00:00 00:00
00:00
00:00

जीवनको बाटो जोसुकैसँग हुने कुरा होइन, न त यो जोकोहीले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यस्तो किन हुन्छ भने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात् जीवनको सार परमेश्‍वर स्वयम्‌को स्वामित्वमा मात्रै रहेको छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको बाटो हुन्‍छ। त्यसैले, परमेश्‍वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले जीवनको शक्तिसँग सम्‍बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यस्तो किन हो भने परमेश्‍वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, र मानिस पुनरुत्थानित हुने बाटो परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै पनि अलग हुनुहुन्‍न, र उहाँ सँधैभरि मानिसकै माझमा बस्‍नुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड र मानिसको जन्‍मपछि उसको अस्तित्वको लागि सम्‍पन्‍न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्‍म गराउने र उसलाई आफ्नो हरेक भूमिकामा दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवनशक्तिकै कारण, मानिस पुस्तौंपुस्तासम्म जिएको छ, र यस अवधिमा परमेश्‍वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ र परमेश्‍वरले कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ। परमेश्‍वरको जीवनशक्ति जुनसुकै शक्तिभन्दा पनि प्रबल हुन सक्छ; साथै, यसले जुनसुकै शक्तिको दायरा पनि पार गर्न सक्छ। उहाँको जीवन अनन्त र उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्तिलाई कुनै पनि सृजित प्राणी वा शत्रुबलले जित्‍न सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्‍वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्छ, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्‍वरको जीवन उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत र तिनीहरूको अस्तित्वको जड परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्‍वरबाटै सुरु हुन्छ, परमेश्‍वरकै कारणले गर्दा स्वर्गको अस्तित्व रहन्‍छ, र परमेश्‍वरको जीवनको शक्तिबाटै पृथ्वीको अस्तित्व उत्पन्‍न हुन्छ। जीवनशक्ति भएको कुनै पनि वस्तुले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्‍न सक्दैन र जोस हुँदैमा कुनै पनि वस्तु परमेश्‍वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक व्यक्ति परमेश्‍वरको आज्ञाको अधीनमा जिउनुपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

सायद तँ अहिले जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् होला, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्‍छा गर्छस् होला। जेसुकै भए पनि, तँ परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्, तैँले भरोसा गर्न सक्‍ने, र तँलाई अनन्त जीवन दिन सक्‍ने परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्‍नैपर्छ र पहिले परमेश्‍वर कहाँ हुनुहुन्छ भनी जान्‍नैपर्छ। मैले पहिले नै भनिसकेको छु कि परमेश्‍वर मात्रै अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्‍वरसँग मात्रै जीवनको बाटो छ। परमेश्‍वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्‍वर मात्रै जीवनको बाटो हुनुभएकोले, परमेश्‍वर स्वयम् नै अनन्त जीवनको बाटो हुनुहुन्छ। त्यसैले, तैँले सुरुमा परमेश्‍वर कहाँ हुनुहुन्छ, र अनन्त जीवनको यो बाटो कसरी प्राप्त गर्ने भन्‍ने कुरा बुझ्‍नुपर्छ। अब यी दुई विषयहरूलाई अलगअलग रूपमा हामी सङ्गति गरेर हेरौँ।

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज परमेश्‍वर कहाँ हुनुहुन्छ? सायद तैँले यस्तो जवाफ दिनेछस्, “निश्‍चय नै, परमेश्‍वर स्वर्गमा बस्‍नुहुन्छ—उहाँ तपाईंको घरमा बसिरहनुभएको त हुनुहुन्‍न होला, हुनुहुन्‍छ त?” सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर अवश्य नै सबै कुराहरूका माझमा बस्‍नुहुन्छ। वा तैँले भन्‍न सक्छस् कि परमेश्‍वर हरेक व्यक्तिको हृदयमा बस्‍नुहुन्छ, वा परमेश्‍वर आत्मिक संसारमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिनँ, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्‍वर मानिसको हृदयमा बस्‍नुहुन्छ भनेर भन्‍नु पूर्ण रूपमा सत्य होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये, कसैको विश्‍वास साँचो छ र कसैको विश्‍वास झूटो छ, कसैलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्‍न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु, परमेश्‍वर एकदुई जना मानिसहरूको हृदयमा मात्रै बस्‍नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू, परमेश्‍वरद्वारा स्वीकार हुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँद्वारा सिद्ध पारिनेहरू हुन्। परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्‍वरको अनन्त जीवनको बाटोको बारेमा सुन्‍ने र देख्‍ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्‍वरमाथि झूटो विश्‍वास हुनेहरू, परमेश्‍वरद्वारा स्वीकार नहुनेहरू, परमेश्‍वरद्वारा घृणा गरिनेहरू, परमेश्‍वरद्वारा हटाइनेहरू—तिनीहरू परमेश्‍वरद्वारा इन्कार हुने निश्‍चित छ, तिनीहरू जीवनको बाटोविहीन हुने निश्‍चित छ र तिनीहरू परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने कुराप्रति अनजान हुने निश्‍चित छ। यसको विपरीत, जसको हृदयमा परमेश्‍वर बस्‍नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्‍ने कुरा थाहा हुन्‍छ। परमेश्‍वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्‍वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ? परमेश्‍वर मानिसको हृदय र मानिसको छेउ दुवैमा हुनुहुन्छ। उहाँ आत्मिक संसारमा र सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्‍न, उहाँ त अझै बढी रूपमा पृथ्वीमा हुनुहुन्छ जहाँ मानिस अस्तित्वमा रहेको छ। यसरी, आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। यावत् थोकका सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ, र मानिसको हृदयमा उसको बाँच्ने आधार उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै माझमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको बाटो मानवजातिकहाँ ल्याउन र मानिसलाई जीवनको बाटोमा लैजान सक्‍नुहुन्छ। मानिसले जीवनको बाटो प्राप्त गर्न सकोस् र मानिस अस्तित्वमा रहन सकोस् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएको र मानिसमाझ जिइरहनुभएको छ। यसै गरी, परमेश्‍वरले मानिसमाझ गर्नुहुने व्यवस्थापनमा सहकार्य सहज तुल्याउनको लागि यावत् थोकका सबै कुरालाई हुकुम गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने धर्मसिद्धान्तलाई मात्रै स्वीकार गर्छस्, तर मानिसमाझको परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यको बाटो पनि कहिल्यै प्राप्त गर्नेछैनस्।

परमेश्‍वर स्‍वयम् नै जीवन र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सहअस्तित्वमा रहन्छन्। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरूको अलावा, तेरो शरीरको सम्पूर्णता तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरू वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूको माझमा बसेर परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूको अवधिमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई आजको दिनमा लागू गर्छस् भने, त्यसले तँलाई पुरातत्वविद् तुल्याउँछ, र तेरो बारेमा व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी विद्वान होस् भनेर भन्‍नु हो। त्यो किन हो भने तँ सँधै परमेश्‍वरले विगतको समयमा गर्नुभएका कामका निसानहरूमा विश्‍वास गर्छस्, यसभन्दा पहिले उहाँले मानिसमाझ काम गर्नुभएको बेलाको परमेश्‍वरको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले आफ्‍ना अनुयायीहरूलाई दिनुभएको बाटोमा मात्रै विश्‍वास गर्छस्। तँ आजका परमेश्‍वरको कार्यदिशामा विश्‍वास गर्दैनस्, आजका परमेश्‍वरको महिमामयी मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हालै व्यक्त गर्नुभएको सत्यको बाटोमा विश्‍वास गर्दैनस्। त्यसैले तँ अवश्य नै दिवास्वप्‍न देख्‍ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा बाहिर छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्‍ने वचनहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्‍ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको आधिकारिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ। यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्‍न चाहन्छस् भने, तैँले पहिले परमेश्‍वर पृथ्वीमा आउनुभएर मानिसलाई जीवनको बाटो दिने काम गर्नुहुन्छ भन्‍ने कुरा स्वीकार गर्नैपर्छ, र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ आउनुहुन्छ भनेर तैँले स्वीकार गर्नैपर्छ। यो विगत होइन; यो कुरा आज भइरहेको छ।

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरू स्वीकार गरेर उहाँको बाटो पालन गर्नैपर्छ। सत्यता प्राप्त गर्न असक्षम हुँदाहुँदै र जीवनको प्रावधान स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैनन्। यसको साथै, यो दिनपश्‍चात तैँले परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफूलाई छुटकारा दिलाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जसको विरोध गर्छस् त्यो मानिस होइन, तैँले जसलाई तिरस्कार गर्छस् त्यो कुनै तुच्छ अस्तित्व होइन, त्यो त ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के-के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, घृणित पाप गरेको हुनेछस्। त्यसैले म हरकोहीलाई सल्लाह दिन्छु: सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाही रूपमा आलोचना नगर, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्यबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि देख्‍ने तुल्याउन सक्दैन।

फूटनोट:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

थप पढ्नुहोस्

थप शीर्षकहरू