परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर पहिलो पटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युगको अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। यसैले, आज पनि यहोवाका वचनहरू खाने र पिउने मानिसहरू र अझै पनि सबै कुरा व्यवस्थाको युगको अनुसार गर्नेहरू—के तैँले अन्धाधुन्ध नियमहरू पालन गरिरहेको छैनस् र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनी भन्नुभएको थियो, तापनि उहाँ आउनुहुँदा उहाँलाई मसीह भनिएन, तर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के उहाँ व्यक्तिगत रूपले सेतो बादलमा मानिसहरूकहाँ आउन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्‍वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्‍वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ। अनुग्रहको युगको अन्त्यमा, अन्तिम युग आइपुगेको हुन्छ, र येशू आइसक्नुभएको हुन्छ। उहाँलाई अझै कसरी येशू भन्न सकिन्छ? उहाँले कसरी अझै पनि मानिसहरूका बीचमा येशूको रूप धारण गर्न सक्नुहुन्छ? के येशू नासरतको एक छविबाहेक अरू केही हुनुहुन्‍नथियो भन्‍ने तैँले बिर्सिस्? के येशू मानव जातिका उद्धारक मात्र हुनुहुन्थ्यो भन्‍ने तैँले बिर्सिस्? आखिरी दिनहरूमा उहाँले मानिसलाई जित्ने र सिद्ध गर्ने काम कसरी गर्न सक्नुहुन्थ्यो? येशू सेतो बादलमा सवार भएर जानुभयो—तथ्य यही हो—तर उहाँ कसरी मानिसहरूमाझ सेतो बादलमा फर्केर आउनुभएपछि पनि उहाँलाई येशू नै भनेर बोलाइन्छ र? यदि उहाँ साँच्चै बादलमा आउनुभयो भने, मानिसहरू उहाँलाई चिन्न कसरी असफल बन्छन् र? के सारा संसारभरिका मानिसहरूले उहाँलाई चिन्‍नेछैनन् र? त्यसोभए, के येशू मात्र परमेश्‍वर बन्नुहुन्न र? त्यो अवस्थामा, परमेश्‍वरको स्वरूप एक यहूदीको रूप हुनेथियो, साथै सदाका लागि त्यस्तै हुनेथियो। येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्‍वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्‍न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्‍नेछैनन्, स्वर्गका दूतहरूले जान्‍नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसका पुत्रलाई आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण तिमीहरू पनि तयार होओ: किनभने तिमीहरूले नसोचेको समयमा मानिसको पुत्र आउनुहुन्छ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्‍वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन? परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्ने होइन। परमेश्‍वरको इच्‍छा सँधै परिवर्तन भइरहने भएकोले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्ने प्रमाण होइन—त्यस्तो बुझाई गलत हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न’ भन्ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि ‘परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको महिमा कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टिहरूलाई उहाँको नयाँ इच्छा र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र? यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ। परमेश्‍वर आखिरी दिनहरूमा कामको एउटा नयाँ चरणमा प्रवेश गर्नुहुन्छ। उहाँले आफ्नो स्वभाव अझ बढी प्रकट गर्नुहुनेछ, र त्यो येशूको समयको स्‍नेह र प्रेम हुनेछैन। उहाँको हातमा नयाँ काम भएकोले यो नयाँ कामको साथमा नयाँ स्वभाव हुनेछ। त्यसकारण, यदि यो काम आत्माद्वारा गरिएको थियो भने—यदि परमेश्‍वर मानिस नबन्नुभएको भए, र उहाँसँग सम्पर्क गर्ने मानिससित कुनै उपाय नभएकोले आत्मा गर्जनको माध्यमबाट सीधै बोल्नुभएको थियो भने के मानिसले उहाँको स्वभाव जान्न सक्‍नेथियो? यदि यो काम गर्ने आत्मा मात्र हुनुहुन्थ्यो भने, मानिसले परमेश्‍वरको स्वभावको बारेमा जान्ने कुनै उपाय थिएन। जब परमेश्‍वर देह बन्नुहुन्छ, जब वचन शरीरमा देखा पर्नुहुन्छ, जब उहाँले देहद्वारा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ तब मात्र मानिसहरूले आफ्नो आँखाले परमेश्‍वरको स्वभाव देख्न सक्छन्। परमेश्‍वर साँच्चै र वास्तविक रूपमा मानिसहरूको बीचमा वास गर्नुहुन्छ। उहाँ वास्तविक हुनुहुन्छ; मानिस वास्तवमा उहाँको स्वभावसँग संलग्न हुन सक्छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा संलग्न हुनसक्छ; यस तरिकाले मात्र मानिसले साँच्चै उहाँलाई चिन्न सक्दछ। साथै, परमेश्‍वरले त्यो काम पनि पूरा गर्नुभएको छ, जसमा “परमेश्‍वर पुरुषहरूका परमेश्‍वर र स्त्रीहरूका परमेश्‍वर हुनुहुन्छ” र उहाँले शरीरमा आफ्नो काम सम्पूर्ण रूपमा पूरा गर्नुभयो। उहाँले कुनै पनि युगमा कामको नकल गर्नुहुन्न। आखिरी दिनहरू आइपुगिसकेको हुनाले उहाँले त्यही काम गर्नुहुनेछ जुन उहाँले आखिरी दिनहरूमा गर्नुहुन्छ र आखिरी दिनहरूमा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ। आखिरी दिनहरूको कुरा गर्दा, यसले एक अलग युगलाई जनाउँछ, जसमा तिमीहरूले अवश्य पनि विपत्ति र भूकम्प, अनिकाल र महामारीहरूको सामना गर्नुपर्नेछ भनी भन्‍नुभएको युगलाई जनाउँछ, जसले यो नयाँ युग हो अब पुरानो अनुग्रहको युग होइन भन्ने देखाउँछ। मानिसहरूले भनेजस्तै, मानिलिऔं, परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ, उहाँको स्वभाव सधैँ दयालु र प्रेमिलो हुन्छ, उहाँले मानिसलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई मुक्ति दिनुहुन्छ र मानिसलाई कहिल्यै घृणा गर्नुहुन्‍न, तब के उहाँको कामको कहिल्यै अन्त्य हुन्छ होला? जब येशू आउनुभयो र क्रूसमा टाँगिनुभयो, सबै पापीहरूका निम्ति आफैलाई वेदीमा बलि चढाउनुभयो, उहाँले मुक्तिको काम पूरा गरिसक्नुभएको थियो र अनुग्रहको युगको अन्त्य गर्नुभएको थियो। त्यसैले आखिरी दिनहरूमा त्यो युगको काम दोहोऱ्याउनुको अर्थ के हुनेथियो? के त्यही काम गर्नु भनेको येशूको कामलाई इन्कार गर्नु होइन र? यदि परमेश्‍वर यो चरणमा आउनुहुँदा क्रूसमा टाँगिने कार्य गर्नुभएन, तर प्रेमिलो र दयालु नै रहनुभयो भने के उहाँले युगको अन्त्य गर्न सक्‍नुहुनेथियो? के प्रेमिलो र दयालु परमेश्‍वरले युगलाई अन्त्य गर्न सक्‍नुहुनेथियो? युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धार्मिक न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

परमेश्‍वरका सबै व्यवस्थापनहरूमा उहाँको काम पूर्ण रूपमा स्पष्ट छ: अनुग्रहको युग, अनुग्रहको युग नै हो, र आखिरी दिनहरू, आखिरी दिनहरू नै हुन्। प्रत्येक युगबीच स्पष्ट भिन्नताहरू छन्, किनकि परमेश्‍वरले हरेक युगमा त्यो काम गर्नुहुन्छ जसले त्यस युगको प्रतिनिधित्व गर्दछ। किनकि आखिरी दिनहरूको काम गर्नका लागि, युगलाई समाप्त गर्न जलन, न्याय, सजाय, क्रोध र विनाश हुनुपर्दछ। आखिरी दिनहरूले अन्तिम युगलाई बुझाउँछ। अन्तिम युगको अवधिमा, के परमेश्‍वरले युगको अन्त्य गर्नुहुनेछैन र? युगको अन्त्य गर्न, परमेश्‍वरले आफ्नो साथमा सजाय र न्याय ल्याउनैपर्छ। यस तरिकाले मात्र उहाँले युगको अन्त्य गर्न सक्नुहुन्छ। येशूको उद्देश्य मानिस जीवित रहोस्, बाँचोस् र ऊ अझ राम्रो तरिकाले जिओस् भन्ने थियो। उहाँले मानिसलाई पापबाट बचाउनुभयो, यसैले कि ऊ आफ्नो भ्रष्टतामा खस्किँदै नजाओस्, र उप्रान्त पाताल र नरकमा नजिओस्, र मानिसलाई पाताल र नरकबाट बचाएर, येशूले उसलाई जीवित रहन दिनुभयो। अब आखिरी दिनहरू आइपुगेका छन्। परमेश्‍वरले मानिसलाई नष्ट गर्नुहुनेछ र मानव जातिलाई पूर्ण रूपमा नाश पार्नुहुनेछ, अर्थात्, उहाँले मानव जातिको विद्रोहलाई रूपान्तरण गर्नुहुनेछ। यस कारणले गर्दा, विगतको करुणामय र प्रेमिलो स्वभाव लिएर युगको अन्त्य गर्न वा उहाँको छ हजार वर्षको व्यवस्थापन योजनालाई सफल बनाउन परमेश्‍वरको निम्ति असम्भव हुनेछ। प्रत्येक युगमा परमेश्‍वरको स्वभावको विशेष प्रतिनिधित्व हुँदछ, र प्रत्येक युगमा परमेश्‍वरले गर्नु पर्ने कामहरू हुन्छन्। यसैले, प्रत्येक युगमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुने कामले उहाँको वास्तविक स्वभावको प्रकट गरेको हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरीतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, अनि परमेश्‍वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको नाउँ येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—सर्वशक्तिमान्, जसले आफ्नो मानिसहरूलाई डोऱ्याउन, मानिसलाई जित्न र आखिरीमा युगको अन्त्य गर्न आफ्‍नो शक्तिको प्रयोग गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्‍वरको स्वभाव स्पष्ट हुन्छ।

सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्‍वरलाई कसरी आदर गर्ने वा पृथ्वीमा कसरी जिउने भन्ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाप्रति आदर देखाउने वा पृथ्वीमा रहेका यहोवाका नियमहरू कसरी पालन गर्ने भनी बुझ्ने क्षमता दिनुभएन। यहोवाको प्रत्यक्ष अगुवाइविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा त मानिसमा त्यस्ता क्षमताहरू थिएनन्। मानिसले केवल यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै जान्दथ्यो, तर उहाँलाई कसरी आदर गर्ने, कस्तो प्रकारको मनले उहाँलाई आदर गर्ने भन्ने विषयमा मानिसलाई केही पनि ज्ञान थिएन। मानिसलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै थोकहरू, जुन उपभोग गर्न सकिन्छ ती कसरी उपभोग गर्ने भन्ने मात्र थाहा थियो, तर पृथ्वीमा कस्तो किसिमको जीवन परमेश्‍वरको सृष्टिको लागि योग्य हुन्छ भन्ने कुरा मानिसलाई अलिकति पनि थाहा थिएन। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानव जातिले मानव जातिको उचित जीवन कहिल्यै पनि बिताउन सक्ने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँलाई आदर गर्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँलाई आदर गर्ने वा उहाँको भय मान्ने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको आदर गर्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालन गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो। उहाँले मानव जातिलाई सृष्टि गरिसक्‍नुभएपछि यो कामलाई याकूबको युगसम्म निरन्तरता दिनुभयो, जुन बेला उहाँले याकूबका बाह्र छोरालाई इस्राएलका बाह्र कुल बनाउनुभयो। त्यस समयदेखि उसो, सारा इस्राएलीहरू त्यो मानव जाति भए जसलाई उहाँले आधिकारिक रूपमा पृथ्वीमा डोऱ्याउनुभयो, र इस्राएल पृथ्वीको विशेष स्थान बन्न पुग्यो जहाँ उहाँले आफ्नो काम गर्नुभयो। यहोवाले यी मानिसहरूलाई त्यो पहिलो समूह बनाउनुभयो जसमाथि उहाँले आधिकारिक रूपमा पृथ्वीमा आफ्नो काम गर्नुभयो र उहाँले सम्पूर्ण इस्राएल देशलाई उहाँको कामको मूल केन्द्र बनाउनुभयो र तिनीहरूलाई अझ ठूला कामको सुरुवातको रूपमा प्रयोग गर्नुभयो, ताकि पृथ्वीमा उहाँद्वारा जन्मेका सबै मानिसहरूले उहाँको आदर गर्न र पृथ्वीमा कसरी जिउनुपर्छ भनी जान्‍न सकून्। अनि यसैले, इस्राएलीहरूले गरेका कामहरू अन्यजाति मानिसहरूले पछ्याउनुपर्ने एउटा उदाहरण बन्यो, र इस्राएलीहरूका बीचमा भनिएका कुरा अन्यजातिका मानिसहरूले सुन्नु पर्ने वचनहरू बने। किनकि यहोवाका व्यवस्था र आज्ञाहरू सबैभन्दा पहिले प्राप्त गर्ने तिनीहरू नै थिए, अनि त्यसरी नै यहोवालाई आदर गर्ने मार्गहरू पहिलो पटक जान्ने पनि तिनीहरू नै थिए। तिनीहरू मानव जातिका ती पुर्खाहरू थिए जसले यहोवाका मार्गहरू जान्दथे, साथै तिनीहरू यहोवाले चुन्नुभएको मानव जातिका प्रतिनिधिहरू पनि थिए। जब अनुग्रहको युग आइपुग्यो, तब यहोवाले मानिसलाई यस प्रकारले डोऱ्याउन छोड्नुभयो। मानिसले पाप गरेको थियो र आफैलाई पापमा छोडिदिएको थियो, र त्यसैले उहाँले मानिसलाई पापबाट उद्धार गर्न सुरु गर्नुभयो। यस्तो प्रकारले, उहाँले मानिस पापबाट पूर्ण रूपमा उद्धार नहुञ्जेल मानिसको भर्त्सना गर्नुभयो। आखिरी दिनहरूमा मानिस यस्तो हदसम्म भ्रष्टतामा डुबेको छ, कि यस चरणको काम न्याय र दण्डद्वारा मात्र गर्न सकिन्छ। केवल यस तरिकाले मात्र काम पूरा गर्न सकिन्छ। यो धेरै युगदेखि भइआएको काम भएको छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले एउटा युगलाई अर्को युगबाट अलग गर्न र तिनको बीचमा परिवर्तन ल्याउन परमेश्‍वरले आफ्नो नाउँ, आफ्‍नो काम, र परमेश्‍वरका विभिन्न स्वरूपहरूको प्रयोग गर्नुहुन्छ; परमेश्‍वरको नाउँ र उहाँको कामले उहाँको युग र प्रत्येक युगमा उहाँको कामको प्रतिनिधित्व गर्दछ। प्रत्येक युगमा परमेश्‍वरको काम सधैँ एक समान हुन्छ, उहाँ सधैँ एउटै नाउँद्वारा बोलाइनुहुन्छ भन्‍ने मानिलिँदा, मानिसहरूले उहाँलाई कसरी चिन्दछन्? परमेश्‍वरलाई यहोवा भन्नुपर्दछ, र परमेश्‍वरलाई यहोवा भन्नुबाहेक अरू कोही अर्कै नाउँद्वारा बोलाइन्छ भने ऊ परमेश्‍वर होइन। वा अन्यथा परमेश्‍वर मात्र येशू हुन सक्नुहुन्छ, र येशूको नाउँबाहेक उहाँ अरू कुनै नाउँले बोलाइनु हुँदैन; येशूबाहेक, यहोवा परमेश्‍वर हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्‍वर पनि परमेश्‍वर हुनुहुन्न। मानिसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनी विश्‍वास गर्दछ, तर परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ, जो मानिससँग हुनुहुन्छ, र उहाँलाई येशू भन्नुपर्छ, किनकि परमेश्‍वर मानिससँग हुनुहुन्छ। यसो गर्नु भनेको सिद्धान्त अनुरूप हुनु, र परमेश्‍वरलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्नु हो। त्यसैले, प्रत्येक युगमा परमेश्‍वरले गर्नुहुने काम, जुन नाउँद्वारा उहाँ बोलाइनुहुन्छ, र उहाँले धारण गर्नुभएको स्वरूप—उहाँले आजको दिनसम्म प्रत्येक चरणमा गर्नुहुने काम—यी सबले एउटै मात्र नियम पालन गर्दैनन्, र कुनै पनि प्रकारको सीमामा बाँधिएका छैनन्। उहाँ यहोवा हुनुहुन्छ, तर उहाँ येशू, साथसाथै मसीह र सर्वशक्तिमान् परमेश्‍वर पनि हुनुहुन्छ। उहाँको नाउँ क्रमशः परिवर्तन हुँदै जाँदा उहाँको काम पनि बिस्तारै परिवर्तन हुन्छन्। कुनै एउटा नाउँले पूर्ण रूपले उहाँको प्रतिनिधित्व गर्न सक्दैन, तर उहाँलाई बोलाइने सबै नाउँले उहाँको प्रतिनिधित्व गर्न सक्छन्, र प्रत्येक युगमा उहाँले गर्नुहुने कामले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ। मानिलिऔं, जब आखिरी दिनहरू आइपुग्छन्, तैँले देख्ने परमेश्‍वर अझै पनि येशू हुनुहुन्छ, र यसबाहेक उहाँ अझ पनि सेतो बादलमा सवार हुनुहुन्छ, र उहाँमा अझै पनि येशूको रूप छ, र उहाँले बोल्नुहुने वचनहरू अझै पनि येशूकै वचनहरू हुन्छन्: “तिमीहरूले आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्नुपर्छ, तिमीहरूले उपवास बस्‍नुपर्छ र प्रार्थना गर्नैपर्छ, तिमीहरूका शत्रुलाई त्यसरी नै प्रेम गर, जस्तो तिमीहरूले आफ्नो जीवनलाई माया गर्छौ, अरूलाई सहने गर, अनि धीरज र नम्र होओ। मेरा चेलाहरू बन्नुभन्दा अघि तिमीहरूले यी सबै कुराहरू गर्नुपर्दछ। र यी सबै कुराहरू गरेर, तिमीहरू मेरो राज्यमा प्रवेश गर्न सक्छौ।” के यो अनुग्रहको युगको काम अन्तर्गत पर्दैन र? के उहाँले जे भन्नुहुन्छ, त्यो अनुग्रहको युगको बाटो हुँदैन र? यदि तिमीहरूले यी वचनहरू सुन्यौ भने तिमीहरूलाई कस्तो लाग्नेथियो? के तिमीलाई अझै पनि यो येशूको काम हो भन्ने लाग्दैनथियो? के यो त्यसको नकल गरेको हुनेथिएन र? के मानिसले यसमा आनन्द पाउन सक्छ? के तिमीहरूले परमेश्‍वरको काम अहिले जस्तो छ त्यस्तै मात्र रहन सक्छ र अझै अगाडि बढ्दैन भन्ने महसुस गर्नेथियौ। उहाँसँग यति धेरै शक्ति छ, र अब नयाँ काम अरू बाँकी छैन, र उहाँले आफ्नो शक्तिलाई त्यसको सीमामा ल्याउनुभएको छ। आजभन्दा दुई हजार वर्ष अगाडि अनुग्रहको युग थियो, र दुई हजार वर्षपछि पनि उहाँले अझै अनुग्रहको युगको बाटोको प्रचार गर्दैहुनुहुन्छ, र अझै पनि मानिसहरूलाई पश्चात्ताप गर्न लगाउँदैहुनुहुन्छ। मानिसहरूले भन्नेछन्, “परमेश्‍वर, तपाईंसँग मात्र यति धेरै शक्ति छ। म विश्‍वास गर्छु, तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ, र पनि तपाईं अझै धैर्य मात्र जान्नुहुन्छ अनि धैर्यको मात्र चिन्ता गर्नुहुन्छ। तपाईंले शत्रुलाई कसरी प्रेम गर्नुपर्छ भन्‍ने मात्रै जान्‍नुहुन्छ जान्नुहुन्छ, त्योबाहेक अरू केही जान्नुहुन्न।” मानिसको मनमा, परमेश्‍वर सधैँ अनुग्रहको युगमा जस्तै रहनुहुन्छ, र मानिसले सधैँ परमेश्‍वर प्रेमिलो र करुणामय हुनुहुन्छ भनी विश्‍वास गर्नेछ। के तँ परमेश्‍वरको काम सधैँ उही पुरानो मैदानमा नै खडा हुनेछ भनी सोच्छस्? यसैले, उहाँको कामको यस चरणमा उहाँ क्रूसमा टाँगिनुहुनेछैन, र तिमीहरूले देख्ने र छुने सबै कुरा तिमीहरूले कल्पना गरेको वा कसैले भनेको सुनेको जस्तो हुनेछैन। आज, परमेश्‍वर फरिसीहरूसित भिड्नुहुन्न, न त संसारलाई र उहाँलाई चिन्नेहरूलाई उहाँको पछि लाग्ने तिमीहरू मात्र हौ भनी जान्न दिनुहुन्छ, किनकि उहाँलाई फेरि क्रूसमा टाँगिनेछैन। अनुग्रहको युगको अवधिमा, येशूले आफ्नो सुसमाचारको कामका लागि सम्पूर्ण देशभरि खुल्लमखुल्ला प्रचार गर्नुभयो। क्रूसीकरणको कामको लागि उहाँ फरिसीहरूसँग भिड्नुभयो; यदि उहाँ फरिसीहरूसँग नभिड्नुभएको भए र अधिकारको स्थानमा बस्नेहरूले उहाँलाई कहिल्यै नचिनेका भए, उहाँलाई तिनीहरूले कसरी दोषी ठहराउन, त्यसपछि धोका दिन र क्रूसमा टाँग्न सक्थे? र यसैले उहाँ क्रूसमा टाँगिनको निम्ति फरिसीहरूसित भिड्नुभयो। आज, परीक्षाबाट बच्न उहाँले गोप्य रूपमा आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरका दुई देहधारणमा काम र महत्त्व फरक-फरक छन्, र यो पनि परिस्थिति पनि फरक छ, त्यसैले उहाँले गर्नुहुने काम कसरी त्यस्तै हुन सक्छ र?

के येशूको “परमेश्‍वर हामीसँग” भन्ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्‍वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्‍वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्‍वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्‍वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्‍वर हामीसँग हुनुहुन्छ भन्‍ने नाउँले मात्र पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्‍वास गर्छस्? परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, सम्मानित, अचम्मका, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान र यस्तै अन्य। धेरै वटा शब्दहरू! यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। यसैले, मानिसका निम्ति परमेश्‍वरका नाउँ धेरै छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको अस्तित्व प्रशस्त भएकोले र मानिसको भाषा अति दुर्बल भएको गर्दा यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँमा सम्पूर्ण रूपले परमेश्‍वरको प्रतिनिधित्व गर्ने क्षमता हुँदैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? उहाँ यति महान् र अति पवित्र हुनुहुन्छ, तापनि तैँले उहाँलाई प्रत्येक नयाँ युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँले त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ, जसको क्षणिक महत्त्व हुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्‍वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्‍ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्‍वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्‍वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्‍वरको व्याख्या गर्न जान्दैन। परमेश्‍वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्‍वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्नेछु, “परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ!” के यो परमेश्‍वरका निम्ति सर्वोत्तम नाउँ होइन र? के यसमा परमेश्‍वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्‍वरको नाउँको खोजी गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरू किन खानु न पिउनु हुँदै आफ्नो दिमागलाई नामकै खातिर यातना दिन्छौ? त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अहिले पनि परमेश्‍वरको नाउँ खोजिरहेको छस्? के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के त्यसको निर्णय गर्न उहाँलाई तेरो, अर्थात् उहाँको सृष्टिको आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ कुनै यस्तो कुरा होइन जुन मानिसले उछिन्‍न सक्छ! तैँले केवल स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, उहाँलाई परमेश्‍वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्‍वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अचम्मका, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जानेको थोरै कुरा यति मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछ, काम गर्ने परमेश्‍वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।

परमेश्‍वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्‍वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्‍वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन किन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउनु दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्‍वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्‍वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्‍वर स्वयम्‌को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्‍वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्‍नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्‍वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्‍वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्‍वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्‍वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्‍वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्‍ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्‍वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्‍वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्‍वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्‍वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्‍वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्‍वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!

जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको युगअनुसार वा यहोवाको कामअनुसार होइन। येशूले जुन काम गर्न आउनुभयो त्यो यहोवाको व्यवस्था वा यहोवाका आज्ञाहरू पालन गर्नुपर्ने काम थिएन, तैपनि तिनको स्रोत एउटै र उस्तै थियो। येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्रै डोऱ्याउनुभयो। नयाँ करारको अनुग्रहको युगमा येशूले गर्नुभएको काम त्यो युगलाई डोऱ्याउनुका निम्ति परमेश्‍वरले येशूको नाउँमा गर्नुभएको काम थियो। यदि तँ येशूको काम परमप्रभुले गर्नुभएको काममा आधारित थियो, र उहाँले कुनै नयाँ काम थाल्नुभएन, उहाँले जे गर्नुभयो सबै यहोवाको वचनअनुसार, यहोवाको कामअनुसार र यशैयाका अगमवाणीहरू अनुसार थियो भनी भन्छस् भने, येशू देहधारण गर्नुभएका परमेश्‍वर बन्न सक्नुहुन्न। यदि उहाँले आफ्नो काम यस तरिकाले सञ्चालन गर्नुभएको थियो भने उहाँ एक प्रेरित वा व्यवस्थाको युगका एक सेवक मात्र हुनुहुनेथियो। यदि यो तैँले भनेको जस्तै हो भने, येशूले एउटा युग सुरु गर्न सक्नुहुने थिएन, न त उहाँले अरू कुनै काम नै गर्न सक्नुहुन्थ्यो। त्यसरी नै, पवित्र आत्माले मुख्य रूपले यहोवाद्वारा उहाँको काम गर्नुपर्दछ, अनि यहोवाविना पवित्र आत्माले कुनै नयाँ काम गर्न सक्नुहुनेथिएन। मानिसले येशूको कामलाई यस तरिकाले बुझ्नु गलत हो। यदि कुनै व्यक्तिले येशूद्वारा गरिएको काम यहोवाको वचन र यशैयाका भविष्यवाणीहरू अनुसार गरिएको थियो भनी विश्‍वास गर्दछ भने, येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो कि उहाँका भविष्यवक्ताहरूमध्ये एक हुनुहुन्थ्यो? यस धारणाअनुसार अनुग्रहको युग हुनेथिएन, र येशू परमेश्‍वरको अवतार हुनु सक्नुहुन्नथियो, किनकि उहाँले गर्नुभएको कामले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्न सक्दैनथियो र पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्नेथियो। येशू नयाँ काम गर्न, एउटा नयाँ युगको सुरु गर्न, इस्राएलमा पहिले गरिएको कामलाई तोड्न र इस्राएलमा यहोवाले गर्नुभएको कामअनुसार वा उहाँको पुराना नियमहरू वा कुनै पनि नियमअनुसार होइन, तर उहाँले गर्नुपर्ने नयाँ काम गर्न आउनुहुँदा मात्र एउटा नयाँ युग हुन सक्थ्यो। नयाँ युग सुरु गर्न परमेश्‍वर आफै आउनुहुन्छ, र त्यो युगलाई समाप्त गर्न परमेश्‍वर आफै आउनुहुन्छ। युग सुरु गर्ने र युग समाप्त गर्ने काम गर्न मानिस असक्षम छ। यदि येशू आउनुभएपछि पनि उहाँले यहोवाको कामलाई समाप्त गर्नुभएको थिएन भने त्यसले उहाँ एक साधारण मानिस मात्र हुनुहुन्थ्यो र परमेश्‍वरको प्रतिनिधित्व गर्न नसक्‍ने व्यक्ति हुनुहुन्थ्यो भन्ने प्रमाणित गर्नेथियो। वास्तवमा भन्ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्थ्यो भन्ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण व्यवस्था अनुसार मानिसको जीवन डोऱ्याउनु थियो, र अर्को पापको बलिदान चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, ती कामहरूलाई दुई युगहरूमा विभाजन गर्न सकिन्छ: नयाँ र पुरानो करार, यो भनेको नयाँ र पुरानो युग हो। जब येशू आउनुभयो उहाँ मन्दिरमा जानुभएन, जसले यहोवाको युग समाप्त भएको थियो भन्‍ने प्रमाणित गर्दछ। उहाँ मन्दिरभित्र पस्नुभएन, किनकि मन्दिरमा यहोवाको काम समाप्त भइसकेको थियो, र त्यसलाई फेरि गर्नुपर्ने आवश्यक थिएन, र त्यो फेरि गर्नु भनेको दोहोऱ्याउनु मात्रै हुनेथियो। मन्दिरलाई छोडेर, एउटा नयाँ काम सुरु गरेर अनि मन्दिरदेखि बाहिर नयाँ मार्ग सुरु गरेर मात्रै उहाँले परमेश्‍वरको कामलाई आफ्नो चरम बिन्दुमा ल्याउन सक्नुभयो। यदि उहाँ आफ्नो काम गर्न मन्दिरबाट बाहिर नजानुभएको भए, परमेश्‍वरको काम मन्दिरको जगमाथि अड्केर बस्‍नेथियो, र त्यहाँ कुनै नयाँ परिवर्तनहरू हुनेथिएन। यसैले जब येशू आउनुभयो, उहाँ मन्दिरमा प्रवेश गर्नुभएन, र उहाँले मन्दिरमा आफ्नो काम गर्नुभएन। उहाँले मन्दिरको बाहिर काम गर्नुभयो, र आफ्ना चेलाहरूलाई डोऱ्याउँदै आफ्‍नो काम स्वतन्त्र रूपले अघि बढाउनुभयो। परमेश्‍वरले आफ्नो काम गर्न मन्दिरबाट प्रस्थान गर्नुको अर्थ परमेश्‍वरसँग नयाँ योजना थियो भन्ने हुन्छ। उहाँको काम मन्दिरको बाहिर सञ्चालन हुनुपर्ने थियो, र कार्यान्वयन गर्ने तरिकामा नियन्त्रित नरहेको नयाँ कार्य हुनुपर्थ्यो। येशू आइपुग्‍नुभएपछि तुरुन्तै उहाँले पुरानो करारको युगको यहोवाको कामलाई समाप्त गर्नुभयो। उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनेर देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नुबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ। पल-पल परमेश्‍वरका आत्माले नयाँ काम गर्दैहुनुहुन्छ, उहाँ कहिल्यै पनि पुरानो तरिका वा नियममा अल्झेर बस्‍नुहुन्‍न। न त उहाँको कार्य कहिल्यै रोकिएको छ, तर हरेक बितेको क्षण सँगै पूरा हुँदैछ। यदि तँ पवित्र आत्माको काम अपरिवर्तनीय छ भनी भन्छस् भने किन यहोवाले पूजाहारीहरूलाई मन्दिरमा उहाँको सेवा गर्नू भन्नुभयो, तैपनि येशू आउनुहुँदा मानिसहरूले उहाँ प्रधान पूजाहारी हुनुहुन्छ र उहाँ दाऊदको वंशका हुनुहुन्छ र साथै प्रधान पूजाहारी र महान् राजा हुनुहुन्छ भनेर पनि उहाँ मन्दिरमा प्रवेश गर्नुभएन? अनि उहाँले किन बलिहरू चढाउनुभएन? मन्दिरभित्र पस्नु वा मन्दिरमा नपस्‍नु—यो सबै परमेश्‍वर स्‍वयम्‌को काम होइन र? यदि, मानिसले कल्पना गरेझैं येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसहरूमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोऱ्याउनु नै हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्‍वास गर्ने सबै धारणाहरू हुन्, र मानिसले बुझ्ने सबै शाब्दिक अर्थअनुसार, र उसको कल्पनाशक्ति अनुसार हुन्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग बाझिन्छन् र ती परमेश्‍वरको अभिप्राय अनुरूप हुँदैनन्। परमेश्‍वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्‍वर त्यति मूर्ख र अबुझ हुनुहुन्न, र उहाँको काम तैँले सोचेको जस्तो सरल छैन। मानिसले कल्पना गर्ने सबै कुराको आधारमा, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्‍वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ र स्वर्गलोकमा ग्रहण गरिनेछ। के यस्ता विश्‍वास मानिसका धारणाहरू होइनन् र? के परमेश्‍वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्‍वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ आफ्ना सृष्टिहरू जस्तै बन्नुहुन्न र? अहिले शैतानले उहाँका सृष्टिहरूलाई धेरै भ्रष्ट पारेकोले मानिस शैतानको मूर्त रूप बनेको छ, यदि परमेश्‍वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्‍वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्‍वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्छ। कति जना मानिसहरू छन्, जसले परमेश्‍वर आफैले उहाँ बादलमा आउनुहुनेछ भन्नुभएको छ भनी भन्छन्। परमेश्‍वर आफैले त्यसो भन्नुभएको थियो भन्‍ने कुरा सत्य हो, तर परमेश्‍वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्‍ने के तँलाई थाहा छैन? के परमेश्‍वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्‍ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्‍नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्‍चय नै पवित्र आत्मा हुनुहुन्‍नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भनिस्, “परमेश्‍वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्‍वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्‍चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को धेरै उच्च हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्‍ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्‍वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्? मानिसमा धेरै कुराको कमी छ। अहिले तिमीहरूका लागि महत्वपूर्ण कुरा भनेको कामका तीन चरणहरू जान्नु हो। यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।

अघिल्लो: व्यवस्थाको युगको काम

अर्को: उद्धारको युगको कार्यको पछाडिको वास्तविक कथा

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

राज्यको युग नै वचनको युग हो

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग...

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा तँ सत्यताको निम्ति जिउनुपर्छ

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्