अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६) खण्ड एक
विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग चार)
मण्डली जीवनमा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरू
ऐ. धारणाहरू फैलाउनु
क. धारणाहरू फैलाउनुका प्रकटीकरणहरू
आज हामी अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गर्न जारी राख्नेछौँ: “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।” मण्डली जीवनमा उत्पन्न हुने विभिन्न अवरोध र बाधाहरूबारे भन्नुपर्दा, हामीले एघार वटा कुराहरू सूचीबद्ध गरेका छौँ। यसअघि हामीले सातौँ समस्या: आपसी आक्रमण र गालीगलौजमा संलग्न हुनु भन्नेबारे सङ्गति गरेका थियौँ। आज, हामी आठौँ समस्या: धारणाहरू फैलाउनुबारे सङ्गति गर्नेछौँ। मण्डली जीवनमा धारणाहरू फैलाउने कार्य पनि प्रायजसो भइरहन्छ। सत्यता पटक्कै नस्विकार्ने कतिपय मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरू मण्डली जीवनमा बाधा दिन बारम्बार केही धारणाहरू फैलाउने गर्छन्। मण्डलीले यस्तो व्यवहारलाई प्रतिबन्धित गर्नुपर्छ र मण्डली जीवनमा सत्यता सङ्गति गरेर यसलाई समाधान गर्नुपर्छ। अक्षरशः दृष्टिकोणबाट हेर्दा, धारणाहरू फैलाउनु उचित व्यवहार होइन, र यो सकारात्मक कुरा होइन बरु नकारात्मक कुरा हो भन्ने कुरा जोकोहीले देख्न सक्छ। त्यसकारण, मण्डली जीवनमा यस्तो व्यवहारलाई रोक्नु र प्रतिबन्धित गर्नुपर्छ। जुनसुकै प्रकारका मानिसहरूले धारणाहरू फैलाए पनि, तिनीहरूका मनसाय जेसुकै भए पनि, तिनीहरूले चाहे जानीजानी वा अनजानमा धारणाहरू फैलाइरहेका होऊन्, जबसम्म तिनीहरूले धारणाहरू फैलाउँछन्, तबसम्म यसले मण्डली जीवनमा अवरोध र बाधा ल्याउने नै छ, जसले गर्दा हानिकारक प्रभावहरू पर्नेछन्। त्यसकारण, यो मामलालाई शतप्रतिशत प्रतिबन्धित गरिनुपर्छ। जुनसुकै दृष्टिकोणबाट हेरे पनि, धारणाहरू फैलाउने कार्यले मानिसहरूको सत्यता पछ्याइ, परमेश्वरलाई चिन्ने पछ्याइ, वा तिनीहरूको सत्यता वास्तविकताभित्रको प्रवेशमा सकारात्मक भूमिका खेल्न सक्दैन; यसको असरले यी कुराहरूमा बाधा दिन र क्षति पार्न मात्र सक्छ। त्यसकारण, जब कसैले मण्डली जीवनमा धारणाहरू फैलाउँछ, तब अरूलाई बहकाउन र बाधा दिनका लागि अन्धाधुन्ध तिनीहरूलाई धारणाहरू फैलाउन दिइरहनुको सट्टा, सबैले—मण्डली अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरू दुवैले—यो मामला खुट्ट्याउनुपर्छ र त्यो व्यक्तिलाई रोक्न र प्रतिबन्धित गर्न तुरुन्तै अघि सर्नुपर्छ। सुरुमा हामी धारणाहरू फैलाउनुमा कस्ता शब्दहरू समावेश हुन्छन् भन्नेबारे सङ्गति गरौँ। यो सुझबुझ आइसकेपछि, मानिसहरूले धारणाहरू फैलाउनु भनेको के हो भनेर सही रूपमा परिभाषित गर्न सक्छन् र यसलाई बेवास्ता र उपेक्षा गर्नुको सट्टा यसलाई रोक्न र प्रतिबन्धित गर्न पनि सक्छन्।
१. परमेश्वरबारे धारणाहरू फैलाउनु
जुन धारणाहरू फैलाइन्छन्, ती लक्षित नै हुन्छन्। पहिला, हामीले ती कोप्रति लक्षित छन् र केकस्ता धारणाहरू फैलाइँदै छन् भन्ने कुरा हेर्नुपर्छ। यी कुराहरू बुझ्दा यसले तँलाई मानिसहरूले बोलेका कुन-कुन अभिव्यक्तिहरू र मानिसहरूले फैलाउने कुन-कुन दृष्टिकोणहरू धारणा हुन् भनी थाहा पाउन मद्दत गर्नेछ। कुन-कुन शब्दहरू मानिसहरूका धारणा हुन् र कुन-कुन कार्यहरूले धारणाहरू फैलाउने कार्य समावेश गर्छ भन्ने कुरा थाहा पाएपछि, यसले मानिसहरूलाई धारणाहरू फैलाउने कार्यलाई अझै सही र अझै सान्दर्भिक रूपमा प्रतिबन्धित गर्न सक्षम तुल्याउनेछ। सर्वप्रथम, धारणाहरू फैलाउने सबैभन्दा गम्भीर कार्यमा परमेश्वरबारे मानिसहरूका विचार र गलतफहमीहरू समावेश हुन्छन्। यो एउटा प्रमुख वर्ग हो। परमेश्वरको पहिचान, परमेश्वरको सार, परमेश्वरको स्वभाव, परमेश्वरका वचनहरू, परमेश्वरको काम, र परमेश्वरको अस्तित्वबारे अवास्तविक दृष्टिकोण र अभिव्यक्तिहरू फैलाउनु सबै नै धारणाहरू फैलाउनुमा पर्छन्। यो एउटा सामान्य अभिव्यक्ति हो; किटेरै भन्नुपर्दा, कस्तो प्रकारका अभिव्यक्तिहरू धारणाहरू फैलाउनु हुन्? परमेश्वरबारे गलतफहमीहरू, परमेश्वरको आलोचना र निन्दा, र परमेश्वरविरुद्ध ईश्वरनिन्दा फैलाउनु सबै नै धारणाहरू फैलाउनु हो। सामान्य रूपमा भन्दा, वास्तविकताअनुरूप नभएका परमेश्वरबारेका बुझाइहरू र परमेश्वरको पहिचान र सारअनुरूप नरहेका अभिव्यक्ति र गलत व्याख्याहरू फैलाउनु सबै नै धारणाहरू फैलाउनु हो। उदाहरणका लागि, मण्डली जीवनमा कतिपय मानिसहरू प्रायजसो परमेश्वरको पहिचान र परमेश्वरको सारबारे कुरा गरिरहन्छन्। तिनीहरूमा परमेश्वरको पहिचान र सारबारे साँचो बुझाइ हुँदैन। तिनीहरूले प्रायजसो हृदयमा परमेश्वरलाई शङ्का गर्छन् र गलत बुझ्छन्, जसले गर्दा परमेश्वरले तिनीहरूका लागि प्रबन्ध गर्नुभएका जिउने परिवेश र कर्तव्य निर्वाह गर्ने वातावरण लगायत अन्य कुरामा तिनीहरू समर्पित हुन सक्दैनन्। त्यसपछि तिनीहरू परमेश्वरबारे आफ्ना गलतफहमीहरू र परमेश्वरलाई नबुझेकोबारे आफ्ना विचारहरू फैलाउँछन्। छोटकरीमा भन्दा, यी विचारहरू सृजित मानवको दृष्टिकोणबाट परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरू स्विकार्ने र तिनमा समर्पित हुने कुरा होइनन्, बरु यी त व्यक्तिगत पूर्वाग्रह, गलतफहमीहरू, र आलोचना र निन्दाहरूले समेत भरिएका हुन्छन्। यी कुराहरू सुनेपछि, अरू मानिसहरूले परमेश्वरबारे गलतफहमी र उहाँप्रति सतर्कता बढाउँछन्, जसले गर्दा तिनीहरूले परमेश्वरमाथिको आफ्नो साँचो आस्था गुमाउँछन्, र तिनीहरूमा साँचो समर्पण त झनै हुँदैन।
कतिपय मानिसहरू के सोच्छन् भने, परमेश्वरमाथिको विश्वासले शान्ति र हर्ष ल्याउनुपर्छ, र यदि तिनीहरूलाई परिस्थितिहरू आइपरे भने, तिनीहरूले परमेश्वरलाई प्रार्थना मात्रै गर्नुपर्छ, अनि परमेश्वरले तिनीहरूको पुकार सुन्नुहुनेछ, र तिनीहरूलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र तिनीहरूका लागि सबै कुरा शान्तिपूर्ण र सहज रूपमा अघि बढ्ने सुनिश्चित गर्नुहुनेछ। परमेश्वरमा विश्वास गर्नुपछाडिको तिनीहरूको उद्देश्य भनेकै अनुग्रह खोजी गर्नु, आशिष्हरू प्राप्त गर्नु, र शान्ति र खुसीको आनन्द लिनु हो। यही दृष्टिकोणहरूका कारण तिनीहरू परमेश्वरप्रति आफूलाई समर्पित गर्न आफ्नो परिवार त्याग्छन् वा जागिर छोड्छन् र कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्। तिनीहरू के विश्वास गर्छन् भने, जबसम्म तिनीहरूले कुराहरू त्याग्छन्, परमेश्वरप्रति आफूलाई समर्पित गर्छन्, कठिनाइ सहन्छन्, र लगनशीलतासाथ काम गर्छन्, असाधारण व्यवहार प्रदर्शन गर्छन्, तबसम्म तिनीहरूले परमेश्वरका आशिष्हरू र निगाह प्राप्त गर्नेछन्, र तिनीहरूलाई जस्तोसुकै कठिनाइहरू आइपरे पनि, तिनीहरूले परमेश्वरलाई प्रार्थना गरेसम्म, उहाँले ती कठिनाइहरू समाधान गरिदिनुहुनेछ र सबै कुरामा तिनीहरूका लागि मार्ग खोलिदिनुहुनेछ। परमेश्वरमा विश्वास गर्ने अधिकांश मानिसहरूले बोक्ने दृष्टिकोण यही हो। मानिसहरूलाई यो दृष्टिकोण जायज र सही हो भन्ने लाग्छ। वर्षौँसम्म आस्था नत्यागी परमेश्वरमाथिको आफ्नो आस्था कायम राखिराख्ने धेरै मानिसहरूको क्षमता प्रत्यक्ष रूपमा यही दृष्टिकोणसँग जोडिएको हुन्छ। तिनीहरू सोच्छन्, “मैले परमेश्वरप्रति निकै समर्पित गरेको छु, मेरो व्यवहार अत्यन्तै राम्रो रहेको छ, र मैले कुनै दुष्ट कार्यहरू गरेको छैनँ; परमेश्वरले पक्कै मलाई आशिष् दिनुहुनेछ। मैले धेरै कष्ट भोगेको छु र हरेक कार्यका लागि ठूलो मूल्य चुकाएको छु, कुनै गल्ती नगरी सबै कुरा परमेश्वरका वचन र मागहरूअनुसार गरेको छु, त्यसकारण परमेश्वरले मलाई आशिष् दिनुपर्छ; उहाँले मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने, मेरो हृदयमा प्रायजसो शान्ति र हर्ष हुने, र मैले परमेश्वरको उपस्थितिमा आनन्द लिन पाउने सुनिश्चित गर्नुपर्छ।” के यो मानव धारणा र कल्पना होइन र? मानव दृष्टिकोणबाट हेर्दा, मानिसहरूले परमेश्वरको अनुग्रहको आनन्द लिन्छन् र फाइदाहरू प्राप्त गर्छन्, त्यसकारण यसका लागि अलिकति कष्ट भोग्नु उचित हुन्छ, र यो कष्टलाई परमेश्वरका आशिष्हरूसँग साट्नु सार्थक हुन्छ। यो परमेश्वरसँग सौदा गर्ने मानसिकता हो। तर, सत्यताको र परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यो आधारभूत रूपमा परमेश्वरको कामका सिद्धान्तहरूअनुरूप वा परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने मानकहरूअनुरूप हुँदैन। यो पूर्णतया मनोकामना मात्रै हो, परमेश्वरमा विश्वास गर्नेबारे विशुद्ध मानव धारणा र कल्पना मात्रै हो। चाहे यसमा परमेश्वरसँग सौदा गर्ने वा परमेश्वरबाट विभिन्न कुराहरू माग गर्ने कार्य समावेश होस्, वा चाहे मानव धारणा र कल्पनाहरू नै समावेश होस्, जे भए पनि, यो कुनै पनि कुरा परमेश्वरका मागहरूअनुरूप हुँदैन, न त यसले मानिसहरूलाई आशिष् दिने परमेश्वरका सिद्धान्त र मानकहरू नै पूरा गर्छ। विशेषगरी, यो लेनदेनको सोच र दृष्टिकोणले परमेश्वरको स्वभाव चिढ्याउँछ, तर मानिसहरूले यो कुरा महसुस गर्दैनन्। जब परमेश्वरले गर्नुहुने कुरा मानिसहरूका धारणाहरूसँग मिल्दैन, तब तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा उहाँबारे गुनासा र गलतफहमीहरू विकास गर्छन्। तिनीहरूले अन्यायमा परेको महसुस समेत गर्छन् र त्यसपछि परमेश्वरसँग बहस गर्न थाल्छन्, र तिनीहरूले उहाँलाई आलोचना र निन्दासमेत गर्न सक्छन्। मानिसहरूले जस्तोसुकै धारणा र गलतफहमीहरू विकास गरे पनि, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले मानव धारणा वा कामनाहरूअनुसार कहिल्यै कार्य गर्ने वा कसैसँग व्यवहार गर्ने गर्नुहुन्न। परमेश्वरले सधैँ उहाँले गर्न चाहेको कुरा, उहाँकै तरिकाअनुसार र उहाँकै प्रकृति सारका आधारमा गर्नुहुन्छ। परमेश्वरले हरेक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ भन्नेबारे उहाँसित सिद्धान्तहरू हुन्छन्; उहाँले हरेक व्यक्तिमाथि गर्ने कुनै पनि कुरा मानव धारणा, कल्पना, वा रुचिहरूमा आधारित हुँदैन—मानव धारणाहरूसँग सबैभन्दा नमिल्ने परमेश्वरको कामको पक्ष यही हो। जब परमेश्वरले मानिसहरूका लागि तिनीहरूका धारणा र कल्पनाहरूसँग पूर्ण रूपमा बाझिने वातावरण खडा गर्नुहुन्छ, तब तिनीहरूले हृदयमा परमेश्वरविरुद्ध धारणा, आलोचना, र निन्दाहरू निर्माण गर्छन्, र उहाँलाई इन्कारसमेत गर्न सक्छन्। के त्यसपछि परमेश्वरले तिनीहरूका आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ? अवश्य नै सक्नुहुन्न। परमेश्वरले कहिल्यै आफ्नो काम गर्ने तरिका र चाहनाहरू मानव धारणाहरूअनुसार परिवर्तन गर्नुहुनेछैन। त्यसोभए परिवर्तन हुनुपर्ने को हो? मानिसहरू। परमेश्वरले गर्नुहुने कुरालाई सही छ कि छैन भनेर आफ्ना धारणाहरूसँग मापन गर्नुको सट्टा, बरु मानिसहरूले आफ्ना धारणाहरू त्याग्नुपर्छ, परमेश्वरले खडा गर्नुभएका वातावरणहरू स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ र ती अनुभव गर्नुपर्छ, अनि आफ्ना धारणाहरू समाधान गर्न सत्यता खोज्नुपर्छ। जब मानिसहरूले आफ्नै धारणाहरू पक्रिरहने जिद कस्छन्, तब तिनीहरूले परमेश्वरविरुद्ध प्रतिरोध विकास गर्छन्—यो स्वाभाविक रूपमै हुने कुरा हो। प्रतिरोधको जड कहाँ हुन्छ? यो सामान्यतया मानिसहरूका हृदयमा हुने कुरा भनेको निस्सन्देह आफ्नै धारणा र कल्पनाहरू हुन्, र सत्यता होइन भन्ने तथ्यमा निहित हुन्छ। त्यसैले, परमेश्वरको काम मानव धारणाहरूसँग नमिलेको देख्दा, मानिसहरूले परमेश्वरको अवज्ञा गर्न र उहाँविरुद्ध आलोचना गर्न सक्छन्। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा आधारभूत रूपमा परमेश्वरप्रति समर्पित हुने हृदय हुँदैन, तिनीहरूको भ्रष्ट स्वभाव पखालिएको हुँदै हुँदैन, र तिनीहरू मूलतः आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू मुक्ति प्राप्त गर्नबाट अझै निकै टाढा छन्।
जब मानिसहरूले हृदयमा परमेश्वरबारे धारणाहरू र उहाँप्रतिको प्रतिरोध विकास गर्छन्, तब केही विवेक भएका मानिसहरूले मन नलागीनलागी परमेश्वरले गर्नुहुने कुराहरू स्विकार्नेछन् र परमेश्वरले खडा गर्नुभएको वातावरणमा घुलमिल हुने र मानिसहरूमाथि रहेको उहाँको सार्वभौमिकता स्विकार्ने प्रयास गर्नेछन्। मानिसहरूले कति वटा धारणाहरू त्याग्न सक्छन् र कति हदसम्म त्याग्न सक्छन्, त्यो कुरा आंशिक रूपमा तिनीहरूको क्षमतामा र आंशिक रूपमा तिनीहरू सत्यता स्विकार्छन् कि स्विकार्दैनन् र तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् कि होइनन् भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरू परमेश्वरका वचनहरू पढेर, खोजी र सङ्गति गरेर, अनि मनन गरेर परमेश्वरद्वारा खडा गरिएका वातावरणहरू सक्रिय रूपमा सामना गर्छन्। तिनीहरूले बिस्तारै सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गर्छन् र यसरी आफ्नो समर्पणता र आस्था बढाउँछन्। तर, कतिपय मानिसहरू, आफूले सामना गर्ने वातावरण जेसुकै भए पनि सत्यता खोजी गर्दैनन्। बरु, तिनीहरू परमेश्वरले योजनाबद्ध गर्नुभएका सबै वातावरणलाई आफ्नै धारणा र कल्पनाहरू, र यसले आफूलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुराका आधारमा मूल्याङ्कन गर्छन्। तिनीहरूको विचार सधैँ तिनीहरूकै हितहरूमा केन्द्रित हुन्छ; तिनीहरू सधैँ आफूले कति ठूलो फाइदा प्राप्त गर्न सक्छु, अनि भौतिक कुराहरू, पैसा, र देहगत आनन्दका हिसाबमा आफ्ना कति हितहरू सन्तुष्ट पार्न सक्छु भन्नेबारे मात्रै वास्ता गर्छन्; अनि तिनीहरू सधैँ परमेश्वरले प्रबन्ध गर्नुहुने सबै कुराबारे यी तत्त्वहरूकै आधारमा निर्णय र व्यवहार गर्छन्। अनि अन्ततः, आफ्नो दिमाग खियाएपछि, तिनीहरू परमेश्वरले खडा गर्नुभएको वातावरणमा समर्पित नहुने बरु यसबाट उम्कने र तर्किने निर्णय गर्छन्। तिनीहरूको प्रतिरोध, इन्कार, र पछि हट्ने कार्यका कारण, तिनीहरू आफूलाई परमेश्वरका वचनहरूबाट टाढा राख्छन्, जीवनको अनुभव गुमाउँछन्, र घाटा भोग्छन्, जसले गर्दा तिनीहरूको हृदयमा पीडा र कष्ट हुन्छ। तिनीहरू त्यस्ता वातावरणहरूको जति धेरै विरोध गर्छन्, तिनीहरू त्यति नै ठूलो कष्ट सहन्छन्। जब यस्तो परिस्थिति देखा पर्छ, तब परमेश्वरमाथि भएको तिनीहरूको थोरै आस्था पनि अन्ततः चकनाचुर हुन्छ। यस बेला, तिनीहरूको हृदयमा हाबी हुने धारणाहरू सबै एकैपटक आकाशिन्छन्: “मैले परमेश्वरप्रति आफूलाई समर्पित गरेको यति लामो समय भइसक्यो, तैपनि परमेश्वरले मलाई यसरी व्यवहार गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको थिइनँ। परमेश्वर न्यायोचित हुनुहुन्न, र उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्न! परमेश्वरले उहाँप्रति निष्कपट रूपमा आफूलाई समर्पित गर्नेहरूले अवश्य नै धेरै आशिष् पाउनेछन् भनेर भन्नुभएको थियो। मैले परमेश्वरप्रति निष्कपट रूपमा आफूलाई समर्पित गरेको छु, मैले मेरो परिवार र करियर त्यागेको छु, कठिनाइ सहेको छु, र मेहनत गरेको छु—परमेश्वरले किन मलाई धेरै आशिष् दिनुभएको छैन त? परमेश्वरका आशिष्हरू कहाँ छन्? म किन तिनलाई महसुस गर्न वा देख्न सक्दिनँ? परमेश्वरले किन मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ? परमेश्वर किन आफ्नो वचन पूरा गर्नुहुन्न? मानिसहरू परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनेर भन्छन्, तर म किन यो कुरा महसुस गर्न सक्दिनँ? अरू सबै कुरा पन्छाएर हेर्दा, यो वातावरण मात्रैमा पनि, मैले परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनी पटक्कै महसुस गरेको छैनँ!” मानिसहरूमा धारणाहरू हुने हुनाले, तिनीहरू सजिलै तीद्वारा छलिन्छन् र बहकाउमा पर्छन्। जब परमेश्वरले मानिसहरूको स्वभाव परिवर्तन र तिनीहरूको जीवन वृद्धिका लागि वातावरणहरू खडा गर्नुहुन्छ, तिनीहरूलाई स्विकार्न गाह्रो हुन्छ र तिनीहरू परमेश्वरलाई गलत बुझ्छन्। तिनीहरू यो परमेश्वरको आशिष् होइन र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न भन्ने सोच्छन्। तिनीहरू परमेश्वरप्रति आफूले निष्कपट रूपमा आफूलाई समर्पित गरेको तर परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा नगर्नुभएको विश्वास गर्छन्। सत्यता नपछ्याउने यी मानिसहरू, यसरी कुनै सानो वातावरणको एउटा परीक्षाबाटै सजिलै प्रकाश हुन्छन्। जब तिनीहरूलाई प्रकाश गरिन्छ, अन्ततः तिनीहरूले सबैभन्दा बढी भन्न चाहेको कुरा भन्छन्: “परमेश्वर धर्मी हुनुहुन्न। परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्न। परमेश्वरका वचनहरू बिरलै पूरा हुन्छन्। परमेश्वरले भन्नुभयो, ‘परमेश्वर जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, उहाँ जे भन्नुहुन्छ त्यो पूरा हुन्छ, र उहाँ जे गर्नुहुन्छ त्यो अनन्तसम्म रहन्छ।’ यी वचनहरू पूरा भएको खोइ त? म किन यो देख्न वा महसुस गर्न सक्दिनँ? फलानोलाई हेर त। परमेश्वरमा विश्वास गरेपछि, उसले परमेश्वरका लागि मैले जति त्याग गरेको छु वा आफूलाई जति समर्पित गरेको छु त्यति गरेकी छैन, न त उसले मैले जति धेरै अर्पण नै गरेकी छे। तर उसका छोराछोरी प्रतिष्ठित विश्वविद्यालयहरूमा भर्ना भए, उसको श्रीमानले बढुवा पायो, र तिनीहरूको व्यापार फस्टाइरहेको छ, र तिनीहरूको उब्जनी समेत अरूको भन्दा बढी हुन्छ। अनि मैले के प्राप्त गरेको छु? म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ!” यी शब्दहरू ती मानिसहरूका साँचो विचार, र तिनीहरूका आदर्श भनाइ हुन्। तिनीहरू यी धारणाहरूले भरिएका हुन्छन्, यी हास्यास्पद विचार र दृष्टिकोणहरूले भरिएका हुन्छन्, र फाइदा र लेनदेनहरूबारेका विचारहरूले भरिएका हुन्छन्। तिनीहरूले परमेश्वरको काम र उहाँका श्रमसाध्य अभिप्रायहरूलाई यसरी नै बुझ्छन् र लिन्छन्, र तिनीहरू यी कुराहरूप्रति यसरी नै व्यवहार गर्छन्। त्यसकारण, परमेश्वरले बारम्बार श्रमसाध्य रूपमा खडा गर्नुहुने वातावरणहरूमा, तिनीहरू बारम्बार आफ्ना धारणाहरूद्वारा परमेश्वरलाई मापन गर्छन् र उहाँलाई गलत बुझ्छन्, र तिनीहरू निरन्तर असफल हुन्छन् र ठेस खान्छन्। यसको साथै, तिनीहरू निरन्तर आफ्ना धारणाहरू सही छन् भनेर पुष्टि गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यी धारणाहरू पुष्टि भइसकेका कुरा हुन् र परमेश्वरलाई स्वेच्छाचारी ढङ्गले मूल्याङ्कन गर्न, आलोचना गर्न, र निन्दा गर्नका लागि यी पर्याप्त प्रमाण हुन् भन्ने विश्वास गर्छन्, तब तिनीहरू धारणाहरू फैलाउन थाल्छन्, किनभने तिनीहरूको हृदय परमेश्वरबारे रहेका धारणाहरूले भरिएको हुन्छ। यी धारणाहरूमा के कुरा मिसिएको हुन्छ? यो गुनासा, असन्तुष्टि, र गनगनले भरिएको हुन्छ। जब तिनीहरू यी कुराहरूले भरिएका हुन्छन्, तब तिनीहरू रिस पोख्ने अवसरहरू खोज्छन्। तिनीहरू आफूले सामना गरेका “अन्याय” सुन्ने भीड भेट्टाउने आशा गर्छन्; तिनीहरू यी कुराहरू ती मानिसहरूसामु पोख्न चाहन्छन् र आफूले “भोगेका” तथाकथित अनुचित व्यवहारबारे उनीहरूलाई बताउन चाहन्छन्। यी मानिसहरूले फैलाउने धारणाहरू मण्डली जीवनमा यसरी नै देखा पर्छन्, त्यस्ता धारणाहरू यसरी नै पैदा हुन्छन्। यी मानिसहरूको हृदय गनगन, अवज्ञा, र असन्तुष्टि, साथै परमेश्वरबारे गलतफहमी र गुनासाहरू, र परमेश्वरबारे आलोचना र निन्दाहरूले समेत भरिएको हुन्छ, जसले गर्दा अन्ततः तिनीहरूको हृदय ईश्वरनिन्दाले भरिन्छ। तिनीहरूलाई तिनीहरूले आशिष्हरू प्राप्त नगर्लान् भन्ने डर हुन्छ र त्यसैले तिनीहरू छोडेर जान अनिच्छुक हुन्छन्, त्यसकारण तिनीहरू परमेश्वरप्रतिको आफ्नो गलतबुझाइ र उहाँप्रति रहेको आफ्नो असन्तुष्टि मानिसहरूमाझ फैलाउँछन्, र अझै बढी, तिनीहरू परमेश्वरप्रतिको आफ्नो आलोचना र निन्दा र उहाँविरुद्धको आफ्नो ईश्वरनिन्दा फैलाउँछन्। तिनीहरू के विषयमा ईश्वरनिन्दा गर्छन्? तिनीहरू परमेश्वरका विषयमा ईश्वरनिन्दा गर्छन्, र उहाँ तिनीहरूसँग अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ र तिनीहरूले गरेको कामका लागि तिनीहरूलाई उचित र समान प्रतिफल दिनुहुन्न भनेर भन्छन्। तिनीहरू परमेश्वरलाई तिनीहरूको भेटी र त्यागपछि तिनीहरूलाई अनुग्रह र ठूला आशिष्हरू नदिनुभएकोमा आलोचना गर्छन्। तिनीहरूले पाउने आशा गरेका ती देहगत आवश्यकताहरू—भौतिक कुराहरू, पैसा, र आदि इत्यादि कुराहरू—परमेश्वरबाट प्राप्त गरेका हुँदैनन्, जसले गर्दा तिनीहरूको हृदय गुनासा र गनगनले भरिएको हुन्छ। धारणाहरू फैलाउनुपछाडि तिनीहरूको उद्देश्य भनेको, एक हिसाबमा, रिस पोख्नु र बदला लिनु, यसरी मनोवैज्ञानिक सन्तुलनको अनुभूति हासिल गर्नु हो; अनि, अर्को हिसाबमा, अझै धेरै मानिसहरूलाई परमेश्वरबारे गलतफहमी र धारणाहरू विकास गर्न उक्साउनु हो, जसले यी मानिसहरूलाई पनि तिनीहरूजस्तै परमेश्वरविरुद्ध सतर्क हुने तुल्याउँछ। यदि अझै धेरै मानिसहरूले “हामी फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनौँ” भनेर भन्छन् भने, तिनीहरूलाई भित्री रूपमा सन्तुष्टि हुनेछ। तिनीहरूले धारणा फैलाउनुपछाडिको उद्देश्य र गूढ कारण यही हो।
धारणाहरू फैलाउने मानिसहरूको आदर्श भनाइ के हो? तिनीहरूले प्रायजसो दोहोर्याइरहने भनाइ के हो? निश्चित कुराहरू अनुभव गरेपछि र आफूले कामना गरेका फाइदाहरू प्राप्त नगरेपछि, तिनीहरू निरन्तर मनमनै यसो भन्छन्, “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ।” यसो भनेपछि पनि, तिनीहरूलाई आफ्नो घृणा शान्त भएको वा आफ्नो उद्देश्य हासिल भएको भन्ने लाग्दैन। जब तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, तब अरूले जेसुकै कुराबारे सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्न सक्दैनन्। तिनीहरूले यो वाक्यांश फेरि पनि भन्नुपर्छ, यसलाई धेरैपटक, दशपटकभन्दा पनि बढी दोहोर्याउनुपर्छ। “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ”—के यो वाक्यांश अर्थले भरिएको छैन र? यसको पछाडि एउटा कथा लुकेको हुन्छ। तिनीहरूको “विश्वास” के हो? के तिनीहरूले पहिले परमेश्वरमा विश्वास गरेका थिए? के तिनीहरूको पहिलेको विश्वास साँचो आस्था थियो? के यसमा सृजित प्राणीमा हुनुपर्ने समर्पणता थियो? (थिएन।) पटक्कै थिएन। तिनीहरू परमेश्वरबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरू कुनै पनि समर्पणतारहित हुन्छन् र परमेश्वरप्रति माग र अनुरोधहरूले भरिएका हुन्छन्। तिनीहरूको “विश्वास” को अर्थ के हो? “मलाई विश्वास छ, परमेश्वर स्वर्ग र पृथ्वी र यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ। मलाई विश्वास छ, परमेश्वरले मलाई अरूको हेपाइबाट सुरक्षा दिन सक्नुहुन्छ। मलाई विश्वास छ, परमेश्वरले मलाई देहगत सुखको आनन्द लिन, असल, समृद्ध जीवन जिउन, र आफ्ना लागि सबै कुरा शान्तिपूर्ण र सुखद रूपमा अघि बढाउन दिन सक्नुहुन्छ। मलाई विश्वास छ, परमेश्वरले मलाई स्वर्गको राज्यमा प्रवेश गर्न दिन र मलाई ठूला आशिष्हरू दिन सक्नुहुन्छ, मलाई यो जीवनमा सय गुणा, र आउने संसारमा अनन्त जीवन प्राप्त गर्न दिन सक्नुहुन्छ!” के यो विश्वास हो? यी “विश्वासहरू” मा त समर्पणताको कुनै पित्को पनि छैन, र यीमध्ये कुनै पनि परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरूअनुरूप छैनन्। यी विश्वासहरू विशुद्ध रूपमा व्यक्तिगत फाइदाको दृष्टिकोणबाट आएका हुन्छन्। परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूमा काम गर्नुहुन्छ। परमेश्वरले कहिलेचाहिँ उहाँले मानिसहरूलाई सुखी जीवन जिउन, अरूभन्दा माथि जिउन, वा असीमित सम्भाव्यताहरूका साथमा समृद्धि र सफलता पाउन सक्षम तुल्याउनुहुनेछ भनेर भन्नुभएको छ र? (कहिल्यै भन्नुभएको छैन।) त्यसोभए तिनीहरू किन आफ्नो “विश्वास” लाई यति बहुमूल्य ठान्छन्? तिनीहरू फेरि कहिल्यै परमेश्वरमा विश्वास नगर्ने समेत भन्छन्। के तिनीहरूको विश्वासको कुनै मूल्य हुन्छ? के परमेश्वर त्यसलाई स्विकार्नुहुन्छ? तिनीहरूसँग सत्यता वास्तविकताको कुनै लक्षण हुँदैन, परमेश्वरप्रतिको समर्पणताको पनि कुनै लक्षण हुँदैन, तिनीहरूले परमेश्वरबाट आशिष्, लाभ, र फाइदाहरू प्राप्त गर्न मात्रै चाहन्छन्, र यसैलाई तिनीहरू परमेश्वरमा विश्वास गर्नु भनेर भन्छन्। के यो परमेश्वरविरुद्ध गरिएको ईश्वरनिन्दा होइन र? यस्ता मानिसहरू धारणाहरूले भरिएका हुन्छन् र तिनीहरू आशिष्हरू प्राप्त गर्ने अभिप्रायले ओगटिएका हुन्छन्। तिनीहरू परमेश्वरको काम पटक्कै अनुभव गर्दैनन् र परमेश्वरका वचनहरू अभ्यास गर्दैनन्। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य र मनसाय पूर्ण रूपमा आफ्नै देहको फाइदाका लागि हुन्छ। तिनीहरूलाई आफ्नो बारे राम्रो महसुस हुन्छ र तिनीहरूले परमेश्वरमाथिको आफ्नो तथाकथित आस्थालाई निकै बहुमूल्य ठान्छन्। यदि परमेश्वरमाथिको तेरो आस्था यति बहुमूल्य र आदर्शमय छ भने, जब परमेश्वरले तेरा लागि केही सानो वातावरण खडा गर्नुहुन्छ, तब तँ किन यसबाट सत्यता बुझ्न वा आफ्नो गवाहीमा दृढ रहन सक्दैनस्? यहाँ के भइरहेको छ? जब परमेश्वरले तेरो आस्था जाँच्नुहुन्छ, तब तँ परमेश्वरलाई के फिर्ता दिन्छस्? के तैँले परमेश्वरलाई फिर्ता दिने गलतफहमी, गुनासा, र प्रतिरोधहरू, उहाँले चाहनुहुने कुराहरू हुन सक्छन्? के यी सत्यताअनुरूप हुन्छन्? स्पष्ट रूपमै, हुँदैनन्। त्यसकारण, यी मानिसहरूले मण्डलीमा खुलेआम धारणाहरू फैलाउन सक्ने तथ्यले एउटा कुरा प्रमाणित गर्छ: तिनीहरू परमेश्वरलाई चिन्दैनन् र परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास त झनै गर्दैनन्—तिनीहरूले विश्वास गर्ने परमेश्वर अस्तित्वमै हुँदैन। जब यी मानिसहरूले परमेश्वरलाई अवज्ञा गर्ने, निन्दा गर्ने, र ईश्वरनिन्दा गर्ने कार्यमा थप मानिसहरूलाई बहकाउन र आफूतिर तान्नका लागि खुलेआम धारणाहरू फैलाउँछन्, तब तिनीहरूले उप्रान्त तिनीहरू परमेश्वरका अनुयायीहरू होइनन्, उप्रान्त विश्वासीहरू होइनन्, र उप्रान्त सृष्टिकर्ताको प्रभुत्वमा रहेका सृजित प्राणीहरू होइनन् भनेर अचेतन रूपमा सार्वजनिक रूपमा घोषणा गरिरहेका हुन्छन्। तिनीहरूले फैलाउने धारणाहरू सरल विचार वा अभिव्यक्तिहरू हुँदैनन्; बरु तिनीहरूले आफ्नो हृदयमा आफू र परमेश्वरबीच अटुट पर्खाल निर्माण गरिसकेका हुन्छन्, र परमेश्वरलाई व्यवहार गर्न, परमेश्वरसँगको आफ्नो सम्बन्ध सम्हाल्न, र परमेश्वरका वचनहरू र परमेश्वरको कामप्रति व्यवहार गर्न मानव धारणा र कल्पनाहरू प्रयोग गर्नु सही हुन्छ र तिनीहरूले अभ्यास गर्नुपर्ने तरिका त्यही हो भनेर निर्णय गरिसकेका हुन्छन्। जब त्यस्ता मानिसहरूले मण्डली जीवनमा खुलेआम धारणाहरू फैलाउँछन्, तब के तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ? कि, तिनीहरूको कद सानो र जग सतही भएको हुनाले, तिनीहरूलाई आफ्नो दृष्टिकोण व्यक्त गर्ने स्वतन्त्रता र पश्चात्ताप गर्ने पर्याप्त समय र ठाउँ दिनुपर्छ? उचित कार्यविधि के हो? (तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु उचित हुन्छ।) तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नु किन उचित हुन्छ? कतिपय मानिसहरू भन्छन्, “यदि तपाईंले तिनीहरूलाई प्रतिबन्धित गर्नुभयो र स्वतन्त्र रूपमा बोल्न दिनुभएन भने, र तिनीहरूले विश्वास गर्न र भेलाहरूमा सहभागिता जनाउन छोडे भने, के त्यो तिनीहरूलाई हानि गर्नु हुनेथिएन र? त्यो कति दुःखदायी कुरा हुनेछ! के परमेश्वरले एउटा व्यक्तिलाई अनन्त विनाश भोग्न दिनुको साटो, बरु सबै मानिसहरूलाई मुक्ति दिनुहुनेथिएन र? हराएको एउटा भेडालाई समेत फिर्ता ल्याउनुपर्छ—एउटा हराएको भेडा फिर्ता ल्याउन यति धेरै मेहनत गरेपछि, के उहाँले फेरि पनि त्यसलाई हराउन दिन सक्नुहुन्छ र?” के यी शब्दहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? (किनभने त्यस्ता मानिसहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्दैनन्; तिनीहरू आशिष्हरू प्राप्त गर्ने आशामा मात्रै परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरूको विश्वास अशुद्धताहरूसँग मिसिएको हुन्छ।) परमेश्वरमाथिको कसको विश्वासमा केही अशुद्धताहरू मिसिएका हुँदैनन् र? के तँसँग पनि केही अशुद्धता छैनन् र? के यो मान्य कारण हो? त्यस्ता मानिसहरूको अभिव्यक्तिलाई विचार गर्: “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ।” यी कस्ता प्रकारका शब्दहरू हुन्? के यो र गैरविश्वासीहरू, दियाबलसहरू, र शैतानको ईश्वरनिन्दाबीच कुनै भिन्नता छ? (छैन।) यो अभिव्यक्तिको अर्थ के हो? “मसँग अबउप्रान्त परमेश्वरमाथिको कुनै आस्था छैन। विगतमा, मैले परमेश्वरमा पूर्ण हृदयले विश्वास गर्थेँ र उहाँलाई पछ्याउँथेँ, तर परमेश्वरले मलाई आशिष् दिनुभएन। बरु, उहाँले मलाई कठिनाइमा पार्न र ठेस लगाउन त्यस्ता वातावरणहरू खडा गर्नुभयो। परमेश्वरले जे भन्नुहुन्छ त्यो उहाँले गर्नुहुने कुरासँग पटक्कै मिल्दैन, त्यसकारण म उप्रान्त परमेश्वरमा विश्वास गर्ने आँट गर्दिनँ! म पहिले अत्यन्तै मूर्ख थिएँ। मैले परमेश्वरका लागि त्याग गरेँ, आफूलाई समर्पित गरेँ, र धेरै कठिनाइ सहेँ, तर ठूलो रातो अजिङ्गरले मलाई पक्राउ गर्दा र सताउँदा, मैले परमेश्वरबाट कुनै सुरक्षा पाइनँ। मेरो परिवारको व्यापार पनि अरूको जस्तो राम्ररी अघि बढेन, मैले अरूले जति पैसा कमाइनँ, र मेरा आमाबुबा बिरामी नै रहिरहे। मैले यति धेरै वर्ष परमेश्वरमा विश्वास गरेर केही पनि प्राप्त गरिनँ। के परमेश्वरले मानिसहरूलाई ठुलो आशिष् दिनेछु भनेर भन्नुभएको थिएन र? मैले परमेश्वरबाट के आशिष्हरू प्राप्त गरेँ? परमेश्वरका वचनहरू पटक्कै पूरा भएका छैनन्, त्यसकारण म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ!” “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ!” भन्ने अभिव्यक्तिमा धेरै कुराहरू समावेश छन्। यो परमेश्वरप्रतिका गुनासा, असन्तुष्टि, र गलतफहमीले भरिएको छ। छोटकरीमा भन्दा, तिनीहरूले कठिनाइ सहेपछि र आकाङ्क्षी सोच लिएर आफूलाई समर्पित गरेपछि, परमेश्वरले तिनीहरूलाई तिनीहरूका मागहरूअनुसार आशिष् दिनुभएन, न त तिनीहरूलाई तिनीहरूका धारणा र कल्पनाहरूअनुसार भुक्तानी वा इनाम नै दिनुभयो, त्यसकारण तिनीहरू परमेश्वरप्रति असन्तुष्ट भए र उहाँप्रति घृणाले भरिए, र यस्तो परिस्थितिमा नै तिनीहरूले यो वाक्य बोले। यो वाक्य अचानक आएको थिएन; तिनीहरूले यो वाक्य बोलेको बेला, धेरै व्यवहार र प्रकटीकरणहरू प्रदर्शन गरिसकेका थिए र तिनीहरू प्रकाश भइसकेका थिए। त्यस्ता मानिसहरूको परमेश्वरसँगको सम्बन्धमा के समस्या हुन्छ? परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा सबैभन्दा ठूलो समस्या के हो? तिनीहरूले आफूलाई कहिल्यै सृजित प्राणीको रूपमा पटक्कै लिएनन् र परमेश्वरलाई आराधना गर्नुपर्ने सृष्टिकर्ताको रूपमा कहिले पनि पटक्कै लिएनन्। परमेश्वरमाथिको आफ्नो विश्वासको सुरुवातदेखि नै, तिनीहरूले परमेश्वरलाई पैसाको रूख, सम्पत्तिको खजानाका रूपमा लिए; तिनीहरूले उहाँलाई कष्ट र विपत्तिबाट छुटकारा दिने बोधिसत्त्वका रूपमा लिए, र तिनीहरूले आफूलाई यो बोधिसत्त्व, यो मूर्तिको अनुयायीका रूपमा लिए। तिनीहरूले के सोचे भने परमेश्वरमा विश्वास गर्नु भनेको बुद्धमा विश्वास गर्नुजस्तै हो, जहाँ शाकाहारी खाना खाएर, धर्मशास्त्रहरू पढेर, बारम्बार धूप बालेर अनि झुकेर बसेर, तिनीहरूले आफूले चाहेको कुरा प्राप्त गर्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्वरमा विश्वास गरेपछि विकास गरेका सबै कथाहरू तिनीहरूको धारणा र कल्पनाहरूको क्षेत्रमै घटेका थिए। तिनीहरूले सृजित प्राणीले सृष्टिकर्ताबाट आएको सत्यता स्विकारेको कुनै पनि प्रकटीकरणहरू प्रदर्शन गरेनन्, न त तिनीहरूले सृजित प्राणीले सृष्टिकर्ताप्रति देखाउनुपर्ने कुनै समर्पणता नै प्रदर्शन गरे; तिनीहरूले त निरन्तर माग गर्ने, निरन्तर हिसाबकिताब गर्ने, र निरन्तर अनुरोध गर्ने कार्य मात्रै गरे। यो सबै कुराले अन्ततः परमेश्वरसँगको तिनीहरूको सम्बन्ध तोड्न पुग्यो। यस्तो प्रकारको सम्बन्ध लेनदेनका आधारमा हुन्छ र यो कहिल्यै दृढ रहन सक्दैन; ढिलोचाँडो त्यस्ता मानिसहरू प्रकाश भएरै छोड्छन्। तिनीहरूले मण्डली जीवनमा सहभागिता जनाए पनि, धारणाहरू नफैलाए पनि, र कहिलेकहीँ परमेश्वरले तिनीहरूलाई कसरी अगुवाइ गर्नुभएको छ, परमेश्वरले तिनीहरूलाई कसरी आशिष् दिनुभएको छ, तिनीहरूले के कुराको आनन्द लिएका छन्, र आदि इत्यादि कुराहरूबारे सङ्गति गरे पनि, तिनीहरूले बताउने धेरैजसो कुराहरू तिनीहरूले परमेश्वरबाट प्राप्त गरेको अनुग्रह, आनन्द, र देहगत लाभहरूसँग सम्बन्धित हुन्छन्। यी छलफलहरू सत्यता र परमेश्वरमा समर्पित हुनुसँग पूर्ण रूपमा असम्बन्धित हुन्छन्, र यी कुरामा सत्यता वास्तविकताको पूर्णतया कमी हुन्छ। जब परिस्थितिहरू अनुकूल हुन्छन्, तब तिनीहरूले परमेश्वरप्रति आस्था र प्रेम, र अरू मानिसहरूप्रति सहनशीलता र धैर्यता देखाउँछन्, र यो सबै एउटै उद्देश्य हासिल गर्नका लागि हुन्छ: परमेश्वरका सबै आशिष्हरू प्राप्त गर्नका लागि हुन्छ। जब परमेश्वरले तिनीहरूले आनन्द उठाएका अनुग्रह, लाभ, र भौतिक फाइदाहरू खोस्नुहुन्छ, तब तिनीहरूका धारणाहरू प्रकट हुन्छन्। ती मानिसहरू, स्वार्थले उत्प्रेरित भएर अनि व्यक्तिगत फाइदालाई प्राथमिकता दिएर, आफूले कामना गरेको कुरा प्राप्त नगर्दा निकै रिसाउँछन्; तिनीहरूले परमेश्वरप्रति आफ्नो असन्तुष्टि पोख्न धारणाहरू फैलाउन थाल्छन्, र सँगसँगै तिनीहरूले आफूप्रति सहानुभूति देखाउने र परमेश्वरबारेका आफ्ना धारणाहरू स्विकार्ने अझै धेरै मानिसहरू आकर्षित गर्ने प्रयास पनि गर्छन्। के त्यस्ता मानिसहरूलाई रोक्नु र प्रतिबन्धित गरिनुपर्छ? (पर्छ।) तिनीहरूले सङ्गति गर्ने विषय, विचार, र दृष्टिकोणहरूले सत्यताको विशुद्ध बुझाइ प्रतिबिम्बित गर्दैनन्, न त ती कुराले मानिसहरूलाई परमेश्वरमा समर्पित हुन र उहाँमा साँचो आस्था राख्न सहयोग नै गर्छन्। यसको साटो, ती कुराले मानिसहरूलाई परमेश्वरबाट टाढा लैजान्छन्, परमेश्वरप्रति गलतफहमी, सतर्कता अनि उहाँप्रति इन्कारसमेत पैदा गर्छन्, र ती मानिसहरूले फैलाउने धारणाहरू सुन्नेहरूलाई पनि तिनीहरूले जस्तै चुपचाप “म फेरि कहिल्यै परमेश्वरमा विश्वास गर्नेछैनँ” भनेर आफूले आफैलाई चेतावनी दिने तुल्याउँछन्। त्यस्ता मानिसहरूले फैलाउने धारणाहरूले अरूलाई दिने बाधा यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।