इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास (भाग दुई)

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्‍नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न, र परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—परमेश्‍वरले सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ, सत्यताले पनि त्यसै गर्छ। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ। हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्‍नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्‍नो आचरणको जगका रूपमा लिए। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। गैरविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग गरिनेछ र हटाइनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्। तैँले जेसुकै गरे पनि वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तँसित इमान्दार मनोवृत्ति हुनुपर्छ। इमान्दार मनोवृत्ति नहुँदा, तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न सक्‍दैनस्। यदि तैँले सधैँ झाराटारुवा शैलीमा कर्तव्य निर्वाह गर्छस्, र तँ कुनै काम पनि राम्रोसित गर्न असफल हुन्छस् भने, तैँले आत्मसमीक्षा गर्नुपर्छ, आफूलाई चिन्नुपर्छ र खुलेर आत्म-चिरफार गर्नुपर्छ। त्यसपछि, तैँले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ र झाराटारुवा हुनुको सट्टा अर्कोपल्ट अझ राम्रो गर्ने प्रयास गर्नुपर्छ। यदि तँ इमान्दार हृदयसहित कोसिस गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँदैनस्, अनि सधैँ आफ्नो देह वा आफ्नै घमन्डलाई सन्तुष्ट पार्न खोज्छस् भने, यस प्रकारले काम गर्दा के तैँले राम्रो काम गर्न सक्नेछस् र? के तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न सक्‍नेछस् र? निश्चय नै सक्‍नेछैनस्। छली मानिसहरूले सधैँ झाराटारुवा रूपले कर्तव्य पूरा गर्छन्; तिनीहरू जुनसुकै कर्तव्यमा भए पनि, त्यो कर्तव्य राम्ररी पूरा गर्दैनन्, र त्यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न गाह्रो हुन्छ। मलाई भन—छली मानिसहरूले सत्यतालाई व्यवहारमा उतार्दा, के तिनीहरू छलमा संलग्‍न हुन्छन् त? सत्यतालाई अभ्यास गर्नको लागि तिनीहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरूका आफ्‍नै चासोहरूलाई त्याग्‍नुपर्छ, अरूको सामुन्ने खुल्नुपर्छ र आफैलाई उदाङ्गो पार्नुपर्छ। तर तिनीहरूले कुनै कुरा लुकाएर राखेका हुन्छन्; जब तिनीहरू बोल्छन्, तिनीहरूले आधा कुरा मात्रै गर्छन्, र बाँकी कुरा लुकाएर राख्छन्। तिनीहरूले के भन्‍न खोजेका हुन् भनेर अरूले सधैँ अनुमान गर्नुपर्छ, र तिनीहरूको अर्थ पत्ता लगाउन सधैँ सानातिना कुराहरूलाई जोड्नुपर्छ। तिनीहरूले सधैँ आफूलाई चालबाजीको अवसर दिन्छन्, तिनीहरूले आफ्‍नो लागि खेल्‍ने ठाउँ खाली छोड्छन्। अरूले तिनीहरू छली छन् भन्‍ने थाहा पाएपछि, उनीहरूले तिनीहरूसँग कुनै सम्‍बन्ध राख्‍न चाहँदैनन्, र तिनीहरूले जेसुकै काम गर्दा पनि तिनीहरूप्रति सतर्क हुन्छन्। तिनीहरूले झूट बोल्छन् र छल्छन् अनि तिनीहरूले भनेका कुराहरूमा कुन साँचो र कुन झूटो हो, वा ती कुराहरू कति बनावटी छन् भन्‍ने थाहा नपाएर अरूले तिनीहरूलाई भरोसा गर्न सक्दैनन्। तिनीहरूले प्रायजसो आफूले बोलेको कुरा पूरा गर्दैनन् र मानिसहरूको हृदयमा तिनीहरूको कुनै मूल्य हुँदैन। अनि परमेश्‍वरको हृदयमा के हुन्छ? परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले त तिनीहरूलाई अझै बढी तिरस्कार गर्नुहुन्छ, किनभने परमेश्‍वरले मानिसहरूको हृदय र मनको गहिराइलाई छानबिन गर्नुहुन्छ। मानिसले बाहिर भएको कुरालाई मात्रै देख्‍न सक्छ, तर परमेश्‍वरले अझै सटीक, तीक्ष्ण, र वास्तविक रूपमा देख्‍न सक्‍नुहुन्छ।

तैँले विश्‍वास गरेको जति लामो समय भएको भए पनि, तेरो कर्तव्य वा काम जे भए पनि, तेरो क्षमता राम्रो भए पनि खराब भए पनि, तेरो चरित्र असल भए पनि खराब भए पनि, यदि तैँले सत्यता स्विकार्न सक्छस् र इमानदार व्यक्ति बन्‍ने प्रयास गर्न सक्छस् भने, तैँले अवश्य नै इनामहरू पाउनेछस्। इमानदार व्यक्ति बन्‍न प्रयास नगर्ने कतिपय मानिसहरूले तिनीहरूको कर्तव्य राम्ररी पूरा गर्नु नै पर्‍याप्त हुन्छ भन्‍ने सोच्छन्। तिनीहरूलाई म यसो भन्छु, “तैँले कहिल्यै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नेछैनस्।” अरू मानिसहरूले इमानदार व्यक्ति बन्नु ठूलो कुरा होइन, बरु परमेश्‍वरका अभिप्रायअनुरूप सेवा गर्न खोज्नु अझै ठूलो काम हो, र परमेश्‍वरलाई यसरी मात्रै सन्तुष्ट पार्न सकिन्छ भन्‍ने सोच्छन्। त्यसोभए प्रयास गरेर हेर—इमानदार व्यक्ति नबनी तिमीहरूले परमेश्‍वरका अभिप्रायअनुरूप सेवा गर्न सक्छौ कि सक्दैनौ, हेर। अरू मानिसहरूले इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनन्, तर हरेक दिन प्रार्थना गर्ने, समयमै भेलामा जाने, परमेश्‍वरका वचनहरू खाने-पिउने, र गैरविश्‍वासीहरू जस्तो नजिउने गर्नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले कुनै नियम तोडेनन् वा कुनै दुष्कर्म गरेनन् भने, तिनीहरूका लागि त्यो नै पर्‍याप्त हुन्छ। तर के परमेश्‍वरलाई त्यसरी सन्तुष्ट पार्न सकिन्छ? तँ इमानदार व्यक्ति होइनस् भने तैँले कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्? तँ इमानदार छैनस् भने, तँ सही प्रकारको व्यक्ति होइनस्। तँ इमानदार छैनस् भने, तँ कुटिल र धूर्त व्यक्ति होस्। तैँले झाराटारुवा तरिकाले काम गर्छस्, अनेक किसिमका भ्रष्टता प्रकट गर्छस्, र चाहेर पनि तैँले सत्यता अभ्यास गर्न सक्दैनस्। इमानदार व्यक्ति बन्‍ने कार्यभन्दा बाहिर गरिने कुनै पनि कुरा राम्ररी गरिँदैन—तैँले कुनै पनि हालतमा परमेश्‍वरप्रति समर्पणता हासिल गर्न वा उहाँलाई सन्तुष्ट पार्न सक्दैनस्। इमानदारिताको मनोवृत्तिविना तैँले कसरी आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्? इमानदार मनोवृत्तिविना आफ्‍नो कर्तव्य निर्वाह गरिस् भने तैँले कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्? के तैँले यो काम उचित रूपमा गर्न सक्छस्? तँ सधैँ आफ्‍नै देहका बारेमा र आफ्‍नै सम्‍भावनाहरूका बारेमा मात्रै सोच्छस्, सधैँ आफ्‍नो देहको कष्टलाई कम गर्ने, कम समर्पण गर्ने, कम त्याग गर्ने, कम मूल्य चुकाउने चाहना मात्रै गर्छस्। तैँले सधैँ कुनै न कुनै कुरा लुकाइरहेको हुन्छस्। यो त छली मनोवृत्ति हो। आफूलाई परमेश्‍वरमा समर्पित गर्ने कुरामा समेत कतिपय मानिसहरूले षड्यन्त्र गर्छन्। तिनीहरू भन्छन्: “भविष्यमा म सहजताका साथ जिउनुपर्छ। परमेश्‍वरको काम कहिल्यै सकिएन भने के गर्ने? म उहाँलाई आफ्नो सत प्रतिशत दिन सक्दिनँ; परमेश्‍वरको दिन कहिले आउनेछ भन्‍ने कुरा समेत मलाई थाहा छैन। मैले परमेश्‍वरका लागि समर्पण गर्नुभन्दा पहिले राम्ररी सोचविचार गर्नुपर्छ, मेरो पारिवारिक जीवन र भविष्यका लागि बन्दोबस्त गर्नुपर्छ।” के यस्तो सोच्‍ने मानिसहरू धेरै छन्? जब व्यक्तिले यस्तै षडयन्त्र गर्छ र आफ्‍नो लागि भइपरिआउने कुराको योजना बनाउँछ भने त्यो कस्तो स्वभाव हो? के यस्ता मानिसहरू परमेश्‍वरप्रति बफादार हुन्छन्? के तिनीहरू इमानदार मानिस हुन्? यसरी षड्यन्त्र गर्नु र भइपरिआउने कुराको योजना बनाउनु भनेको परमेश्‍वरसँग एउटै हृदयको हुनु होइन। यो त छली स्वभाव हो, र यस्ता मानिसहरूले छल गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई गर्ने व्यवहार अवश्य नै इमानदार किसिमको हुँदैन। कतिपय मानिसहरूलाई के कुराको डर हुन्छ भने, तिनीहरूसँग अन्तरक्रिया वा उठबस गर्दा, तिनीहरूका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका समस्याहरू देख्नेछन् र तिनीहरूको कद सानो छ भनेर भन्‍नेछन्, वा तिनीहरूलाई हेयभावले हेर्नेछन्। त्यसकारण जब तिनीहरू बोल्छन्, तब तिनीहरूले आफूहरू सधैँ उत्साही भएको, परमेश्‍वरको तृष्णा गर्ने गरेको, र सत्यताको अभ्यास गर्नमा इच्छुक रहेको जस्तो देखाउने प्रयास गर्छन्। तर भित्री रूपमा, तिनीहरू अत्यन्तै कमजोर र नकारात्मक हुन्छन्। तिनीहरूले कसैले पनि तिनीहरूको वास्तविकता देख्‍न नसकून् भनेर दह्रिलो भएको नाटक गर्छन्। यो पनि छल नै हो। छोटकरीमा भन्दा, तैँले गर्ने जेसुकै कुरामा, चाहे त्यो जीवनमा होस् वा कर्तव्य निर्वाह गर्दा होस्, यदि तँ अरूलाई बहकाउन वा छल गर्न अनि तिनीहरूलाई तँलाई आदर र उपासना गर्न लगाउन, वा तँलाई हेयभावले नहेर्न लगाउन झूट र नाटक वा देखावटी व्यवहार प्रयोग गर्छस् भने, यो सबै छल नै हो। कतिपय महिलाहरूले आफ्‍नो श्रीमानलाई माया गर्छन्, जबकि वास्तवमा तिनीहरूका श्रीमान पिशाच र अविश्‍वासीहरू हुन्छन्। उनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उनको स्‍नेह अत्यन्तै दह्रिलो रहेछ भनेर भन्छन् भन्‍ने डरले, त्यस्ती महिला यसो भन्‍ने पहिलो व्यक्ति हुन्छिन्: “मेरो श्रीमान त पिशाच हो।” तर हृदयमा उनले भन्छिन्: “मेरो श्रीमान त असल व्यक्ति हुनुहुन्छ।” मुखले त उनले सुरुमा भनेको कुरा भन्छिन्—तर त्यो त अरूलाई सुनाउनका लागि मात्रै हो, ताकि उनले आफ्‍नो श्रीमानलाई छुट्ट्याएकी छिन् भन्‍ने अरूले सोचून्। उनले वास्तवमा यसो भनिरहेकी हुन्छिन्: “यो कुरालाई बाहिर नल्याउनुहोस्। म नै सुरुमा यो दृष्टिकोण व्यक्त गर्नेछु ताकि तपाईंहरूले यसको बारेमा उल्‍लेख गर्न नपरोस्। मैले मेरो श्रीमानलाई पिशाच भनेर खुलासा गरिसकेँ, त्यसको अर्थ मैले आफ्‍नो स्‍नेहलाई त्यागेको छु र तपाईंहरूले यसबारे केही भन्‍नु पर्दैन।” के त्यो छली हुनु होइन र? के त्यो देखावटी व्यवहार होइन र? यदि तैँले यसो गरिस् भने तैँले देखावटी रूप धारण गरेर मानिसहरूलाई छल गरिरहेको र बहकाइरहेको हुन्छस्। तैँले हरेक अवसरमा खेल खेलिरहेको, चलाकी गरिरहेको हुन्छस्, ताकि अरूले तेरो साँचो रूप नभई तेरो झूटो स्वरूप देखून्। यो कुटिल कुरा हो; यो मानिसको छलीपन हो। तैँले आफ्‍नो श्रीमान पिशाच हो भनी स्विकारेकी छेस्, त्यसोभए तँ किन ऊसँग सम्बन्धविच्छेद गर्दिनस्? किन त्यस पिशाचलाई, त्यस शैतानलाई इन्कार्दिनस्? तैँले तेरो श्रीमान पिशाच हो भनी भन्छेस्, तर पनि त्यसैसँग जीवन बिताइरहन्छेस्—यसले तँ पिशाचहरू मन पराउँछेस् भन्‍ने देखाउँछ। तैँले मुखले चाहिँ त्यो पिशाच हो भन्छेस्, तर हृदयमा यो कुरा स्विकार्दिनस्। यसको अर्थ तैँले अरूलाई छल गरिरहेकी छेस्, तिनीहरूको आँखामा छारो हालिरहेकी छेस्। यसले तैँले पिशाचहरूसँग साठगाँठ गरेकी छेस्, र तैँले तिनीहरूको रक्षा गरिरहेको छस् भन्‍ने देखाउँछ। यदि तँ सत्यताको अभ्यास गर्ने व्यक्ति भएकी भए, तैँले तेरो श्रीमान पिशाच हो भनेर स्विकार्नेबित्तिकै ऊसँग सम्बन्धविच्छेद गर्नेथिइस्। त्यसपछि तैँले गवाही दिन सक्नेथिइस्, र यसले तैँले आफू र दियाबलसको बीचमा स्पष्ट घेरा कोरिरहेकी छस् भन्‍ने देखाउनेथियो। तर दुःखको कुरा, तैँले यो घेरा कोर्न नसकेकी मात्रै होइन, तर तँ पिशाचसँग आफ्‍ना दिनहरू बिताइरहेकी छेस्, र झूट र छलद्वारा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाइरहेकी छस्। यसले तँ दियाबलस जस्तै छेस्, तँ झूट बोल्‍ने अर्को पिशाच होस् भन्‍ने प्रमाणित गर्छ। बिहे गरेको लोग्नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर भन्‍ने भनाइ छ। तैँले पिशाचलाई बिहे गरेकी छेस् र त्यसलाई कहिल्यै पनि पिठ्यूँ फर्काउँदिनस्, त्यसकारण त्यसले तँ पनि पिशाच नै होस् भन्‍ने प्रमाणित गर्छ। तँ दियाबलसको होस्, तर तँ परमेश्‍वरको होस् भन्‍ने प्रमाणित गर्न तेरो श्रीमान पिशाच हो भनी भन्छेस्—के यो झूट र छलको युक्ति होइन र? तँलाई सत्यताबारे राम्ररी थाहा छ, तर पनि अरूको आँखामा छारो हाल्नका लागि अझै यस्ता कुराहरूको प्रयोग गर्छस्। यो कपटी कार्य हो; यो छली कार्य हो। सबै कपटी र छली मानिसहरू पूर्ण रूपमा पिशाचहरू हुन्।

सबैमा भ्रष्ट स्वभाव हुन्छ। यदि तैँले केही आत्म-चिन्तन गरिस् भने, तैँले अरूमाथि झूटो प्रभाव पार्ने वा छली काम गर्ने कतिपय स्थिति वा अभ्यासहरू स्पष्ट रूपमा नै देख्छस्; तिमीहरू सबैले कुनै न कुनै बेला बहाना गरेका छौ वा ढोङ्ग गरेका छौ। कतिपय मानिसहरू यसो भन्छन्: “र पनि किन मैले थाहा पाएको छैनँ? म निष्कपट व्यक्ति हुँ। यो संसारमा मलाई निकै हेपिएको र ठगिएको छ, तर मैले एक पटक पनि छल गरेको छैनँ। म त आफ्‍नो हृदयमा जे छ त्यही भन्छु।” त्यसले अझै पनि तँ इमानदार व्यक्ति होस् भन्‍ने प्रमाणित गर्दैन। सायद तँ बुद्धिमान छैनस्, वा त्यति शिक्षित छैनस्, वा समूहमा तँ सहजै हेपिन्छस्, वा तँ काम गर्दा बुद्धि नपुर्‍याउने, थोरै सीप भएको बेतुका कायर होस्, र समाजको तल्‍लो स्तरमा पर्छस्—अझै पनि यसले तँ इमानदार व्यक्ति होस् भन्‍ने अर्थ दिँदैन। इमानदार व्यक्ति भनेको सत्यतालाई स्वीकार गर्न सक्‍ने व्यक्ति हो—बिचरा भन्‍न लायक, केही न कामको, मूर्ख, वा निष्कपट व्यक्ति होइन। तिमीहरूले यी कुराहरूलाई खुट्ट्याउन सक्‍नुपर्छ, होइन र? म प्रायजसो कतिपय मानिसहरूले यसो भन्‍ने गरेको सुन्‍ने गर्छु: “म कहिल्यै झूट बोल्दिनँ—मलाई पो सधैँ झूट बोलिन्छ। मलाई मानिसहरूले सधैँ हेप्छन्। परमेश्‍वरले खाँचोमा परेकालाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भनेर भन्‍नुभएको छ, र म त्यस्तै मानिसहरूमध्येको एक हुँ। यो परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले हामीजस्ता समाजबाट हेपिएका निश्छल मानिसहरूलाई दया गर्नुहुन्छ। यो साँच्‍चै नै परमेश्‍वरको करुणा हो!” परमेश्‍वरले खाँचोमा परेकालाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भन्‍नुको पछाडि व्यावहारिक पक्ष छ। तैँले त्यसलाई पहिचान गर्न सके पनि, यसले तँ इमानदार व्यक्ति होस् भन्‍ने प्रमाणित गर्दैन। वास्तवमा, कतिपय मानिसहरू बेवकुफ र मूर्ख नै हुन्छन्; तिनीहरू कुनै सीप नभएका, कमजोर क्षमता भएका, र सत्यतालाई पटक्‍कै नबुझेका मूर्खहरू हुन्छन्। परमेश्‍वरले उल्‍लेख गर्नुहुने इमानदार मानिसहरूसँग त्यस्तो व्यक्तिको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले खाँचोमा परेकाहरूलाई गोबरको थुप्रोबाट उठाउनुहुन्छ भन्‍ने कुरा साँचो हो, तर बेवकुफ र मूर्खहरू यसरी उठाइनेमा पर्दैनन्। तेरो क्षमता स्वाभाविक रूपमै अत्यन्तै खराब छ, र तँ मूर्ख, केही न कामको छस्, र तँ गरिब परिवारमा जन्‍मेको र समाजको तल्‍लो वर्गको सदस्य भए पनि, तँ परमेश्‍वरको मुक्तिको निसाना होइनस्। तैँले समाजमा धेरै कष्ट र विभेद भोगेको छस् भन्दैमा, तँलाई सबैले हेपेका र ठगेका छन् भन्दैमा तँ इमानदार व्यक्ति होस् भन्‍ने नसोच्। त्यस्तो सोच्छस् भने, तँ नराम्ररी भूलमा परेको छस्। के तैँले इमानदार व्यक्ति कस्तो हुन्छ भन्‍ने बारेमा कुनै गलत बुझाइ वा विकृत समझ पालिरहेको छस्? के तिमीहरूले यो सङ्गतिद्वारा केही स्पष्टता प्राप्त गर्‍यौ? इमानदार व्यक्ति बन्‍नु मानिसहरूले सोचेको जस्तो होइन; यो शब्दजाल रच्नबाट टाढा बस्‍ने सीधा बोल्‍ने व्यक्ति बन्‍नु होइन। व्यक्ति स्वाभाविक रूपमै सीधा बोल्‍ने व्यक्ति हुन सक्छ, तर त्यसको अर्थ ऊ जालझेल वा छलमा संलग्‍न हुँदैन भन्‍ने हुँदैन। सबै भ्रष्ट मानवमा ठग र छली भ्रष्ट स्वभाव हुन्छ। जब मानिसहरू शैतानको प्रभावमा रहेर, र यसका शक्तिहरूबाट सञ्चालित र नियन्त्रित भएर, संसारमा जिउँछन् तब तिनीहरूको लागि इमान्दार हुनु असम्भव हुन्छ। तिनीहरू पहिलेभन्दा झन् धेरै छली मात्र बन्न सक्छन्। भ्रष्ट मानवजातिका बीचमा जिएर इमानदार व्यक्ति बन्‍नका लागि धेरै कठिनाइहरूको सामना गर्नुपर्छ। हामीलाई गैरविश्‍वासीहरू, दियाबलसका राजाहरू, र जिउँदा पिशाचहरूले गिल्‍ला गर्ने, निन्दा गर्ने, मूल्याङ्कन गर्ने, बहिस्कार गर्ने र खेदाउने सम्‍भावना समेत हुन्छ। त्यसकारण, के यो संसारमा इमानदार व्यक्तिका रूपमा जिउनु सम्‍भव छ? के यो संसारमा बाँच्नका लागि हाम्रो लागि कुनै ठाउँ छ? हो, छ। यो संसारमा बाँच्नका लागि हाम्रो लागि अवश्य नै ठाउँ छ। परमेश्‍वरले हामीलाई पूर्वनिर्धारित गर्नुभएको र चुन्‍नुभएको छ, र उहाँले अवश्य नै हाम्रो लागि बाटो खोल्‍नुहुन्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र उहाँकै मार्गदर्शनमा उहाँलाई पछ्याउँछौँ, र हामी पूर्णतया उहाँले दिनुहुने सास र जीवनद्वारा नै जिउँछौँ। हामीले परमेश्‍वरका वचनहरूको सत्यता स्विकारेका हुनाले, हामीसँग कसरी जिउने भन्‍ने बारेमा नयाँ नियमहरू, र हाम्रो जीवनका लागि नयाँ उद्देश्यहरू छन्। हाम्रो जीवनको जग परिवर्तन भएको छ। हामीले सत्यता प्राप्त गर्न र मुक्ति पाउनकै लागि जिउने नयाँ शैली, आफ्नो आनीबानीको नयाँ तरिका अपनाएका छौँ। हामीले नयाँ जीवन पद्धति अपनाएका छौँ: हामी आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि जिउँछौँ। हामीले भौतिक रूपमा के खान्छौँ, हामीले के लाउँछौँ, वा हामी कहाँ बस्छौँ भन्‍ने कुरासँग यसको बिलकुलै कहीँकतै कुनै सम्बन्ध छैन; यो हाम्रो आत्मिक आवश्यकता हो। धेरै मानिसहरूलाई इमानदार व्यक्ति बन्‍न धेरै गाह्रो छ जस्तो लाग्छ। यसको एउटा कारण के हो भने भ्रष्ट स्वभावलाई हटाउन निकै गाह्रो छ। त्यसमाथि, यदि तिमीहरू गैरविश्‍वासीहरूका बीचमा जिइरहेका छौ भने—अनि विशेष गरी यदि तिमीहरू तिनीहरूसँगै काम गरिरहेका छौ भने—इमानदार व्यक्ति बन्दा र साँचो बोल्दा तिमीहरूलाई हाँसोमा उडाइन्छ, गिल्‍ला गरिन्छ, आलोचना गरिन्छ, बहिस्कार गरिने वा खेदाइने समेत गरिन्छ। त्यसले हाम्रो अस्तित्वका लागि चुनौतीहरू खडा गर्छ। धेरै मानिसहरूले भन्छन्: “इमानदार व्यक्ति बनेर साध्य हुँदैन। यदि मैले खुलस्त बोले भने मलाई घाटा हुन्छ, र झूट नबोली म केही पनि पूरा गर्न सक्दिनँ।” यो कस्तो दृष्टिकोण हो? यो त छली व्यक्तिको दृष्टिकोण र तर्क हो। तिनीहरूले आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्नका लागि झूटा र छली कुराहरू भन्छन्। तिनीहरू यी कुराहरू गुमाउने डरले इमानदार मानिस बन्‍न र सत्यता बताउन इच्‍छुक हुँदैनन्। सम्पूर्ण भ्रष्ट मानवजाति त्यस्तै हुन्छन्। तिनीहरू जति नै शिक्षित भए पनि, तिनीहरूको हैसियत जति उच्‍च वा निम्न भए पनि, तिनीहरू अधिकृत भए पनि आम नागरिक भए पनि, तिनीहरू सेलिब्रेटी भए पनि सामान्य व्यक्ति भए पनि, तिनीहरू सबैले निरन्तर झूट बोल्छन् र ठग्छन्, र कोही पनि भरोसा लायक हुँदैनन्। यदि यी भ्रष्ट स्वभावलाई समाधान गरिएन भने, तिनीहरूले सधैँ निरन्तर झूट बोल्‍ने र छल्‍ने गरिरहन्छन्, र छली स्वभावले भरिइरहन्छन्। के यसरी तिनीहरूले परमेश्‍वरमा साँचो समर्पण हासिल गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्? अवश्य नै सक्दैनन्।

के तिमीहरूलाई इमानदार व्यक्ति बन्‍न गाह्रो छ जस्तो लाग्छ? के तिमीहरूले कहिल्यै यो अभ्यास गर्ने प्रयास गरेका छौ? कुन-कुन हिसाबमा तिमीहरूले इमानदार व्यक्ति बन्‍ने अभ्यास र अनुभव गरेका छौ? तिमीहरूका अभ्यासहरू कुन-कुन सिद्धान्तहरूमा आधारित थिए? तिमीहरूसँग अहिले यसको कुन स्तरको अनुभव छ? के तिमीहरू लगभग इमानदार व्यक्ति बनिसकेको अवस्थामा पुगेका छौ? यदि तिमीहरूले यो हासिल गरेका छौ भने, त्यो असाध्यै राम्रो कुरा हो! परमेश्‍वरका वचनहरूबाट हामीले के देख्‍न सक्‍नुपर्छ भने, हामीलाई मुक्ति दिन र रूपान्तरण गर्नको लागि, उहाँले के-कस्ता कुरा आउन लागेका छन् भनी बताउन केही काम मात्र गर्ने वा भविष्यमा के हुनेछ भनेर देखाउनलाई काम गर्ने, र त्यसलाई त्यतिमै छोडिदिने मात्र गर्नुहुन्न। न त उहाँले मानिसहरूको बाहिरी बानीबेहोरालाई नै परिवर्तन गर्नुहुन्छ। बरु, उहाँ त हरेक व्यक्तिलाई परिवर्तन गर्न चाहनुहुन्छ, तिनीहरूको हृदयको अन्‍तस्‍करणबाट र तिनीहरूको स्वभाव र तिनीहरूको सारबाटै सुरु गर्दै, उहाँले तिनीहरू प्रत्येकलाई स्रोतबाटै रूपान्तरित गर्न चाहनुहुन्छ। परमेश्‍वरले यसरी नै काम गर्नुहुने हुनाले, हामीले आफूप्रति कस्तो व्यवहार गर्नुपर्छ? हामीले खोजी गर्ने कुरा, हाम्रो स्वभावगत परिवर्तन, र हामीले निर्वाह गर्ने कर्तव्यहरूको लागि जिम्‍मेवारी लिनुपर्छ। हामीले गर्ने सबै कुरामा हामी गम्‍भीर हुनुपर्छ, कुनै पनि कुरालाई चिप्लन दिनु हुँदैन, र सबै कुरालाई चिरफारको लागि प्रस्तुत गर्न सक्‍नुपर्छ। तैँले हरेक पटक कुनै काम सक्दा, चाहे तँलाई त्यो काम सही रूपमा गरिएजस्तो लागे पनि, त्यो काम सत्यता अनुरूप हुन्छ भन्‍ने जरुरी हुँदैन। यसको चिरफार गरिनुपर्छ, र यसलाई परमेश्‍वरका वचनहरूअनुसार तुलना, प्रमाणित र छुट्याउने गरिनुपर्छ। यस तरिकाले, यो सही थियो कि गलत थियो भन्‍ने कुरा स्पष्ट हुन्छ। यसको साथै, तैँले गलत गरेको छु भनी सोचेको कुरालाई पनि चिरफार गरिनुपर्छ। यसको लागि दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्दै, खोजी गर्दै, र एकअर्कालाई सहयोग गर्दै थप समय बिताउनुपर्छ। तैँले जति धेरै सङ्गति गर्छस्, तेरो हृदय त्यति नै बढी उज्यालो हुनेछ, र तैँले त्यति नै बढी सत्यता सिद्धान्तहरू बुझ्नेछस्। यो परमेश्‍वरको आशिष् हो। यदि तिमीहरूमध्ये कसैले पनि आफ्नो हृदय खोल्दैनौ, र अरूको नजरमा राम्रो देखिने र आफूलाई अरूले उच्‍च नजरले हेरून् र आफ्नो खिल्‍ली नउडाऊन् भन्‍ने उद्देश्यले तिमीहरू सबैले आफूलाई ढाकछोप गर्छौ भने, तिमीहरूले साँचो वृद्धि अनुभव गर्नेछैनौ। यदि तैँले सधैँ देखावटी भेष धारण गर्छस् र सङ्गतिमा कहिल्यै खुल्दैनस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछैनस्, र तँ सत्यता बुझ्न सक्षम हुनेछैनस्। अनि, यसको नतिजा के हुनेछ? तँ सदासर्वदा अन्धकारमै जिउनेछस्, र तैँले मुक्ति प्राप्त गर्नेछैनस्। यदि तँ सत्यता प्राप्त गर्न र आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले सत्यता प्राप्त गर्न र सत्यता अभ्यास गर्नलाई मूल्य चुकाउनुपर्छ, र तैँले आफ्नो हृदय खोलेर अरूसित सङ्गति गर्नुपर्छ। यो तेरो जीवन प्रवेश र तेरो स्वभावगत परिवर्तन दुवैको लागि फाइदाजनक हुन्छ। भेलाहरूमा तिमीहरूका अनुभव र बुझाइका बारेमा छलफल गर्दा यसले तिमीहरूलाई र अरूलाई फाइदा गर्छ। तिमीहरूमध्ये कसैले पनि आफ्‍नो आत्मज्ञान, वा आफ्‍नो अनुभव र बुझाइका बारेमा कुरा गरेनौ भने; कसैले आफूलाई चिरफार गरेनौ वा खुलस्त बताएनौ भने; यदि तिमीहरू सबै वचन र धर्मसिद्धान्तहरूका बारेमा बोल्‍न सिपालु छौ तर आफूबारेको बुझाइका बारेमा कसैले पनि बताउँदैनौ, र तिमीहरूसँग भएको थोरै आत्मज्ञानमाथि प्रकाश पार्न तिमीहरू कसैले साहस गर्दैनौ भने, के हुन्छ? तिमीहरू सबै भेला हुन्छौ र विनम्र शब्‍दहरू र खुसी साटासाट गर्छौ, एक-अर्काको चापलुसी र तारिफ गर्छौ, र कपटी कुरा गर्छौ। “ए, आजभोलि तपाईं निकै राम्रो हुनुभएको छ। तपाईंमा केही परिवर्तन आएको छ!” “आजभोलि तपाईंले ठूलो विश्‍वास देखाउन थाल्‍नुभएको छ!” “तपाईं कति जोसिलो हुनुहुन्छ है!” “तपाईंले त मैलेभन्दा धेरै मेहनत गर्नुभएको छ।” “तपाईंका योगदानहरू मेराभन्दा धेरै छन्!” यस्तै परिस्थितिको विकास हुन्छ। सबैले एक-अर्काको चापलुसी र तारिफ गर्छन्, र कसैले पनि सबैले छुट्ट्याएर बुझून् भनी चिरफारका लागि आफ्‍नो साँचो रूप प्रस्तुत गर्न मान्दैनन्। के यस्तो वातावरणमा साँचो मण्डली जीवन हुनसक्छ? अहँ, हुन सक्दैन। कतिपय मानिसहरू यसो भन्छन्: “मैले मण्डली जीवन जिएको निकै वर्ष भयो। म सधैँ सन्तुष्ट रहँदै आएको छु र मैले यसको आनन्द लिएको छु। भेलाहरूमा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई प्रार्थना गर्न र परमेश्‍वरको प्रशंसाका भजनहरू गाउन मन पर्छ। प्रार्थना र भजनहरूका कारण सबै जनाले भावुक भएर आँसु झार्छन्। कहिलेकाहीँ परिस्थिति भावनाले ओतप्रोत हुन्छ र हामी सबै जना पसीनाले भिजेका हुन्छौँ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू गाउँछन् र नाच्छन्; यो निकै सम्‍पन्‍न, रङ्गिन मण्डली जीवन हो, र यो साह्रै आनन्ददायी छ। यसमा साँच्‍चै नै पवित्र आत्‍माको कार्य समावेश छ! त्यसपछि, हामी परमेश्‍वरका वचनहरू खान्छौँ-पिउछौँ, र परमेश्‍वरका वचनहरूले हाम्रो हृदय छोएको अनुभव गर्छौँ। सङ्गति गर्दा हरेक पटक नै सबै जना अत्यन्तै उत्साहित हुन्छन्।” केही वर्षसम्‍म यस्तो मण्डली जीवन जिउँदा सबैलाई रमाइलो लाग्छ, तर यसबाट के आउँछ? कुनै पनि व्यक्ति सत्यता वास्तविकतामा बिरलै प्रवेश गर्छ, र परमेश्‍वरको गवाही दिने आफ्‍नो अनुभवबारे बिरलै कसैले व्याख्या गर्न सक्छ। परमेश्‍वरका वचनहरू पढ्न, गीत गाउन र नाच्नका लागि तिनीहरूसँग धेरै जोस हुन्छ, तर सत्यतामा सङ्गति गर्ने समयमा, कतिपय मानिसहरूले कुनै चासो राख्दैनन्। कसैले पनि इमानदार व्यक्ति बन्दाको आफ्‍नो अनुभवबारे कुरा गर्दैन; कसैले पनि आत्म-विश्‍लेषण गर्दैन, र अरूले आफ्‍नो भ्रष्ट स्वभाव देखून् र छुट्ट्याउन् भनी, अनि अरूको फाइदा र सुधारका लागि कसैले पनि आफ्‍नो भ्रष्ट स्वभावलाई उदाङ्गो पार्दैन। कसैले पनि परमेश्‍वरको महिमा गाउन आफ्‍नो वास्तविक अनुभवात्मक गवाहीका बारेमा सङ्गति गर्दैन। वर्षौँको मण्डली जीवन त्यत्तिकै गाउँदै-नाच्दै, खुसी हुँदै र रमाइलो गर्दै खेर जान्छ। मलाई भन: यो खुसी र आनन्द कहाँबाट आउँछ? म भन्छु, परमेश्‍वरले यस्तो हेर्न चाहनुहुन्‍न वा यसले उहाँलाई सन्तुष्ट पार्दैन, किनभने उहाँले त मानिसहरूको जीवनको स्वभावमा परिवर्तन आएको, र मानिसहरू सत्यता वास्तविकतामा जिएको हेर्न चाहनुहुन्छ। परमेश्‍वर यो वास्तविकता हेर्न चाहनुहुन्छ। उहाँ तिमीहरूले भेला हुँदा आफ्‍नो भजन किताब समाएर उहाँको प्रशंसामा गाउँदै र नाच्दै गरेको, वा उत्साहित भएको चाहनुहुन्‍न—उहाँले त्यो हेर्न चाहनुहुन्‍न। यसको विपरीत, यो देख्दा परमेश्‍वरलाई दुःख लाग्छ, पीडा हुन्छ, र बेचैन हुन्छ, किनभने उहाँले हजारौँ हजार वचनहरू बोल्‍नुभएको छ, तर एक जना व्यक्तिले पनि तिनलाई साँचो रूपमा पालना गरेको र त्यसमा जिएको छैन। त्यस्तो कुराले परमेश्‍वरलाई चिन्तित तुल्याउँछ। तिमीहरूले मण्डली जीवनबाट पाएको थोरै शान्ति र खुसीमा प्रायजसो आत्म-सन्तुष्ट र ढुक्‍क मान्‍ने गर्छौ। तिमीहरू परमेश्‍वरलाई प्रशंसा गर्छौ र केही आनन्द, सान्त्वना वा केही आत्मिक पूर्णताको अनुभव गर्छौ, त्यसपछि तिमीहरूले आफ्‍नो आस्था राम्ररी अभ्यास गरेका छौ भन्‍ने विश्‍वास गर्छौ। तिमीहरू यी भ्रमहरूसँग टाँसिएर बस्छौ र तिनलाई पुँजीका रूपमा, परमेश्‍वरमा विश्‍वास गरेपछि पाएको सबैभन्दा ठूलो कुराका रूपमा लिन्छौ, र तिमीहरूको जीवन स्वभावमा परिवर्तन र मुक्तिको मार्गमा प्रवेश गर्नुको सट्टामा तिनैलाई स्विकार्छौ। त्यसरी, तिमीहरूलाई सत्यताको पछि लाग्‍नु वा इमानदार व्यक्ति बन्न खोज्नु आवश्यक छैन भन्‍ने लाग्छ। आफ्‍नो बारेमा मनन गर्नु वा आफ्‍ना समस्याहरूलाई चिरफार गर्नु वा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्नु पर्ने कुनै आवश्यकता छैन भन्‍ने ठान्छौ। यो त भयानक क्षेत्रमा प्रवेश गर्नु हो। यदि मानिसहरू यसरी नै अघि बढिरहे भने; परमेश्‍वरको काम पूरा हुन लागेको बेला, तिनीहरू अझै पनि इमानदार मानिसहरू बनेका हुँदैनन् वा आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेका हुँदैनन् भने; तिनीहरूले परमेश्‍वरप्रति साँचो समर्पण हासिल गरेका हुँदैनन् र अझै पनि ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा पर्न सक्छन् भने; यदि तिनीहरू शैतानको प्रभावबाट उम्केका हुँदैनन् भने; यदि परमेश्‍वरले गर्नुभएका यी मागहरू तिनीहरूले अझै पूरा गरेका हुँदैनन् भने, तिनीहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुनेछैन। त्यसैले परमेश्‍वर चिन्तित हुनुहुन्छ।

आस्थामा नयाँ हुँदा मानिसहरू सधैँ अत्यन्तै उत्साहित हुन्छन्। जब तिनीहरूले विशेषगरी परमेश्‍वरले सत्यताबारे गर्नुभएको सङ्गति सुन्छन्, तब तिनीहरूले यस्तो सोच्छन्: “अब मैले सत्यता बुझेँ। मैले साँचो मार्ग भेट्टाएँ। म साह्रै खुसी छु!” हरेक दिन नै नयाँ वर्ष वा विवाह-भोज मनाएझैँ आनन्दमय हुन्छ; हरेक दिन तिनीहरू कसैले भेला वा सङ्गति आयोजना गर्छन् कि भन्‍ने अपेक्षा गर्छन्। तर केही वर्षपछि, कतिपय मानिसहरूले मण्डली जीवनप्रतिको आफ्नो जोस र परमेश्‍वरमा विश्‍वास गर्दाको जोस पनि गुमाउँछन्। किन त्यसो हुन्छ? किनभने तिनीहरूसँग परमेश्‍वरका वचनहरू र सत्यतासम्बन्धी सतही र सैद्धान्तिक बुझाइ मात्रै हुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरूमा साँचो रूपमा प्रवेश गरेका, वा तिनीहरूले त्यसको वास्तविकता व्यक्तिगत रूपमा अनुभव गरेका हुँदैनन्। परमेश्‍वरले भन्‍नुभएजस्तै, धेरै मानिसहरूले भोजमा सानदार खानेकुरालाई हेर्छन्, तर तिनीहरूमध्ये धेरै जना हेर्न मात्रै आएका हुन्छन्। तिनीहरू परमेश्‍वरले दिनुभएका मीठा-मीठा खानेकुरा उठाएर खाँदैनन्, चाखेर आफ्‍नो शरीरलाई पोषण दिँदैनन्। परमेश्‍वरले यही कुरालाई घृणा गर्नुहुन्छ, र उहाँलाई यसले चिन्तित तुल्याउँछ। के तिमीहरू अहिले यस्तै स्थितिमा छैनौ र? (हो।) म तिमीहरूलाई सहयोग गर्नका लागि तिमीहरू सबैलाई बारम्‍बार सङ्गति दिन्छु। मलाई के कुराले सबैभन्दा बढी चिन्तित तुल्याउँछ भने, यी प्रवचनहरू सुनेपछि र आफ्‍नो आत्मिक खाँचो पूरा गरेपछि, तिनलाई अभ्यास गर्न तिमीहरूले केही पनि गर्दैनौ र त्यसबारे थप विचार गर्दैनौ। त्यस्तो अवस्थामा, मैले भनेका सबै कुरा व्यर्थ भएको हुनेछ। कुनै व्यक्तिको क्षमता जस्तो भए पनि, दुई-तीन वर्षको आस्थापछि तिमीहरूले त्यो व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चिन्‍न सक्‍नेछौ। यदि ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, ढिलो-चाँडो उसले यसलाई पछ्याउनेछ; यदि ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन भने, ऊ लामो समयसम्‍म रहनेछैन, र उसको खुलासा हुनेछ र ऊ हटाइनेछ। के तिमीहरू साँच्‍चै सत्यतालाई प्रेम गर्ने मानिसहरू हौ? के तिमीहरू इमानदार मानिस बन्‍न इच्छुक छौ? के तिमीहरू भविष्यमा परिवर्तन हुन सक्छौ? यो सङ्गतिपछि तिमीहरूले योमध्ये कतिलाई व्यक्तिगत रूपमा लागू गर्नेछौ? योमध्ये कतिले तिमीहरूमा वास्तवमा नै परिणामहरू ल्याउनेछन्? त्यो सब अज्ञात छ; यो कुरा अन्तिममा खुलासा हुनेछ। कुनै व्यक्ति नयाँ विश्‍वासी हुँदा कति उत्साही छ वा उसले कति धेरै कष्ट भोग्‍न सक्छ भन्‍ने कुरासँग यसको कुनै सम्‍बन्ध हुँदैन। मुख्य कुरा भनेको तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, र तिनीहरूले सत्यतालाई स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै प्रवचन सुनेपछि त्यसबारे मनन गर्छन्। तिनीहरूले मात्रै परमेश्‍वरका वचनहरू कसरी अभ्यास गर्ने, ती कसरी अनुभव गर्ने, तिनलाई आफ्‍नो दैनिक जीवनमा कसरी लागू गर्ने, परमेश्‍वरमा साँच्‍चै समर्पित हुने व्यक्ति बन्‍नका लागि परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा कसरी जिउने भन्‍ने बारेमा मनन गर्नेछन्। त्यसैले सत्यतालाई प्रेम गर्नेहरूले अन्तिममा सत्यता प्राप्त गर्छन्। सत्यतालाई प्रेम नगर्नेहरूले साँचो मार्ग स्विकार्न त सक्छन्; तिनीहरू हरेक दिन भेलामा गएर प्रवचनहरू सुन्‍न र केही धर्मसिद्धान्त सिक्‍न सक्छन्, तर तिनीहरू कठिनाइ र परीक्षामा पर्नेबित्तिकै नकारात्मक र कमजोर हुन्छन्, र तिनीहरूले आफ्‍नो आस्था समेत त्याग्‍न सक्छन्। विश्‍वासीका रूपमा, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा सत्यताप्रति तेरो मनोवृत्ति र तेरो खोजीको उद्देश्य के हो भन्‍ने कुरामा: तेरो खोजी साँच्‍चै सत्यतालाई आफ्‍नो जीवनको रूपमा प्राप्त गर्नु हो कि होइन भन्‍ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरूले अरूलाई सहयोग गर्न, परमेश्‍वरको सेवा गर्न, वा मण्डलीको नेतृत्व राम्ररी गर्नका लागि सत्यताले आफूलाई सुसज्‍जित गर्छन्। त्यो नराम्रो कुरा होइन, र यसको अर्थ ती मानिसहरूले केही बोझ उठाएका छन् भन्‍ने हुन्छ। तर तिनीहरूले आफ्‍नो जीवन प्रवेशमा वा सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन् भने, र समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्दैनन् भने, के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? त्यो असम्‍भव हुनेछ। यदि तिनीहरूमा सत्यता वास्तविकता छैन भने, तिनीहरूले अरूलाई कसरी सहयोग गर्न सक्छन्? तिनीहरूले कसरी परमेश्‍वरको सेवा गर्न सक्छन्? के तिनीहरूले मण्डलीको काम राम्ररी गर्न सक्छन्? त्यो पनि असम्‍भव नै हुनेछ। तैँले कति धेरै प्रवचन सुनेको छस्, वा कुन मार्ग रोजेको छस् भन्‍ने कुराले केही फरक पार्दैन। म तिमीहरूलाई सही दृष्टिकोण बताउँछु: तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तँ अगुवा भए पनि वा साधारण अनुयायी भए पनि, तैँले मुख्य रूपमा परमेश्‍वरका वचनहरूमा नै जोड दिनुपर्छ। तैँले तिनलाई पढ्नुपर्छ र तीबारे गम्भीरतापूर्वक सोच्नुपर्छ। सुरुमा तैँले जान्‍नुपर्ने र अभ्यास गर्नुपर्ने सबै सत्यता बुझ्‍नुपर्छ; आफूलाई ती वचनहरूसँग तुलना गरेर आफै लागू गर्नुपर्छ। तैँले सत्यतालाई बुझेर वास्तविकतामा प्रवेश नगरी कुनै सत्यता प्राप्त गरेको हुँदैनस्। यदि तँ आफूले बुझेको धर्मसिद्धान्त सधैँ अरूलाई बुझाउँछस्, तर तँ अभ्यास गर्न वा अनुभव गर्न सक्दैनस् भने, यो गल्ती हो—यो मूर्खता र अज्ञानता हो। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा अभ्यास र अनुभव गर्नुपर्छ, र क्रमिक रूपमा धेरै सत्यता बुझ्दै जानुपर्छ। त्यसपछि तैँले आफ्‍नो कर्तव्यमा झन्-झन् राम्रा परिणामहरू प्राप्त गर्न थाल्‍नेछस्, र अरूलाई सुनाउनका लागि तँसँग धेरै अनुभवात्मक गवाहीहरू हुनेछन्। यसरी, परमेश्‍वरका वचनहरू तेरो जीवन बन्नेछन्। तैँले अवश्य नै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछस्, र परमेश्‍वरले तँलाई दिएको आज्ञा पनि पूरा गर्न सक्‍नेछस्। यदि तँ सधैँ यी वचनहरूसँग अरूलाई तुलना गर्न, अरूमा लागू गर्न, वा तिनलाई आफ्‍नो कामको पुँजीका रूपमा प्रयोग गर्न चाहन्छस् भने, तँ समस्यामा पर्नेछस्। यसो गर्दा, तैँले पूर्ण रूपमा पावलले लिएकै मार्ग लिइरहेको हुन्छस्। तैँले यस्तो दृष्टिकोण राखेको हुनाले, यी वचनहरूलाई धर्मसिद्धान्त, सिद्धान्तका रूपमा लिइरहेको हुन्छस्, र तँ भाषणहरू दिन र काम पूरा गर्न यी सिद्धान्तहरू प्रयोग गर्न चाहन्छस्। यो अत्यन्तै खतरनाक कुरा हो—झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूले यसै गर्छन्। यदि तैँले आफ्‍नो स्थितिलाई परमेश्‍वरका वचनहरू अनुसार हेरिस् भने, अनि सुरुमा आफ्‍नो बारेमा मनन गरेर बुझाइ प्राप्त गरिस्, र सत्यतालाई अभ्यास गरिस् भने, तैँले इनामहरू प्राप्त गर्नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। त्यसपछि मात्रै तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न योग्य हुनेछस् र तँसँग त्यसो गर्ने कद हुनेछ। यदि तँसँग परमेश्‍वरको काम र उहाँका वचनहरूको व्यावहारिक अनुभव छैन भने; यदि तँ जीवन प्रवेश समेत गरेकै छैनस् तर वचन र सिद्धान्त मात्रै बोल्‍न सक्छस् भने, तैँले काम नै गरे पनि, त्यो अन्धाधुन्ध गरिरहेको हुन्छस्, र कुनै ठोस कुरा हासिल गर्दैनस्। अन्तिममा तँ झूटो अगुवा र ख्रीष्टविरोधी बन्‍नेछस्, र तँलाई हटाइनेछ। यदि तैँले सत्यताको एउटा पक्षलाई बुझिस् भने, सुरुमा तैँले आफूलाई यससँग तुलना गरेर यसलाई आफ्‍नो जीवनमा लागू गर्नुपर्छ, ताकि यो तेरो वास्तविकता बनोस्। त्यसपछि तैँले अवश्य नै केही कुरा प्राप्त गर्नेछस् र तँ परिवर्तन हुनेछस्। यदि तँलाई परमेश्‍वरका वचनहरू असल छन्, ती सत्यता हुन् र तिनमा वास्तविकता छ भन्‍ने लाग्छ, तर हृदयमा सत्यताबारे मनन गर्ने वा त्यसलाई बुझ्‍ने प्रयास गर्दैनस्, अनि आफ्‍नो व्यावहारिक जीवनमा यो अभ्यास र अनुभव गर्नुको सट्टा त्यसलाई नोटबुकमा लेखेर बिर्सिदिन्छस् भने, तैँले कहिल्यै सत्यता बुझ्‍नेछैनस् वा प्राप्त गर्नेछैनस्। जब तँ परमेश्‍वरका वचनहरू पढ्छस् वा प्रवचनहरू र सङ्गति सुन्छस्, तब तैँले मनन गरेर तिनलाई आफूसँग तुलना गर्नुपर्छ, तिनलाई आफ्‍नै स्थितिहरूसँग जोड्नुपर्छ, र आफ्‍नै समस्याहरू समाधान गर्नका लागि प्रयोग गर्नुपर्छ। यसरी वचनहरू लागू गरेर मात्रै त्यसबाट तैँले केही साँचो कुरा पाउन सक्छस्। के तिमीहरूले प्रवचन सुनेपछि यही नै अभ्यास गर्छौ? गर्दैनौ भने, परमेश्‍वर तिमीहरूको जीवनमा हुनुहुन्‍न, न त उहाँका वचनहरू नै छन्, अनि उहाँमाथिको तिमीहरूको विश्‍वासमा कुनै वास्तविकता छैन। तिमीहरू गैरविश्‍वासीहरू जस्तै परमेश्‍वरका वचनहरूभन्दा बाहिर जिइरहेका छौ। परमेश्‍वरमा विश्‍वास गर्ने, तर उहाँका वचनहरूलाई अभ्यास गर्न र अनुभव गर्नका लागि तिनलाई आफ्‍नो वास्तविक जीवनमा लागू गर्न नसक्‍ने जोकोही व्यक्तिले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरेको हुँदैन—तिनीहरू अविश्‍वासीहरू हुन्। सत्यता अभ्यास गर्न नसक्‍ने मानिसहरू परमेश्‍वरमा समर्पित हुने मानिसहरू होइनन्, तिनीहरू त उहाँविरुद्ध विद्रोह गर्ने र उहाँलाई विरोध गर्ने मानिसहरू हुन्। आफ्‍नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू लागू नगरीकन तिनीहरूसँग परमेश्‍वरका कामहरू अनुभव गर्ने कुनै उपाय हुँदैन। अनि यदि व्यक्तिले आफ्‍नो वास्तविक जीवनमा परमेश्‍वरको काम वा उहाँका वचनहरूको न्याय र सजाय अनुभव गर्दैन भने, ऊसँग सत्यता प्राप्त गर्ने कुनै उपाय हुँदैन। के तिमीहरूले यो कुरा बुझ्यौ? यदि तिमीहरूले यी वचनहरू बुझ्‍न सक्छौ भने, त्यो एकदम राम्रो हो—तर तिमीहरूले तिनलाई जसरी बुझे पनि, तिमीहरूले जति बुझे पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिमीहरूले आफूले बुझेका परमेश्‍वरका वचन र सत्यताहरूलाई आफ्‍नो जीवनमा ल्याएर, तिनलाई अभ्यास गर्नु नै हो। तिमीहरूको कद बढ्ने र तिमीहरूको स्वभाव परिवर्तन हुने एउटै मात्र उपाय त्यही मात्रै हो।

जब परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ वा मानिसहरू समक्ष आफ्‍ना मागहरू अघि सार्नुहुन्छ, तब उहाँले तिनीहरूका लागि सिद्धान्तहरू र अभ्यासका मार्गहरू सधैँ देखाउनुहुन्छ। उदाहरणका लागि, हामीले भर्खरै कुरा गरेको विषय, अर्थात् इमानदार व्यक्ति बन्‍नुलाई लिऊँ: परमेश्‍वरले मानिसहरूलाई इमानदार मानिस कसरी बन्‍ने र इमानदार व्यक्ति बन्‍ने सिद्धान्तहरू कसरी अभ्यास गर्ने भनेर बताउँदै तिनीहरूलाई सही मार्गमा लैजानका लागि एउटा बाटो दिनुभएको छ। परमेश्‍वरले भन्‍नुभयो, “यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।” यसको तात्पर्य के हो भने, हामीले गुप्त वा व्यक्तिगत ठानेको कुरालाई लिएर त्यसलाई उदाङ्गो पार्नुपर्छ, र त्यसलाई विश्लेषणको लागि अघि सार्नुपर्छ भनेर उहाँले हामीसँग माग गर्नुभएको छ। तिमीहरूले यो कुराबारे विचार गरेका छैनौ: तिमीहरूलाई यसरी अभ्यास गर्न लगाउनका लागि परमेश्‍वरले यसो भन्‍नुभएको हो भनेर तिमीहरूले बुझेका वा जानेका थिएनौ। कहिलेकाहीँ तँ छल्ने र ठग्ने अभिप्रायका साथ व्यवहार गर्छस्, त्यसकारण तेरा व्यवहार र अभिप्रायहरू परिवर्तन हुनुपर्छ। सायद तेरा बोलीवचनको छली वा ठग प्रकृतिलाई कसैले बुझ्‍न सक्दैन होला—तर आफैलाई स्याबासी नदे। तैँले परमेश्‍वरको अघि आएर आफूलाई जाँच्‍नुपर्छ—तैँले मानिसहरूलाई मूर्ख बनाउन सक्छस्, तर परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। तैँले प्रार्थना गर्नुपर्छ, आफ्‍ना अभिप्राय र विधिहरूलाई उदाङ्गो पारेर चिरफार गर्नुपर्छ, तेरा यी अभिप्रायहरू परमेश्‍वरलाई प्रसन्‍न पार्ने किसिमका छन् कि छैनन्, वा उहाँका लागि ती घिनलाग्दा छन् कि छैनन्, तैँले तिनलाई उदाङ्गो पार्न सक्छस् कि सक्दैनस्, तीबारे कुरा गर्न गाह्रो हुन्छ कि हुँदैन, र ती सत्यता अनुरूप छन् कि छैनन् भन्‍ने बारेमा मनन गर्नुपर्छ। यस्तो चिरफार र विश्‍लेषणद्वारा तैँले यो मामला वास्तवमा सत्यता अनुरूप छैन भन्‍ने कुरा पत्ता लगाउनेछस्; यस्तो व्यवहारमाथि प्रकाश पार्न गाह्रो हुन्छ, र परमेश्‍वरले यसलाई घृणा गर्नुहुन्छ। त्यसपछि, तैँले यो व्यवहार परिवर्तन गर्छस्। मेरो यो सङ्गतिले तिमीहरूलाई के महसुस गरायो? तिमीहरूमध्ये कति जना पक्‍कै पनि चिन्तित भएका छौ। तिमीहरू सोच्छौ: “परमेश्‍वरमा विश्‍वास गर्नु साह्रै जटिल रहेछ। यहाँसम्‍म आइपुग्दा नै निकै गाह्रो भएको थियो—अब मैले फेरि सबै सुरुबाट गर्नुपर्ने भयो?” वास्तवमा, अहिले परमेश्‍वर आउनुभएको छ, र उहाँले मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न थाल्‍नुभएको छ, त्यसैले यो मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वास, र तिनीहरूले आफूलाई उचित आचरणमा ढाल्‍ने कार्यको सुरुवात हो। यदि तँ राम्रो सुरुवात गर्न चाहन्छस् भने, तैँले सुरुमा दर्शनहरूका सत्यताहरू र परमेश्‍वरलाई पछ्याउनुको महत्त्वका बारेमा सिकेर, त्यसपछि सत्यता अभ्यास गर्ने र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने कार्यमा ध्यान केन्द्रित गर्दै आफ्‍नो आस्थामा दह्रिलो जग निर्माण गर्नुपर्छ। यसरी, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्। यदि तैँले वचन र धर्मसिद्धान्तका बारेमा कुरा गर्ने कार्यमा मात्रै ध्यान दिन्छस् र यी कुराहरूका आधारमा जग निर्माण गर्छस् भने, त्यो समस्या बन्छ। यो त बालुवामा घरको जग बसाल्‍नु जस्तै हो: तैँले जति अल्गो घर बनाए पनि, त्यो सधैँ ढल्‍ने खतरामा हुन्छ, र त्यो घर टिक्‍नेछैन। तर, अहिलेसम्‍म तिमीहरू सबैमा एउटा तारिफयोग्य कुरा छ, जुन कुरा के हो भने, तिमीहरू मैले दिएको सङ्गति बुझ्छौ र त्यो सुन्‍न इच्छुक हुन्छौ। यो राम्रो हो। सत्यताको खोजी गर्नु र वास्तविकतामा प्रवेश गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र बाँकी कुरा गौण हुन्। तँलाई यो कुरा थाहा छ भने, तेरो आस्थामा सही मार्गमा हिँड्न तँलाई गाह्रो हुनेछैन। सत्यताको खोजी गर्ने मार्गमा हिँड्नका लागि, तैँले सुरुमा आफैलाई चिनेको हुनुपर्छ—तँमा के-कस्ता भ्रष्ट स्वभावहरू छन् र तेरा कमजोरीहरू के-के हुन् भन्‍ने बारेमा तँ स्पष्ट हुनुपर्छ। त्यसपछि तैँले आफूलाई सत्यताले सुसज्‍जित गर्नुको महत्त्व बुझ्‍नेछस्, र तैँले समस्याहरू समाधान गर्न शीघ्र रूपमा सत्यताको खोजी गर्न सक्‍नेछस्। समयले कसैलाई पर्खँदैन! तैँले जीवन प्रवेशसम्‍बन्धी आफ्‍ना समस्याहरूलाई समाधान गरेर सत्यता वास्तविकता प्राप्त गरेपछि, तैँले शान्तिको अझै ठूलो अनुभूति गर्नेछस्। तँ जति ठूलो विपत्तिमा परे पनि, तँलाई डर लाग्‍नेछैन। यदि तैँले सत्यताको खोजी नगरी यी विगत केही वर्ष खेर फालिस्, र परिस्थितिहरू आइपर्दा तँ चकित पर्छस्, र प्रतिक्षारत निष्क्रिय अवस्थामा रहन्छस्, आफ्ना समस्याहरू समाधान गर्न सत्यता प्रयोग पनि गर्न सक्दैनस्, तर अझै पनि सांसारिक व्यवहार र भ्रष्ट स्वभावका दर्शनअनुसार जिउँछस् भने, त्यो कति दयनीय हुनेछ! यदि ठूला-ठूला विपत्तिहरू आउने दिनमा, तँमा अलिकति पनि सत्यता वास्तविकता छैन भने, तँलाई सत्यताको खोजी नगरेकोमा वा आफ्‍नो कर्तव्य राम्ररी पूरा नगरेकोमा अनि कुनै पनि सत्यता प्राप्त नगरेकोमा पछुतो हुनेछ। तँ निरन्तर चिन्तामा जिइरहेका हुनेछस्। अहिले, पवित्र आत्माको कामले कसैलाई पर्खँदैन। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको आस्थाको केही प्रारम्‍भिक वर्षमा केही अनुग्रह र कृपा दिनुहुन्छ; उहाँले तिनीहरूलाई सहयोग र भरण-पोषण दिनुहुन्छ। यदि मानिसहरू कहिल्यै परिवर्तन भएनन् र वास्तविकतामा कहिल्यै प्रवेश गरेनन्, तर आफूलाई थाहा भएको वचन र धर्मसिद्धान्तमा नै सन्तुष्ट हुन्छन् भने, तिनीहरू खतरामा हुन्छन्। तिनीहरूले पहिले नै पवित्र आत्माको काम, र मानवजातिलाई परमेश्‍वरले दिनुहुने मुक्ति र सिद्धता पाउने अन्तिम मौका गुमाइसकेका हुन्छन्। तिनीहरू रुँदै र दाह्रा किट्दै विपत्तिमा मात्रै पर्नेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्