तिनीहरूले प्रायजसो भन्ने गरेका कुराहरू सबै नै तिनीहरूले परमेश्वरको घरका प्रवचन र सङ्गतिहरूबाट सिकेका हुन्छन् र ती तिनीहरूका आफ्नै अनुभवहरूबाट आएका हुँदैनन् भनेर सबै सुझबुझ भएका मानिसहरूले भन्न सक्छन्। त्यसकारण, तिनीहरूको प्रचार प्रभावशाली सुनिने भए पनि, तिनीहरूले कुनै पनि समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। समय बित्दै जाँदा, मानिसहरूले त्यस्ता व्यक्तिहरू सधैँ नै ठगहरू थिए भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्। तैँले जुनसुकै प्रश्न अघि सारे पनि, तिनीहरूले त्यसको उत्तर दिन सक्दैनन्, न त तिनीहरूले कुनै सिद्धान्त वा अभ्यासका मार्गहरू नै साझा गर्न सक्छन्, तैपनि तिनीहरू अझै पनि तैँले तिनीहरूलाई उच्च मानोस् भन्ने चाहन्छन्। तिनीहरूले तँलाई कसरी तिनीहरूलाई उच्च मान्न लगाउँछन्? तिनीहरूले तेरो हृदयमा स्थान सुरक्षित गर्न, तँलाई तिनीहरूको डाहा गर्न लगाउन, तिनीहरूको सराहना गर्न लगाउन, र तिनीहरूलाई उच्च मान्न लगाउनका लागि तिनीहरूको प्रस्तुति र भाषणहरू प्रयोग गर्छन्। के त्यस्ता मानिसहरू लाज विहीन हुँदैनन् र? तिनीहरू कुनै वास्तविक काम गर्दैनन्, न त तिनीहरू वास्तविक काम गर्न सक्षम नै हुन्छन्, तैपनि तिनीहरू अझै पनि अरूले तिनीहरूलाई उच्च मानून् भन्ने चाहन्छन्, र तिनीहरू अझै पनि आफ्नो उच्च सुनिने कुराकानीले अरूको ऊर्जा र समय बरबाद गर्न चाहन्छन्, तर अन्त्यमा, तिनीहरू कुनै पनि समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। परमेश्वरमा विश्वास गरेको एक-दुई वर्ष मात्रै भएका मानिसहरू अझै पनि तिनीहरूद्वारा बहकिन सक्छन्, तर परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएका र अलिकति सत्यता वास्तविकता बुझेका मानिसहरूले तिनीहरूको उच्च सुनिने कुराकानी सुन्न चाहँदैनन्। तैपनि यदि तैँले सुन्न मानिनस् भने, तिनीहरूले तँबारे नकारात्मक राय निर्माण गर्छन् र तँ सत्यतालाई प्रेम गर्दैनस् भनेर भन्छन्। के त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुँदैनन् र? (हुन्छन्।) तिनीहरूसँग सत्यताको कुनै पनि पक्षबारे आंशिक बुझाइ मात्रै हुन्छ, र जब तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन्, तब तिनीहरू तिनलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तैपनि तिनीहरू अझै पनि अरूलाई यी धर्मसिद्धान्तहरू प्रचार गर्न र अरूलाई ती स्वीकार गर्न लगाउन चाहन्छन्। यदि तैँले सुन्न मानिनस् भने, तिनीहरूले तँ सत्यतालाई प्रेम गर्दैनस् र तिनीहरूलाई आदर गर्दैनस् भनेर भन्छन्। तर यदि तैँले तिनीहरूको कुरा सुनिस् भने, तँलाई असहज महसुस हुन्छ र तँ चुपचाप बस्न सक्दैनस्। तँ किन चुपचाप बस्न सक्दैनस्? किनभने तँसँग समाधान गरिनुपर्ने धेरै समस्याहरू र गरिनुपर्ने धेरै काम हुन्छन्, र तँसँग तिनीहरूको उच्च सुनिने कुराकानी सुन्ने समय हुँदैन। यदि कसैले उच्च सुनिने कुराकानीमा संलग्न हुनेहरूलाई साँच्चै डाहा गर्छ भने, ऊ कस्तो प्रकारको व्यक्ति हो? ऊ बेकामे व्यक्ति, मूर्ख व्यक्ति हो, र गर्नका लागि अरू केही काम नभएको व्यक्ति हो। कर्तव्य पूरा गर्ने कुरा आउँदा, त्यस्ता मानिसहरूमा कुनै अर्पण हुँदैन र तिनीहरूले कुनै बोझ वहन गर्दैनन्; तिनीहरू जीवनभरि झारा टार्न, सित्तैँमा पेट भर्न र मर्ने प्रतीक्षा गर्न मात्रै चाहन्छन्। हरेक दिन, तिनीहरू समय बिताउन केही गहन धर्मसिद्धान्तहरू सुन्छन्, तैपनि तिनीहरूले अझै पनि केही कुरा प्राप्त गरेका छन् र परमेश्वरमाथिको तिनीहरूको विश्वासमा प्रगति गरेका छन् भन्ने सोच्छन्: “तिनीहरूले प्रचार गरिरहेका सत्यताहरू दिन प्रतिदिन उच्च बन्दै गइरहेका हुन्छन्—तिनीहरूको प्रचार चाँडै तेस्रो स्वर्गको स्तरमा पुग्नेछ! यी सबै स्वर्गबाट आएका रहस्यहरू हुन्!” तिनीहरूले उच्च सुनिने कुराकानीमा संलग्न हुने मानिसहरूले बोल्ने धेरै धर्मसिद्धान्तहरू सुन्छन्, तर तिनीहरूले कर्तव्य पूरा गर्दा कसरी अर्पित हुने वा तिनीहरूले कर्तव्य पूरा गर्दा के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्ने तिनीहरूलाई अझै थाहा हुँदैन। त्यसोभए के यी कुराहरू सुन्नु उपयोगी हुन्छ? (हुँदैन।) तिमीहरूले उच्च सुनिने कुराकानीमा संलग्न हुने र उच्च धर्मसिद्धान्तहरू प्रचार गर्ने मानिसहरूलाई भेट्दा के गर्नुपर्छ? तिमीहरूले तिनीहरूलाई नजिकबाट पछ्याउनुपर्छ कि इन्कार गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) तिमीहरूले तिनीहरूलाई कसरी इन्कार गर्छौ? तैँले तिनीहरूलाई कसरी इन्कार गर्ने र किन इन्कार गरिरहेको छस् भन्ने कुरा जान्नुपर्छ। यदि तँलाई यो थाहा छैन भने, जब तैँले तिनीहरूलाई इन्कार गर्छस्, तब तैँले अझै पनि हृदयमा यस्तो सोच्न सक्छस्, “के तिनीहरूलाई इन्कार गर्नुको अर्थ मैले सत्यतालाई प्रेम गर्दिनँ भन्ने हुन्छ?” यदि तँसँग यो विचार छ भने, यो समस्याजनक कुरा हो—यसले तँसँग कुनै सुझबुझ छैन र सत्यता वास्तविकता के हो भन्ने कुरा तैँले बुझेको छैनस् भनी प्रमाणित गर्छ। यदि तैँले तिनीहरूले धर्मसिद्धान्तहरू बोलेको सुन्छस् र अझै पनि तिनीहरूले सत्यताबारे सङ्गति गरिरहेका छन् भन्ने सोच्छस्, र आफ्नो हृदयमा तिनीहरूलाई अनुमोदन समेत गर्छस् भने, तँ पूर्ण रूपमा मूर्ख होस्। यदि तँसँग उच्च सुनिने कुराकानीमा संलग्न हुने त्यस्ता मानिसहरूले बोल्ने धर्मसिद्धान्तहरूका बारेमा सुझबुझ छ भने, तैँले तिनीहरूलाई इन्कार गर्नुपर्छ। यसको कारण के हो भने तिनीहरूले बोल्ने सबै कुरा धर्मसिद्धान्त र रित्ता शब्दहरू हुन्छन्—त्यो व्यर्थ हुन्छ। त्यो त भोक मेट्नका लागि केकको चित्र बनाउनु वा तिर्खा मेटाउनका लागि आलुबखडालाई हेर्नु जस्तै हो—यसले वास्तविक समस्याहरू पटक्कै समाधान गर्न सक्दैन। तिनीहरू धेरै धर्मसिद्धान्तहरू बोल्छन्, तर यी धर्मसिद्धान्तहरू मानिसहरूले कर्तव्य पूरा गर्दा तिनीहरूले सामना गर्ने वास्तविक समस्याहरूसँग मिल्दैनन्, र तिनलाई पटक्कै समाधान गर्न सक्दैनन्। तिनीहरूको कुरा सुन्नु, नसुन्नुभन्दा फरक हुँदैन। सुसमाचारको काम र मण्डली जीवनमा देखा पर्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन; कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने, वा कुन-कुन काममा समाधान वा अनुगमन गर्नुपर्ने कमीकमजोरी र छुटफुटहरू छन् भन्ने तिनीहरूलाई थाहा हुँदैन; अनि अरूले विकृत धारणाहरू उठाउँदा तिनलाई कसरी समाधान गर्ने वा खण्डन गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन, त्यसकारण के तिनीहरूको उच्च सुनिने कुराकानी सुन्नु समयको बरबादी होइन र? तैँले तिनीहरूलाई इन्कार गर्नुपर्ने कारण यही हो। त्यसकारण, यो उच्च सुनिने कुराकानीलाई इन्कार गर्नुपर्छ किनभने यी मानिसहरूले बोल्ने कुरा सत्यता होइन बरु धर्मसिद्धान्तहरू हुन्। धर्मसिद्धान्तहरू के हुन्? धर्मसिद्धान्तहरूमा मानव धारणा र कल्पनाहरू अनुरूपका शब्दहरू समावेश हुन्छन्। यी मानिसहरूले समस्याको सारमा ध्यान दिँदै सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दैनन्। तिनीहरूका शब्दहरू मनमोहक सुनिने भए पनि र स्पष्ट र तार्किक तरिकाले व्यक्त गरिए पनि, तिनले समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। त्यसोभए, यी शब्दहरू धर्मसिद्धान्तहरू हुन्; ती जति नै सही देखिए पनि, ती सत्यता सिद्धान्तहरू होइनन्। कतिपय मानिसहरूका शब्दहरू सतही देखिएलान्, तर तिनले समस्याको जडलाई प्रहार गर्न र त्यसको सारलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छन्। तिनीहरूका कतिपय शब्दहरू अपमानझैँ अप्रिय सुनिने भए पनि, ती मानिसहरूले स्वीकार गर्न सक्ने शब्दहरू हुन्छन्, र तिनले वास्तविक समस्याहरू समाधान गर्न सक्छन्। निःसन्देह, यी वचनहरू सत्यता सिद्धान्तहरू अनुरूप हुन्छन्। कतिपय शब्दहरू मनमोहक, विचारशील, परिष्कृत, र गहन सुनिएलान्, तर तिनले वास्तविक समस्याहरूलाई पटक्कै समाधान गर्न सक्दैनन्। ती सत्यता सिद्धान्तहरूसँग अलिकति पनि सम्बन्धित हुँदैनन्, न त तिनले मानिसहरूलाई मार्ग वा दिशा नै औँल्याउन सक्छन्। ती सबै सही देखिने धर्मसिद्धान्तहरू हुन्। त्यसकारण, यी शब्दहरूलाई इन्कार गरिनुपर्छ। त्यस्ता मानिसहरूलाई इन्कार गर्नुको कारण के हो भने तिनीहरूका उच्च सुनिने कुराकानीले तैँले आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्नुपर्ने समय, सत्यता खोजी गर्न प्रयोग गर्नुपर्ने समय, र तेरो व्यक्तिगत ऊर्जा बरबाद गर्छ—त्यसैले, तैँले तिनीहरूलाई इन्कार गर्नुपर्छ। तैँले तिनीहरूलाई कसरी इन्कार गर्नुपर्छ? “म गएँ है” भनेर मात्रै पनि, तैँले तिनीहरूलाई इन्कार गर्छस्, होइन र? वा तैँले यसो भन्न सक्छस्, “यस्तो कुरा नगर, मैले तिमीले भनेको सबै कुरा बुझेँ। मैले तिमीलाई सोधेको प्रश्नको उत्तर कहिले दिन्छौ? यदि तिमीले यसको उत्तर दिन सक्दैनौ भने, तुरुन्तै यहाँबाट जाऊ र मेरो समय बरबाद गर्न छोड।” के तिनीहरूलाई इन्कार गर्ने यो तरिका राम्रो छ? (छ।) मलाई त यो निकै राम्रो लाग्छ—नत्र भने, तैँले तिनीहरूलाई कसरी इन्कार गर्नेथिइस्? तिनीहरूको उच्च सुनिने कुराकानी, धर्मसिद्धान्तहरू, र नाराहरू इन्कार गर्नु भनेको फरिसीहरूलाई इन्कार गर्नु जस्तै हो। यस्ता मानिसहरूले कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरूको मानवता मानकअनुरूप हुँदैन, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरू आधारभूत रूपमा वास्तविक काम गर्न असमर्थ हुन्छन्। तैपनि, तिनीहरूले अझै पनि तँलाई बहकाउने प्रयास गर्न उच्च धर्मसिद्धान्तहरू प्रयोग गर्छन्। यदि तँ तिनीहरूलाई इन्कार गर्दैनस् भने, तँ पूर्ण रूपमा मूर्ख होस्। त्यस्ता मानिसहरूलाई भेट्दा तैँले इन्कार गर्नु सही हुन्छ। “गएँ ल” मात्रै भन् अनि हिँडिहाल्—यो कुरा समाधान गर्न निकै सजिलो कुरा हो, होइन र? उच्च सुनिने कुराकानी गर्ने तर कुनै वास्तविक काम नगर्नेहरूलाई ठ्याक्कै यसरी नै व्यवहार गर्नुपर्छ। यस्ता मानिसहरू उचित र गम्भीर तरिकाले कामकुरा गर्ने मानिसहरू होइनन्; तिनीहरू वास्तविक तरिकाले कामकुरा गर्ने मानिसहरू होइनन्। तिनीहरूले भन्ने कुरामा विश्वसनीयताको कमी हुन्छ, त्यो जोडिन लायक हुँदैन, र त्यो प्रभावकारी सल्लाह वा प्रभावकारी मार्ग भए झैँ गरी सुन्न लायक हुँदैन। त्यसकारण तिनीहरूको उच्च सुनिने कुराकानीको सन्दर्भमा, यसलाई सीधै इन्कार गर्—नोटहरू लिनु पर्दैन, र त्यो कदर गर्न लायक हुँदैन। उच्च सुनिने कुराकानीबारे रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
राजनीतिबारे छलफल गर्न मन पराउनु
हामी अर्को प्रकटीकरणबारे कुरा गरौँ: राजनीतिबारे छलफल गर्न मन पराउनु। कतिपय मानिसहरूलाई आफ्नो देशको राजनीतिक परिस्थिति वा विश्वव्यापी राजनीतिक परिस्थिति, साथै उच्च तहका राजनीतिक व्यक्तित्वहरूका नीति र अभिव्यक्तिहरू, तिनीहरूको शासनको एजेन्डा र राजनीतिक रेखा, तिनीहरूले विभिन्न नीतिहरू कार्यान्वयन गर्ने तरिका र माध्यमहरू, र आदि-इत्यादि कुराबारे छलफल गर्न मन पर्छ। छोटकरीमा भन्दा, तिनीहरू राजनीतिसँग सम्बन्धित विषयहरूका बारेमा प्रायजसो छलफल गर्छन्; चाहे यी विषयहरू प्राचीन वा आधुनिक राजनीति, आन्तरिक वा अन्तर्राष्ट्रिय राजनीतिसँग सम्बन्धित हुन्, तिनीहरू ती कुराहरू बेला-बेलामा उठाउनमा आनन्द लिन्छन्। राजनीतिबारे छलफल गर्न मन पराउनु जन्मजात अवस्था, मानवता, वा भ्रष्ट स्वभावहरूअन्तर्गत पर्छ? तिमीहरूलाई थाहा छैन, होइन र? किनभने यो विषय अलिक विशेष छ। तिनीहरूलाई राजनीतिबारे छलफल गर्न मन पर्छ, र तिमीहरूको दृष्टिकोणमा, राजनीति सकारात्मक कुरा होइन। तिमीहरूले सोच्छौ: “यदि राजनीतिबारे छलफल गर्न मन पराउनु जन्मजात अवस्थाहरूभित्र पर्ने चासो र रुचि थियो भने, परमेश्वरले मानिसहरूलाई यस्तो प्रकारको चासो र रुचि दिनुहुनेथिएन; यदि यो खराब मानवताको समस्या थियो भने, कुनै नराम्रो काम नगरी यसबारे छलफल गर्नु मात्रै त खराब मानवतामा गनिनेथिएन, र यो भ्रष्ट स्वभावको स्तरमा पुग्नु त परको कुरा हो। त्यसोभए यसलाई कहाँ वर्गीकरण गर्ने?” अन्त्यमा, तँ निष्कर्षमा पुग्दैनस्। के कुरा यही हो? (हो।) त्यसोभए के तिमीहरूले यसरी सोच्दा तिमीहरू सही हुन्छौ? तिमीहरू किन अन्ततः निष्कर्षमा पुग्दैनौ? तिमीहरू कहाँ अड्किरहेका छौ? तिमीहरू “राजनीति” भन्ने शब्दमा अड्किरहेका छौ, होइन र? (हो।) यदि मैले ललितकला, सङ्गीत, नृत्य, डिजाइन, वा अर्थशास्त्रबारे छलफल गर्न मन पराउने बारेमा कुरा गरेँ भने, त्यो कहाँ वर्गीकरण गरिनेथियो? (यसलाई जन्मजात अवस्थाहरूभित्र पर्ने चासो र रुचिको रूपमा वर्गीकरण गरिनेथियो।) यदि मैले इतिहासबारे छलफल गर्न मन पराउने वा स्वादिष्ट खानाबारे छलफल गर्न मन पराउने बारेमा उल्लेख गरेँ भने, त्यसलाई कहाँ वर्गीकरण गर्नुपर्छ? (जन्मजात अवस्थाहरूमा।) जब कसैले कुनै कुराबारे छलफल गर्न मन पराउँछ, कुनै कुराको अनुसन्धान गर्न मन पराउँछ, वा ऊ कुनै कुरामा सिपालु छ भनेर भनिन्छ, तब यसको अर्थ उसलाई त्यो क्षेत्र मन पर्छ र उसलाई त्यसमा चासो छ भन्ने हुन्छ। त्यसकारण, यसलाई जन्मजात अवस्थाहरूअन्तर्गतका चासो र रुचिका रूपमा वर्गीकरण गरिन्छ। तर यी मानिसहरूले यस मामलामा छलफल गर्न मन पराउने विषय राजनीति भएकाले, तैँले यसलाई यसरी वर्गीकरण गर्ने आँट गर्दैनस्। तैँले किन यसलाई यसरी वर्गीकरण गर्ने आँट गर्दैनस्? किनभने राजनीति अत्यन्तै संवेदनशील विषय हो, र राजनीति त्यति सकारात्मक कुरा होइन, हो त? (होइन।) राजनीति त्यति सकारात्मक कुरा नभए पनि, राजनीतिबारे छलफल गर्न मन पराउने क्रियाकलाप, भर्खरै उल्लेख गरिए अनुसार, छलफल नै हो। त्यसकारण, यसलाई जन्मजात अवस्थाहरूअन्तर्गतको चासो र रुचिका रूपमा वर्गीकरण गर्नुपर्छ। त्यस्तो व्यक्तिको अन्तर्निहित चासो र रुचि भनेको तुलनात्मक हदसम्म, राजनीति पछ्याउन र छलफल गर्न मन पराउनु हो। तर के ऊ राजनीतिमा भाग लिन्छ? हामी त्यो कुरामा अझै पुगेका छैनौँ; अहिलेका लागि, हामीले हाम्रो ध्यान छलफलको कार्यमा मात्रै सीमित गरिरहेका छौँ, त्यसकारण यसलाई जन्मजात अवस्थाहरूअन्तर्गतको चासो र रुचिका रूपमा मात्रै वर्गीकरण गर्न सकिन्छ। के अब तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यसरी भन्दा वस्तुगत हुन्छ; यो तथ्य हो, होइन र? (हो।) उदाहरणका लागि, मानौँ कसैले प्राचीन राजाहरूका बारेमा छलफल गर्न मन पराउँछ र निश्चित सम्राट्हरूले आफ्ना मन्त्रीहरू र जनताहरूलाई कसरी व्यवहार गर्थे, निश्चित शासकहरूले कसरी लगनशीलताको साथ शासन गर्थे र मानिसहरूको ख्याल गर्थे, र तिनीहरूको शासनकालमा देशको अनाजको भण्डार कसरी पर्याप्त थियो र जनसङ्ख्याको जीवनस्तर कुन तहसम्म पुगेको थियो भन्ने बारेमा प्रायजसो कुरा गर्छ। उसले कुन-कुन सम्राट्हरू निरङ्कुश थिए र ती सम्राट्हरू विलासी भोज र भोगविलासमा लिप्त हुँदै गर्दा र आफ्ना दरबारहरूमा ठूलो विलासितामा जिउँदै गर्दा तिनीहरूका शासनमुनि जनताहरू कसरी बेसहारा थिए भन्ने बारेमा पनि कुरा गर्छ। त्यसपछि उसले समकालीन राजनीतिक व्यक्तित्वहरूका समस्याहरूका बारेमा छलफल गर्छ, कसले राम्रो कार्य गर्छ र कसले गर्दैन, र आदि-इत्यादि कुरा भन्छ। उसलाई यी कुराहरूका बारेमा छलफल गर्न मात्रै मन पर्छ। अर्को शब्दमा भन्दा, यो व्यक्तिले अन्तर्निहित रूपमा नै यस्ता प्रकारका विषय र मामलाहरूमा तुलनात्मक रूपमा चासो राख्छ। उसको दैनिक जीवनमा, उसले आराम गर्ने र मनोरञ्जन गर्ने तरिका भनेको यी राजनीतिक मामलाहरूका बारेमा छलफल गर्नु, यसलाई समय बिताउने माध्यमका रूपमा प्रयोग गर्नु हो—यो उसको जीवनको एउटा भाग हो। यदि उसलाई राजनीतिबारे छलफल गर्न मात्रै मन पर्छ भने, यो चासो र रुचि मात्रै हो। के यसमा उसको मानवता समावेश हुन्छ? यदि तैँले राजनीतिबारे छलफल गर्ने उसको मन पराइलाई मात्रै हेरिस् भने, तैँले उसको चरित्र कस्तो छ भनेर भन्न सक्दैनस्, किनभने तैँले राजनीतिप्रति उसको मनोवृत्ति र दृष्टिकोणहरू के छ भन्ने कुरा देख्न सक्दैनस्। ऊ केवल त्यस्ता विषयहरूका बारेमा छलफल गर्नमा आनन्द लिन्छ र उसलाई यी कुराहरूमा चासो हुन्छ; यसमा उसले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू समावेश हुँदैनन्। यदि कसैलाई राजनीतिबारे छलफल गर्न मात्रै मन पर्छ र उसले आफ्नो दैनिक जीवनमा यसलाई मनोरञ्जनको विषय, कुराकानीको सामग्री, वा अरूसँग अन्तरक्रिया गर्दा र कामकुराहरू सम्हाल्दा छलफलको प्रायजसो केन्द्रका रूपमा लिन्छ भने, यो चासो र रुचि हो, र यो त्यस व्यक्तिको मानवतासँग सम्बन्धित हुँदैन। यो चासो र रुचि भएका मानिसहरू अरू रुचि भएका मानिसहरू जस्तै हुन्छन्—तिनीहरू समान हुन्छन्। यो व्यक्तिलाई राजनीतिबारे छलफल गर्न मन पर्छ भन्दैमा, उसलाई महत्त्वाकाङ्क्षी, खराब मानवता भएको, वा दुष्ट चरित्र भएको भनेर चित्रण गर्न सकिँदैन। परमेश्वरमा विश्वास गर्नेहरूले राजनीतिमा सहभागिता नजनाउने भए पनि, राजनीति स्वयम्को हकमा भन्दा, हरेक व्यक्तिसँग यसमा सहभागिता जनाउने अधिकार हुन्छ। राजनीति सकारात्मक कुरा होइन, तर यसलाई नकारात्मक पनि भन्न सकिँदैन—यो मानवको सामाजिक विकासको क्रममा अपरिहार्य रूपमा अस्तित्वमा रहने कुरा मात्रै हो। त्यसकारण, राजनीतिबारे छलफल गर्न मन पराउनुले मात्र व्यक्तिको चरित्र कस्तो छ भन्ने कुरा जनाउँदैन। यो त नृत्य गर्नमा आनन्द लिने व्यक्ति जस्तै हो—तैँले यो व्यक्ति अनाचारी छ वा ऊ उचित कार्यहरूमा संलग्न हुँदैन भनेर भन्न मिल्दैन। यदि कसैलाई विद्युतीय सामग्रीहरू मन पर्छ भने, तैँले यो व्यक्तिले ठूला कामकुराहरू गर्न सक्छ वा ऊ सकारात्मक व्यक्ति हो भनेर पनि भन्न मिल्दैन। के त्यस्तो मूल्याङ्कन सही हुनेथियो? (हुनेथिएन।) त्यसोभए यसलाई कसरी मूल्याङ्कन गरिनुपर्छ? यो तैँले आफ्ना चासो र रुचिहरूसँग के गर्छस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ न्यायसङ्गत अभियानमा संलग्न हुन्छस् भने, तेरा चासो र रुचिहरूले फाइदाजनक मूल्य सिर्जना गर्न सक्छन्। यदि तैँले नकारात्मक कामकुराहरू गर्न, मानिसहरूलाई हानि गर्ने र तिनीहरूको हितहरूलाई हानि गर्ने कामकुराहरू गर्नका लागि आफ्ना चासो र रुचिहरू प्रयोग गर्छस् भने, अझै पनि तेरा चासो र रुचिहरू नकारात्मक छन् भनेर भन्न सकिँदैन—बरु, यसको अर्थ तेरो मानवता खराब छ र तैँले हिँड्ने मार्ग गलत छ भन्ने हुन्छ। तैँले आफ्ना चासो र रुचिहरूलाई खराब कामकुराहरू गर्न प्रयोग गर्न सक्छस्, तर तेरा चासो, रुचि, सबल पक्षहरू, र सम्बन्धित पेसागत सीप, प्राविधिक सीप, र ज्ञानहरू आफै भने नकारात्मक हुँदैनन्। तँसँग जुनसुकै चासो र रुचिहरू भए पनि, ती तैँले उपयोग गर्नका लागि हुन्। यदि तँ सही मार्गमा हिँड्छस् भने, तैँले आफ्ना चासो र रुचिहरूद्वारा गर्ने कार्य न्यायसङ्गत हुन्छ। यदि तँ सही मार्गमा हिँड्दैनस् भने, तैँले आफ्ना चासो र रुचिहरूलाई न्यायसङ्गत कुरा गर्न प्रयोग गर्दैनस्, तर दुष्टता गर्नका लागि प्रयोग गर्छस्। उदाहरणका लागि, कम्प्युटर त एउटा मेसिन मात्रै हो—यो प्राविधिक औजार हो। तैँले भेला, प्रवचन, र सुसमाचार प्रचार गर्नका लागि कम्प्युटर प्रयोग गर्न सक्छस्, तर यसका साथै, धेरै खराब मानिसहरू र दुष्ट मानिसहरूले दुष्ट कामकुराहरू गर्न पनि कम्प्युटर प्रयोग गर्न सक्छन्। त्यसकारण, जब कम्प्युटरलाई न्यायसङ्गत अभियानमा संलग्न हुनका लागि प्रयोग गरिन्छ, तब तैँले कम्प्युटर आफै न्यायसङ्गत छ भनेर भन्न सक्दैनस्; त्यसरी नै, जब कम्प्युटरलाई दुष्ट कामकुराहरू गर्नका लागि प्रयोग गरिन्छ, तब तैँले कम्प्युटर आफै दुष्ट छ भनेर भन्न सक्दैनस्। बुझिस्? (बुझेँ।) त्यसरी नै, राजनीतिबारे छलफल गर्न मन पराउने मानिसहरूका हकमा, राजनीतिबारे छलफल गर्न मन पराउने यो प्रकटीकरण एउटा चासो र रुचि हो—यो तिनीहरूको मानवता सारका समस्याहरूसँग सम्बन्धित हुँदैन। यसका साथै, राजनीतिबारे छलफल गर्न मन पराउनेहरूले राजनीतिक विषयहरू मन पराउँछन्। तिनीहरूलाई सधैँ सही र गलतका मामलाहरूबारे छलफल गर्न र राजनीतिक दृष्टिकोणहरूसँग सम्बन्धित केही विषयहरूका बारेमा अरूसँग बहस गर्न मन पर्छ। कतिपयलाई प्रसिद्ध मानिसहरू र ठूला व्यक्तित्वहरूसँग सम्बन्धित विषयहरूमा विशेष चासो हुन्छ, जबकि कतिलाई समाजका काला पक्षहरू खुलासा गर्ने विषयहरूमा विशेष चासो हुन्छ। तर जे भए पनि, राजनीतिबारे छलफल गर्न मन पराउनेहरूसँग सत्यता हुँदैन, र तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन—यो कुरा पूर्ण रूपमा निश्चित हुन्छ। ठीक छ, राजनीतिबारे छलफल गर्न मन पराउने विषयमा रहेको हाम्रो छलफल यति नै।
राजनीतिमा भाग लिन मन पराउनु
राजनीतिबारे छलफल गर्न मन पराउनु कतिपय मानिसहरूको चासो र रुचि हो। यसपछि, हामी यो छलफललाई एक कदम अगाडि बढाऔँ र राजनीतिमा भाग लिन मन पराउनुबारे कुरा गरौँ। राजनीतिमा भाग लिन मन पराउनु भनेको राजनीतिबारे छलफल गर्न मन पराउनु सरह होइन—यसमा कार्य समावेश हुन्छ। राजनीतिमा भाग लिन मन पराउनु रातीको खानापछि हुने कुनै प्रकारको कुराकानी वा मनोरञ्जन मात्रै होइन, न त यो रुचि र शौकहरूका स्तरमा, वा राजनीतिबारे चासो राख्ने स्तरमा मात्रै सीमित रहन्छ; बरु, यो व्यक्तिले हिँड्ने मार्गसँग सम्बन्धित हुन्छ। त्यसोभए राजनीतिमा भाग लिन मन पराउनेहरू कुन मार्गमा हिँड्छन्? के यसमा तिनीहरूको मानवता समावेश हुन्छ? (हुन्छ।) त्यसोभए, राजनीतिमा भाग लिन मन पराउनुलाई केका रूपमा वर्गीकरण गर्नुपर्छ? यो तिमीहरू सबैका लागि गाह्रो प्रश्न हो—तिमीहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनौ। त्यसोभए हामी यसबारे सङ्गति गरौँ। जीवनका सबै क्षेत्रमा त्यस्ता मानिसहरू हुन्छन् जसलाई राजनीतिबारे छलफल गर्न मन पर्छ। हेर् त, किसानहरू समाजको तल्लो स्तरमा जिए पनि, तिनीहरूमध्ये कतिपयलाई राजनीतिको माथिल्लो तहसँग सम्बन्धित मामलाहरूका बारेमा धेरै थाहा हुन्छ, र तिनीहरूले राजनीतिसँग सम्बन्धित निश्चित दृष्टिकोणहरू व्यक्त गर्न सक्छन्। व्यापार र अर्थतन्त्रमा संलग्न मानिसहरूले पनि राजनीतिबारे छलफल गर्छन्, र कला र शिक्षा क्षेत्रका मानिसहरूले समेत राजनीतिबारे छलफल गर्छन्। भन्नुको अर्थ, सबै प्रकारका क्षेत्रमा, राजनीतिबारे छलफल गर्न मन पराउने र राजनीतिक विषयहरूमा चासो राख्ने मानिसहरू हुन्छन्। व्यक्ति जुनसुकै क्षेत्रमा संलग्न भए पनि, यदि उसलाई राजनीतिबारे छलफल गर्न मन पर्छ भने, त्यो पूर्ण रूपमा राजनीतिमा उसको रुचि भएकोले नै हुन्छ। यो चासो उसको अन्तर्निहित क्षमता र उसको दृष्टिकोणको उचाइसँग केही मात्रामा सम्बन्धित हुन्छ। उसले राजनीतिक शक्तिको दायराभित्र रहेका मामलाहरूलाई बुझ्न सक्छ, त्यसकारण बेला-बेलामा, उसले आफ्नै दृष्टिकोणहरू व्यक्त गर्छ। उसको प्रकटीकरण जन्मजात अवस्थाहरूअन्तर्गतका चासो र रुचिका स्तरमा नै रहन्छ। तर, राजनीतिमा सहभागिता जनाउनुको अर्थ यस्तो चासो र रुचिप्रति सोचाइको स्तरमा सन्तुष्ट हुनु होइन; बरु, यसको अर्थ आफ्नो मूल क्षेत्रलाई त्यागेर राजनीतिक काममा संलग्न हुने, राजनीतिक मञ्चमा चढ्ने, र राजनीतिक व्यक्तित्वहरूसँग व्यवहार गर्ने निर्णय गर्नु हो। त्यसोभए त्यस्ता मानिसहरूको समस्या के हो त? राजनीतिमा भाग लिन मन पराउने यस्तो प्रकारको व्यक्तिले प्रायजसो राजनीतिबारे त्यति धेरै छलफल नगर्ला, तर उसले जुनसुकै करियर छनौट गरे पनि, ऊ राजनीतिमा सम्बन्धित नभएको काममा संलग्न भएसम्म, उसलाई यसमा कुनै चासो हुँदैन र आफ्ना सम्भाव्यताहरू अँध्यारा छन् भन्ने लाग्छ। तर जब राजनीतिमा सहभागी हुने मौका आउँछ, तब उसको आँखा चाहनाले चम्किन्छ, र उसको चासो जाग्छ। जब उसले कसैले मेयर, गभर्नर, विधायक, वा राष्ट्रपति पदका लागि उम्मेदवारी दिइरहेको सुन्छ, तब उसलाई हृदयमा केही गुमाएको जस्तो महसुस हुन्छ र उसले आफै सहभागी हुने तरिकाहरूका बारेमा सोच्दै आफ्नो दिमाग खियाउँछ। ऊ कस्तो प्रकारको व्यक्ति हो? के ऊ शक्तिको अत्यन्तै धेरै इच्छा भएको व्यक्ति होइन र? (हो।) त्यसोभए यस्तो व्यक्तिको मानवताभित्र थप के कुरा हुन्छ र? ऊ पैसाप्रति पूर्ण रूपमा उन्मत्त हुन्छ कि शक्तिप्रति पूर्ण रूपमा उन्मत्त हुन्छ? (ऊ शक्तिप्रति पूर्ण रूपमा उन्मत्त हुन्छ।) उसले शक्तिलाई अरू सबै कुराभन्दा माथि रहेको कुराका रूपमा हेर्छ, यसलाई आफ्नो जीवनका रूपमा लिन्छ, यसलाई आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउने उद्देश्यका रूपमा लिन्छ। त्यसोभए, ऊ वास्तवमा कस्तो प्रकारको व्यक्ति हो? उसको मानवतामा आम मानिसहरूमा नहुने थप के कुरा हुन्छ र? (महत्त्वाकाङ्क्षा र चाहना।) ऊसँग के गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ? (शक्ति हातमा लिने।) शक्ति हातमा लिँदा यसले उसलाई सबैभन्दा प्रत्यक्ष रूपमा के फाइदा दिन्छ? (हैसियत प्राप्त गर्नु र अरूद्वारा उच्च मानिनु।) ती द्वितीय कुराहरू हुन्, सबैभन्दा महत्त्वपूर्ण फाइदा होइनन्। (उसले मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छ।) झण्डै मिल्यो। यदि कुनै व्यक्तिलाई पदमा रहन मन पर्छ, तर उसले लिने पद खोक्रो पद मात्रै हो, र उसको अधीनमा एक जना पनि अधीनस्थ व्यक्ति हुँदैन भने, के यसलाई शक्ति भएको मान्न सकिन्छ? (सकिँदैन।) यसलाई शक्ति भएको मान्न सकिँदैन। ऊसँग कुनै विशेष विशेषाधिकार हुँदैनन् र उसले पदमा हुनुको कुनै पनि फाइदाको आनन्द लिन सक्दैन। उसको दृष्टिकोणमा, के त्यस्तो पद धारण गर्नुको कुनै वास्तविक मूल्य हुन्छ? (हुँदैन।) त्यसकारण यस्तो व्यक्तिसँग अरूसँग नहुने एउटा कुरा हुन्छ—शक्तिप्रतिको अत्यन्तै तीव्र महत्त्वाकाङ्क्षा र चाहना। उसमा यस्तो महत्त्वाकाङ्क्षा र चाहना हुने हुनाले, उसले हासिल गर्न चाहने उद्देश्य अरूद्वारा उच्च मानिनु, आदर्श ठानिनु, वा डाहा गरिनु जत्तिको सरल कुरा हुँदैन, बरु उसले पद ओगट्न, हुकुम चलाउन, र अगुवाइ गर्न चाहन्छ। उसँग यो महत्त्वाकाङ्क्षा र चाहना हुन्छ—यदि उसँग कुनै हैसियत छैन भने, के उसले आफ्नो उद्देश्य हासिल गर्न सक्छ? के कसैले उसको कुरा सुन्नेछ? अवश्य नै सुन्नेछैन। त्यसकारण ऊ हैसियत प्राप्त गर्ने सङ्कल्परत हुन्छ। उसले हैसियत पाएपछि, उसले बोल्दा सुन्ने मानिसहरू हुनेछन्, र जब उसले अरूलाई कुनै कुरा गर्न लगाउँछ, तब आज्ञाकारी हुने र पालना गर्ने मानिसहरू हुनेछन्—त्यसपछि उसको महत्त्वाकाङ्क्षा र चाहना, उसले हासिल गर्न चाहेको कुरा, वास्तविकता बन्न सक्छ। राजनीतिमा भाग लिन मन पराउनेहरूलाई राम्रा शब्दले व्याख्या गर्दा महान् र आकाङ्क्षी भनेर व्याख्या गर्न सकिन्छ, तर यसलाई सरल रूपमा भन्दा, तिनीहरू पद धारण गर्नमा मात्रै उन्मत्त हुन्छन्—तिनीहरूलाई केवल पद धारण गर्न मन पर्छ। जब तिनीहरूसँग पद हुँदैन, तब तिनीहरूले हुकुम चलाउन सक्दैनन्, र तिनीहरूसँग नेतृत्व गर्नका लागि केही अधीनस्थहरू हुँदैनन्, त्यसकारण तिनीहरू निराश हुन्छन् र तिनीहरूलाई जीवन उदास लाग्छ। तर तिनीहरूले पद हातमा लिएपछि, तिनीहरूले बोलेको सुन्ने मानिसहरू हुन्छन् र तिनीहरूसँग अनुयायीहरू हुन्छन्, र परिणामस्वरूप तिनीहरूलाई जीवन रमाइलो लाग्छ। त्यसोभए, के तिनीहरूको मानवतामा समस्या हुन्छ? (हुन्छ।) के यसलाई तिनीहरूको मानवताको खराबी भन्न सकिन्छ? (सकिँदैन।) निश्चय नै यो त्यति सरल छैन। त्यसोभए यो कस्तो प्रकारको समस्या हो त? (भ्रष्ट स्वभावहरू।) तिनीहरूको मानवताका हिसाबमा भन्दा, के यस्तो व्यक्ति भरपर्दो हुन्छ? (हुँदैन।) त्यसोभए के उसको चरित्र असल हुन्छ? (हुँदैन।) किन असल हुँदैन? (ऊ सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छ, र सधैँ हुकुम चलाउन चाहन्छ।) यस्तो प्रकारको व्यक्तिमा हैसियतको निकै प्रबल कामना हुन्छ—ऊ सधैँ हुकुम चलाउने विभिन्न अवसरहरू खोज्न चाहन्छ, र सधैँ नेतृत्वको भूमिकामा रहन र अरूलाई नियन्त्रण गर्न चाहन्छ। त्यस्ता मानिसहरू भर गर्न नसकिने मानिसहरू हुन्, र तिनीहरूको चरित्र पनि असल हुँदैन। परमेश्वरको घरमा यस्ता मानिसहरू निकै छन्। यदि परमेश्वरको घरले तिनीहरूलाई कुनै कामको प्रभारी बनायो भने, यसको अर्थ तिनीहरूले पद सम्हालिरहेका छन् र नेतृत्वको भूमिकामा सेवा गरिरहेका छन् भन्ने तिनीहरू विश्वास गर्छन्। के तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्नेछन्? के तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्नेछन्? (गर्नेछैनन्।) यदि तिनीहरूले सुपरिवेक्षक वा अगुवा बन्नुलाई पद सम्हाल्ने कार्यको रूपमा लिन्छन् भने, तिनीहरूले निश्चित रूपमा नै कामका प्रबन्धहरू लागू गर्नेछैनन् र तिनीहरूले अवश्य नै वास्तविक काम गर्नेछैनन्। तिनीहरूले के गर्नेछन्? तिनीहरू आफ्नै उद्यममा संलग्न हुनेछन्, आफ्नै अख्तियार निर्माण गर्नेछन्, आफ्नै हैसियतलाई दह्रिलो बनाउनेछन्, र आफूभन्दा मुनिका मानिसहरूलाई आफ्ना विचारहरू बताउनेछन् र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउनेछन्—कामका प्रबन्धहरू, परमेश्वरका अभिप्रायहरू, र सत्यतालाई खारेज गर्नेछन् र शून्य तुल्याउनेछन्। त्यस्ता मानिसहरूको सार ठ्याक्कै यही हो। जब तिनीहरूसँग कुनै हैसियत हुँदैन, तब तिनीहरूले यसलाई आफ्नो सारा शक्ति लगाएर पछ्याउँछन्, र तिनीहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूले अवसर भेट्टाएका छन् भन्ने तिनीहरूलाई लाग्छ। के गर्ने अवसर? आफ्ना महत्त्वाकाङ्क्षा सन्तुष्ट पार्ने र आफ्नो हैसियतलाई जति सक्दो हदसम्म दह्रिलो बनाउने; तिनीहरूले पद सम्हाल्ने आफ्नो महत्त्वाकाङ्क्षा र आफ्नो लतलाई सन्तुष्ट पार्न यस्तो अवसर प्रयोग गर्छन्।
राजनीतिमा भाग लिन मन पराउनु खराब चरित्र र भ्रष्ट स्वभावहरू दुवैसँग सम्बन्धित मामला हो। यहाँ कति वटा भ्रष्ट स्वभावहरू समावेश छन्? (अहङ्कार र क्रूरता।) अहङ्कार, क्रूरता, सत्यताप्रतिको वितृष्ण, र हठीपन—यी सबै भ्रष्ट स्वभावहरू हुन्छन्; तीमध्ये हरेक नै त्यहाँ हुन्छन्। त्यसोभए यहाँ सबैभन्दा गम्भीर भ्रष्ट स्वभाव के हो? यो क्रूरता हो—सबैभन्दा प्रबल खाँटी विशेषता भनेको क्रूरता हो। राजनीतिमा भाग लिन मन पराउने मानिसहरूका हकमा भन्दा, यदि तिनीहरू संसारमा निराश र असफल भएका छन्, तिनीहरू राजनीतिमा भाग लिन चाहन्छन् तर तिनीहरूसँग राजनीतिक वृत्तहरूमा प्रवेश गर्ने अवसर वा तरिका भेट्टाउने मौका पाएका छैनन् भने, जब तिनीहरू परमेश्वरको घरमा आउँछन्, तब तिनीहरूको महत्त्वाकाङ्क्षा मर्दैन—तिनीहरू अझै पनि राजनीतिमा भाग लिन चाहन्छन्। त्यसकारण, तिनीहरूले विभिन्न तहका अगुवाहरूको निर्वाचनलाई सरकारी अधिकारीहरूको निर्वाचन भए झैँ गरी व्यवहार गर्छन्। हरेक पटक त्यस्तो निर्वाचन हुँदा, तिनीहरू साह्रै उत्साहित हुन्छन्, तिनीहरूलाई भोट दिनका लागि जताततै मानिसहरूलाई पैरवी गरिरहेका हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यसलाई पद धारण गर्नु, आफ्नै लागि हैसियतलाई पक्रिराख्नु, शक्ति हातमा लिनु, र आफूलाई जे मन लाग्यो त्यही गर्नुका रूपमा लिन्छन्। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी कार्य गर्छन् र परमेश्वरको घरले तिनीहरूलाई खटाएको काम र तिनीहरूले पूरा गर्नुपर्ने कर्तव्यलाई बेवास्ता गर्छन्, र हैसियतका फाइदाहरूमा लिप्त हुने बारेमा मात्रै वास्ता गर्छन्। तिनीहरू अगुवाको कर्तव्य पूरा गर्नुलाई पद धारण गर्नु, जे मन लाग्यो र जे चाह्यो त्यही गर्नुका रूपमा लिन्छन्, र आफ्नो अख्तियार निर्माण गर्न, आफ्नो हैसियतलाई दह्रिलो बनाउन, अरूलाई आफूले भनेको मान्न लगाउन, र पद धारण गर्ने आफ्नो लतलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्षम तुल्याउने गरी व्यवहार गर्नुका रूपमा लिन्छन्। तिनीहरूले परमेश्वरको घरको काम वा कामका प्रबन्धहरूका मागहरूलाई विचार गर्दैनन्। यस प्रकारका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्—तिनीहरूलाई अझै ख्रीष्टविरोधीहरूको रूपमा प्रकाश गरिएको छैन भने पनि, तिनीहरू बन्दै गरेका ख्रीष्टविरोधीहरू हुन्। के राजनीतिमा भाग लिन मन पराउनेहरूका बीचमा कोही असल मानिसहरू हुन्छन्? अहँ, कुनै असल मानिसहरू हुँदैनन्। शक्तिको तीव्र कामना भएका मानिसहरूले सत्यतालाई प्रेम गर्ने सम्भावना नै हुँदैन। तिनीहरूसँग शक्तिको अत्यन्तै प्रबल कामना हुने हुनाले, तिनीहरूको विवेक र समझले शक्तिको तिनीहरूको कामना र पछ्याइलाई दबाउन वा नियन्त्रण गर्न सक्दैन। यदि कुनै व्यक्तिलाई राजनीतिमा भाग लिन मन पर्छ वा ऊ त्यसो गर्नमा अत्यन्तै उन्मत्त छ, र उसमा त्यसो गर्ने प्रबल कामना छ भने, यसको अर्थ ऊसँग हैसियत र शक्तिको ठूलो महत्त्वाकाङ्क्षा हुन्छ। उसको आत्मआचरण र कार्यहरूका अभिप्राय, उद्देश्य, र आधार विवेक र समझले निर्धारित गर्ने होइन, तर उसले शक्ति प्राप्त गर्न सक्छ कि सक्दैन र उसको महत्त्वाकाङ्क्षा पूरा हुन सक्छ कि सक्दैन भन्ने कुरामा नै पूर्ण रूपमा निर्भर हुन्छ। त्यसकारण त त्यस्ता मानिसहरूको मानवता भयानक हुन्छ। शक्तिको आफ्नो कामनालाई सन्तुष्ट पार्न र शक्ति प्राप्त गर्नका लागि, तिनीहरूले जेसुकै गर्न र कुनै पनि कुरा त्याग गर्न सक्षम हुन्छन्—तिनीहरू सबैभन्दा नजिक रहेका र सबैभन्दा बढी प्रेम गर्ने मानिसहरूलाई समेत त्याग गर्न सक्छन्। यसका आधारमा मूल्याङ्कन गर्दा, के त्यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) उदाहरणका लागि, मानौँ कुनै पुरुषलाई राजनीतिमा भाग लिन मन पर्छ र उसँग शक्तिको अत्यन्तै प्रबल कामना छ। जब ऊ राजनीतिमा सहभागी हुने र उसले आकाङ्क्षा गरेको हैसियत र शक्ति प्राप्त गर्ने अवसर पैदा हुन्छ, तब यदि उसले आफूले पछ्याउने हैसियत प्राप्त गर्न आफूले प्रेम गर्ने महिलालाई त्याग गर्नु पर्यो भने पनि, ऊ त्यसो गर्न हिचकिचाउँदैन—ऊ पटक्कै नरम हृदयको हुनेछैन। कतिपय मानिसहरू हैसियत प्राप्त गर्नका लागि आफ्ना आमाबुबालाई त्याग गर्न समेत हिचकिचाउँदैनन्—तिनीहरूले जोसुकैलाई त्याग गर्न सक्छन्। तिनीहरूले कहिल्यै नत्याग्ने एउटै मात्र कुरा भनेको हैसियत हो। अर्को शब्दमा भन्दा, तिनीहरूले कुनै पनि व्यक्ति, घटना, वा कामकुरालाई हैसियतका बदलामा मोलतोल गर्ने आधार र मूल्यका रूपमा प्रयोग गर्न सक्छन्। त्यसोभए, त्यस्ता मानिसहरूको चरित्रका आधारमा मूल्याङ्कन गर्दा, के तिनीहरूसँग वास्तवमा विवेक र समझ हुन्छ? (हुँदैन।) त्यसकारण यस्ता प्रकारका मानिसहरू अत्यन्तै भयानक हुन्छन्। तिनीहरूको विवेक र समझ हराएको हुन सक्छ, वा तिनीहरूसँग कहिल्यै विवेक वा समझ हुँदै नभएको हुन सक्छ—दुवै कुरा सम्भव छन्। दुवै कुरा सम्भव छन् भनेर म किन भन्छु? जब यी मानिसहरूको कुनै हैसियत हुँदैन र जब राजनीतिक मामलाहरू समेटिएका हुँदैनन्, तब तिनीहरू अरूसँग निकै राम्ररी मिल्लान्, तिनीहरूले मानिसहरूलाई सहयोग गर्लान्, तिनीहरूले अरूबाट कहिल्यै फाइदा नलेलान्, र तिनीहरूले परोपकार गर्लान् र तिनीहरू अत्यन्तै सहनशील होलान्। सतहमा, तिनीहरूमा मानवता छ जस्तो देखिन्छ, र तिनीहरूको विवेक र समझ सामान्य देखिन्छ। तर तिनीहरूले भित्री रूपमा के कुरालाई प्रेम गर्छन् भन्ने तँलाई थाहा हुँदैन। जब तैँले तिनीहरूले भित्री रूपमा हैसियत र शक्तिलाई प्रेम गर्छन् भन्ने पत्ता लगाउँछस्, र तैँले फेरि तिनीहरूको मानवतालाई अवलोकन गर्छस्, तब तेरो दृष्टिकोण परिवर्तन हुन्छ, र तिनीहरूको मानवताको तेरो बुझाइ र मूल्याङ्कन पनि परिवर्तन हुन्छ। जब हैसियत र शक्ति संलग्न हुँदैनन्, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा सामान्य रूपमा व्यवहार गर्छन्, र तिनीहरू सभ्य मानिसहरू जस्तै देखिन्छन्। तर तिनीहरूले हैसियत र शक्ति प्राप्त गरेपछि, तिनीहरूको व्यवहार उप्रान्त पहिलेको सरह रहँदैन—तैँले उप्रान्त तिनीहरूको विवेक वा समझ कहाँ छ भनेर देख्न सक्दैनस्। त्यसपछि मात्रै तैँले त्यस्ता मानिसहरू साँच्चै नै भयानक छन् भन्ने महसुस गर्छस्। तिनीहरूले देखाएको मानवता अस्थायी मात्रै थियो भन्ने कुरा देखिन्छ—निश्चित वातावरण र निश्चित फाइदाहरूको आवेगका कारण, तिनीहरूको प्रिय शक्ति र हैसियतसँग सम्बन्धित नभएका परिस्थितिहरूमा मात्रै यो प्रकाश भएको थियो। तर हैसियत र शक्ति संलग्न भएपछि, तिनीहरूको साँचो मानवता प्रकाश हुन्छ। जब तैँले तिनीहरूको साँचो मानवता देख्छस्, तब तैँले तिनीहरूलाई मानवता नभएका मानिसहरू भनेर परिभाषित गर्नेछस्। अर्थात्, तैँले तिनीहरूको हृदयको गहिराइमा रहेको सारगत कुरा देख्नुभन्दा पहिले, तँलाई के लाग्छ भने तिनीहरू अरूसँग तुलनात्मक रूपमा राम्ररी मिलजुल गर्न सक्छन् र तिनीहरू मानवताविहीन छैनन्। तर जब तैँले साँचै नै तिनीहरूको भित्री संसार र तिनीहरूको मानवता सारलाई बुझ्छस्, र तिनीहरूले त हैसियत र शक्तिलाई प्रेम गर्छन् भन्ने देख्छस्, तब तैँले त्यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन भन्ने महसुस गर्नेछस्—तिनीहरू दोहोरो चरित्रका हुन्छन्। गैरविश्वासीहरूले यस्तो प्रकारको प्रकटीकरणलाई के भन्छन्? के यसलाई विभाजित व्यक्तित्व भनिँदैन र? (भनिन्छ।) गैर-मानवले मानव देह धारण गर्छ—जब उसले अरूसँग अन्तरक्रिया गर्छ, तब उसको प्राणको गहिराइमा के छ भन्ने कुरा तैँले देख्न सक्दैनस्, त्यसकारण तँ उसलाई सामान्य व्यक्ति ठान्छस्—सायद तँ ऊ असल व्यक्ति हो भन्ने समेत विश्वास गर्छस्। तर जब तैँले उसको अर्को पक्ष देख्छस्, तब तैँले ऊ असल व्यक्ति हो भनेर सोच्न छोड्ने मात्र होइन, तर उसलाई भयानक पनि ठान्छस्। गैर-मानव हुनु भनेको यही हो। गैर-मानवहरू वास्तवमा के हुन्? तिनीहरूले प्रदर्शन गर्ने कुरामा अलिकति पनि मानव रूप भए पनि, यो सच्चा हुँदैन। तिनीहरूसँग सत्यता वास्तविकता नहुने हुनाले, तिनीहरूको कहिलेकहीँ देखा पर्ने असल प्रकटीकरणहरूले तिनीहरूको सार प्रतिनिधित्व गर्दैनन्। तिनीहरूले साँचो रूपमा आफ्नो मार्ग छनौट गर्दा प्रदर्शन गर्ने मानवता नै तिनीहरूको सार हो। त्यसकारण, तँ त्यस्ता मानिसहरूको बाहिरी स्वरूपद्वारा बहकाउमा पर्नु हुँदैन—मुख्य कुरा भनेको तिनीहरूले हिँड्ने मार्ग र तिनीहरूको सार हेर्नु हो। के मैले अब यो कुरालाई स्पष्ट रूपमा व्याख्या गरेको छु? (गर्नुभएको छ।) तिमीहरूले के बुझ्यौ? यदि कुनै व्यक्तिलाई राजनीतिबारे छलफल गर्न मन पर्छ र यो विचारको स्तरमा मात्रै रहन्छ, र यो चासो र रुचि मात्रै हो भने, यो समस्या होइन। तर यदि उसलाई राजनीतिमा भाग लिन मन पर्छ भने, उप्रान्त यो विचारको समस्या मात्रै रहँदैन—यसमा उसको आत्मआचरण र ऊ हिँड्ने मार्गको समस्या समावेश हुन्छ। यो उसको आत्मआचरण र ऊ हिँड्ने मार्गसँग सम्बन्धित भएपछि, यो उसको चरित्रसँग सम्बन्धित हुन्छ। अनि जब यसमा चरित्र समावेश हुन्छ, तब प्रायजसो यसमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। होइन र? (हो।) ठीक छ, राजनीतिमा भाग लिन मन पराउनुको प्रकटीकरणबारे रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।