परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

परमेश्‍वरले उहाँको वचन बोल्नुहुन्छ र विभिन्न युगअनुसार विभिन्न युगमा उहाँको काम गर्नुहुन्छ, उहाँले फरक-फरक वचनहरू बोल्नुहुन्छ। परमेश्‍वरले नियमहरू अनुसार काम गर्नुहुन्न वा त्यही काम दोहोऱ्याउनुहुन्न, वा विगतका कुराहरूमा डुब्‍नुहुन्‍न; उहाँ परमेश्‍वर हुनुहुन्छ, जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न, र उहाँले हरेक दिन नयाँ वचन बोल्नुहुन्छ। तैँले आज जे पालन गर्नुपर्छ त्यो पालन गर्नैपर्छ; यो मानिसको जिम्मेवारी र कर्तव्य हो। अहिलेको समयमा त्यो अभ्यास परमेश्‍वरको ज्योति र वचनमा केन्द्रित हुनु महत्त्वपूर्ण छ। परमेश्‍वरले नियमअनुसार गर्नुहुन्न, र आफ्नो बुद्धि र सर्वशक्तिमान्‌ता प्रष्ट पार्न उहाँ विभिन्न दृष्टिकोणबाट बोल्न सक्नुहुन्छ। उहाँ आत्माको, वा मानिसको वा तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुभयो भन्ने कुराले कुनै फरक पार्दैन—परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ मानिसको दृष्टिकोणबाट बोल्नुभयो भनेर तैँले उहाँ परमेश्‍वर हुनुहुन्न भनी भन्न सक्दैनस्। परमेश्‍वर विभिन्न दृष्टिकोणबाट बोल्नु भएकोले मानिसहरूका बीचमा धारणाहरू पनि प्रकट भएका छन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरको ज्ञान हुँदैन, अनि उहाँको कामको ज्ञान हुँदैन। यदि परमेश्‍वर सधैँ एउटै दृष्टिकोणबाट बोल्नुभयो भने के मानिसले परमेश्‍वरको विषयमा नियमहरू बनाउँदैनन् र? के परमेश्‍वरले मानिसलाई त्यस्तो किसिमले काम गर्ने अनुमति दिन सक्नुहुन्थ्यो? परमेश्‍वर जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँले त्यसो गर्ने कारणहरू छन्। यदि परमेश्‍वर सधैँ आत्माको दृष्टिकोणबाट बोल्नुभएको थियो भने के तँ उहाँसँग संलग्न हुन सक्‍नेथिइस्? यसैले तँलाई उहाँको वचन दिन र तँलाई वास्तविकतामा डोऱ्याउन उहाँ कहिलेकहीँ तेस्रो व्यक्तिको रूपमा बोल्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा उपयुक्त हुन्छन्। संक्षेपमा, यो सबै परमेश्‍वरद्वारा गरिन्छ, तैँले यसमा शङ्का गर्नु हुँदैन। उहाँ परमेश्‍वर हुनुहुन्छ, यसैले उहाँ जुनै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँ सधैँ परमेश्‍वर नै हुनुहुनेछ। यो अपरिवर्तनीय सत्यता हो। उहाँले जसरी काम गर्नुभए पनि उहाँ परमेश्‍वर हुनुहुन्छ, उहाँको सार बदलिँदैन। पत्रुसले परमेश्‍वरलाई यति धेरै प्रेम गर्थे र तिनी परमेश्‍वरको आफ्नै हृदयका मानिस थिए, तर परमेश्‍वरले प्रभु र ख्रीष्टको रूपमा तिनको साक्षी दिनुभएन, किनकि एउटा प्राणीको सार जे छ त्यही हो, त्यो कहिल्यै बदलिन सक्दैन। परमेश्‍वरले आफ्नो काम नियमहरू अनुसार गर्नुहुन्न, तर आफ्नो कामलाई अझ प्रभावकारी बनाउन र उहाँको विषयमा मानिसको ज्ञानलाई अझ गहिरो बनाउन उहाँले विभिन्न तरिकाहरू प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नुहुने प्रत्येक तरिकाले उहाँलाई चिन्न मानिसलाई सहायता गर्दछ, र त्यो मानिसलाई सिद्ध बनाउनको निम्ति हो। उहाँले काम गर्ने जुनसुकै तरिका प्रयोग गर्नु भए पनि त्यो हरेक मानिसलाई निर्माण गर्न र सिद्ध बनाउनका निम्ति हो। उहाँको काम गर्ने एउटा तरिका धेरै समयसम्म रहे पनि त्यो उहाँप्रतिको मानिसको विश्‍वासलाई तयार पार्नको निम्ति हुन्छ। यसैले, तिमीहरूको हृदयमा कुनै शङ्का हुनु हुँदैन। यी सबै परमेश्‍वरको काम गर्ने चरणहरू हुन्, अनि तिमीहरूले ती सबै पालन गर्नुपर्छ।

आज भनिएको कुराचाहिँ वास्तविकतामा प्रवेश गर्नु हो—स्वर्गमा उक्लिनु वा राजाहरूको रूपमा शासन गर्नु होइन; ती भनिएका सबै कुराचाहिँ वास्तविकताभित्र प्रवेश गर्न खोज्नु हो। योभन्दा बढी व्यावहारिक खोज अर्को छैन, अनि शासन गर्ने राजाहरूको बारेमा कुरा गर्नु व्यावहारिक होइन। मानिसमा ठूलो उत्सुकता हुन्छ अनि आज अझै पनि उसले परमेश्‍वरको कामलाई उसको धार्मिक विचारहरूद्वारा मापन गर्छ। परमेश्‍वरको काम गर्ने यति धेरै तरिकाहरूको अनुभव गरिसकेपछि पनि मानिसले अझै पनि परमेश्‍वरको कामलाई जानेको छैन, अझै पनि चिह्न र चमत्कारहरू खोज्दछ, अनि अझै पनि परमेश्‍वरका वचनहरू पूरा भएका छन् कि छैनन् सो हेर्न चाहन्छ। के यो अचम्मलाग्दो अज्ञानता होइन त? परमेश्‍वरका वचनहरू पूरा नभए, के तैँले अझै पनि उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्थिस्? आज, मण्डलीमा त्यस्तै मानिसहरूले चिह्न र चमत्कारहरू हेर्न पर्खिरहेका छन्। तिनीहरू भन्छन्, यदि परमेश्‍वरका वचनहरू पूरा भएका छन् भने उहाँ परमेश्‍वर हुनुहुन्छ; यदि उहाँका वचनहरू पूरा भएका छैनन् भने उहाँ परमेश्‍वर हुनुहु्न्न। त्यसो भए के तँ परमेश्‍वरका वचनहरू पूरा भएको कारण उहाँमा विश्‍वास गर्छस् वा उहाँ स्वयम्‌ परमेश्‍वर हुनुभएकोले विश्‍वास गर्छस्? परमेश्‍वरप्रति विश्‍वासबारे मानिसको विचारलाई सच्याउनुपर्छ! जब तँ परमेश्‍वरका वचनहरू पूरा नभएको देख्छस् तँ चाँडो-चाँडो भाग्छस्—के यो परमेश्‍वरमा विश्‍वास गरेको हो? जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तब सबै कुरा परमेश्‍वरको कृपामा छोड्नुपर्छ अनि परमेश्‍वरका सबै कामहरू मान्नुपर्छ। परमेश्‍वरले पुरानो करारमा यति धेरै वचन बोल्नुभयो—तीमध्ये कुनचाहिँ पूरा भएको तेरो आफ्नै आँखाले देखेको छस्? तैँले ती पूरा भएको नदेखेको कारण के तँ यहोवा साँचो परमेश्‍वर हुनुहुन्न भन्न सक्छस्? धेरै वचनहरू पूरा भएका छन् र पनि मानिस ती स्पष्ट देख्न असक्षम छ, किनकि मानिसमा सत्यता छैन र उसले केही पनि बुझ्दैन। कोही-कोही परमेश्‍वरको वचन पूरा भएको छैन भन्ने महसुस गर्दा भाग्न चाहन्छन्? यो कोसिस गर्। हेर्, तँ कतै भाग्न सक्छस् कि! भागेपछि पनि तँ अझै फर्केर आउनेछस्। परमेश्‍वरले उहाँको वचनले तँलाई नियन्त्रणमा राख्नुहुन्छ, अनि यदि तँ मण्डली र परमेश्‍वरको वचन छोडेर जान्छस् भने तेरो निम्ति जिउने कुनै उपाय हुनेछैन। यदि यो कुरामा विश्‍वास गर्दैनस् भने तँ आफैले जाँच्—के तैँले छोडेर जान सक्छस् भनी ठान्छस्? परमेश्‍वरका आत्माले तँलाई नियन्त्रण गर्नुहुन्छ। तँ छोडेर जान सक्दैनस्। यो परमेश्‍वरको एउटा प्रशासनिक आदेश हो! यदि कुनै व्यक्तिहरू कोसिस गर्न चाहन्छन् भने कोसिस गर्न सक्छन्! तैँले भन्छस् होला यो व्यक्ति परमेश्‍वर होइन, त्यसकारण उहाँको विरुद्धमा पाप गर्छस् र उहाँले के गर्नुहुन्छ सबै हेर्छस्। सम्भवतः तेरो शरीरको मृत्यु नहोला र तँ अझै पनि आफैलाई खुवाउन र पहिराउन सक्षम छस् होला, तर मानसिक रूपमा यो असहनीय हुन्छ, तैँले तनाव र यातनामा परेको महसुस गर्नेछस्। त्योजस्तो पीडादायक अरू केही हुँदैन। मानिसले मानसिक यातना र विनाश सहन सक्दैन—सायद तँ शरीरको कष्ट सहन सक्छस् होला, तर तँ मानसिक तनाव र लामो समय रहने यातना सहन पूरै असक्षम छस्। आज केही मानिसहरू नकारात्मक बन्छन्, किनकि तिनीहरूले कुनै चिह्न र चमत्कारहरू देख्न सकेका हुँदैनन्, तर तिनीहरू जत्ति नै बढी नकारात्मक भए पनि भाग्ने साहस गर्दैनन्, किनकि परमेश्‍वरले मानिसलाई आफ्नो वचनले नियन्त्रणमा राख्नुहुन्छ। तथ्यहरू नआए पनि कोही पनि भागेर जान सक्दैन। के यी परमेश्‍वरका कामहरू होइनन् र? आज, परमेश्‍वर मानिसलाई जीवन दिन पृथ्वीमा आउनुभएको छ। मानिसहरूले कल्पना गरेजस्तो उहाँले परमेश्‍वर र मानिस बीच शान्तमय सम्बन्ध सुनिश्चित गर्नका निम्ति चिह्नहरू र चमत्कार देखाउँदै तँलाई फुस्लाउनुहुन्न। ती सबै जना जसले जीवनमा ध्यान केन्द्रित गर्दैनन् र जसले परमेश्‍वरले चिन्ह र चमत्कारहरू देखाऊन् भन्ने कुरामा ध्यान लगाउँछन् तिनीहरू फरिसीहरू हुन्। येशूलाई क्रूसमा कीला ठोक्नेहरू फरिसीहरू नै थिए। यदि तँ परमेश्‍वरलाई उहाँमाथिको तेरो विश्‍वासको धारणाअनुसार मापन गर्छस्, परमेश्‍वरको वचन पूरा भए मात्र उहाँमा विश्‍वास गर्छस् भने, र ती पूरा भएनन् भने शङ्का गर्छस् र परमेश्‍वरको निन्दा गर्छस् भने के तैँले उहाँलाई क्रूसमा कीला ठोक्दैनस् र? यस्ता मानिसहरू आफ्ना कर्तव्यहरूप्रति लापरवाही हुन्छन्, र लोभ पूर्वक आराम-सुविधामा मस्ती गर्छन्।

अर्कोतिर, मानिसको सबैभन्दा ठूलो समस्या यो हो, कि उसले परमेश्‍वरको काम जान्दैन। यद्यपि मानिसको व्यवहार अस्वीकार गर्ने होइन, तर शङ्का गर्ने हुन्छ। मानिसले इन्कार गर्दैन, तर उसले पूर्ण रूपमा स्वीकार पनि गर्दैन। यदि मानिसहरूमा परमेश्‍वरको कामको पूर्ण ज्ञान छ भने तिनीहरू फर्केर जाँदैनन्। अर्को समस्या यो हो, कि मानिसले वास्तविकता जान्दैन। आज, प्रत्येक व्यक्ति परमेश्‍वरको वचनमा संलग्न भएको हुन्छ; साँच्चै भविष्यमा तैँले चिह्न र चमत्कारहरू हेर्ने बारेमा सोच्नु हुँदैन। म तँलाई स्पष्ट रूपमा भन्छु: वर्तमानको चरणको अवधिमा, तँ परमेश्‍वरका वचनहरू मात्र देख्न सक्छस्, र यद्यपि त्यहाँ कुनै तथ्यहरू नभए पनि अझै पनि परमेश्‍वरको जीवनलाई मानिसमा आकार दिन सकिन्छ। सहस्राब्दीय राज्यको मुख्य काम यही हो, र यदि यो कामलाई बुझ्न सक्दैनस् भने तँ कमजोर बन्‍नेछस् र ढल्‍नेछस्; तँ परीक्षाको बीचमा ओर्लन्छस्, र अझै दु:खदायी कुरा त, तँलाई शैतानद्वारा कैदी बनाइन्छ। परमेश्‍वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे देख्छस्, त्यो परमेश्‍वरको वचन हो। तैँले जे सुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे पालन गर्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे अनुभव गर्छस् त्यो परमेश्‍वरको वचन हो, अनि परमेश्‍वरको यो देहधारणले मानिसलाई सिद्ध बनाउन मुख्य रूपले वचन प्रयोग गर्नुहुन्छ। उहाँले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न, र विशेष गरी येशूले विगतमा गर्नुभएका काम गर्नुहुन्न। यद्यपि उहाँहरू परमेश्‍वर र दुवै मानिस हुनुहुन्छ, तापनि उहाँहरूको सेवा कार्य एकै किसिमका छैनन्। जब येशू आउनुभयो, उहाँले परमेश्‍वरका केही कामहरू गर्नुभयो र केही वचनहरू बोल्नुभयो—तर उहाँले पूरा गर्नुभएको मुख्य काम के थियो? उहाँले मुख्य रूपमा पूरा गर्नुभएको काम क्रूसीकरण थियो। क्रूसीकरणको काम पूरा गर्न र सारा मानव जातिलाई छुटकारा दिन उहाँ पापी मानिसको स्वरूप धारण गर्नुभयो, र सारा मानवजातिको पापका निम्ति उहाँ पाप बलि बन्नुभयो। उहाँले पूरा गर्नुभएको मुख्य काम यही नै थियो। आखिरीमा, उहाँले पछि आउनेहरूलाई डोऱ्याउन क्रूसको बाटो प्रदान गर्नुभयो। जब येशू आउनुभयो, यो मुख्य रूपमा छुटकाराको काम पूरा गर्नुथियो। उहाँले सबै मानवजातिलाई छुटकारा दिनुभयो, र उहाँले स्वर्गको राज्यको सुसमाचार मानिसहरूकहाँ ल्याउनुभयो, र यसबाहेक, उहाँले स्वर्ग राज्यतिर जाने बाटो ल्याउनुभयो। फलस्वरूप, पछि आउने सबैले भने, “हामी क्रूसको बाटोमा हिँड्नुपर्छ र आफैलाई क्रूसको निम्ति बलिदान गर्नुपर्छ।” निस्सन्देह, सुरुसुरुमा येशूले अरू केही काम पनि गर्नुभयो र मानिसलाई पश्‍चाताप गर्ने र आफ्ना पापहरू स्वीकार गर्ने बनाउन केही वचनहरू बोल्नुभयो। तर उहाँको सेवा कार्य अझै पनि क्रूसीकरण नै थियो मा, र उहाँले साढे तीन वर्ष प्रचार गर्नुभएको मार्ग पछि आउने क्रूसीकरणको निम्ति तयारी थियो। येशूले जति धेरै पल्ट प्रार्थना गर्नुभयो ती सबै पनि क्रूसीकरणको निम्ति थिए। उहाँले एक सामान्य मानिसको जीवन जिउनु, अनि पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनु मुख्यतया: क्रूसीकरणको खातिर नै थियो; तिनीहरूले उहाँलाई यो काम गर्ने शक्ति दिनुपर्थ्यो, फलस्वरूप परमेश्‍वरले उहाँलाई क्रूसमा टाँगिने काम सुम्पनुभयो। देहधारी परमेश्‍वरले आज कुन काम पूरा गर्नुहुनेछ? आज, परमेश्‍वर मुख्य रूपले “शरीरमा प्रकट हुनुभएका वचन” को काम पूरा गर्न, मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्न, मानिसलाई वचनको निराकरण र वचनको शोधन स्वीकार गर्ने बनाउन देहधारी हुनुभएको छ। उहाँका वचनहरूमा उहाँले तँलाई प्रावधानहरू र जीवन प्राप्त गर्ने तुल्याउनुहुन्छ; उहाँका वचनहरूमा तँ उहाँका काम र कार्यहरू देख्छस्। परमेश्‍वरले तँलाई सजाय दिन र शोधन पार्नका निम्ति वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले कठिनाइ भोगिस् भने त्यो पनि परमेश्‍वरको वचनको कारणले गर्दा नै हो। आज, परमेश्‍वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्माले तँभित्र काम गर्न सक्नुहुनेछ र तँलाई कष्ट भोग्ने वा मिठास अनुभव गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्‍वरको वचन मात्र तँलाई सिद्ध बनाउन सक्षम छ। अनि यसैले कम्तीमा पनि तैँले यसलाई बुझ्नैपर्छ: परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुभएका काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध बनाउनु र मानिसलाई बाटो देखाउनु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरले तँलाई असुविधामा पार्नुहुन्न, तेरो शरीरलाई सजाय दिनुहुन्न, न त तैँले कष्ट भोग्‍नेछस्—तर तँमाथि उहाँको वचन आउने बित्तिकै, र त्यसले तँलाई शोधन गर्छ र यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्‍वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस साँच्चै अतल कुण्डमा पुगेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। अनि यसैले, आखिरी दिनहरूमा जब परमेश्‍वर देहधारी हुनुहुन्छ, उहाँले मुख्य रूपले सबै काम गर्न र सबै कुरा स्पष्ट पार्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ को हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी देख्न देख्‍न सक्छस्। जब देहधारी परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले त्यहाँ तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। यसकारण, उहाँ मुख्यतया: यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँको वचनमा उहाँको शक्ति र सर्वोच्चता देख्न दिन, उहाँले नम्रतासाथ आफैलाई कसरी लुकाउनुहुन्छ सो मानिसलाई उहाँको वचनमा देख्न दिन, अनि मानिसलाई उहाँको वचनमा उहाँको समग्रता जान्न दिन आउनुभएको हो। उहाँसँग जे छन् र उहाँ जो हुनुहुन्छ ती सब उहाँको वचनमा छन्। उहाँको बुद्धि र उहाँका अद्भुतता उहाँको वचनमा छन्। यसमा तँलाई परमेश्‍वरले उहाँका वचनहरू बोल्नुहुने धेरै विधिहरू देख्ने तुल्याइन्छ। यो सब समयमा परमेश्‍वरको धेरै जसो काम प्रबन्ध गर्नु, प्रकाश दिनु, र मानिसको निराकरण गर्नु नै भएको छ। उहाँले मानिसलाई हलकासाथ सराप्नुहुन्न, उहाँले सराप्नु भए पनि, उहाँले वचनद्वारा नै तिनीहरूलाई सराप्नु हुन्छ। अनि यसैले, परमेश्‍वर देहधारी हुनुभएको यो युगमा, परमेश्‍वरले फेरि बिरामीलाई निको पार्नुभएको र भूतात्माहरू निकाल्नुभएको देख्ने कोसिस नगर्नुहोस्, अनि निरन्तर चिह्नहरू खोज्न छोडिदिनुहोस्—त्यसको कुनै अर्थ हुँदैन! ती चिह्नहरूले मानिसलाई सिद्ध बनाउन सक्दैन। स्पष्ट रूपमा भन्ने हो भने: आज, देहधारण गर्नुहुने वास्तविक परमेश्‍वर आफैले काम गर्नुहुन्न; उहाँ बोल्नु हुन्छ मात्र। यो सत्यता हो। उहाँले तँलाई सिद्ध बनाउन वचनहरू प्रयोग गर्नुहुन्छ, उहाँले तँलाई खुवाउन र पानी पियाउन वचन प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नका निम्ति पनि वचनहरू प्रयोग गर्नुहुन्छ, तँलाई उहाँको वास्तविकता थाहा गराउन उहाँले तथ्यहरूको सट्टामा वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्‍वरको यस किसिमको कामलाई बुझ्न सक्षम छस् भने नकारात्मक हुन कठिन हुन्छ। नकारात्मक कुराहरूमा ध्यान दिनुभन्दा तैँले सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ—भन्नुको अर्थ, परमेश्‍वरका वचनहरू पूरा भए वा नभए पनि वा तथ्यहरूको आगमन भए वा नभए पनि परमेश्‍वरले उहाँको वचनबाट मानिसलाई जीवन प्राप्त गर्न दिनुहुन्छ, अनि यो सबै चिह्नहरूमध्ये ठूलो हो; अझ त्योभन्दा बढी यो एउटा निर्विवाद सत्यता हो। परमेश्‍वरलाई जान्ने यो नै सर्वोत्तम प्रमाण हो, र यो चिह्नहरूभन्दा ठूलो एउटा चिह्न हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध बनाउन सक्छ।

परमेश्‍वरको राज्यको युग सुरु हुनसाथै, परमेश्‍वरले उहाँका वचनहरू प्रकट गर्न थाल्नुभयो। भविष्यमा यी वचनहरू क्रमिक रूपमा पूरा हुनेछन्, अनि त्यो समयमा मानिस जीवनमा बढ्नेछ। मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न परमेश्‍वरले गर्नुहुने वचनको प्रयोग अझ बढी वास्तविक, अझ बढी आवश्यक हुनेछ, अनि मानिसको विश्‍वासलाई सिद्ध बनाउने आफ्नो काम गर्न उहाँले अरू केही होइन तर उहाँको वचन प्रयोग गर्नुहुन्छ, किनकि अहिले वचनको युग हो, यसको निम्ति विश्‍वास, संकल्प र मानिसको सहकार्य आवश्यक हुन्छ। आखिरी दिनहरूमा हुने देहधारी परमेश्‍वरको काम मानिसको निम्ति सेवा र प्रबन्ध गर्न उहाँको वचन प्रयोग गर्नु नै हो। देहधारी परमेश्‍वरले आफ्ना वचनहरू बोलिसक्नुभएपछि मात्र ती पूरा हुन थाल्नेछन्। उहाँ बोल्नुभएको समयमा उहाँका वचनहरू पूरा हुँदैनन्, किनकि उहाँ शरीरको चरणमा हुनुहुँदा उहाँका वचनहरू पूरा हुन सक्दैनन्। यस्तो हुन्छ कि मानिसले परमेश्‍वर आत्मा होइन शरीरमा हुनुहुन्छ भनी देख्न सकून्; ताकि मानिसहरूले आफ्नै आँखाले परमेश्‍वरको वास्तविकता देख्न सकून्। उहाँको काम पूरा भएको दिन, जब उहाँले पृथ्वीमा बोल्नुपर्ने सबै वचनहरू बोलिसक्‍नुभएको हुन्छ, उहाँका वचनहरू पूरा हुन थाल्छन्। यो परमेश्‍वरका वचनहरू पूरा हुने युग होइन, किनकि उहाँले अझै उहाँका वचनहरू बोलिसक्‍नुभएको छैन। यसैले, जब तँ परमेश्‍वरले पृथ्वीमा अझै उहाँका वचनहरू बोलिरहनुभएको देख्छस् तब उहाँको वचन पूरा होला भनी नपर्खी। जब परमेश्‍वरले आफ्ना वचनहरू बोल्न बन्द गर्नुहुन्छ, र जब पृथ्वीमा उहाँको काम पूरा हुन्छ त्यत्ति बेला उहाँका वचनहरू पूरा हुन थाल्छन्। उहाँ पृथ्वीमा वचनहरूमा बोल्नुहुन्छ, त्यहाँ एक हिसाबले जीवनको प्रबन्ध हो, अर्को त्यहाँ अगमवाणी हो—आउने कुराहरूको अगमवाणी, जुन कुराहरू गरिनेछन्, अनि अझ पूरा हुन बाँकी रहेका कुराहरूको अगमवाणी। येशूका वचनहरूमा पनि अगमवाणी थियो। एक हिसाबले उहाँले जीवन दिनुभयो र अर्को हिसाबले अगमवाणी बोल्नुभयो। आज, वचनहरू र तथ्यहरू पूरा गर्ने कुरा गरिँदैन, यसको साथसाथै मानिसका आफ्नै आँखाहरूले देख्न सकिने र परमेश्‍वरले गर्नुभएका काम बीच ठूलो भिन्नता छ। यति मात्र भन्न सकिन्छ कि, एक पटक परमेश्‍वरको काम पूरा गरिएको हुन्छ, उहाँका वचनहरू पूरा गरिनेछन्, अनि वचनहरूपछि तथ्यहरू आउनेछन्। आखिरी दिनहरूमा देहधारी परमेश्‍वरले पृथ्वीमा वचनको सेवकाइ गर्नुहुन्छ, अनि वचनको सेवकाइ गर्दा उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, र अरू विषयहरूलाई ध्यान दिनुहुन्न। एक पल्ट परमेश्‍वरको काम परिवर्तन भएपछि उहाँका वचनहरू पूरा हुन थाल्नेछन्। आज वचनहरू सबैभन्दा पहिले तँलाई सिद्ध बनाउनका निम्ति प्रयोग गरिन्छ; जब उहाँले सारा ब्रह्माण्डभरि महिमा प्राप्त गर्नुहुन्छ, उहाँको काम पूरा हुनेछ—बोलिनुपर्ने सबै वचनहरू बोलिसकेको हुनेछ, र सबै वचनहरू तथ्य भएका हुनेछन्। परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा वचनको सेवकाइ गर्न आउनुभएको छ, ताकि मानवजातिले उहाँलाई चिन्न सकोस्, र मानव जातिले उहाँ के हुनुहुन्छ भनी देख्न सकोस् र उहाँको वचनबाट उहाँको बुद्धि र उहाँका सबै अचम्मका कामहरू देख्न सकोस्। राज्यको युगमा परमेश्‍वरले मुख्यतया: सबै मानव जातिलाई जित्न वचन प्रयोग गर्नुहुन्छ। भविष्यमा, उहाँको वचन प्रत्येक धर्म, खण्ड, राष्ट्र र सम्प्रदायमाथि पनि आउनेछ। परमेश्‍वरले वचनको प्रयोग जित्न, सबै मानिसलाई उहाँको वचनमा अधिकार र शक्ति छ भनी देखाउन प्रयोग गर्नुहुन्छ—यसैले आज तिमीहरू परमेश्‍वरको वचनको मात्र सामना गर्नुहुन्छ।

यस युगमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू व्यवस्थाको युगमा बोलिएका वचनहरूभन्दा फरक छन्, साथै ती अनुग्रहको युगमा बोलिएका वचनहरूभन्दा पनि फरक छन्। अनुग्रहको युगमा, परमेश्‍वरले वचनको काम गर्नुभएन, तर सारा मानव जातिलाई छुटकारा दिनका निम्ति उहाँले क्रूसीकरणको वर्णन मात्र गर्नुभयो। बाइबलले येशू किन क्रूसमा टाँगिनुभएको र क्रूसमा उहाँले भोग्‍नुभएको दुःखको बारेमा र मानिस कसरी परमेश्‍वरको निम्ति क्रूसमा टाँगिनुपर्छ भन्ने कुरा मात्र वर्णन गर्दछ। त्यस युगको अवधिमा, परमेश्‍वरले गर्नुभएका सबै काम क्रूसीकरणबाट केन्द्रित थियो। राज्यको युगमा, देहधारी परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने सबैलाई जित्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्‍वर आउनुभएको छ, भन्‍नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छन्। वचन शरीरमा देखा पर्नुहुन्छको सार यही हो र जब देहधारी परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुहुन्छ, उहाँको वचन शरीरमा देखा पर्नु, र वचन देहमा आउनु भनेको यही हो। “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो, र वचन देह बन्‍नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्‍वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्‍वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्‍वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्‍वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्‍ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्‍वरको कामको गति बढिरहेको छ। परमेश्‍वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्‍वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।

मैले अघिबाटै भनेको छु, “चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्नमा मात्र ध्यान दिनेहरू सबैलाई त्यागिनेछ; तिनीहरू ती होइनन्, जसलाई सिद्ध बनाइनेछ।” मैले धेरै वचनहरू बोलेको छु, तापनि मानिसमा यो कामको थोरै ज्ञान पनि छैन, अनि, यस विन्दुमा पुगिसकेपछि पनि मानिसहरू अझै चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के परमेश्‍वरमाथिको तेरो विश्‍वास चिह्नहरू र अचम्‍मका कामहरू खोज्नु बाहेक अरू केही होइन वा के त्यो जीवन प्राप्त गर्नका निम्ति मात्र हो? येशूले पनि धेरै वचनहरू बोल्नुभयो, र तीमध्ये केही अझै पूरा हुनु बाँकी नै छ। के तँ येशू परमेश्‍वर हुनुहु्न्न भनेर भन्न सक्छस्? परमेश्‍वरले उहाँ ख्रीष्ट र परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी साक्षी दिनुभयो। के तँ यो कुरालाई इन्कार गर्न सक्छस्? आज, परमेश्‍वरले वचनहरू मात्र बोल्नुहुन्छ, र यदि तैँले यसलाई पूर्ण रूपमा जानेनस् भने तँ दृढ भई खडा हुन सक्दैनस्। तँ उहाँ परमेश्‍वर हुनुभएकोले उहाँमा विश्‍वास गर्छस् कि उहाँका वचनहरू पूरा भएका छन् कि छैनन् भन्ने कुराको आधारमा उहाँमा विश्‍वास गर्छस्? तँ चिह्न र अचम्‍मका कामहरूमा विश्‍वास गर्छस् कि परमेश्‍वरमा विश्‍वास गर्छस्? आज, उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देख्नाउनुहुन्न—के उहाँ साँच्चै परमेश्‍वर नै हुनुहुन्छ? यदि उहाँले बोल्नुहुने वचनहरू पूरा हुँदैनन् भने, के उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वरको अस्तित्व उहाँले बोल्नुभएका वचनहरू पूरा भए कि भएनन् भन्ने कुराद्वारा निर्धारित हुन्छ? किन केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा अघि उहाँका वचनहरू पूरा होस् भनी सँधै पर्खिरहन्छन्? के यसको अर्थ तिनीहरूले उहाँलाई चिन्दैनन् भन्ने हुँदैन र? यस्ता धारणा भएकाहरू सबै ती हुन् जसले परमेश्‍वरलाई इन्कार गर्छन्। तिनीहरूले परमेश्‍वरलाई नाप्न आफ्ना धारणाहरू प्रयोग गर्छन्; यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरूले उहाँमा विश्‍वास गर्छन्, यदि पूरा भएनन् भने तिनीहरूले उहाँमा विश्‍वास गर्दैनन्; अनि तिनीहरूले सधैँ चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के यी मानिसहरू आधुनिक समयका फरिसीहरू होइनन् र? तँ दृढसँग खडा हुन सक्छस् कि सक्दैनस् भन्ने कुरा तैँले वास्तविक परमेश्‍वरलाई चिनेको छस् कि छैनस् त्यस कुरामा भर पर्छ—यो महत्त्वपूर्ण छ! तँ परमेश्‍वरको वचनको वास्तविकता जति ठूलो हुन्छ, परमेश्‍वरको वास्तविकता सम्‍बन्धी तेरो ज्ञान पनि त्यत्ति नै ठूलो हुन्छ, र तँ परीक्षाहरूको समयमा त्यति नै दृढ रूपमा खडा हुन सक्छस्? तैँले चिन्हहरू र अचम्‍मका कामहरू देख्ने कुरामा जति धेरै ध्यान दिन्छस्, तँ त्यत्ति नै कम रूपमा दृढ रूपमा खडा हुन सक्छस्, र तँ परीक्षाहरूको बीचमा पर्छस्। चिन्हहरू र अचम्‍मका कामहरू जग होइनन्; परमेश्‍वरको वास्तविकता मात्र जीवन हो। केही मानिसहरूलाई परमेश्‍वरको कामले प्राप्त गर्नुपर्ने प्रभावहरूको बारेमा थाहा हुँदैन। तिनीहरू आफ्ना दिनहरू अलमल्लमा पर्दै बिताउँछन्, परमेश्‍वरको कामको ज्ञानको खोजी गर्दैनन्। तिनीहरूका खोजको लक्ष्य परमेश्‍वरलाई तिनीहरूका चाहनाहरू पूरा गर्न लगाउनु मात्र हुन्छ, तब मात्र तिनीहरू आफ्नो विश्‍वासमा गम्भीर बन्नेछन्। तिनीहरू भन्छन्, यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरू जीवनको पछि लाग्छन्, तर यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूले जीवनको खोजी गर्ने कुनै सम्भावना हुँदैन। मानिसहरू सोच्छन्, कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने र स्वर्गमा अनि तेस्रो स्वर्गमा चढ्ने खोजीमा लाग्नु हो। कसैले पनि यो भन्दैन, कि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वास्तविकतामा प्रवेश गर्ने खोजी हो, जीवनको खोजी हो, र परमेश्‍वरद्वारा प्राप्त गरिने कार्यको खोजी हो। यस्तो खोजीको के मूल्य हुन्छ र? जस-जसले परमेश्‍वरको ज्ञानको र उहाँको सन्तुष्टिको खोजी गर्दैनन् तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू हुन्; तिनीहरू परमेश्‍वरको निन्दा गर्नेहरू हुन्।

परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो भनी अब तिमीहरूले बुझ्छौ? के परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ चिन्हहरू र अचम्‍मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्गमा उक्लिनु हो? परमेश्‍वरमा विश्‍वास गर्नु अलिकति पनि सजिलो हुँदैन। ती धार्मिक अभ्यासहरूलाई शुद्ध पारिनुपर्छ; बिरामीको चङ्गाइ र भूतात्माहरू निकाल्‍ने कार्यको पछि लाग्नु, चिन्हहरू र अचम्‍मका कामहरू ध्यान लगाउनु, परमेश्‍वरबाट अझ बढी अनुग्रह, शान्ति र आनन्द पाउने लालसा गर्नु, देहको सफलताहरू र आराम-सुविधाको पछि लाग्नु—यी सबै धार्मिक अभ्यासहरू हुन्, अनि यस्ता अभ्यासहरू अस्पष्ट किसिमको विश्‍वास हो। आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन-वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरबाट साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँको आज्ञापालन गर्नु, उहाँलाई प्रेम गर्नु र परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टिहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरा विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको अधिकार-क्षेत्रबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा आज्ञाकारी हुन सक्नु र देहको आज्ञाकारी नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छाको काम गर्नु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरको आज्ञापालन गर्न सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँको आज्ञापालन गर्ने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तैँले उहाँको आज्ञापालन गर्न सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन-वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण आज्ञाकारी हुने कार्यको खोजी गर्नुपर्छ। यदि तैँले कुनै गुनासो नगरी परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, परमेश्‍वरका इच्छाहरूलाई ध्यानमा राख्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछ, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्ने सूचित गर्दछ।

परमेश्‍वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र पिउनु पर्छ; परमेश्‍वरद्वारा प्रकट गरिएका चिह्नहरू र अचम्‍मका कामहरू हेरेर कोही पनि परमेश्‍वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौंयुगभरि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। यसैकारण तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्नहरू र अचम्‍मका कामहरूमा लगाउनु हुँदैन, तर परमेश्‍वरद्वारा सिद्ध बनाइने कोसिस गर्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही वचनहरू बोल्नुभयो अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचनहरू बोल्नुभयो। येशूले धेरै वचनहरू भनिसक्‍नुभएपछि, पछिबाट प्रेरितहरू र चेलाहरूले मानिसहरूलाई येशूले दिनुभएका आज्ञाहरू अनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूले बोल्नुभएका वचनहरू र सिद्धान्तहरूको अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको वास्तविकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण आज्ञाकारीता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, निराकरण र काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुदताको ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्‍मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्छस् र परमेश्‍वरले जे नै गर्नुभए पनि उहाँको आज्ञापालन गर्ने सक्ने बन्छस्, तब चिह्नहरू र अचम्‍मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरको पूर्ण आज्ञा पालन गर्न असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्‍वरका चिन्हहरू र अचम्‍मका कामहरू देख्‍न योग्य छस् भन्‍ने ठान्छस्? जब परमेश्‍वरले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्‍वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्‍मका कामहरू देखाउनु उहाँको निम्ति हास्यास्पद रूपमा सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्‍वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्‍मका कामहरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर मानिसकहाँ देखा पर्‍यो भने, के सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेथिएनन् र? मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम वास्तविक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम वास्तविक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको वास्तविक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको वास्तविकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ—अर्को शब्दमा भन्ने हो भने, एउटा यस्तो परमेश्‍वरको प्रतिरूप जसको कुनै अस्तित्व नै छैन। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको वास्तविकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइन। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

अघिल्लो: परमेश्‍वरको काम र मानिसको काम

अर्को: परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थनाको कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

अध्याय ३

विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्