आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ (भाग दुई)

सत्यता वास्तविकतामा प्रवेश गर्दा, आफूलाई चिन्नु अत्यन्तै महत्त्वपूर्ण छ। आफूलाई चिन्नु भनेको हाम्रो विचार र दृष्टिकोणका कुन कुराहरू आधारभूत रूपमा सत्यतासँग मेल खाँदैनन्, र भ्रष्ट स्वभावमा पर्छन्, र परमेश्‍वरविरोधी छन् भनेर जान्नु हो। अहङ्कार, आत्मधार्मिकता, झुटोपन र छलीपनजस्ता मानिसका भ्रष्ट स्वभावहरू बुझ्न सजिलो छ। तैँले सत्यताबारे दुईचारपटक सङ्गति गरेर नै वा बारम्बार सङ्गति गरेर वा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई तेरो अवस्था औँल्याइदिन लगाएर ती स्वभावहरूलाई अलिअलि बुझ्दै जान सक्छस्। त्यसबाहेक, अहङ्कार र छलीपन सबै व्यक्तिमा हुन्छ, केवल त्यसको मात्रा मात्र फरक हुन्छ, त्यसैले यी स्वभावबारे जान्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर व्यक्तिको विचार र दृष्टिकोण सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर छुट्याउन कठिन हुन्छ, र कसैको भ्रष्ट स्वभाव चिन्नुजस्तो सजिलो पनि हुँदैन। जब व्यक्तिको व्यवहार वा बाहिरी अभ्यासहरू अलिकति परिवर्तन हुन्छ, तब उसलाई आफू परिवर्तन भएको छु भन्‍ने लाग्छ, तर वास्तवमा यो व्यवहार परिवर्तन मात्र हो, र यसको अर्थ उसले विभिन्‍न कुराहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ भन्‍ने होइन। मानिसहरूको हृदयको गहिराइमा, अझै धेरै धारणा र कल्पना, विभिन्न सोच, दृष्टिकोण, र परम्परागत संस्कृतिका विषहरू र परमेश्‍वरको प्रतिरोध गर्ने धेरै कुरा हुन्छन्। यी कुराहरू ऊभित्र लुकेका हुन्छन्, उजागर गरिएका हुँदैनन्। यी कुरा उसको भ्रष्ट स्वभाव प्रकटीकरणका स्रोत हुन्, र यी मानिसको प्रकृति सारबाट आउँछन्। त्यही भएर, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ, तैँले उहाँको विरोध गर्छस् र तँ उहाँको विरुद्धमा जान्छस्। परमेश्‍वरले किन त्यसरी काम गर्नुभयो सो तैँले बुझ्‍नेछैनस्, र परमेश्‍वरले गर्नुहुने सबै कुरामा सत्यता हुन्छ भन्‍ने तँलाई थाहा भए पनि र तँ समर्पित हुन चाहे पनि, तैँले आफूलाई त्यसो गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। तँ किन समर्पित हुन असक्षम हुन्छस्? तेरो प्रतिरोध र विरोधको कारण के हो? यो हुन्छ किनकि, मानिसका विचार र दृष्टिकोणहरूभित्र धेरै कुरा हुन्छन् जुन परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्, र ती उहाँले जुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ तीप्रति र उहाँको सारप्रति शत्रुवत् हुन्छन्। मानिसले यी कुराहरूको ज्ञान पाउन कठिन छ। मैले यी वचनमाथि सङ्गति गरेको हुनाले, तिमीहरूले केही अन्तर्दृष्टि पाउन र केही मात्रामा बुझ्न सक्नुपर्ने हो। मानिलिऊँ केही आइपर्दा तिमीहरू परमेश्‍वरबारे धारणाहरू राख्छौ र यस्तो सोच्छौ, “यो परमेश्‍वरको काम हुनै सक्दैन, किनकि उहाँको काम हुँदो हो त उहाँले यसरी गर्नुहुनेथिएन, वा यसरी बोल्नुहुनेथिएन। परमेश्‍वरले गर्ने सबै कुरा नै प्रेम हो, र मानिसलाई त्यो स्विकार्न सजिलो हुन्छ,” तर त्यसपछि मानिलिऊँ तँ यस्तो सोच्छस्, “यसरी सोच्नु गलत हो। परमेश्‍वरले पहिला मानिसहरूले जहाँ बुझ्न सक्दैनन् त्यहाँ सत्यता खोजी गर्नुपर्छ भनेर भन्नुभएको छ। मैले आत्मचिन्तन गर्नुपर्छ, किनकि मलाई आफ्नो हृदयमा भएका धारणा र कल्पनाहरूले नै कष्ट दिइरहेका हुन्छन्, परमेश्‍वरको काम सीमित गर्न लगाइरहेका हुन्छन्। मैले उहाँलाई गलत ठान्नु हुँदैन”—आत्मचिन्तन गर्ने यो सही तरिका हो। जब तँ परमेश्‍वरको काम वा वचन आफ्नो धारणाअनुरूप नभएको देख्छस्, तब नै तैँले आत्मचिन्तन गर्नुपर्छ, तुरन्तै परमेश्‍वरको वचनमा सत्यता खोज्नुपर्छ, आफूलाई ती कुरासँग दाँज्नुपर्छ र त्यसपछि ती कुराअनुसार कार्य गर्नुपर्छ। के यो अघि बढ्ने तरिका होइन र?

भर्खर हामीले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे सङ्गति गऱ्यौँ। तिमीहरूमध्ये धेरैलाई आफ्ना आमाबुबाप्रति निकै ऋणी महसुस हुन्छ, किनकि उनीहरूले तिमीहरूका निम्ति जीवनभर कष्ट भोगेका छन्, र तिमीहरूलाई प्रगाढ माया देखाएका र ख्याल गरेका छन्। यदि कुनै दिन उनीहरू बिरामी परे भने तेरो अन्तस्करण खलबलिन्छ, र तँलाई दोषी महसुस हुन्छ। तँलाई अचानक लाग्छ कि, छोराछोरीको धर्म निभाउन, उनीहरूलाई सान्त्वना दिन र उनीहरूको बुढेसकाल खुसीसाथ बितेको सुनिश्चित गर्न तँ उनीहरूसँग बस्नुपर्छ। तँ यो गर्नु त आफू उनीहरूको सन्तान हुनुको जिम्मेवारी र दायित्व हो भन्‍ने सोच्छस्। तैँले यो दायित्व पूरा गर्दागर्दै यदि परमेश्‍वरले तँबाट कुनै कुरा माग्नुहुन्छ वा अप्रत्याशित तेरो जाँच लिनुहुन्छ भने, उहाँको अभिप्राय तैँले त्यो दायित्व लिनु हुँदैन, बरु परमेश्‍वरमा विश्‍वास राख्नुपर्छ, आफ्नो कर्तव्य राम्रोसँग निभाउनुपर्छ, र सत्यतालाई सिद्धान्तको रूपमा पछ्याउनुपर्छ भन्‍ने हो। यदि परमेश्‍वरले तँलाई आफ्नो आमाबुबाप्रति छोराछोरीको धर्म पूरा नगर्नू वा उनीहरूलाई त्यसरी व्यवहार नगर्नू भनेर सिधै भन्नुभएको भए तँलाई कस्तो लाग्ने थियो? तैँले यस मामिलालाई परम्परागत धारणाको नजरबाट हेर्ने थिइस्, आफ्नो हृदयमा परमेश्‍वरबारे गुनासो गर्ने थिइस्, र उहाँले तेरो भावनाको कदर नगरी त्यस्तो गर्नुभयो, र यसले गर्दा तैँले निभाउनुपर्ने छोराछोरीको धर्म पूरा हुँदैन भनेर सोच्ने थिइस्। तँ आफूले छोराछोरीले निभाउनुपर्ने धर्म, मानवता र विवेकले भरिपूर्ण भएर कार्य गरिरहेको छस्, तर परमेश्‍वर तँलाई तेरो विवेक वा छोराछोरीले निभाउनुपर्ने धर्मअनुसारले कार्य गर्न दिनुहुन्न भनेर सोच्‍नेछस्। त्यसपछि तँ परमेश्‍वरको प्रतिरोध, विरोध र उहाँविरुद्ध विद्रोह गर्नेछस्, अनि सत्यता स्विकार्नेछैनस्। म यो सब मानिसहरूलाई तिनीहरूको विद्रोही प्रकृतिको जड र सार मुख्य रूपमा तिनीहरूको विचार र दृष्टिकोणहरूबाट आउँछन् भनेर बुझाउन भनिरहेको छु। ती विचार र दृष्टिकोण तिनीहरूले परिवार र समाज, साथै परम्परागत संस्कृतिबाट पाउने शिक्षाबाट सिर्जित हुन्छन्। ती कुराहरू पारिवारिक रीतिरिवाज, वा समाज र औपचारिक शिक्षाको प्रभावबाट अलिअलि गर्दै मानिसको हृदयमा गडेपछि, मानिसहरू तीअनुसार जिउन थाल्छन्। तिनीहरू अनजानमै यो विश्‍वास गर्न थाल्छन् कि यो परम्परागत संस्कृति सही, दोषरहित छ, यसको आलोचना गर्न मिल्दैन, र परम्परागत संस्कृतिको मागअनुसार कार्य गरेमा मात्र आफू वास्तविक मानिस बन्न सकिन्छ। तिनीहरूलाई आफूले त्यसो नगरे आफू विवेकहीन, मानवताविपरीत र मानवताविहीन भएको महसुस हुनेछ र तिनीहरू यो कुरा स्विकार्न सक्दैनन्। के यी मानव विचार र दृष्टिकोणहरू सत्यताभन्दा धेरै टाढा छैनन् र? मानव विचार र दृष्टिकोणमा हुने कुरा र मानिसहरूले पछ्याउने लक्ष्यहरू सबै संसारतिर लक्षित हुन्छन्, शैतानतिर लक्षित हुन्छन्। परमेश्‍वरले मानिसले सत्यता पछ्याऊन् भनेर दिनुहुने मापदण्डहरू परमेश्‍वरतिर लक्षित हुन्छन्, ज्योतितिर लक्षित हुन्छन्। यी दुई भिन्न दिशा, दुई भिन्न लक्ष्य हुन्। परमेश्‍वरको लक्ष्य र मानिसप्रतिका उहाँका मापदण्डअनुसार कार्य गर् अनि तेरो मानवता अझ बढी सामान्य हुनेछ, तैँले अझ धेरै मानव स्वरूप प्राप्त गर्नेछस्, र तँ परमेश्‍वरको अझ बढी निकट हुनेछस्। यदि तँ परम्परागत संस्कृतिको विचार र दृष्टिकोणअनुसार कार्य गर्छस् भने, तैँले झन्-झन् आफ्नो विवेक र समझ गुमाउनेछस्, तँ अझै बढी झुटो र नक्कली बन्नेछस्, अझ बढी संसारका चलन पछ्याउनेछस्, र दुष्ट शक्तिको हिस्सा बन्नेछस्। त्यसपछि, तँ पूर्ण रूपमा अन्धकारमा, शैतानको सत्तामा जिउनेछस्। तैँले पूर्ण रूपमा सत्यता उल्लङ्घन गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्।

यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूको विचार र दृष्टिकोणमा परम्परागत संस्कृतिको धेरै कुरा गडेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्‌को ख्याल गरेको र आफ्ना सन्तानको पालनपोषण गरेको, उनीहरू असल श्रीमती र स्नेही आमा बनेको, आफ्नो सारा जीवन आफ्ना श्रीमान्‌ र सन्तानलाई समर्पित गरेको अनि उनीहरूका लागि जिएको, परिवारले तीन छाक खाने निश्चित गरेको, धोइधाइ, सरसफाइ र अरू सबै घरायसी कामकुरा गरेको अपेक्षा गरिन्छ। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य स्तर हो। हरेक महिलाले पनि कामकुरा यसरी नै गरिनुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले विवेकअनुसार काम नगरेको र नैतिकताको स्तर उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। यी नैतिक स्तरहरू उल्लङ्घन गर्दा केहीलाई आफ्नो विवेकले घोच्नसम्म घोच्छ; तिनीहरूलाई आफूले श्रीमान्‌ र सन्तानलाई निराश बनाएको, आफू असल नारी नभएको भन्‍ने लाग्नेछ। तर तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि, उहाँका धेरै वचनहरू पढेपछि, केही सत्यता बुझेपछि, र केही मामिलालाई प्रष्टसित बुझेपछि, यस्तो सोच्नेछेस्, “म सृष्टि गरिएको प्राणी हुँ र मैले आफ्नो कर्तव्य यसरी नै निर्वाह गर्नुपर्छ, र आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्छ।” यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छेस् भने, तैँले आफ्नो कर्तव्य पूर्ण समय निभाउन सक्दिनस्, तर यदि तँ आफ्नो कर्तव्य पूर्ण समय निभाउन चाहन्छेस् भने, तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्न, परमेश्‍वरप्रति बफादार हुन चाहन्छेस् भने, तैँले असल श्रीमती र स्नेही आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनमा कस्तो किसिमको विसङ्गति पैदा हुनेछ? के तँ आफूले आफ्नो सन्तान र श्रीमान्‌लाई निराश बनाएको महसुस गर्नेछेस्? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? के तँ आफूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा नगर्दा, परमेश्‍वरलाई निराश बनाएको महसुस गर्छेस्? तँमा दोषीपनको बोध हुँदैन र तैँले दोषी महसुस गर्दैनस् किनकि तेरो मनमष्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति अनि असल श्रीमती र स्नेही आमा बन्‍नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा “यदि म असल श्रीमती र स्नेही आमा होइन भने, असल वा सुशील नारी होइन” भन्‍ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि र आफ्नो कर्तव्य निभाएपछि पनि तँ यस्ता धारणाहरूद्वारा त्यसरी नै बाँधिएको र जकडिएको हुनेछेस्। जब आफ्नो कर्तव्य निभाउने अनि असल श्रीमती र स्नेही आमा बन्नेकुराबीच द्वन्द्व हुन्छ, तब सायद तँ मन नपरी-नपरी आफ्नो कर्तव्य निभाउन छनौट गर्छेस्, परमेश्‍वरप्रति अलिअलि निष्ठा राख्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजपन र दोषी भावना हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निभाउने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्‌को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको कुरा होइन र? अब तैँले दुइटा डुङ्गामा खुट्टा हालेकी छस्, अर्थात् तँ आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न पनि चाहन्छेस् अनि असल श्रीमती र स्नेही आमा बन्न पनि चाहन्छेस्। तर परमेश्‍वरसामु हाम्रो एउटा मात्र जिम्मेवारी र दायित्व, एउटा मात्र मिशन छ: सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु। के तैँले यो कर्तव्य राम्रोसँग पूरा गरेकी छस्? किन तैँले फेरि बाटो बिराइस्? के तँलाई हृदयमा साँच्चै दोषी र ग्लानि महसुस हुँदैन? किनकि तेरो हृदयमा सत्यताले अझै पनि जग बसालेको छैन, र त्यसमा सत्यताले अझै शासन गर्दैन, त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्दा बाटो बिराउन सक्छस्। अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न सक्षम भए पनि, वास्तवमा अझै सत्यताको मानक र परमेश्‍वरको मापदण्डको स्तरमा पुगेकी छैनस्। के तँ यो तथ्य अहिले स्पष्टसँग देख्न सक्छेस्? परमेश्‍वरले “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” भनेर भन्नुहुँदा, यसको अर्थ के हुन्छ? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्‍वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त परमेश्‍वरद्वारा दिइएका हुन्। हाम्रो देहको जन्म मात्रै आफ्ना बुबाआमाबाट भएको हुन्छ, त्यसरी नै जसरी हाम्रा सन्तान हामीबाट जन्मन्छन्, तर तिनीहरूको नियति पूर्ण रूपमा परमेश्‍वरको हातमा हुन्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। तसर्थ, तैँले अरू कसैप्रतिको दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृष्टि गरिएको प्राणीको हैसियतमा केवल परमेश्‍वरप्रतिको आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले अरू सबै कुराभन्दा माथि राखेर गर्नैपर्ने, आफ्नो जीवनको मुख्य मुद्दाको रूपमा गर्नैपर्ने कुरा यही हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दिनस् भने, तँ सृष्टि गरिएको योग्य प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, उत्तम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजको इमानदार सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, आफ्‍नो दायित्व वा कर्तव्य पूरा गर्दै नगर्ने, र परमेश्‍वरको आज्ञा स्विकारेर अझसम्म पनि पूरा नगर्ने, र आधाउधीमै हार मान्ने व्यक्ति हुन्छेस्। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू बेकम्मा हुन्छन्। तँ जति नै आदर्श श्रीमती र आमा भए पनि, वा तेरो सामाजिक नैतिकताको स्तर जति नै उच्च भए पनि, वा तैँले अरूबाट जति नै अनुमोदन पाए पनि, त्यसको अर्थ तैँले सत्यता अभ्यास गरिरहेकी हुन्छेस् भन्‍ने हुँदैन, झन् परमेश्‍वरमा समर्पित भइरहेको हुनु त परै जाओस्। यदि तँ सत्यताप्रति प्रतिकूल बन्छेस् र त्यसलाई स्विकार्न मान्दिनस् भने, यसले तँमा विवेक वा समझ छैन, सामान्य मानवता छैन, र तँ हृदयमा परमेश्‍वर हुँदै नभएको व्यक्ति होस् भन्‍ने साबित गर्छ। के यस्तो खाले व्यक्ति परमेश्‍वरका मापदण्डहरूभन्दा एकदमै धेरै टाढा हुँदैन र? सत्यता नपछ्याउने व्यक्तिहरू यस्ता हुन्छन्, सधैँ परम्परागत संस्कृतिको विचार र सिद्धान्तअनुसार जिउँछन्, सधैँ समाजका चलन पछ्याइरहन्छन्, तर सत्यता स्विकार्दैनन् र परमेश्‍वरमा समर्पित हुन सक्दैनन्। के यस्ता मानिसहरू दरिद्र र दयनीय हुँदैनन् र? के तिनीहरू मूर्ख र अज्ञानी होइनन् र? के असल श्रीमती र स्नेही आमा बन्नु, असल र अति प्रिय नारी बन्नु भनेको घमण्ड र गर्व गर्नलायक कुरा हो र?

मानिसहरूले आफ्नो हृदयमा राखिराख्ने सबै कुरा सत्यताविपरीत र परमेश्‍वरविरोधी हुन्छन्। यसमा हामीले सकारात्मक, असल, र सामान्यतया सही ठान्ने कुराहरू पर्छन्। हामी यी कुराहरूलाई सत्यता, मानव आवश्यकता र मानिसहरू प्रवेश गर्नुपर्ने कुराको रूपमा समेत हेर्छौँ। तर परमेश्‍वरको नजरमा यी त घृणित कुराहरू हुन्। मानिसहरूले सही मान्ने दृष्टिकोणहरू वा मानिसले सकारात्मक ठान्ने कुराहरू परमेश्‍वरद्वारा व्यक्त सत्यतादेखि कति टाढा छन्? वास्तवमै टाढा छन्—दूरी असीमित छ। त्यसैले हामीले आफूलाई चिन्नैपर्छ, अनि हामीले पाएको औपचारिक शिक्षादेखि लिएर हाम्रो पछ्याइ र रुचि, हाम्रो विचार र दृष्टिकोणदेखि लिएर हामीले छान्ने र हिँड्ने मार्गसम्मका सबै कुरा भित्रैदेखि खनेर उदाङ्गो पार्न र चिरफार गर्नलायक छन्। तीमध्ये कतिपय त आफ्नो परिवारबाट विरासतमा आउँछन्; कतिपयचाहिँ स्कुलको शिक्षाबाट आउँछन्; कतिपय कुरा सामाजिक वातावरणको प्रभाव र अभ्यस्तताबाट आउँछन्; कतिपय भने किताबबाट सिकिन्छ; र कतिपयचाहिँ आफ्नो कल्पना र धारणाबाट आउँछन्। यी सबैभन्दा डरलाग्दा कुरा हुन् किनकि यी हाम्रो मनमाथि हाबी हुन्छन्, र यी कुराले हाम्रा कार्यहरूको आशय, अभिप्राय र लक्ष्यहरूलाई नियन्त्रण गर्छन्। साथै यिनले हाम्रो बोली र कार्यलाई पनि अधीन र नियन्त्रण गर्छन्। यदि हामी यी कुराहरू खोतल्दैनौँ र इन्कार गर्दैनौँ भने, हामीले परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा कहिल्यै पनि स्वीकार गर्नेछैनौं, र हामीले उहाँका मापदण्डहरूलाई शङ्कारहित रूपमा कहिल्यै पनि स्वीकार गर्नेछैनौं र कहिल्यै पनि तिनलाई अभ्यास गर्नेछैनौं। यदि तैँले आफ्‍नै विचार र दृष्टिकोणहरू, र तैँले सही ठानेका कुराहरूलाई आफूभित्र आश्रय दिन्छस् भने, तैँले परमेश्‍वरका वचनहरूलाई कहिल्यै पनि शङ्कारहित रूपमा स्वीकार गर्नेछैनस्, न त तैँले तिनलाई तिनको मूल रूपमा नै अभ्यास गर्नेछस्; तैँले निश्चय नै परमेश्‍वरको वचनहरूलाई आफ्नो हृदयमा केलाइकुलाइ गर्नेछस्, र तिनलाई आफ्नो धारणाअनुरूप बनाएपछि मात्र अभ्यास गर्नेछस्। तैँले यसरी नै कार्य गर्नेछस्, र तैँले यसरी नै अरूलाई आफ्नै तौरतरिकातर्फ डोर्‍याउँदै “सहयोग” गर्नेछस्। तैँले परमेश्‍वरको वचन अभ्यास गरिरहेजस्तो देखिनेछ, तर तैँले मानिसको मिसावटी कुरा अभ्यास गरिरहेको हुनेछस्। तँलाई यो थाहा हुनेछैन, र तैँले आफूले सत्यता अभ्यास गरिरहेको छु, सत्यता वास्तविकतामा प्रवेश गरेको छु, र सत्यता प्राप्त गरिसकेको छु भनी सोच्नेछस्। के यो अहङ्कार र आत्मधर्मीपन होइन र? के यस्तो अवस्था डरलाग्दो होइन र? यदि मानिसहरू सत्यता अभ्यास गर्दा होसियार भएनन् भने विचलन आउनेछ। यदि व्यक्ति परमेश्‍वरको वचन अभ्यास गर्न सधैँ आफ्नो कल्पनामा भर पर्छ भने, उसले सत्यता अभ्यास नगरिरहेको हुने मात्र होइन, ऊ त परमेश्‍वरप्रति समर्पित हुन पनि सक्दैन। यदि कसैले सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छ भने, उसले आफूमा कुन धारणा र कल्पनाहरू छन्, अनि आफ्ना कुन विचारहरू सत्यतासँग मेल खाँदैनन् भनेर चिन्तन गर्नैपर्छ। यी कुराहरू चिरफार गर्दा, यीबारे राम्ररी बताउन वा यिनलाई स्पष्ट पार्न एक-दुइटा शब्द काफी हुँदैन। स्वभावतः जीवनमा यस्ता अरू धेरै मामिला हुन्छन्। विगतमा सङ्कलन गरिएका एक सयभन्दा बढी शैतानका विषहरूजस्तै—तैँले शब्द र वाक्यांशहरू त बुझेको होलास्, तर आफूलाई तीसँग दाँजेर कसरी मापन गरेको छस्? के तैँले ती कुरामाथि चिन्तन गरेको छस्? के तँमा पनि यी विषहरू छैनन् र? तैँले कस्तो विचार गर्छस् के त्यसलाई तिनले पनि प्रतिबिम्‍बित गर्दैनन् र? जब तैँले कुनै कामकुराहरू गरिरहेको हुन्छस्, के तँ पनि ती विषहरूको आधारमा कार्य गर्दैनस् र? तैँले आफ्‍ना व्यक्तिगत अनुभवहरूलाई गहिरिएर नियाल्‍नुपर्छ, र तिनलाई ती वचनहरूद्वारा मापन गर्नुपर्छ। यदि तैँले शैतानका विषहरू खुलासा गर्ने परमेश्‍वरका वचनहरू सरसरी मात्र पढ्छस्, ती सरर्र मात्र हेर्छस्, वा तीबारे केवल सोच्छस्, अनि ती कुरा वास्तवमा विष हुन्, तिनले वास्तवमा मानिसलाई भ्रष्ट पार्छन् र हानि गर्छन् भनी मानिलिन्छस्, र त्यसपछि परमेश्‍वरको वचनलाई एकातिर पन्छाउँछस् भने, तैँले कुनै हालतमा पनि आफ्नो भ्रष्ट स्वभाव हटाउनेछैनस्। धेरै मानिस परमेश्‍वरको वचन पढ्छन्, तर तिनलाई वास्तविकतासँग जोड्न सक्दैनन्। तिनीहरू केवल वचनहरू पढ्छन् र शब्दहरूलाई सरर्र हेर्छन्, र तिनीहरूले शाब्दिक अर्थ बुझे भने आफूले परमेश्‍वरको वचन बुझेको छु, वा अझ सत्यता नै बुझेको छु भन्‍ने ठान्छन्। तर तिनीहरू कहिल्यै आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्दैनन्, र जब तिनीहरूलाई आफूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको रहेछु भन्‍ने थाहा हुन्छ, तब त्यो हटाउन सत्यता खोज्दैनन्। तिनीहरू परमेश्‍वरको वचनले खुलासा गरेका सबै अवस्था वास्तविक हुन् र ती भ्रष्ट स्वभाव व्यक्त भएका अवस्था हुन् भनी स्विकारेर नै सन्तुष्ट हुन्छन्, र त्यतिमै रोकिन्छन्। के परमेश्‍वरको वचन यसरी पढ्ने व्यक्तिले आफूलाई साँच्चै चिन्न सक्छ? के उसले आफ्नो भ्रष्ट स्वभाव हटाउन सक्छ? बिलकुलै सक्दैन। परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिस यसरी नै विश्‍वास गर्छन्, र परिणामस्वरूप, तिनीहरूले दश-बीस वर्ष विश्‍वास गरेपछि पनि आफ्नो स्वभावमा कुनै परिवर्तन देख्दैनन्। यसको मूल कारण तिनीहरूले परमेश्‍वरको वचनमा प्रयास नलगाउनु अनि सत्यता स्विकार्न र आफ्नो हृदयबाट सत्यताप्रति समर्पित हुन नसक्नु हो। तिनीहरू आफ्नो अभ्यासमा केवल नियमहरू पालना गर्छन् र केवल ठूलो दुष्टता गर्नदेखि जोगिन्छन्, र यति गरेर आफूले सत्यता अभ्यास गरिरहेको छु भन्‍ने ठान्छन्। के तिनीहरूको अभ्यासमा विचलन छैन र? के सत्यता अभ्यास गर्न त्यति सहज हुन्छ र? मानिसहरू जीवित प्राणी हुन् र तिनीहरू सबैमा विचार हुन्छ; विशेष गरी मानिसहरू सबैको हृदयमा भ्रष्ट स्वभाव गढेर बसेको हुन्छ, र सबैमा शैतानी प्रकृतिको प्रभुत्वबाट आएका विचार र दृष्टिकोण हुन्छन्। यी सबै विचार र दृष्टिकोण शैतानी स्वभाव प्रकटीकरण भएको अवस्था हो। यदि मानिसहरूले यी कुरालाई परमेश्‍वरको वचनको सत्यताको आधारमा चिरफार गर्न र चिन्न सक्दैनन् भने, तिनीहरूले कुनै हालतमा पनि आफ्नो भ्रष्ट सार चिन्दैनन् र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न सकिँदैन। सत्यता नस्विकार्नेहरू किन यति अहङ्कारी, आत्मधर्मी र उद्दण्ड हुन्छन्? किनभने तिनीहरू सबैमा विभिन्न कुराबारे फरक विचार र दृष्टिकोण हुन्छन्, र तिनीहरूसँग आफूलाई डोऱ्याउने विचार र सिद्धान्त हुन्छन्, त्यसैले तिनीहरूलाई आफू सही छु भन्‍ने लाग्छ, तिनीहरू अरूलाई तुच्छ ठान्छन्, अनि तिनीहरू अहङ्कारी, आत्मधर्मी र उद्दण्ड हुन्छन्। अरूले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्न अनिच्छुक हुन्छन्—तिनीहरू निरन्तर आफूभित्रका विचार र दृष्टिकोणअनुसार जिइरहन्छन्, किनकि ती तिनीहरूको जीवन बनिसकेका हुन्छन्। खासमा तैँले गर्ने सबै कुरामा तेरो मनमा कुनै न कुनै विचार वा दृष्टिकोण हुन्छ, जसले तँलाई त्यो कसरी गर्ने र कुन दिशामा गर्ने भनेर अरनखटन गर्छ। यदि तँलाई यसबारे थाहा छैन भने, तैँले बारम्बार आत्मचिन्तन गर्नुपर्छ, र त्यसपछि तैँले आफ्नो कस्तो विचार र दृष्टिकोणले तेरो कामकुरालाई नियन्त्रण गरिरहेको छ भनेर थाहा पाउनेछस्। निश्चय नै, यदि तैँले अहिले आफ्नो विचार र दृष्टिकोण जाँच्‍ने हो भने, तैले त्यसमा परमेश्‍वरविरोधी कुनै कुरा छैन, आफू इमानदार र निष्ठावान्‌ छु, स्वेच्छाले आफ्नो कर्तव्य निभाउँछु, र यी कुराहरू त्याग्न र आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छु भनेर महसुस गर्ने थिइस्। यी सबै पक्षमा तँलाई आफूले ठिकै गरिरहेको छु भन्‍ने लाग्ने थियो। तर जब परमेश्‍वर तँसँग साँच्चै गम्भीर बन्नुहुन्छ, जब उहाँले तँलाई तेरो धारणासँग नमिल्ने, तँलाई गर्न इच्छा नलाग्ने कुरा गर्न लगाउनुहुन्छ, तब तैँले त्यसलाई कसरी लिनेछस्? त्यस बेला खुला नहरबाट बग्ने पानीझैँ तेरो विचार, दृष्टिकोण, र भ्रष्ट स्वभाव पर्दाफास हुनेछन्—तैँले जति चाहे पनि त्यसलाई नियन्त्रण गर्न सक्‍नेछैनस्। यसले तँलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन रोक्नेछ। तँ भन्‍नेछस्, “मैले किन आफैलाई नियन्त्रण गर्न सक्दिनँ? म परमेश्‍वरलाई विरोध गर्न चाहन्नँ, तर म किन यसो गरिरहेको छु? म परमेश्‍वरको आलोचना गर्न चाहन्नँ, र उहाँका कार्यहरूबारे धारणाहरू राख्‍न चाहन्नँ—तर म किन उहाँको आलोचना गरिरहेको छु? ममा अझै पनि किन यस्ता धारणाहरू छन्?”—यस समयमा, तैँले आफूबारे चिन्तन र आफूलाई चिन्‍ने प्रयास गर्नुपर्छ, र आफूभित्र भएका परमेश्‍वरको विरोध गर्ने र उहाँले अहिले गरिरहनुभएको कामविपरीत हुने कुरा के छन् भनी जाँच्नुपर्छ। यदि तैँले यी कुराहरूलाई जाँच्न र परमेश्‍वरको वचनको सत्यताअनुसार समाधान गर्न सकिस् भने, तैँले जीवन प्रगति गर्नेछस् र तँ सत्यता बुझ्ने व्यक्ति बन्नेछस्।

चीनलाई नास्तिक राजनीतिक पार्टीले शासन गर्छ र चिनियाँ मानिसहरूलाई नास्तिकवाद र क्रम विकासको शिक्षा दिइन्छ, जसमा “सबै कुरा प्रकृतिबाट आउँछन्” र “मानवजाति बाँदरबाट आएका हुन्” भन्‍नेजस्ता लोकप्रिय भनाइहरू छन्। परमेश्‍वरमा विश्‍वास गरेपछि र उहाँको वचनरू पढेपछि, तँलाई मानवलगायत स्वर्ग र पृथ्वी र सबै कुरा परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भनेर थाहा हुन्छ, र सबै जनाले हृदयमा परमेश्‍वरको वचन साँचो हो भनेर महसुस गर्न सक्छन्। सारा प्रकृति परमेश्‍वरको सृष्टि हो, र यदि परमेश्‍वरले सृष्टि नगर्नुभएको भए कुनै कुरा पनि अस्तित्वमा आउने थिएन। मानिसहरू बाँदरबाट आएका हुन् भन्नु एकदमै अमान्य कुरा हो, किनकि मानव इतिहासभरि कसैले कहिल्यै पनि बाँदर मानिस बनेको देखेको छैन। यसको कुनै प्रमाण छैन, र तसर्थ यो सब शैतानको झुट र छल हो। सत्यता बुझ्नेहरूले शैतानका दुष्ट कुराहरू, झुटो शिक्षा र भ्रमहरू इन्कार गर्छन् र निस्सन्देह नै बाइबल र परमेश्‍वरको वचनलाई विश्‍वास गर्छन्। तर सत्यतालाई प्रेम नगर्नेहरूलाई परमेश्‍वरको वचन सत्यता हो भनी पूर्ण रूपले स्विकार्न असम्भव हुन्छ। कतिपयले अचम्‍मित हुँदै प्रश्‍न गर्न सक्छन्, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, तर कसरी? किन मैले यो देखेको छैन? म आफूले नदेखेको कुरा विश्‍वास गर्दिनँ।” परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास आफ्नै आँखाले देख्न सक्ने कुरामा आधारित हुन्छ। यो विश्‍वास गर्नु होइन। मानिस परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरले मानिसलाई अहिलेसम्म क्रमिक रूपमा अगुवाइ गर्दै आउनुभएको छ, र सधैँ मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुभएको छ। यो तथ्य हो। आखिरी दिनहरूमा, परमेश्‍वरले यी सबै रहस्य खुलासा गर्नुभएको छ, मानिस पुनर्जन्म र देहान्तरण हुन्छ, अनि मानव जीवन र आत्मा परमेश्‍वरले दिनुभएको हो र परमेश्‍वरबाटै आउँछन् भनेर भन्नुभएको छ। यो सत्यता हो। तर जब तँ सत्यताको यो पक्ष देख्छस्, तैँले परमेश्‍वरका यी वचनहरू नस्विकार्ने भएकोले, तिनलाई आफ्नो विचार र दृष्टिकोणसँग दाँज्छस्: “मानिस बाँदरबाट नभई परमेश्‍वरबाट आएको हुनाले, मानिस परमेश्‍वरबाट कसरी आयो त? उहाँले मानिसलाई कसरी जीवन दिनुभयो?” यदि तैँले परमेश्‍वरलाई बुझ्दैनस् भने, परमेश्‍वरसँग एकै सास वा एउटै शब्दले मानिस सृष्टि गर्ने शक्ति, बुद्धि वा अख्तियार हुनु असम्भव छ भनी सोच्नेछस्। तँ यो वास्तविकता हो, वा सत्यता हो भनेर विश्‍वास गर्दैनस्। तँ आफूलाई शङ्का लाग्दा, परमेश्‍वरका यी वचनहरूको प्रतिरोध गर्छस्, तिनमा विश्‍वास लाग्दैन भन्छस्, तर खासमा तेरो हृदयमा प्रतिरोध र विरोध गर्ने मनोवृत्ति हुन्छ। परमेश्‍वरले यी वचनहरू बोल्नुहुँदा, तँ ती सुन्न अनिच्छुक हुन्छस्, तेरो हृदयमा विरोध जाग्छ, र परमेश्‍वरको वचनलाई आमेन भन्‍न सक्दैनस्। वास्तवमा तथ्य हेर्ने हो भने, हामीले परमेश्‍वरले कसरी वा कहिले मानिस बनाउनुभयो, त्यो कसले देख्यो, वा कसैले यसको गवाही दिन सक्छ कि सक्दैन भनेर अनुसन्धान गर्न आवश्यक छैन। मानिसहरूले यसको अध्ययन गर्न जरुरी छैन। जब मानिसहरू सच्चा रूपले सत्यता बुझ्छन् र परमेश्‍वरका कार्यहरू चिन्दछन्, तब तिनीहरूले आफै गवाही दिन सक्नेछन्। तिनीहरूले अहिले ध्यान दिनुपर्ने मुख्य मुद्दा के हो? परमेश्‍वरको काम चिन्नु हो। परमेश्‍वरले सुरुवातदेखि अन्त्यसम्म मानिसलाई व्यवस्थित गर्ने र मानवजातिमाझ मानिसलाई मुक्ति दिने आफ्नो काम गरिरहनुभएको छ। सुरुवातदेखि अन्त्यसम्म, एउटै परमेश्‍वर हुनुहुन्छ जो काम गरिरहनुभएको छ, बोलिरहनुभएको छ, र मानवजातिलाई सिकाइरहनुभएको र डोऱ्याइरहनुभएको छ। यो परमेश्‍वर साँच्चै हुनुहुन्छ। परमेश्‍वरले अहिले अत्यन्तै धेरै वचन बोल्नुभएको छ, हामीले उहाँलाई आमनेसामने देखिसकेका छौँ, उहाँले बोल्नुभएको सुनेका छौँ, उहाँको काम अनुभव गरेका छौँ, उहाँका वचनहरू खाएका र पिएका छौँ, र उहाँका वचनहरूलाई आफ्नो जीवन बनाउन आफूभित्र स्विकारेका छौँ। यी वचनहरूले हामीलाई निरन्तर डोऱ्याइरहेका र परिवर्तन गरिरहेका छन्। यो परमेश्‍वर वास्तवमै हुनुहुन्छ। तसर्थ, परमेश्‍वरले भन्नुभएझैँ हामीले मानवजातिको सृष्टि परमेश्‍वरले गर्नुभएको हो, र परमेश्‍वरले सुरुमा आदम र हव्वा सृष्टि गर्नुभयो भनेर विश्‍वास गर्नुपर्छ। तैँले यो परमेश्‍वरको अस्तित्व छ भनी विश्‍वास गर्ने भएकोले र तँ अहिले उहाँसामु आएकोले, के तँलाई अझै पनि यहोवाले गर्नुभएको काम यही परमेश्‍वरको काम हो भन्‍ने पुष्टि चाहिन्छ? यदि यो कसैले पुष्टि गर्न सक्दैन र कसैले देख्दैन भने, के तँ यसमा विश्‍वास गर्नेछैनस्? अथवा अनुग्रहको युगको कामको सम्बन्धमा, के तँ आफूले येशूलाई कहिल्यै नदेखेकोले उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो भनी विश्‍वास गर्दैनस्? यदि तैँले व्यक्तिगत रूपमा वर्तमान परमेश्‍वरले बोल्नुभएको, काम गर्नुभएको वा देहधारण गर्नुभएको नदेखेको भए, के तँ यी कुरा विश्‍वास गर्ने थिइनस्? यदि तैँले यी कुराहरू नदेखेको भए वा यी कुराको पुष्टि गर्न कोही गवाही नभएको भए, के तैँले ती सबै कुरा विश्‍वास गर्ने थिइनस्? यो त मानिसमा हुने निरर्थक गलत दृष्टिकोणको कारण हुन्छ। यो निकै धेरै मानिसले गर्ने गल्ती हो। तिनीहरूले सबै कुरा व्यक्तिगत रूपमा हेर्नुपर्छ, र यदि हेरेनन् भने त्यो विश्‍वास गर्दैनन्। यो गलत हो। यदि व्यक्तिले साँचो रूपमा परमेश्‍वरलाई चिन्छ, तथ्यहरू नदेखीकन समेत उहाँको वचनमा विश्‍वास गर्न सक्छ, र उहाँको वचनको पुष्टि गर्न सक्छ भने मात्र, ऊ सत्यता बुझ्ने र साँचो विश्‍वास भएको व्यक्ति हुन्छ। अब हामीले परमेश्‍वरका यी वचनहरू देखिसकेका र उहाँको आवाज सुनिसकेका छौँ, हामीलाई साँचो विश्‍वास दिलाउन र त्यसैले हामीलाई उहाँलाई पछ्याउन र उहाँबाट आउने हरेक शब्द र सबै काममा विश्‍वास गराउन यो काफी छ। हामीले यी कुरा विश्लेषण वा अनुसन्धान गरिरहनुपर्ने कुनै आवश्यकता छैन। के मानिसहरूसँग हुनुपर्ने समझ यस्तै होइन र? परमेश्‍वरले मानवजाति सृष्टि गर्नुहुँदा, त्यो देख्ने कोही थिएन, तर अहिले परमेश्‍वर सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन, आफ्नो काम व्यावहारिक रूपमा गर्न, मण्डलीमाझ हिँड्न र मानवजातिमाझ काम गर्न देहधारी हुनुभएको छ। के धेरै मानिसले यो देखेका छैनन् र? सबैले यो देख्न सक्दैनन्, तर तँ यसमा विश्‍वास गर्छस्। किन तँ यसमा विश्‍वास गर्छस्? तँलाई परमेश्‍वरको वचन सत्यता हो र यही नै साँचो मार्ग र परमेश्‍वरको काम हो भन्‍ने लागेकोले, तँ यसमा विश्‍वास गर्छस् होइन र? के तँ अझै यसो भन्न सक्छस्, “परमेश्‍वरको कामको यस चरणमा, मैले उहाँले बोल्नुभएको सुनेँ, र उहाँका वचनहरू पनि देखेँ। यो साँचो हो, यी वचनहरू परमेश्‍वरबाट आएका हुन्। तर प्रभु येशूको क्रूसीकरण कामको सम्बन्धमा, मैले उहाँको किलाका डोबहरू स्पर्श गरिनँ, त्यसैले उहाँ क्रूसमा टाँगिनुभएको थियो भन्‍ने कुरालाई विश्‍वास गर्दिनँ। मैले व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले गरेको काम देखिनँ, र उहाँले व्यवस्थाहरू घोषणा गर्नुहुँदा मैले सुनिनँ। ती घोषणा मोशाले मात्र सुने र मोशाका पाँच पुस्तक लेखे, तर मलाई उनले ती कसरी लेखे त्यो थाहा छैन”? के यी कुराहरू भन्‍ने मानिसहरू सामान्य मनस्थितिका हुन् र? तिनीहरू अविश्‍वासी हुन् र परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस होइनन्। ठ्याक्‍कै यस्तै कुरा इस्राएलीहरूले पनि भनेका थिए, “के यहोवा परमेश्‍वर साँच्‍चै मोशामार्फत मात्र बोल्‍नुभएको छ र? के ऊहाँ हामीमार्फत बोल्‍नुभएको छैन र?” (गन्ती १२:२)। यसमा तिनीहरूले यसो भन्न खोजेका थिए: “हामी मोशाको कुरा सुन्नेछैनौँ, हामीले यो कुरा सिधै यहोवा परमेश्‍वरबाट नै सुन्नुपर्छ।” अनुग्रहको युगमा पनि मानिसहरूले यस्तै भनेका थिए, तिनीहरूले व्यक्तिगत रूपमा आफ्नै आँखाले नदेखेकाले, येशू क्रूसमा टाँगिनुभएको थियो वा उहाँ मृत अवस्थाबाट ब्युँतनुभएको थियो भनेर विश्‍वास गरेनन्। त्यति बेला थोमा नामको चेलाले येशूको किलाका डोबहरू छुन्छु भनी जिद्दी गरेको थियो। अनि प्रभु येशूले उसलाई के भन्नुभयो? (“थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२९)।) “तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” खासमा यसको अर्थ के हो? के तिनीहरूले साँच्चै केही नदेखेका हुन्? वास्तवमा, येशूले भनेका सबै कुरा र उहाँले गरेका सबै कामले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने पुष्टि गरिसकेको थियो, त्यसैले मानिसहरूले त्यो विश्‍वास गर्नुपर्थ्यो। येशूले अझ बढी चिन्ह र चमत्कार देखाउनु वा अझ बढी वचनहरू बोल्नु आवश्यक थिएन, र मानिसहरूले विश्‍वास गर्न उहाँको किलाका डोबहरू छुन आवश्यक थिएन। साँचो विश्‍वास देखेको कुरामा मात्र भर पर्दैन, बरु विश्‍वास त आत्मिक पुष्टिद्वारा अन्त्यसम्म कायम रहन्छ र त्यसमा कहिल्यै कुनै शङ्का हुँदैन। थोमा देखेको कुरामा मात्र विश्‍वास गर्ने अविश्‍वासी थियो। थोमाजस्तो नबन्।

थोमाजस्ता मानिसहरूको जमात मण्डलीमा पक्कै हुन्छ। तिनीहरू परमेश्‍वरको देहधारणबारे शङ्का गरिरहन्छन्, र परमेश्‍वरले पृथ्वी छोड्नुहोला, तेस्रो स्वर्गमा फर्कनुहोला, अनि परमेश्‍वरको साँचो रूप देखेर बल्ल विश्‍वास गर्नुपर्ला भनी कुरिरहन्छन्। तिनीहरू परमेश्‍वरले आफ्नो देहधारणको बेला बोलेका वचनहरूको कारण उहाँलाई विश्‍वास गर्दैनन्। यस्तो खाले मानिसले विश्‍वास गर्ने बेलासम्म त सबै कुरा अति ढिलो भइसकेको हुनेछ, र त्यो बेला परमेश्‍वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछ। प्रभु येशूले भन्‍नुभयो, “थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” यी वचनहरूको अर्थ के हो भने, उसलाई प्रभु येशूले निन्दा गरिसक्नुभएको थियो र ऊ एक अविश्‍वासी हो भनेर भनिसक्‍नुभएको थियो। यदि तँ साँचो रूपमा प्रभुमा र उहाँले भनेका सबै कुरामा विश्‍वास गर्छस् भने तँ आशिषित् हुनेछस्। यदि तैँले प्रभुलाई पछ्याएको धेरै समय भएको छ, तर उहाँको पुनरुत्थान क्षमतामा, वा उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनस् भने तँमा साँचो विश्‍वास छैन र तैँले आशिष् पाउन सक्नेछैनस्। विश्‍वासद्वारा मात्र आशिष् पाउन सकिन्छ, र यदि तँ विश्‍वास गर्दैनस् भने, तैँले आशिष् पाउनेछैनस्। के परमेश्‍वर तँसामु प्रकट हुनुभयो, र उहाँले तँलाई उहाँ देख्ने तुल्याउनुभयो, र तँलाई व्यक्तिगत रूपमा विश्‍वस्त पार्नुभयो भने मात्र, तैँले कुनै पनि कुरा विश्‍वास गर्न सक्ने हो? मानव भएर तँ कसरी परमेश्‍वरलाई तेरो सामु व्यक्तिगत रूपमा देखा पर्न लगाउन योग्य छस्? तँ कसरी उहाँलाई तँजस्तो भ्रष्ट मानवसँग व्यक्तिगत रूपमा बोल्न लगाउन योग्य छस्? त्यसबाहेक, कुन कुराले तँलाई तैँले विश्‍वास गर्नुअघि परमेश्‍वरलाई सबै कुरा स्पष्ट बताउन बाध्य पार्न योग्य बनाउँछ? यदि तँसँग समझ छ भने, परमेश्‍वरले व्यक्त गरेका यी वचनहरू पढेपछि नै विश्‍वास गर्नेछस्। यदि तँ साँचो रूपमा विश्‍वास गर्छस् भने, उहाँले भन्‍ने वा गर्ने कुराले केही फरक पर्दैन। बरु, यी वचनहरू सत्यता हुन् भन्‍ने देखेपछि, तँ ती वचन परमेश्‍वरद्वारा भनिएका हुन् र उहाँले ती कुराहरू गर्नुभएको हो भनेर शतप्रतिशत विश्‍वस्त हुनेछस्, अनि तँ उहाँलाई अन्त्यसम्म पछ्याउन तयार भइसको हुनेछस्। तैँले शङ्का गर्नु पर्दैन। शङ्कै-शङ्का गर्ने मानिसहरू अति छली हुन्छन्। तिनीहरू बस परमेश्‍वरमा विश्‍वास गर्नै सक्दैनन्। तिनीहरू सधैँ ती रहस्यहरू बुझ्ने प्रयास गरिरहन्छन् र तिनलाई विस्तृत रूपमा बुझिसकेपछि मात्र विश्‍वास गर्नेछन्। तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने पूर्वसर्त भनेको यी प्रश्नहरूको स्पष्ट जवाफ पाउनु हो: देहधारी परमेश्‍वर कसरी आउनुभयो? उहाँ कहिले आउनुभयो? उहाँ जानुअघि कति समय बस्नुहुनेछ? उहाँ यहाँबाट गएपछि कहाँ जानुहुन्छ? उहाँको जाने प्रक्रिया के हो? देहधारी परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, र उहाँ कसरी जानुहुन्छ? … तिनीहरू केही रहस्य बुझ्न चाहन्छन्; तिनीहरू सत्यता खोजी गर्न होइन, ती रहस्य अनुसन्धान गर्न यहाँ आएका हुन्। तिनीहरू आफूले यी रहस्यहरू बुझ्न नसकुञ्जेल परमेश्‍वरमा विश्‍वास गर्न सकिनेछैन भन्‍ने सोच्छन्; यस्तो लाग्छ, मानौँ तिनीहरूको विश्‍वासमा अवरोध आइपरेको छ। त्यस्ता मानिसहरूमा हुने यो दृष्टिकोण समस्याजनक हुन्छ। तिनीहरूलाई रहस्यहरू अनुसन्धान गर्ने चाहना भइसकेपछि, तिनीहरू सत्यता वा परमेश्‍वरको वचनलाई ध्यान दिने कष्ट उठाउँदैनन्। के यस्ता मानिसहरूले आफूलाई चिन्न सक्लान्? आफूलाई चिन्नु तिनीहरूका लागि सहज हुँदैन। यो निश्चित खालको व्यक्तिलाई निन्दा गर्नु होइन। यदि कुनै व्यक्तिले सत्यता स्विकार्दैन र परमेश्‍वरको वचनमा विश्‍वास गर्दैन भने, ऊसँग साँचो सत्यता हुँदैन। उसले केवल केही वचन, रहस्य, मामुली कुरा, वा मानिसहरूले याद नगरेका समस्याहरू केलाउनमा मात्र ध्यान दिनेछ। तर के पनि सम्भव छ भने, एक दिन परमेश्‍वरले उसलाई अन्तर्दृष्टि दिनुहुनेछ, वा उसलाई उसका दाजुभाइ-दिदीबहिनीहरूले सत्यताबारे नियमित सङ्गति गरेर सहयोग गर्नेछन् र ऊ परिवर्तन हुनेछ। यो भएको दिन, उसले आफ्नो पहिलेका दृष्टिकोणहरू अति निरर्थक रहेछन्, र आफू अति अहङ्कारी थिएछु अनि आफूलाई अति उच्च ठान्थेछु भनेर महसुस गर्नेछ, र ऊ लज्जित हुनेछ। साँचो विश्‍वास गर्नेहरूले परमेश्‍वरले जे भन्नुभए पनि कुनै शङ्काविना त्यो विश्‍वास गर्नेछन् र जब तिनीहरूसँग केही अनुभव हुन्छ र जब तिनीहरूले परमेश्‍वरका वचनहरू सबै पूरा र पूर्ति भएको देख्छन्, तब तिनीहरूको विश्‍वास झन् बलियो हुनेछ। यस्तो खाले मानिस आत्मिक बुझाइ भएको, सत्यतामा विश्‍वास गर्ने र त्यसलाई स्विकार्न सक्ने, अनि साँचो विश्‍वास भएको व्यक्ति हो।

वसन्त, २००८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्