७. सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टले चर्मपत्रको मुट्ठो खोल्नुहुन्छ र आफ्नो न्याय निरोपण गर्नुहुन्छ
१. सर्वशक्तिमान् परमेश्वर सर्वशक्तिमान, सर्वप्रापक र पूर्ण रूपमा साँचो परमेश्वर हुनुहुन्छ! उहाँले सात ताराहरू धारण गर्नुहुन्छ, उहाँ सात आत्माहरू, सात आँखाहरूद्वारा सुसज्जित हुनुहुन्छ, उहाँले सात मोहरहरू, सात चर्मपत्रहरू खोल्नुहुन्छ, तर त्यति मात्र होइन, उहाँले सात महामारीहरू र सात कचौराहरूको प्रशासन गर्नुहुन्छ र सात मेघगर्जनहरूलाई प्रकट गर्नुहुन्छ। धेरै पहिले उहाँले सात तुरही पनि बजाउनुभयो! उहाँले सृष्टि गर्नुभएका र पूर्ण बनाउनुभएका सबै थोकले उहाँको प्रशंसा गर्नुपर्छ, उहाँको महिमा गाउनुपर्छ र उहाँको सिंहासनको बढाइ गर्नुपर्छ। हे, सर्वशक्तिमान् परमेश्वर! तपाईं सबै थोक हुनुहुन्छ। तपाईंले सबै थोक हासिल गर्नुभएको छ, र तपाईंको साथमा सबै थोक पूर्ण, चम्किला, मुक्त, स्वतन्त्र, बलिया, र शक्तिशाली छन्! केही पनि लुकाइएका वा गुप्त राखिएका छैनन्; तपाईंको साथमा, सबै रहस्यहरू प्रकटित हुन्छन्। यसअलावा, तपाईंले आफ्ना शत्रुहरूको भीडलाई न्याय गर्नुभएको छ, तपाईंले आफ्नो प्रताप प्रकट गर्नुहुन्छ, आफ्नो प्रचण्ड ज्वाला दर्साउनुहुन्छ, तपाईंले आफ्नो क्रोध प्रदर्शन गर्नुहुन्छ, र त्यो भन्दा पनि बढी, तपाईंले आफ्नो अभूतपूर्व, चिरस्थायी, पूर्ण अनन्त महिमा प्रकट गर्नुहुन्छ। सबै मानिसहरू विनासन्देह जय-जयकार गर्न र गाउन अनि यी सर्वशक्तिमान्, पूर्ण रूपमा सच्चा, सर्वजीवी, प्रचुरतापूर्ण, महिमित र अनन्तदेखि अनन्तसम्म रहनुहुने साँचो परमेश्वरको स्तुति गर्न बिउँझनुपर्छ।
— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्भमा ख्रीष्टका वाणीहरूको “अध्याय ३४” बाट उद्धृत गरिएको
२. म दुष्टहरूलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकतालाई लागू गर्नेछु, र म मेरो न्याय अघि बढाउनेछु। म सबै थोक सम्पन्न गर्न मेरा वचनहरूको प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु, र सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि ममा सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि ममा सबै कुरा प्रकट हुन्छन्।
— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्भमा ख्रीष्टका वाणीहरूको “अध्याय १२०” बाट उद्धृत गरिएको
३. मैले प्रेम गर्ने सबै जना अवश्य नै अनन्तसम्म जिउनेछन्, र मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्म सजाय दिनेछु। किनभने म डाही परमेश्वर हुँ र म मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराको निम्ति हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, असंख्य मानवजातिमाझ आफैलाई प्रकट गर्नेछु!
— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूको “अध्याय २६” बाट उद्धृत गरिएको
४. आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वरले उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई अर्थात् अन्तिमसम्म उहाँप्रति निष्ठावान् हुने सबैलाई परमेश्वर स्वयम्को युगमा ल्याउनुहुन्छ। परमेश्वर स्वयम्को युगमा आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानवको अनाज्ञाकारितालाई न्याय गर्नु हो, किनकि परमेश्वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले पवित्र पार्नुहुन्छ। यस दिनसम्म परमेश्वरका पाइलाहरूलाई पछ्याउनेहरू सबै परमेश्वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ।
विगतमा बताइएको, परमेश्वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा परमेश्वरको सिंहासनका सामु आउने व्यक्तिहरूलाई उहाँले दिने न्यायलाई जनाउँछ। अन्तिम दिनहरू आएपछि, परमेश्वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, त्यसमाथि एउटा सेतो कपडा राखिनेछ, अनि त्यसपछि, सबै मानिसहरू भूइँमा घुँडा टेकिरहँदा ठूलो सिंहासनमा बसेर, उहाँले प्रत्येक व्यक्तिका पापहरू प्रकट गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा उचालिने वा आगो र गन्धकको कुण्डमा पठाइने भनी उहाँले निर्णय गर्नुहुनेछ भन्ने खालका अलौकिक कल्पनाहरूमा विश्वास गर्ने व्यक्तिहरू पनि सायद छन्। मानवले जे कुराको कल्पना गरे पनि, यसले परमेश्वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानवका कल्पनाहरू उसका विचारहरूका सृजना बाहेक अरू केही होइनन्; तिनीहरू मानवका मगजबाट आउँछन्, मानवले देखेका र सुनेका कुराहरूलाई जम्मा भएर जोडिएका हुन्छन्। त्यसकारण म भन्दछु, कि तिनीहरूले अनुमान गरेका चित्रहरू जतिसुकै बुद्धिमान् भए पनि, तिनीहरू केवल व्यङ्ग्य-चित्रहरू मात्र हुन् र तिनीहरूले परमेश्वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। जे नै भए पनि, मानवलाई शैतानले भ्रष्ट पारेको छ, यसैले उसले कसरी परमेश्वरका विचारहरूलाई बुझ्न सक्छ र? मानवले परमेश्वरको न्यायको कामलाई शानदार कुराको रूपमा कल्पना गर्छ। परमेश्वर आफैले नै न्यायको काम गर्नुहुने हुनाले, यो काम अथाह तहको हुने, र मरणशीलले बुझ्न नसक्ने, र यसले स्वर्गलाई थर्काउने, र पृथ्वीलाई हल्लाउने हुनेछ; यदि यसो होइन भने, यो कसरी परमेश्वरले गर्नुहुने न्यायको काम हुन सक्छ? यो न्यायको कार्य भएको हुनाले, परमेश्वरले काम गर्नुहुँदा खास गरी उहाँचाहिँ दबाब दिने र गौरवशाली हुनैपर्छ र न्याय गरिएकाहरू आँसु झार्दै चिच्याउने र कृपाको निम्ति आफ्ना घुँडा टेक्नेहरू हुनेछन् भनी उनले विश्वास गर्छन्। यस्तो दृश्य अवश्य पनि भव्य हुन्छ, र अति रोमाञ्चक हुन्छ…। परमेश्वरको न्यायको काम आश्चर्यपूर्ण हुन्छ भनी प्रत्येकले कल्पना गर्छ। तथापि, परमेश्वरले मानवका बीचमा आफ्नो न्यायको काम लामो समयदेखि सुरु गर्नुभएको भए पनि, तँ थकित निद्रामा आराम गरिरहेको छस् भनी के तँलाई थाहा छ? परमेश्वरको न्यायको काम औपचारिक रूपमा नै सुरु भयो भनी तैँले विचार गरेको समयमा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ? त्यसबेला, सायद, तैँले भर्खर मात्र जीवनको अर्थलाई बुझ्न लागेको हुनेछस्, तर परमेश्वरको दण्डको निर्दयी कार्यले तँलाई अझै गहिरो निद्रामा, नरकमा ल्याउनेछ। तब मात्र तैँले परमेश्वरको न्यायको कार्य पूरा भइसकेको एक्कासि महसुस गर्नेछस्।
— वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट उद्धृत गरिएको
५. वर्तमान देहधारणमा परमेश्वरको मुख्य काम सजाय र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु हो। यही जगको आधारमा, उहाँले मानिसमा अझ धेरै सत्यता ल्याउनुहुन्छ, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू देखाउनुहुन्छ, त्यसरी मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्वरको कामको पछि रहेको उद्देश्य यही हो।
— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको
६. आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा … विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। … यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्वरका विरुद्धको शत्रुवत् दबाब हो भन्ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्वरको बारेमा पूर्ण रूपमा विश्वस्त हुन्छ, र यसका साथसाथै परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्वरको न्यायले मानवलाई परमेश्वरको इच्छा, र परमेश्वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्वरले गर्नुभएको न्यायको काम हो।
— वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट उद्धृत गरिएको
७. कतिपयले यो विश्वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्वरप्रतिको मानिसको विरोध वा उहाँप्रति मानिसको अनादर वा परमेश्वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्पना गरेका थिए। देहधारी परमेश्वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो देह र उहाँको काम, उहाँको वचन अनि उहाँको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। उहाँको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरूको अवधिमा, परमेश्वरले आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ र देहमा हुनुहुने परमेश्वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूबारे मानिसले अनेक धारणाहरू राख्ने भए तापनि, देहधारी परमेश्वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्न सक्दैन, “काम गर्ने परमेश्वर नै हुनुहुन्छ, तर देह परमेश्वर हुनुहुन्न।” यो निरर्थक छ, किनभने देहमा हुनुहुने परमेश्वरले बाहेक यो काम कसैले गर्न सक्दैन।
— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको
८. मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसका साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न र त्यसैले, यसको प्रभाव तत्कालीन हुनेथिएन, मानिसले परमेश्वरको चिढ्याउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्वर मात्रै योग्य र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यता र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्।
— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको
९. ठीक यही न्यायको कारण तिमीहरूले परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, र परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ। मानिसहरूको विद्रोहीपन देख्दा उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्न सक्नुहुने भएकोले र मानिसको फोहोर देख्दा उहाँले उहाँको पवित्रता प्रकट गर्न सक्नुहुने भएकोले, यही नै उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, जो दूषित नपारिएको र पवित्र भएर पनि उहाँ फोहोरको देशमा बस्नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्” बाट उद्धृत गरिएको
१०. न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
११. मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्वरको गवाही दिन र परमेश्वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्वरको साक्षी भएको छ, र परमेश्वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्ने हो। परमेश्वरको गवाही दिनेहरूसँग परमेश्वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरको गवाही बन्न सक्छन्” बाट उद्धृत गरिएको
१२. मेरो न्यायको कार्य भनेको मानिसलाई राम्रोसँग मेरो आज्ञा पालन गर्न सक्षम पार्नु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अधिक प्रभावकारी रूपमा परिवर्तन हुन दिनु हो। म जे गर्छु त्यो मेरो व्यवस्थापनको खातिर नै हुने भएकोले, मैले कहिल्यै पनि कुनै काम मानिसका लागि फाइदा नहुने गरी गरेको छैन, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो आज्ञाकारी बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; मैले अन्यजातिहरूका बीचमा पूरा गर्दै गरेको कार्य यही हो।
— वचन देहमा देखा पर्नुहुन्छको “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो” बाट उद्धृत गरिएको
१३. सत्यतालाई पालन गर्न र परमेश्वरको कामको अधीनमा बस्न सक्नेहरूलाई दोस्रो देहधारी परमेश्वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा प्रकट हुने परमेश्वरको कार्यको अभिव्यक्ति पनि हो। सजाय र न्यायको प्रवाहमा, मानिसको पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, उहाँको सजाय र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार देखाउनुहुन्छ, जुन यूहन्नाले देखेको मानिसको पुत्रको अनुहारको एक विश्वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन त्यस्ता माध्यमहरू प्रयोग गर्नुहुन्छ जसद्वारा उहाँले अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ। भन्न खोजेको के हो भने, मानिसको पुत्रको अन्तर्निहित स्वभावको कदर गर्ने सबैले मानिसको पुत्रको वास्तविक अनुहार देखेका हुन्छन्, किनकि परमेश्वर अति महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर उहाँलाई पूर्ण रूपमा बुझ्न सकिँदैन।
— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको
१४. परमेश्वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै र प्रेम र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमनका बारेमा कसैलाई पनि थाहा छैन, कसैले उहाँको आगमनलाई स्वागत गर्दैन, अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिलेको जस्तै चल्छ, उसको हृदय केही फरक छैन, र दिनहरू सदाको झैँ गुज्रन्छन्। परमेश्वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्वासीको रूपमा, अरू मानिसहरूजस्तै, हाम्रा माझमा बस्नुहुन्छ। उहाँका आफ्नै खोजहरू, आफ्नै लक्ष्यहरू छन्; र, यसका अतिरिक्त, उहाँसँग साधारण मानिसहरूसित नभएको ईश्वरत्व छ। उहाँको ईश्वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले बुझेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा दृष्टिमा उहाँ एक मामुली विश्वासी बाहेक केही पनि हुनुहुन्न। उहाँले हाम्रा सबै चाललाई हेर्नुहुन्छ, र हाम्रा सबै विचारहरू र धारणाहरू उहाँका सामु खुला छन्।
…………
उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ, हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु, हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन, नत कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ, र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्वरका पक्षमा यसरी हामीमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्वरको गरिमा दिँदैन; परमेश्वरको स्वभाव र परमेश्वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्वरको भित्री हृदय, परमेश्वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु” बाट उद्धृत गरिएको
१५. आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै देश र सबै मानिसहरूलाई पनि विजयको कामको अधीनमा ल्याइनेछ। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरी न्याय गरिनको लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कुरा यस सजाय र न्याय भोग्नबाट बच्न सक्दैन, न त कुनै व्यक्ति न त कुनै चीज नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि सबै थोकको अन्त्य नजिकै आउँदै छ, र सारा आकाश र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानवजातिको अस्तित्वको आखिरी दिनहरूबाट उम्कन सक्छ?
— वचन देहमा देखा पर्नुहुन्छको “विजयको कामको भित्री सत्यता (१)” बाट उद्धृत गरिएको
१६. युगलाई समापन गर्ने आफ्नो अन्तिम काममा, परमेश्वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्वरको धर्मी स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको
१७. न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्वरलाई धोका दिएका छन् र परमेश्वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्वरले कुनै पनि विश्वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको सेवा गर्न नसक्नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्वर र परमेश्वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्वरको कामले पर्खेर बस्दैन, र परमेश्वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।
— वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट उद्धृत गरिएको
१८. बाइबलमा भएका अगमवाणीहरू अगमवक्ताहरूको समयमा दिइएका परमेश्वरका वचनहरू हुन् र ती परमेश्वरले प्रयोग गर्नुभएका मानिसहरूले प्रेरणा प्राप्त गरेपछि लेखेका वचनहरू हुन्; यी परमेश्वर स्वयम्ले मात्र यी वचनहरूलाई व्याख्या गर्न सक्नुहुन्छ, र केवल पवित्र आत्माले ती वचनहरूको अर्थ प्रकट गर्न सक्नुहुन्छ, र केवल परमेश्वर आफैले मात्र ती सात वटा मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ। तँ भन्छस्: “तपाईं परमेश्वर हुनुहुन्न, न त म नै हुँ। त्यसोभए, कसले हल्कासाथ परमेश्वरको वचनको व्याख्या गर्ने आँट गर्छ? के तँ अझै यी वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? यर्मिया, यूहन्ना र एलिया अगमवक्ताहरू आए भने पनि उनीहरूले समेत ती वचनहरू बोल्ने र तिनको व्याख्या गर्ने आँट गर्नेथिएनन्, किनकि तिनीहरू थुमा होइनन्। केवल थुमाले मात्र सात मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ, र अरू कसैले पनि उहाँको वचनको व्याख्या गर्न सक्दैन।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
१९. बाइबलमा थुमाले मात्रै सात वटा मोहोर तोड्न सक्नुहुन्छ भनेर लेखिएको छ। युगहरूभरि, ती महान् व्यक्तित्वहरू मध्येमा धर्मशास्त्रका व्याख्या गर्ने धेरै छन्, तब के तैँले तिनीहरू सबै थुमा हुन् भनेर भन्न सक्छस्? के तँ तिनीहरूको स्पष्टीकरण सबै परमेश्वरबाट नै आउँछन् भनेर भन्न सक्छस्? तिनीहरू व्याख्याकार मात्रै हुन्; तिनीहरूसँग थुमाको पहिचान छैन। तिनीहरू कसरी सात मोहरहरू तोड्न योग्य हुन सक्थे र?
— वचन देहमा देखा पर्नुहुन्छको “पद र पहिचानको सम्बन्धमा” बाट उद्धृत गरिएको
२०. सर्वशक्तिमान् परमेश्वरका सात ताराहरू चम्किला छन्! उहाँले मण्डलीलाई सिद्ध तुल्याउनुभएको छ; उहाँले मण्डलीका आफ्ना सन्देशवाहकहरू स्थापित गर्नुभएको छ, अनि सम्पूर्ण मण्डली नै उहाँको भरणपोषणमा छ। उहाँले सबै सात वटै मोहरहरू खोल्नुहुन्छ र उहाँ स्वयम्ले उहाँको व्यवस्थापन योजना र उहाँको इच्छालाई समापनतर्फ लैजानुहुन्छ। चर्मपत्र उहाँको व्यवस्थापनको रहस्यमयी आत्मिक भाषा हो, र उहाँले यसलाई फिँजाउनुभएको र प्रकट गर्नुभएको छ!
— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्भमा ख्रीष्टका वाणीहरूको “अध्याय ३४” बाट उद्धृत गरिएको
२१. राज्यको युगमा, परमेश्वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्वरको अस्तित्वमा, परमेश्वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्छामा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ। राज्यको युगभरि नै, परमेश्वरले आफ्नो काम गर्न, र आफ्नो कामका नतिजाहरू प्राप्त गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँले अचम्मका कामहरू गर्नुहुन्न वा आश्चर्यकर्महरू प्रस्तुत गर्नुहुन्न, तर वचनहरूद्वारा केवल आफ्नो काम गर्नुहुन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “राज्यको युग नै वचनको युग हो” बाट उद्धृत गरिएको
२२. आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी ज्ञान जति नै धेरै भए पनि त्यो वचनहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्न सक्छ, केही वचनको व्याख्या गर्न सक्छ, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूमाथि सूक्ष्म जाँच गरेको हुनसक्छ, तर उसले ती वचनहरूभित्र रहेको अर्थ कहिल्यै पनि बुझ्न सक्दैन, किनकि मानिसले देख्ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य पत्ता लगाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो रहस्य हो, यसलाई सबैभन्दा गहिराइमा लुकाइएको छ, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्वर आफैले मानिसलाई नबताउञ्जेल र प्रकट नगरुञ्जेलसम्म कसैले पनि परमेश्वरको इच्छा स्पष्ट रूपमा बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ रहस्यको कुरा बन्नेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। … छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यस रहस्यलाई बुझ्न सक्छौ भने, र यदि तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो। जब तिमीहरू अनुग्रहको युगमा थियौ, त्यस बेला येशूले गर्नुभएको काम वा यहोवाले गर्नुभएको काम के थियो भन्ने तिमीहरूलाई थाहा थिएन। परमेश्वरले किन व्यवस्था दिनुभयो, किन उहाँले मानिसहरूलाई त्यो व्यवस्था पालन गर्न लगाउनुभयो वा मन्दिर किन बनाउनुपर्यो भनी मानिसहरूले बुझेनन्, र इस्राएलीहरूलाई किन मिश्रबाट उजाड-स्थानमा र त्यसपछि कनानमा लगियो भन्ने कुरा मानिसहरूले बुझ्ने कुरा त परै जाओस्। आज आएर मात्रै यी विषयहरूलाई प्रकट गरिएको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
२३. कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट अन्तर्ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै सारलाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
२४. आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकार अनुसार वर्गमा छुट्ट्याउन सकिन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
२५. जीवनको बाटो जोसुकैसँग हुने कुरा होइन, न त यो जोकोहीले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यस्तो किन हुन्छ भने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ, अर्थात् जीवनको सार परमेश्वर स्वयम्को स्वामित्वमा मात्रै रहेको छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको बाटो हुन्छ। त्यसैले, परमेश्वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्वरले जीवनको शक्तिसँग सम्बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यस्तो किन हो भने परमेश्वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, र मानिस पुनरुत्थानित हुने बाटो परमेश्वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्वर कहिल्यै पनि अलग हुनुहुन्न, र उहाँ सँधैभरि मानिसकै माझमा बस्नुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड र मानिसको जन्मपछि उसको अस्तित्वको लागि सम्पन्न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्म गराउने र उसलाई आफ्नो हरेक भूमिकामा दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवनशक्तिकै कारण, मानिस पुस्तौंपुस्तासम्म जिएको छ, र यस अवधिमा परमेश्वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ र परमेश्वरले कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ। परमेश्वरको जीवनशक्ति जुनसुकै शक्तिभन्दा पनि प्रबल हुन सक्छ; साथै, यसले जुनसुकै शक्तिको दायरा पनि पार गर्न सक्छ। उहाँको जीवन अनन्त र उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्तिलाई कुनै पनि सृजित प्राणी वा शत्रुबलले जित्न सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्छ, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्वरको जीवन उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत र तिनीहरूको अस्तित्वको जड परमेश्वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्वरबाटै सुरु हुन्छ, परमेश्वरकै कारणले गर्दा स्वर्गको अस्तित्व रहन्छ, र परमेश्वरको जीवनको शक्तिबाटै पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। जीवनशक्ति भएको कुनै पनि वस्तुले परमेश्वरको सार्वभौमिकतालाई उछिन्न सक्दैन र जोस हुँदैमा कुनै पनि वस्तु परमेश्वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक व्यक्ति परमेश्वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक व्यक्ति परमेश्वरको आज्ञाको अधीनमा जिउनुपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।
— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ” बाट उद्धृत गरिएको
२६. आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्वरको विरुद्धमा हुनेछैनस् र? परमेश्वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मुर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्?
— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ” बाट उद्धृत गरिएको
२७. ख्रीष्टले बोल्नुभएको सत्यतामा भरोसा नगरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्टद्वारा बाहेक परमेश्वरले कसैलाई पनि सिद्ध पार्नुहुन्न। तँ परमेश्वरमा विश्वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरू स्वीकार गरेर उहाँको बाटो पालन गर्नैपर्छ। सत्यता प्राप्त गर्न असक्षम हुँदाहुँदै र जीवनको प्रावधान स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नको लागि परमेश्वरले जिम्मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैनन्। यसको साथै, यो दिनपश्चात तैँले परमेश्वरबाट स्वीकृति प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफूलाई छुटकारा दिलाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्वरको मुहारलाई देख्नेछैनस्। किनभने तैँले जसको विरोध गर्छस् त्यो मानिस होइन, तैँले जसलाई तिरस्कार गर्छस् त्यो कुनै तुच्छ अस्तित्व होइन, त्यो त ख्रीष्ट हुनुहुन्छ। यसका परिणामहरू के-के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, घृणित पाप गरेको हुनेछस्। त्यसैले म हरकोहीलाई सल्लाह दिन्छु: सत्यको अघि आफ्नो दारा नदेखाओ वा लापरवाही रूपमा आलोचना नगर, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्यबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउने र परमेश्वरको मुहारलाई फेरि देख्ने तुल्याउन सक्दैन।
— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ” बाट उद्धृत गरिएको
२८. मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा चट्याङहरू असीम रूपमा देखा पर्छन्, जसले सारा जाति र सम्प्रदायहरूलाई हल्लाइदिन्छन्। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा जितिन लगाउँछु, यही प्रवाहमा पार्नेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो देखापराइको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्पन्नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र तिनीहरूसँग अझ धेरै वचनहरू बोल्नेछु। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई त्याग्न अनिच्छुक हुन्छन्, साथै ती वचन तिनीहरूलाई अथाह लाग्छ, तर तिनमा अझ धेरै आनन्दित हुन्छन्। मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्छन्, मानौं नाबालक भर्खरै जन्मेको छ। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, यसरी तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै फेरि देखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कैयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको महा-महिमित सर्वशक्तिमान परमेश्वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, अनि हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्ने मेरो प्रबन्धको उद्देश्य हो!
— वचन देहमा देखा पर्नुहुन्छको “सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी” बाट उद्धृत गरिएको