इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास (भाग तीन)

जब तिमीहरूले आफ्‍नो आस्थाको जग बसाल्‍न सुरु गर्छौ, तब तिमीहरूले सत्यता पछ्याउने मार्गमा दह्रिलो गरी पाइला चाल्नुपर्ने हुन्छ। तिमीहरू वचन र धर्मसिद्धान्तहरू फलाक्ने बाटोमा नभई सत्यता वास्तविकतामा प्रवेश गर्ने सुरुवाती बाटोमा हुनुपर्छ। तिमीहरूले सत्यता वास्तविकतामा प्रवेश गर्ने, सबै कुरामा सत्यताको खोजी र अभ्यास गर्ने, सबै कुरामा सत्यता अभ्यास गर्न सक्‍ने र यसलाई सबै कुराको तुलनाको रूपमा प्रयोग गर्ने कार्यमा केन्द्रित हुनुपर्छ। तिमीहरूले सत्यताको अभ्यास कसरी गर्ने, अभ्यासका सिद्धान्तहरू के-के हुन्, र सत्यताको कस्तो अभ्यासले परमेश्‍वरका मागहरू पूरा गर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्छ भन्‍ने कुरालाई मनन गर्नुपर्छ। तर, मानिसहरूमा कदको कमी छ। तिनीहरू सधैँ सत्यताको अभ्याससँग सम्‍बन्धित नरहेका, आत्मज्ञान वा इमानदार व्यक्ति बन्‍ने कार्यसँग सम्‍बन्धित नरहेका कुराहरूका बारेमा सोधिरहेका हुन्छन्। के यो दयनीय कुरा होइन र? के त्यसले सानो कद छ भन्‍ने देखाउँदैन र? कतिपय मानिसहरूले परमेश्‍वरले आफ्‍नो कामको यो चरण सुरु गर्ने बित्तिकै यसलाई स्विकारेका थिए, र आजको दिनसम्‍मै तिनीहरू विश्‍वासी नै रहिआएका छन्। तर तिनीहरूले अझै पनि सत्यता वास्तविकता भनेको के हो, वा सत्यता अभ्यास गर्नु भनेको के हो भन्‍ने कुरा बुझेका छैनन्। कतिले भन्छन्, “मैले आफ्‍नो आस्थाका लागि आफ्‍नो परिवार र जागिर छोडेँ र निकै दुःख पनि पाएँ। तपाईंले कसरी मसँग कुनै सत्यता वास्तविकता छैन भनेर भन्‍न सक्‍नुहुन्छ? मैले आफ्‍नो परिवार छोडेँ—के त्यो वास्तविकता होइन र? मैले आफ्‍नो विवाह त्यागेँ—के त्यो वास्तविकता होइन र? के त्यो सबै सत्यता अभ्यास गरेको अभिव्यक्ति होइन र?” बाहिरबाट हेर्दा, तैँले परमेश्‍वरमा विश्‍वास गर्न बाहिरी संसार त्यागेको र परिवार छोडेको जस्तो देखिन्छ। तर के त्यसको अर्थ तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भन्‍ने हुन्छ? के यसको अर्थ तँ परमेश्‍वरमा समर्पित हुने इमानदार व्यक्ति होस् भन्‍ने हुन्छ? के यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ, वा तँ सत्यता वा मानवता भएको व्यक्ति होस् भन्‍ने हुन्छ? अवश्य नै हुँदैन। तेरा यी बाहिरी कार्यहरू अरूका लागि राम्रा देखिन सक्छन्—तर त्यसको अर्थ तैँले सत्यता अभ्यास गरिरहेको छस् वा तँ परमेश्‍वरमा समर्पित छस् भन्‍ने हुँदैन, र त्यसले अवश्य नै तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको छस् भन्‍ने अर्थ दिँदैन। मानिसहरूका त्याग र समर्पण अत्यन्तै अशुद्ध हुन्छन्, र सबै मानिसहरू आशिष् पाउने अभिप्रायले नियन्त्रित हुन्छन्, र तिनीहरू परीक्षा र शोधनद्वारा शुद्ध पारिएका हुँदैनन्। त्यसैले धेरै मानिसहरू अझै पनि आफ्‍नो कर्तव्यमा झारा टार्छन् र कुनै वास्तविक परिणामहरू प्राप्त गर्दैनन्; तिनीहरूले मण्डलीको काममा बाधा-व्यवधान ल्याउने, त्यसलाई कमजोर बनाउने, र अनेक किसिमका समस्याहरू ल्याउने गर्छन्। तिनीहरू पश्‍चात्ताप गर्ने बारेमा केही सोच्दैनन् र नकारात्मकता फैलाइरहन्छन्, झूट बोलिरहन्छन्, र आफ्‍नो कुरा सही साबित गर्न, तथ्यहरू बङ्ग्याउँछन्, चाहे मण्डलीले तिनीहरूलाई किन ननिकालोस्। कतिपय मानिसहरूले विश्‍वास गरेको एक-दुई दशक भइसकेको हुन्छ, र पनि तिनीहरू पागल जस्तै अनियन्त्रित भएर अनेक किसिमका दुष्कर्म गर्छन्। त्यसपछि तिनीहरूलाई मण्डलीले हटाउँछ वा निकाल्छ। तिनीहरूले धेरै भयानक कुराहरू गर्न सक्छन् भन्‍ने तथ्य नै तिनीहरूको चरित्र भयानक छ, तिनीहरू अत्यन्तै कुटिल र छली छन्, र तिनीहरू निश्छल, आज्ञाकारी, वा समर्पित मानिसहरू होइनन् भन्‍ने कुराको पर्याप्त प्रमाण हो। किनभने तिनीहरूले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने कार्यलाई कहिल्यै त्यति वास्ता गरेका हुँदैनन्। तिनीहरूले परमेश्‍वरमाथिको आस्थालाई यस्तो ठान्छन्: “मैले मेरो परिवार त्यागेको छु, परमेश्‍वरका लागि मेहनत गरेको छु, दुःख भोगेको छु, र मूल्य चुकाएको छु भने, परमेश्‍वरले मेरा कार्यहरूलाई सम्झनुपर्छ, र मैले उहाँको मुक्ति पाउनुपर्छ।” यो त सनकी मनोकामना मात्रै हो। यदि तँ मुक्ति प्राप्त गर्न र साँच्‍चै परमेश्‍वरको अघि आउन चाहन्छस् भने, सुरुमा तँ खोजी गर्दै परमेश्‍वरकहाँ आउनुपर्छ: “हे परमेश्‍वर, मैले के अभ्यास गर्नुपर्छ? मानिसहरूलाई मुक्ति दिने तपाईंको मानक के हो? तपाईंले कस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ?” हामीले सबैभन्दा बढी यही कुराको खोजी गर्नुपर्छ र यसैलाई जान्‍नुपर्छ। सत्यतामा आफ्नो जग बसाल्, सबै कुरामा सत्यता र वास्तविकतामा बल लगा, त्यसपछि तँ जग भएको र जीवन भएको व्यक्ति हुनेछस्। यदि तैँले वचन र धर्मसिद्धान्तमा आफ्‍नो जग बसालिस्, अभ्यासमा कहिल्यै सत्यता समावेश गरिनस् वा सत्यतामा कहिल्यै बल लगाइनस् भने, तँ कहिल्यै जीवन नपाएको व्यक्ति बन्‍नेछस्। जब हामी इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छौँ, तब हामीसँग इमानदार व्यक्तिको जीवन, वास्तविकता र सार हुन्छ। त्यसपछि हामीसँग इमानदार व्यक्तिको अभ्यास र व्यवहार हुन्छ, र कम्तीमा पनि, हाम्रो इमानदार पक्षले परमेश्‍वरलाई आनन्दित तुल्याउनेछ, र उहाँले यसलाई अनुमोदन गर्नुहुनेछ। तर, हामी प्रायजसो झूट, चलाकी, र छल देखाउँछौँ, जसलाई धोइनुपर्छ। त्यसैले त हामीले खोजीलाई जारी राख्‍नुपर्छ अनि अल्झेर बस्‍नु हुँदैन। परमेश्‍वरले हामीलाई पर्खिरहनुभएको छ र हामीलाई मौका दिइरहनुभएको छ। यदि तँ कहिल्यै पनि इमान्दार व्यक्ति बन्‍ने योजना बनाउँदैनस्, कसरी इमान्दारीपूर्वक र हृदयबाट बोल्‍ने, कसरी चलाकी वा छलविना काम-कुरा गर्ने, कसरी इमान्दार व्यक्तिजस्तो व्यवहार गर्ने भनेर कहिल्यै खोजी गर्दैनस् भने, तँ कुनै पनि हालतमा इमानदार मानव स्वरूपमा जिउनेछैनस् वा इमानदार व्यक्ति बन्‍ने सत्यता वास्तविकतामा प्रवेश गर्नेछैनस्। यदि तँ सत्यताको निश्‍चित पक्षको वास्तविकतामा प्रवेश गरेको छस् भने, तैँले सत्यताको त्यो पक्ष प्राप्त गरेको हुन्छस्; यदि तँमा त्यो वास्तविकता छैन भने, तँमा त्यो जीवन वा कद हुँदैन। परीक्षाहरू र प्रलोभनको सामना गर्दा, वा कुनै आज्ञा पाउँदा, तँमा कुनै वास्तविकता भएन भने, तैँले सहजै ठक्‍कर खान र गल्ती गर्न सक्छस्; तैँले परमेश्‍वरलाई चिढ्याउने र उहाँविरुद्ध विद्रोह गर्ने सम्‍भावना धेरै हुन्छ। तैँले आफूलाई रोक्‍न सक्‍नेछैनस्। धेरै मानिसहरू आफ्‍नो कर्तव्यमा अनियन्त्रित भएर काम गर्दै सल्‍लाह लिन मान्दैनन् र असुधार्य रहन्छन्, मण्डलीको काममा गम्‍भीर बाधा र व्यवधान ल्याउँछन् अनि परमेश्‍वरको घरका हितहरूमा गम्‍भीर हानि गर्छन्। अन्त्यमा यी मानिसहरूलाई निकालिन्छ वा हटाइन्छ—यो अपरिहार्य परिणाम हो। तर यदि तैँले अहिले इमानदार व्यक्ति बन्‍नका लागि सत्यता अभ्यास गरिरहेको छस् भने, इमानदार व्यक्तिका रूपमा तेरो अनुभवात्मक गवाहीलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। त्यसलाई कसैले पनि तँबाट खोस्‍न सक्दैन, र यो वास्तविकता र यो जीवनबाट तँलाई कसैले वञ्चित गर्न सक्दैन। कतिपय मानिसहरूले यो सोध्छन्, “म इमानदार व्यक्ति भएको लामो समय भइसक्यो। के म फेरि छली व्यक्ति बन्‍न सक्छु?” यदि तैँले आफ्‍नो भ्रष्ट स्वभाव त्यागेको छस् भने; यदि तँमा इमानदार व्यक्ति बन्‍नुको सत्यता वास्तविकता छ भने; यदि तँ मानव स्वरूपमा जिइरहेको छस् र आफ्‍नो हृदयमा चलाकी, छल, र गैरविश्‍वासीहरूको संसारलाई घृणा गर्छस् भने, तँ शैतानको शक्तिको अधीनमा रहने अवस्थामा फर्कन सक्दैनस्। किनभने तँ परमेश्‍वरका वचनहरू अनुसार जिउन सक्छस्; तँ ज्योतिमा जिइरहेकै हुन्छस्। छली व्यक्तिबाट इमानदार व्यक्तिमा परिवर्तन हुनु सहज छैन। परमेश्‍वरले अत्यन्तै मन पराउनुहुने इमानदार व्यक्तिबाट छली व्यक्तिमा परिवर्तन हुनु असम्‍भव छ र यो अझै कठिन हुन्छ। कतिपय मानिसहरू यसो भन्छन्: “मसँग इमानदार व्यक्ति बनेको धेरै वर्षको अनुभव छ। प्रायजसो म साँचो बोल्छु र म निकै इमानदार छु। तर कहिलेकाहीँ म झूटो, घुमाउरो, वा छली कुरा भन्छु।” यो समाधान गर्न निकै सजिलो समस्या हो। यदि तँ सत्यताको खोजी गर्ने र सत्यताका लागि लागिपर्ने कार्यमा ध्यान दिन्छस् भने, भविष्यमा परिवर्तन हुन नसक्‍ने बारेमा चिन्ता गर्नु पर्दैन। तँ अवश्य नै निरन्तर सुधार हुँदै जानेछस्। यो त खेतमा रोपिएको बीउ जस्तै हो, यदि तैँले यसलाई मलजल गरिस् र यसले दैनिक घाम पायो भने, पछि यसले फल दिन्छ कि दिँदैन भनेर तैँले चिन्ता गर्नु पर्दैन, र शिशिरमा अवश्य नै कटनी हुनेछ। तिमीहरूले अहिले सबैभन्दा बढी चिन्ता गर्नुपर्ने कुरा भनेको यो हो: के तिमीहरूले इमानदार व्यक्ति बन्‍ने कार्यमा कुनै प्रवेश गरेका छौ? के तिमीहरू झन्-झन् कम झूट बोलिरहेका छौ? के तिमीहरूले अहिले समग्रमा इमानदार व्यक्ति हुँ भनी भन्‍न सक्छौ? मुख्य प्रश्‍नहरू यिनै हुन्। यदि कसैले: “म छली व्यक्ति हुँ भन्‍ने मलाई थाहा छ, तर मैले इमानदार व्यक्ति बन्‍ने अभ्यास कहिल्यै गरेको छैन” भनेर भन्छ भने, तँमा इमानदार व्यक्ति बन्‍नुको कुनै वास्तविकता छैन। तैँले धेरै परिश्रम गर्नुपर्छ, तेरो जीवनको हरेक पक्षलाई, तेरा सबै विभिन्‍न व्यवहारहरूलाई, छल अभ्यास गर्ने सबै तरिकाहरूलाई, र अरूलाई व्यवहार गर्ने तेरो तरिकालाई चिरफार गर्नुपर्छ। यी कुराहरूको चिरफार गर्नुभन्दा पहिले, तँलाई आफैप्रति निकै खुसी लाग्‍ने गरेको, र आफूले गरेको कुरामा आत्मसन्तुष्टि मिल्‍ने गरेको हुनसक्छ। तर परमेश्‍वरका वचनहरूसँग तुलना गरेर तिनलाई चिरफार गरेपछि, तँ अचम्ममा पर्नेछस्, “म यति खराब र यति कु-नियत भएको र धूर्त छु भन्‍ने मलाई थाहा थिएन!” तैँले आफ्‍नो वास्तविकता पत्ता लगाउनेछस्, र आफ्‍ना कठिनाइ, कमी-कमजोरी, र छलीपन साँच्‍चै पहिचान गर्नेछस्। यदि तैँले कुनै चिरफार गरिनस्, र सधैँ आफूलाई इमानदार व्यक्ति, छलबाट मुक्त व्यक्ति ठान्छस्, र पनि आफूलाई छली व्यक्ति भन्छस् भने, तँ कहिल्यै परिवर्तन हुनेछैनस्। यदि तैँले आफ्‍नो हृदयका ती तुच्‍छ र दुष्ट अभिप्रायहरूलाई खोतलिनस् भने, तैँले आफ्‍नो कुरूपता र भ्रष्टतालाई कसरी देख्‍नेछस्? तैँले आफ्‍ना भ्रष्ट स्थितिहरूका बारेमा मनन गरिनस् र त्यसलाई चिरफार गरिनस् भने, के तैँले तँ कति गहन रूपमा भ्रष्ट भएको छस् भन्‍ने कुराको सत्यता देख्‍नेछस्? तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई बुझिनस् भने, समस्याहरू समाधान गर्न सत्यता खोजी गर्ने तरिका तँलाई थाहा हुनेछैन; तँलाई सत्यताको खोजी कसरी गर्ने र परमेश्‍वरका मागहरू अनुसार वास्तविकतामा कसरी प्रवेश गर्ने भनी थाहा हुनेछैन। “सत्यताको अभ्यास गरिनस् भने तँसँग कहिल्यै वास्तविकता हुनेछैन” भन्‍ने वाक्यांशको साँचो अर्थ त्यही हो।

परमेश्‍वरले भन्‍नुहुने हरेक कुरा सत्यता हुन्छ—हरेक वचनमा सत्यता वास्तविकता हुन्छ, र यो सबै नै सकारात्मक कुराहरूको वास्तविकता हुन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न र तिनमा प्रवेश गर्न ती वचनहरूलाई आफ्‍नो दैनिक जीवनमा प्रयोग गरे पुग्छ। परमेश्‍वरको हरेक वचन मानवजातिका खाँचोहरूप्रति लक्षित हुन्छ, र हरेक वचन नै मानिसहरूले आफूलाई त्यससँग तुलना गर्नको खातिर हुन्छ। ती वचनहरू झलक्‍क हेरेर छोडिदिनका लागि हुँदैनन्, न त ती तेरा केही आत्मिक खाँचो पूरा गर्नको लागि नै हुन्छन्, न त तैँले ओठे-सेवा गर्न भनेर न त वचन र धर्मसिद्धान्तहरूबारे कुरा गर्ने तेरो खाँचो पूरा गर्नको लागि नै हुन्छन्। परमेश्‍वरको हरेक वचनमा सत्यताको वास्तविकता हुन्छ। यदि तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनस् भने, तँसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने कुनै उपाय हुँदैन—तँ सधैँ वास्तविकतासँग कुनै सम्‍बन्ध नभएको व्यक्ति बन्‍नेछस्। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छस् भने, तँसँग इमानदार बन्‍नुको वास्तविकता हुनेछ र तैँले झूटो बहाना गर्नुको सट्टा इमानदार व्यक्ति बन्‍ने साँचो स्थितिमा जिउन सक्‍नेछस्। तैँले कस्तो व्यक्ति इमानदार हुन्छ र कस्तो व्यक्ति इमानदार हुँदैन, र परमेश्‍वरले किन छली मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यो कुरा पनि बुझ्‍न सक्‍नेछस्। तैँले साँच्‍चै नै इमानदार व्यक्ति बन्‍नुको महत्त्व बुझ्‍नेछस्; परमेश्‍वरले मानिसहरूलाई इमानदार व्यक्ति बन्‍ने मापदण्ड दिनुहुँदा उहाँले कस्तो महसुस गर्नुहुन्छ, र उहाँले किन मानिसहरूलाई त्यो मापदण्ड दिनुहुन्छ, तैँले त्यो अनुभव गर्नेछस्। आफू छलीपनले भरिएको छु भन्‍ने थाहा पाएपछि, तैँले आफ्‍नो छलीपन र कुटिलपनलाई घृणा गर्नेछस्। आफू कसरी विना लाज छली र कुटिल स्वभावले जिएछु भनेर तँलाई घृणा लाग्‍नेछ। त्यसकारण तँ परिवर्तन हुन उत्सुक हुनेछस्। यस तरिकाले, तैँले इमानदार व्यक्ति बन्‍नु नै सामान्य मानवतामा रहने र अर्थपूर्ण जीवन जिउने एउटै तरिका हो भन्‍ने कुरा झन्झन् अनुभूति गर्दै जानेछस्। तँलाई लाग्‍नेछ कि परमेश्‍वरले मानिसहरूलाई इमानदार व्यक्ति बन्‍ने मापदण्ड दिनु अत्यन्तै अर्थपूर्ण रहेछ। अनि, तँलाई लाग्‍नेछ कि यसो गरेर मात्रै तँ परमेश्‍वरका अभिप्रायअनुरूपको हुन सक्छस्, इमानदार मानिसहरूले मात्रै मुक्ति प्राप्त गर्नेछन्, र परमेश्‍वरले भन्‍नुभएको कुरा पूर्ण रूपमा सही हुन्छ। मलाई भन: के परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न लगाउनु अर्थपूर्ण छ? (हजुर, छ।) त्यसो भए, अहिलेदेखि नै, तिमीहरूले आफ्‍ना छली र कुटिल पक्षहरूलाई चिरफार गर्न सुरु गर्नुपर्छ। ती कुराहरू चिरफार गरिसकेपछि, तैँले हरेक छली कुराको पछाडि एउटा अभिप्राय, निश्‍चित लक्ष्य, र मानव कुरूपता हुन्छ भन्‍ने पत्ता लगाउनेछस्। यो छलले मानिसहरूको मूर्खता, स्वार्थ, र तुच्छता प्रकट गर्छ भन्‍ने पनि तैँले पत्ता लगाउनेछस्। जब तैँले त्यो कुरा पत्ता लगाउनेछस्, तब आफ्‍नो साँचो रूप देख्‍नेछस्, र आफ्‍नो साँचो रूप देखेपछि, तैँले आफैलाई घृणा गर्नेछस्। अनि, जब तैँले आफूलाई घृणा गर्न थाल्छस्, जब तैँले आफू कस्तो छु भनेर साँच्‍चै थाहा पाउँछस्, के तब पनि तैँले आफ्‍नो प्रदर्शन गरिरहनेछस्? के तैँले हरेक मौकामा धाक लगाइरहनेछस्? के तँ सधैँ अरूबाट तारिफ र प्रशंसा चाहिरहनेछस्? के तैँले परमेश्‍वरका मापदण्डहरू अत्यन्तै उच्‍च छन्, तिनको कुनै आवश्यकता छैन भनेर अझै भन्‍नेछस्? तैँले त्यस्तो व्यवहार गर्नेछैनस्, र तैँले त्यस्ता कुराहरू भन्‍नेछैनस्। तैँले परमेश्‍वरले भन्‍नुभएको कुरामा सहमति जनाउनेछस्, र “आमेन” भन्‍नेछस्। तँ आफ्‍नो हृदय र मनदेखि, र नजरदेखि नै विश्‍वस्त हुनेछस्। जब यस्तो हुन्छ, यसको अर्थ हो, तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न थालेको छस्, तँ वास्तविकतामा प्रवेश गरेको छस्, र तैँले परिणामहरू देख्‍न थालेको छस्। तैँले परमेश्‍वरका वचनहरू जति अभ्यास गर्छस्, तँलाई ती कति सही र कति जरुरी छन् भन्‍ने कुरा त्यति नै महसुस हुनेछ। मानौँ तँ ती अभ्यास गर्दैनस्, बरु: “अहो, म त बेइमान रहेछु, म त छली रहेछु” भन्दै सधैँ भुनभुनाइरहन्छस्, तैपनि कुनै परिस्थितिको सामना गर्दा तँ अझै पनि छली व्यवहार गर्छस्, तर यस क्रममा तँलाई त्यो छलपूर्ण कार्य होइन भन्‍ने लाग्छ, तँ आफूलाई अझै पनि इमानदार नै हो सोच्छस्, र त्यस मामिलालाई त्यत्तिकै पन्छाउँछस्। अनि अर्को पटक कुनै परिस्थिति आइपर्दा, तँ फेरि चालहरूको सहारा लिन थाल्छस् र कुटिलता र छलीपनमा संलग्न हुन्छस्, र मुख खोल्नेबित्तिकै झूट बोल्छस्। त्यसपछि, तैँले सोच्नेछस्: “के म फेरि पनि कुटिल र छली भएँ? के मैले फेरि झूट बोलेँ? तर त्यो गनिँदैन होला” र तँ परमेश्‍वरसामु यसो भन्दै प्रार्थना गर्छस्: “हे परमेश्‍वर, हेर्नुहोस्, म कसरी सधैँ कपटको सहारा लिइरहेको हुन्छु, र म सधैँ कुटिल र छली भइरहेको हुन्छु। बिन्ती छ, मलाई क्षमा गर्नुहोस्। अर्कोपटक म त्यस्तो गर्नेछैनँ; यदि त्यस्तो गरेँ भने, मलाई अनुशासनमा राख्‍नुहोस्”, र यी मामिलालाई हल्का रूपमा लिन्छस्, त्यसलाई ढाकछोप गर्छस्। यो कस्तो व्यक्ति हो? यो त सत्यतालाई प्रेम नगर्ने र सत्यता अभ्यास गर्न इच्छा नगर्ने व्यक्ति हो। तैँले केही मूल्य चुकाएको हुन सक्छस् वा आफ्‍नो कर्तव्य पूरा गर्दै, परमेश्‍वरको सेवा गर्दै, वा प्रवचनहरू सुन्दै केही समय बिताएको हुन सक्छस्। तैँले जागिरको केही घण्टा त्यागेको र अलिक थोरै पैसा कमाएको पनि हुन सक्छस्। तर वास्तवमा, तैँले सत्यता पटक्‍कै अभ्यास गरेको छैनस्, र तैँले सत्यता अभ्यास गर्ने विषयलाई गम्‍भीर रूपमा लिएको छैनस्। तँ यसबारेमा कहिल्यै केही नसोची सतही र झाराटारुवा हुँदै आएको छस्। यदि सत्यता अभ्यास गर्दा तँ झारा मात्रै टार्छस् भने, त्यसले सत्यताप्रतिको तेरो मनोवृत्ति प्रेमको मनोवृत्ति होइन भन्‍ने कुरा प्रमाणित गर्छ। तँ सत्यता अभ्यास गर्न अनिच्छुक व्यक्ति होस्; तँ सत्यताबाट टाढा छस् र सत्यता विरुद्ध जान्छस्। तैँले आशिष्‌हरू पाउनको लागि विश्‍वास गरेको छस्, र दण्ड पाउने डरले मात्रै तँ परमेश्‍वरबाट टाढा गएको छैनस्। त्यसकारण आफूलाई राम्रो देखाउन वचन र धर्मसिद्धान्तहरू प्रचार गर्ने प्रयास गर्दै, केही आत्मिक शब्दावली र केही प्रचलित भजनहरू सिक्दै, सत्यता सङ्गति गर्ने केही चलनचल्तीका वाक्यांशहरू र तेरो विश्‍वाससँग सम्‍बन्धित केही प्रचलित शब्‍दहरू सिक्दै, तँ आफ्‍नो विश्‍वासमा झारा टार्दै छस्। तैँले आफूलाई आत्मिक व्यक्तिजस्तै राम्रो पारेर देखाउँछस्, र आफू परमेश्‍वरका अभिप्रायअनुरूपको व्यक्ति हुँ र उहाँद्वारा प्रयोग गरिन लायक छु भन्‍ने सोच्छस्। तैँले आत्मसन्तुष्ट भएर आफैलाई बिर्सन्छस्। तँ यो सतही तहको छवि, अनि यी ढोँगी व्यवहारको बहकाउमा पर्छस् र मूर्ख बन्छस्। तँ मर्ने दिनसम्‍मै यी कुराहरूद्वारा मूर्ख बन्छस्, र तैँले स्वर्गमा उचालिनेछु भन्‍ने सोचे पनि, वास्तवमा तँ नरकमा खसालिनेछस्। त्यस्तो विश्‍वासको अर्थ के हुन्छ र? तेरो यो तथाकथित “विश्‍वास” मा केही पनि वास्तविक हुँदैन। बढीमा, तैँले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा स्विकारेको हुन्छस्, तर तँ सत्यता वास्तविकतामा अलिकति पनि प्रवेश गरेको छैनस्। त्यसकारण, अन्त्यमा, तेरो परिणाम गैरविश्‍वासीहरूको जस्तै हुनेछ—तँ नरक जानेछस्, र तेरो कुनै असल परिणाम आउनेछैन। परमेश्‍वरले भन्‍नुभयो, “मैले चहकिला, लहलहाउँदा फूलहरू मागेको होइन, तर प्रशस्त फल मागेको हुँ।” तँसँग जति धेरै फूल भए पनि वा ती जति धेरै सुन्दर भए पनि, परमेश्‍वरले ती चाहनुहुन्‍न। भन्‍नुको अर्थ, तैँले जति राम्रो बोले पनि वा तैँले जति मेहनत, योगदान, वा त्याग गरेजस्तो देखिए पनि, परमेश्‍वरले यसमा आनन्द लिनुहुन्‍न। उहाँले त तैँले वास्तवमा कति धेरै सत्यता बुझेको र अभ्यास गरेको छस्, परमेश्‍वरका वचनहरूको कति धेरै सत्यता वास्तविकतामा जिएको छस्, तेरो जीवन स्वभावमा साँचो परिवर्तन आएको छ कि छैन, तँसँग कति धेरै सच्चा अनुभवात्मक गवाही छन्, तैँले कति धेरै सुकर्म तयार गरेको छस्, परमेश्‍वरका अभिप्राय पूरा गर्न तैँले कति धेरै काम गरेको छस्, र तैँले मापदण्डअनुसार आफ्‍नो कर्तव्य निभाएको छस् कि छैनस् भन्‍ने कुरा मात्रै हेर्नुहुन्छ। परमेश्‍वरले हेर्नुहुने कुराहरू यिनै हुन्। जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन् र उहाँका अभिप्राय जान्दैनन्, तब तिनीहरूले सधैँ यसलाई गलत रूपमा अर्थ्याउँछन् र उहाँसँग हिसाबकिताब मिलाउन उहाँलाई केही सतही कुराहरू टक्र्याउँछन्। तिनीहरू भन्छन्, “हे परमेश्‍वर, मैले विश्‍वास गरेको धेरै वर्ष भयो। मैले धेरै ठाउँ यात्रा गरेको छु, धेरैलाई सुसमाचार सुनाएर विश्‍वासमा ल्याएको छु। मैले तपाईंका वचनहरूका धेरै खण्डहरू कण्ठस्थ सुनाउन सक्छु र निकै धेरै भजनहरू गाउन सक्छु। जब कुनै ठूलो वा कठिन कुरा आइपर्छ, तब म सधैँ उपवास बसेर प्रार्थना गर्छु, र म सधैँ तपाईंका वचनहरू पढ्छु। म कसरी तपाईंका अभिप्रायअनुरूप हुँदिनँ र?” त्यसपछि परमेश्‍वरले तिनीहरूलाई भन्‍नुहुन्छ: “के अहिले तँ इमानदार व्यक्ति भएको छस्? के तेरो छलीपन परिवर्तन भएको छ? के इमानदार व्यक्ति बन्‍नको लागि तैँले कुनै मूल्य चुकाएको छस्? के तैँले आफूले गरेका सबै छली कुराहरू, आफ्नो छलीपनका सबै प्रकटीकरणहरू कहिल्यै मेरो अगाडि ल्याई तीमाथि प्रकाश पारेको छस्? के तँ मसँग कम बेइमान भइरहेको छस्? जब तैँले मसँग झूटो शपथ खाने वा खोक्रो प्रतिज्ञा गर्ने, वा मलाई मूर्ख बनाउन राम्रा कुराहरू बोल्ने गर्छस्, के त्यो तँलाई थाहा हुन्छ? के तैँले यी कुराहरू त्यागेको छस्?” जब तैँले त्यसबारेमा विचार गर्छस् र यी कुराहरू तैँले त्यागेको छैनस् भन्‍ने कुरा पत्ता लगाउँछस्, तब तँ अक्‍क न बक्‍क हुनेछस्। अनि, तँसँग परमेश्‍वरको अघि हिसाबकिताब मिलाउने उपाय हुँदो रहेनछ भन्‍ने तथ्यबारे तँ सचेत हुनेछस्। तिमीहरूलाई आफ्‍नो बारेमा थाहा पाउन लगाउनकै लागि म तिमीहरूको भ्रष्ट स्थिति खुलासा गर्छु; तिमीहरू सत्यता अभ्यास गरेर वास्तविकतामा प्रवेश गर्न सक भनेरै म यति धेरै बोल्छु। कुनै पनि वचन, कुनै पनि सङ्गति वा सत्यता मानिसहरूले टाढाटाढासम्म कण्ठस्थ सुनाउँदै हिँड्नको लागि होइन; ती त अभ्यास गर्नको लागि दिइएका हुन्। किन तिमीहरूलाई सधैँ सत्यता स्विकार्नु र अभ्यास गर्नु भनेर भनिएको हो? किनभने सत्यताले मात्रै तिमीहरूको भ्रष्टता पखाल्‍न र तिमीहरूको जीवन दृष्टिकोण, र तिमीहरूका मूल्य-मान्यताहरू परिवर्तन गर्न सक्छ, र सत्यता मात्रै कसैको जीवन बन्‍न सक्छ। जब तैँले सत्यता स्विकार्छस्, तब यसलाई आफ्‍नो जीवन बनाउनको लागि तैँले यसलाई अभ्यास पनि गर्नु अनिवार्य हुन्छ। यदि तँलाई तैँले सत्यता बुझेको छस् भन्‍ने लाग्छ तर तैँले यसको अभ्यास गरेकै छैनस्, र यो तेरो जीवन बनेकै छैन भने, तँ सम्भवतः परिवर्तन हुनै सक्दैनस्। तैँले सत्यता स्विकारेको छैनस्, त्यसकारण कुनै पनि हालतमा तेरो भ्रष्ट स्वभाव शुद्ध हुँदैन। यदि सत्यता अभ्यास गर्न सक्दैनस् भने, तँ परिवर्तन हुनेछैनस्। अन्तिममा, यदि सत्यताले तेरो हृदयमा जरा गाडेको छैन र यो तेरो जीवन बनेको छैन भने, विश्‍वासीको रूपमा तेरो समय समाप्त हुन लागेपछि, तेरो नियति र परिणाम निर्धारण गरिनेछ। यो सङ्गतिलाई ध्यानमा राखेर, के तिमीहरू सबैले सत्यता अभ्यास गर्नमा केही आत्तुरी महसुस गरिरहेका छौ? तीन वर्ष, पाँच वर्ष, वा त्योभन्दा बढी समय पर्खने, अनि त्यसपछि मात्रै अभ्यास गर्ने काम नगर्। सत्यता अभ्यास गर्ने विषयमा धेरै चाँडो वा धेरै ढिलो भन्‍ने हुँदैन; यदि तैँले चाँडै अभ्यास गरिस् भने, तँ चाँडै परिवर्तन हुनेछस्, र तैँले ढिलो अभ्यास गरिस् भने, तँ ढिलै परिवर्तन हुनेछस्। यदि तैँले पवित्र आत्माको काममा र परमेश्‍वरद्वारा मानवजातिलाई सिद्ध पारिने प्रक्रियामा सहभागी हुने आफ्‍नो अवसर गुमाइस् भने, महाविपत्तिहरू आउँदा तँ खतरामा पर्नेछस्। त्यसपछि, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भएपछि, कुनै अवसर बाँकी रहनेछैन। यदि तैँले आफ्‍नो मौका गुमाएपछि, “मैले त्यो बेला कुनै प्रयास गरिनँ, तर म अब अभ्यास गर्न थाल्‍नेछु” भनेर भनिस् भने, धेरै ढिला भइसकेको हुनेछ, र तँ परमेश्‍वरद्वारा सिद्ध पारिने सम्‍भावना निकै कम हुनेछ। यस्तो किन हुन्छ भने, पवित्र आत्‍माले काम गर्न छोडिसक्‍नुभएको हुनेछ, र सबै कुरा र सबै सत्यतासम्‍बन्धी तेरो बुझाइ अत्यन्तै सतही हुनेछ। अहिले अनेक किसिमका परिस्थितिहरू देखा परिरहेका छन्, र सत्यताको सङ्गतिमार्फत, तिमीहरूको विश्‍वास वृद्धि भइरहेको छ र तिमीहरूले परमेश्‍वरलाई पछ्याउने अझै बढी प्रेरणा पाएका छौ। यदि केही समयसम्‍म कुनै परिस्थिति नआएको भए, तिमीहरू अवश्य नै नकारात्मक र अनुशासनहीन बन्‍नेथियौ, परमेश्‍वरबाट झन्झन् टाढा हुनेथियौ। तिमीहरू धर्मका मानिसहरूजस्तै भेलाका शैलीहरू र धर्मका विधिविधानहरू पालना गर्दै र सत्यता वास्तविकतारहित भएर बसिरहेका हुनेथियौ। त्यसपछि त तिमीहरूले छाती पिट्दै बिलौना गर्नुको के अर्थ हुन्थ्यो र?

मलाई भन, के छली मानिसहरूसँग बस्‍नु थकाइलाग्दो हुन्छ? (हुन्छ।) के तिनीहरू पनि थकित भएका हुँदैनन् र? वास्तवमा, तिनीहरू पनि थकित भएका हुन्छन्, तर तिनीहरूले आफ्‍नो थकाइ महसुस गर्दैनन्। यस्तो किन हो भने छली मानिसहरू र इमानदार मानिसहरू फरक-फरक हुन्। इमानदार मानिसहरू सरल हुन्छन्। तिनीहरूका सोचहरू जटिल हुँदैनन्, र तिनीहरू आफूले जे सोच्यो त्यही बोल्छन्। अर्कोतर्फ, छली मानिसहरू सधैँ घुमाउरो तरिकाले बोल्छन्। तिनीहरूले केही कुरा पनि सीधै भन्दैनन्—तिनीहरूले त सधैँ खेल खेलिरहेका र आफ्‍ना झूटहरू लुकाइरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो दिमाग खियाइरहेका हुन्छन्, आफूले हेलचेक्र्याइँ पो गरेँ कि, कुनै कुरा पो खुस्काएँ कि भनी डराउँदै सधैँ सोचिरहेका हुन्छन्। कतिपय मानिसहरूले कुन हदसम्‍म छलको खेल खेल्छन्? तिनीहरूले जोसँग कुरा गरिरहेका भए पनि, को बढी चलाक छ, को बाठो छ, को माथि छ भनेर हेर्ने सधैँ प्रयास गर्छन्, र अन्त्यमा तिनीहरूको प्रतिस्पर्धात्मकता मानसिक रोग बन्छ। तिनीहरू राती सुत्‍न सक्दैनन्, तैपनि पीडा महसुस गर्दैनन्, र यो सामान्य हो भन्‍नेसमेत सोच्छन्। के तिनीहरू जिउँदा पिशाचहरू बनेका हुँदैनन् र? जब परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई शैतानको प्रभावबाट अलग हुन र आफ्‍नो भ्रष्ट स्वभाव हटाउन, इमानदार मानिसहरू बन्‍न, र उहाँका वचनहरूअनुसार जिउन मदत गर्नुहुन्छ। इमानदार व्यक्तिको रूपमा स्वतन्त्र र बन्धनमुक्त अनुभूत गराउँछ, र यो अत्यन्तै कम पीडादायी हुन्छ। यो सबैभन्दा सुखी जीवन हो। इमानदार मानिसहरू सरल हुन्छन्। तिनीहरूले आफ्‍नो मनको कुरा भन्छन्, र जे सोचेको छ त्यही भन्छन्। तिनीहरूले आफ्‍ना बोलीवचन र व्यवहारमा, विवेक र समझ अपनाउँछन्। तिनीहरू सत्यतामा लागिपर्न इच्छुक हुन्छन्, र सत्यता बुझेपछि तिनीहरूले यसलाई अभ्यास गर्छन्। तिनीहरूले कुनै कुरा स्पष्ट रूपमा बुझ्‍न सकेनन् भने, तिनीहरू सत्यता खोजी गर्न इच्छुक हुन्छन् र जुन काम सत्यता अनुरूप हुन्छ त्यही गर्छन्। तिनीहरूले जहाँ पनि र जुनसुकै कुरामा परमेश्‍वरका चाहना खोज्छन्, त्यसपछि आफ्‍नो व्यवहारमा तिनलाई लागू गर्छन्। केही क्षेत्रमा तिनीहरू मूर्ख पनि हुन सक्छन् र तिनीहरूले सत्यता सिद्धान्तहरूद्वारा आफूलाई सुसज्‍जित तुल्याउनुपर्ने हुन्छ, र यसको लागि तिनीहरू निरन्तर वृद्धि हुनुपर्छ। यसरी अनुभव गर्दा, तिनीहरू इमानदार र बुद्धिमान्‌ मानिसहरू बन्‍न र पूर्णतया परमेश्‍वरका अभिप्रायअनुरूप हुन सक्छन्। तर छली मानिसहरू त्यस्ता हुँदैनन्। तिनीहरू शैतानी स्वभावअनुसार जिउँछन्, आफ्‍नो भ्रष्टता प्रकट गर्छन्, तैपनि यस्तो व्यवहार गर्ने क्रममा तिनीहरू अरूले आफूविरुद्ध प्रयोग गर्ने केही कुरा भेट्लान् कि भन्‍ने डर मान्छन्। त्यसकारण, प्रतिक्रिया स्वरूप तिनीहरूले छलछाम र जालझेल प्रयोग गर्छन्। तिनीहरूलाई सबै कुरा खुलासा हुने समय आउला भन्‍ने डर लाग्छ, त्यसकारण हर उपाय लगाउँदै तिनीहरू झूटहरू बोल्ने र ढाकछोप गर्ने गर्छन्, र कुनै अन्तराल देखा पर्‍यो भने, यसलाई भर्न थप झूट बोल्छन्। सधैँ झूट बोल्नु र आफ्‍ना झूटहरू ढाकछोप गर्नु—के यो जिउने थकाइलाग्दो तरिका होइन र? तिनीहरू झूटहरू रच्‍न र आफूलाई ढाकछोप गर्न सधैँ दिमाग खियाइरहेका हुन्छन्। यस्तो गर्नु अत्यन्तै बोझिलो हुन्छ। त्यसैले, झूटहरू रच्दै र आफैलाई ढाकछोप गर्दै दिन बिताउने छली मानिसहरूको जीवन यस्तो थकाइलाग्दो र पीडादायी हुन्छ! तर इमानदार मानिसहरूको अवस्था फरक हुन्छ। इमानदार व्यक्तिको रूपमा, आफूले बोल्‍ने र व्यवहार गर्ने विषयमा मान्छेले धेरै विचार गर्नु पर्दैन। धेरैजसो अवस्थामा, इमानदार व्यक्तिले साँचो कुरा बोल्‍न सक्छ। कुनै खास मामलाले तिनीहरूको हितमा असर गर्ने भयो भने मात्रै तिनीहरूले अलिक बढी दिमाग खियाउँछन्—तिनीहरूले आफ्‍ना हितहरू रक्षा गर्न, आफ्‍नो आडम्बर र गौरव कायम गर्न थोरै झूट बोल्‍न सक्छन्। यस्ता झूटहरू सीमित हुन्छन्, त्यसकारण इमानदार मानिसहरूको बोलाइ र व्यवहार गराइ त्यति थकाइलाग्दो हुँदैन। छली मानिसहरूका अभिप्रायहरू इमानदार मानिसहरूका भन्दा धेरै जटिल हुन्छन्। तिनीहरूले धेरै कुराहरूबारे विचार गर्नुपर्ने हुन्छ: तिनीहरूले आफ्‍नो प्रतिष्ठा, मर्यादा, नाफा, र हैसियतबारे सोच्‍नुपर्ने हुन्छ; अनि तिनीहरूले आफ्‍ना हितहरू रक्षा गर्नुपर्ने हुन्छ—यो सबै अरूसामु आफ्नो कुनै कमीकमजोरी नदेखाई वा आफ्नो खेल के हो त्यो प्रकट नगरी गर्नुपर्ने हुन्छ, त्यसकारण तिनीहरूले झूटहरू रच्‍न आफ्‍नो दिमाग खियाउनुपर्छ। यसको साथै, छली मानिसहरूसँग ठूलाठूला, अनावश्यक इच्छाहरू र धेरै मागहरू हुन्छन्। तिनीहरूले आफ्‍ना लक्ष्यहरू हासिल गर्ने उपायहरू सोच्‍नुपर्छ, त्यसकारण तिनीहरूले झूट बोल्‍ने र धोका दिने कार्यलाई जारी राख्‍नुपर्छ, अनि अझ धेरै झूट बोल्‍दै जाँदा, तिनीहरूले थप झूटहरू ढाकछोप गर्नुपर्ने हुन्छ। त्यसकारण छली व्यक्तिको जीवन इमानदार व्यक्तिको भन्दा निकै थकाइलाग्दो र पीडादायी हुन्छ। कतिपय मानिसहरू तुलनात्मक रूपले इमानदार हुन्छन्। यदि तिनीहरूले सत्यता पछ्याउन, आफूले जुनसुकै झूट बोले पनि आफ्‍नो बारेमा मनन गर्न, आफूले गरेको छल जेसुकै भए पनि त्यसलाई पहिचान गर्न, त्यसलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्दै चिरफार गर्न र बुझ्‍न, र त्यसलाई परिवर्तन गर्न सक्छन् भने, तिनीहरूले केही वर्षको अवधिमै आफ्‍ना झूट र छलहरूमध्ये धेरैबाट आफूलाई मुक्त गर्न सक्‍नेछन्। त्यसपछि तिनीहरू आधारभूत रूपमै इमानदार व्यक्ति बनिसकेका हुनेछन्। यसरी जिउँदा यसले तिनीहरूलाई धेरै पीडा र थकाइबाट मुक्त मात्रै गर्नेछैन, तिनीहरूलाई शान्ति र खुसी पनि दिनेछ। धेरै मामलाहरूमा, तिनीहरू प्रसिद्धि, लाभ, हैसियत, आडम्बर र स्वाभिमानका बन्धनहरूबाट मुक्त हुनेछन्, र स्वाभाविक रूपमै स्वतन्त्र र मुक्त भएर जिउनेछन्। तर छली मानिसहरूको बोलीवचन र व्यवहारपछाडि सधैँ गुप्त मनसायहरू हुन्छन्। तिनीहरूले अरूलाई बहकाउन र छल्‍नका लागि अनेक किसिमका झूटहरू रच्छन्, अनि आफ्नो खुलासा हुनेबित्तिकै, तिनीहरूले आफ्‍ना झूटहरू ढाकछोप गर्न अनेक उपायहरू सोच्छन्। यस्ता आदि इत्यादि कुराको कष्टमा पर्दा, तिनीहरूले पनि आफ्‍नो जीवन थकाइलाग्दो छ भन्‍ने महसुस गर्छन्। आफूले सामना गर्ने हरेक परिस्थितिमा धेरै झूट बोल्‍नुपर्ने हुनु नै तिनीहरूको लागि थकाइलाग्दो हुन्छ, र त्यसपछि ती झूटहरू ढाकछोप गर्नुपर्दा त्यो झनै थकाइलाग्दो हुन्छ। तिनीहरूले भन्‍ने सबै कुरा एउटा उद्देश्य पूरा गर्नको लागि हुन्छ, त्यसकारण तिनीहरू आफूले बोल्‍ने हरेक शब्‍दमा धेरै मानसिक शक्ति लगाउँछन्। अनि, तिनीहरूले बोलिसकेपछि, तिनीहरूको वास्तविकता तैँले देखिस् कि भन्‍ने तिनीहरूलाई डर हुन्छ, त्यसकारण तिनीहरूले आफ्‍ना झूटहरू लुकाउन पनि आफ्‍नो दिमाग खियाउनुपर्ने हुन्छ, र तिनीहरूले जिद्दी गर्दै तँलाई स्पष्टीकरण दिन्छन्, तँलाई तिनीहरूले ढाँटिरहेका वा छलिरहेका छैनन्, र तिनीहरू असल व्यक्ति हुन् भनेर विश्‍वस्त तुल्याउने प्रयास गर्छन्। छली मानिसहरू यस्ता कुराहरू गर्नमा पोख्त हुन्छन्। यदि दुई छली मानिसहरू सँगै छन् भने, त्यहाँ मनमुटाव, द्वन्द्व, र षड्यन्‍त्र हुने कुरा निश्‍चित हुन्छ। तिनीहरूको बाझो कहिल्यै टुङ्गिदैन, जसले गर्दा झन्झन् गहन घृणा पैदा हुन्छ, र तिनीहरू कट्टर शत्रुहरू बन्छन्। यदि तँ छली व्यक्तिसँग इमानदार भइस् भने, यी व्यवहारहरूले तँलाई अवश्य नै दिक्‍क पार्नेछ। यदि तिनीहरूले कहिलेकाहीँ मात्रै त्यस्तो व्यवहार गर्छन् भने, तैँले सबैमा भ्रष्ट स्वभाव हुन्छ र त्यस्ता कुराहरूबाट टाढा रहनु गाह्रो हुन्छ भनेर भन्‍नेछस्। तर यदि तिनीहरूले सधैँ त्यसरी नै व्यवहार गर्छन् भने, तँ यी शैलीहरूदेखि निकै दिक्‍क मान्नेछस् र तिनलाई घृणा गर्नेछस्; तँलाई तिनीहरूको त्यो पक्ष र तिनीहरूमा भएका अभिप्रायहरूलाई घृणा गर्नेछस्। जब तँलाई त्यो हदसम्म घृणा लाग्छ, तब तैँले तिनीहरूलाई घृणा र इन्कार गर्न सक्‍नेछस्। यो एकदमै सामान्य कुरा हो। तिनीहरूले पश्‍चात्ताप गरेर केही बदलाव नल्याएसम्‍म तिनीहरूसँग उठबस गर्नु हुँदैन।

तिमीहरूलाई के लाग्छ—के कपटी मानिसहरूको लागि जीवन थकाइलाग्दो छैन र? तिनीहरूले आफ्नो सबै समय झूट बोलेर अनि ती झूटहरू ढाकछोप गर्न थप झूटहरू बोलेर, र छलकपटमा संलग्‍न भएर बिताउँछन्। तिनीहरूले यस्तो थकान आफैले आफूमाथि ल्याउँछन्। तिनीहरूलाई यसरी जिउनु थकाइलाग्दो छ भन्‍ने पनि थाहा हुन्छ—तैपनि किन तिनीहरू कपटी बन्‍न चाहन्छन्, तर इमानदार बन्‍न चाहँदैनन्? के तिमीहरूले यस प्रश्‍नको बारेमा कहिल्यै विचार गरेका छौ? यो मानिसहरूलाई आफ्नै शैतानी प्रकृतिले मूर्ख बनाउँदाको परिणाम हो; यसले तिनीहरूलाई यस्तो जीवन र यस्तो स्वभावबाट आफूलाई मुक्त गर्न दिँदैन। मानिसहरू यसरी नै मूर्ख बन्‍न मान्न, र यसरी नै जिउन इच्छुक छन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिको मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र यसरी व्यवहार गर्न अनावश्यक लाग्छ—तर छली मानिसहरूलाई यो बिलकुलै आवश्यक छ भन्‍ने लाग्छ। तिनीहरू यसो नगर्दा अपमान आइलाग्छ, र यसले गर्दा आफ्‍नो छवि, आफ्नो प्रतिष्ठा र आफ्नो हितमा समेत हानि पुग्छ, र आफूले एकदमै धेरै गुमाउनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले यी कुराहरूलाई नै प्रिय ठान्छन्, तिनीहरू आफ्‍नै छवि, आफ्नै प्रतिष्ठा र आफ्नै हैसियत नै सम्हालेर राख्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूको साँचो स्वरूप यही हो। सङ्क्षेपमा, जब मानिसहरू इमानदार बन्‍न वा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्, तब यो तिनीहरूले सत्यतालाई प्रेम नगरेको कारणले हुन्छ। आफ्‍नो हृदयमा, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई प्यारो ठान्छन्, तिनीहरू बाहिरी संसारका प्रचलनहरू पछ्याउन र शैतानको शक्ति अन्तर्गत जिउन मन पराउँछन्। यो तिनीहरूको प्रकृतिको समस्या हो। अहिले त यहाँ परमेश्‍वरलाई वर्षौंदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेका मानिसहरू छन्। तर तिनीहरू अझै पनि सत्यता अभ्यास गर्दैनन्, र तिनीहरूमा अझै पनि केही परिवर्तन आएको छैन—यस्तो किन भएको हो? यस्तो किन हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरू त्यसलाई अभ्यास गर्न सक्षम छैनन्। यस्ता मानिसहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो हात लाग्यो शून्य हुनेछ। के सत्यतालाई प्रेम नगर्नेहरूलाई मुक्ति दिन सकिन्छ? यो बिलकुलै असम्‍भव छ। सत्यतालाई प्रेम नगर्नु व्यक्तिको हृदय र प्रकृतिसँग सम्‍बन्धित समस्या हो। यसलाई समाधान गर्न सकिँदैन। व्यक्तिलाई उसको विश्‍वासमा मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मुख्यतः उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै सत्यता स्विकार्न सक्छन्; तिनीहरूले मात्रै सत्यताको खातिर कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले मात्रै परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा भरोसा गर्न सक्छन्। तिनीहरूले मात्रै सत्यता खोजी गर्न र आफ्‍ना अनुभवहरूमार्फत आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न, देहविरुद्ध विद्रोह गर्ने साहस पाउन, र सत्यताको अभ्यास र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै यसरी सत्यता पछ्याउन, मुक्तिको मार्ग हिँड्न, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। योभन्दा अरू कुनै मार्ग छैन। सत्यतालाई प्रेम नगर्नेहरूले यसलाई स्विकार्नु निकै गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने प्रकृतिले नै तिनीहरू सत्यता विरुद्ध जाने र यसलाई घृणा गर्ने हुन्छन्। यदि तिनीहरूले परमेश्‍वरको विरोध गर्न वा दुष्टता गर्न छोड्न चाहे भने, त्यसो गर्न तिनीहरूलाई साह्रै गाह्रो हुनेछ, किनभने तिनीहरू शैतानका हुन् र तिनीहरू पहिले नै दियाबलस बनेर परमेश्‍वरका शत्रु भइसकेका हुन्छन्। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ तर दियाबलसहरू वा शैतानलाई मुक्ति दिनुहुन्‍न। कतिपय मानिसहरूले यस्ता प्रश्‍नहरू सोध्छन्: “म साँच्‍चै सत्यता बुझ्छु। म यसलाई अभ्यास गर्नै सक्दिनँ। मैले के गर्ने?” यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूले सत्यता बुझे पनि सत्यता अभ्यास गर्न सक्दैनन्, किनभने हृदयमा तिनीहरूलाई त्यसो गर्ने इच्‍छा नै हुँदैन र तिनीहरूलाई सत्यता मनै पर्दैन। त्यस्ता व्यक्तिहरू मुक्तिबाहिर हुन्छन्। कतिपय मानिसहरूले यसो भन्छन्: “मलाई त इमानदार व्यक्ति बन्दा धेरै कुरा गुमाइन्छ जस्तो लाग्छ, त्यसकारण म त्यस्तो व्यक्ति बन्‍न चाहन्‍नँ। छली मानिसहरूले कहिल्यै केही गुमाउँदैनन्—तिनीहरूले त अरूको फाइदा उठाएर समेत लाभ लिन सक्छन्। त्यसकारण, म त बरु छली व्यक्ति नै बन्छु। म अरूलाई मेरो व्यक्तिगत मामला जान्‍न, मेरो बारे राम्ररी जान्‍न वा मलाई बुझ्‍न दिन चाहन्‍नँ। मेरो भाग्य मेरै हातमा हुनुपर्छ।” त्यसो भए, सक्दो लागिपर्, र त्यसै गरेर हेर्। तेरो कस्तो परिणाम आउँछ, त्यो हेर्; अन्तिममा को नर्क जान्छ र कसले दण्ड पाउँछ, त्यो हेर्।

के तिमीहरू इमानदार बन्‍न इच्छुक छौ? यी सङ्गतिहरू सुनेपछि तिमीहरूले के गर्ने योजना बनाएका छौ? तिमीहरू सबभन्दा पहिले केदेखि सुरु गर्नेछौ? (म झूट बोल्‍न छोडेर यो काम सुरु गर्नेछु।) त्यो अभ्यास गर्ने राम्रो तरिका हो, तर झूट बोल्‍न छोड्नु सजिलो छैन। मानिसहरूको झूटपछाडि प्राय अभिप्रायहरू लुकेका हुन्छन्, तर कतिपय झूटमा कुनै अभिप्राय लुकेको हुँदैन, न त ती झूटको जानी-जानी कुनै योजना नै बनाइएको हुन्छ। ती झूटहरू त प्राकृतिक रूपमै आफै आउने गर्छन्। त्यस्ता झूटहरू समाधान गर्न सहज हुन्छ; तर अभिप्राय लुकेका झूटहरू समाधान गर्न गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने, ती अभिप्रायहरू व्यक्तिको प्रकृतिबाट आएका हुन्छन् र ती शैतानको चलाकी प्रतिनिधित्व गर्ने कुराहरू हुन्, र ती मानिसहरूले जानी-जानी छनौट गर्ने अभिप्रायहरू हुन्। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्दैनन्—त्यसकारण तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तर झूट बोल्‍ने समस्या एकै पटकमा पूरै समाधान गर्न सकिँदैन। कहिलेकाहीँ वा धेरै पटक पुरानै बानीमा फर्किने समस्या रहन्छ। यो सामान्य अवस्था हो, र तैँले आफूले बोल्‍ने हरेक झूटलाई समाधान गरिस्, र यो कार्यलाई जारी राखिस् भने, त्यो दिन पक्‍कै आउनेछ जुन दिन तैँले ती सबै झूट समाधान गरिसकेको हुनेछस्। झूट बोल्‍ने समस्या समाधान गर्नु भनेको दीर्घकालीन युद्ध लड्नु हो: जब एउटा झूट प्रकट हुन्छ, तब आफ्‍नो बारेमा मनन गर्, र त्यसपछि परमेश्‍वरलाई प्रार्थना गर्। जब अर्को झूट प्रकट हुन्छ, तब फेरि आफ्‍नो बारेमा मनन गर्, र परमेश्‍वरलाई प्रार्थना गर्। परमेश्‍वरलाई तैँले जति प्रार्थना गर्छस्, तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई त्यति नै घृणा गर्नेछस्, र तँलाई सत्यता अभ्यास गर्न र सत्यता जिउन त्यति नै इच्‍छा हुनेछ। त्यसरी, तँसँग झूटहरू त्याग्‍ने सामर्थ्य हुनेछ। केही समयसम्‍म त्यस्तो अनुभव र अभ्यास गरिसकेपछि, तैँले तेरा झूटहरू झन्झन् घटिरहेको, तँ पहिलेभन्दा धेरै सहजतामा जिइरहेको, र तैँले अबदेखि झूट बोल्‍न वा झूट ढाकछोप गर्न जरुरी नरहेको देख्‍नेछस्। तँ दैनिक रूपमा त्यति धेरै नबोले पनि, हरेक वाक्य तेरो हृदयबाट निस्केको र साँचो हुनेछ, र त्यसमा झूट एकदमै थोरै हुनेछ। त्यसरी जिउँदा कस्तो महसुस हुनेछ? के यो स्वतन्त्र र मुक्त अनुभूत गराउने हुनेछैन र? तँलाई अब तेरो भ्रष्ट स्वभावले जकडेर राख्नेछैन र तँ यसको बन्धनमा पर्नेछैनस्, अनि कम्तीमा पनि तैँले इमानदार व्यक्ति बन्नुका परिणामहरू देख्‍न थाल्‍नेछस्। अवश्‍य नै, विशेष परिस्‍थितिहरू सामना गर्दा, तैँले कहिलेकाहीँ सानो झूट मुखबाट फुत्काउन सक्छस्। कहिलेकाहीँ तँलाई खतरा हुन सक्छ वा कुनै समस्या आउन सक्छ, वा तँ आफ्‍नो सुरक्षा गर्न चाहन सक्छस्, र त्यस्तो बेला झूट नबोली हुँदैन। तैपनि, तैँले यसबारेमा मनन गर्नुपर्छ, यसलाई बुझ्‍नुपर्छ र समस्या समाधान गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गरेर यसो भन्‍नुपर्छ: “ममा अझै पनि झूट र छल रहेका छन्। परमेश्‍वरले मलाई मेरो भ्रष्ट स्वभावबाट सधैँको लागि मुक्त गर्नुभए हुन्थ्यो।” जब व्यक्तिले उद्देश्यपूर्ण रूपमा बुद्धि अभ्यास गरिरहेको हुन्छ, तब यो भ्रष्टताको प्रकटीकरणको रूपमा गनिँदैन। इमानदार व्यक्ति बन्‍नको लागि व्यक्तिले अनुभव गर्नुपर्ने कुरा त्यही हो। यस तरिकाले, अलिअलि गर्दै, तेरा झूटहरू घट्दै जान्छन्। आज तैँले दश वटा झूट बोल्छस्, भोलि तैँले नौ वटा बोल्‍नेछस्, र पर्सी आठ वटा बोल्‍नेछस्। पछि तैँले दुई-तीन वटा झूट मात्रै बोल्‍नेछस्। तैँले झन्झन्‌ धेरै सत्य बोल्दै जानेछस्, र इमानदार व्यक्ति बन्‍ने तेरो अभ्यास पहिलेभन्दा झन्झन् परमेश्‍वरका अभिप्राय, उहाँका सर्तहरू, र उहाँका मापदण्डहरूको नजिक पुग्‍नेछ—अनि त्यो कति राम्रो हुनेछ! इमानदार बन्‍ने अभ्यास गर्नको लागि, तँसँग एउटा मार्ग, र एउटा उद्देश्य हुनुपर्छ। सबभन्दा पहिले, झूट बोल्‍ने समस्या समाधान गर्। तैँले यी झूटहरू बोल्‍नुपछाडि लुकेको तेरो सार चिन्‍नुपर्छ। तैँले तँलाई के-कस्ता अभिप्राय र मनसायले यी झूटहरू बोल्‍न उत्प्रेरित गर्छन्, तँमा किन यस्ता अभिप्रायहरू छन्, र ती अभिप्रायको सार के हो भनेर पनि चिरफार गर्नुपर्छ। जब तैँले यी सबै समस्याहरू स्पष्ट पारेको हुन्छस्, तब तैँले झूट बोल्‍ने समस्यालाई राम्ररी चिनिसकेको हुन्छस्, र जब कुनै कुरा तँमाथि आइपर्छ, तब तँसँग अभ्यासका सिद्धान्तहरू हुनेछन्। यदि तैँले यस्तो अभ्यास र अनुभव अघि बढाइरहन्छस् भने, नतिजा पक्‍कै पनि तेरो हात आउनेछ। एक दिन तैँले यसो भन्‍नेछस्: “इमानदार बन्‍नु सजिलो छ। छली बन्‍नु अत्यन्तै थकाइलाग्दो हुँदो रहेछ! अबदेखि म छली व्यक्ति बन्‍न चाहन्‍नँ, सधैँ यसरी के-कस्ता झूटहरू बोल्‍ने र आफ्‍ना झूटहरू कसरी ढाकछोप गर्ने भनेर सोचिरहन चाहन्‍नँ। यो त मानसिक रोग भएको व्यक्ति बन्‍नुजस्तै हो, सधैँ विरोधाभासपूर्ण बोली बोल्ने—‘मानव’ भनेर भन्‍नलायक नै नभएको व्यक्ति बन्‍नु हो! त्यस्तो जीवन अति थकाइलाग्दो हुन्छ, र म अबदेखि त्यसरी जिउन चाहन्‍नँ!” यस पटक, तैँले साँचो रूपमा इमानदार बन्‍ने आशा पाएको हुन्छस्, र यसले तैँले इमानदार व्यक्ति बन्‍नेतर्फ प्रगति गर्न थालेको छस् भन्‍ने प्रमाणित गर्नेछ। यो एउटा ठूलो सफलता हो। अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्‍दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्‍जित हुन्छ। तिमीहरूको अनुहार रातो हुन्छ होला, तिमीहरूलाई लाज लाग्‍छ होला, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्‍छ होला। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्‍नुपर्छ। तैँले यसो भन्‍नुपर्छ: “हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरूले मलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई मुक्त र स्वतन्त्र हुन मदत गर्नुहोस्।” जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयमा अझै धेरै ज्योति आउनेछ, र तैँले मनमनै भन्‍नेछस्: “यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एक पटक त इमानदार व्यक्ति बनेको छु।” तैँले यसरी प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई उत्प्रेरित गर्नुहुन्छ, र तैँले वास्तविक व्यक्ति बन्‍दा कस्तो अनुभव हुन्छ भनेर बुझ्छस्। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्। जब मानिसहरूले सत्यता खोजी गर्न सुरु गर्छन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ नै भन्‍ने छैन। कुनै मार्ग नहुनु मानिसहरूको लागि गाह्रो कुरा हो, तर तिनीहरूले सत्यता बुझेपछि र अभ्यासको मार्ग भेट्टाएपछि, तिनीहरूको हृदयले यसमा आनन्द प्राप्त गर्नेछ। यदि तिनीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन् भने, तिनीहरूको हृदयले आराम पाउनेछ, र तिनीहरूले स्वतन्त्रता र उन्मुक्ति प्राप्त गर्नेछन्। यदि तँसँग परमेश्‍वरबारे केही साँचो ज्ञान छ भने, तैँले यो संसारका सबै कुराहरू स्पष्ट देख्‍न सक्‍नेछस्; तेरो हृदय उज्यालो हुनेछ, र तँसित मार्ग हुनेछ। त्यसपछि तैँले पूर्ण उन्मुक्ति र स्वतन्त्रता पाउनेछस्। यस बेला, तैँले सत्यता अभ्यास गर्नु, परमेश्‍वरलाई सन्तुष्ट पार्नु, र वास्तविक व्यक्ति बन्‍नु भनेको के हो त्यो कुरा बुझ्‍नेछस्—र यसमा, तँ परमेश्‍वरमाथिको तेरो विश्‍वासको सही मार्गमा हुनेछस्।

शरद, २००७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्