00:00 00:00

के तँ येशूलाई देख्‍न चाहन्छस्? के तँ येशूसँग बस्‍ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएका वचनहरू सुन्‍ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछस्? के तँ पूर्ण रूपमा तयार छस्? तैँले येशूको पुनरागमनलाई कुन रीतिले स्वागत गर्नेछस्? मलाई लाग्छ, येशूलाई पछ्याउने हरेक दाजुभाइ तथा दिदीबहिनीले उहाँलाई राम्ररी स्वागत गर्न रुचाउँछन्। तर के तिमीहरूले यो कुरा विचार गरेका छौ: येशूको पुनरागमन हुँदा के तैँले उहाँलाई साँच्‍चै चिन्‍नेछस्? के उहाँले भन्‍नुभएका सबै कुरा तिमीहरूले साँच्‍चै बुझ्नेछौ? के उहाँले गर्नुभएका सबै कामहरूलाई तिमीहरूले साँच्‍चै निसर्त स्वीकार गर्नेछौ? बाइबल पढेका सबैले येशूको पुनरागमनबारे जान्दछन् र बाइबल पढ्ने सबैले उहाँको आगमनको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। तिमीहरू सबै त्यो क्षणको आगमनको निम्ति लालायित छौ, र तिमीहरूको निष्ठा सराहनीय छ, तिमीहरूको विश्‍वास ईर्ष्यालाग्दो छ, तर के तिमीहरूलाई आफूबाट गम्भीर त्रुटि भएको कुरा महसुस हुन्छ? येशूको पुनरागमन कुन रीतिले हुनेछ? येशू सेतो बादलमा आउनुहुनेछ भनी तिमीहरू विश्‍वास गर्छौ, तर तिमीहरूलाई म सोध्छु: यो सेतो बादलले केलाई जनाउँछ? येशूका यति धेरै अनुयायीहरूले उहाँको पुनरागमनको प्रतीक्षा गरिरहेका छन्, त्यसैले उहाँ कुन मानिसहरूको माझमा चाहिँ ओर्लिआउनुहुनेछ? यदि उहाँ तिमीहरूमाझ पहिले ओर्लिआउनुभयो भने, के अरूहरूले यसलाई अत्यन्त अन्यायपूर्ण कुराको रूपमा हेर्नेछैनन् र? मलाई थाहा छ, तिमीहरू येशूप्रति अत्यन्त निष्ठावान् र बफादार छौ, तर के तिमीहरूले येशूलाई कहिल्यै भेटेका छौ? के तिमीहरूलाई उहाँको स्वभाव थाहा छ? के तिमीहरू कहिल्यै उहाँसँग बसेका छौ? तिमीहरूले उहाँको बारे वास्तवमै कति धेरै बुझेका छौ? केहीले भन्‍नेछन् कि यी वचनहरूले तिनीहरूलाई नाजुक परिबन्धमा पार्‍यो। तिनीहरूले भन्‍नेछन्, “मैले बाइबल सुरुदेखि अन्त्यसम्म धेरैपटक पढेको छु। मैले येशूलाई कसरी बुझ्न सक्दिनथेँ र? येशूको स्वभावको त कुरै नगरौँ—उहाँले कुन रङको लुगा लगाउन मन पराउनुहुन्थ्यो सो पनि मलाई थाहा छ। मैले उहाँलाई बुझ्दिनँ भन्दा तपाईंले मलाई होच्याइरहनुभएको छैन र?” यी विषयहरूमा विवाद नगर् भनी म तँलाई सुझाव दिन्छु; बरु शान्त भएर तल दिइएका प्रश्‍नहरूको बारेमा सङ्गति गर्नु उत्तम हुन्छः पहिलो, यथार्थ के हो र सिद्धान्त के हो, के तँलाई थाहा छ? दोस्रो, के तँलाई धारणाहरू के हुन् र सत्यता के हो भन्‍ने थाहा छ? तेस्रो, केचाहिँ कल्पना गरिएको के हो र केचाहिँ यथार्थ के हो, के तँलाई थाहा छ?

केही मानिसहरू आफूले येशूलाई बुझ्दिनँ भन्‍ने तथ्यलाई अस्वीकार गर्छन्। म अझै तिमीहरूलाई भन्छु, तिमीहरूले येशूलाई अलिकति पनि बुझ्दैनौं र उहाँको एउटै वचन पनि बुझ्दैनौं। त्यो किन हो भने तिमीहरूले बाइबलमा उल्लेखित विवरणको कारण र अरूले भनेका कुराहरूको कारण उहाँलाई पछ्याउछौ। तिमीहरूले उहाँलाई कहिल्यै पनि देखेका छैनौं, उहाँसँग बस्‍ने कुरा त परै जाओस्, र तिमीहरूले उहाँलाई एक क्षणको निम्ति पनि साथ दिएको छैनौ। यस्तो अवस्थामा, येशूबारे तेरो बुझाइ केवल एक सिद्धान्त होइन र? के यो यथार्थरहित छैन र? सायद, केही मानिसहरूले येशूको तस्वीर देखेका होलान् वा कोही येशूको घरमा स्वयम् गएका होलान्। सायद केहीले येशूका कपडा छोएका होलान्। तँ स्वयम्‌ले येशूले खानुभएकै खाना खाएको भए पनि, उहाँबारे तेरो बुझाइ अझै पनि सैद्धान्तिक मात्र छ, व्यावहारिक छैन। कुरा जे भए पनि, तैँले येशूलाई कहिल्यै देखेको छैनस् र दैहिक रूपमा येशूसँग एक क्षण पनि साथ रहेको छैनस्, त्यसैले येशूबारे तेरो बुझाइ सदैव यथार्थरहित रित्तो सिद्धान्त हुनेछ। सायद मेरा वचनहरू तेरो निम्ति त्यत्ति रुचिकर नहोलान्, तर म तँलाई सोध्छु: आफूले सबैभन्दा आदर गरेको लेखकका धेरै कृतिहरू तैँले पढेको हुन सक्छस्, तर उनीसँग समय नबिताईकन के तैँले उनलाई पूर्ण रूपमा बुझ्न सक्छस्? उनको व्यक्तित्व कस्तो छ, के तँलाई थाहा छ? उनी कस्तो जीवन जिउँछन्, थाहा छ? के तँ उनको कुनै संवेगात्मक स्थितिको बारेमा जान्दछस्? आफूले प्रशंसा गर्ने मानिसलाई पनि तैँले सम्भवतः पूर्ण रूपमा बुझ्न सक्दैनस्, अनि येशूलाई कसरी बुझ्न सक्छस् र? तैँले येशूको बारे बुझेका सबै कुराहरू कल्पना र धारणाहरूले भरिएका छन्, जसमा कुनै सत्यता वा यथार्थता छैन। यसबाट दुर्गन्ध निस्कन्छ र यो देहले भरिएको छ। यस्तो बुझाइले येशूको पुनरागमनको स्वागत गर्न तँलाई कसरी योग्य तुल्याउन सक्छ र? देहका परिकल्पना र धारणाहरूले भरिएकाहरूलाई येशूले ग्रहण गर्नुहुनेछैन। येशूलाई नबुझ्नेहरू कसरी उहाँका विश्‍वासीहरू हुन योग्य हुन्छन् र?

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास त गरे, तर जीवनको सत्यतालाई भने पछ्याएन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै अल्झिबस्‍ने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यो विश्‍वास उपहासपूर्ण र हाँस्यस्पद छैन र? म तिमीहरूलाई अझै अरू कुराहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? के तैँले म येशूको विरोध गर्नेछैनँ भनी साँच्‍चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुसरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि छैनस् भन्‍ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसअतिरिक्त, तिनीहरूले येशूको पुनरागमनलाई शैतानको छलको रूपमा देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, सेतो बादलमा येशू देह भई फर्कनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई भन्छुः सत्यता ग्रहण नगर्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरूले निश्‍चय नै पवित्र आत्माको निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के कुरालाई समातिराख्‍नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बारम्बार स्वीकार गर्ने गर्छौ, के सच्‍चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरू के बलि चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्‍च पार्ने वर्षौँको कार्य हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के कुरालाई समातिराख्‍नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी प्रकृति होइन र?

तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, यहोवालाई कसरी आदर गर्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको छललाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू अनन्त विनाशमा पर्ने श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा आइनहाल; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू कम्तीमा पनि नम्र र श्रद्धापूर्ण हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले पनि अरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदर हुँदा पनि तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरू देखा पर्ने भएकोले गर्दा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरूले आफू छलमा पर्ने डरले गर्दा पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा गर्नु हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्य होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

थप पढ्नुहोस्

थप शीर्षकहरू