१. कुन ठूलो: परमेश्वर कि बाइबल? परमेश्वर र बाइबलबीचको सम्बन्ध के हो?
१. धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्वास गर्छस् भने तैंले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैंले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैंले त्यसो गरिस् भने तैँले परमेश्वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै परमेश्वरमाथिको मानिसहरूको विश्वास नै बाइबलमाथिको विश्वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्वरभन्दा उच्च देख्नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्वास छ भनी प्रमाणित गर्दछ। बाइबल पढेकाहरू र त्यसबारे अरूसँग कुरा गर्न सक्नेहरू सबै असल दाजुभाइ तथा दिदी-बहिनीहरू हुन्। यत्तिका वर्षहरूमा प्रभुप्रति मानिसहरूको विश्वास र बफादारितालाई उनीहरूको बाइबलको ज्ञानको हदअनुसार मापन गरिएको छ। धेरै मानिसहरू परमेश्वरमा किन विश्वास गर्ने भन्ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि कहिल्यै बाइबल छोडी अर्कोतिर गएको छैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने आँट नै गरेका छन्। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नताहरू पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही विशेष व्याख्याहरू वा अझ गहिरा रहस्यहरू फेला पार्न चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। मानिसहरूको बाइबलप्रतिको दृष्टिकोण मोह र विश्वासको छ, र कोही पनि बाइबलको भित्री कथा वा तत्वबारे पूर्ण रूपमा स्पष्ट छैनन्। त्यसैले, आज बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरूले आफ्ना धारणाहरूमा केवल बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्ने सोच्छन्; तिनीहरूले सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यस्ता धारणाहरू भएकाले मानिसहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलबिना, मानिसहरूले परमेश्वरका पाइलाहरू अन्यत्र खोजी गर्न सक्छन्, तैपनि आज, उहाँका पाइलाहरू बाइबलद्वारा रोकिएका छन्, र उहाँको नवीनतम काम विस्तार गर्नु दुई गुणा कठिन, र एक कडा संघर्ष बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरूका साथै बाइबलका विभिन्न अगमवाणीहरूको कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमा एउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्वरले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्वर पाउन सक्छन् भनी तिनीहरू विश्वास गर्न सक्दैनन्, उनीहरूले अन्तिम कामको समयमा परमेश्वर बाइबलबाट टाढा हुन र फेरि पहिलेदेखि सुरु गर्न सक्नुहुन्छ भनी विश्वास गर्ने कुरा त परै जाओस्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। परमेश्वरको नयाँ कामलाई स्वीकार गर्ने विषयमा बाइबल मानिसहरूका निम्ति ठूलो बाधा र परमेश्वरको यो नयाँ काम फैलाउने कार्यको कठिनाइ बनेको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको
२. आज, मानिसहरू बाइबल नै परमेश्वर हुन् र परमेश्वर नै बाइबल हुनुहुन्छ भनेर विश्वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्वरले भन्नुभएको थियो भनेर विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, फिलाडेल्फिया, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। … यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्वरको तर्फबाट बोल्न सक्छ र?
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (३)” बाट उद्धृत गरिएको
३. परमेश्वरको काम जस्तोसुकै नयाँ होस् यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ र यस्ता कार्यको हरेक चरणमा साँचो हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि प्रकट गरिनु नै पर्छ, नत्र यस्तो काम परमेश्वरको काम हुन सक्दैन भनी विश्वास गर्नेहरू त अझै धेरै छन्। परमेश्वरलाई चिन्नु मानिसको निम्ति सजिलो काम होइन। मानिसको निरर्थक हृदयको अतिरिक्त स्व-महत्त्व र स्व-अहङ्कार भएको उसको विद्रोही स्वभावलाई लिँदा उसलाई परमेश्वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न यसलाई नम्रतासँग स्वीकार गर्छ; बरु, उसले परमेश्वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्ने क्रममा उसले घृणाको धारणा अङ्गीकार गर्छ। के यो परमेश्वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्नेहरूको आचरण होइन र? यस्ता मानिसहरूले परमेश्वरको स्वीकृति कसरी प्राप्त गर्न सक्छन्?
— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?” बाट उद्धृत गरिएको
४. येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्वर वा बाइबल? परमेश्वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्ने हुनसक्छ? के परमेश्वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?
… यसैले, उहाँले भन्नुभयो: “म व्यवस्था वा अगमवक्ताहरू नष्ट गर्न आएको हुँ भन्ने नसोच: म नष्ट गर्न होइन, तर पूरा गर्न आएको हुँ।” यसैले, उहाँले जे पूरा गर्नुभयो त्यस अनुसार धेरै वटा सिद्धान्त भङ्ग गरिए। शबाथको दिनमा, उहाँले आफ्ना चेलाहरूलाई अन्नका खेतहरू भएर लग्नुहुँदा ती चेलाहरूले अन्नका बालाहरू टिपे र खाए; उहाँले शबाथ दिन पालन गर्नुभएन र भन्नुभयो, “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” त्यसबेला, इस्राएलीहरूको नियमअनुसार शबाथ दिन पालन नगर्ने कुनै पनि मानिसलाई ढुङ्गाले हानेर मारिन्थ्यो। तापनि, येशू न त मन्दिरमा प्रवेश गर्नुभयो न उहाँले शबाथ दिन पालन गर्नुभयो, र उहाँको काम पुरानो करारको समयका यहोवाले गर्नुभएको थिएन। यसरी, येशूले गर्नुभएको कामले पुरानो करारको व्यवस्थालाई उछिन्यो, यो त्योभन्दा अझ उच्च थियो, र यो त्यो अनुरूप थिएन। अनुग्रहको युगको अवधिमा, येशूले पुरानो करारको व्यवस्थाअनुसार काम गर्नुभएन, र ती सिद्धान्तहरूलाई पहिले नै भङ्ग गरिसक्नुभएको थियो। तर इस्राएलीहरू जोरदार रूपमा बाइबलमा अडे र तिनीहरूले येशूको निन्दा गरे—के त्यसो गर्नु येशूको कामलाई इन्कार गर्नु थिएन र? आज धार्मिक संसार पनि जोरदार रूपमा बाइबलमा अडेको छ र कोही-कोही मानिसहरू भन्छन्, “बाइबल एउटा पवित्र पुस्तक हो र यो पढ्नुपर्छ।” केही व्यक्तिहरू भन्छन्, “परमेश्वरको काम सदाका लागि कायम राख्नुपर्छ, पुरानो करार परमेश्वरले इस्राएलीहरूसँग गर्नुभएको करार हो, र यसलाई उल्लङ्घन गर्न सकिँदैन, र शबाथ-दिन सधैँ पालन गर्नुपर्दछ!” के ती हास्यास्पद छैनन् र? येशूले किन शबाथ दिनको पालन गर्नुभएन? के उहाँले पाप गरिरहनुभएको थियो? यस्ता कुराहरू कसले सम्पूर्ण रूपले बुझ्न सक्दछ?
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको
५. त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्नै योजना अनुसार, र उहाँको आफ्नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पुरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्नो नयाँ युग सुरु गर्न र आफ्नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो भएर पहेँलो भइसकेको तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्वरको रेखदेख गर्ने हुन् कि परमेश्वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?
— वचन देहमा देखा पर्नुहुन्छको “पद र पहिचानको सम्बन्धमा” बाट उद्धृत गरिएको
६. परमेश्वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय के हो भने परमेश्वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहन्छन्। परमेश्वरले जति धेरै काम गर्नुहुन्छ उत्ति नै परमेश्वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्वरको कामको जागरणमा मानिसको स्वभावमा पनि सोही अनुरूपको परिवर्तनहरू आउँछन्। तैपनि, परमेश्वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्नेहरू र सत्यता नचिन्ने ती अर्थहीन मानिसहरू नै परमेश्वरलाई विरोध गर्ने मानिसहरू बन्छन्। परमेश्वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन र उहाँ पुरानो कामलाई कहिल्यै पनि दोहोर्याउनुहुन्न, बरु यस अघि कहिल्यै नभएका कामहरू गर्दै अघि बढ्नुहुन्छ। परमेश्वरले आफ्नो काम कहिल्यै नदोहोर्याउनुहुने भएकोले र मानिसले परमेश्वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामको आधारमा सँधै न्याय गर्ने भएकोले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्वरलाई अत्यन्त कठिन भएको छ। मानिससित अत्यन्तै धेरै जटिलताहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्वरको कामलाई कसैले जान्दैन, तैपनि हरेकले यसलाई सीमित गर्छ। जब मानिसले परमेश्वरलाई छोड्छ, तब उसले जीवन, सत्य, र परमेश्वरको आशिष् गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यतालाई नै स्वीकार गर्छ, परमेश्वरले मानवजातिलाई दिनुहुने अझै ठूलो आशिष् स्वीकार गर्नु त परै जाओस्। सबै मानिसहरूले परमेश्वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्वरको काममा हुने कुनै पनि परिवर्तन सहन असक्षम हुन्छन्। परमेश्वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव अचल रहन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूको विश्वासमा, तिनीहरूले परमेश्वरबाट मुक्ति पाउनलाई गर्नुपर्ने काम भनेको नै व्यवस्था पालन गर्नु हो, र तिनीहरूले आफ्ना पापहरू स्वीकार गरेसम्म र पश्चात्ताप गरेसम्म, परमेश्वरको इच्छा सदैव पूरा हुनेछ। तिनीहरू परमेश्वर व्यवस्थाको मातहतमा हुने परमेश्वर र मानिसको निम्ति क्रूस टाँगिएको परमेश्वर मात्र हुन सक्नुहुन्छ भन्ने धारणाका हुन्छन्; परमेश्वरले बाइबललाई अतिक्रमण गर्नु हुन्न र गर्न सक्नुहुन्न भन्ने पनि तिनीहरूको धारणा हुन्छ। यिनै धारणाहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग पारेको छ र मृत नियमहरूमा जकडाएको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?” बाट उद्धृत गरिएको
७. सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्ने फरिसीहरूले विश्वास गरे अनि आज मानिसहरूले परमेश्वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्वरको काम बाइबलअनुसार छैन। के यो परमेश्वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्वरलाई पछ्याउन परमेश्वरमा विश्वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्वर हुँ भन्ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। … हरेक युगको परमेश्वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्वरको इच्छा कसरी पूरा गर्न खोज्ने भन्नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?
— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?” बाट उद्धृत गरिएको
८. यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्त्रको एक-एक शब्दप्रति आसक्त भए, तर तिनीहरूले न त मेरो इच्छालाई ध्यान दिए न त मेरो कामका चरण र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ लाग्ने मानिसहरू थिए; तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्जतलाई कायम राख्न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्ने हदसम्म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्नो भविष्य र पापबलि त्याग्न रुचाए, जबकि येशूले मृत्युसम्मै धर्मशास्त्रको सिद्धान्त पालन गर्नुभएन। के तिनीहरू सबै नै धर्मशास्त्रका एक-एक वचनका दास थिएनन् र?
अनि आजका मानिसहरूको बारेमा के भन्ने? ख्रीष्ट सत्यता प्रकट गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्त अस्तित्व सुनिश्चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्टलाई फेरि क्रूसमा टाँग्न रुचाउँछन्। … मानिसले वचनहरूअनुकूल हुन र बाइबलअनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दु:खदायी दृश्य हुन्। किनभने तिनीहरूले मृत वचनहरू, र तिनीहरूलाई असीमित सम्पत्ति दिन सक्ने परमेश्वरको आराधना गर्छन्; तिनीहरूले मानिसको कृपामा आफूलाई छोड्ने परमेश्वर अर्थात् अस्तित्वमै नहुनुभएको परमेश्वरको आराधना गर्छन्। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै तल्लोस्तरको छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित अपेक्षाहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?
— वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट उद्धृत गरिएको
९. मेरो अनुकूल छु भन्ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्वासले भरिएका छन्। किनभने तिनीहरू जरैदेखि मेरो विरुद्धमा छन् तर मेरो अनुकूल छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्न नसकेका अस्पष्ट परमेश्वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्त्रका एक-एक शब्दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्वास गर्छन्। तिनीहरूले धर्मशास्त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्न सकिन्छ भने तिनीहरूले वचन र अभिव्यक्तिहरूलाई यति हदसम्म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्ने हरेक शब्दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्ने विश्वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र?
— वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट उद्धृत गरिएको
१०. बाइबलका वचनहरूमा मात्रै चासो राख्नेहरू अनि सत्यता र मेरा पाइलाहरूको खोजी गर्नमा सरोकार नराख्नेहरू—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलभित्रै बाँधिराख्छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरो इच्छा वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, बरु तिनीहरू वचनहरूप्रति आसक्त छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?
— वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट उद्धृत गरिएको
११. बाइबल इस्राएलमा परमेश्वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय उहाँको कार्यको दौरान बोल्नुभएका केही वाणीहरूको अभिलेख गर्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाप्रतिको तिनीहरूको श्रद्धा र परमेश्वरप्रतिको तिनीहरूको भक्तिको परिणाम हो। परमेश्वरका सृष्टिहरूले आफ्ना सृष्टिकर्तालाई यति आदर गर्ने र प्रिय ठान्ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्लेख गर्छन्, र केही मानिसहरूले त यस पुस्तकलाई स्वर्गीय पुस्तक भनेर पनि भन्ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यसलाई व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्वर होइनन्, मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एकअर्कासँग छलफल गर्नुभएर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्नुभएको थिएन, येशूले लेख्नुभएको हुने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जसलाई पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकको रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूको लागि विशेष रूपमा पवित्र देखिन्छ, अर्थात् तिनीहरू यो पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्ने विश्वास गर्छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (४)” बाट उद्धृत गरिएको
१२. पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन्: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो नियमले यहोवाको कामको अभिलेख गर्दछ, र नयाँ नियमले येशूको कामको अभिलेख गर्दछ, त्यो काम जुन विशेष रूपले येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, त्यसले तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँको जस्तै हृदय भएका मानिसहरूको पहिलो समूह र उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह थिए भनी प्रमाणित गर्छ। इस्राएलका बाह्र कुल यहोवाले चुन्नुभएका पहिलो मानिसहरू थिए, र त्यसैले उहाँले सधैं व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल तिनीहरूमा काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो। अनुग्रहको युगमा येशूले गर्नुभएको काम मुख्य रूपमा सुसमाचारका चार वटा पुस्तकमा लेखिएको छ। अनुग्रहको युगका मानिसहरू हिँडेका बाटो उनीहरूको जीवन स्वभावको सबैभन्दा सतही परिवर्तनहरू नै थिए, जसका अधिकांश भागहरू प्रेरितहरूका पत्रहरूमा लेखिएका छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको
१३. नयाँ करारको सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेखीकरण गरिएका थिए। पहिले, इस्राएलका मानिसहरूले केवल पुरानो करार पढ्थे। यसको मतलब, अनुग्रहको युगको शुरूमा मानिसहरूले पुरानो करार पढ्थे। नयाँ करार केवल अनुग्रहको युगमा देखा पर्यो। जब येशूले काम गर्नुभयो त्यो बेला नयाँ करार अस्तित्वमा थिएन; उहाँ पुनरुत्थान हुनुभएपछि र स्वर्गमा उक्लनुभएपछि मानिसहरूले उहाँको कामको अभिलेखीकरण गरे। त्यसपछि मात्र चारओटा सुसमाचारका पुस्तकहरू आए र यसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू, साथै प्रकाशको पुस्तक पनि आए। येशू स्वर्गमा उक्लनुभएको तीन सयभन्दा बढी बर्षपछि, त्यसपछिका पुस्ताहरूले यी कागजातहरूलाई छनौट गर्दै एकत्रीकरण गरे, र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भएपछि मात्र त्यहाँ नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। … तिनीहरूले जे अभिलेख राखे, यो भन्न सकिन्छ कि त्यो तिनीहरूको शिक्षा र मानव क्षमताको स्तरअनुसारको थियो। तिनीहरूले जे अभिलेख राखे त्यो मानिसहरूको अनुभवहरू थियो, र प्रत्येकको अभिलेख राख्ने र जान्ने आफ्नै तरिका थियो, र प्रत्येक अभिलेख फरक थियो। तसर्थ, यदि तैँले बाइबललाई परमेश्वरको रूपमा पुज्छस् भने, तँ अत्यन्तै अनभिज्ञ र मूर्ख छस्!
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (३)” बाट उद्धृत गरिएको
१४. बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले पूर्ण रूपमा परमेश्वरको कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्वरले यति मात्र गर्न सक्नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्नुहुन्नथियो भनी विश्वास गर्छन्। के यो हास्यास्पद छैन र?
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको
१५. बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्छन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवन मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचनहरू मूल्यवान् छन्, र तिनले मानिसहरूलाई चाहिने आवश्यक कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन्, तसर्थ महान् आत्मिक व्यक्तित्वहरूका लेखहरूप्रति भन्दा यसप्रति मानिसहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले अभ्यास गर्नलाई यसबाट धेरै अन्तर्ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएका हुन्, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट पोषण प्राप्त गर्न सक्ने भए पनि, उनीहरूले अझै पनि बाइबललाई नै पुज्छन्, किनकि यो उनीहरूका लागि अत्यन्तै महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले पोषण दिन र मद्दत गर्न सक्ने भए पनि, यी पुस्तकहरू पुरानो भइसकेका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि मात्र उपयुक्त छन्, अनन्त छैनन्। किनकि परमेश्वरको काम सँधै विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्न सक्दैन, वा सँधैभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि उपयुक्त छैनन्। तिनीहरूले केवल अनुग्रहको युगका विश्वासीहरूका लागि पोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि सक्दैनन्, र ती जतिसुकै राम्रो भए पनि ती पुराना छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, यो पुरानो हुनेवाला नै थियो र त्यो बितेर जाने समय आउनेवाला नै थियो। परमेश्वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू—ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्चाङ्ग भएका छन्, र पुरानो पञ्चाङ्गले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्चाङ्गहरू जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र?
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (४)” बाट उद्धृत गरिएको
१६. बाइबल त परमेश्वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्वरले इतिहासलाई फर्केर हेर्नुहुन्न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्वरमा विश्वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्वरमा विश्वास गर्दैनस्। तर आज, तँ परमेश्वरमा विश्वास गर्ने र जीवनको पछि लाग्ने तर परमेश्वरको ज्ञानको खोजी गर्ने, र मृत अक्षर र धर्मसिद्धान्तहरू वा इतिहास बुझ्ने प्रयासको पछि नलाग्ने हुनाले, तैँले आजको परमेश्वरको इच्छा, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद् होस् भने तैँले बाइबल पढ्न सक्नेथिइस्—तर तँ पुरातत्वविद् होइनस्, तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेछ।
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (४)” बाट उद्धृत गरिएको
१७. यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो।
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको
१८. परमेश्वरको निम्ति, उहाँले गर्न चाहनुभएको नयाँ काममध्ये धेरैजसोको र उहाँले भन्न चाहनुभएको नयाँ वचनहरूमध्ये धेरैजसोको नयाँ सुरुवात हुनु उचित नै हुन्छ। जब उहाँले कुनै नयाँ काम सुरु गर्नुहुन्छ, न त उहाँले विगतको कामलाई उल्लेख गर्नुहुन्छ, न त त्यसलाई जारी नै राख्नुहुन्छ। परमेश्वरसित उहाँको कामसम्बन्धी सिद्धान्तहरू हुने भएकाले, जब उहाँले मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि जब उहाँको काम उच्च स्तरमा प्रवेश गर्छ तब उहाँले नयाँ काम सुरु गर्न चाहनुहुन्छ। यदि मानिसहरूले पुराना भनाइहरू र विधिविधानहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा तिनीहरूलाई निरन्तर पक्री राख्छन् भने, उहाँले त्यसलाई सम्झने वा अनुमोदन गर्ने गर्नुहुन्न। किनभने उहाँले पहिले नै नयाँ काम ल्याइसक्नुभएको छ, अनि उहाँको कामको नयाँ चरणमा प्रवेश गरिसक्नुभएको छ। जब उहाँले नयाँ काम सुरु गर्नुहुन्छ, उहाँ पूर्ण रूपले एउटा नयाँ प्रतिरूपमा, पूर्ण रूपले नयाँ कोणबाट अनि पूर्ण रूपले नयाँ तरिकाले मानवजातिकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावको विभिन्न पक्षहरू तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका लक्ष्यहरूमध्ये एउटा हो। परमेश्वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा मानिसहरू हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जतिकै निषेधक हुनुहुन्न। परमेश्वरमा सबै स्वतन्त्र र मुक्त छन्, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने कुरा भनेका स्वतन्त्रता तथा छुटकारा हो। उहाँ एक जीवित परमेश्वर हुनुहुन्छ, एक परमेश्वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्रतिस्थापन गर्ने र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र सक्रिय हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई दिने भनेका सबै जीवन र ज्योति, सबै स्वतन्त्रता तथा छुटकारा हुन् किनकि उहाँमा सत्यता, जीवन र बाटो छ—उहाँको कुनै पनि काममा उहाँ कुनै कुराद्वारा करमा पर्नुहुन्न।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट उद्धृत गरिएको
१९. यहोवाको काम अनुग्रहको युगको पछि परेको छ भनी येशूले भन्नुभयो, त्यसरी नै येशूको काम पनि पछि परेको छ भनी आज म भन्छु। यदि अनुग्रहको युग नभइ व्यवस्थाको युगमा मात्र भएको थियो भने, येशू क्रूसमा टाँगिनुहुनेथिएन र सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्नथ्यो। यदि व्यवस्थाको युग मात्र भइदिएको भए, के मानवजाति आजको दिनसम्म आइपुग्न सक्थे? इतिहास अघि बढ्छ, अनि के इतिहास परमेश्वरको कामको प्राकृतिक व्यवस्था होइन र? के यो सारा ब्रह्माण्डभरि मानिसप्रतिको उहाँको व्यवस्थापनको चित्रण होइन र? इतिहास अघि बढ्छ, त्यसरी नै परमेश्वरको काम पनि अघि बढ्छ। परमेश्वरको इच्छा निरन्तर परिवर्तन भइरहन्छ। उहाँ छ हजार वर्षसम्म कामको एकै चरणमा रहन सक्नुहुन्नथियो, किनभने परमेश्वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने कुरा सबैलाई थाहा छ, सम्भवतः उहाँले क्रूसमा मारिने काम एक, दुई, तीन…। पटक गरिरहन सक्नुहुन्नथियो। यस्तो सोच्नु हास्यास्पद कुरा हुनेथियो। परमेश्वरले उही काम गरिरहनुहुन्न; मैले तिमीहरूसँग धेरै नयाँ वचनहरू बोलेजस्तै र हरेक दिन नयाँ काम गरेजस्तै, उहाँको काम सदैव परिवर्तन भइरहन्छ र सधैँ नयाँ हुन्छ। मैले गर्ने काम यही हो, र चाबीहरूचाँहि “नयाँ” र “चमत्कारी” शब्दहरू हुन्।
— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?” बाट उद्धृत गरिएको
२०. त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।
— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको
२१. परमेश्वर स्वयम् नै जीवन र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सहअस्तित्वमा रहन्छन्। सत्यलाई प्राप्त गर्न नसक्नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्पना र धारणाहरूको अलावा, तेरो शरीरको सम्पूर्णता तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरू वर्तमानमा परमेश्वरले बोल्नुभएका वचनहरूको विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूको माझमा बसेर परमेश्वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्वरको इच्छा र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूको अवधिमा परमेश्वरले बोल्नुभएका वचनहरूको अभिलेखलाई आजको दिनमा लागू गर्छस् भने, त्यसले तँलाई पुरातत्वविद् तुल्याउँछ, र तेरो बारेमा व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी विद्वान होस् भनेर भन्नु हो। त्यो किन हो भने तँ सँधै परमेश्वरले विगतको समयमा गर्नुभएका कामका निसानहरूमा विश्वास गर्छस्, यसभन्दा पहिले उहाँले मानिसमाझ काम गर्नुभएको बेलाको परमेश्वरको छायामा मात्रै विश्वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्वरले आफ्ना अनुयायीहरूलाई दिनुभएको बाटोमा मात्रै विश्वास गर्छस्। तँ आजका परमेश्वरको कार्यदिशामा विश्वास गर्दैनस्, आजका परमेश्वरको महिमामयी मुहारमा विश्वास गर्दैनस्, र परमेश्वरले हालै व्यक्त गर्नुभएको सत्यको बाटोमा विश्वास गर्दैनस्। त्यसैले तँ अवश्य नै दिवास्वप्न देख्ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा बाहिर छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्ने वचनहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!
— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ” बाट उद्धृत गरिएको
फूटनोट:
क. काठको ठुटा: चिनियाँ टुक्का, जसको अर्थ “कामै नलाग्ने” भन्ने हुन्छ।
२२. आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्वरको विरुद्धमा हुनेछैनस् र? परमेश्वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मुर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ” बाट उद्धृत गरिएको
२३. यदि तिमीहरूले परमेश्वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्वर हुन सक्नुहुन्छ झैँ गरी परमेश्वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्वरलाई चिनेको छैनस्, परमेश्वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्छु, किनकि तिमीहरू परमेश्वरको कामको आज्ञापालन गर्न र परमेश्वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ।
— वचन देहमा देखा पर्नुहुन्छको “दुष्टहरूलाई निश्चय नै दण्ड दिइनेछ” बाट उद्धृत गरिएको
२४. छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी ज्ञान जति नै धेरै भए पनि त्यो वचनहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्न सक्छ, केही वचनको व्याख्या गर्न सक्छ, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूमाथि सूक्ष्म जाँच गरेको हुनसक्छ, तर उसले ती वचनहरूभित्र रहेको अर्थ कहिल्यै पनि बुझ्न सक्दैन, किनकि मानिसले देख्ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य पत्ता लगाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो रहस्य हो, यसलाई सबैभन्दा गहिराइमा लुकाइएको छ, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्वर आफैले मानिसलाई नबताउञ्जेल र प्रकट नगरुञ्जेलसम्म कसैले पनि परमेश्वरको इच्छा स्पष्ट रूपमा बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ रहस्यको कुरा बन्नेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। धार्मिक संसारमा हुनेहरू सबैको कहिल्यै वास्ता नगर; यदि आज तिमीहरूलाई नबताइएको भए तिमीहरूले पनि यो बुझ्ने थिएनौ। छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यस रहस्यलाई बुझ्न सक्छौ भने, र यदि तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको