६. अनुग्रहको युग र राज्यको युगको कार्यबीचको सम्बन्ध
१. यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। … जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।
— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको
२. आफ्नो पहिलो देहधारणमा परमेश्वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै अर्थात् परमेश्वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्वर फेरि पनि देहमा फर्कनुभएको छ। … क्रूसमा टाँगिनुभएका येशूकै देह हुनुहुन्थ्यो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्वरले आफ्नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्नुहुन्छ। पुर्ण रूपमा सामान्य र वास्तविक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्वरको वास्तविकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्वरको सेवकाइ बोल्नु र त्यसद्वारा मानिसलाई जित्नु र सिद्ध गर्नु हो; अर्को शब्दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्नु, प्रकट गर्नु, सिद्ध पार्नु र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको
३. आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्बन्धित छन्, र यो साङ्लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्न सकिन्छ। परमेश्वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिनँ, बरु सीधै मानिसलाई न्याय र सजाय गर्न आउँछु? मानिसलाई न्याय र सजाय गर्ने मेरो काम क्रूसीकरणपछि नआएको भए, मेरो आगमन पवित्र आत्माको गर्भधारणद्वारा नभएकोले मानिसलाई न्याय र सजाय गर्नको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्लो चरणको कामको जगमै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा, यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तितर्फ ल्याउँछ। येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो।
— वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट उद्धृत गरिएको
४. छुटकाराको युगको समयमा म पहिलो पटक मानिसहरूको बीचमा आएँ। यो निश्चित हो कि, म यहूदी परिवारमा आएँ, यसैले परमेश्वर संसारमा आएको पहिलो पटक देख्ने मानिसहरू यहूदीहरू नै थिए। मेरो देहधारी शरीरलाई छुटकाराको निम्ति पाप बलीको रूपमा प्रयोग गर्न मैले चाहेको कारणले नै मैले यो काम व्यक्तिगत रूपमा गरेको हुँ। यसैले, अनुग्रहको युगमा मलाई पहिलो पटक देख्ने यहूदीहरू नै हुन्। मैले शरीरमा काम गरेको पहिलो पटक त्यही नै थियो। राज्यको युगमा मेरो काम भनेको विजय गर्नु र सिद्ध गर्नु हो, यसैले म फेरि मेरो गोठालाको काम शरीरमा नै गर्छु। मैले शरीरमा काम गरेको यो दोस्रो पटक हो। … दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्न सकिने किसिमको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको बारेमा तेरो बुझाइ के छ?” बाट उद्धृत गरिएको
५. परमेश्वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्वरको मागहरू झन्-झन् उच्च हुँदै जान्छन्। … विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो र ऊ धैर्य र नम्र हुनुपर्थ्यो। आज, मानिसले परमेश्वरका सारा प्रबन्धहरूलाई पालन गर्नुपर्छ र उसँग परमेश्वरको सर्वोच्च प्रेम हुनुपर्छ र अन्तिममा संकष्टको बीचमा पनि उसले परमेश्वरलाई प्रेम गर्नुपर्छ। यिनीहरू परमेश्वरले आफ्नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपमा मानिसलाई दिनुहुने मागहरूका तीनवटा चरणहरू हुन्। परमेश्वरको कार्यको हरेक चरण पछिल्लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्लोभन्दा अझै गहन हुन्छ र यसरी, परमेश्वरको सम्पूर्ण व्यवस्थापनले आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्च छन् भन्ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्वरले माग गर्नुभएका मापदण्डहरूको नजिक आउँछ, त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट तबसम्म क्रमिक रूपमा टाढा हुन्छ, जबसम्म परमेश्वरको काम पूर्ण रूपमा समाप्त हुँदैन र सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुँदैन।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको
६. यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको