सत्यता कसरी पछ्याउने (१) भाग तीन

(२) परमेश्‍वरले आफ्नो काममा हासिल गर्ने अभिप्राय राख्नुभएका नतिजाहरूका बारेमा मानिसहरूका धारणा र कल्पनाहरू

परमेश्‍वरको काम सर्वशक्तिमान् र अद्भुत भए पनि, र परमेश्‍वरका वचनहरू सत्यता र जीवन भए पनि, मानिसहरूलाई एकै रातमा पूर्ण पारिन वा परिवर्तन गर्न सकिँदैन। कतिपय मानिसहरू, आफ्ना धारणा र कल्पनाहरूका आधारमा, प्रायजसो यसो भन्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको अत्यन्तै धेरै वर्ष भयो, तर पनि म कसरी अझै परिवर्तन भएको छैनँ? मैले अझै पनि कसरी पवित्रीकरण हासिल गरेको छैनँ? म, किन हृदयमा, अझै पनि संसारलाई प्रेम गर्छु? म किन अझै पनि यति आडम्बरी छु? ममा किन अझै पनि दुष्ट वासना छ? मलाई गैरविश्‍वासी संसारका केही भिडियो वा मनोरञ्जन कार्यक्रमहरू हेर्न मन पर्थ्यो। मैले अहिलेसम्म परमेश्‍वरमा विश्‍वास गरेको छु, धेरै वर्षदेखि परमेश्‍वरका वचनहरू खाएको र पिएको छु, आफ्नो कर्तव्य पूरा गरेको छु, कामकुराहरू त्यागेको, र आफूलाई धेरै वर्ष समर्पित गरेको छु भन्ने तथ्यको बाबजुद र मैले हृदयमा ती कुराहरूलाई पहिले नै छोडेको छु जस्तो महसुस गरे पनि, किन म अझै पनि ती कुरा समय-समयमा हेर्न चाहन्छु?” मानिसहरूमा हुने केही धारणाहरू यिनै हुन्, होइनन् र? विशेष गरी, परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, कतिपय मानिसहरू सधैँ आफ्नो शरीरलाई काबुमा राख्‍ने, देहका सुखहरूको लालसा नगर्ने, अझै धेरै कष्ट भोग्‍ने र परिश्रम गर्ने, र धेरै शारीरिक कठिनाइहरूलाई जित्न सक्‍ने जस्ता कुराहरूलाई पछ्याउँछन्। तर तिनीहरूले यसरी पछ्याइरहने भए पनि, तिनीहरूलाई अझै पनि तिनीहरू प्रायजसो देहका अत्यधिक चाहनाहरू, सहजताको लालसा, र अल्छीपनद्वारा नियन्त्रित भइरहन्छन् भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू प्रायजसो नकारात्मक हुन्छन् र तिनीहरू परमेश्‍वरमाथिको आस्था गुमाउँछन्, र सोच्छन्, “परमेश्‍वरको काम यो विन्दुमा पुगेको छ, तैपनि म किन अपेक्षा पूरा गर्दिनँ र अझै पनि प्रायजसो नकारात्मक नै हुन्छु?” कहिलेकहीँ, जब तिनीहरूले कुनै कार्यमा केही नतिजाहरू हासिल गरेका हुन्छन् र सबैको अनुमोदन प्राप्त गरेका हुन्छन्, तब तिनीहरूलाई सहज हुन्छ र तिनीहरू यसो सोच्छन्, “मसँग अझै पनि मुक्ति पाउने आशा छ। परमेश्‍वरको काम र उहाँका वचनहरू अत्यन्तै असल छन्। उहाँको कामले साँच्‍चै नै मानिसहरूलाई परिवर्तन गर्न सक्छ।” तर केही समयपछि, तिनीहरूलाई अझै पनि आफ्ना प्रियजनहरूको याद आएको महसुस हुन्छ। विशेष गरी, तिनीहरू कहिलेकहीँ, आफूले प्रिय ठानेका मानिसहरूलाई समेत याद गर्छन्, र आफूले बिताएको सांसारिक जीवनको सम्झना गर्छन्, र संसारमा हुँदाका आफ्नो वैभवका दिनहरूलाई निकै याद गर्छन्, त्यसकारण तिनीहरूले सोच्छन्, “मलाई कसरी अझै पनि ती कुराहरूको याद आउँछ? मैले किन देहका सुखहरूलाई त्यागेको छैनँ र आफूलाई संसारबाट पवित्रका रूपमा अलग गरेको छैनँ? म कसरी अझै पनि परिवर्तन भएको छैनँ?” अनि तिनीहरूलाई फेरि पनि निराशा महसुस हुन्छ। तिनीहरू प्रायजसो यी सोच र दृष्टिकोणहरूमाझ रुमल्लिरहन्छन्। तिनीहरूको स्थिति कहिलेकहीँ असल हुन्छ र कहिलेकहीँ खराब हुन्छ, तिनीहरू केही समयसम्म कमजोर हुन्छन् र त्यसपछि केही समयसम्म दह्रिला हुन्छन्, तिनीहरू केही समय नकारात्मक हुन्छन् त्यसपछि केही समय सकारात्मक हुन्छन्। तिनीहरूले दैनिक जीवनमा देखा पर्ने आफ्ना प्रकटीकरणहरूका आधारमा प्रायजसो आफ्नै विषयमा फैसला गर्छन्। यदि तिनीहरू असल स्थितिमा छन् भने, तिनीहरूले आफू मुक्तिको पात्र हुँ भन्‍ने सोच्छन्; यदि तिनीहरू खराब स्थितिमा छन् भने, तिनीहरूलाई मुक्ति पाउने कुनै आशा छैन र तिनीहरू छुटकारा पाउन नसक्‍ने हुन् भन्‍ने लाग्छ। तिनीहरू या त एकातिर कि त अर्कोतिर चरम हदमा हुन्छन्। जब तिनीहरू असल स्थितिमा हुन्छन्, तब तिनीहरूलाई आफू पवित्र जन जस्तै रहेको र परमेश्‍वरको अत्यन्तै नजिक रहेको, आफू र परमेश्‍वरबीच कुनै पर्खाल नरहेको महसुस हुन्छ, र तिनीहरूलाई परमेश्‍वर तिनीहरूको छेउमै हुनुहुन्छ भन्‍ने लाग्छ। जब तिनीहरू खराब स्थितिमा हुन्छन्, तब तिनीहरूलाई तिनीहरू नरकको १८ औँ तहमा खसेको र तिनीहरूले परमेश्‍वरलाई देख्‍न वा छुन सक्दैनन् जस्तो लाग्छ, र तिनीहरूलाई परमेश्‍वर तिनीहरूबाट अत्यन्तै टाढा हुनुहुन्छ भन्‍ने लाग्छ। यस्तो किन हुन्छ? तिनीहरूमा किन यी स्थितिहरू हुन्छन्? यी स्थितिहरू सामान्य हुन् कि असामान्य हुन्? (असामान्य।) जब तिनीहरू असल स्थितिमा हुन्छन्, तब तिनीहरूले मण्डलीले तिनीहरूलाई जे गर्न प्रबन्ध गर्छ त्यही गर्छन्, र तिनीहरूले कुनै पनि कठिनाइलाई जित्न, कुनै पनि कष्ट सहन, र कुनै पनि मूल्य चुकाउन सक्छन्। तिनीहरूलाई तिनीहरू परमेश्‍वरमा समर्पित हुन सबैभन्दा सक्षम व्यक्ति हुन्, तिनीहरू परमेश्‍वरको घरका सत्यता पछ्याउने व्यक्ति हुन्, र कुनै पनि कठिनाइले तिनीहरूलाई बाधा दिन सक्दैन भन्‍ने लाग्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न निकै मेहनत गर्छन् र तिनीहरू मेहनत गर्न इच्छुक हुन्छन्। अरूसँग सङ्गति गर्दा तिनीहरूले जति नै धेरै बातचित गरे पनि तिनीहरूलाई थकाइ लाग्दैन, र तिनीहरूलाई एक छाक नखाई बस्दा, वा दुई-तीन घण्टा सुत्न नपाउँदा केही हुँदैन। तिनीहरू परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न र आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पण गर्न इच्छुक हुन्छन्। परिणाम स्वरूप, तिनीहरूलाई तिनीहरू परिवर्तन भएका छन् भन्‍ने लाग्छ। तिनीहरू त्यस उप्रान्त आफ्नो परिवारबारे सोच्दैनन्, तिनीहरू उप्रान्त कुनै बेला प्रेम गरेका मानिसहरूलाई याद गर्दैनन्, र तिनीहरू उप्रान्त संसारमा भएको आफ्नो वैभव र सम्मानको सम्झना गर्न छोड्छन्। तिनीहरूले त्यो सबै कुरा शून्यतामा बिसाइदिन्छन् र सिद्धान्तहरू पालना गर्दै, बाधा वा अवरोध सृजना गर्ने जोकोहीलाई काट-छाँट गर्दै, परमेश्‍वरको घरका लागि निष्पक्षता कायम राख्दै, इन्साफका पक्षमा दृढ रही, परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्दै, र कडा र निष्पक्ष “न्यायकर्ताका” रूपमा आफ्नो छवि स्थापित गर्दै परमेश्‍वरप्रति आफूलाई पूर्ण हृदयले समर्पित गर्छन्। तिनीहरू केही समयसम्म निकै राम्रो कार्य प्रदर्शन गर्छन्। तर कुनै बेला तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्ने वा कुनै गलत काम गर्ने समय आउन सक्छ, त्यसपछि तिनीहरू “परमेश्‍वरले मलाई प्रकाश गर्नुभएको छ, उहाँ उप्रान्त मलाई प्रेम गर्नुहुन्न” भनेर सोच्दै नकारात्मक र कमजोर बन्नेछन्। त्यहाँदेखि, तिनीहरू फेरि खडा हुन सक्‍नेछैनन्। तिनीहरूलाई तिनीहरू केही पनि होइनन् र तिनीहरूले केही गर्न सक्दैनन्, तिनीहरूमा अझै पनि स्वार्थी सोचहरू, र दुष्ट वासना छन्, तिनीहरूले कुनै बेला प्रेम गरेका र मन पराएका मानिसहरूलाई प्रायजसो याद गर्छन्, तिनीहरू प्रायजसो नकारात्मक र कमजोर हुन्छन्, तिनीहरू अझै पनि परमेश्‍वरको प्रतिरोध गर्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको भए पनि तिनीहरू परिवर्तन भएका छैनन् भन्‍ने महसुस गर्छन्, र तिनीहरू यसो सोच्छन्, “के यसको अर्थ म खत्तम भएँ भन्‍ने होइन र?” तिनीहरूले तिनीहरूसँग मुक्ति पाउने कुनै मौका छैन, र तिनीहरूका लागि कुनै आशा छैन भन्‍ने सोच्नेछन्। जब तिनीहरू खुसी हुन्छन्, तब तिनीहरू हर्षले प्रफुल्‍ल हुन्छन्, र जब तिनीहरू पीडामा हुन्छन्, तब तिनीहरू अत्यन्तै व्याकुल हुन्छन्। तिनीहरू सधैँ यी दुई चरम अवस्थामा जान्छन्, र एकबाट अर्कोमा झुल्छन्। किन यस्तो हुन्छ? यी स्थिति र प्रकटीकरणहरू सकारात्मक भए पनि वा दिक्दारीका भए पनि, समग्रमा, यी सबै एउटै प्रकारका समस्या हुन्, अर्थात् परमेश्‍वरको कामका बारेमा धारणा र कल्पनाहरूले भरिनु, र आफ्नो मुडका आधारमा, र निश्‍चित अवधिमा आफूले गरेका प्रकाश र प्रकटीकरणहरूका आधारमा सधैँ आफ्नो बारेमा फैसला गर्नु र आफूलाई चित्रण गर्नु, साथसाथै परमेश्‍वरको काम, मानिसहरूमा गरिएको उहाँको कामले हासिल गर्ने नतिजाहरू, र मानिसहरूमा गरिएको उहाँको कामले हासिल गर्ने उद्देश्य र लक्ष्यका बारेमा फैसला गर्नु। के समस्याको जड यही हो? (हो।) जब मानिसहरू सकारात्मक हुन्छन्, तब तिनीहरू परमेश्‍वरको अघि प्रार्थना गर्छन्, जोडसँग रुँदै आफ्नो सङ्कल्प व्यक्त गर्छन्, केही नमागी आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पण गर्न, परमेश्‍वरलाई पछ्याउन र उहाँप्रति आफूलाई समर्पित गर्न इच्छुक हुन्छन्। जब तिनीहरूले यसरी प्रार्थना गर्छन् र सङ्कल्पहरू गर्छन्, तब तिनीहरूलाई सबै कठिनाइहरू त कठिनाइहरू नै होइनन् भन्‍ने लाग्छ। तिनीहरूले उत्प्रेरित भएर आँसु झार्छन्, र पवित्र आत्माले तिनीहरूलाई उत्प्रेरित गर्नुभएको हो भन्‍ने समेत विश्‍वास गर्छन्। तिनीहरू सोच्छन्, “पवित्र आत्माले मलाई उत्प्रेरित गर्नुभएको छ। परमेश्‍वरले मलाई अवश्य नै धेरै प्रेम गर्नुहुन्छ! परमेश्‍वरले मलाई त्याग्‍नुभएको छैन!” तिनीहरूले आँसु झार्दै प्रार्थना गर्छन् र पवित्र आत्माद्वारा उत्प्रेरित भएको छु भनेर भन्छन्—के यो भ्रम होइन र? (हो।) वास्तवमा, तँलाई आफ्‍नो बारेमा कति राम्रो महसुस भयो भन्‍ने कुराले उत्प्रेरित गरेको हो; तँलाई पवित्र आत्माले भन्दा पनि, तेरा आफ्नै सङ्कल्प, आकाङ्क्षा, चाहना, र आफ्नै कार्यले उत्प्रेरित गरेको थियो। तँलाई तँ आफैले उत्प्रेरित गरेको होस् भनेर म किन भन्छु? परमेश्‍वरको कामबारे तँसँग धेरै धारणा र कल्पनाहरू छन्, र ती अत्यन्तै विकृत छन्—के परमेश्‍वरले तँलाई उत्प्रेरित गर्नुहुनेथियो भन्‍ने तँलाई लाग्छ? तँ यो चरम स्थितिमा पुगिसकेपछि पनि, के परमेश्‍वरले तँलाई अझै चरम अवस्थामा पुग्ने गरी तँलाई उत्प्रेरित गर्नुहुनेथियो त? यदि परमेश्‍वरले तँलाई उत्प्रेरित गर्नुभएको हो भने, यसले तँलाई बस अझै चरम बनाउनेथियो, र तँलाई अझै बढी आत्म-प्रशंसा गर्न र आफूद्वारा अझै बढी प्रभावित हुन लगाउनेथियो, र तँलाई यो सङ्कल्प गर्न अझै बढी चाहना हुनेथियोः “म कम सुत्‍नेछु र अझै धेरै कष्ट भोग्‍नेछु, म खाना मीठो भए पनि वा नभए पनि खान्छु, मैले जेसुकै खान पाए पनि हुन्छ, र यसले मेरो शरीरमा फाइदा गर्छ कि गर्दैन भन्‍ने कुराको वास्ता गर्नेछैनँ। मैले मेरो पुरानो देहका प्राथमिकताहरूलाई जित्नैपर्छ, मैले मेरो पुरानो देहका कमीकमजोरीहरूलाई ठ्याक्कै सुधार्नैपर्छ, र मैले मेरो देहलाई अझै बढी कष्ट भोग्‍न दिनैपर्छ र यसलाई सहज हुन दिनु हुँदैन। यदि यसलाई सहज भयो भने, मैले परमेश्‍वरलाई प्रेम गर्नेछैनँ; यदि यसलाई सहज भयो भने, म देहका सुखहरूमा लिप्त हुनेछु र आफ्नो कर्तव्य पूरा गर्न कठिन परिश्रम गर्नेछैनँ।” यदि पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको हो भने, तैँले यो चरम अवस्थालाई कायम राखिरहनेथिइस्, र तैँले पहिले नै देहमाथि विजय गरिसकेको छस् र शैतानलाई पराजित गरेको छस्, र तैँले पहिले नै मुक्ति पाइसकेको छस् भन्‍ने अझै गलत विश्‍वास गर्नेथिइस्। त्यसकारण म तँलाई पवित्र आत्माले होइन, तर तँ आफैले उत्प्रेरित गरेको हो भनेर भन्छु। के तिमीहरू प्रायजसो आफैद्वारा उत्प्रेरित हुन्छौ? (हुन्छौँ।) तँलाई परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने र कष्ट भोग्‍ने तेरो आफ्नै सङ्कल्पले उत्प्रेरित गर्छ, र तँ परमेश्‍वरका लागि कष्ट भोग्‍न, कुनै पनि हदसम्म कठिनाइ भोग्‍न, वा मर्न समेत हृदयमा निकै इच्छुक हुन्छस्, त्यसपछि तेरो अनुहारमा आँसु बग्छ। वास्तवमा, परमेश्‍वर तँ उत्प्रेरित भएकोले प्रभावित हुनुहुन्‍न, न त उहाँ तेरो सङ्कल्पद्वारा नै प्रभावित बन्‍नुहुन्छ। तेरो यो प्रकटीकरण क्षणिक आवेग, आवेगमय जोसको क्षणिक आवेग मात्रै हो। यस्तो अवस्थामा, तैँले उहाँसँग प्रार्थना गरेर यसो समेत भन्‍न सक्छस्, “हे परमेश्‍वर, म तपाईंका लागि मर्न इच्छुक छु! हे परमेश्‍वर, आज म आफ्नो कर्तव्य पूरा गर्नमा यति व्यस्त थिएँ कि मैले खाना पनि खाइनँ। मैले १० छाक खान पाइनँ भने पनि, म त्यसो गर्न इच्छुक हुनेछु! मानिसहरू रोटीले मात्रै बाँच्दैनन्, तर तिनीहरू परमेश्‍वरको मुखबाट निस्कने वचनहरूले बाँच्छन्। हे परमेश्‍वर, म तपाईंलाई मेरो सम्पूर्ण जीवनभरि, सदासर्वदा प्रेम गर्न इच्छुक छु, र तपाईंप्रतिको मेरो प्रेम कहिल्यै परिवर्तन हुनेछैन!” तेरा यी भव्य शब्दहरूले तँलाई धुरुधुरु रुन उत्प्रेरित गर्छन्, तर तँप्रतिको परमेश्‍वरको मनोवृत्ति परिवर्तन हुँदैन। किन? किनभने तँ केवल क्षणिक आवेगद्वारा उत्प्रेरित भएको हुन्छस्, र तेरा आँसुहरू पछुतोका आँसुहरू, ऋणी भावका आँसुहरू, वा आफूलाई साँचो रूपमा चिनेर आएका आँसुहरू हुँदैनन्, र ती सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू कायम राख्न नसक्नुको पछाडि रहेका तेरो दुःखका आँसुहरू हुनु त परको कुरा हो। त्यसकारण, तेरो यो संवेगले तँलाई मात्रै उत्प्रेरित गर्न सक्छ, र सायद अरू वा तेरो वरिपरिका मानिसहरूलाई पनि उत्प्रेरित गर्न सक्छ, तर परमेश्‍वरलाई यसले प्रभावित पार्दैन। त्यसकारण, तँलाई पवित्र आत्माले होइन, तर तैँले आफैलाई उत्प्रेरित गरिरहेको हुन्छस्। तैँले आफैलाई उत्प्रेरित गरेको हुनाले तेरा आँसु बगेका हुन्छन्। तेरा आँसु, तेरा भावनात्मक शब्दहरू, र तेरो आवेगमय जोस सतही स्तरका कुरा मात्रै हुन्, ती एक प्रकारका व्यवहार मात्रै हुन्। ती तेरो सार र जीवनका परिवर्तन होइनन्, न त ती सत्यता तेरो जीवन हो भन्‍ने कुराको प्रकटीकरण नै हुन्। जब तँसँग परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने र कष्ट भोग्‍ने जोस र आवेग हुन्छ र तँ निकै सक्रिय हुन्छस्, तँलाई पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको छ, तँ परिवर्तन भएको छस्, र तँ मुक्तिको पात्र होस् भन्‍ने लाग्छ—यो परमेश्‍वरको कामबारे तँसँग रहेको एक प्रकारको धारणा र कल्पना हो। जब तँ अस्थायी असफलता र पतनका कारण, वा तेरो भ्रष्टता र कमीकमजोरीहरू उदाङ्गो भएका कारण, वा तँलाई काटछाँट र प्रकाश गरिएका कारण नकारात्मक बन्छस्, तब तँलाई दुःख र पीडा हुन्छ, र तैँले तँ परिवर्तन भएको छैनस् र तँसँग मुक्ति पाउने कुनै आशा छैन भन्‍ने सोच्छस्—यो परमेश्‍वरको कामबारे तँसँग रहेको अर्को प्रकारको धारणा र कल्पना हो। वास्तवमा, परमेश्‍वरले जे देख्‍नुभए पनि—चाहे तँ नकारात्मक स्थितिमा भए पनि वा सकारात्मक स्थितिमा भए पनि, वा तेरो स्थिति जति हदसम्म बिग्रेको र पतन भएको भए पनि—परमेश्‍वरले तँलाई सधैँ कसरी हेर्नुहुन्छ? तेरो कद जे हो त्यही हो। तँ कति परिवर्तन भएको छस् र तँ कति वटा सत्यता वास्तविकताहरूमा प्रवेश गरेको छस् भन्‍ने कुरा परमेश्‍वरले तेरो वास्तविक परिस्थिति, तेरा वास्तविक प्रकटीकरणहरू, र तेरो वास्तविक कदका आधारमा निर्धारित गर्नुहुनेछ। अहिले तँ खडा हुन नसक्‍नु र अहिले तँ पूर्ण दिक्दारी अवस्थामा डुब्नु परमेश्‍वरले तँलाई हेर्ने वा तेरो वास्तविक कद निर्धारित गर्ने मानक होइन। त्यसकारण, तँ सकारात्मक स्थितिमा भए पनि वा नकारात्मक स्थितिमा भए पनि, वा तँ आवेगपूर्ण जोसले भरिएको भए पनि वा तैँले दिक्दार महसुस गरिरहेको भए पनि, यसले तेरो बारेमा परमेश्‍वरले गर्नुहुने मूल्याङ्कन र चरित्र निर्धारणमा असर गर्नेछैन। आफ्ना अस्थायी प्रकाश र प्रकटीकरणहरूका आधारमा आफूलाई गलत रूपमा चित्रण गर्ने—या त पहिले नै पत्रुस जस्तो बनिसकेको व्यक्तिका रूपमा, अथवा छुटकारा पाउन नसक्‍ने व्यक्तिका रूपमा चित्रण गर्ने—तँ मात्रै होस् किनभने तँसँग परमेश्‍वरको कामबारे धेरै धारणा र कल्पनाहरू हुन्छन्। तर तैँले चाहे जसरी फैसला गरे पनि, तैँले जस्तोसुकै असल वा खराब भावनाहरू अनुभव गरे पनि, यो सबै तैँले परमेश्‍वरको कामबारे विकास गरेका धारणा र कल्पनाहरूका कारण हुन्छ, र यी धारणा र कल्पनाहरू परमेश्‍वरले व्यक्तिका बारेमा दिनुहुने सही र व्यावहारिक परिभाषा र उहाँले गर्नुहुने उसको सही र व्यावहारिक फैसला अनुरूप हुँदैनन्। के कुरा यही होइन र? (हो।) त्यसकारण, चाहे त्यो मानिसहरूको आफ्नै प्रकटीकरण होस्, तिनीहरूको आफ्नै सार होस्, वा तिनीहरूले आफूलाई अन्ततः चित्रण गर्ने तरिका होस्, तिनीहरूले यी कुराहरूका बारेमा आफ्ना धारणा र कल्पनाहरूका आधारमा फैसला गर्न सक्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरको कामका सामान्य व्यवस्था र परमेश्‍वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने वास्तविक नतिजाहरू, वा परमेश्‍वरले काम गर्ने तरिकाहरू र मानिसहरूका बारेमा दिनुहुने सही परिभाषाहरूका आधारमा यी कुराहरूलाई मापन गर्नुपर्छ। यहाँ परमेश्‍वरको कामबारे मानिसहरूका मुख्य धारणा र कल्पनाहरू के-के हुन्? मानिसहरूले के विश्‍वास गर्छन् भने, तिनीहरूको वास्तविक कद तिनीहरूका अस्थायी प्रकटीकरणहरू, वा निश्‍चित अवधिका तिनीहरूका प्रकटीकरणहरूमा निर्धारित हुन्छ: यदि तिनीहरू यस अवधिमा असल स्थितिमा छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरू परिवर्तन भएका हुनेछन्, तिनीहरूसँग जीवन हुनेछ, तिनीहरू कदमा वृद्धि भएका हुनेछन्, र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्‍नेछन्; यदि तिनीहरू यस अवधिमा खराब स्थितिमा छन् र तिनीहरूसँग परमेश्‍वरमाथिको कुनै साँचो विश्‍वास छैन भने, यसको अर्थ तिनीहरूमा कुनै कद छैन भन्‍ने हुन्छ। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) परमेश्‍वरको कामबारे मानिसहरूमा हुने एउटा धारणा र कल्पना के हो भने यो मानिसहरूमा दीर्घकालीन र निरन्तर रूपमा गरिँदैन, तर यसले तिनीहरूलाई क्षणिक रूपमा थोरै अन्तर्दृष्टि दिन्छ, जसले गर्दा तिनीहरूले ऊर्जाको प्रस्फुटन र क्षणिक आवेग प्रकट गर्छन्। अर्को प्रकार के हो भने मानिसहरू परमेश्‍वरको काम अलौकिक छ, उहाँले मानिसहरूलाई सकारात्मक मनोवृत्ति अपनाउन, र उहाँका लागि कष्ट भोग्‍ने र उहाँप्रति आफूलाई समर्पित गर्ने सङ्कल्प गर्ने गरी उत्प्रेरित गर्नुहुन्छ, त्यसपछि तिनीहरूले कद प्राप्त गर्छन् र आफ्नो जीवनका रूपमा परमेश्‍वरको सत्यता भएका मानिसहरू बन्छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने यदि तिनीहरू कुनै समस्याका कारण कमजोर बने भने, परमेश्‍वरले तिनीहरू असफल भएका छन् र प्रकाश गरिएका छन् भनेर निर्धारित गर्नुहुनेछ, त्यसपछि तिनीहरूलाई परमेश्‍वरले निन्दा गर्नुहुनेछ, र हटाउनुहुनेछ र त्याग्‍नुहुनेछ। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।)

हामीले भर्खरै सङ्गति गरेका मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? (मानिसहरूमा परमेश्‍वरको कामबारे कैयौँ प्रकारका धारणा र कल्पनाहरू हुन्छन्। तिनीहरूले व्यक्तिको वास्तविक कदलाई निश्‍चित अवधिमा देखा पर्ने उसको प्रकटीकरण वा उसको अस्थायी प्रकटीकरणले निर्धारित गर्छ भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरूले परमेश्‍वरले मानिसहरूमा गर्नुहुने काम दीर्घकालीन र निरन्तर हुनुको सट्टा क्षणिक रूपमा हुन्छ भन्‍ने सोच्छन्। मानिसहरू के पनि विश्‍वास गर्छन् भने परमेश्‍वरको काम अत्यन्तै अलौकिक हुन्छ र परमेश्‍वरले मानिसहरूलाई प्रायः उत्प्रेरित गर्नुहुन्छ। जब मानिसहरूलाई पवित्र आत्माले क्षणिक रूपमा उत्प्रेरित गर्नुहुन्छ, तब तिनीहरूलाई आफू सिद्ध पारिन लागेको वा पत्रुसको मानक हासिल गर्ने अवस्थाको नजिक पुगेको महसुस हुन्छ, र जब मानिसहरू असफल हुन्छन् र कमजोर बन्छन्, तब तिनीहरूले आफूलाई हटाइएको छ भनेर निर्धारित गर्छन्।) यस सन्दर्भमा परमेश्‍वरको कामबारे मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? मानिसहरू के विश्‍वास गर्छन् भने तिनीहरूको अस्थायी प्रकटीकरणहरूले तिनीहरूको वास्तविक कद प्रतिनिधित्व गर्छन्, र परमेश्‍वरले तिनीहरूको अस्थायी प्रकटीकरणका आधारमा मानिसहरूको फैसला गर्नुहुन्छ। मानिसहरू के सोच्छन् भने परमेश्‍वरले मानिसहरूले कष्ट भोगेको र मूल्य चुकाएको देख्‍न मन पराउनुहुन्छ, मानिसहरूले प्रायजसो प्रार्थना गरेको र सङ्कल्पहरू गरेको र धुरुधुरु रुने गरी उत्प्रेरित भएको देख्‍न उहाँलाई मन पर्छ, र मानिसहरूले कुराहरू त्याग्‍न र उहाँप्रति आफूलाई समर्पित गर्न र लगनशीलताको साथ काम गर्न, र देहका विभिन्‍न कठिनाइहरूलाई जित्न सकेको देख्‍न उहाँलाई मन पर्छ। तिनीहरूले सिद्धान्तहरू अनुसार काम गरे पनि नगरे पनि वा सत्यता अनुरूप काम गरे पनि नगरे पनि, तिनीहरूले बारम्बार मूल्य चुकाउन सकेसम्म, र आफ्नो कर्तव्य निर्वाह गर्दा, प्रायजसो खान र सुत्‍न छुटाए, एकाबिहानै उठेर राती ढिलो सुते, र दिन-रात काम गरेसम्म, परमेश्‍वरलाई यो कुरा मन पर्नेछ भन्‍ने तिनीहरू सोच्छन्। यसको तात्पर्य के हो भने परमेश्‍वरले चाहे जे काम गर्नुभए पनि वा उहाँले चाहे जति धेरै वचन बोल्नुभए पनि, उहाँ सबै मानिसहरूले कष्ट भोग्‍न र उहाँका लागि मूल्य चुकाउन सकून्, मीठो खाना खान वा राम्रो लुगा लगाउन नपाऊन्, र कुनै खाली समय नपाऊन् भन्‍ने, र तिनीहरूले हरेक दिन आफ्नो कर्तव्य पूरा गर्न वा प्रार्थना गर्नमा बिताउनुपर्छ, र प्रायजसो सङ्कल्पहरू गर्नुपर्छ, आफ्नो सङ्कल्प व्यक्त गर्नुपर्छ, आफ्नो मनमा ठान लिनुपर्छ, र शपथ खानैपर्छ भन्‍ने मात्रै आशा गर्नुहुन्छ। कतिपय मानिसहरू के सोच्छन् भने परमेश्‍वरले मानिसहरूको हृदय र हातगोडालाई बन्धनमा पार्न मन पराउनुहुन्छ, उहाँ मानिसहरूलाई स्वतन्त्रता र आजादी दिनुहुन्‍न, बरु उहाँ तिनीहरूलाई दमनमा परेको महसुस गराउनुहुन्छ ताकि तिनीहरू स्वतन्त्र हुन नसकून्, र उहाँ तिनीहरूलाई सामान्य मानवताको जीवनको स्वतन्त्रताबाट वञ्चित गर्नुहुन्छ। मानिसहरूले यस्तो सोच्छन्, होइन र? (हो।) मानिसहरू अरू के सोच्छन्? परमेश्‍वरले मानिसहरूलाई असफल हुन, कमजोरी वा भ्रष्टता प्रकट गर्न, वा आफ्ना कमीकमजोरीहरू देखाउन दिनुहुन्‍न। मानिसहरू के पनि विश्‍वास गर्छन् भने यदि तिनीहरू मुक्ति प्राप्त गर्न र सिद्ध पारिन चाहन्छन् भने, आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा तिनीहरू बिलकुलै कमजोर हुनु हुँदैन, वा तिनीहरूसँग सामान्य मानवताको कुनै पनि आवश्यकता, कमीकमजोरी, वा त्रुटिहरू हुनु हुँदैन, र तिनीहरूले कुनै पनि भ्रष्ट स्वभाव प्रकट गर्नै हुँदैन। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरू के सोच्छन् भने परमेश्‍वरको काम र अगुवाइअन्तर्गत, तिनीहरू हृदयमा युवा हुनुपर्छ, तिनीहरू जोसिलो हुनुपर्छ, र तिनीहरू आफ्नो कामप्रति जोसले भरिएका हुनुपर्छ र तिनीहरूसँग यसप्रति गम्भीर मनोवृत्ति हुनुपर्छ, साथै तिनीहरू निरन्तर सजग हुनुपर्छ र कहिल्यै पनि सहज हुनु हुँदैन। के मानिसहरू यही सोच्दैनन् र? यो मानिसहरूमा भएको धारणा र कल्पना हो कि यो परमेश्‍वरले मानिसहरूबाट गर्नुहुने साँचो माग हो? (यो मानिसहरूमा हुने धारणा र कल्पना हो।) मानिसहरू के सोच्छन् भने, यदि तिनीहरू अलिकति नकारात्मक र कमजोर भएमा, वा तिनीहरूमा थोरै देहगत कठिनाइ भएमा, वा तिनीहरूको मानवतामा केही कमीकमजोरी वा त्रुटिहरू भएमा, वा तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरेमा, र कहिलेकाहीँ देहगत सहजताको लालसा गरेमा, परमेश्‍वरले तिनीहरूलाई चाहनुहुनेछैन, उहाँ तिनीहरूसँग बोल्नुहुनेछैन वा उहाँले तिनीहरूमा काम गर्नुहुनेछैन, र तिनीहरूलाई हटाइनेछ र तिनीहरूसँग मुक्ति पाउने कुनै आशा हुनेछैन। के वास्तवमा मामला यही हो त? (होइन।) के यी मानिसहरूसँग हुने धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले एक हिसाबमा के विश्‍वास गर्छन् भने, परमेश्‍वरले आफ्नो कामप्रति निरन्तर उत्साह र आगोमय जोसले भरिएका मानिसहरूलाई मन पराउनुहुन्छ, र अर्को हिसाबमा, परमेश्‍वरले मानिसहरूको नकारात्मकतालाई मन पराउनुहुन्‍न र तिनीहरूलाई आफ्ना कमजोरीहरू देखाउन दिनुहुन्‍न। अर्को शब्दमा भन्दा, मानिसहरूले परमेश्‍वर सन्यासीहरूलाई मन पराउनुहुन्छ भन्‍ने सोच्छन्, सोच्दैनन् र? तिनीहरूले आफ्नो सम्पूर्ण जीवन गरिबीमा जिउनु, सबै बाहिरी मामलाहरूलाई पटक्‍कै ध्यान नदिनु, र कुपी बालेर मधुरो ज्योतिमा परमेश्‍वरका वचनहरू दिनहुँ पढ्नु अत्यावश्यक हुन्छ भन्‍ने सोच्छन्; तिनीहरू बिहान र साँझको प्रार्थना दुवै अनिवार्य हुन्छ, हरेक खानाभन्दा पहिले तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिनैपर्छ, र तिनीहरूसँग सामान्य मानवताको विभिन्न आवश्यकतामध्ये कुनै पनि हुनु हुँदैन भन्‍ने विश्‍वास गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई परमेश्‍वरप्रति पूर्ण रूपमा बफादार र आफ्नो कामप्रति पूर्ण रूपमा बफादार मान्न मिल्छ, र यस्तो प्रकारको जोस कायम राखेर मात्रै तिनीहरू परमेश्‍वरले मन पराउने र परमेश्‍वरले मुक्ति दिन र सिद्ध पार्न चाहनुहुने व्यक्ति बन्‍न सकिन्छ भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। मानिसहरूमा यी धारणा र कल्पनाहरू हुने हुनाले, कतिपयले कहिलेकहीँ आफ्नो परिवारको याद आउँदा, भित्री रूपमा निकै धिक्‍कार महसुस गर्छन्, र कहिलेकहीँ अलिकति बातचित गर्दा पनि, परमेश्‍वरले तिनीहरूलाई हप्काउनुहुनेछ भन्‍ने सोच्दै असहज महसुस गर्छन्। जब कतिपय जवान महिला बेला-बेलामा सिँगारिन्छन् र अलिक चम्किला र निकै फेसनका वस्त्र लगाउँछन्, तब तिनीहरूलाई एकदमै असहज महसुस हुन्छ, र तिनीहरू यसो सोच्छन्, “मैले यसरी लुगा लगाउनु अलिक अशिष्ट कुरा हो कि? यो अलिक लम्पट भयो कि?” वास्तवमा, तिनीहरूले अनौठा वा जीउका भाग देखिने गरी वस्त्र लगाइरहेका हुँदैनन्, तर तिनीहरूलाई बस लम्पट महसुस हुन्छ र तिनीहरू यसो सोच्छन्, “परमेश्‍वरले मलाई भित्री रूपमा हप्काइरहनुभएको छ। मैले यसो गरेको उहाँलाई मन पर्दैन।” यदि तँलाई परमेश्‍वरले यो कुरा मन पराउनुहुन्‍न भन्‍ने लाग्छ भने, तँ किन बौद्ध भिक्षुको वस्त्र वा ताओवादीको वस्त्र लगाउँदैनस् त? त्यो कति “सभ्य” र “शिष्ट” हुनेथियो! त्यो त लम्पट हुनेथिएन, होइन र? कतिपय मानिसहरू कहिलेकहीँ थोरै भए पनि अभिमान देखाउँछन् वा धाक लगाउँछन्, त्यसपछि भित्री रूपमा हप्की र असहज महसुस गर्छन् र सोच्छन्, “परमेश्‍वर मलाई उप्रान्त मन पराउनुहुन्‍न। उहाँ मलाई उप्रान्त चाहनुहुन्‍न।” कतिपय मानिसहरूले कपाल कोर्ने, मेकअप लगाउने, वा ऐना हेर्ने अनुमति छैन, र तिनीहरूले महिनामा एक पटक वा हरेक छ महिनामा एक पटक मात्रै नुहाउन मिल्छ भन्‍ने नियमहरू समेत बनाउँछन्, र यदि तिनीहरूले महिनामा एक पटक वा हरेक छ महिनामा एक पटकभन्दा बढी पटक नुहाए भने, यस कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र तिनीहरूले अवश्य नै मुक्ति पाउनेछैनन् भन्‍ने समेत सोच्छन्। तिनीहरू बिहान पाँच बजेभन्दा पहिले उठ्नैपर्छ भन्‍ने नियम तय गर्छन्, र आधा घण्टा ढिला उठे भने, तिनीहरू सुखमा लिप्त भइरहेका छन्, र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू होइनन् भन्‍ने सोच्छन्; तिनीहरू मध्यरातपछि नै सुत्नुपर्छ भन्‍ने नियम तय गर्छन्, र मध्यरातभन्दा पहिले सुते भने, तिनीहरू आफ्नो कर्तव्य बफादार रूपमा पूरा गर्ने मानिसहरू होइनन् भन्‍ने सोच्छन्। यी मानिसहरूले आफ्नो व्यवहार, दैनिक जीवन, र जीवनका आवश्यकताहरूका लागि धेरै अटल नियमहरू सृजना गर्छन्। तिनीहरू परमेश्‍वरका मागहरू के हुन् भनेर खोजी गर्दैनन्, न त तिनीहरू यी मामलाहरूप्रति परमेश्‍वरका दृष्टिकोण र मनोवृत्तिहरू के-के हुन् भनेर बुझ्ने प्रयास नै गर्छन्। बरु, तिनीहरू परमेश्‍वरको काममा, परमेश्‍वरले मानिसहरूलाई यी प्रकटीकरणहरू देखाउन दिनुहुन्‍न, र यदि तिनीहरूसँग कहिल्यै यी प्रकटीकरणहरू भएमा, तिनीहरू पूर्ण रूपमा विद्रोही भइरहेका छन्, र तिनीहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र त्यसकारण तिनीहरूले मुक्ति पाउन सक्दैनन् भनेर पूर्णतः व्यक्तिपरक रूपमा विश्‍वास गर्छन्। प्रायजसो, गलत कुरा भन्‍नु, गलत शब्द प्रयोग गर्नु, अलि बढी खाजा खानु, वा कहिलेकहीँ मनोरञ्जनका भिडियोहरू हेर्नु जस्ता उल्लेख गर्न लायक नरहेका केही सानातिना मामलाहरूका कारण मात्रै पनि, मानिसहरू यसो सोच्छन्, “म खत्तम भएँ, यो त म पूर्णतः विद्रोही भइरहेको हो! ममा यस्तो व्यवहार र यस्ता झुकाव हुन सक्छन् भन्‍ने मलाई थाहा थिएन—ममा अझै पनि यी समस्याहरू छन् भन्‍ने मलाई थाहा थिएन। यो भयानक कुरा हो। मैले गहन रूपमा आत्म-चिन्तन गर्नुपर्छ, आफूलाई आत्माको गहिराइदेखि चिरफार गर्नुपर्छ, र मैले भित्री क्रान्ति भोग्‍नुपर्छ। मैले यो कुरालाई बेवास्ता गर्न मिल्दैन!” सत्यता सिद्धान्तहरूसँग कुनै सम्बन्ध नभएका यी कुराहरूलाई मानिसहरू ठूलो महत्त्व दिन्छन्। यी सबै मानिसहरूका धारणा र कल्पनाहरू हुन् र परमेश्‍वरले तिनलाई घृणा गर्नुहुन्छ। परमेश्‍वर मानिसहरूले यी प्रकटीकरणहरू प्रकट गरेको हेर्न चाहनुहुन्‍न। त्यसोभए मानिसहरूले यस सन्दर्भमा बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? पालना गर्नुपर्ने सिद्धान्तहरू के-के हुन्? यी कुराहरू मानिसहरूका धारणा र कल्पनाहरू भएका हुनाले, ती निश्चित रूपमा नै परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने सिद्धान्तहरू होइनन्, र परमेश्‍वरले मानिसहरूबाट गर्नुहुने मागहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अनि ती धारणा र कल्पनाहरू हुन्, त्यसकारण यसको अर्थ ती कुराहरूलाई मानव मनमा कल्पना गरिएका र एकत्र गरिएका हुन्छन्—छोटकरीमा भन्दा, ती मानिसहरूका मनबाट आउँछन् र परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर भनी माग गर्नुहुने सत्यता वास्तविकताहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। मानिसहरूले यी धारणा र कल्पनाहरूलाई जसरी पालना गरे पनि, सत्यतासँग तिनको कुनै सम्बन्ध नभएसम्म, मानिसहरूले तिनलाई पालना गर्नु व्यर्थ हुन्छ। तैँले ती कुराहरू पालना गरे पनि, तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको हुँदैनस्, र परमेश्‍वरले यसलाई याद गर्नुहुनेछैन। विशेष गरी, कतिपय मानिसहरू कहिलेकहीँ आफ्ना प्राथमिकता वा देहगत बानीबेहोराहरू प्रकट गर्दा भित्री रूपमा गहन असहजता र कडा हप्काइ महसुस गर्छन्। यो असहजता र आत्म-निन्दा कसरी पैदा हुन्छ? के यो पवित्र आत्माले तिनीहरूलाई उत्प्रेरित गर्नुभएको परिणाम हो? (होइन, मानिसहरूसँग परमेश्‍वरबारे धारणा र कल्पनाहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई असहज महसुस हुन्छ।) यी भावनाहरूको आधार मानिसहरूका धारणा र कल्पनाहरू हुन्, सत्यता होइनन्। कतिपय मानिसलाई सहजै भित्री रूपमा हप्की र असहज महसुस हुन्छ, र तिनीहरूले हतार-हतार प्रार्थना गर्छन् र आफ्नो पाप स्वीकार गर्छन्, र तुरुन्तै पश्चात्ताप गर्छन्। तैँले केका लागि पश्चात्ताप गर्नुपऱ्यो? तैँले गरेका यी कुराहरू दैनिक जीवनका आम व्यवहारहरू हुन्। ती पाप होइनन्, र ती अवश्य नै ठूला अपराधहरू होइनन्। त्यस्ता महत्त्वहीन कुराहरूलाई ठूलो नबना! यदि तँलाई ती कुराहरू गलत छन् भन्‍ने लाग्छ भने, तैँले ती नगर्ने छनौट गर्न सक्छस्। तर तैँले ती कुराहरू नगर्नुको अर्थ तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको छस् भन्‍नेचाहिँ हुँदैन, र असहज महसुस हुँदैमा तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छस् भन्‍ने हुँदैन। तैँले किन पश्चात्ताप गरिरहेको छस्? तैँले किन आफूलाई परिवर्तन गरिरहेको छस्? तेरा धारणा र कल्पनाहरूले तँलाई ती व्यवहारहरूमा तँ संलग्‍न हुनु हुँदैन भन्‍ने गलत रूपमा विश्‍वास गराइरहेकाले हो कि तेरो व्यवहार परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू विपरीत जान्छ भनी तैँले सोचेकाले हो? यदि ती सत्यता सिद्धान्तहरू विपरीत जान्छन्, र तँलाई साँच्‍चै असहज लाग्छ भने, तैँले आफ्नो मार्ग परिवर्तन गर्न हतार गर्नुपर्छ र परमेश्‍वरको अघि पश्चात्ताप गर्नुपर्छ। यो असहजता कम्तीमा पनि मानवजातिको विवेकको हप्की हो। यदि तँ आफ्ना धारणा र कल्पनाहरूको विरुद्धमा गएकोले मात्रै तँलाई असहज महसुस हुन्छ भने, के तँ अनावश्यक भावनाहरूमा डुबिरहेको छैनस् र? (छु।) यो विशुद्ध रूपमा अनावश्यक भावनाहरूमा डुब्नु मात्रै हो र यो अनावश्यक कार्य हो। ख्रीष्टविरोधीहरूलाई पछ्याउँदा तँलाई कसरी असहज महसुस हुँदैन? त्यसका लागि तँलाई कसरी हप्की महसुस हुँदैन? जब तैँले दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र अवरोध दिइरहेका र परमेश्‍वरको घरका हितहरूलाई हानि गरिरहेका देख्छस्, र तँ तिनीहरूलाई रोक्न खडा हुँदैनस्, तब के तँलाई असहज महसुस हुन्छ? जब तँ सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेर अनि आफ्नै इच्छाका आधारमा बोल्छस् र व्यवहार गर्छस्, तब के तँलाई असहज महसुस हुन्छ? यदि तैँले यी मामलाहरूमा सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छस् र तैपनि तँलाई यसबारे कहिल्यै असहज महसुस हुँदैन भने, तँसँग मानवता समेत छैन, न त तँसँग विवेक नै छ। अनि यदि तँसँग कुनै विवेक छैन भने, कुन-कुन कुराहरूले तँलाई असहज तुल्याउनेछन्? तेरो असहजता भनेको विशुद्ध रूपमा तँ अनावश्यक भावनाहरूमा डुब्नु मात्र हो। तँलाई यातना दिइरहेका र असहज तुल्याइरहेका तेरा आफ्नै धारणा र कल्पनाहरूले हुन्—त्यसको कुनै काम हुँदैन। तैँले आफ्नै धारणा र कल्पनाहरूमा रहेर परमेश्‍वरमा विश्‍वास गर्दा अन्तिम परिणाम के हुनेछ? तँ झन्-झन् ढोँगी र फरिसीहरू जस्तै मात्र हुनेछस्। तँ परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूबाट झन्-झन् टाढा मात्रै जानेछस्, र तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न असम्भव हुनेछ। तँलाई सधैँ आफ्नो बारेमा राम्रो महसुस हुन्छ, तर तँमा यति राम्रो कुरा ठ्याक्कै के छ र? तँ धारणा र कल्पनाहरूले अति भरिएको छस्, र तैँले महसुस गर्ने सबै कुरा सत्यतासँग सम्बन्धित नै हुँदैन। उत्प्रेरित हुने र हप्की महसुस गर्ने तेरा भावना, तँलाई महसुस हुने ऋणीपन र पछुतो, तँमा हुनुपर्छ भन्‍ने तँलाई लागेको पश्चात्ताप, र तैँले खाने शपथ र तैँले गर्ने सङ्कल्पहरू सबै तेरा धारणा र कल्पनाहरूसँग सम्बन्धित हुन्छन्। यी कुराहरू तेरा धारणा र कल्पनाहरूमा मात्रै आधारित हुन्छन् र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, तैँले गर्ने कुनै पनि कुरा—चाहे त्यो तैँले भोग्‍ने कष्ट होस् र चुकाउने मूल्य होस् वा भेटी चढाउने र आफूलाई समर्पित गर्ने कार्य होस्, र तैँले जेसुकै समर्पित गरे पनि—यदि सत्यतासँग त्यसको कुनै सम्बन्ध छैन भने त्यो व्यर्थ हुन्छ। बुझिस्? (बुझेँ।)

अहिले हामीले परमेश्‍वरको कामका बारेमा मानिसहरूमा रहेका यी धारणा र कल्पनाहरूका बारेमा सङ्गति र चिरफार गरिसकेका हुनाले, के तिमीहरू मानिसहरूले कठिनाइ भोग्छन् कि भोग्दैनन्, आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउँछन् कि चुकाउँदैनन्, र आफूलाई रोक्छन् कि रोक्दैनन्, र तिनीहरूलाई मीठो खाना खान र राम्रो लुगा लगाउन मन पर्छ कि पर्दैन, र इत्यादि कुराहरू, साथै परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने सिद्धान्तहरू के-के हुन्, र परमेश्‍वरले आफ्नो कामद्वारा मानिसहरूमा के हासिल गर्न चाहनुहुन्छ भन्‍ने कुरालाई कसरी हेर्ने भन्‍ने बारेमा अलिक स्पष्ट भयौ? परमेश्‍वरले मानिसहरूमा हासिल गर्न चाहनुहुने परिणाम भनेको सधैँ तेरो कामप्रतिको जोसलाई हेर्नु होइन। अर्थात्, परमेश्‍वरले तेरो जोस वा कठिनाइ भोग्‍ने र मूल्य चुकाउने तेरो सङ्कल्प हेर्न चाहनुहुन्न। परमेश्‍वरको नजरमा, यदि तैँले सत्यता बुझ्दैनस् भने, यी प्रकटीकरणहरू क्षणिक आवेग मात्रै हुन्। अर्को शब्दमा भन्दा, ती तेरो जोस मात्रै हुन्। जोस भनेको आधारभूत रूपमा के हो? यो तेरो आवेश हो, वा अझै विशिष्ट रूपमा भन्दा, यो परिस्थितिहरूलाई व्यवहार गर्ने भावनात्मक शैली हो। परमेश्‍वरले मानिसहरूको जोस, परिस्थितिहरूलाई व्यवहार गर्ने तिनीहरूको भावनात्मक शैली, तिनीहरूको अस्थायी आवेग, वा यस्तो जोसिलो अवस्था चाहनुहुन्‍न। परमेश्‍वरले के चाहनुहुन्छ? (उहाँले मानिसहरूले सत्यता बुझ्न सकून् भन्‍ने चाहनुहुन्छ।) कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम गर्न र सत्यता बुझ्न, र, विभिन्‍न मामलाहरू सामना गर्दा, कुनै प्रावधान, औपचारिकता, वा व्यवहार पालना गर्ने होइन, तर सत्यता सिद्धान्तहरू पालना गरेको चाहनुहुन्छ; उहाँले तँलाई आफूले पूरा गर्ने कर्तव्यमा र सबै कुरामा सत्यता सिद्धान्तहरू खोजी गर्न, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न, र परमेश्‍वरका वचनहरू र सत्यतालाई तेरो वास्तविकता बनाउन सक्‍ने बनेको पनि चाहनुहुन्छ—परमेश्‍वरको कामले हासिल गर्ने अभिप्राय राखेको परिणाम यही हो। जहाँसम्म तेरो व्यक्तिगत जीवनमा, तँ चाँडै सुतेर र बिहानै उठ्न चाहन्छस् कि चाहँदैनस्, वा ढिलो सुत्न र ढिलो उठ्न चाहन्छस् कि चाहँदैनस्, वा तँसँग कस्ता वरदानहरू छन् वा तँ कति स्पष्ट रूपमा बोल्छस् भन्‍ने कुरा छ, परमेश्‍वरलाई यीमध्ये कुनै पनि कुराले फरक पार्दैन। तँसँग चाहे कठिनाइ भोग्‍ने सङ्कल्प भए पनि नभए पनि वा तैँले जति नै धेरै मूल्य चुकाए पनि, परमेश्‍वरले यी कुराहरूलाई मूल्यवान् ठान्‍नुहुन्‍न। कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वरमाथिको मेरो विश्‍वासका खातिर, मैले कैयौँ वर्षदेखि राम्रा लुगा किनेको छैनँ, र म हजामकहाँ नगएको दश वर्षभन्दा बढी भएको छ।” तैँले जीवनभरि मीठो खाइनस्, राम्रो लुगा लगाइनस्, र धेरै कठिनाइ भोगिस् भने पनि, के भो त? के परमेश्‍वरले चाहनुहुने त्यही हो त? के परमेश्‍वरले प्रचार गर्नु र सङ्गति गरेर मानिसहरूलाई धेरै सत्यताहरू प्रदान गर्नुको अन्तिम उद्देश्य तँलाई सन्न्यासीमा परिणत गर्नु मात्रै हो त? के यो तँलाई दयनीय नीच मान्छे, भिखारी, वा क्रोधित जवान व्यक्तिमा परिणत गर्नका लागि मात्रै हो? होइन। परमेश्‍वरले मानिसहरूमा आफ्ना वचनहरू र सत्यता सिद्धान्तहरू ढाल्न चाहनुहुन्छ। त्यसकारण, परमेश्‍वरले मानिसहरूले अझै धेरै कठिनाइ भोगेको र अझै धेरै मूल्य चुकाएको मन पराउनुहुन्छ, र तिनीहरूले अत्यन्तै मितव्ययी, कठिन, र सरल जीवन जिएको, तिनीहरूसँग अत्यन्तै धेरै सङ्कल्प र आकांक्षाहरू भएको, र तिनीहरू अत्यन्तै जोसिलो भएको, वा अत्यन्तै संयमी भएको, र तिनीहरूले आफ्नो स्थानमा बसेर व्यवहार गरेको उहाँले मन पराउनुहुन्छ भन्‍ने धेरैले विश्‍वास गरे पनि, यी परमेश्‍वरको कामबारे तिनीहरूका धारणा र कल्पनाहरू मात्रै हुन्। मानौँ, तेरो जीवनको धेरै वर्षसम्म, तैँले दिनमा एक छाक मात्रै खान्छस् र राती तीन घण्टा मात्रै सुत्छस्, र मीठो खाना खान वा राम्रा लुगा लगाउन सक्दैनस्, र तैँले आफूले गर्नुपर्ने भनेर सोचेको कुरा धेरै वर्षसम्‍म गर्छस्, र अनगिन्ती कठिनाइ भोगेको छस् र अनगिन्ती सङ्कल्पहरू गरेको छस्। तिमीहरूका आफ्नै शब्दहरूमा भन्दा, तिमीहरू “आफ्ना मूल आकाङ्क्षामा सच्चा रहेका छौ,” र तिमीहरूले परमेश्‍वरका लागि कठिनाइहरू भोग्छौ र उहाँप्रति आफूलाई समर्पित गर्छौ र आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पित गर्छौ। तैपनि, यो सबै कुराको बाबजुद पनि, यदि तैँले परमेश्‍वरका वचनहरू वा सत्यतामा कहिल्यै मेहनत गर्दैनस्, र आफूले गर्ने सबै कामकुरामा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, तँ अवश्य नै त्यागिनेछस्। तँ कठिनाइ भोगेर अनि मूल्य चुकाएर, र आफ्नो मूल आकांक्षालाई कहिल्यै परिवर्तन नगरी, र आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरप्रति समर्पित गरेर, र आफूसँग भएको सबै कुरा उहाँलाई समर्पित गरेर मुक्ति प्राप्त गर्न चाहन्छस्। यो त सपना मात्रै हो—यो त काल्पनिक कामना मात्रै हो। तैँले आफ्नो जीवनभरि मकैको भात र उसिनेको मकैको रोटी खाए पनि र कहिल्यै पनि मीठो खाना नखाए पनि वा राम्रा कुराहरूको आनन्द नउठाए पनि, यसको कुनै काम हुनेछैन। परमेश्‍वरले कहिल्यै पनि व्यक्तिको व्यवहार हेर्नुहुन्‍न, न त उहाँले व्यक्तिले बाहिरी रूपमा कुन नियमहरू पालन गर्छ, वा उसले बाहिरी रूपमा सरल र सादा जीवन जिउँछ कि जिउँदैन भनी नै हेर्नुहुन्छ। परमेश्‍वरले तँ कुन मार्गमा छस्, तैँले सामना गर्ने हरेक मामलामा के-के सिद्धान्तहरू पालना गर्छस्, र समस्याहरू सम्हाल्दा तैँले सत्यता सिद्धान्तहरू पालना गर्छस् कि गर्दैनस् भनी हेर्न चाहनुहुन्छ। यदि तैँले सत्यता सिद्धान्तहरू पालना गर्दैनस् भने, तैँले ती तय गरिएका प्रावधान र नियमहरूलाई चाहे जति राम्ररी पछ्याए पनि, यसको कुनै काम हुनेछैन। यसले तँ धारणा र कल्पनाहरूमा जिउने व्यक्ति होस्, पूर्ण रूपमा व्यक्तिपरक, राम्रा कामनाहरूमा जिउने व्यक्ति होस्, परमेश्‍वरको कामसँग जसको कुनै सम्बन्ध हुँदैन, र जसको परमेश्‍वरले मानिसहरूमा आफ्नो मुक्तिको काम गर्ने कुनै पनि तरिकासँग कुनै सम्बन्ध हुँदैन—तँ परमेश्‍वरको कामबाट टाढा भएको व्यक्ति होस् भन्‍ने कुरालाई मात्रै जनाउनेछ। त्यसकारण, यदि तँ परमेश्‍वरको कामबाट केही प्राप्त गर्न चाहन्छस् भने, तैँले सुरुमा सत्यतामा कठिन परिश्रम गर्नुपर्छ; तैँले आफ्ना धारणा र कल्पनाहरूमा कुनै पनि काम गर्नु वा कुनै मेहनत लगाउनु हुँदैन—त्यसो गर्नु व्यर्थ हुन्छ। कतिपय मानिसहरूले मलाई यसो सोध्छन्: “तिमीलाई मलाई लामो कपालले अझै भद्र र उचित देखिन्छ जस्तो लाग्छ कि छोटो कपालले?” म तिनीहरूलाई प्रतिक्रिया दिँदै सोध्छु, “तँलाई लामो कपाल पाल्न मन पर्छ कि छोटो कपाल पाल्न मन पर्छ?” तिनीहरूले भन्छन्, “मलाई मेरो कपाल लामो पाल्न मन पर्छ। तर मलाई के लाग्छ भने लामो कपाल भद्र र उचित हुँदैन, र परमेश्‍वरलाई यो कुरा मन पर्दैन।” अनि म जवाफ दिन्छु, “परमेश्‍वरले कहिले त्यसो भन्‍नुभयो? के सत्यतासँग यसको कुनै सम्बन्ध छ?” अरूले मलाई सोध्छन्: “के मैले खाजा खान मिल्छ?” अनि म जबाफ दिन्छु, “के खाजा खानु सामान्य मानवताको आवश्यकता हो? के परमेश्‍वरले मानिसहरूले ती खान मिल्दैन भनेर तोक्नुहुन्छ? के परमेश्‍वरले यसलाई निन्दा गर्नुहुन्छ?” अनि तिनीहरूले भन्छन्, “मलाई लाग्छ परमेश्‍वरले यसलाई निन्दा गर्नुहुन्छ, किनभने खाजा खानु लम्पट कुरा हो।” “लम्पट” को अर्थ के हो? यदि तँलाई खाजा खानु लम्पट कुरा हो भन्‍ने लाग्छ भने, के खाजा नखानुको अर्थ तँ लम्पट छैनस् भन्‍ने हुन्छ? के खाजा नखानुको अर्थ तैँले सत्यता बुझ्छस् र सत्यताको अभ्यास गर्छस् भन्‍ने हुन्छ र? मैले यसलाई यसरी भन्दा तिमीहरूले यो कुरा बुझ्न सक्छौ, होइन त? (हो।) धारणा र कल्पनाहरू सत्यता होइनन् र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। यदि तँ तीक्ष्ण-बुद्धिको छस् भने, तैँले तँसँग अझै पनि के-कस्ता धारणा र कल्पनाहरू छन्, र तँसँग अझै पनि फरिसीहरूका के-कस्ता अभ्यास, सोच र दृष्टिकोणहरू छन् भनेर तुरुन्तै जाँच्नुपर्छ, र तिनलाई ढिला नगरी त्याग्‍नुपर्छ। यी कुराहरू त्याग्‍नुको उद्देश्य तँलाई लम्पट र आत्म-लिप्त बन्न लगाउनु होइन, तर तँलाई सत्यता सिद्धान्तहरू खोजी गर्न, र सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्न परमेश्‍वरको अघि आउन लगाउनु हो। तँ भिखारी बनेको र तैँले सन्न्यासी जीवन बिताएको परमेश्‍वर हेर्न चाहनुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वरले मानिसहरू भिखारी बनेको मन पराउनुहुन्न, त्यसोभए के यसको अर्थ उहाँले तिनीहरू समृद्ध बनेको मन पराउनुहुन्छ भन्‍ने हो?” परमेश्‍वरले मानिसहरू धनी बनेको पनि चाहनुहुन्‍न। कतिपय मानिसहरू भन्छन्, “मानिसहरूले शारीरिक कठिनाइ भोगेको परमेश्‍वरले मन पराउनुहुन्छ भन्‍ने कुरा मानव धारणा र कल्पना हो। त्यसोभए यदि परमेश्‍वरले मानिसहरूले कठिनाइ भोगेको मन पराउनुहुन्‍न भने, के यसको अर्थ उहाँले तिनीहरूलाई सुख-सयलमा जिएको मन पराउनुहुन्छ भन्‍ने हुन्छ त?” गलत, यो पनि तेरो धारणा र कल्पना हो। त्यसोभए, व्यवहार गर्ने सही तरिका के हो त? (परमेश्‍वरले मानिसहरूलाई जेसुकै आइपरे पनि तिनीहरू उहाँको अघि आउन र सत्यता सिद्धान्तहरू खोजी गर्न सकेको मन पराउनुहुन्छ।) जहिले भए पनि, सत्यता सिद्धान्तहरूलाई बिर्सन सकिँदैन। कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वर मानिसहरूले उहाँको अघि सङ्कल्पहरू गरेको र कठिनाइ भोग्‍ने सङ्कल्प गरेको मन पराउनुहुन्छ।” अरूले यसो भन्छन्, “कष्ट भोग्‍न नचाहने मानिसहरूलाई परमेश्‍वरले मन पराउनुहुन्‍न।” यस्ता कुराहरू भन्‍नु सही हो कि गलत हो? कुन अभिव्यक्ति सही छ र कुन चाहिँ गलत छ? (ती दुवै गलत छन्।) कतिपय मानिसहरूले सधैँ आफ्नो हैसियत, ख्याति, र प्राप्तिका खातिर कठिनाइ भोग्छन्—तिनीहरूसँग कठिनाइ भोग्‍ने दृढ सङ्कल्प हुन्छ। के यी प्रकटीकरणहरूले परमेश्‍वरलाई प्रसन्न पार्छन्? (पार्दैनन्।) कतिपय मानिसहरू व्यक्तिगत मामलाहरूमा कठिनाइ भोग्‍न अनिच्छुक हुन्छन्, तर आफ्नो कर्तव्य पूरा गर्नका खातिर र सत्यताका खातिर कठिनाइ भोग्‍न इच्छुक हुन्छन्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नका लागि थोरै कठिनाइ भोग्‍न इच्छुक हुन्छन्। यीमध्ये कुन प्रकटीकरण अलि राम्रो हुन्छ? (सत्यता सिद्धान्तहरूका खातिर कठिनाइ भोग्‍नु।) यी कुराहरूबाट के देख्‍न सकिन्छ? सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु र सत्यता अभ्यास गर्नु सही हो। चाहे यो आफ्नो कर्तव्य पूरा गर्ने मामलाहरूसँग सम्बन्धित होस्, वा आफ्नो व्यक्तिगत जीवनका मामलाहरूसँग सम्बन्धित होस्, व्यक्तिले कठिनाइ भोग्छ कि भोग्दैन भन्‍ने कुरा मानक वा सिद्धान्त होइन। सिद्धान्तहरू के-के हुन् त? सिद्धान्तहरू त परमेश्‍वरका मागहरू, परमेश्‍वरका वचनहरू, र सत्यता हुन्। यदि तँ सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छस् भने, तैँले त्यसो गर्दा कठिनाइ नभोगे पनि, तैँले गरिरहेको कुरा सही हुन्छ, र परमेश्‍वरले त्यसलाई अनुमोदन गर्नुहुन्छ; यदि तँ सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनस् भने, तैँले यस प्रक्रियामा धेरै कठिनाइ भोगे पनि वा ठूलो अपमान अनुभव गरे पनि, यो व्यर्थ हुन्छ, र परमेश्‍वरले तेरा कार्यहरूलाई अनुमोदन गर्नुहुन्‍न। यो त कतिपय मानिसहरूले ख्रीष्टविरोधीको आदेश सुनेपछि जे गर्नु भनिएको हो त्यही गर्नु जस्तै हो, ख्रीष्टविरोधीका प्राथमिकताहरूअनुसार काम कार्यान्वयन गर्छन्, धेरै बातचित गर्छन् र कष्ट भोग्छन्, र आफूलाई निकै व्यस्त राख्छन्, यहाँसम्म कि तिनीहरूको शरीर थकाइले कुप्रिन्छ र गल्छ। के परमेश्‍वर यसलाई अनुमोदन गर्नुहुन्छ? के परमेश्‍वर यसलाई याद राख्नुहुनेछ? (उहाँ यसलाई अनुमोदन गर्नुहुन्‍न, र उहाँ यसलाई याद राख्नुहुनेछैन।) त्यसोभए परमेश्‍वरको मनोवृत्ति के हो? (परमेश्‍वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ।) परमेश्‍वरले के भन्‍नुभयो? “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको मनोवृत्ति यही हो, होइन र? (हो।) तैँले जति नै धेरै कठिनाइ भोगेको भए पनि वा तैँले जति नै धेरै मूल्य चुकाएको भए पनि, तैँले यी कुराहरू आफ्नो योगदानका बारेमा घमन्ड गर्न प्रयोग गर्न त सक्छस्, तर परमेश्‍वरले यी कुराहरू हेर्नुहुन्‍न। परमेश्‍वर तैँले यी कुराहरू सत्यता सिद्धान्तहरू अनुसार गरिस् कि गरिनस् र तैँले परमेश्‍वरका वचनहरू पालना गरिरहेको थिइस् कि थिइनस् भन्‍ने कुरालाई मात्रै हेर्नुहुन्छ—उहाँ तँलाई मापन गर्न यो सिद्धान्त प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्‍वरका वचनहरू पछ्याउँदैनस्, तर त्यसको सट्टा आफ्नै विचारहरूअनुसार काम गर्छस् भने, तैँले चाहे जति धेरै कठिनाइ भोगे पनि वा जति धेरै मूल्य चुकाए पनि, त्यो सबै व्यर्थ हुनेछ। परमेश्‍वरले त्यसलाई याद नराख्नुहुने मात्र होइन, तर उहाँले यसलाई निन्दा पनि गर्नुहुनेछ। त्यो त तैँले आफ्नै विनाश ल्याउनु हुनेथियो, होइन र? (हो।) त्यस्ता मानिसहरूलाई अन्त्यमा हटाइनेछ—तिनीहरू यहीलायक हुन्छन्, होइन र? (हो।) परमेश्‍वरले हजारौँ-हजार वचन बोल्नुभएको छ र तँलाई सत्यता सिद्धान्तहरू बताउनुभएको छ, तर तँ पटक्‍कै सुन्दैनस्। तँसँग सधैँ आफ्नै विचारहरू हुन्छन्, र तैँले सत्यतालाई आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रतिस्थापन गर्ने, र यसरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने, राज्यमा प्रवेश गर्ने, र आशिषित हुने र इनाम पाउने अभिलाषा राख्छस्। के यो मृत्युसँग खेल्‍नु होइन र? के त्यस्ता मानिसहरू पावलकै खालका होइनन् र? (हुन्।) त्यसकारण, यदि मानिसहरूले आफू र परमेश्‍वरको बीचमा रहेका पर्खालहरू र परमेश्‍वरप्रतिको तिनीहरूको शत्रुतालाई छोड्न चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको कामबारे सही बुझाइ हुनुपर्छ। तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्‍वरबारे अनुमान लगाउनु हुँदैन, उहाँको कामलाई मापन गर्नु हुँदैन, वा आफ्नो व्यवहार र अभ्यासहरूलाई मापन गर्नु हुँदैन, अनि त्यसपछि यी धारणा र कल्पनाहरूका आधारमा सबै कुरालाई सम्हाल्नु हुँदैन। यो शैलीको अन्तिम परिणाम के हुनेछ भने यो व्यर्थ हुनेछ, र गम्भीर अवस्थामा, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउनेछन्, परमेश्‍वरको स्वभावलाई चिढ्याउनेछन्, र तिनीहरू दण्डित हुनेछन्। त्यसकारण, परमेश्‍वरको कामसँग व्यवहार गर्दा, मानिसहरूले परमेश्‍वरका बारेमा रहेका आफ्ना विभिन्‍न धारणा र कल्पनाहरूलाई छोड्नुपर्छ। अर्थात्, तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूलाई जाँच्नु र चिरफार गर्नुपर्छ र त्यसपछि तिनलाई छोड्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू र सत्यताको खोजी गर्नुपर्छ, र आफ्ना धारणा, कल्पना, गलत सिद्धान्तहरू र अभ्यासहरूलाई प्रतिस्थापन गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुपर्छ। यसरी मात्रै तँ मुक्तिको मार्गमा हिँड्न थाल्न सक्छस्। नत्र भने, तैँले मुक्ति पाउनु असम्भव हुन्छ, त्यो सम्भव नै छैन! परमेश्‍वरको कामका बारेमा मानिसहरूमा हुने एउटा धारणा र कल्पना यही हो। हामी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ।