१०. झूटा गोठाला, ख्रीष्टविरोधी, र झूटा ख्रीष्टहरूलाई कसरी पत्ता लगाउने

१. योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको

२. पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरको इच्‍छाअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरको इच्‍छाको निम्ति उपयुक्त केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको इच्‍छाअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, र परमेश्‍वरको इच्‍छालाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वरले उहाँको आफ्‍नै हृदयअनुसारको सेवा चाहनुहुन्छ; उहाँले धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले बिथोल्छ र वाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ” बाट उद्धृत गरिएको

३. मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको

४. मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरूले आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरूले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पने आँट गर्नुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने” बाट उद्धृत गरिएको

५. तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ” बाट उद्धृत गरिएको

६. तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्‍च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्‍च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू अध्यात्मवादका दिग्गज भएका छन्, तर आखिरमा तिनीहरू पनि सत्यताको वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यताको वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्‍नुको अर्थ, तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्‍वरप्रतिको आज्ञाकारिता हो। तँ जीवनमा प्रवेश गरेको छस् भने मात्र, परमेश्‍वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्‍वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्‍वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्‍वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्‍कै फाइदा पुर्‍याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्‍चै नै लज्‍जास्पद कुरा हो।

— वचन देहमा देखा पर्नुहुन्छको “वास्तविकतामा अझ बढी ध्यान देऊ” बाट उद्धृत गरिएको

७. हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छलेर आफ्नो अगाडि ल्याउनको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथि विश्‍वास गर्दा र सत्यता स्वीकार गर्दा पनि मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावल जस्तै हुन्।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

८. अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरू यस्ता कार्यहरू गर्न सक्षम हुनुको अर्थ तिनीहरूका अहङ्कार प्रकृतिको शैतानको जस्तो भएको छ भन्ने हुन्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र स्व-महत्त्व एक निश्चित तहमा पुग्दछ, तब तिनीहरू प्रधान स्वर्गदूत बन्छन् र परमेश्‍वरलाई पन्छ्याइनैपर्छ। यदि तँमा त्यस्तो अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन।

हामीले धार्मिक क्षेत्रका धेरै जना अगुवाहरूलाई बारम्‍बार सुसमाचार प्रचार गरेका छौं, तर हामीले तिनीहरूसँग सत्यताको बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। किन यस्तो हुन्छ त? यस्तो किन हुन्छ भने अज्ञानता तिनीहरूको दोस्रो प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्‍वरको कुनै पनि स्थान छैन! कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “धार्मिक संसारका कतिपय पाष्टरहरूको नेतृत्वमा रहेका मानिसहरूसँग साँच्‍चै नै धेरै दृढ सङ्कल्‍प हुन्छ; यस्तो लाग्छ कि तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ!” के तैँले जोशलाई अन्त:प्रेरणा भन्‍ने ठान्छस्? यी पाष्टरहरूका प्रवचन जति नै उत्कृष्ट सुनिए पनि, के तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्? यदि तिनीहरूले भित्री मनदेखि नै परमेश्‍वरलाई साँचो रूपमा आदर गर्ने भए, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्‍न र तिनीहरूको बढाइ गर्न लगाउँथे? के तिनीहरूले अरूमाथि एकाधिकार चलाउँथे? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्थे? यदि परमेश्‍वरका भेडाहरूलाई तिनीहरूले वास्तवमा तिनीहरूका आफ्नै भेडाहरू भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा हेर्दैनन् र? त्यस्ता मानिसहरू फरिसीहरूभन्दा पनि खराब हुन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? तसर्थ, तिनीहरूको यो अहङ्कारी प्रकृतिले तिनीहरूलाई नियन्त्रण गरे परमेश्‍वरलाई धोका दिने कामहरू गर्न लगाउन सक्छ।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो” बाट उद्धृत गरिएको

९. जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्य देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यस क्षणमा, मानिसका सबै धारणा फिँजजस्तै बन्छन्। परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देख्ने व्यक्तिहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने, उनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँविरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्‍वरविरुद्ध उभिन्छन्। … देहधारी परमेश्‍वरविरुद्ध जानीबुझी खडा हुनेहरू आफ्ना अनाज्ञाकारीताको लागि दण्डित हुनेछन्। परमेश्‍वरविरुद्ध जानीबुझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा भन्नुपर्दा, उनीहरूको प्रतिरोध यो तथ्यबाट उत्पन्न हुन्छ कि परमेश्‍वरबारे उनीहरूले मनमा धारणा राख्छन्, जसले उनीहरूलाई परमेश्‍वरको काम अवरोध गर्ने काम गर्ने तुल्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैनन्, तर उनीहरू उहाँको कामलाई अवरोध गर्ने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्” बाट उद्धृत गरिएको

१०. सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?

— वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट उद्धृत गरिएको

११. परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

१२. भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्” बाट उद्धृत गरिएको

१३. जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

१४. देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको आधिकारिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट उद्धृत गरिएको

१५. देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बन्‍नुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरू वहन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्‍नुहुन्छ।

…………

ख्रीष्‍टले देहमा परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुभए पनि र परमेश्‍वर स्वयम्‌ले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए पनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त र नम्र रहनुहुन्छ। ख्रीष्‍टबाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैनन्। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, ख्रीष्ट कस्तो प्रकारको देह हुनुहुन्छ भन्‍ने कुरा छर्लङ्ग हुन्छ। तिनीहरू जति धेरै झूट हुन्छन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफ्नो प्रदर्शन गर्छन्, र मानिसहरूलाई धोका दिन तिनीहरूले त्यति नै धेरै चिन्‍हहरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरका गुणहरू हुँदैनन्; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई मौका दिन देह बन्‍नुहुन्‍न। बरु, उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको कार्य र उहाँको सारद्वारा निर्धारित हुन्छ। …

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभाव निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍न सक्‍नुहुन्छ। यी सबैलाई उहाँको सारले नै निर्धारित गर्छ। अनि, उहाँको सारले नै उहाँको प्राकृतिक प्रकाशलाई पनि निर्धारित गर्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले धेरै वर्ष जगेर्ना गर्दाको परिणाम होइन। उहाँले यो कुरा सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो त उहाँ आफैमा अन्तर्निहित छ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो” बाट उद्धृत गरिएको

१६. वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “आज परमेश्‍वरको कामलाई बुझ्‍नु” बाट उद्धृत गरिएको

१७. केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्न थियो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको

१८. यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता” बाट उद्धृत गरिएको

अघिल्लो: ९‌. परमेश्‍वरको काम र मानिसको कामबीचको भिन्‍नता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

राज्यको स्तुतिगान

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...

बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा,...

आज परमेश्‍वरको कामलाई बुझ्‍नु

यी समयहरूमा परमेश्‍वरको काम बुझ्नु भनेको, सामान्यतया, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो, र पृथ्वीमा उहाँ के गर्न...

वास्तविकतामा अझ बढी ध्यान देऊ

प्रत्येक व्यक्तिलाई परमेश्‍वरद्वारा सिद्ध बनाइने सम्भावना हुन्छ, त्यसकारण परमेश्‍वरका अभिप्रायहरूअनुसार कस्तो किसिमको सेवा उहाँको निम्ति...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्