सत्यता कसरी पछ्याउने (१) भाग दुई

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

(१) परमेश्‍वरको काम अत्यन्तै अलौकिक र कपोलकल्पित हुन्छ भन्‍ने मानिसहरूको कल्पना

आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने कुरा आउँदा, मानिसहरूले त्याग्‍नुपर्ने पहिलो कुरा भनेको आफ्ना धारणा र कल्पनाहरू हुन्। यो अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु हो, होइन र? (हजुर, हो।) के हरेक व्यक्तिमा परमेश्‍वरका बारेमा धारणा र कल्पनाहरू हुँदैनन् र? (हो, हुन्छन्।) कुनै पनि व्यक्ति शून्यतामा जिउँदैन, र कुनै पनि व्यक्ति रोबट होइन। हरेक व्यक्तिसँग स्वतन्त्र इच्छा हुन्छ, र उसले बाहिरी संसारबाट प्राप्त गरेका विभिन्‍न सोच र दृष्टिकोणहरू बोक्छ; अवश्य नै, हरेक व्यक्तिसँग परमेश्‍वरबारे विभिन्‍न धारणा र कल्पनाहरू पनि हुन्छन्, जुन तिनीहरूका आफ्‍नो व्यक्तिगत इच्छाभित्र रहेका आफ्नै खाँचो, प्राथमिकता, र कामनाहरूका आधारमा विकास भएका हुन्छन्। तिनलाई “धारणाहरू” र “कल्पनाहरू” भनिने तथ्यको अर्थ ती अवश्य नै सत्यता वा तथ्यहरूसँग मिल्दैनन् भन्‍ने हुन्छ; कम्तीमा पनि, ती परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको पहिचान, र परमेश्‍वरको सारसँग मिल्दैनन्। त्यसकारण, मानिसहरूले त्याग्‍नुपर्ने पहिलो मुख्य कुरा यी धारणा र कल्पनाहरू नै हुन्। त्यसोभए परमेश्‍वरका बारेमा रहेका धारणा र कल्पनाहरूसँग सम्बन्धित विषयवस्तुमा मुख्य रूपमा के समावेश हुन्छ? एक हिसाबमा, तिनमा मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले नै तिनीहरूसँग रहेका पूर्वस्थापित धारणाहरू समावेश हुन्छन्। अर्को हिसाबमा, तिनमा मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि परमेश्‍वरबारे विकास गरेका नयाँ धारणाहरू समावेश हुन्छन्, र यी नयाँ धारणाहरू अझै निर्दिष्ट र यथार्थवादी धारणा र कल्पनाहरू हुन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, तिनीहरूका हृदय परमेश्‍वरबारे कल्पनाहरूले भरिएको हुन्छ, र यी कल्पनाहरू सबै मानवमा आम रूपमा हुने धारणाहरू हुन् भनेर भन्‍न पनि सकिन्छ। यो त चिनियाँहरूले परमेश्‍वरमा विश्‍वास नगरे पनि उहाँलाई “आकाशमा बस्‍ने वृद्ध मानिस” भने जस्तै हो, र पश्‍चिमाहरूले—जसमध्ये धेरैले परमेश्‍वरमा विश्‍वास गर्छन् तिनीहरूले—उहाँलाई “प्रभु” भने जस्तै हो। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगर्ने भए पनि, धेरैजसो मानिसहरू परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन् र तिनीहरू उहाँबारेमा कल्पनाहरूले भरिएका हुन्छन्, परमेश्‍वर सबै थोकका बीचमा अस्तित्वमा हुनुहुन्छ र उहाँ सबै थोकभन्दा माथि हुनुहुन्छ, र उहाँ सर्वव्यापी, सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँसँग ठूला र अविश्‍वसनीय शक्तिहरू छन् भन्‍ने सोच्छन्। त्यसोभए यो परमेश्‍वर ठ्याक्कै को हुनुहुन्छ त? कसैलाई थाहा हुँदैन, तर जे भए पनि, तिनीहरूलाई परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने चाहिँ थाहा हुन्छ। त्यसोभए परमेश्‍वरको विशिष्ट स्वरूप के हो त? हरेक व्यक्तिले, आफ्नो मनमा आफूले कल्पना गरेको र निर्धारित गरेको परमेश्‍वरको रूप र चित्रको बारेमा एउटा विचार बोकेको हुन्छ। हामीले यी विश्‍वव्यापी मानव धारणा र कल्पनाहरूका बारेमा पहिले पनि छलफल गरेका छौँ, र ती आजको सङ्गतिको मुख्य विषय होइनन्। आज हामी मानिसहरू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको तिनीहरूको शत्रुतासँग सम्बन्धित सबै किसिमका धारणा र कल्पनाहरूमाझ रहेका परमेश्‍वरको विरोध गर्ने र उहाँको सारसँग नमिल्ने, मानिसहरूले त्याग्‍नुपर्ने विभिन्‍न प्रकारका धारणा र कल्पनाहरूका बारेमा सङ्गति गर्नेछौँ। हामी ती खोक्रा, अवास्तविक र पत्ता लगाउन नसकिने धारणा र कल्पनाहरूका बारेमा कुरा गर्नेछैनौँ। तिमीहरूको वर्तमान कदलाई हेर्दा, ती कुराहरू आधारभूत रूपमा समस्या होइनन् र तिनले सत्यता पछ्याउने तिमीहरूको कार्यमा असर गर्नेछैनन्, परमेश्‍वरलाई पछ्याउने तिमीहरूको कार्यमा त झनै असर गर्नेछैनन्, र कतिपय व्यक्तिहरूको मनमा अझै पनि केही अतिरञ्जित कल्पनाहरू भए पनि, तिनले परमेश्‍वरलाई पछ्याउने तिनीहरूको कार्यमा असर गर्नेछैनन्, त्यसकारण ती त्यति ठूलो समस्या होइनन् भनेर भन्‍न सकिन्छ। हामीले सङ्गति गर्न लागेका मानव धारणा र कल्पनाहरू मानिसहरूको दैनिक जीवनमा परमेश्‍वरप्रति मानिसहरूको मनोवृत्ति, साथै मानिसहरूको कर्तव्य निर्वाह, मानिसहरूले लिने मार्गहरूसँग सम्बन्धित हुन्छन्, र अवश्य नै, ती मानिसहरूको पछ्याइसँग अझै बढी सम्बन्धित हुन्छन्। परमेश्‍वरबारे मानिसहरूमा रहेका विभिन्‍न धारणा र कल्पनाहरूमध्ये, सर्वप्रथम, मानिसहरूसँग उहाँको काम बारे अत्यन्तै धेरै धारणा र कल्पनाहरू हुन्छन्, जुन परमेश्‍वरबारे गैरविश्‍वासीहरूले राख्‍ने विभिन्‍न कल्पनाहरूभन्दा निकै बढी वास्तविक हुन्छन्, र ती खोक्रा पनि हुँदैनन् र ती पत्ता लगाउन नसकिने पनि हुँदैनन्। ती त परमेश्‍वरलाई पछ्याउँदै गर्दा हरेक व्यक्तिको मनमा हुने कुराहरू हुन्। भन्‍नुको अर्थ, मानिसहरू परमेश्‍वरको कामका बारेमा धेरै कपोलकल्पित र अवास्तविक धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। उदाहरणका लागि, मानिसहरूले उहाँको काम चमत्कारहरूले भरिएको छ, र मानिसहरूले पूर्वानुमान गर्न वा हासिल गर्न नसक्‍ने आश्‍चर्यकर्महरूले भरिएको छ भन्‍ने कल्पना गर्छन्। अवश्य नै, यस सन्दर्भमा मानिसहरूका सबैभन्दा ठूला धारणा र कल्पनाहरू के हुन् भने परमेश्‍वरको कामले व्यक्तिलाई तुरुन्तै पूर्ण पार्न सक्छ, वा केही शब्द बोलेर वा चमत्कार वा आश्‍चर्यकर्म गरेर मात्रै, परमेश्‍वरले कुनै व्यक्तिलाई क्षण भरमै रूपान्तरण गरेर देहको जीवन र देहका विभिन्‍न व्यावहारिक कठिनाइहरूबाट मुक्त भएको व्यक्तिमा परिणत गर्न सक्‍नुहुन्छ। तिनीहरूले के कल्पना गर्छन् भने, यो व्यक्तिले न त खान्छ न त पिउँछ, र रोबोटको जस्तै उसका कुनै शारीरिक खाँचोहरू हुँदैनन्; यसको साथै, तिनीहरूले यो व्यक्तिले शुद्ध तरिकाले, कुनै स्वार्थी विचारविना सोच्छ, र ऊ भित्री रूपमा अत्यन्तै पवित्र हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले के कल्पना गर्छन् भने यो हासिल गर्नका लागि, सत्यता पछ्याउनु, वा वर्षौँसम्म सत्यताबारे सङ्गति गर्नु वा काट-छाँट स्वीकार गर्नु पर्दैन; बरु, परमेश्‍वरले केवल केही वचनहरूद्वारा नै यो सबै कुरा हासिल गर्न सक्‍नुहुन्छ, किनभने परमेश्‍वरले जे भन्‍नुभए पनि त्यो पूरा हुनेछ र उहाँले जे आज्ञा दिनुभए पनि त्यो कायम रहनेछ। विशेष गरी सुरुमा, जब मानिसहरूले परमेश्‍वरको कामको तेस्रो चरणलाई भर्खरै स्वीकार गरेका थिए, तब तिनीहरू उहाँको कामबारे हरप्रकारका धारणा र कल्पनाहरूले अझै बढी भरिएका थिए। जब कतिपय मानिसहरूले “परमेश्‍वरको काम चाँडै समाप्त हुनेछ” भन्‍ने सुने, तब त्यो कुन वर्ष, महिना, वा दिनमा समाप्त हुनेछ भन्‍ने तिनीहरूलाई थाहा थिएन, र तैपनि तिनीहरू बेचैन भए र तिनीहरूले आफ्नो जागिर र परिवार समेत त्यागे। कतिपय किसानहरूले बाली उब्जाउन छोडे, र अरूले गाईवस्तु र भेडा पालन गर्न छोडे। कतिपय मानिसहरूले त आफ्नो जग्गा-जमिन र कार समेत बेचे, बैँकमा भएको सबै पैसा निकाले, आफ्नो सम्पत्ति बटुले, र परमेश्‍वरलाई पछ्याउन तयार भएर आफ्नो सुन, चाँदी, र बहुमूल्य कुराहरू आफूसँग बोकेर हिँड्न थाले। किनभने मानिसहरूले परमेश्‍वरको काम समाप्त भइरहेको छ, र तिनीहरूले अबउप्रान्त आफ्नो जीवन जिउनु आवश्यक छैन भन्‍ने सोचेका थिए, र परमेश्‍वरले परिवार र विवाहहरू तोड्नुभएको छ, र तिनीहरूले परमेश्‍वरलाई पछ्याउनका लागि आफ्ना वैवाहिक सम्बन्ध, जागिर, र भविष्य त्याग्‍नुपर्छ, र सबै सांसारिक सुखहरूलाई छोड्नुपर्छ भन्‍ने विश्‍वास गरेका थिए। यदि कसैले तिनीहरूलाई “झोला बोकेर अनि पूरै परिवार लिएर कहाँ हिँडेको?” भनेर सोधे भने, तिनीहरू यसो भन्थे, “म स्वर्गको राज्यमा जाँदैछु।” त्यसपछि तिनीहरूलाई “स्वर्गको राज्य कहाँ छ?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन्थे, “अहिलेसम्‍म त थाहा छैन, तर परमेश्‍वरले मलाई जहाँ लैजानुहुन्छ म त्यहीँ जानेछु।” तिनीहरूले चाहे आवेगमा काम गरिरहेका वा यस कुरालाई राम्ररी विचार गरेका भए पनि, जे भए पनि, यी प्रकटीकरणहरूले एउटा तथ्य प्रकट गर्छन्, जुन के हो भने मानिसहरूमा परमेश्‍वरको कामको बारेमा अत्यन्तै धेरै कल्पनाहरू हुन्छन्। परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुनेछ, वा उहाँले तिनीहरूलाई मुक्ति दिनुभएपछि तिनीहरूलाई कस्तो महसुस हुनेछ वा तिनीहरू कस्तो स्थिति र वातावरणमा जिउनेछन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। अनि परमेश्‍वरका अभिप्रायहरू ठ्याक्कै के हुन्, वा मानिसहरूमा परमेश्‍वरले गर्नुहुने कामद्वारा उहाँले के नतिजा हासिल गर्न चाहनुहुन्छ भन्‍ने कुराको हकमा भन्दा, तिनीहरूलाई यी कुनै कुरा पनि थाहा हुँदैन। त्यसोभए तिनीहरूलाई के थाहा हुन्छ? तिनीहरूलाई एउटा वाक्य मात्रै याद हुन्छ: परमेश्‍वरको दिन नजिकै छ, विपत्तिहरू आइसकेका छन्, परमेश्‍वरको काम चाँडै समाप्त हुनेछ, र हामीले सबै कुरा त्याग्‍नुपर्छ र परमेश्‍वरलाई पछ्याउनुपर्छ। तिनीहरूका सबै धारणा र कल्पनाहरू निर्माणको स्रोत र आधार यही हो, र यी धारणा र कल्पनाहरूमार्फत तिनीहरूले हरप्रकारका छनौट र निर्णयहरू गरेका हुन्छन्। तिनीहरूले के-कस्ता छनौट र निर्णयहरू गरेका हुन्छन्? तिनीहरूले संसारलाई त्याग्‍ने, आफ्नो अध्ययन त्याग्‍ने, आफ्नो करियर त्याग्‍ने, आफ्नो वैवाहिक सम्बन्ध त्याग्‍ने, आफ्नो परिवार त्याग्‍ने, र देहगत, पारिवारिक प्रेम, र इत्यादि कुराहरू समेत त्याग्‍ने निर्णय गरेका हुन्छन्, र यी सबै कुरा त्यागेपछि, तिनीहरूले परमेश्‍वरको काम समाप्त हुने दिनको प्रतीक्षा गरिरहेका हुन्छन्। परमेश्‍वरको काम समाप्त हुने दिनको प्रतीक्षा गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो उठाइलगिनु र उहाँलाई पछ्याउनु हुन्छ। ठ्याक्‍कै कहाँ उठाइलगिनु? तिनीहरू सोच्छन्, तिनीहरूलाई जहाँ उठाई लगिए पनि, वा तिनीहरूलाई ठ्याक्कै जुनसुकै दिनमा उठाई लगिए पनि, जे भए पनि, तिनीहरू नरक जानेछैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने स्वर्ग नभए पनि, तिनीहरू अझ उच्च स्थानमा जाँदैछन्, र यो स्वर्ग, वा भौतिक राज्य नभए पनि, तिनीहरूले परमेश्‍वरलाई पछ्याएर गल्ती गरेको हुँदैनन्, र तिनीहरू परमेश्‍वर जहाँ हुनुहुन्छ सायद त्यहाँ नै उठाइलगिनेछन्। मानिसहरूमा रहेका यी धारणा र कल्पनाहरू सिद्ध भए पनि, के ती पूरा हुन सक्छन्? के तिनीहरूले प्रतीक्षा गरेको क्षण—परमेश्‍वरको कामको अन्त्य—आइपुगेको छ त? (छैन।) अनि परमेश्‍वरको काम अझै समाप्त नभएको हुनाले, के मानिसहरू निराश वा बेचैन महसुस गर्छन्? के तिनीहरूलाई पछुतो हुन्छ? कतिपय मानिसहरू निराश हुन्छन्, होइन र? कतिपय मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कठिनाइहरूको सामना गर्दा नकारात्मक बन्छन्, वा तिनीहरूले आफ्नो घरायसी जीवनमा सङ्कष्ट सामना गर्दा वा सतावट भोग्दा अनि तिनीहरूसँग उम्कने कुनै बाटो नहुँदा तिनीहरूलाई पछुतो हुन्छ। अवश्य नै, कतिपय मानिसहरूलाई अहिलेको क्षणसम्म सहन सजिलो भएको छैन, तर हृदयमा तिनीहरू साँच्‍चै नै अत्यन्तै बेचैन हुन्छन्। तिनीहरू केबारे बेचैन हुन्छन्? तिनीहरू यसो सोच्छन्, “परमेश्‍वरको काम किन अझै समाप्त भएको छैन? परमेश्‍वरको कामका लागि अझै कति समय लाग्नेछ त? के म घर गएर आफ्नो जीवनलाई अघि बढाउनुपर्छ त? के मैले काममा फर्केर संसारमा आफ्नो भविष्य खोजी गर्नुपर्छ त? के मैले मेरो घर किनेर फिर्ता लिनुपर्छ त? परमेश्‍वरले हामीलाई यसबारेमा प्रतिक्रिया दिनुहुन्‍न वा हामीलाई स्पष्ट उत्तर दिनुहुन्‍न! के हामीले तयार हुन सकौँ भनेर परमेश्‍वरको काम कहिले समाप्त हुनेछ, र उहाँले अरू के काम गर्नुहुनेछ भनेर हामीलाई भनिनु पर्दैन र? परमेश्‍वरले हामीलाई यी कुराहरू बताउनुहुन्‍न, उहाँ त केवल सत्यता व्यक्त गरिरहनुहुन्छ, सत्यताहरूबारे सङ्गति गरिरहनुहुन्छ, र मुक्तिका बारेमा कुरा गरिरहनुहुन्छ। उहाँले पछि के हुनेछ, वा भविष्यका बारेमा, वा मानवजाति सुन्दर गन्तव्यमा कहिले प्रवेश गर्नेछ, वा देहको जीवन कहिले समाप्त हुनेछ भन्‍ने बारेमा कहिल्यै कुरा गर्नुहुन्‍न; उहाँ हामीलाई अनिश्‍चितकालीन रूपमा प्रतीक्षा गर्न मात्रै लगाउनुहुन्छ।” मानिसहरूसँग परमेश्‍वरको कामबारे ज्ञान हुँदैन। अझै निर्दिष्ट रूपमा भन्दा, परमेश्‍वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ, उहाँ मानिसहरूलाई मुक्ति दिन के-के विधिहरू प्रयोग गर्नुहुन्छ, मानिसहरूलाई मुक्ति पाउने तुल्याउन परमेश्‍वर आफ्नो सबै कामभित्र के-कस्ता निर्दिष्ट कुराहरू गर्नुहुन्छ, र इत्यादि कुराहरूका बारेमा तिनीहरू स्पष्ट हुँदैनन्। बरु, तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाहरूमा जिउँछन्, र परमेश्‍वरको कामलाई औपचारिकता वा एउटा विचित्र प्रकारको जादुका रूपमा लिन्छन्। मानौँ उहाँको काम रित्तो गफ मात्रै हो र यसमा कुनै विशिष्ट विषय नै छैन—परमेश्‍वरले केही वचन मात्रै बोल्नुपर्छ र उहाँले जे भन्‍नुभयो त्यही पूरा हुनेछ, र उहाँ जे आज्ञा दिनुहुन्छ त्यही कायम रहनेछ, र पछि मानिसहरू परिवर्तित हुनेछन्, अनि प्रकाशको पुस्तकमा भविष्यवाणी गरिए झैँ बन्नेछन्, पवित्र जन बन्‍नेछन् र तिनीहरू पवित्र पारिनेछन्। परमेश्‍वरको कामबारे मानिसहरूमा चाहे जति नै काल्पनिक र खोक्रा विचारहरू भए पनि, ती निश्‍चित भए पनि वा अनिश्‍चित भए पनि, समग्रमा भन्दा, मानिसहरू उहाँको कामका बारेमा धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरू परमेश्‍वरको कामलाई कसरी व्यवहार गर्छन्, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनका लागि गर्नुहुने हरेक विशिष्ट काम र उहाँले भन्‍नुभएका हरेक विशिष्ट कुरालाई कसरी व्यवहार गर्छन् भन्ने कुरामा तिनीहरू सधैँ खोक्रा धारणा र कल्पनाहरू बोकेर जिउँछन्। अवश्य नै, अधिकांश मानिसहरूमा परमेश्‍वरको कामबारे एकमात्र धारणा र कल्पना हुन्छ, जुन के हो भने परमेश्‍वरको काम समाप्त भएपछि, मानिसहरूले बल्ल यो यात्रालाई पूरा गरेका हुनेछन्, र तिनीहरूले उहाँको काम समाप्त नभएसम्म प्रतीक्षा गरेर त्यो बेलासम्‍म बाँच्न सके भने, तिनीहरूले जितेका हुनेछन्, र तिनीहरूले त्यागेका र चढाएका सबै कुरा, र तिनीहरूले भोगेका कठिनाइहरू, र तिनीहरूले चुकाएका मूल्यहरू सबै सार्थक हुनेछन्। यसको आधारमा मूल्याङ्कन गर्दा, एक हिसाबमा, मानिसहरू परमेश्‍वरको कामबारे हरप्रकारका कल्पनाहरूले भरिएका हुन्छन्। अर्को हिसाबमा, मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा सत्यता पछ्याइरहेका हुँदैनन्; बरु, तिनीहरूको आस्थामा बाजी थाप्ने गुण समावेश हुन्छ—तिनीहरूले आफ्नो जीवन र आफ्नो सबै सम्पत्ति, भविष्य, आफ्नो वैवाहिक सम्बन्ध, र आफूसँग भएको सबै कुरालाई बाजी लगाइरहेका हुन्छन्, र तिनीहरूले केवल परमेश्‍वरको काम समाप्त नभएसम्म कष्ट भोग्‍नुपर्छ, र परमेश्‍वरले आफ्नो काम समाप्त भएको छ भनेर घोषणा गर्नुहुँदा तिनीहरू अझै जीवित भएसम्म, तिनीहरूले नाफा कमाएका हुनेछन्, र आफूले चुकाएका सबै कुरा फिर्ता पाएका हुनेछन् भन्‍ने सोच्छन्। के मानिसहरूले सोच्ने तरिका यही होइन र? (हो।) अब हामीले यसका बारेमा यति धेरै कुरा गरिसकेका हुनाले, परमेश्‍वरको कामबारे मानिसहरूका मुख्य धारणा र कल्पनाहरू के-के हुन् त? (मानिसहरूले के विश्‍वास गर्छन् भने परमेश्‍वरको काम चमत्कारहरूले भरिएको छ, र परमेश्‍वरले मानिसहरूलाई केही शब्द बोलेर मात्रै पनि शुद्ध गर्न सक्‍नुहुन्छ, र तिनीहरूले कुनै मूल्य नचुकाई वा सत्यता नपछ्याई तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्।) परमेश्‍वरको कामबारे मानिसहरूमा हुने धारणा र कल्पनाहरू यिनै हुन्। अरू के-के धारणा र कल्पनाहरू छन्? (मानिसहरूमाथि गरिएको परमेश्‍वरको कामद्वारा उहाँले ठ्याक्कै के परिणाम हासिल गर्न चाहनुहुन्छ भन्‍ने कुरा मानिसहरूलाई थाहा हुँदैन, र तिनीहरूले परमेश्‍वरको काम पूरा नभएसम्म कष्ट सहन सके भने, तिनीहरूसँग स्वर्गको राज्यमा प्रवेश गर्ने आशा हुनेछ भन्‍ने सोच्छन्।) यो पनि एउटा धारणा र कल्पना हो—मानिसहरूले परमेश्‍वरको काम औपचारिकता र प्रक्रिया मात्रै हो भन्‍ने सोच्छन्। अरू के छ? (परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा, मानिसहरूले सत्यता पछ्याइरहेका हुँदैनन्, बरु तिनीहरूको विश्‍वासमा बाजी थाप्ने गुण हुन्छ।) के यो धारणा र कल्पना हो? परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सार र तिनीहरूको पछ्याइको सार यही हो। यसभित्र के-कस्ता धारणा र कल्पनाहरू हुन्छन्? के मानिसहरूले परमेश्‍वरलाई पछ्याउँदै गर्दा सबै कुरा त्यागे र कर्तव्य पूरा गरेसम्म, तिनीहरू मानौँ जादुले परिवर्तन हुनेछन् भन्ने सोच्दैनन् र? (सोच्छन्।) मानिसहरूका सोच अत्यन्तै खोक्रा हुन्छन्, अलौकिक कुराहरूसँग चासो राख्ने, र कपोलकल्पित हुन्छन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूले परमेश्‍वरका वचनहरूको सजाय, न्याय, वा काट-छाँट, वा आपूर्ति स्वीकार गर्नु पर्दैन, तिनीहरूले परमेश्‍वरलाई यसरी मात्रै पछ्याउनुपर्छ, आफूलाई जुनसुकै कर्तव्य पूरा गर्न लगाइएको हो त्यही गर्नुपर्छ, र तिनीहरूले अन्त्यसम्म पछ्याएसम्म, तिनीहरू परिवर्तन हुनेछन्, र परमेश्‍वरको काम सकिएपछि तिनीहरू अन्ततः स्वर्गको राज्यमा प्रवेश गर्नेछन्। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।)

मानिसहरू परमेश्‍वरको कामबारे हर प्रकारका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। हामीले भर्खरै सङ्गति गरेको कुरा परमेश्‍वरको कामका दिनहरूका बारेमा रहेका मानिसहरूका धारणाहरूसँग सम्बन्धित छ। यी धारणा बाहेक, अर्को प्रकारको धारणा र कल्पना पनि छ। त्यो के हो भने जब पनि मानिसहरूले कुनै वास्तविक कठिनाइहरू सामना गर्छन्, तब तिनीहरूले प्रायजसो आफ्नो व्यक्तिगत इच्छामा के आशा गर्छन् भने तिनीहरूले साधारण समयमा परमेश्‍वरका वचनहरू खाने-पिउने नगरी, आफूलाई सत्यताले सुसज्जित नगरी, वा सत्यता सिद्धान्तहरू नबुझी परमेश्‍वरबाट प्रेरणाको झलक प्राप्त गर्नेछन् र त्यसपछि तिनीहरूको दिमागमा कुनै विचार फुर्नेछ, र परमेश्‍वरले तिनीहरूलाई आफ्नो दैनिक जीवनमा ठूलो होस् वा सानो होस्, जेसुकै समस्याहरू आए पनि त्यसलाई समाधान गर्न सहयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वरको कामबारे मानिसहरूको बुझाइ र समझ अत्यन्तै काल्पनिक र खोक्रो छ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरका विधिहरूका बारेमा पनि मानिसहरू धारणा र कल्पनाहरूले भरिएका छन्। मानिसहरू परमेश्‍वरको काममा विभिन्‍न सत्यताहरू खोजी गर्न र सत्यता सिद्धान्तहरू अनुसार हरेक मामलालाई व्यावहारिक तरिकाले सम्हाल्न चाहँदैनन्। बरु, तिनीहरू के आशा गर्छन् भने, तिनीहरूले कुनै पनि प्रकारको समस्या सामना गर्दा, परमेश्‍वरले अगमवक्ताहरूलाई प्रकाश दिनुभएको जस्तै तिनीहरूलाई पनि ज्योति र प्रकाशहरू दिनुहुनेछ, ताकि तिनीहरूलाई वास्तविक जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यताको खोजी गर्न नपरी, वा परमेश्‍वरका वचनहरू खानु-पिउनु नपरी तिनीहरूसँग हर प्रकारका समस्याहरू झेल्‍ने बुद्धि र क्षमता अनि तरिकाहरू हुनेछन्, मानौँ तिनीहरू जादुमयी संसारमा जिइरहेका छन्। मानिसहरूको कल्पना अनुसार त, तिनीहरू के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तिनीहरू बाठो र चलाख बन्‍नेछन्। कतिपयले के समेत सोच्छन् भने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तिनीहरू सुन्दर बन्‍नेछन्, र तिनीहरूसँग दैनिक जीवनमा देहका कुनै पनि कठिनाइ र समस्याहरू, वा भ्रष्ट स्वभावहरूको अवरोध, वा कुनै वास्तविक कठिनाइहरू हुनेछैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने तिनीहरूसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने इच्छा भएसम्म, उहाँले तिनीहरूलाई सामर्थ्य दिनुहुनेछ र तिनीहरूका लागि असल र अझ श्रेष्ठ परिस्थितिहरू सृजना गर्नुहुनेछ, यो सबै कुरालाई वास्तविकतामा परिणत गर्नुहुनेछ, र तिनीहरूका सबै आकाङ्क्षा र चाहनाहरू पूरा गर्नुहुनेछ, र, विशेष गरी जब तिनीहरूले आफ्नो क्षमता र जन्मजात प्रवृत्तिले हासिल गर्न नसक्‍ने कुराहरू सामना गर्छन्, तब परमेश्‍वरले तिनीहरूलाई चलाख तरिकाले वा सजिलै आफूले गर्न चाहेका कुराहरू गर्न सहयोग गर्नुहुनेछ। कमजोर क्षमता भएका र हरेक प्रकारको पेसा सम्‍बन्धी सीपको अभाव भएका कतिपय मानिसहरूले परमेश्‍वरले चमत्कार वा आश्‍चर्यकर्म मात्रै गर्नुपर्छ अनि तिनीहरूको क्षमता अचानक असल हुनेछ, र तिनीहरू अचानक चलाख बन्‍नेछन् भन्‍ने सोच्छन्। तिनीहरूले के पनि विश्‍वास गर्छन् भने परमेश्‍वरका लागि हासिल गर्न गाह्रो कुरा केही छैन, र परमेश्‍वरले तिनीहरू आफैले पूरा गर्न नसक्‍ने कुराहरू पूरा गर्न तिनीहरूलाई सहयोग गर्न सक्‍नुहुन्छ, र तिनीहरूले आफै जित्न नसक्‍ने र तिनीहरूको क्षमताभन्दा बाहिरका कठिन समस्याहरू समाधान गर्न सहयोग गर्न सक्‍नुहुन्छ। सारांशमा भन्दा, परमेश्‍वरको काममा, मानिसहरूमा धेरै धारणा र कल्पनाहरू हुन्छन्। एक हिसाबमा, तिनीहरू परमेश्‍वरको कामको अवधिका बारेमा विभिन्‍न कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूले यस सन्दर्भमा विभिन्‍न कार्यहरू पनि गरेका हुन्छन् र विभिन्‍न मूल्य चुकाएका हुन्छन्। सँगसँगै, मानिसहरू आफूले सामना गर्ने विभिन्‍न कठिनाइ र समस्याहरूका बारेमा, र आफ्नै भ्रष्ट स्वभावका बारेमा समेत हर प्रकारका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। यीमध्ये धेरैजसो धारणा र कल्पनाहरू खोक्रा, काल्पनिक, र अवास्तविक हुन्छन्, र अझै बढी, तिनले मानिसहरूको क्षमता र मनलाई उछिन्छन्, र तिनले तिनीहरूको प्रवृत्तिलाई उछिन्छन्। मानिसहरू प्रायजसो के आशा गर्छन् भने, परमेश्‍वरले तिनीहरूको वास्तविक कठिनाइहरू, वा तिनीहरूको क्षमता, मन, र प्रवृत्तिका आधारमा काम गर्नुहुनेछैन, बरु उहाँले तिनीहरूलाई यी सबै कुरालाई उछिन्‍न, र निश्‍चित कुराहरू गर्नका लागि तिनीहरूको सामान्य मानवता र तिनीहरूको क्षमता र प्रवृत्तिलाई उछिन्‍न सक्षम बनाउनुहुनेछ। मानिसहरू परमेश्‍वरको कामबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूको कल्पनाको विषयवस्तु अत्यन्तै अलौकिक हुन्छ। यी धारणा र कल्पनाहरू परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूसँग पूर्ण रूपमा उल्टो र शत्रुवत् हुन्छन्। मानिसहरू मनमनै यस्तो सोच्दैनन्: यदि परमेश्‍वर यी अलौकिक कुराहरू गर्नुहुन्छ भने, उहाँ किन अझै पनि यति धेरै वचनहरू बोल्नुहुन्छ र मानिसहरूलाई यति धेरै सत्यता प्रदान गर्नुहुन्छ? उहाँले त्यसो गर्नु नै पर्नेथिएन। परमेश्‍वरको काम यति व्यावहारिक हुनुको कारण के हो भने परमेश्‍वरले मानिसहरूलाई आफ्ना सबै वचन र सत्यताहरू प्रदान गर्ने र तिनीहरूलाई मानिसहरूमा ढाल्ने आशा गर्नुहुन्छ, ताकि तिनीहरू यी वचन र सत्यताहरू अनुसार जिउन सकून्। उहाँको अभिप्राय भनेको मानिसहरूलाई सामान्य मानवता वा तिनीहरूका प्रवृत्तिलाई उछिन्‍न सक्षम बनाउनु होइन, बरु तिनीहरूलाई सामान्य मानवताका आधारमा सत्यता सिद्धान्तहरू कायम राख्न, र उहाँले तिनीहरूलाई दिनुभएका कर्तव्य र आज्ञाहरू कायम राख्न सक्षम बनाउनु हो। तर, मानिसहरूका धारणा र कल्पनाहरू परमेश्‍वरको कामको ठीक विपरीत हुन्छन्, र ती परमेश्‍वरले काम गर्ने तरिकाअनुरूप पटक्‍कै हुँदैनन्। परमेश्‍वर व्यावहारिक तरिकाले काम गर्न चाहनुहुन्छ, जबकि परमेश्‍वरको कामबारे मानिसहरूका कल्पनाहरू अलौकिक कुराहरूसँग सम्बन्धित हुन्छन्, जुन खोक्रा, र अवास्तविक हुन्छन्। अवश्य नै, कतिपय मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई प्रकाशहरू दिन, तिनीहरूलाई आपूर्ति गर्न, साथ दिन र सहयोग गर्न, र तिनीहरूलाई परिवर्तन गर्न र मुक्ति पाउने तुल्याउनका लागि समेत अझै विशेष विधिहरू प्रयोग गर्नुहुन्छ भन्‍ने आशा गर्छन्। उदाहरणका लागि, जब पनि कतिपय मानिसहरू समस्या सामना गर्छन्, तब प्रायजसो तिनीहरू उत्तरहरू वा अभ्यासका मार्गहरू खोज्न परमेश्‍वरका वचनहरूभित्र हेर्दैनन्, तर घुँडा टेक्छन्, आँखा चिम्लिन्छन्, अनि प्रार्थना गर्छन्। तिनीहरूले प्रार्थना गर्दा समस्याबारे सत्यताको खोजी गर्ने, र त्यसपछि यसलाई समाधान गर्नका लागि परमेश्‍वरका सम्बन्धित वचनहरू खोज्‍ने गर्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई हृदयमा के गर्ने भनेर बताउन सक्नुहोस्; वा तिनीहरूलाई एउटा वाक्य, विचार, वा चित्रद्वारा अन्तर्दृष्टि दिन सक्नुहोस्; वा तिनीहरूलाई केही ज्योति प्राप्त गर्ने तुल्याउनुहोस् र केही उत्प्रेरणा दिन सक्नुहोस् भन्‍ने आशा गर्छन्—तिनीहरू यसरी सत्यता बुझ्न चाहन्छन्। अवश्य नै, कतिपय मानिसहरूले अझै चरम शैली अपनाउँछन्, जुन के हो भने, जब-जब तिनीहरू समस्या सामना गर्छन्, तब-तब तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सपनामा आफ्ना वचनहरूको एउटा खण्ड प्रकट गरिदिन सक्नुहोस्, तिनीहरूले फलानो-ढिस्कानो कुरा गर्नुपर्छ कि गर्नु पर्दैन र त्यो कसरी गर्नुपर्छ, वा तिनीहरू फलानो-ढिस्कानो ठाउँमा जानुपर्छ कि पर्दैन, वा तिनीहरूले फलानो-ढिस्कानोलाई सुसमाचार प्रचार गर्नुपर्छ कि गर्नु पर्दैन भनेर बताइदिनुहोस् भन्‍ने आशा गर्छन्। कतिपय मानिसहरू, ठूला कठिनाइहरू सामना गर्दा, सपना प्राप्त गर्ने वा सपनामा उत्तर प्राप्त गर्ने आशा गर्छन्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा मण्डली अगुवाहरूसँग आफ्नो सपनाको विश्लेषण र अर्थ लगाउने समेत आशा गर्छन्, र सोच्छन्, “परमेश्‍वरले मलाई दिनुभएको यो सपनाको अर्थ के हो? उहाँ म के गरूँ भन्ने चाहनुहुन्छ? उहाँले मलाई जान भनिरहनुभएको छ कि नजान?” तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वरको काम भनेको मानिसहरूलाई यी विशेष माध्यमहरू प्रयोग गरेर प्रकाशहरू दिनु, मानिसहरूलाई अगुवाइ गर्नु, र मानिसहरूलाई आपूर्ति गर्नु हो, र यसरी तिनीहरूलाई मुक्ति पाउने तुल्याउनु हो। के यो धारणा र कल्पना होइन र? (हजुर, हो।) अरू मानिसहरू पनि हुन्छन्, जसले समस्या आइपर्दा, र के गर्ने भन्‍ने थाहा नहुँदा र प्रार्थना गर्दा परमेश्‍वरबाट उत्तरहरू प्राप्त नगर्दा, निर्णय गर्न सिक्का फ्याँकेर सहारा लिन्छन्। उदाहरणका लागि, जब सुसमाचार प्रचार गर्न कुनै ठाउँमा जानु पर्ने हुन्छ, तब तिनीहरू जानुपर्छ कि पर्दैन भनेर परमेश्‍वरलाई प्रार्थना गर्छन् र तिनीहरू उत्तर प्राप्त गर्दैनन्, त्यसपछि तिनीहरू के गर्छन्? तिनीहरू जाने कि नजाने भनेर निर्णय गर्न सिक्का पल्टाउने मात्रै गर्छन्। तिनीहरूले के सोच्छन् भने यदि सिक्‍का सुल्टो भयो भने, परमेश्‍वर तिनीहरू जाऊन् भन्ने चाहनुहुन्छ भनी प्रमाणित गर्छ, जबकि यदि त्यो उल्टो भयो भने, यसले परमेश्‍वरले तिनीहरू नजाऊन् भन्‍ने चाहनुहुन्छ भनी प्रमाणित गर्छ। तिनीहरूले तीन पटक सिक्का पल्टाउँछन् र यो एक पटक सुल्टो हुन्छ र दुई पटक उल्टो हुन्छ, त्यसकारण तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्, “दुई पटक उल्टो र एक पटक सुल्टो भयो, जसको अर्थ परमेश्‍वर म नजाऊँ भन्ने चाहनुहुन्छ,” अनि तिनीहरू जाँदैनन्। तिनीहरू जान नपरेकोमा निकै सहज मान्छन्, र यो परमेश्‍वरको चाहना हो भन्‍ने सोच्छन्, र मनमनै भन्छन्, “मैले परमेश्‍वरको अगुवाइ पछ्याउनुपर्छ। यो परमेश्‍वरको निर्णय हो, मेरो होइन। म परमेश्‍वरको अगुवाइमा समर्पित हुनुपर्छ र जानु हुँदैन।” त्यसोभए तिनीहरू वास्तवमा जानुपर्छ कि पर्दैन त? के यसरी परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्दा सही उत्तर प्राप्त गर्न सकिन्छ? उत्तर बिलकुलै सही हुन सक्दैन। यस्तो परिस्थितिको सामना गर्दा, तैँले सिद्धान्तहरूका आधारमा र परिस्थितिले अनुमति दिन्छ कि दिँदैन भन्‍ने कुराका आधारमा निर्णय गर्नुपर्छ—यो विधि मात्रै सही हुन्छ। सुसमाचार प्रचार गर्नु तेरो कर्तव्य, अभिभारा, र तैँले आज गर्नुपर्ने काम हो, त्यसकारण तँ जानुपर्छ—तँ जानु नै सही कुरा हो। तर, मानिसहरूले प्रायजसो यी वास्तविकताहरूका आधारमा त्यस्ता मामलाहरूलाई बुझ्दैनन् वा सम्हाल्दैनन्। बरु, तिनीहरूले प्रायजसो केही धारणा र कल्पनाहरूका आधारमा तीबारे विचार गर्छन्, र केही असामान्य माध्यम र विधिहरू प्रयोग गरेर तिनको मूल्याङ्कन गर्छन्, र अन्तिममा केही वाहियात र विकृत निर्णयहरू गर्छन्। के यो तिनीहरूको धारणा र कल्पनाहरूको कारण होइन र? (हो।) परमेश्‍वरको कामभित्र, जब परमेश्‍वरले हरेक कुरा कसरी गर्नुपर्छ वा हरेक प्रकारको समस्या सम्हाल्दा के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भनेर बताउने स्पष्ट वचनहरू प्रदान गर्नुहुन्‍न, तब मानिसहरूले पवित्र आत्माको निर्देशनलाई पछ्याउनुपर्छ र परमेश्‍वरले वास्तविक परिस्थितिहरूमा तिनीहरूलाई प्रदान गर्नुहुने मार्गदर्शन पछ्याउनुपर्छ। अवश्य नै, तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल वा प्रार्थना र खोजी पनि गर्नुपर्छ, र अन्ततः वास्तविक परिस्थितिका आधारमा हातमा रहेको मामलालाई कसरी सम्हाल्ने भनेर निर्णय लिनुपर्छ। तर, परमेश्‍वरको काममा, जब परमेश्‍वरसँग मानिसहरूलाई विभिन्‍न मामलाहरूका अभ्यासका सिद्धान्तहरू बताउने स्पष्ट वचन र स्पष्ट निर्देशनहरू हुन्छन्, तब पहिले अपनाइएका यी औपचारिकताहरू पन्छाउन सकिन्छ, र मानिसहरूले उप्रान्त तिनलाई पालना गर्नु पर्दैन। यदि तिनीहरूले तिनलाई पालना गरिरहे भने, यसले काममा ढिलाइ मात्रै गर्नेछ। उदाहरणका लागि, मानौँ, जब कुनै कुरा आइपर्छ अनि गएर कार्य गर्नु नै पर्ने हुन्छ, तब मानिसहरू अझै पनि घुँडा टेकेर प्रार्थना गर्छन्, र सोध्छन्, हे परमेश्‍वर, “म जानुपर्छ कि पर्दैन? यदि तपाईँ म नजाऊँ भन्ने चाहनुहुन्छ भने, बस मलाई अवरोध गर्ने कुनै परिस्थिति सिर्जना गर्नुहोस्, वा यदि तपाईँ म जाऊँ भन्ने चाहनुहुन्छ भने, मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने तुल्याइदिनुहोस्।” यो त औपचारिकताहरूलाई कडाइका साथ पालना गर्नु हो र परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने कुरा यो होइन। जब परमेश्‍वरले आफ्ना माग र मापदण्डहरूका बारेमा स्पष्ट वचनहरू दिनुहुन्छ, तब मानिसहरूले उप्रान्त खोजी, प्रार्थना, सोधखोज, र इत्यादि कुनै औपचारिकताहरू पूरा गरिरहनु पर्दैन। बरु, एक हिसाबमा, तिनीहरूले खास अवस्था र वास्तविक परिस्थितिहरू अनुसार कार्य गर्नुपर्छ, र अर्को हिसाबमा, तिनीहरूले सबैभन्दा मुख्य रूपमा सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ—यो सही हो। हरेक दिन, उचित क्रममा कामकुरा सम्हाल्, आफूले गर्नुपर्ने कामकुरा गर्, र आफूले गर्नु नपर्ने कामकुराहरू नगर्; आत्तुरी भएको र निराकरण गर्नुपर्ने कुरालाई सम्हाल्, तत्कालका लागि पन्छाउन सकिने कुरालाई थाँती राख्, र सुरुमा आत्तुरी भएका मामलाहरूलाई ध्यान दे। के यी सिद्धान्तहरू होइनन् र? (हो, हुन्।) ती वास्तवमा नै सिद्धान्तहरू हुन्। तैँले यो कुरा याद गर्नुपर्छ: जब तैँले परमेश्‍वरलाई प्रार्थना गर्छस् र उहाँका अभिप्रायहरू बुझ्न खोज्छस्, तब तैँले उहाँका वचनहरू अनुसार त्यसो गर्नुपर्छ; विशेष परिस्थितिहरूमा, तोकेर भन्नुपर्दा परमेश्‍वरले निर्देशन प्रदान गर्नुभएका स्पष्ट वचनहरू नभएको बेला पनि, सबै प्रकारका मामलाहरूका लागि उहाँसँग स्पष्ट वचन र अभ्यासका सिद्धान्तहरू छन् भन्‍ने कुरा तैँले जान्‍नुपर्छ, र त्यस्ता परिस्थितिहरूमा, तैँले परमेश्‍वरले विगतमा मानिसहरूलाई चेतावनी दिनुभएका विभिन्‍न सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ। तर, मानिसहरूले आफ्नो मनमा परमेश्‍वरको कामबारे हास्यास्पद, अनौठा, र अलौकिक कुराहरूसँग सम्बन्धित धेरै धारणा र कल्पनाहरू विकास गरेका हुन्छन्, जसले परमेश्‍वरका वचनहरू र विभिन्‍न सत्यता सिद्धान्तहरूलाई सजावट र खोक्रा धर्मसिद्धान्तहरूमा परिणत गर्छन्, र मानिसहरूमाथि समस्याहरू आइपर्दा तिनलाई मानिसहरूको मामला सम्हाल्ने मापदण्ड वा अभ्यासका मार्गहरू बन्‍न नसक्‍ने बनाउँछन्। यो दुःखद कुरा हो, र यो पूर्ण रूपमा मानिसहरूले परमेश्‍वरको कामबारेमा धेरै धारणा र कल्पनाहरू विकास गरेका छन् भन्ने तथ्यका कारण भएको हो।

परमेश्‍वरको कामबारे मानिसहरूसँग तिनीहरूको दैनिक जीवनमा फैलने अरू केही हास्यास्पद, विचित्र, र अनौठा धारणा र कल्पनाहरू हुन्छन्। उदाहरणका लागि, मानौँ, कसैले आफूले सबैभन्दा बढी गर्नुपर्ने काम गर्न लागेको बेला, उसले घट्न नपर्ने भनी सोचेको कुनै घटना घट्छ, जस्तै काम गर्न जाँदा उसको मोबाइल चोरी हुन्छ, वा उसको कार बिग्रिन्छ वा ऊ त्यहाँ जाँदा बाटोमा लड्छ, वा अरू कुनै गलत कुरा हुन्छ। यसको अर्थ के हो? के यसको अर्थ परमेश्‍वरले उसलाई यो कार्य गर्नबाट अवरोध गरिरहनुभएको हो भन्‍ने हुन्छ? के यसको अर्थ यो कार्य गर्नु परमेश्‍वरका अभिप्रायहरू अनुरूप छैन भन्‍ने हुन्छ? के यसको अर्थ यो कार्य गर्नु हुँदैन भन्‍ने हुन्छ? के यसलाई यसरी बुझ्नुपर्छ र बोध गरिनुपर्छ? (अहँ, होइन।) यदि अहिले तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्नुपर्ने, सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, र तँ गएर यो काम गर्छस् भने, तैँले यस क्रममा केही बाधा र कठिनाइहरू, वा मानिसहरूले घट्न नहुने भनी सोचेका कुराहरू समेत सामना गरे पनि, तैँले निर्वाह गरिरहेको यो कर्तव्य र तैँले गरिरहेको यो कार्यले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछ, वा परमेश्‍वरले तँलाई यी कुराहरू गर्नबाट अवरोध गर्नुभएको हो भनेर भन्‍न सकिँदैन—त्यो मानव धारणा र कल्पना हो। यदि परमेश्‍वरले तँलाई अवरोध गर्न चाहनुहुन्छ भने, उहाँले ती विधिहरू प्रयोग गर्नुहुनेछैन। बरु, उहाँले प्रत्यक्ष रूपमा एउटा परिस्थिति खडा गर्नुहुनेछ ताकि तँ स्वाभाविक रूपमै त्यो कार्य गर्न जान नपरोस्। अर्थात्, परमेश्‍वरले आज तैँले गर्नुपर्ने अझै महत्त्वपूर्ण कुरा छ भन्‍ने कुरा तेरो मनमा स्पष्ट पारिदिनुहुनेछ, र परिणामस्वरूप त्यो अर्को कार्य तेरो सूचीको दोस्रो वा तेस्रो स्थानमा पुगेको हुनेछ, र पछि गर्ने गरी त्यो काम गर्न छोड्नुपर्ने हुनेछ। तैँले आफ्नो हिसाब-किताब जसरी गरे पनि, वास्तविक परिस्थितिका आधारमा आज त्यो कार्य पुरा गर्न सकिनेछैन भन्‍ने तैँले पत्ता लगाउनेछस्। परमेश्‍वरले तँलाई अवरोध गर्नु यही हो। तर, तैँले जेसुकै सोचे पनि, र त्यो कार्य पूरा गर्ने प्रक्रियामा जेसुकै बाधा वा कठिनाइहरू देखा परे पनि, जेसुकै भए पनि, यदि त्यो कार्य आज पूरा गरिनुपर्छ भने, तैँले गएर त्यो कार्य गर्नुपर्छ। यदि परमेश्‍वरले तँलाई अवरोध गर्नुभयो भने, उहाँले तँलाई प्राकृतिक रूपमा नै त्यो काम छोड्न लगाउन सबैभन्दा उपयुक्त र उचित माध्यमहरू प्रयोग गर्नुहुनेछ—परमेश्‍वरले काम गर्नुहुने तरिका यही हो। परमेश्‍वरले काम गर्ने तरिका भनेको मानिसहरूलाई तिनीहरूले मानवताको प्रवृत्तिको दायराभित्र गर्नुपर्ने कुरा गर्न दिनु हो। एक हिसाबमा, मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। अर्को हिसाबमा, वस्तुगत परिस्थितिहरूको कारक पनि हुन्छ—यदि परिस्थितिहरूले कार्य गर्न दिन्छन् भने, काम गर्नुपर्छ; यदि परिस्थितिहरूले दिँदैनन् भने, मानिसहरूले यो काम गर्न केही समय प्रतीक्षा गर्नुपर्छ। प्रतीक्षा गर्नुको उद्देश्य के हो? यो परमेश्‍वरले प्रबन्ध गर्नुहुने सही समय र परिस्थितिहरूको प्रतीक्षा गर्नु हो। यदि परिस्थितिहरू निरन्तर अनुचित हुन्छन् र तैँले यो कार्य गर्ने प्रयास गरिरहँदै गर्दा कामकुराहरू गलत भइरहन्छन् भने, तैँले यो काम गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) मानिसहरूको दैनिक जीवनमा, तिनीहरूले कार्य निर्वाह गर्दा, जस्तोसुकै कार्य भए पनि, ती ठूला भए पनि साना भए पनि, वा ती व्यक्तिगत मामला भए पनि वा मण्डलीका मामला भए पनि, तिनीहरूले आफ्नो आत्मामा के महसुस गरिरहेका छन् भनेर बुझ्ने प्रयास गर्नु पर्दैन। यदि आज तँलाई आत्मामा निराशा महसुस भइरहेको छ, र हृदयमा, तँलाई कुनै कार्य गर्न मन लागेन भने, तँसँग काम गर्न लागेका अरूलाई आत्मामा निराशा महसुस भयो कि भएन भनेर सोध्। यदि अरूलाई आत्मामा निराशा महसुस भएको छैन, र तिनीहरू हृदयमा कार्य गर्न इच्छुक छन्, तैपनि तैँले यो काम तेरो आफ्नै भावनाहरूका आधारमा गर्नु हुँदैन भनेर निष्कर्ष निकालिस् भने, के तँ यसबारे अलिक बढी नै व्यक्तिपरक भइरहेको हुँदैनस् र? (हो।) त्यसकारण, जब पनि मानिसहरूले कुनै काम गर्छन्, तब तिनीहरूले कम्तीमा पनि आफ्ना भावनाहरूलाई बोध गर्ने प्रयास गर्नु हुँदैन वा आफ्ना भावनाहरूका आधारमा काम गर्नु हुँदैन भन्‍ने कुरा बुझ्नुपर्छ। उदाहरणका लागि, मानौँ तैँले कुनै काम पूरा गर्नुपर्ने छ, र तँ अलिक नर्भस हुन्छस्, तेरो आँखा फरफराइरहन्छ, र तेरो कान बजिरहन्छ, र तैँले यसो भन्छस्, “मेरो दाहिने आँखा फरफराइरहेको छ, के त्यसको अर्थ नराम्रो हुन्छ भन्‍ने हो? के मैले यो कार्य निर्वाह गर्नुपर्छ?” त्यसपछि कसैले भन्छ, “देब्रे आँखा फरफराउँदा शुभ हुन्छ तर दाहिने आँखा फरफराउँदा दुर्भाग्य हुन्छ,” अनि यो सुनेपछि, तँ गएर त्यो कार्य गर्ने आँट नै गर्दैनस्। तेरो जुनसुकै आँखा फरफराए पनि, यदि यो पहिले सहमति गरिसकिएको काम हो, र यो कार्य पूरा गर्नका लागि चाहिने सबै कारकहरू ठीक ठाउँमा छन्, र समय र स्थान सही छन् भने, तैँले गएर यो काम गर्नैपर्छ। यदि कसैले दाहिने आँखा फरफराउँदा दुर्भाग्य हुन्छ भनेकै भरमा मात्रै तैँले त्यहाँ नजाने निर्णय गर्छस् भने, के त्यो उचित हुन्छ? (अहँ, हुँदैन।) त्यो किन उचित हुँदैन? यदि यो तेरो जिम्मेवारी र कर्तव्य हो, र आज वस्तुगत परिस्थिति र सबै अवस्थाहरूले यसलाई पूरा गर्न दिन्छ, र त्यसमाथि, त्यो कार्य आत्तुरीको साथ पूरा गर्नु आवश्यक छ भने, तैँले गएर त्यो काम गर्नुपर्छ। त्यसोभए यदि तेरो दाहिने आँखा फरफरायो भने के भयो त? सायद केही सानातिना समस्याहरू देखा पर्लान् र सबै कुरा सहज रूपमा अघि नबढ्लान्, तर जे भए पनि कार्य पूरा हुन्छ। यदि परमेश्‍वरले यसमा अवरोध गर्नुभयो र परिस्थितिले दिएन भने मात्रै, तँ कार्य गर्न नजान सक्छस्। कसैले भन्छ, “तिम्रो दाहिने आँखा फरफराएकाले पक्कै पनि केही नराम्रो हुन लागेको छ,” तर अर्कोले भन्छ, “यो पहिले गर्ने सहमति गरिएको कार्य हो, त्यसकारण हामीले गएर यो काम गर्नुपर्छ।” अन्त्यमा, तिमीहरू सबै जे भए पनि यो काम गर्न जान्छौ, तर त्यहाँ जाँदा आधा बाटोमा अचानक कार बिग्रिन्छ। मलाई भन, यदि समूह अघि बढिरहेको बेला कसैको दाहिने आँखा फरफरायो भने, के ऊ त्यस अवस्थामा जानुपर्छ? म तिमीहरूले वास्तवमा सत्यता बुझेका छौ कि छैनौ भनेर हेर्न चाहन्छु। तिमीहरूलाई के लाग्छ, के यो कार्य गर्न जानु सही हुनेछ? (हो, हुनेछ।) अवश्य नै। तेरो दाहिने आँखा फरफराउँछ कि देब्रे भन्‍ने कुराका आधारमा तैँले जाने कि नजाने भनेर मूल्याङ्कन गर्न मिल्दैन। सर्वप्रथम, यो कार्य गर्न जानु सही कुरा हो। त्यसोभए त्यहाँ जाँदा किन कार बिग्रेको? के परमेश्‍वरले त्यसो हुन अनुमति दिनुभएको हो? त्यो व्याख्या गर्न गाह्रो छ, होइन र? (त्यहाँ जाँदा बाटोमा कार बिग्रिनुको कारण मानव लापरवाही हुन सक्छ, जस्तै कारमा कुनै समस्या छ कि छैन भनेर पहिले जाँच नगरिनु।) त्यो एउटा सम्भावित कारण हो। यदि हामीले त्यो कारणलाई नकाऱ्यौँ भने, के कार आधा बाटोमा बिग्रिनु सामान्य कुरा हो? (हो।) यदि तैँले सुरुमा नै असल गुणस्तरको नभएको पुरानो चिनियाँ कार किनिस्, र तैँले यसलाई उचित रूपमा मर्मत गरिनस् वा बनाइनस् र गुडाइरहिस् भने, आधा बाटोमा कार बिग्रिनेछ। यदि कार आधा बाटोमा बिग्रियो भने, के यसको अर्थ कार्य निश्चित रूपमा नै पूरा गर्न सकिँदैन भन्‍ने हुन्छ? (यस्तै भन्‍ने हुँदैन।) कार बिग्रिन्छ र यसलाई मर्मत गर्न एक-दुई घण्टा लाग्छ। जब तिमीहरू गन्तव्यमा पुग्छौ, तब त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्छन्, “तपाईंहरू यो समयमा आउनु सौभाग्यको कुरा हो। निगरानी एजेन्टहरू भर्खरै गए। यदि तपाईंहरू दुई घण्टा पहिले आउनुभएको भए, तपाईंहरूलाई अवश्य नै ठूलो रातो अजिङ्गरले पक्रनेथियो। झण्डै तिनीहरूको हातमा पर्नुभयो!” हेर् त, खराब कुरा त असल कुरामा पो परिणत भयो। के गएर कार्य गर्नु सही थियो? (थियो।) के कार बिग्रिनुमा परमेश्‍वरको असल अभिप्राय थियो? (थियो।) त्यसोभए तेरो दाहिने आँखा फरफराउनु अशुभ चिन्ह थियो कि शुभ चिन्ह थियो? (कुनै पनि थिएन।) यसको परिणाम स्वरूप केही पनि भएन। यदि हामीले कार बिग्रिएको बिन्दुमै कथा रोक्यौँ भने, “दायाँ आँखा फरफराउँदा दुर्भाग्य हुन्छ” भन्‍ने दाबी निकै सही नै देखिनेथ्यो। कार बिग्रिनु अनिष्ट नै हो, होइन र? तर अन्तिम परिणाम हेर्दा, कार बिग्रनु असल कुरा भयो। यदि कार नबिग्रिएको भए, तिमीहरू सबै गन्तव्यमा पुगेपछि समस्यामा पर्नेथियौ—तिमीहरूले कार्य पूरा गर्न नसक्‍ने मात्र होइन, तिमीहरू पक्राउ पनि पर्नेथियौ। यसो हेर्दा, बाटोमा कार बिग्रिएको र त्यसलाई मर्मत गर्न दुई घण्टा लागेको भए पनि, तिमीहरू त्यहाँ पुग्दासम्‍म, खतरा भर्खरै टरेको थियो र तिमीहरू खतरामुक्त भयौ। यो परमेश्‍वरले तिमीहरूको सुरक्षा गर्नुभएको हो! यसबारे विचार गर, कार बिग्रिएको दृष्टिकोणबाट हेर्ने हो भने, परमेश्‍वरले तँलाई जानबाट अवरोध गर्नुभएको हो जस्तो देखिन्छ, तर वास्तवमा तैँले कार मर्मत भएर तँ कुनै थप घटना नघटी पुगेपछि मात्रै के भएको हो भनेर थाहा पाउँछस्। तिमीहरूले यो सम्पूर्ण प्रक्रियामा परमेश्‍वरका कार्यका सिद्धान्त र विधिहरूलाई कसरी हेर्छौ? परमेश्‍वरको कामबारे मानिसहरूमा कस्तो बुझाइ हुनुपर्छ? यी कुराहरूको समीक्षा गर; यहाँ खोजी गर्न सकिने सत्यताहरू छन्, र तिमीहरूले तिनलाई खोजी गर्न सक्छौ कि सक्दैनौ भनी म हेर्छु। (परमेश्‍वर, मेरो बुझाइ के हो भने मानिसहरूमाथि असल या खराब कामकुराहरू आइपरे पनि, त्यसमा परमेश्‍वरको असल अभिप्राय हुन्छ।) यो एउटा पक्ष हो। (अर्को पक्ष पनि छ, जुन के हो भने परमेश्‍वरको काम अलौकिक वा काल्पनिक हुँदैन, तर अत्यन्तै व्यावहारिक हुन्छ।) हो, त्यो राम्रो बुझाइ हो। परमेश्‍वरको काम व्यावहारिक हुन्छ, र यो काल्पनिक वा अलौकिक हुँदैन; सामान्य मानवता भएको जोकोहीले यसलाई अनुभवद्वारा महसुस गर्न र जान्‍न सक्छ, र यो मानिसहरूले बुझ्न सक्‍ने कुरा पनि हो। के परमेश्‍वरको कामबारे मानिसहरूमा हुनुपर्ने बुझाइ यही होइन र? (हो।) यो बुझाइका साथसाथै, मानिसहरूले अरू के कुरा बुझ्नुपर्छ? तिनीहरूले परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने कुरा बुझ्नुपर्छ। परमेश्‍वरको काममा, उहाँले गर्नुहुने हरेक निर्दिष्ट कुराले मानिसहरूलाई उहाँका कार्यहरू अत्यन्तै व्यावहारिक छन् भन्‍ने कुरा देख्ने तुल्याउँछ। सुरुमा, जब तिमीहरूको समूह यात्रामा निस्किँदैथियो, तब तिमीहरूमध्ये कतिपयले जाने कि नजाने भनेर छलफल गर्‍यौ। परमेश्‍वरले तिमीहरूलाई अवरोध गर्नुभएन; उहाँले तिमीहरूलाई वाकवाकी लाग्‍ने, वा बान्ता हुने, वा पखाला लाग्‍ने बनाउनुभएन। उहाँले तँलाई न त अवरोध गर्नुभयो, न त तँलाई जानका लागि जोड नै गर्नुभयो। के यो अत्यन्तै व्यावहारिक कुरा होइन र? उहाँले समूहलाई यस विषयमा सँगै छलफल गर्न अनुमति दिनुभयो। कतिपय मानिसहरूले तिनीहरूको दाहिने आँखा फरफरायो भनेर भने, जबकि अरूले भित्री रूपमा असहज महसुस भएको भने, तर तँ आफ्ना भावना र मुडमा, वा अलौकिक कुराहरूसँग सम्बन्धित कल्पनाहरूमा भर परे पनि, अन्ततः तँ जहाँ जानुपर्ने हो त्यहाँ जानुपर्‍यो, र परमेश्‍वरले तँलाई कुनै पनि हालतमा बाधा दिनुभएन। के परमेश्‍वरले यसरी काम गर्नु अत्यन्तै व्यावहारिक होइन र? (हो।) परमेश्‍वरका कार्यहरू अलिकति पनि खोक्रा हुँदैनन्; सबै प्रकारका मानव प्रकटीकरणहरूलाई अनुमति दिइन्छ, जसमा कतिपय मानिसहरूको आँखा फरफराउने कुरा समेत समावेश हुन्छ। मलाई भन्, के परमेश्‍वरले मानिसहरूको आँखा फरफराउने कुरालाई रोक्न वा नियन्त्रण गर्न सक्‍नुहुन्छ? के परमेश्‍वरलाई यो नियन्त्रण गर्न अत्यन्तै सजिलो हुनेथिएन र? तर के उहाँले त्यसो गर्नुभयो? (गर्नुभएन।) परमेश्‍वरले त्यसो गर्नुभएन। उहाँले हस्तक्षेप गर्नुभएन, उहाँले तँलाई स्वतन्त्रता दिनुभयो। तेरो आँखा जसरी फरफराउनु पर्ने थियो त्यसरी फरफरायो, तर अन्त्यमा, जे भए पनि समूह त अघि बढ्यो नै—यो सबै अत्यन्तै व्यावहारिक थियो। तर गन्तव्यमा समस्या थियो, र तिमीहरू त्यहाँ गइरहेका छौ भनेर मात्रै परमेश्‍वरले यो खतरालाई हटाउनुभएन। परमेश्‍वरले त्यसो गर्नुभएन, र समस्या अझै पनि जसरी देखा पर्नु पर्नेथियो त्यसरी नै देखा पर्‍यो। तैपनि परमेश्‍वरले चलाख काम गर्नुभयो: उहाँले त्यहाँ जाँदा आधा बाटोमा तिमीहरूको कार बिग्रिने तुल्याइदिनुभयो, ताकि कार मर्मत गरिँदासम्म र तिमीहरू सबै गन्तव्यमा पुग्दासम्म, खतरा टरिसकेको होस्। यो परमेश्‍वरले तिमीहरूको सुरक्षा गर्नुभएको हो। हेर् त, यो समयको अन्तरका कारण, उहाँले तँलाई चलाख ढङ्गले खतराबाट पन्छाउन सक्षम तुल्याउनुभयो। परमेश्‍वरले गर्नुहुने सबै कुरा अत्यन्तै व्यावहारिक हुन्छन्, होइन र? (हो।) त्यसकारण यसले तँलाई अत्यन्तै व्यावहारिक तरिकाले के देखाउँछ भने, परमेश्‍वरले गर्नुहुने कुरा खोक्रो वा अलौकिक पटक्‍कै हुँदैन, र घट्ने हरेक घटना स्वाभाविक र अपरिहार्य हुन्छ, तर यसमा परमेश्‍वरको सर्वशक्तिमान्‌ता लुकेको हुन्छ। सम्पूर्ण घटनाभरि, मानिसहरूका कल्पनाहरू जस्तासुकै भए पनि, तिनीहरूको कठिनाइ, कमजोरी, र समस्याहरू जस्तासुकै भए पनि, तिनीहरूले सँगै छलफल गरेका दृष्टिकोणहरू सही भए पनि वा गलत भए पनि, यीमध्ये कुनै पनि कुराले अन्ततः के भयो त्यसमा असर गरेन, न त यसले घटनाको अपरिहार्य परिणाममा नै असर गर्‍यो। घट्नुपर्ने हरेक घटना घट्यो, आउनुपर्ने समस्या आयो, कार बिग्रिनु पर्नेथ्यो बिग्रियो, र मानिसहरूका दृष्टिकोणहरू पनि उदाङ्गो भए, तर अझै पनि घटनाको अन्तिम परिणाम त परमेश्‍वरले तय गर्नुभएको तरिका अनुसार, र परमेश्‍वरले पूर्वनियोजित गर्नुभएको कुरा अनुसार र परमेश्‍वरले यस घटनामाथि सार्वभौमिकता अभ्यास गर्नुभएको तरिका अनुसार नै आयो। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता हो, होइन र? (हो।) यो सबै कुरा मानिसहरूको दैनिक जीवनमा हरेक दिन हुने सबै कुरा जस्तै निकै व्यावहारिक र सामान्य रूपमा घटेको थियो; यो स्वाभाविक रूपमा घटेको थियो र यो अलौकिक, काल्पनिक, वा खोक्रो थिएन। त्यसकारण, यस मामलामा मानिसहरूले परमेश्‍वरको काम व्यावहारिक छ र उहाँले सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने कुरा बुझ्नुपर्छ। मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ? सर्वप्रथम, तिनीहरूले आफूमाथि जेसुकै आइपरे पनि आफूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्‍ने कुरा बुझ्नैपर्छ। यदि तिनीहरूले मानव भावनाहरू अनुसार मात्रै काम गर्छन् भने, त्यो कुरा भर पर्दो हुँदैन। तिनीहरू अलौकिक भावनाहरू अनुसार अघि बढ्नु हुँदैन, वा तिनीहरूले खोक्रा कल्पनाहरूका आधारमा जथाभावी अनुमानहरू लगाउनु हुँदैन। बरु, तिनीहरूले वास्तविक परिस्थिति र आफूले पूरा गर्नुपर्ने कर्तव्यका आधारमा गएर आफूले गर्नुपर्ने काम गर्नुपर्छ। यसको साथै, महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले गएर आफूले गर्नुपर्ने काम सत्यता सिद्धान्तअनुसार गर्नुपर्छ। त्यसोभए के यो कुरा झन् सजिलो हुँदैन र? (हुन्छ।) त्यसकारण, तैँले चाहे जे समस्याहरू सामना गरे पनि, र परमेश्‍वरको काम जुनसुकै चरणमा पुगेको भए पनि, तैँले आफ्ना भावनाहरू अनुसार काम गर्नु पर्दैन, मिति शुभ छ कि छैन भनेर जाँच गर्नु पर्दैन, र अवश्य नै तैँले विशेष गरी कुनै दशाग्रह हेर्ने वा कुनै भविष्यवाणी सुन्‍ने गर्नु पर्दैन—तैँले आफूले गर्नुपर्ने कुरा मात्रै गर्नुपर्छ। कतिपय मानिसहरूले दशाग्रह हेर्न वा मितिहरू शुभ छन् कि छैनन् भनेर जाँच्न मन पराउँछन्, र यसो भन्छन्, “भोलि राम्रो मिति होइन, के म बाहिर गएँ भने सबै कुरा खराब हुनेछ? के ठूलो रातो अजिङ्गरले पक्राउहरू गरिरहेको हुनेछ? आज बिहान म सबेरै उठेर बाहिर जाँदा कसरी ढोकाको छेउमा काग कराइरहेको थियो? कतिपय मानिसहरूले हिजो राती बाहिर जाँदा कालो बिरालो देखे रे भन्‍ने सुनेको थिएँ। यी सबै अशुभ लक्षणहरू हुन्! मैले के गर्ने? के कुनै खतरा आउन लागेको हो?” यदि तँसँग सामान्य मानवता र सामान्य मानव सोचाइ छ भने, तैँले कुन-कुन परिस्थितिहरू खतरनाक छन् र कुन-कुन परिस्थितिहरू तुलनात्मक रूपमा सुरक्षित छन् भनेर मूल्याङ्कन गर्न सक्‍नुपर्छ, र वास्तविक परिस्थिति अनुसार तिनलाई कसरी लिने र सम्हाल्ने भन्‍ने कुरा जान्‍नुपर्छ—तैँले ती अरू कुराहरूलाई नियाल्‍नु पर्दैन। तैँले हरेक दिन के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने कुराका हकमा भन्दा, एक हिसाबमा, सत्यता सिद्धान्तहरूका रूपमा काम गर्ने परमेश्‍वरका स्पष्ट वचनहरू छन्, र अर्को हिसाबमा, तँसँग सामान्य मानवता, विवेक र समझ छ, र तैँले वास्तविक परिस्थितिहरूको प्रबन्ध र तिनले प्रदान गर्ने दिशाका आधारमा, र सामान्य मानवताका वास्तविक आवश्यकताहरू र तेरा आफ्नै जिम्मेवारी र दायित्वहरू अनुसार हरेक दिन आफूले गर्नुपर्ने कुरा गरेसम्म, त्यो ठीकै हुन्छ। यदि मानिसहरूले आफ्नो दैनिक जीवनलाई यसरी लिए भने, के कुराहरू अझै सरल हुनेछैनन् र? (हुनेछन्।)