इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास (भाग एक)

इमानदार व्यक्ति बन्दाको तिमीहरूको व्यक्तिगत अनुभव कस्तो छ? (इमानदार व्यक्ति बन्‍नु साँच्‍चै कठिन छ।) यो किन कठिन छ? (म साँच्‍चै इमानदार व्यक्ति बन्‍न चाहन्छु। तर जब म हरेक दिन आफ्‍नो जाँच गर्छु, तब मलाई म कपटी छु र मेरो बोलीवचनमा कैयौँ मिसावटहरू छन् भन्‍ने थाहा हुन्छ। कहिलेकहीँ म आफ्‍ना शब्‍दहरूमा भावना घुसाउँछु, वा बोल्दा खेरी मसँग निश्‍चित मनसायहरू हुन्छन्। कहिलेकहीँ म केही खेल खेल्छु, वा कुरा घुमाउँछु, वा वास्तविकताविपरीत कुरा बोल्छु—छली कुराहरू, अर्धसत्य कुराहरू, र अरू किसिमका झूटहरू बोल्छु र त्यो सबै एउटा उद्देश्य हासिल गर्नको लागि हुन्छ।) यी सबै व्यवहारहरू मानिसहरूको भ्रष्ट स्वभावबाट आउँछन्; ती कुराहरू मानिसहरूको कुटिल र छली पाटोमा पर्छन्। मानिसहरू किन कपटी बन्‍ने खेल खेल्छन्? यो आफ्‍नै उद्देश्य पूरा गर्न, आफ्नै लक्ष्यहरू हासिल गर्नको लागि हुन्छ, र त्यसैले तिनीहरूले गुप्त माध्यमहरू प्रयोग गर्छन्। यसो गर्ने क्रममा, तिनीहरू खुलस्त र निष्कपट हुँदैनन्, र तिनीहरू इमानदार मानिसहरू पनि होइनन्। यस्तै बेलामा मानिसहरूले आफ्‍नो कपटीपन र धूर्तता, वा आफ्नो दुर्भावना र नीचता प्रकट गर्छन्। इमानदार बन्‍नुको कठिनाइ नै त्यहीँनेर हुन्छ: व्यक्तिको हृदयमा यी भ्रष्ट स्वभावहरू छन् भने, इमानदार व्यक्ति बन्‍नु विशेष रूपमा कठिन हुन्छ। तर यदि तँ सत्यतालाई प्रेम गर्ने, र सत्यतालाई स्विकार्न सक्षम व्यक्ति होस् भने, तँलाई इमानदार व्यक्ति बन्‍न त्यति कठिन हुनेछैन। तैँले यो निकै सहज रहेछ भन्‍ने अनुभव गर्नेछस्। व्यक्तिगत अनुभव भएकाहरूलाई यो राम्ररी थाहा हुन्छ कि इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा ठूलो बाधा भनेको मानिसहरूको धूर्तता, कपटीपन, दुर्भावनापूर्ण, र घृणित अभिप्राय हो। जबसम्म यी भ्रष्ट स्वभावहरू हुन्छन्, तबसम्म इमानदार व्यक्ति बन्‍नु अत्यन्तै गाह्रो हुन्छ। तिमीहरू सबैले इमानदार मान्छे बन्‍ने तालिम लिइरहेका छौ, त्यसकारण तिमीहरूसँग यसको केही अनुभव छ। तिमीहरूका अनुभवहरू कस्ता छन्? (हरेक दिन म आफूले बोलेका रद्दी कुराहरू र ढाँटेका झूटहरू सबै लेखेर राख्छु। त्यसपछि, म केही आत्म-निरीक्षण र आत्म-चिरफार गर्छु। मैले यीमध्ये धेरैजसो झूटमा कुनै न कुनै अभिप्राय भेटेको छु, र मैले आफ्नो अभिमान र इज्‍जत बचाउनको लागि ती बोलेको हुन्छु। मैले बोलेको कुरा सत्यता अनुरूप छैन भन्‍ने मलाई थाहा भए पनि, म झूट नबोली र ढोँग नगरी बस्‍न सक्दिनँ।) इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा गाह्रो कुरा त्यही हो। तँ यसबारे सचेत हुनु वा नहुनु महत्त्वपूर्ण कुरा होइन; मुख्य कुरा त यो गलत हो भनेर जान्दाजान्दै पनि तँ आफ्‍ना उद्देश्यहरू पूरा गर्न, आफ्‍नो छवि र इज्‍जत बचाउनको लागि जिद्दी भई निरन्तर झूट बोलिरहन्छस्, र तैँले अनजानमा भयो भनेर गर्ने कुनै पनि दाबी झूटो हुन्छ। इमानदार व्यक्ति बन्‍नुको कडी तेरा मनसाय, अभिप्राय र भ्रष्ट स्वभावहरू समाधान गर्नु हो। झूट बोल्‍ने समस्यालाई यसको स्रोतमै समाधान गर्ने एउटै उपाय यही हो। आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्नु, अर्थात्, व्यक्तिगत फाइदा हासिल गर्नु, परिस्थितिको फाइदा उठाउनु, आफूलाई राम्रो देखाउनु, वा अरूको अनुमोदन प्राप्त गर्नु—यी कुराहरू नै मानिसहरूले झूट बोल्‍नुका अभिप्राय र लक्ष्यहरू हुन्। यस प्रकारको झूट बोलाइले भ्रष्ट स्वभाव प्रकट गर्छ, र झूट बोल्‍ने विषयमा तँमा हुनुपर्ने समझ नै यही हो। त्यसो भए, यो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ? त्यो सबै तैँले सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा अडिएको हुन्छ। यदि तँ सत्यता स्विकार्न र आफ्‍नो वकालत नगरी बोल्‍न सक्छस् भने; यदि तँ आफ्‍नै हितहरूबारे विचार गर्न छोड्न सक्छस् र यसको साटो मण्डलीको काम, परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूमा ध्यान दिन सक्छस् भने, तैँले झूट बोल्‍न छोड्नेछस्। तँ साँचो र सीधा कुरा बोल्‍न सक्षम हुनेछस्। यो कदविना, तैँले साँचो बोल्‍न सक्‍नेछैनस्, र त्यसले तेरो कदमा केही कमी छ र तँ सत्यता अभ्यास गर्न असक्षम छस् भन्‍ने प्रमाणित गर्छ। त्यसकारण, इमानदार व्यक्ति बन्‍नको लागि सत्यता बुझ्‍ने प्रक्रिया, र कद बढ्ने प्रक्रिया जरुरी हुन्छ। जब हामी यसलाई यसरी हेर्छौं, तब आठदेखि दश वर्षको अनुभवविना, इमानदार व्यक्ति बन्‍नु असम्‍भव नै हुन्छ। यो अवधि व्यक्तिले जीवनमा वृद्धि हुने प्रक्रिया, सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रिया हो। कतिपय मानिसहरूले यस्तो सोध्‍न सक्छन्: “के झूट बोल्‍ने समस्या समाधान गर्नु र इमानदार व्यक्ति बन्‍नु त्यति गाह्रो हुन सक्छ?” यो कुरा तिमीहरूले कसको बारेमा कुरा गरिरहेका छौ त्यसमा भर पर्छ। यदि यो व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, उसले निश्‍चित विषयहरूमा झूट बोल्‍न छोड्न सक्छ। तर यदि यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो भने, झूट बोल्‍न छोड्नु उसको लागि झनै गाह्रो हुन्छ।

इमानदार व्यक्ति बन्‍नको लागि आफैलाई तालिम दिनु भनेको मुख्य रूपमा झूट बोल्‍ने समस्या समाधान गर्नु, साथै आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नु हो। यसो गर्नको लागि एउटा महत्त्वपूर्ण अभ्यास गर्नुपर्छ: जब तँलाई आफूले कसैलाई ढाँटेको र छलेको छु भन्‍ने महसुस हुन्छ, तैँले तिनीहरूसँग खुलेर कुरा गर्नुपर्छ, आफूलाई उदाङ्गो पार्नुपर्छ, अनि माफी माग्‍नुपर्छ। झूट बोल्‍ने समस्या सुल्झाउन यो अभ्यास निकै फाइदाजनक हुन्छ। उदाहरणको लागि, यदि तैँले कसैलाई छलेको छस् वा तैँले तिनीहरूसँग बोलेका शब्‍दहरूमा कुनै दूषित कुरा वा व्यक्तिगत अभिप्राय थियो भने, तैँले तिनीहरूलाई भेटेर आफ्‍नो चिरफार गर्नुपर्छ। तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ: “मैले बोलेको कुरा झूट थियो, र त्यो मैले आफ्‍नो स्वाभिमान जोगाउनको लागि भनेको थिएँ। यसो भनेपछि मलाई अप्ठ्यारो लाग्यो, त्यसकारण म अहिले तपाईंसँग माफी माग्दै छु। कृपया, मलाई माफ गर्नुहोस्।” त्यो व्यक्तिलाई यो कुरा निकै नौलो लाग्‍नेछ। उसले झूट बोलेपछि माफी माग्‍ने व्यक्ति कसरी हुन सक्यो भनेर सोच्‍नेछ। यस्तो साहसलाई उसले सराहना गर्नेछ। त्यस्तो अभ्यास गरेर व्यक्तिले के-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छ? यसको उद्देश्य अरूको आदर पाउनु होइन, बरु आफूलाई झूट बोल्‍नबाट अझै प्रभावकारी रूपमा नियन्त्रण गर्नु र रोक्‍नु हो। त्यसकारण, झूट बोलेपछि, तैँले त्यसको लागि माफी माग्‍ने अभ्यास गर्नुपर्छ। तैँले यसरी आफूलाई जति धेरै चिरफार गर्ने, उदाङ्गो पार्ने, र मानिसहरूसँग माफी माग्‍ने तालिम दिन्छस्, परिणामहरू त्यति नै राम्रा हुँदै जानेछन्—अनि तैँले बोल्‍ने झूटको सङ्ख्या पनि घट्दै-घट्दै जानेछन्। इमानदार व्यक्ति बन्‍नको लागि र झूट बोल्‍नबाट आफूलाई रोक्‍नको लागि आफ्‍नो चिरफार गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न साहस चाहिन्छ, र झूट बोलेपछि कसैसँग माफी माग्‍न त झन् धेरै साहस चाहिन्छ। यदि तिमीहरूले यसरी एक-दुई वर्ष—वा तीनदेखि पाँच वर्ष—अभ्यास गर्‍यौ भने, अवश्य नै स्पष्ट परिणामहरू प्राप्त गर्नेछौ, र आफ्‍ना झूटहरूबाट मुक्त हुन तिमीहरूलाई गाह्रो हुनेछैन। आफूलाई झूटहरूबाट मुक्त गर्नु इमानदार व्यक्ति बन्‍नेतर्फको पहिलो कदम हो, र तीनदेखि पाँच वर्षको प्रयासविना यस्तो अवस्थामा पुग्‍न सकिँदैन। झूट बोल्‍ने समस्या समाधान गरेपछि, दोस्रो कदम भनेको छल र जालझेलको समस्या समाधान गर्नु हो। कहिलेकहीँ, जालझेल र छलका लागि व्यक्तिले झूट बोल्‍नु पर्दैन—यी कुराहरू व्यवहारद्वारा नै हासिल गर्न सकिन्छ। व्यक्तिले बाहिरी रूपमा झूट नबोल्‍न सक्छ, तर उसले आफ्‍नो हृदयमा छल र जालझेल बोकेको हुन सक्छ। तिनीहरूलाई यो कुरा अरू कसैलाई भन्दा पनि बढी थाहा हुन्छ, किनभने तिनीहरूले यसबारेमा गहन रूपमा सोचेका र होसियारीसाथ विचार गरेका हुन्छन्। पछि मनन गर्दा यो कुरा पहिचान गर्न तिनीहरूलाई सहज हुन्छ। झूट बोल्‍ने समस्या समाधान भएपछि, तुलनात्मक हिसाबमा छल र जालझेल गर्ने समस्याहरू समाधान गर्न अलिक सहज हुन्छ। तर व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ, किनभने छल र जालझेल गर्दा उसलाई उसैको अभिप्रायले चलाएको हुन्छ। मानिसहरूले यो कुरा बाहिरबाट बुझ्‍न सक्दैनन्, न त तिनीहरूले यो कुरा ठम्याउन नै सक्छन्। परमेश्‍वरले मात्रै यसको सूक्ष्म जाँच गर्न सक्‍नुहुन्छ, र यसबारेमा उहाँलाई मात्र थाहा हुन्छ। त्यसकारण, परमेश्‍वरमा प्रार्थना गरेर अनि उहाँको सूक्ष्म जाँच स्वीकार गरेर मात्रै छल र जालझेल गर्ने समस्या समाधान गर्न सकिन्छ। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्दैन वा हृदयमा परमेश्‍वरको डर मान्दैन भने, उसको छल र जालझेल गर्ने समस्या समाधान गर्न सकिँदैन। तैँले परमेश्‍वरको अघि प्रार्थना गर्न र आफ्‍ना गल्तीहरू स्वीकार गर्न सक्छस्, वा तैँले कबुल गर्न र पश्चात्ताप गर्न सक्छस्, वा तैँले आफ्‍नो भ्रष्ट स्वभावको चिरफार गर्न सक्छस्—त्यो बेला तैँले के सोचिरहेको थिइस्, तैँले के भनिस्, तेरो अभिप्राय के थियो, र तँ कसरी छलमा संलग्‍न भइस् भन्‍ने बारेमा साँचो रूपमा बताउन सक्छस्। यसो गर्नु निकै सजिलो हुन्छ। तैपनि, यदि तँलाई अर्को व्यक्तिको अघि आफैलाई उदाङ्गो पार्न भनियो भने, तैँले त्यसो गर्ने आफ्‍नो साहस र सङ्कल्प गुमाउन सक्छस्, किनभने तँलाई आफ्‍नो इज्‍जत बचाउन मन लाग्छ। खुलेर कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न तँलाई साह्रै कठिन हुनेछ। सायद बेलाबेलामा आफूले आफ्‍नै व्यक्तिगत लक्ष्य र अभिप्रायहरू अनुसार बोलिरहेको वा व्यवहार गरिरहेको हुन्छु भनेर तैँले आम रूपमा स्विकार्न सक्छस् होला; तैँले गर्ने वा बोल्ने कुरामा केही हदसम्म छल, दूषितता, झूट वा छल छ भनेर भन्‍न सक्छस् होला। तर त्यसपछि, जब केही हुन्छ र तँलाई आफ्‍नो चिरफार गर्न, सुरुदेखि अन्तिमसम्म कसरी भयो भनेर खुलासा गर्न, र तैँले बोलेका कुन-कुन शब्‍दहरू कसरी छली थिए, तिनको पछाडि कस्तो अभिप्राय थियो, तैँले के सोचिरहेको थिइस्, र तँ द्वेषपूर्ण वा दुष्ट भइरहेको थिइस् कि थिइनस् भनेर व्याख्या गर्न लगाइयो भने, तँ खास कुराहरू बताउन वा विस्तृत कुरा खोल्‍न मान्दैनस्। कतिपय मानिसहरूले त यसो भन्दै कुरा टार्ने प्रयाससमेत गर्छन्: “कुरा त्यस्तै हो। म अलिक छली, धूर्त, र भर पर्न नसकिने व्यक्ति हुँ।” यसले तिनीहरू आफ्‍नो भ्रष्ट सारलाई उचित रूपमा सामना गर्न असमर्थ छन् वा तिनीहरू कति छली र धूर्त छन् भन्‍ने कुरा देखाउँछ। यी मानिसहरू सधैँ तर्किहिँड्ने स्थिति र अवस्थामा हुन्छन्। तिनीहरूले सधैँ आफूलाई माफ गरिरहेका र परिस्थितिअनुसार ढालिरहेका हुन्छन्, र इमानदार व्यक्ति बन्‍ने सत्यता अभ्यास गर्नको लागि कष्ट भोग्‍न वा मूल्य चुकाउन सक्दैनन्। धेरै मानिसहरूले वर्षौंदेखि सधैँ यसो भन्दै वचन र धर्मसिद्धान्तहरू प्रचार गर्दै आएका छन्: “म अत्यन्तै छली र धूर्त छु, मेरो व्यवहारमा प्रायजसो जाल-झेल भइरहन्छ, र म मानिसहरूसँग इमानदारीसाथ व्यवहार बिलकुलै गर्दिनँ।” तर धेरै वर्षसम्‍म त्यही कुरा फलाकेपछि पनि, तिनीहरू पहिलेजस्तै छली नै रहिरहन्छन्, किनभने तिनीहरूले यो छली स्थिति खुलासा गर्दा कहिल्यै पनि साँचो विश्‍लेषण वा पछुतो गरेका हुँदैनन्। तिनीहरूले कहिल्यै पनि अरूसामु आफूलाई उदाङ्गो पार्ने वा झूट बोलेपछि वा मानिसहरूलाई छलेपछि माफी माग्‍ने गर्दैनन्, झन् तिनीहरूले भेलामा आत्म-चिरफार र आत्मज्ञानका अनुभवात्मक गवाहीबारे सङ्गति गर्नु त परको कुरा हो। तिनीहरूले आफूलाई कसरी चिने वा त्यस्ता विषयहरूमा तिनीहरूले कसरी पश्‍चात्ताप गरे भन्‍ने बारेमा पनि कहिल्यै बताउँदैनन्। तिनीहरूले यस्तो केही पनि गर्दैनन्, र यसले तिनीहरूले आफूलाई चिनेका छैनन् र तिनीहरूले साँचो पश्‍चात्ताप गरेका छैनन् भन्‍ने प्रमाणित गर्छ। जब तिनीहरूले आफू छली छु र इमानदार व्यक्ति बन्‍न चाहन्छु भनेर भन्छन्, तब तिनीहरूले नारा मात्रै फलाकिरहेका र धर्मसिद्धान्त मात्रै प्रचार गरिरहेका हुन्छन्, त्योभन्दा बढी केही गरिरहेका हुँदैनन्। तिनीहरूले पानीको बहावसँगसँगै पौडन र भीडलाई पछ्याउनका लागि मात्रै यी कुराहरू गरिरहेका हुन सक्छन्। अथवा, मण्डली जीवनको वातावरणले तिनीहरूलाई झारा टार्न र देखावटी व्यवहार गर्न बाध्य गरेको पनि हुन सक्छ। चाहे जे भए पनि, नारा फलाक्‍ने र धर्मसिद्धान्तको प्रचार गर्ने यस्ता मानिसहरूले कहिल्यै पनि साँचो पश्‍चात्ताप गर्दैनन्, र तिनीहरूले अवश्य नै परमेश्‍वरको मुक्ति पाउन सक्‍नेछैनन्।

परमेश्‍वरले मानिसहरूलाई अभ्यास गर्न लगाउनुहुने हरेक सत्यताको लागि तिनीहरूले मूल्य चुकाउनुपर्छ, र वास्तविक जीवनमा व्यावहारिक रूपमा नै ती सत्यता अभ्यास र अनुभव गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूलाई वचन र धर्मसिद्धान्तहरू वाचन गरेर, आत्मज्ञानको कुरा गरेर, आफू छली छु, झूटो बोल्छु, कुटिल, कपटी र चतुर छु भनेर स्विकार्दै, वा यी कुराहरू एक-दुई पटक मुखले बोल्‍दै अनि त्यतिकै बिर्सिँदै ओठे-सेवा मात्र गर्न लगाउनुहुन्‍न। यदि कसैले यो सबै कुरा स्विकार्छ तर त्यसपछि ऊ अलिकति पनि परिवर्तन हुँदैन भने; यदि उसले झूट बोल्‍ने, ठग्‍ने, र छल गर्ने कार्यलाई जारी राख्छ भने; यदि कुनै परिस्थिति सामना गर्दा, उसले त्यही शैतानी चलाकीहरू, त्यही शैतानी विधिहरू प्रयोग गरिरहन्छ भने; यदि उसका माध्यम र विधिहरू कहिल्यै परिवर्तन हुँदैनन् भने, के यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? के यस्ताहरूले कहिल्यै आफ्‍नो स्वभाव परिवर्तन गर्न सक्छन्? अहँ—कहिल्यै सक्दैनन्! तैँले आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्‍न सक्‍नुपर्छ। तँसँग दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा खुलेर कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने अनि आफ्‍नो साँचो स्थितिबारे सङ्गति गर्ने साहस हुनुपर्छ। यदि तैँले आफ्‍नो भ्रष्ट स्वभाव उदाङ्गो पार्ने वा चिरफार गर्ने साहस गर्दैनस् भने; यदि तैँले आफ्‍ना गल्तीहरू स्विकार्ने साहस गर्दैनस् भने, तँ सत्यता पछ्याउने कार्यमा लागेको छैनस्, तँ आफूलाई चिन्‍ने व्यक्ति हुनु त परको कुरा हो। यदि सबै जना ती धार्मिक मानिसहरूजस्तै अरूको आदर पाउन मात्रै आफ्नो प्रदर्शन गर्छन् भने, अर्थात् अरूको आदर र सम्‍मान पाउनको लागि मात्रै तिनीहरू परमेश्‍वरलाई कति धेरै प्रेम गर्छन्, उहाँमा तिनीहरू कति धेरै समर्पित हुन्छन्, कति धेरै निष्ठावान छन् र उहाँले तिनीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर गवाही दिन्छन् भने; र यदि सबैले हृदयमा आफ्‍नै व्यक्तिगत योजना पालेर बस्छन् र आफ्नै व्यक्तिगत स्थान कायम गर्छन् भने, कसले पो कसरी वास्तविक अनुभवको बारेमा कुरा गर्न सक्छ र? कसले पो कसरी एकअर्कासँग कुराकानी गर्दा साँचो अनुभव प्राप्त गर्न सक्छ र? अनुभवहरू बाँड्नु र तीबारे सङ्गति गर्नु भनेको परमेश्‍वरका वचनहरूसम्बन्धी तेरा अनुभव र ज्ञान सङ्गति गर्नु हो। यो तेरो हृदयमा भएको हरेक विचार, तेरो स्थिति, र तँभित्र प्रकट भएको भ्रष्ट स्वभाव व्यक्त गर्नु हो। यो अरूलाई यी कुराहरू देख्‍न दिनु र त्यसपछि सत्यता सङ्गति गरेर समस्या समाधान गर्नु हो। अनुभवहरू यसरी सङ्गति गर्दा मात्र हरेकले फाइदा लिन र फल प्राप्त गर्न सक्छ; यो मात्र साँचो मण्डली जीवन हो। यदि यो परमेश्‍वरका वचनहरू वा कुनै भजनबारे तेरो तथाकथित अन्तर्ज्ञानसम्बन्धी खोक्रा कुराहरू मात्रै हो भने, र त्यसपछि तँ कुनै थप अध्ययन नगरीकनै, आफ्ना कुनै वास्तविक स्थितिहरू वा समस्याहरू उल्लेख नगरीकनै, आफूलाई मन लागेजसरी सङ्गति गर्छस् भने, त्यस्तो सङ्गतिले केही फाइदा गर्दैन। यदि सबैले मत वा सिद्धान्तको ज्ञानबारे मात्रै कुरा गर्छन्, तर वास्तविक अनुभवहरूबाट आफूले प्राप्त गरेको ज्ञानबारे केही पनि बोल्दैनन् भने; र सत्यता सङ्गति गर्दा, यदि तिनीहरू सबैले आफ्‍नो व्यक्तिगत जीवन, आफ्नो वास्तविक जीवनको समस्या, र आफ्नो भित्री संसारबारे कुरा गर्न चाहँदैनन् भने, साँचो कुराकानी कसरी हुन सक्छ? त्यहाँ वास्तविक भरोसा कसरी हुन सक्छ? कुनै भरोसा हुन सक्दैन! यदि श्रीमतीले आफ्‍नो हृदयमा भएका कुराहरू कहिल्यै आफ्‍नो श्रीमानलाई बताउँदिन भने, के त्यसलाई आत्मीयता मान्‍न सकिन्छ? के तिनीहरूले एकअर्काको मनमा के छ भनेर जान्‍न सम्भव छ? (अहँ, सम्भव छैन।) अनि, मानौँ तिनीहरूले निरन्तर, “म तिमीलाई प्रेम गर्छु!” भनेर भनिरहन्छन्। तैपनि तिनीहरूले यसो मात्रै भन्छन्, तर तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा वास्तवमा के सोचिरहेका छन्, तिनीहरू एकअर्काबाट के अपेक्षा गर्छन्, वा तिनीहरूसँग के-कस्ता समस्याहरू छन्, सो खुलासा गर्ने वा एकअर्कालाई बताउने गर्दैनन्। तिनीहरूले भरोसासाथ एकअर्कालाई कहिल्यै पनि यस्ता कुराहरू भनेका हुँदैनन्, र सँगै हुँदा, तिनीहरूले एकअर्काको लागि देखावटी मीठा लाग्‍ने कुराहरू मात्रै बताउँछन्। के तिनीहरू साँच्‍चै नै श्रीमान-श्रीमती हुन् त? अवश्य होइनन्! त्यसै गरी, यदि दाजुभाइ-दिदीबहिनीहरू एकअर्कालाई भरोसा गर्न, एकअर्कालाई सहयोग गर्न, र एकअर्काको भरणपोषण गर्न सक्‍ने हुन चाहन्छन् भने, हरेक व्यक्तिले आफ्नो साँचो अनुभवहरू बताउनुपर्छ। यदि तैँले तेरा आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गर्दैनस् भने—यदि तँ मान्छेले बुझ्ने शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्छस् भने, यदि तँ परमेश्‍वरमाथिको विश्‍वासको बारेमा केही धर्मसिद्धान्तहरू प्रचार गर्छस् र दिक्‍क लाग्‍ने सामान्य उक्तिहरू मात्र सुगारटाइ गर्छस्, तर आफ्‍नो मनमा भएको कुराको बारेमा खुलेर बोल्दैनस् भने—तँ इमानदार व्यक्ति होइनस्, र तँ इमानदार हुन नसक्‍ने व्यक्ति होस्। माथिको उही उदाहरण प्रयोग गर्दा: धेरै वर्षसम्‍म सँगै बसिसकेपछि, कहिलेकहीँ विवाद गर्ने बाहेक, श्रीमान र श्रीमतीले एकअर्काप्रति बानी बसाल्ने प्रयास गर्छन्। तर तिमीहरू दुवै सामान्य मानवताका छौ भने, र तिमीहरूले जीवनमा वा काममा सामना गर्ने जुनसुकै कठिनाइहरूको बारेमा, र तिमीहरूले हृदयको गहिराइमा जे विचार गरिरहेको छौ र परिस्थिति मिलाउन जे-जस्तो योजना बनाइरहेका छौ, वा आफ्ना छोराछोरीको लागि जे-जस्ता विचार र योजनाहरू गरिरहेका छौ सोबारेमा तँ ऊसँग सधैँ हृदयबाट बोल्छस्, र ऊ तँसँग हृदयबाट बोल्छ, र तँ आफ्नो जीवनसाथीलाई यी सबै कुराहरू बताउँछस् भने—के तिमीहरू दुवैले विशेष रूपमा एकअर्काको नजिक र घनिष्ठ भएको अनुभव गर्नेछैनौ र? तर यदि उसले तँलाई कहिल्यै पनि आफ्‍ना भित्री विचारहरू बताउँदैन, केवल घरमा पैसा मात्र कमाएर ल्याउँछ भने; यदि तैँले कहिल्यै उसलाई आफ्‍ना विचारहरू बताउँदैनस् र तिमीहरू एकअर्कालाई भरोसा गरी कुराहरू साट्दैनौ भने, के तिमीहरू दुईबीच भावनात्मक दूरी हुँदैन र? निश्‍चय नै हुनेछ, किनभने तिमीहरूले एकअर्काका विचार वा योजनाहरू बुझ्दैनौ। अन्ततः, तैँले तेरो जीवनसाथी कस्तो प्रकारको व्यक्ति हो भनेर भन्‍न सक्‍नेछैनस्, न त उसले नै तँ कस्तो प्रकारको व्यक्ति होस् भनेर भन्‍न सक्‍नेछ। तैँले उसका खाँचोहरू बुझ्दैनस्, न त उसले नै तेरा खाँचोहरू बुझ्छ। यदि मानिसहरूका बीचमा कुनै मौखिक वा आत्मिक सञ्चार भएन भने, तिनीहरूका बीचमा घनिष्ठता हुने सम्‍भावना हुँदैन, र तिनीहरूले एकअर्काको भरणपोषण गर्न वा एकअर्कालाई सहयोग गर्न सक्दैनन्। तिमीहरूले यो अनुभव गरिसकेका छौ, होइन र? यदि तेरो साथीले सबै कुरामा तँलाई भरोसा गरी कुरा खोल्छ, उसले जे सोचिरहेको छ र उसले जेसुकै कष्ट वा खुसी बोकिरहेको भए पनि तँलाई भन्छ भने, के तैँले ऊसँग विशेष घनिष्ठ भएको अनुभव गर्दैनस् र? उसले तँलाई यी कुराहरू भन्‍न इच्‍छुक हुनुको कारण भनेको तैँले पनि आफ्‍ना भित्री विचारहरू सुनाउन उसलाई भरोसा गरेकोले गर्दा हो। तिमीहरू विशेष रूपमा नजिक हुन्छौ र यही कारणले गर्दा तिमीहरू एकअर्कासित मिल्‍न र एकअर्कालाई सहयोग गर्न सक्छौ। मण्डलीमा दाजुभाइ-दिदीबहिनीहरूबीच यस किसिमको कुराकानी र आदानप्रदान भएन भने, तिनीहरूबीच सद्भाव हुन सक्दैन, र तिनीहरूले आफ्‍नो कर्तव्य निभाउने क्रममा मिलेर राम्ररी काम गर्न असम्‍भव हुन्छ। त्यसैले, सत्यता सङ्गति गर्नलाई आत्मिक सञ्‍चार, र हृदयबाट बोल्‍ने क्षमता चाहिन्छ। इमानदार व्यक्ति बन्‍नको लागि व्यक्तिमा हुनुपर्ने सिद्धान्तहरूमध्येको एक यही हो।

जब केही मानिसहरूले इमान्दार व्यक्ति हुनको लागि मान्छेले सत्य बोल्नुपर्छ र हृदयबाट कुरा गर्नुपर्छ, र आफूबाट झूट बोल्ने वा छल गर्ने काम भयो भने खुलेर कुरा गर्दै आफूलाई उदाङ्गो पार्नुपर्छ र आफ्नो गल्ती स्विकार्नुपर्छ भनेर भनिएको सुन्छन्, तब तिनीहरू भन्छन्, “इमान्दार हुन एकदमै कठिन छ। के आफूले सोच्ने सबै कुरा मैले अरूलाई भन्नु जरुरी छ? के सकारात्मक कुराहरू सङ्गति गर्नु नै पर्याप्त छैन र? मैले अरूलाई मेरो अँध्यारो वा भ्रष्ट पक्षको बारेमा बताउनु जरुरी छैन, छ र?” यदि तैँले अरूसामु आफैलाई उदाङ्गो पार्दैनस् भने, र आफैलाई चिरफार गर्दैनस् भने, तैँले आफूलाई कहिल्यै चिन्नेछैनस्। तैँले आफू के चीज हुँ भनेर कहिल्यै पहिचान गर्नेछैनस्, अनि अन्य मानिसहरूले तँलाई कहिल्यै पनि भरोसा गर्न सक्नेछैनन्। यो तथ्य हो। यदि अरूले तँलाई विश्‍वास गरून् भन्‍ने तँ चाहन्छस् भने, सर्वप्रथम तँ इमान्दार हुनुपर्छ। इमान्दार व्यक्ति बन्‍न, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नु हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार व्यक्ति मान्‍नेछन्। यही नै इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वसर्त हो। यदि तैँले सधैँ ढोँग गरिरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्‍च चरित्रको ढोङ्ग गरिरहेको छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा दोषहरू हेर्न दिँदैनस् भने; यदि तैँले मानिसहरू समक्ष झूटो छवि प्रस्तुत गर्छस् र तिनीहरूलाई तँमा निष्ठा छ, र तँ महान्, आत्मत्यागी, न्यायसङ्गत र निस्वार्थ छस् भनी विश्‍वास गरून् भन्‍ने चाहन्छस् भने, के यो छली र झूट होइन र? के मानिसहरूले समयसँगै तेरो वास्तविकता देख्‍नेछैनन् र? त्यसकारण, देखावटी भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेरून् भनेर आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के यो तेरो इमानदारिता होइन र? यदि तैँले अन्य व्यक्तिहरूले देखून् भनेर आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई देख्‍नुहुनेछ। उहाँले भन्नुहुनेछ, “अन्य व्यक्तिहरूले हेरून् भनेर यदि तैँले आफूलाई उदाङ्गो पारेको छस् भने, तँ अवश्य नै मेरो अगाडि पनि इमानदार छस्।” तर यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा नदेख्‍ने ठाउँमा र परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरू साथमा भएको बेलामा तँ सधैँ महान्, आदर्श र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले तँलाई के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, “तँ पूराको पूरा छली होस्; तँ पूरै पाखण्डी र दुर्जन होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।” परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने, परमेश्‍वरको अगाडि हुँदा होस् वा अन्य व्यक्तिहरूको अगाडि हुँदा होस्, तैँले आफ्नो भित्री स्थितिको बारेमा र तेरो हृदयमा भएका शब्दहरूको बारेमा विशुद्ध र खुलस्त वृत्तान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ? यसको लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्‍वरमाथिको भर-पराइ आवश्यक पर्छ। तैँले आफैलाई सबै कुरामा सरल र खुलस्त रूपमा हृदयका कुरा बोल्‍न तालिम दिनुपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तँलाई ठूलो कठिनाइ भयो भने, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ; तिमीहरूले सत्यता अभ्यास गर्न नसकुञ्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्‍नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिइस् भने, तेरो हृदय क्रमिक रूपमा खुल्नेछ। तँ झन्झन् शुद्ध हुँदै जानेछस्, र तेरा बोलीवचन र व्यवहारको प्रभाव पहिलेको भन्दा फरक हुनेछ। तेरा झूट र छलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्‍वरको अघि जिउन सक्‍नेछस्। त्यसपछि, तँ आधारभूत रूपमै इमानदार व्यक्ति बनिसकेका हुनेछस्।

शैतानद्वारा भ्रष्ट तुल्याइएकाले, सारा मानवजाति शैतानी स्वभावमा जिउँछन्। शैतानले जस्तै, मानिसहरूले पनि हरेक हिसाबमा आफ्‍नो वास्तविक रूप लुकाउने र आफूलाई राम्रो देखाउने गर्छन्, र सबै कुरामा छल र खेलको सहारा लिन्छन्। तिनीहरूले छल र खेलको सहारा नलिने कुनै कुरा हुँदैन। कतिपय मानिसहरूले त किनमेलजस्ता सामान्य क्रियाकलापहरूमा समेत छली खेल खेल्छन्। उदाहरणका लागि, तिनीहरूले सबैभन्दा फेसनको लुगा किनेका हुन सक्छन् तर—तिनीहरूलाई त्यो साह्रै मन परे पनि—विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको कुरा काट्लान् र तिनीहरूलाई सतही भन्लान् भन्‍ने डरले त्यो लगाएर मण्डली जाने आँट गर्दैनन्, त्यसकारण त्यो लुगा तिनीहरूले अरूले नदेख्‍ने गरी लगाउँछन्। यो कस्तो व्यवहार हो? यो छली र ठगी स्वभावको प्रकटीकरण हो। किन कसैले फेसनमा रहेको लुगा किन्‍ने, तर आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अगाडि लगाउने आँट नगर्ने गर्छ? तिनीहरूलाई हृदयमा फेसनका कुराहरू मन पर्छ, र तिनीहरू गैरविश्‍वासीहरूले जस्तै संसारका चलनचल्ती पछ्याउँछन्। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको वास्तविकता देख्‍लान्, तिनीहरू कति सतही छन्, र तिनीहरू आदरणीय र सीधा व्यक्तिहरू होइनन् भनेर बुझ्लान् भन्‍ने डर हुन्छ। तिनीहरू हृदयमा फेसनका कुराहरूकै पछि लाग्छन् र ती कुराहरू त्याग्‍न तिनीहरूलाई गाह्रो हुन्छ, त्यसकारण तिनीहरूले घरमा मात्रै त्यस्तो लुगा लगाउँछन् र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई देख्‍लान् भनेर डराउँछन्। यदि तिनीहरूलाई मनपर्ने कुराहरू यथार्थमा पूर्ति हुन सक्दैनन् भने, किन तिनीहरूले ती कुरा त्याग्‍न सक्दैनन्? के तिनीहरूलाई शैतानी स्वभावले नियन्त्रण गरिरहेको छैन र? तिनीहरूले वचन र धर्मसिद्धान्तहरू निरन्तर बोलिरहेका हुन्छन्, र तिनीहरू सत्यता बुझ्‍नेजस्ता देखिन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास भने गर्नै सक्दैनन्। यो शैतानी स्वभावअनुसार जिउने व्यक्ति हो। यदि कुनै व्यक्ति बोलीवचन र व्यवहारमा सधैँ कपटी हुन्छ भने, यदि उसले अरूलाई आफ्‍नो वास्तविकता देखाउँदैन भने, र यदि उसले अरूसामु सधैँ भक्त व्यक्तिको छवि प्रस्तुत गर्छ भने, त्यस्तो व्यक्ति र फरिसीको बीचमा के भिन्‍नता हुन्छ? तिनीहरू वेश्याको जीवन जिउन चाहन्छन्, तर सतीत्वको छवि पनि निर्माण गरिरहेका हुन्छन्। तिनीहरूले झिलिमिली लुगा बाहिर लगाउन सक्दैनन् भन्‍ने तिनीहरूलाई राम्ररी थाहा थियो, तैपनि किन तिनीहरूले त्यो किने त? के त्यो पैसाको नाश भएन र? यो त तिनीहरूलाई त्यस्तो कुरा मनपर्ने हुनाले र तिनीहरूको मन त्यस्तै लुगामा बसेको हुनाले, तिनीहरूलाई त्यो किन्‍नुपर्छ भन्‍ने लागेको हो। तर किनिसकेपछि, बाहिर जाँदा तिनीहरूले त्यो लगाउन सक्दैनन्। केही वर्ष बितेपछि, तिनीहरूलाई त्यो किनेकोमा पछुतो हुन्छ, र अचानक यस्तो महसुस हुन्छ: “मैले कसरी त्यति मूर्ख र घृणास्पद भएर त्यस्तो काम गरेँ?” आफूले गरेको कामप्रति तिनीहरूलाई समेत घृणा जाग्छ। तर तिनीहरूले आफ्‍नो व्यवहार नियन्त्रण गर्न सक्दैनन्, किनभने तिनीहरूले आफूलाई मनपर्ने र आफूले पछ्याउने कुराहरू त्याग्‍न सक्दैनन्। त्यसकारण, तिनीहरूले आफूलाई सन्तुष्ट पार्न दुईजिब्रे युक्ति र छल प्रयोग गर्छन्। यदि तिनीहरूले यस्तो सानो कुरामा समेत छली स्वभाव प्रकट गर्छन् भने, के ठूलो कुरामा तिनीहरूले सत्यता अभ्यास गर्न सक्लान् त? यो असम्‍भव हुनेछ। प्रस्टै छ, छली हुनु तिनीहरूको प्रकृति हो, र छलीपन नै तिनीहरूको मुख्य कमजोरी हो। छ-सात वर्षको एउटा बच्‍चा थियो, जसले आफ्‍नो परिवारसँग एक पटक मीठो खानेकुरा खायो। अरू बच्‍चाहरूले खानेकुरा के थियो भनेर सोध्दा, त्यो बच्‍चाले आँखा झिम्कायो र भन्यो, “ला, बिर्सेँ त,” जबकि वास्तवमा उसले तिनीहरूलाई बताउन चाहेको थिएन। के आफूले भर्खरै खाएको कुरा उसले साँच्‍चै बिर्सन सक्थ्यो? यो छ-सात वर्षको बच्‍चाले झूट बोल्‍न सक्यो। के यो ठूला मान्छेहरूले उसलाई सिकाएको कुरा थियो त? के यो उसको घरको वातावरणको प्रभाव थियो त? थिएन—यो मान्छेको प्रकृति हो, उसको विरासत हो; मान्छे छली स्वभावसहित जन्‍मन्छ। वास्तवमा, त्यो बच्‍चाले जस्तोसुकै मीठो कुरा खाएको भए पनि, त्यो सामान्य कुरा थियो। त्यो उसका आमाबुबाले उसका लागि बनाइदिएको कुरा थियो; उसले अरू कसैको खानेकुरा चोरेको थिएन। यदि त्यो बच्‍चाले झूट बोल्‍नु नै नपर्ने त्यस्तो परिस्‍थितिमा झूट बोल्‍न सक्यो भने, के उसले अरू परिस्‍थितिमा झूट बोल्‍ने सम्‍भावना अझै बढी हुँदैन र? यसले कस्तो समस्या चित्रण गर्छ? के यो उसको प्रकृतिको समस्या होइन र? त्यो बच्‍चा अहिले ठूलो भएको छ, र झूट बोल्‍नु उसको प्रकृति बनेको छ। ऊ साँच्‍चै नै छली व्यक्ति हो; यो कुरा उसमा सानै उमेरदेखि देख्‍न सकिन्थ्यो। छली मानिसहरू अरूलाई नढाँटी र छल नगरी बस्‍न सक्दैनन्, र तिनीहरूको झूट र छल कुनै पनि समय र स्थानमा देखा पर्न सक्छन्। तिनीहरूले यी कुराहरू गर्ने तरिका सिक्‍नु पर्दैन, वा त्यसका लागि तिनीहरूलाई उक्‍साउनु पर्दैन—तिनीहरू यस्तै क्षमता लिएर जन्‍मेका हुन्छन्। यदि त्यो बच्‍चाले सानो उमेरमै मानिसहरूलाई छल्‍नका लागि झूट बोल्‍न सक्यो भने, के उसको झूट साँच्‍चै एक पटक मात्रै हुने अपराध हुन सक्छ? अवश्यै हुन सक्दैन। यसले ऊ प्रकृति सारले नै छली व्यक्ति हो भन्‍ने देखाउँछ। के त्यस्तो सरल कुरा पनि सहजै खुट्ट्याउन सकिँदैन र? यदि कसैले सानैदेखि झूट बोल्दै आएको छ, प्रायजसो झूट बोल्‍ने गर्छ, त्यसो गर्न आवश्यक नपर्ने सरल मामलाहरूमा पनि मानिसहरूलाई ढाँट्ने र छल्‍ने गर्छ भने, र यदि झूट बोल्‍नु उसको प्रकृति नै बनेको छ भने, उसलाई परिवर्तन हुन सहज हुनेछैन। तिनीहरू सच्‍चा रूपमै छली व्यक्तिहरू हुन्। छली मानिसहरूले मुक्ति पाउन सक्दैनन् भनेर किन भनिन्छ? किनभने तिनीहरूले सत्यता स्विकार्ने सम्‍भावना हुँदैन, त्यसकारण तिनीहरूलाई शुद्ध पार्न र रूपान्तरित गर्न सकिँदैन। परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्‍नेहरू फरक हुन्छन्। तिनीहरू सानैदेखि तुलनात्मक रूपमा निष्कपट हुन्छन्, र तिनीहरूले कहीँकतै झूट बोलिहाले भने, तिनीहरूलाई लाज र अशान्ति हुन सक्छ। त्यस्तालाई इमानदार व्यक्ति बन्‍न सजिलो हुन्छ: यदि तैँले तिनीहरूलाई झूट बोल्‍न वा ठग्‍न लगाइस् भने, तिनीहरूलाई त्यो काम गर्न गाह्रो हुन्छ। झूट बोल्‍नु परे पनि तिनीहरूले शब्दहरू राम्ररी निकाल्‍न सक्दैनन्, र सबैले तुरुन्तै थाहा पाइहाल्छन्। यिनीहरू तुलनात्मक रूपले सरल मानिसहरू हुन्, र यदि तिनीहरू सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूले मुक्ति हासिल गर्ने सम्‍भावना बढी हुन्छ। यसप्रकारका व्यक्तिहरूले विशेष परिस्‍थितिमा, अर्थात् कुनै उपाय नभएको बेला मात्रै झूट बोल्छन्। सामान्यतया तिनीहरूले सधैँ सत्यता बोल्‍न सक्छन्। जबसम्म तिनीहरूले सत्यता पछ्याइरहन्छन्, तबसम्म तिनीहरूले केही वर्षको प्रयासमै भ्रष्टताको यो पक्ष हटाउन सक्छन्, र त्यसपछि तिनीहरूलाई इमानदार व्यक्ति बन्‍न गाह्रो हुँदैन।

परमेश्‍वरलाई आवश्यक हुने इमानदार मानिसहरूका लागि उहाँले तोक्नुभएको मानक के हो? परमेश्‍वरका वचनहरूको यो अध्याय, तीन अर्तीहरूमा दिइएका परमेश्‍वरका मागहरू के-कस्ता छन्? (“इमानदारिता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। … यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)।) यहाँ एउटा निकै महत्त्वपूर्ण वाक्य छ। यो के हो, के तिमीहरूले देख्यौ? (परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।”) हो, ठीक भन्यौ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने।” मानिसहरूले त्यस्ता धेरै कुराहरू गरेका हुन्छन्, जसका बारेमा तिनीहरू बताउने आँटै गर्दैनन्, र तिनीहरूका अँध्यारा पक्षहरू धेरै हुन्छन्। तिनीहरूको कुनै पनि दैनिक व्यवहार परमेश्‍वरको वचनअनुसारको हुँदैन, र तिनीहरू देहविरुद्ध विद्रोह गर्दैनन्। तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्, र परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेपछि पनि, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका हुँदैनन्। “यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।” यहाँ, परमेश्‍वरले मानिसहरूलाई अभ्यासको मार्गतर्फ इसारा गर्नुभएको छ। यदि तैँले यसरी अभ्यास गर्दैनस्, र नारा र धर्मसिद्धान्तका कुराहरू मात्रै फलाक्छस् भने, तँ सहजै मुक्ति नपाउने व्यक्ति होस्। यो वास्तवमा नै मुक्तिसँग जोडिएको छ। मुक्ति पाउनु हरेक व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण छ। के परमेश्‍वरले “सजिलैसँग मुक्ति नपाउने” भनेर अरू कहीँ उल्‍लेख गर्नुभएको छ? अरू ठाउँमा, उहाँले मुक्ति पाउन कति गाह्रो छ भन्‍ने कुरालाई बिरलै उल्‍लेख गर्नुभएको छ, तर इमानदार बन्‍ने बारेमा कुरा गर्दा उहाँले यसबारे उल्‍लेख गर्नुभएको छ। तँ इमानदार व्यक्ति होइनस् भने, तँलाई मुक्ति दिन निकै गाह्रो हुन्छ। “सजिलैसँग मुक्ति नपाउने” भन्‍नाले तैँले सत्यतालाई स्विकार्दैनस् भने, तैँले मुक्ति पाउन गाह्रो हुनेछ भन्‍ने हो। तँ मुक्ति पाउने सही मार्ग लिन असक्षम हुनेछस्, त्यसकारण तैँले मुक्ति पाउन असम्‍भव हुनेछ। परमेश्‍वरले मानिसहरूलाई केही छुट दिनका लागि यो वाक्यशैलीको प्रयोग गर्नुहुन्छ। भन्‍नुको अर्थ: तँलाई मुक्ति दिन सहज छैन, तर तैँले परमेश्‍वरका वचनहरू अभ्यास गरिस् भने, तँसँग मुक्ति प्राप्त गर्ने आशा हुन्छ। त्यसको विपरीत अर्थ त्यही हो। यदि तैँले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दैनस्, र तेरा गोप्य कुराहरू र चुनौतीहरू कहिल्यै चिरफार गर्दैनस्, र अरूसँग सङ्गति गर्दा कहिल्यै आफ्‍नो कुरा खुलस्त बताउँदैनस्, अनि तिनीहरूका अघि आफ्‍ना भ्रष्टता र घातक त्रुटिहरूबारे सङ्गति, चिरफार, र खुलासा गर्ने गर्दैनस् भने, तैँले मुक्ति पाउन सक्दैनस्। त्यस्तो किन हुन्छ? तैँले आफूलाई यसरी उदाङ्गो पारिनस् वा चिरफार गरिनस् भने, तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई घृणा गर्नेछैनस्, त्यसकारण तेरो भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुनेछैन। अनि यदि तँ परिवर्तन हुन सकिनस् भने, तैँले मुक्ति पाउने बारेमा सोच्‍न समेत कसरी सक्छस् र? परमेश्‍वरका वचनहरूले स्पष्ट रूपमा नै यो कुरालाई देखाउँछन्, र यी वचनहरूले परमेश्‍वरका अभिप्रायलाई प्रस्तुत गर्छन्। मानिसहरू इमानदार बन्‍नुपर्छ भनेर परमेश्‍वरले किन सधैँ जोड दिनुहुन्छ? किनभने इमानदार बन्‍नु अत्यन्तै महत्त्वपूर्ण छ—यो कुरा व्यक्ति परमेश्‍वरमा समर्पित हुन सक्छ कि सक्दैन वा उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरासँग सोझै सम्‍बन्धित हुन्छ। कतिपय मानिसहरू यसो भन्छन्: “म अहङ्कारी र आत्मधर्मी छु, र म चाँडै रिसाउँछु र म प्रायजसो भ्रष्टता प्रकट गरिरहन्छु।” अरूहरू भन्छन्, “म सतही र आडम्बरी छु, र म अरूले मलाई प्रशंसा गरेको मन पराउँछु।” यी सबै नै मानिसहरूले बाहिरबाट देख्‍न सक्‍ने कुराहरू हुन्, र यी कुराहरू ठूला समस्याहरू होइनन्। तैँले सधैँ यी कुराहरूबारे धेरै बोलिरहनु हुँदैन। तेरो स्वभाव वा चरित्र जे-जस्तो भए पनि, तँ परमेश्‍वरले आवश्यक गर्नुभएजस्तै इमानदार व्यक्ति बन्‍न सक्छस् भने, तैँले मुक्ति पाउन सक्छस्। त्यसकारण, तिमीहरू के भन्छौ? के इमानदार बन्‍नु महत्त्वपूर्ण छ त? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, त्यसकारण उहाँका वचनहरूको तीन अर्तीहरू भन्‍ने खण्डमा परमेश्‍वरले इमानदार बन्‍नेबारेमा बताउनुभएको छ। अरू अध्यायमा, उहाँले विश्‍वासीहरूमा सामान्य आत्मिक जीवन र उचित मण्डली जीवन हुनुपर्छ भनेर बारम्‍बार उल्‍लेख गर्नुभएको छ, र तिनीहरूले सामान्य मानवतामा कसरी जिउनुपर्छ भनेर वर्णन गर्नुभएको छ। यी विषयहरूमा उहाँका वचनहरू आम किसिमका छन्; तिनका बारेमा विशेष रूपमा वा अत्यन्तै विस्तृत रूपमा छलफल गरिएको छैन। तर जब परमेश्‍वरले इमानदार बन्‍ने बारेमा बोल्दा उहाँले मानिसहरूलाई पछ्याउने मार्ग देखाउनुहुन्छ। उहाँले मानिसहरूलाई कसरी अभ्यास गर्ने भनेर बताउनुहुन्छ, र उहाँ पर्‍याप्त विवरण र स्पष्टताको साथमा बोल्‍नुहुन्छ। परमेश्‍वर भन्‍नुहुन्छ, “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने व्यक्ति होस्।” इमानदार बन्‍ने कार्य मुक्ति प्राप्त गर्नुसँग सम्‍बन्धित छ। त्यसैले तिमीहरू के भन्छौ, परमेश्‍वरले किन मानिसहरू इमानदार बन्‍नुपर्छ भनेर भन्‍नुहुन्छ? यो विषयले मानव चालढालको सत्यतालाई छुन्छ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले उहाँको राज्यको लागि चाहनुहुने व्यक्तिहरू पनि इमानदार मानिसहरू नै हुन्। यदि तँ झूट बोल्‍न र जालझेल गर्न सक्छस् भने, तँ छली, कुटिल, र कपटी व्यक्ति होस्; तँ इमानदार व्यक्ति होइनस्। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्‍वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन, न त तैँले मुक्ति पाउने सम्‍भावना नै हुन्छ। तँ अहिले आफू अत्यन्तै भक्त छु, अहङ्कारी वा आत्मधर्मी छैन, कर्तव्य निभाउँदा आफूले राम्ररी मूल्य चुकाउन सक्छु, वा सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई विश्‍वासी बनाउन सक्छु भनी भन्छस्। तर तँ इमानदार छैनस्, तँ अझै पनि छली छस्, र तँ परिवर्तन भएकै छैनस्, अनि के तैँले मुक्ति पाउन सक्छस् त? अवश्य सक्दैनस्। त्यसकारण, परमेश्‍वरका यी वचनहरूले प्रत्येकलाई यो स्मरण गराउँछन् कि तिनीहरूले मुक्ति पाउनलाई सबभन्दा पहिले तिनीहरू परमेश्‍वरका वचनहरू र मापदण्डहरू अनुसार इमानदार बन्‍नुपर्छ। तिनीहरूले खुलेर कुरा गर्नुपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू, र आफ्ना मनसाय र रहस्यहरू उदाङ्गो पार्नुपर्छ, र ज्योतिको मार्ग खोजी गर्नुपर्छ। “ज्योतिको मार्ग खोजी गर्नु” भनेको के हो? यो भनेको आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यताको खोजी गर्नु हो। जब तैँले आफ्‍नो भ्रष्टता, आफ्नो व्यवहारपछाडिका उद्देश्य र अभिप्रायलाई उदाङ्गो पार्छस्, तब तैँले आफूलाई पनि चिरफार गर्छस्, त्यसपछि तैँले यसो भन्दै खोजी गर्छस्: “मैले किन त्यसो गरेँ? के यसमा परमेश्‍वरका वचनहरूको कुनै आधार छ? के यो सत्यता अनुरूप छ? के यसो गरेर, मैले जानी-जानी गलत काम गरिरहेको छु? के मैले परमेश्‍वरलाई छल गरिरहेको छु? यदि मैले परमेश्‍वरलाई छल गरिरहेको छु भने, मैले यसो गर्नु हुँदैन; मैले परमेश्‍वरले के माग गर्नुहुन्छ, र परमेश्‍वरले के भन्‍नुहुन्छ भन्‍ने कुरालाई हेर्नुपर्छ, र सत्यता सिद्धान्तहरू के-के हुन् भनी पत्ता लगाउनुपर्छ।” सत्यताको खोजी गर्नु भनेको यही हो; ज्योतिमा हिँड्नु भनेको यही हो। जब मानिसहरूले नियमित रूपमा यो अभ्यास गर्न सक्छन्, तब तिनीहरू साँच्‍चै परिवर्तन हुन सक्छन्, यसरी तिनीहरूले मुक्ति हासिल गर्न सक्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
फन्टको आकार घटाउनुहोस्
फन्टको आकार बढाउनुहोस्
पूरै स्क्रिनमा जानुहोस्
पूरा स्क्रिनबाट बाहिर निस्किनुहोस्

इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास (भाग एक)

00:00
00:00
अघिल्लो
प्ले गर्नुहोस्
अर्को
सबै दोहोर्‍याउनुहोस्
随机播放
आवाज बन्द गर्नुहोस्
भिडियो हेर्नुहोस्