सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग (भाग एक)

अहिले भर्खरै त्यो ब्रदरले सत्यता पछ्याउने शीर्षकमाथि सङ्गति गर्‍यो। यति सङ्गति गरिसकेपछि, के तिमीहरूलाई सत्यता पछ्याउनु कसरी सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यदि परमेश्‍वरमा विश्‍वास गरियो तर सत्यता पछ्याइएन भने, केही पनि प्राप्त हुनेछैन भन्‍ने अनुभूति हुन्छ? सायद अब तिमीहरूमध्ये कतिपय तयार छौ, र लगनसाथ सत्यता पछ्याउने, परमेश्‍वरको वचन सम्बन्धमा मेहनत गर्ने, र सत्यता अझ बढी बुझ्न र अझ बढी अभ्यास गर्न लागिपर्ने मानसिकता बनाएका छौ। के यो सही मानसिकता हो? पक्कै पनि सही हो। यदि यति धेरै सङ्गति गरिसकेपछि पनि तिमीहरूले बिलकुलै कुनै प्रतिक्रिया जनाउँदैनौ भने, त्यो सामान्य कुरा होइन, र यी वचनहरू व्यर्थ हुनेछन्। इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँ देखा पर्नुभएको तृष्णा गर्ने हरेक व्यक्तिको लागि अनि सत्यतालाई प्रेम गर्ने र आखिरी दिनहरूमा परमेश्‍वरमार्फत मुक्ति पाउने आशा गर्ने हरेक व्यक्तिको लागि सत्यता सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता पछ्याउनु अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण छ: त्यो हाम्रो जागिर, हाम्रो जीवन, वा हाम्रो दैहिक सम्भाव्यताभन्दा अत्यन्तै धेरै महत्त्वपूर्ण छ। के अब तिमीहरूले सत्यता पछ्याउनुको महत्त्व चिन्छौ? निस्सन्देह नै, तिमीहरूले आफ्नो हृदयमा निश्‍चित भावनाहरू अनुभव गरिरहेका छौ, र सत्यता पछ्याउनु आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने थाहा पाइरहेका छौ—भन्‍ने नै हो भने, यो तिमीहरू प्रत्येकको लागि जीवनभर चल्ने घटना हो। यति धेरै सङ्गति सुनेपछि, तिमीहरू प्रत्येकसँग अब हृदयमा यस्तो जग अनि यस्तो ज्ञान, भावना, र महसुस हुन सक्छ। यस्ता ज्ञान र भावनाहरू ठिक र सही हुन्, र तिनले प्रमाणित गर्छन् कि तिमीहरूले जे बुझेका छौ, त्यो पूर्णतया परमेश्‍वरको वचनबमोजिम, उहाँले तिमीहरू प्रत्येकमाथि गर्नुहुने कामबमोजिम, र उहाँका अभिप्रायहरूबमोजिम रहेको छ।

धेरैजसो मानिसहरू आशिष्‌हरू प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। सत्यताबारे थोरै बुझे पनि, तिनीहरू आशिषित हुने आफ्नो आशय परित्याग गर्न सक्दैनन्। अनि, सत्यताप्रति मान्छेको मनोवृति कस्तो हुन्छ? हृदयमा, धेरैजसो मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन् र तिनीहरू सत्यताप्रति वास्तासमेत गर्दैनन्, किनकि मान्छेको लागि सत्यता नौलो कुरा हो। सत्यता के हो भन्‍ने कुरा उसले बुझ्दैन, त्यो कहाँबाट आउँछ, उसले त्यसलाई किन पछ्याउनुपर्छ, किन स्विकार्नुपर्छ, किन अभ्यास गर्नुपर्छ, वा परमेश्‍वरले किन त्यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ भन्‍ने कुरा त उसले झनै बुझ्दैन। हरेक व्यक्तिको लागि यी सबै प्रश्‍नहरू नयाँ कुरा हुन्, र तिनीहरूले तीबारे कहिल्यै सोचविचार गरेका छैनन्, न त तिनीहरू कहिल्यै तिनको सम्‍मुख नै परेका छन्। अहिले परमेश्‍वर आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ र उहाँले थुप्रै वचनहरू व्यक्त गर्नुभएको छ, त्यसैले परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हामी सत्यताको हरेक पक्षसँग सम्बन्धित थुप्रै मामिलाहरूको सम्पर्कमा आउँछौँ। सत्यता खोजी नगरी निकास कहीँ नमिल्ने भएकोले, हामीमा सत्यताको बुझाइ हुनु आवश्यक छ, र वास्तविकताको सन्दर्भमा हामीले परमेश्‍वरका वचनहरू पढ्नुपर्छ। परमेश्‍वरको वचनको हरेक वाक्य सत्यता हो, र व्यक्तिले बुझ्नको लागि व्यक्तिले व्यक्तिगत रूपमै त्यो अनुभव गर्नु आवश्यक छ। किनकि जन्मदेखि वयस्कतासम्म, जागिर पाउञ्जेल, वैवाहिक बन्धनमा बाँधिउञ्जेल र कुनै करियरमा लागुञ्जेल, व्यक्ति जिउने परिवेशभित्रको हरेक कुरा—जस्तै, उसले सामना गर्ने मानिस, घट्ना, र वस्तुहरू अनि उसको वरिपरि हुने सबै कुरा—वास्तवमा सत्यतासँगै सम्बन्धित छ, तर एउटै व्यक्तिले पनि यी कुराहरूलाई सत्यतासँग जोडेर हेर्दैन। त्यसैले हरेक व्यक्तिको लागि सत्यता नौलो कुरा हो भनेर भनिन्छ। पूरै मानवजातिमा कसैले पनि सत्यता बुझ्दैन, त्यसैले यसको लागि अबदेखि तिमीहरूले सत्यता सामना गर्न, स्विकार्न, र पछ्याउन थाल्नुपर्छ। यो आवश्यक छ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्न सत्यता पछ्याउनुपर्छ, र सत्यताले मात्र तँलाई परिवर्तन गर्न, सिद्ध पार्न, मुक्ति दिलाउन, र परमेश्‍वरसामु साँच्चिकै आउने तुल्याउन सक्छ भनेर अझै बुझेको छैनस् भने—यदि तँ यी कुराहरू बुझ्न सक्दैनस् भने, तँ सत्यताप्रति इच्छुक हुनेछैनस्, तैँले सत्यता पछ्याउन सक्नेछैनस्, र अघि बढ्ने क्रममा तेरो उत्साह आफै हराउनेछ। कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नको लागि मण्डली जीवन जिउनु र कर्तव्य निभाउनु नै पर्याप्त छ, त्यसैले हामीले किन सत्यता पछ्याइरहन आवश्यक छ र? हामी कुनै दुष्टता गर्दैनौँ, र अरूको पछि लाग्दैनौँ, परमेश्‍वरको प्रतिरोध गर्दै झूटा अगुवा वा ख्रीष्टविरोधीहरूको पछि लाग्‍ने त झनै गर्दैनौँ। हामी सबैले परमेश्‍वरमा विश्‍वास गर्नेबारे केही धर्मसिद्धान्तहरू बुझेका छौँ र हामी परमेश्‍वरप्रति हाम्रो आस्थालाई अन्त्यसम्म कायम राख्न सक्छौँ, त्यसैले हामीले अझ गहन सत्यताहरू बुझ्न आवश्यक छैन।” के यो दृष्टिकोण सही हो? (होइन।) किन होइन? (किनभने मानिसहरूले सत्यता प्राप्त गरेका छन् भने मात्र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ।) ठिक भनिस्। अहिले हृदयमा कतिपय मानिसहरू मानवजातिको मुक्तिको लागि सत्यताको महत्त्वबारे धेरथोर सचेत छन्। तिनीहरू अझै पनि सत्यता मान्छेको जीवन बन्नुको मूल्य र महत्त्व प्रस्ट रूपमा बुझ्नबाट अलि टाढा होलान्, तर तिनीहरूको हृदयमा रहेको यो भावना र चेतना निकै मूल्यवान्‌ छ। अनि, यो भावना र चेतनाले मानिसहरूको हृदयमा जरा गाड्न सक्छ सक्दैन भन्‍ने कुरा महत्त्वपूर्ण छ, र त्यो कुरा मान्छेका भावी पछ्याइहरूमा भर पर्छ। अब तँसँग यो चेतना छ र यो राम्रो कुरा हो। यसले तँ मुक्तिको बाटोमा हिँड्छस् भन्‍ने आशा दिन्छ। सत्यता पछ्याउनु वास्तवमै महत्त्वपूर्ण छ। उदाहरणको लागि, तँ नकारात्मक र कमजोर हुँदा, के तँ सत्यताको साथ र भरणपोषणविना बलियो बन्न सक्छस् र? के तँ आफ्ना कमीकमजोरीहरू पार गर्न सक्छस् र? के तैँले तँलाई कुन कुराले कमजोर र नकारात्मक बनाउँछ भनेर चिन्न र चिरफार गर्न सक्छस् र? निश्‍चय नै तैँले सक्दैनस्! जब तँ आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा हुन्छस्, र यदि तँ सत्यता पछ्याउँदैनस् भने, के तैँले यो भ्रष्ट स्वभाव समाधान गर्न सक्छस्? के तैँले तेरो कर्तव्य निर्वाहमा परमेश्‍वरप्रति बफादारी हासिल गर्न सक्छस्? के मान्छेले सत्यता नखोजी आफूलाई चिन्न र आफ्नो भ्रष्टता अनि आफ्नो अहङ्कार सुल्झाउन सक्छ? मान्छेसँग सधैँ परमेश्‍वरबारे धारणाहरू हुन्छन् र उसले सधैँ परमेश्‍वरलाई उसका आफ्नै धारणा र कल्पनाहरूद्वारा मापन गरिरहेको हुन्छ। के यसलाई सत्यताबिना सुल्झाउन सकिन्छ र? सकिँदैन। हामीले हाम्रो जीवनमा आइपर्ने थुप्रै कुराहरूमा विकल्प रोज्नुपर्ने अवस्था सामना गर्छौँ। यदि हामी सत्यता बुझ्दैनौँ भने, यदि हामी परमेश्‍वरका अभिप्रायहरू के हुन् र उहाँले हामीलाई के मापदण्ड दिनुहुन्छ भनेर बुझ्दैनौँ भने, हामीसँग अभ्यासको कुनै मार्ग छैन। त्यसपछि हामीले आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्नेछौँ, अनि हामीले सजिलै गल्तीहरू गर्नेछौँ, र गलत मार्ग रोज्नेछौँ। के मान्छेको भ्रष्ट स्वभावको विद्यमानतालाई उसले बुझ्ने शब्द र धर्मसिद्धान्तहरूद्वारा सुल्झाउन सकिन्छ? यदि तँ सत्यता खोजी गर्दैनस् भने, तैँले जीवनमा गर्ने कुनै कुरामा पनि सिद्धान्तहरू छैनन्, तँसँग पछ्याउने कुनै मार्गहरू छैनन्, र तँसँग कुनै लक्ष्य वा दिशाहरू पनि छैनन् भनेर भन्न सकिन्छ। यदि वास्तविकता यही हो भने, तैँले गर्ने हरेक कुरा सत्यता सिद्धान्तहरूको विपरीत छन्, जुन परमेश्‍वरप्रतिको प्रतिरोध र उहाँप्रतिको विश्‍वासघातको सङ्केत हो, अनि तेरा कार्यहरू परमेश्‍वरद्वारा घिनाइने र धिक्‍कारिनेछन्। यदि तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूद्वारा जिउँछौ भने, परमेश्‍वरको न्याय र सजाय नस्विकारुञ्जेल तिमीहरूमध्ये कसैले पनि मुक्ति प्राप्त गर्नेछैनौ। त्यसकारण, सत्यतालाई साँचो रूपमा बुझ्नुअघि, हरेकले केही न्याय र सजाय, केही ताडना र अनुशासन भोग्नुपर्नेछ। यो सब मानिसहरूलाई सत्यता प्राप्त गर्न र आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्षम तुल्याउने उद्देश्यको लागि हो।

तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे केही धर्मसिद्धान्तहरू बुझ्ने भए पनि, हरेक कुरा अनुभव गर्दा तिमीहरू प्रायः दुविधामा पर्छौ। तिमीहरू असमञ्जसमा पर्छौ र परमेश्‍वरका अभिप्रायहरू बोध गर्नै सक्दैनौ, तिमीहरूलाई के अभ्यास गर्ने भन्‍ने थाहै हुँदैन, अनि जतिसुकै चिन्ता गरे पनि त्यसले समाधान ल्याउँदैन। तँ सङ्गति गर्ने अवसर खोज्न चाहन्छस् तर समस्या के हो भन्‍ने नै तँलाई थाहा छैन, तँ परमेश्‍वरको वचनमा जवाफहरू खोज्न चाहन्छस्, तर उहाँको वचन असीमित छ र तँसँग कुनै लक्ष्य छैन। के प्रायः यस्तै हुँदैन र? यसले सबै कुराहरूमा सत्यता कसरी खोज्ने भनेर नयाँ विश्‍वासीहरूलाई थाहा नहुने सङ्केत गर्छ। त्यसकारण, तिमीहरूले भेलाहरूमा सोध्ने धेरैजसो प्रश्‍नहरू साथै तिमीहरूको सङ्गतिका धेरैजसो वचनहरू सत्यतासँग असम्बन्धित हुन्छन्। यसले देखाउँछ कि धेरैजसो मानिसहरूलाई वास्तविक जीवनमा सत्यता कसरी अभ्यास गर्ने भनेर थाहै हुँदैन, न त तिनीहरूलाई आफूमाथि घटनाहरू घट्दा कसरी सत्यता खोज्ने भनेर नै थाहा हुन्छ, झन् तिनीहरूसँग अभ्यासको सिद्धान्त र लक्ष्यको रूपमा सत्यता हुने त कुरै नगरौँ। के हरेकको लागि यो एउटा कठिनाइ हो? यदि तैँले सत्यताको सिद्धान्त बोध गरेको थिइस् र तँलाई आइपर्ने घटनाहरूमा त्यसको सार बुझेको थिइस् भने, के तँ अझै प्रायः दुविधामै हुन्थिस् र? पक्कै हुन्थिनस्। तँलाई केही दुविधा नै महसुस भए पनि, त्यो कि त सत्यताबारे तेरो बुझाइ अत्यन्तै सतही भएर हो, कि त सत्यताबारे तेरो अनुभव सीमित भएर हो। तँ परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्दैनस्, तेरो भ्रष्टता समाधान भएको छैन, अनि तँलाई हृदयमा पीडा अनुभूत हुन्छ। अहिले सत्यता पछ्याउनमा तिमीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? के त्यो तिमीहरूलाई सङ्गति गर भनेर सत्यताको कुनै शीर्षक उठाइदिँदा तिमीहरू डराउनु हो? के त्यो वचन र धर्मसिद्धान्तहरू व्यक्त गर्न डराउनु र वास्तविकताबारे कुरा गर्न नसक्नु हो? अनि, के त्यो आफूलाई केही आइपर्दा असमञ्जसमा परिने हो कि भनेर झनै डराउनु हो? (हो।) यो तिमीहरूसँग हृदयमा सत्यता नभएर भएको हो। यदि तिमीहरूको हृदयमा सत्यता हुन्थ्यो भने, तिमीहरूलाई यी कुराहरू सम्हाल्न त्यति कठिन हुन्थेन। आफूमाथि घटनाहरू घट्दा, के गर्ने भनेर कतिपय मानिसहरूलाई थाहै हुँदैन। तिनीहरू परमेश्‍वरको वचनमा सत्यता खोज्न जान्दछन्, तर सही जवाफ तुरुन्तै नआउने हुनाले तिनीहरू सम्झौता गर्ने शैली अपनाउँछन्। अर्थात, तिनीहरू परमेश्‍वरको वचनको शाब्दिक बुझाइमै चित्त बुझाउँछन्, र तिनीहरूले प्रावधानहरू पालना गर्छन्। यदि तिनीहरूले आफ्ना प्रार्थनाहरू उच्‍चारण गर्छन् र तिनीहरूको हृदय शान्त र आश्‍वस्त हुन्छ भने, र यदि तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्छन् र उनीहरूसँग तिनीहरूकोभन्दा ठूलो अन्तर्दृष्टि हुँदैन भने, तिनीहरूलाई यसरी अभ्यास गरे पुग्ने रैछ भन्‍ने लाग्छ। खासमा, यस्तो अभ्यास सत्यताको मानकभन्दा निकै पर हुन्छ, सत्यता वास्तविकताभन्दा निकै पर हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूभन्दा पनि निकै पर हुन्छ। यो सत्यता अभ्यास गर्ने सिद्धान्त होइन। यदि तँलाई सत्यता अभ्यास गर्ने र बुझ्ने इच्छा छ भने, तैँले सुरुमा तेरो दैनिक जीवनमा विभिन्‍न कुराहरू आइपर्दा सत्यता खोज्नैपर्छ। अर्थात्, तैँले यस्ता कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा हेर्नुपर्छ; जब समस्याको सार स्पष्ट हुन्छ, तब तँलाई कसरी सत्यता सिद्धान्तहरूअनुरूप अभ्यास गर्ने भन्‍ने थाहा हुन्छ। अनि यदि तैँले परिस्थितिलाई सधैँ परमेश्‍वरका वचनहरूअनुसार हेर्छस् भने, तेरा वरिपरि घट्ने सबै घटनाहरूमा तैँले परमेश्‍वरको हात, अर्थात् परमेश्‍वरका कार्यहरू देख्‍न सक्‍नेछस्। कतिपय मानिसहरूले तिनीहरूको वरिपरि जे-जस्ता घटनाहरू घटे पनि, तिनीहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वा सत्यतासँग यसको कुनै सम्‍बन्ध छैन भन्‍ने ठान्छन्; तिनीहरूले शैतानका दर्शनहरूअनुसार प्रतिक्रिया जनाउँदै आफ्‍नै इच्‍छाहरू पछ्याउँछन्। के तिनीहरूले यसरी कुनै पाठ सिक्‍न सक्छन्? अवश्य सक्दैनन्। यही कारणले गर्दा धेरै मानिसहरूले दश-बीस वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि सत्यता बुझेका वा जीवन प्रवेश पाएका हुँदैनन्। तिनीहरूले आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरलाई समाहित गर्न, वा तिनीहरूको वरिपरि घट्ने सबै घटनालाई परमेश्‍वरका वचनहरूअनुसार लिन सक्दैनन्, त्यसकारण जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसको वास्तविकता बुझ्‍न सक्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार यसलाई सम्‍हाल्‍न नै सक्छन्। त्यस्ता मानिसहरूको जीवन प्रवेश हुँदैन। कतिपय मानिसहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्दा मष्तिष्क मात्रै लगाउँछन्; त्यस्तो बेला, तिनीहरूले थोरै ज्ञानको कुरा बोल्‍न सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा आइपर्ने कुनै पनि कुरामा लागू गर्न सक्दैनन्, न त तिनीहरूलाई सत्यता अभ्यास गर्न नै आउँछ, त्यसकारण तिनीहरूले तिनीहरूको दैनिक जीवनमा घट्ने सबै घटनाहरूको सत्यतासँग कुनै सम्‍बन्ध हुँदैन, परमेश्‍वरका वचनहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन भन्‍ने सोच्छन्। परमेश्‍वरमाथिको तिनीहरूको आस्थामा, यस्तो लाग्छ मानौँ तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतालाई ज्ञानको क्षेत्रको रूपमा हेर्छन्, तिनीहरूको दैनिक जीवनबाट पूर्ण फरक र तिनीहरूको दृष्टिकोण, जीवन उद्देश्य, र जीवनका खोजहरूभन्दा पूर्ण अलग कुराको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको त्यस्तो स्वरूपको विश्‍वासलाई हामीले कुन रूपमा लिनुपर्छ? के तिनीहरू सत्यता बुझ्‍न र वास्तविकतामा प्रवेश गर्न सक्षम बन्नेछन्? जब तिनीहरूले परमेश्‍वरलाई यसरी विश्‍वास गर्छन्, के तिनीहरू परमेश्‍वरलाई पछ्याउनेहरू हुन्छन्? तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू होइनन्, परमेश्‍वरका अनुयायी त झनै होइनन्। परिवार, विवाह, काम वा तिनीहरूको सम्‍भाव्यतासँग सम्‍बन्धित लगायत तिनीहरूको दैनिक जीवनका सबै समस्याहरूलाई तिनीहरूले सत्यतासँग कुनै सम्‍बन्ध नभएका कुराहरूका रूपमा लिन्छन्, त्यसकारण तिनलाई मानव शैलीहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। यसरी अनुभव गरेर, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनन्, परमेश्‍वरले मानिसहरूमा कुन कार्य सम्पन्‍न गर्न चाहनुहुन्छ, र तिनीहरूमा कस्तो प्रभाव हासिल गर्न चाहनुहुन्छ भन्‍नेबारेमा कहिल्यै बुझ्‍नेछैनन्। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न र परिवर्तन गर्नका लागि सत्यता व्यक्त गर्नुहुन्छ, तर सत्यता स्विकारेर अनि पछ्याएर मात्रै तिनीहरू आफ्‍ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्‍ने बन्‍नेछन् भन्‍ने तिनीहरूलाई थाहै छैन; आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्रै तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् भन्‍ने तिनीहरूलाई थाहै छैन। के त्यस्ता मानिसहरू बुद्धू अज्ञानी हुँदैनन् र? के तिनीहरू सबैभन्दा मूर्ख र हास्यास्पद मानिसहरू होइनन् र? परमेश्‍वरमाथिको विश्‍वासमा कतिपय मानिसहरूले कहिल्यै सत्यतालाई पछ्याएका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको भेलामा जानु, प्रार्थना गर्नु, भजन गाउनु, र परमेश्‍वरको वचन पढ्नु हो; तिनीहरूले धार्मिक विधिमा जोड दिन्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूको अभ्यास वा अनुभव कहिल्यै गर्दैनन्। धर्मका मानिसहरूले यसरी नै परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। अनि जब मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासजस्तो महत्त्वपूर्ण कुरालाई धार्मिक विश्‍वासको रूपमा मात्रै लिन्छन्, तब के तिनीहरू अविश्‍वासीहरूमा पर्दैनन् र? के तिनीहरू गैरविश्‍वासीहरू होइनन् र? सत्यता पछ्याउनको लागि धेरै प्रक्रियाहरू अनुभव गर्नुपर्ने हुन्छ। यसको एउटा सरल पक्ष छ, र त्यसमा एउटा जटिल पक्ष पनि छ। सरल रूपमा भन्दा, हामीले सत्यताको खोजी गर्नुपर्दछ र हाम्रो वरिपरि आइपर्ने सबै कुरामा परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभव गर्नुपर्दछ। यसो गर्न थालेपछि, तैँले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले कति धेरै सत्यता प्राप्त गर्नुपर्छ र कतिसम्म पछि लाग्नुपर्छ, र सत्यता अति व्यावहारिक छ र सत्य नै जीवन हो भनी झन्-झन् बुझ्‍न थाल्‍नेछस्। मानवजातिले सत्यतालाई जीवनको रूपमा प्राप्त गर्न सकोस् भनेर परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ। कर्तव्य पूरा गर्ने मानिसहरू, अगुवा र सेवकहरू, वा परमेश्‍वरको सेवा गर्नेहरूले मात्रै होइन, सृष्टि गरिएका सारा मानवजातिले नै सत्यतालाई जीवनको रूपमा स्वीकार गर्नुपर्छ। परमेश्‍वरका वचनहरू सारा मानवजातिप्रति लक्षित छन्, र परमेश्‍वर सारा मानवजातिसँग बोल्‍नुहुन्छ। त्यसकारण, सृष्टि गरिएका सबै प्राणीले र सारा मानवजातिले परमेश्‍वरका वचनहरू र सत्यता स्वीकार गर्नुपर्छ, सबै कुरामा सत्यता खोजी गर्नुपर्छ, त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र यसरी तिनीहरू सत्यता अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्षम बन्‍न सक्छन्। यदि अगुवा र सेवकहरूलाई मात्रै सत्यता अभ्यास गर्न लगाइन्थ्यो भने, त्यो पूर्ण रूपमा परमेश्‍वरको अभिप्रायविपरीत हुन्थ्यो, किनभने परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता सारा मानवजातिको लागि हो, र यो एकदुई जना मानिसहरूलाई मुक्ति दिनको लागि नभई, सम्पूर्ण मानवजातिलाई मुक्ति दिने उद्देश्‍यले व्यक्त गरिएको हुन्छ। यदि त्यस्तो हुन्थ्यो भने, परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूको अर्थ त्यति धेरै हुन्थेन। के अब तिमीहरूसँग सत्यताको पछि लाग्ने मार्ग छ? सत्यताको पछि लाग्दा अभ्यास गरिनैपर्ने पहिलो कुरा के हो? अरू सबै कुराभन्दा पहिले, तैँले परमेश्‍वरका वचनहरू खान र पिउन र प्रवचन र सङ्गतिहरू सुन्‍ने कार्यमा धेरै समय बिताउनुपर्छ। जब तैँले कुनै समस्याको सामना गर्छस्, तब प्रार्थना गर् र धेरै खोजी गर्। जब तिमीहरूले आफैलाई धेरै सत्यताले सुसज्जित पार्छौ, जब तिमीहरू तुरुन्तै वृद्धि हुन्छौ र कद प्राप्त गर्छौ, तब तिमीहरूले कर्तव्य निभाउन र थोरै काम गर्न सक्‍नेछौ, र तिमीहरू केही जाँच र परीक्षाहरू पार गर्न सक्नेछौ। त्यस बेला, तिमीहरूले केही सत्यताहरू बुझेका र प्राप्त गरेका छौ भन्‍ने महसुस गर्नेछौ, अनि तिमीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सबै सत्यता हुन्, ती भ्रष्ट मानवजातिको मुक्तिको लागि सबैभन्दा अत्यावश्यक सत्यता हुन्, र ती अद्वितीय सृष्टिकर्ताले दिनुभएका जीवनका सत्यता हुन् भन्‍ने अनुभूति गर्नेछौ। अहिले, तिमीहरूसँग कुनै अनुभव छैन; तिमीहरूसँग हृदयमा थोरै तृष्णा मात्र छ। तिमीहरूलाई परमेश्‍वरका वचनहरू गहन रहेको, र तिनमा तिमीहरूले प्राप्त गर्न नसक्ने अति धेरै कुराहरू, र तिमीहरूले बुझ्न नसक्ने अति धेरै सत्यताहरू भएको अनुभूति हुन्छ। केही कुराहरूको सार अझै अस्पष्ट हुन्छन्, र तिमीहरूलाई सत्यताबारे आफ्नो बुझाइ अति सतही भएको अनुभूति हुन्छ। तिमीहरूको हृदयमा यस्तो तृष्णा भएको र तिमीहरूसँग यस्तो ऊर्जा भएको मात्र हो, तर तिमीहरूले सत्यता प्राप्त गर्न सक्छौ सक्दैनौ भन्‍ने कुरा तिमीहरूले भविष्यमा कसरी सत्यता अभ्यास गर्छौ र पछ्याउँछौ भन्‍नेमा निर्भर हुन्छ।

आखिरी दिनहरूको न्यायको काममा, कल्पना गर् कि परमेश्‍वरले केही सरल सत्यताहरू मात्र व्यक्त गर्नुहुन्छ: गहन कुरा केही होइन, मानिसहरूलाई न्याय र खुलासा गर्नुसँग अत्यन्तै सम्बन्धित कुराहरू त झनै होइन, बरु मानिसहरूले स्विकार्न सक्ने र तिनीहरूको दिमागले बुझ्न सक्ने थोरै वचन—अर्थात्, प्रतिज्ञा र आशिष्‌का केही वचनहरू वा अर्तीका केही वचनहरू मात्र व्यक्त गर्नुहुन्छ। मानिसहरूले यी वचनहरू स्विकारे पनि के तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् त? एउटा उदाहरण लिऊँ। मानौँ परमेश्‍वरले यति मात्र भन्नुहुन्छ, “तिमीहरू सबैमा भ्रष्टता गहिरो रूपमा गढेको छ। तिमीहरू सबै सत्यताविहीन छौ, र तिमीहरू सबै मप्रति बफादार छैनौ। तिमीहरूको प्रकृति सार शैतानको प्रकृति बनेको छ; तिमीहरू जीवित शैतान बनेका छौ। तिमीहरू मप्रति शत्रुवत्‌ छौ, र तिमीहरूमा सत्यताप्रति कुनै प्रेम छैन।” त्यसपछि उहाँले मानिसहरूलाई “गएर पत्ता लगा!” भन्नुहुन्छ, र त्यसलगत्तै “सत्यतालाई प्रेम गर्ने व्यक्ति आशिषित हुन्छ। जो मप्रति बफादार छ, उसले मेरा अभिप्रायहरू पूरा गर्न सक्‍नेछ, र उसले अन्त्यसम्‍मै यो बाटो हिँडेर मेरो वाचा प्राप्त गर्न सक्नेछ” भनेर भन्नुहुन्छ। यदि परमेश्‍वरले मानिसहरूलाई यति मात्र भन्नुभयो भने, के तिनीहरूको हृदयमा हलचल हुनेथ्यो? के तिनीहरू सत्यतामा लागिपर्थे? तिनीहरूलाई कस्तो अनुभूति हुनेथ्यो? “हामीले परमेश्‍वरका सम्पूर्ण वचनहरू पढेका छौँ, र हामी सबैमा भ्रष्ट स्वभावहरू भए पनि, हामी दुष्ट मानिसहरू होइनौँ र परमेश्‍वरको प्रतिरोध गर्नेछैनौँ। यति मात्र हो कि हामीमा विद्रोही स्वभावहरू छन्, हामी नैतिक रूपमा धेरथोर भ्रष्ट छौँ र हामीमा अलि कमसल चरित्र छ, अनि हामीमा सांसारिक प्रवृतिहरू पछ्याउने रूचि छ। तर अब त हामीले केही सत्यताहरू बुझ्छौँ र आफ्नो बारे चिन्तन गर्न र आफूलाई चिन्न सक्ने भएका छौँ, त्यसैले हामी निश्‍चय नै यी भ्रष्ट कुराहरूलाई फाल्न सक्छौँ।” के धेरै मानिसहरू यो स्थितिमा हुँदैनन् र? तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको धर्मसिद्धान्त बुझ्नु नै सत्यता बुझ्नु हो भन्ठान्छन्, र त्यो अत्यन्तै खतरनाक हुन्छ। गौरवसाथ शब्द र धर्मसिद्धान्तहरूको प्रवचन दिनेहरू तुरुन्तै खस्छन् र कुनै परीक्षा आइपरेपछि तिनीहरू खुलासा हुन्छन्। के सत्यताको पछ्याइ अनि न्याय र सजायको स्वीकारविना भ्रष्ट स्वभावलाई फाल्न सकिन्छ? यो असम्भव छ। समय बितिरहेकोबारे तिमीहरू प्रस्ट हुनुपर्छ, र सत्यता प्राप्त गर्नहेतु यदि तिमीहरू कष्ट सहन र मूल्य चुकाउन सक्दैनौ भने, तिमीहरूले धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरमा विश्‍वास गरेर सजिलै समय खेर फाल्नेछौ। त्यसपछि, जब ठूलो सङ्कष्ट आउँछ, तब चाहेर पनि तिमीहरूसँग सत्यता पछ्याउने समय हुनेछैन, र तिमीहरूले मुक्ति पाउने मौका पूर्णतया गुमाएका हुनेछौ। अहिले तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिमीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनौ। के तिमीहरूलाई परमेश्‍वरले सत्यता व्यक्त गर्नु र न्यायको काम गर्नुको कारण साँच्चिकै थाहा छ? परमेश्‍वरले व्यक्त गर्नुहुने हरेक वचन, हरेक विषय, र हरेक सत्यता तिमीहरूको लागि महत्त्वपूर्ण र अत्यन्तै लाभदायी हुन्छ। तिमीहरूले आज यो कुरा देख्न, अनुभव गर्न, वा अनुभूति गर्न सके वा नसके पनि, अनि तिमीहरूले अहिले वास्तवमा जतिसुकै हासिल गरेका भए पनि, तीनदेखि पाँच वर्षको अनुभवपछि, तिमीहरूलाई परमेश्‍वरले आज बोल्नुभएका वचनहरू साँचो रहेछन्, र यी वचनहरू व्यक्त गरेर परमेश्‍वरले कस्तो महान काम गर्नुभएछ भन्‍ने अनुभूति हुनेछ! यदि परमेश्‍वरले मान्छेलाई अझै पनि अनुग्रहको युगमा झैँ लाडप्यार गर्नुहुन्थ्यो र उसलाई “उहाँको छातीको थुमा” र हराएको एउटा भेडा जसलाई फेला पार्न उहाँ अरू उनान्सयलाई परित्याग गर्नुहुन्थ्यो भनेर भन्‍नुहुन्थ्यो भने, मान्छेले यस्तो सोच्नेथ्यो, “परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन अत्यन्तै महान् छन्; मान्छेप्रतिको परमेश्‍वरको प्रेम अत्यन्तै गहिरो छ!” यदि मान्छेले सधैँ यसरी नै परमेश्‍वरबारे सोच्छ र यसरी नै उहाँलाई हेर्छ भने, उसले साँच्चिकै परमेश्‍वरको खोजी गर्नेछैन, ऊ परमेश्‍वरसामु आउनेछैन, ऊ परमेश्‍वरप्रति समर्पित हुनेछैन, र उसमा परमेश्‍वरको डर मान्ने हृदय हुनेछैन। परमेश्‍वरबारे साँचो बुझाइविना, मान्छेको भ्रष्ट स्वभाव फालिनेछैन; उसले परमेश्‍वर र सत्यताप्रति अवहेलनाको मनोवृतिले व्यवहार गर्नेछ, र उसले दियाबलस र शैतानले झैँ परमेश्‍वरको प्रतिरोध गर्नेछ। यदि त्यस्तो अवस्था छ भने, सत्यता के हो भन्‍ने कुरा मान्छेले कहिल्यै बुझ्नेछैन, परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु भनेको के हो, र सत्यता खोज्नु र प्राप्त गर्नु भनेको के हो भन्‍ने कुरा उसले साँचो रूपमा कहिल्यै बुझ्नेछैन। यो साँचो हो। यदि परमेश्‍वरले यी वचनहरू व्यक्त नगर्नुभएको भए; यदि उहाँले हरेक व्यक्तिलाई सजाय र न्याय नगर्नुभएको भए र हरेकलाई यस्ता कठोर वचनहरूले व्यवहार नगर्नुभएको भए, मानिसहरूलाई लाग्नेथ्यो कि परमेश्‍वरमा विश्‍वास गर्नु नै तिनीहरूले सत्यता प्राप्त गरेको हुनु हो, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेकै पछि उठाइलगिन, राज्यमा प्रवेश गर्न र राजाले झैँ शक्ति चलाउनको लागि हो। कतिपय मानिसहरू यसो भन्छन्, “मजस्तो मान्छे त सयजनाको कमाण्डर नै हुन सक्थ्यो!” अरूहरू भन्छन, “म त धेरै माग्दिनँ। राज्यमा म गेटपाले हुन वा बाटो बढार्न पनि सक्छु!” परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिको मूल अभिप्राय, आदर्श, र चाहना यही हो। परमेश्‍वरले अत्यन्तै धेरै वचनहरू भन्नुभएको छ जसले मान्छेका धारणा र कल्पनाहरू, उसका लालची चाहनाहरू, र उसको भ्रष्ट स्वभाव पूर्णतया खुलासा गर्छन्। मान्छेले सोच्ने कुनै कुरा पनि सत्यताबमोजिम वा परमेश्‍वरसँग मिल्ने हुँदैन, र मान्छेले आशा गर्ने वा उसले साँच्चै हासिल गर्न चाहने कुनै पनि कुरा परमेश्‍वरका अभिप्रायहरूबमोजिम हुँदैन। त्यो सब पूर्णतया परमेश्‍वरविपरीत हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसहरूले परमेश्‍वरका न्याय र सजायका वचनहरू, मान्छेको प्रकृति सार खुलासा गर्ने वचनहरू, मान्छेका धारणाहरूसँग नमिल्ने वचनहरू, र मान्छेका धारणा र कल्पनाहरूसँग नमिल्ने परमेश्‍वरको काम गर्ने शैली सामना गर्छन्। धेरै मानिसहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्विकारे पनि, र तिनीहरू परमेश्‍वरको कामसँग सहकार्य गर्न र परमेश्‍वरको न्याय र सजाय स्विकार्न इच्छुक भए पनि, तिनीहरूलाई परमेश्‍वरको मापदण्ड पूरा गर्न निकै कठिन हुन्छ। जब सत्यता पछ्याउने कुरा आउँछ, धेरै मानिसहरू जाँगरहीन बन्छन्, र जब सत्यताबारे सङ्गति गर्ने कुरा आउँछ, तिनीहरू निदाउँछन् र सुन्‍न ध्यानै दिँदैनन्। तर जब रहस्य, आशिष् र वाचाहरूको कुरा आउँछ, तिनीहरू जोसिन्छन्। यहाँ के भइरहेको हुन्छ? हृदयको गहिराइमा, मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। सत्यता पछ्याउनु तिनीहरूलाई अत्यन्तै कष्टदायी, बोझिलो, अति पीडादायी, र अत्यन्तै उच्च मूल्य चुकाउनुपर्ने कुरा लाग्छ। यदि सत्यता पछ्याउनु प्राथमिक विद्यालयको पुस्तक वा नर्सरी तहको कविता पढेजत्तिकै सरल हुने हो भने, केही मानिसहरू त्यसमा अलि इच्छुक हुन्थे होला, किनभने त्यो सरल र सजिलो हुनेथ्यो, र त्यसको लागि मूल्य नै तिर्नुपर्थेन वा धेरै ऊर्जा पनि खर्चनुपर्थेन। तर अहिले त्यसको ठ्याक्कै उल्टो अवस्था छ। सत्यता पछ्याउनु न त त्यति सजिलो, न त त्यति सरल नै छ। यदि मानिसहरूमा परमेश्‍वरको वचन पढ्ने र बुझ्ने पर्याप्त क्षमता छ भन्दैमा, तिनीहरू स्वतः सत्यता वास्तविकतामा प्रवेश गर्छन् भन्‍ने हुँदैन; शब्द र धर्मसिद्धान्तहरू बुझ्नुको अर्थ सत्यता वास्तविकताभित्र प्रवेश गर्नु भन्‍ने हुँदैन। कतिपय मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासमा यति ऊर्जावान् हुन्छन् कि भेलाहरूमा र प्रवचन र सङ्गतिहरू सुन्दासमेत तिनीहरू टिपोट गर्छन्। तर केही समयपछि, तिनीहरूले त्यसबारे मनन् गर्छन् तर केही लाभ प्राप्त गर्दैनन्: तिनीहरूले ती सबै बिर्सन्छन् र चाहेर पनि केही सम्झन सक्दैनन्, त्यसैले तिनीहरूलाई सत्यता प्राप्त गर्नु सजिलो छैन भन्‍ने अनुभूति हुन्छ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु कुनै सामान्य कुरा होइन रहेछ भन्‍ने बुझ्छन्। अरू मानिसहरूलाई भेलाहरूपछि धेरै कुरा प्राप्त गरेको र धेरै बुझेको तर एक रात सुतेपछि त्यसबारे सबै बिर्सेको अनुभूति हुन्छ, र त्यो अवस्था भेला नै नभएकोभन्दा खासै फरक हुँदैन। अनि, अझै अरूहरू पनि छन्, जो परमेश्‍वरको वचन पढेपछि अन्तर्दृष्टि र ज्योति प्राप्त गरेको अनुभूति गर्छन्। तिनीहरू आफैप्रति निकै खुसी हुन्छन्, तर केही समय गैरविश्‍वासीहरूसित कुरा गरेपछि, तिनीहरूको मन बरालिन्छ, र घर गएर परमेश्‍वरलाई प्रार्थना गर्दा तिनीहरूले उहाँको अनुभूति गर्नै सक्दैनन्। तिनीहरूले सत्यता पछ्याउने, स्वभाव परिवर्तन गर्ने र परमेश्‍वरमार्फत मुक्ति प्राप्त गर्ने सबै कुरा बिर्सन्छन्। यसको कारण तिनीहरूको कद अति सानो हुनु र तिनीहरूले केही वचन र धर्मसिद्धान्तहरू मात्र बुझ्नु हो। परमेश्‍वरको वचनले तिनीहरूभित्र अझै जरा गाड्‍न सकेको हुँदैन, र यसले प्रमाणित गर्छ कि तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन, र त्यसैले बाहिरी मामिलाहरू सम्हाल्दा, परमेश्‍वर तिनीहरूको हृदयको प्रभारी हुँदैन। परमेश्‍वरको काम अनुभव गर्नु सामान्य कुरा होइन। केही परीक्षा, असफलता, र झट्काहरू अनुभव नगरी, मानिसहरूले साँच्चिकै कुनै लाभ प्राप्त गर्नेछैनन्, र रटेर कण्ठ पारेकोले मात्र काम गर्नेछैन। आजकल, धेरैजसो मानिसहरूले केही वर्ष विश्‍वास गरिसकेपछि मात्र केही सत्यताहरू बुझ्न थाल्छन्। विशेष गरी, केही झट्का र असफलताहरू अनुभव गरेपछि, तिनीहरूले सत्यता पछ्याउनुको महत्त्व अनुभूत गर्छन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको वचन पढ्नमा, अनि सत्यता सङ्गति गर्न र सत्यता अभ्यास गर्नमा ध्यान दिन थाल्छन्। त्यसपछि मात्र तिनीहरू वास्तविकताभित्र प्रवेश गर्न थाल्छन्।

कतिपय मानिसहरू भन्छन्, “कुनै कठिनाइ वा अवरोध हुँदा मलाई बाधित अनुभूति हुनु र के गर्ने भन्‍ने थाहै नहुनु, र परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै कठिन लाग्‍नुको कारण के हो? कठिनाइहरू आइपर्दा, म नकारात्मक बन्नु र ममा परमेश्‍वरमा विश्‍वास गर्ने ऊर्जा नहुनुको कारण के हो? मलाई कहिलेकाहीँ भेलाहरूप्रति वा परमेश्‍वरको वचन पढ्नप्रति रुचि नहुनु, तर गैरविश्‍वासीका कुराहरूबारे बोल्नचाहिँ म उत्साहित हुनुको कारण के हो?” यहाँ के भइरहेको छ? वास्तवमा, मान्छेको प्रकृति सारलाई विचार गर्दा, मान्छेले सत्यतालाई प्रेम नगर्ने भएकोले यस्तो भएको हो। यदि मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, के परमेश्‍वरप्रतिको तिनीहरूको आस्था साँचो हुन सक्छ? के तिनीहरूको हृदयमा परमेश्‍वरको लागि ठाउँ हुन सक्छ? के तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ? हुनुहुन्‍न, त्यो निश्‍चित छ। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न र परमेश्‍वरको लागि ठाउँ छैन भने, त्यसले तेरो हृदयमा कुनै सत्यता छैन, तैँले कुनै सत्यता बुझ्दैनस्, र तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भन्‍ने प्रमाणित गर्छ। त्यसकारण, जब परमेश्‍वरको वचनबारे विचार गर्ने र सत्यता अभ्यास गर्ने कुरा आउँछ, तब मानिसहरू जाँगरहीन हुन्छन् र तिनीहरूसँग मार्ग हुँदैन। यदि तँलाई पैसा आर्जन गर्नू भनेर भनियो र कुनै निश्‍चित काम गर्दा तैँले बढी पैसा आर्जन गर्न सक्छस् भनेर भनियो भने, सबै कठिनाइहरू पार गरेर सफल हुन तैँले सम्भव भएजति जे पनि गर्छस्, अनि तँ असफलतादेखि डराउँदैनस् र त्यसैमा लागिरहन्छस्। तँलाई रुचिहरूले आकर्षित गरिरहेका हुन्छन्, तेरो हृदय रुचिहरूको पकडमा हुन्छ, ती रुचिहरूले तेरो हृदयमा पहिलो प्राथमिकता पाउँछन्, अनि तँलाई पैसा र रुचिहरू अत्यन्तै महत्त्वपूर्ण छन् र सजिलै परित्याग गर्न सकिँदैनन् भन्‍ने अनुभूति हुन्छ, त्यसैले तैँले जतिसुकै मूल्य तिर्नुपरे पनि आफ्ना चाहना र उद्देश्यहरू हासिल गरिछोड्न आफूले सक्ने हरेक कुरा गर्न खोज्‍नेछस्। त्यसकारण, यदि तैँले सत्यता पछ्याउने कार्यलाई तेरो जीवनको पहिलो प्राथमिकता बनाउँछस् भने, मलाई विश्‍वास छ, तँ मार्गरहित हुनेछैनस्, तँ समयरहित पनि हुनेछैनस्, र तैँले सत्यता खोज्‍न र अभ्यास गर्नमा बाधा पुर्‍याउने कठिनाइहरू त तैँले झनै अनुभव गर्नेछैनस्। के तिमीहरूसँग यस्तो दृढता छ? यो आफ्ना बालबच्चालाई सन्तुष्ट पार्न आमाबाबुले जुनसुकै मूल्य चुकाएजस्तै हो। जब बालबच्चाले कलेज जान यतियति खर्च लाग्छ भन्छन्, यदि परिवारसँग त्यति धेरै पैसा छैन भने, आमाबाबु ठाउँठाउँमा गई सापटी मागेर भए पनि पैसा जम्मा गर्छन्, वा पैसा सापटी लिन नसके व्यापार गर्ने वा अस्थायीप्रकारको काम गर्ने उपाय निकाल्छन्। तिनीहरूले जतिसुकै कष्ट भोगे पनि, आफ्ना बालबच्चा कलेज जाऊन् भनेर तिर्नुपर्ने पर्याप्त पैसा जोहो गर्ने, बालबच्चाको लागि सफलताको जग तयार गराउने, र बालबच्चालाई राम्रो भविष्य दिलाउने व्यवस्था मिलाउनेछन्। यदि सत्यता पछ्याउनमा तिमीहरूसँग वास्तवमै यस्तो दृढता छ भने, मलाई लाग्छ तिमीहरू कसैले पनि पार गर्न नसक्ने कुनै कठिनाइ हुनेछैन, होइन भने तिमीहरूमा मानसिक कमजोरी वा जन्मजात दिमागी गडबडी हुनुपर्छ। तँ बौद्धिक अपाङ्गता लिएर जन्मेको छैनस् भने, सामान्य व्यक्तिको दिमागले हासिल गर्न सक्ने कुरा तैँले हासिल गर्न सक्नेछस्, र कुनै पनि कठिनाइ कठिनाइ हुनेछैन, किनकि सत्यता पछ्याउने कार्य मान्छेको कल्पनाले प्राप्त गर्न सक्ने कुरा होइन; यसको लागि पवित्र आत्माको काम जरूरी हुन्छ, मान्छेले त सहकार्य मात्र गर्ने हो। हामीसँग त्यसलाई पछ्याउने इच्छा हुञ्जेल, पवित्र आत्माले हामीलाई मार्गदर्शन गर्नुहुनेछ, हामीलाई भरणपोषण गर्नुहुनेछ र जुनसुकै समयमा पनि अन्तर्दृष्टि प्रदान गर्नुहुनेछ, अनि हामीलाई हरेक कठिनाइ पार गर्ने र हामीले नबुझ्ने सत्यता बुझ्ने तुल्याउनुहुनेछ, किनकि मान्छेको लागि जे कुरा असम्भव हुन्छ त्यो परमेश्‍वरको लागि सम्भव हुन्छ, र मान्छे केही पनि होइन; यदि परमेश्‍वरले काम गर्नुभएन भने, मान्छेका सबै ठूला प्रयास र मेहनत व्यर्थ हुनेछन्।

अनुग्रहको युगमा, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छौँ र परमेश्‍वरलाई पछ्याउछौँ भनेरसमेत भन्थे, तर तिनीहरूको लक्ष्य स्वर्गमा प्रवेश गर्ने हुन्थ्यो। तिनीहरूले परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्ने विषयमा बोल्दैनथे, न त तिनीहरूलाई मुक्ति प्राप्त गर्नुको अर्थ नै थाहा थियो। तिनीहरू बस प्रावधानहरू पालना गर्ने, धार्मिक सेवाहरू अनुसरण गर्ने र बाइबल पढ्ने काम मात्र गर्थे, र त्यसपछि तिनीहरू त्यति भए त पुग्‍ला, मरेपछि स्वर्ग जान सकिएला भनी झिनो आशा राख्थे। तर आखिरी दिनहरूको कामको यो चरण त्यति सजिलो छैन, अनि परमेश्‍वरको कामको हरेक कुरा एउटा वास्तविकता हो जसको लागि हामीले वास्तवमै मूल्य चुकाउनुपर्छ, व्यावहारिक रूपमै खोजी र अनुभव गर्नुपर्छ, ताकि परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबाट हामीले सत्यता प्राप्त गर्न सकौँ। यदि मानिसहरूको विश्‍वास अझै पनि अनुग्रहको युगकोसँग मिल्छ, र तिनीहरू बस प्रत्येक हप्ता भेला हुन्छन्, बाइबल पढ्छन्, अनि प्रार्थना गर्छन्, गाउँछन्, र परमेश्‍वरको प्रशंसा गर्छन्, अनि स्वर्गमा उठाइलगिने वा तेस्रो स्वर्गमा उक्लने प्रतीक्षा गर्छन् भने, मान्छे कति भयङ्कर रूपले अहङ्कारी बन्न सक्छ होला! भ्रष्ट मानवजाति यस्तै नै हुन्छ। परमेश्‍वरले जे-जसरी काम गर्नुभए पनि, जबसम्म उहाँले मान्छेलाई कुनै प्रतिज्ञा दिनुहुन्छ, तबसम्म मान्छे त्यसैमा अडिनेछ, र सधैँ त्यसैलाई प्रावधानको रूपमा पालन गर्नेछ र उसले कहिल्यै परमेश्‍वरको काम वा उहाँका अभिप्रायहरू अलिकति पनि खोज्नेछैन, बरु स्वर्गमा उठाइलगिने प्रतीक्षा गर्नेछ। मानिसहरूलाई आफू के हुँ भन्‍ने थाहै छैन, तिनीहरू बस राम्रा कुराहरूको सपना देख्छन् र ठूला उचाइहरू चुम्ने आकाङ्क्षा राख्छन्। तिनीहरूमध्ये कसैले पनि आफू शैतानी प्रकारको छु भन्ठान्दैनन्, आफू अनन्त विनाशको पात्र भएको ठान्‍ने त झन् कुरै आउँदैन। तिनीहरू सबैले सोच्छन् कि तिनीहरूले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्छन्, आफ्नो कर्तव्यपालनमा धेरै कष्ट भोगेका छन्, र परमेश्‍वरलाई कहिल्यै घात गरेका छैनन्, त्यसैले तिनीहरूलाई परमेश्‍वरले पहिले नै मुक्ति दिइसक्नुभएको हुन्छ र तिनीहरू निश्‍चय नै स्वर्गको राज्यमा प्रवेश गर्न सक्‍नेछन्। यो दृष्टिकोण गलत छ, र वास्तवमा तिनीहरू सत्यतालाई बिलकुलै बुझ्दैनन्। विशेष गरी, मानिसहरूले परमेश्‍वरमा सुरुमा विश्‍वास गर्दा, तिनीहरू अनाज्ञाकारी, आक्रोशपूर्ण, र विशेष गरी अहङ्कारी हुन्छन्, अनि अरू सबैलाई कुरूप देख्छन् र परमेश्‍वरलगायत कोही पनि आफूजति राम्रो नभएको ठान्छन्। कुनै व्यक्तिले ख्रीष्टलाई स्विकारेको भए पनि, त्यसको अर्थ ख्रीष्टले भन्नुभएका वा गर्नुभएका हरेक कुरा उसले स्विकार्न सक्छ भन्‍ने होइन। उसले परमेश्‍वरको कामको यो चरणलाई, र देहधारी परमेश्‍वरलाई नाममा मात्र स्विकार्छ, र यसको अर्थ यो होइन कि तिनीहरूमा धारणा र कल्पना छैन, र परमेश्‍वरले गर्नुभएको कामप्रति प्रतिरोध छैन। कतिपय मानिसहरू ख्रीष्टलाई देख्दा उत्साहित र रोमाञ्चित हुन्छन्, र हृदयमा सम्मानित भएको र आफू व्यर्थमा जिएको छैन भन्‍ने महसुस गर्छन्। तर तिनीहरूमा सत्यता नभएको र तिनीहरूले परमेश्‍वरलाई नचिन्ने भएकोले, ख्रीष्टले बोल्नुभएको, र कामकुराहरू सम्हाल्नुभएको देख्दा तिनीहरूले धारणा बनाउँछन्, अनि तिनीहरूले कुनै व्यक्तिप्रति ख्रीष्टको कस्तो मनोवृति होला भनेर पनि धारणा बनाउँछन्; ख्रीष्टले के खानुहुन्छ र के लाउनुहुन्छ भन्‍नेबारे अनि उहाँको कुनै पनि अनुहारको भाव वा हाउभाउहरूबारे पनि तिनीहरूमा धारणा, राय र विचारहरू हुन्छन्। यो के हो? यो के हो भने, मान्छेले कल्पेको परमेश्‍वर आधारभूत रूपमा वास्तविक परमेश्‍वरभन्दा फरक हुन्छ, अनि जो मानिसमा अन्तर्निहित रूपमै भ्रष्ट स्वभाव र अहङ्कारी प्रकृतिहरू हुन्छन्, तिनीहरूमा धारणाहरू नहुनु, र तिनीहरूले मानिसको देहधारी पुत्रको प्रतिरोध र मूल्याङ्कन नगर्नु असम्भव छ। यदि व्यक्तिले परमेश्‍वरको ईश्‍वरीय सार चिन्दैन भने, उसलाई परमेश्‍वरप्रति समर्पित हुन कठिन हुन्छ र उहाँलाई प्रेम गर्न अनि उहाँको डर मान्न झनै कठिन हुन्छ। तर धेरै वर्षसम्म परमेश्‍वरको काम अनुभव गरेका, विशेष गरी परमेश्‍वरका थुप्रै प्रवचनहरू र सङ्गति सुनेका मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी चिन्ने र कसरी व्यवहार गर्नेछन्? तिनीहरूले परमेश्‍वरबारे धारणा राख्नेदेखि परमेश्‍वरबारे ज्ञान राख्नेसम्मको यो प्रक्रियालाई, अनि विद्रोह र प्रतिरोधदेखि साँचो समर्पणसम्मको यो प्रक्रियालाई व्यक्तिगत रूपमै अनुभव गरेका हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरले गर्नुहुने हरेक कुरा, उहाँले बोल्नुहुने हरेक वचन, र उहाँले सम्हाल्नुहुने हरेक कुराभित्र सत्यता सिद्धान्तहरू हुन्छन् भनेर पनि व्यक्तिगत रूपमै अनुभव गरेका हुन्छन्। मानिसहरूले आफ्ना हृदयमा धारणाहरू राख्नु हुँदैन, प्रतिरोध र घृणा त झनै राख्नु हुँदैन। केही वर्षको अनुभवपछि, जब मानिसहरूले सत्यताबारे अलिअलि बुझ्छन्, तब तिनीहरूले त्यसलाई सही ढङ्गले लिन्छन्, र जब तिनीहरूभित्र तिनीहरूको जीवनको रूपमा अलिअलि सत्यता हुन्छ र जब तिनीहरूले अभ्यासका सिद्धान्तहरू हासिल गरेका हुन्छन्, तब तिनीहरूले स्वतः नै कुनै पनि मूर्ख काम गर्नेछैनन्। नयाँ विश्‍वासीहरू र यी मामिलाहरूमा अनुभव नभएकाहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने सम्भावना हुन्छ, र तिनीहरूले मूर्ख र लापरवाह कामकुरा गर्ने सम्भावना हुन्छ। कतिपय गम्भीर प्रकृतिका मानिसहरूले परमेश्‍वरको आलोचना र ईशनिन्दा गर्न सक्छन्, र त्यसपछि तिनीहरू पूर्ण रूपमा पतन हुन्छन्; कति अरूले चाहिँ निरन्तर रूपमा मण्डलीको काममा अवरोध र बाधा पुर्‍याइरहेका हुन्छन्, र तिनीहरूलाई हटाइन्छ। के अहिले तिमीहरू सबैजना परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएका छौ? के देहधारी परमेश्‍वरमा विश्‍वास गर्नु तिमीहरूलाई अत्यन्तै कठिन लाग्छ? कतिपय मानिसहरू भन्छन्, “जब हामी प्रभुमा विश्‍वास गर्थ्यौँ, त्यो निकै सरल थियो। हामी केवल भेला हुन्थ्यौँ, प्रवचनहरू सुन्थ्यौँ, अनि विभिन्‍न कुराको लागि प्रभुलाई प्रार्थना गर्थ्यौँ; हामीलाई सत्यता अभ्यास गर्नू र परमेश्‍वरप्रति समर्पित हुनू भनेर कसैले भन्दैनथे, हामीलाई कसैले प्रभुका वचनहरू अभ्यास र अनुभव गर्न र सत्यता पछ्याउनमा अगुवाइ गर्ने त कुरै नगरौँ। पाष्टर र प्रचारकहरूले बाइबलको व्याख्या मात्र गर्थे, र हामीले त्यसलाई आफूले चाहेअनुसार नै बुझ्न सक्थ्यौँ। तर अहिले हामीले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गर्छौ, र उहाँले व्यक्त गर्नुभएका यति धेरै सत्यताहरू छन् कि हामीलाई सत्यता अभ्यास गर्न अति कठिन हुन्छ, र वास्तविकतामा प्रवेश गर्न वास्तवमै कठिन रहेको अनुभूति हुन्छ!” यदि तिमीहरूले विगतमा जसरी प्रभुमा विश्‍वास गर्थ्यौ त्यसरी नै अझै परमेश्‍वरमा विश्‍वास गर्ने हो भने, के तिमीहरूले सत्यता र जीवन प्राप्त गर्न सक्छौ त भनेर कहिल्यै सोचेका छौ? के तिमीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छौ? (सक्दैनौँ।) तिमीहरूले यो कुरा महसुस गर्न सक्नुले तिमीहरूले प्रगति गरेका छौ भन्‍ने देखाउँछ।

परमेश्‍वरमाथिको विश्‍वास कल्पनाहरू वा धारणाहरूमा आधारित हुन सक्दैन, र रुचिमा आधारित हुन त झनै सक्दैन। यदि तैँले क्षणिक रुचि वा आवेगको आधारमा परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले शान्त भएर सोच्‍नु बेस हुन्छ र आफूले विश्‍वास जारी राख्‍न चाहन्छु चाहन्‍नँ, आफूले वास्तवमै सत्यता पछ्याउन चाहन्छु चाहन्‍नँ, आफू वास्तवमै साँचो विश्‍वासी हुँ होइन, आफूले परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग हिँड्ने निर्णय पहिल्यै गरिसकेको छु छुइनँ, र आफूले सत्यता पछ्याउने निर्णय पहिल्यै गरिसकेको छु छुइनँ भनेर ध्यानपूर्वक सोच्दा राम्रो हुन्छ। यी पक्षहरूमै किन जोड दिने? किनभने अहिले हामी देहधारी परमेश्‍वरमा विश्‍वास गर्छौँ, र परमेश्‍वरको देहधारणको अर्थ के हो भने उहाँ स्वर्गदेखि धर्तीमा आउनुभयो र साँच्चिकै मानव बन्नुभयो, जसको रूप ठ्याक्कै मान्छेकै जस्तो छ, तर उहाँ ख्रीष्ट हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँ कुनै सामान्य मान्छे हुनुहुन्न। परमेश्‍वरको देहधारणले वास्तवमा मानिसहरूलाई न्याय दिने र सुद्ध पार्ने काम गर्नुभएको छ, र खासमा धेरै वचनहरू व्यक्त गर्नुभएको छ, थुप्रै काम गर्नुभएको छ, र धेरै मानिसहरू चुन्नुभएको छ, अनि वास्तवमा उहाँले उहाँको काम र उहाँको सुसमाचार विस्तार गर्दै आइरहनुभएको छ। यो व्यावहारिक कामको हरेक पाटोले पुष्टि गर्छ कि मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने परमेश्‍वरको चाहनाको लागि स्वाभाविक रूपमै मानिसहरूले उहाँका वचन र काम वास्तवमै अनुभव गर्न जरूरी छ, ताकि तिनीहरूले सत्यता प्राप्त गर्न र साँच्चिकै परमेश्‍वरप्रति समर्पित हुन र उहाँको आराधना गर्न सकून्। परमेश्‍वरले पूरा गर्न चाहनुभएको कुरा नै यही हो। तिमीहरूले परमेश्‍वरको काम स्विकार्न थालेदेखि अहिलेसम्ममा, तिमीहरूले केही कुराहरू अनुभव गरेका छौ होला, चाहे तिनलाई तिमीहरूले पराभौतिक सोचेका नै किन नहोऊ, वा चाहे ती नाङ्गो आँखाले देखिने वा मानव दिमागले प्राप्त गर्न सकिने नै किन नहोऊन्; छोट्करीमा भन्नुपर्दा, परमेश्‍वरले हरेक कुरा व्यावहारिक तरिकाले गर्नुहुन्छ, हामीमाथि, हामीमाझ, र हाम्रो वरिपरि, र हामीले देख्न र छुन सक्ने गरी काम गर्नुहुन्छ। त्यसकारण, सत्यता पछ्याउनु एउटा व्यावहारिक पाठ हो, र हामीलाई आइपर्ने हरेक कुरामा हामीले सत्यता खोज्‍ने र अभ्यास गर्ने गर्नुपर्छ, र सत्यता प्राप्त गर्नको लागि हामीले सहकार्य गर्ने हाम्रो प्रयत्नमा भरोसा राख्नुपर्छ। सत्यता पछ्याउनु मानिसहरूले कल्पेजस्तो हुँदैन। मानिसहरू परमेश्‍वरका वचनहरू पढ्नु र तिनका शाब्दिक अर्थ बुझ्नु नै सत्यता बुझ्नु हो, र यदि कसैले कुशलतापूर्वक बोल्न सक्छ भने, उसले सत्यता अभ्यास गरिरहेको हुन्छ भन्ठान्छन्। यो त्यति सरल छैन। सत्यता पछ्याउनको लागि वास्तवमा हामीले सत्यता खोज्‍न र स्विकार्न, कष्ट भोग्न र मूल्य चुकाउन, अनि अनुभव, खोजी, मनन, सङ्गति, अभ्यास, र वास्तविक जीवनमा मेहनत गर्न जरूरी छ। यस तरिकाले मात्र हामी बिस्तारै परमेश्‍वरको वचन र सत्यताभित्र प्रवेश गर्न अनि ती वचन र सत्यताबाट लाभ हासिल गर्न सक्छौँ। कुनै दिन, जब तैँले सत्यता के हो, र सत्यताको सार के हो भनेर बुझ्छस्, तब तैँले थाहा पाउनेछस् कि देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू हाम्रो वास्तविकताका आवश्यकताहरू हुन्, ती हाम्रा सम्पूर्ण समस्याहरू सम्हाल्नका लागि हामीलाई आवश्यक पर्ने अभ्यासका सिद्धान्तहरू हुन्, र परमेश्‍वरका यी वचनहरू हाम्रा जीवनका लक्ष्य र दिशाहरू हुन्। त्यस बेला, परमेश्‍वरले गर्नुहुने हरेक काम कति अर्थपूर्ण छ, र हाम्रो लागि परमेश्‍वरको देहधारण कति महत्त्वपूर्ण र मूल्यवान्‌ छ भनेर तैँले देख्नेछस्! परमेश्‍वरले बोल्नुहुने हरेक वाक्य, उहाँको कामको प्रत्येक चरण, उहाँको प्रत्येक वचन र कार्य, उहाँका सोचहरू, उहाँका विचारहरू, अनि उहाँका दृष्टिकोणहरू सबैको उद्देश्य मानिसहरूलाई शुद्ध पार्नु र मुक्ति दिनु हो, र ती कुनै पनि रित्तो छैनन्; ती सबै वास्तविक र व्यावहारिक छन्। त्यसकारण, चाहे कुनै व्यक्ति कुनै धर्मबाट वा गैरविश्‍वासीहरूबाट धर्मान्तरित भएर नै आएको किन नहोस्, उसले अबउप्रान्त धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र उसले अबउप्रान्त धार्मिक सपनाहरू देख्नु हुँदैन, ठूला विपद्‌हरू आइपर्दा उसलाई अचानक आकाशमा लगेर प्रभुसित भेट गराइनेछ भन्‍ने सपना देख्नु हुँदैन; यो त दिवास्वप्न हो। परमेश्‍वर मान्छेलाई खुलासा र न्याय गर्न, र व्यावहारिक तरिकाले सत्यता व्यक्त गरेर मान्छेको भ्रष्टता शुद्ध पार्न, अनि मान्छेलाई व्यावहारिक तरिकाले शैतानको प्रभावबाट मुक्ति दिन आउनुभएको छ। यो समयमा, मान्छेले धेरै उत्पीडन र सङ्कष्टहरू पार गर्नुपर्नेछ, र उसले धेरै काटछाँट अनि धेरै न्याय र सजायहरू भोग्नुपर्नेछ, अनि मात्र ऊ शुद्ध र परिवर्तित हुन सक्छ; परमेश्‍वरको कामको यो अनुभवमार्फत मात्र उसले सत्यता प्राप्त गर्न सक्छ। तैँले सत्यता प्राप्त गरिसकेपछि, तेरो हृदयमा परमेश्‍वरको लागि ठाउँ हुनेछ, र तँमा परमेश्‍वरप्रति साँचो डर र समर्पण हुनेछ, जुन परमेश्‍वरले गरियोस् भन्‍ने चाहनुहुन्छ। जब तैँले सत्यता बुझेको र त्यसको मूल्य थाहा पाएको हुन्छस्, र जब सत्यताले तेरो हृदयमा जरा गाडेको हुन्छ र जब तँसँग सत्यताको व्यावहारिक अनुभव र ज्ञान हुन्छ, तब परमेश्‍वरको वचन नै तेरो हृदयको जीवन बनेको हुनेछ। के यो प्रक्रिया व्यावहारिक छ? (छ।) त्यसोभए, यस प्रक्रियाको लागि मानिसहरूले के गर्न जरूरी छ? सर्वप्रथम, मानिसहरूमा परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरको वचनको न्याय र सजाय स्विकार्ने, र परमेश्‍वरको काटछाँट, परीक्षा र शोधनप्रति समर्पित हुने हृदय हुनुपर्छ, ताकि तिनीहरूलाई तिनीहरूको भ्रष्टताबाट शुद्ध पार्न सकियोस्, ताकि तिनीहरूले सत्यता अभ्यास गरेर परमेश्‍वरप्रति समर्पण हासिल गर्न सकून्, र ताकि तिनीहरूले परमेश्‍वरको वचनको वास्तविकताभित्र प्रवेश गर्न सकून्। जबसम्म व्यक्तिलाई परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनेर थाहा हुन्छ, तबसम्म परमेश्‍वरले ऊभित्र के कुरा पूरा गर्न चाहनुहुन्छ र उहाँले कस्तो परिणाम हासिल गर्न चाहनुहुन्छ भनी उसलाई थाहा हुनेछ। परमेश्‍वरको वचनले मान्छेमा दुईवटा मुख्य प्रभावहरू हासिल गर्छ: पहिलो, यसले मान्छेलाई आफू चिन्ने तुल्याउँछ; र दोस्रो, यसले मान्छेलाई परमेश्‍वर चिन्ने तुल्याउँछ। जब यी दुई प्रभावहरू हासिल भइसकेका हुन्छन्, तब व्यक्तिले परमेश्‍वरका वचनहरू साँच्चिकै चिन्नेछ, र सत्यता साँच्चिकै बुझ्नेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
फन्टको आकार घटाउनुहोस्
फन्टको आकार बढाउनुहोस्
पूरै स्क्रिनमा जानुहोस्
पूरा स्क्रिनबाट बाहिर निस्किनुहोस्

सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग (भाग एक)

00:00
00:00
अघिल्लो
प्ले गर्नुहोस्
अर्को
सबै दोहोर्‍याउनुहोस्
随机播放
आवाज बन्द गर्नुहोस्
भिडियो हेर्नुहोस्